विकासन्युज

कांग्रेस कार्यसमिति बैठक जारी, ११ एजेन्डामा धारणा राख्दै नेताहरू

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार पनि निरन्तर जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको बैठकमा हिजो प्रस्तुत गरिएका विभिन्न प्रस्तावहरूमाथि आज विस्तृत छलफल भइरहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।  उनका अनुसार बैठकमा कुल ११ वटा एजेन्डामाथि केन्द्रित भएर नेताहरूले धारणा राखिरहेका छन् । बैठकमा शीर्षदेखि मध्यम तहसम्मका नेताहरूले आफ्ना विचार राख्ने क्रम जारी रहेको छ । सबै नेताहरूको धारणा संकलन गरिसकेपछि आजै बैठक सकाउने तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ । बैठकको मुख्य एजेन्डामध्ये आगामी १५ औं महाधिवेशनको कार्यतालिका महत्त्वपूर्ण रहेको छ । सभापति गगन थापाले हिजोको बैठकमा भदौ २४ देखि २६ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने प्रस्तावित मिति प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि आज गम्भीर छलफल भइरहेको छ र सम्भवतः आजै अन्तिम निर्णय आउने अपेक्षा गरिएको  बैठकमा रहेका एक नेताले जानकारी दिए । लामो समयदेखि महाधिवेशन गर्न नसकेका भातृ सङ्गठन तथा शुभेच्छुक संस्थाहरूको अवस्थाबारे पनि बैठकमा बहस भइरहेको छ । नेविसंघ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ, लोकतान्त्रिक खेलकुद सङ्घ र नेपाल थारू संघले निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्न नसकेको भन्दै ती संस्थाहरूको भविष्यबारे कठोर निर्णय हुन सक्ने संकेत ती नेताले गरे । बैठकमा आफ्नो धारणा राखिरहेका नेताहरूले ती संगठनहरूलाई विघटन गरेर नयाँ संरचनामा लैजानुपर्ने धारणा राखिरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । विशेषगरी नेविसंघको पछिल्लो निर्णयले थप विवाद सिर्जना गरेको छ ।  अध्यक्ष दुजाङ शेर्पाले नेविसंघलाई कांग्रेसको भातृ संस्थाबाट अलग भएको घोषणा गरेपछि संगठनभित्रै मतभेद चुलिएको छ ।

प्रहरीको हेल्मेटसहित काठमाडौंबाट लागुऔषध कारोबारी पक्राउ

काठमाडौं । दिउँसो र रातिको समय पारेर लागूऔषध कारोबार गर्ने तीन जना व्यक्ति बालाजुबाट पक्राउ परेका छन् ।  सोमबार बालाजुबाट लागुऔषध खैरो हिरोईन जस्तो पदार्थ १८ ग्रामसहित धनुषाका १९ वर्षीय आदित्य मण्डल, भारतका २७ वर्षीय जितु राय र सिन्धुलीका ४१ वर्षीय उत्तरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट खैरो हिरोईन जस्तो पदार्थ १८ ग्राम, नेपाली नगद ५६ हजार र भारतीय २ हजार ८ सय रुपैयाँ बरामत गरिएको प्रहरीले जनाएको छ।  त्यसैगरी, जेन्जी आन्दोलनको क्रममा लुटिएको प्रहरी हेल्मेट १ थान र मोबाइल ३ थान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीबाट हतियार देखाई डाँका गरेकोले कार्कीमा मुद्दा चलेको थियो। त्यसैगरी, २०७७ भदौ ४ गते जिल्ला प्रहरी परिसरबाट हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा कार्कीलाई मुद्दा चलेको थियो ।   

भृकुटीमण्डपमा टीभीएसको एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु

काठमाडौं । शंकर समूहअन्तर्गत नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुधबार (आज) देखि काठमाडौंको भृकुटीमण्डपमा ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल’ सुरु गरेको छ ।  चैत १६ गतेसम्म चल्ने यस मेलाको उद्घाटन जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवाल, कार्यकारी निर्देशक अखिल गुप्ता, टीभीएसका कन्ट्री हेड अश्विन श्रीनिवासन, भाइस प्रेसिडेन्ट दीपक राैनियार, ब्रान्ड एम्बेसडर एवं अभिनेता प्रदीप खड्का र राष्ट्रिय क्रिकेटर कुशल भुर्तेलले गरे ।  उद्घाटनकै दिन ५०० भन्दा बढी आगन्तुकहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले दावी गरेको छ । मेलामा ग्राहकहरूले टीभीएसका कम्युटर, प्रिमियम र इलेक्ट्रिक सेग्मेन्टका सम्पूर्ण सवारी साधनहरूको प्रत्यक्ष अवलोकन र टेस्ट राइड गर्न पाउने व्यवस्था मिलाइएको छ । ग्राहकको सुविधाका लागि मेलामा ५० भन्दा बढी रिकन्डिसन्ड बाइक कम्पनीहरूको सहभागिता रहेको छ, जहाँ पुराना सवारी साधनको सुनिश्चित र प्रतिस्पर्धात्मक मूल्यांकनसहित तुरुन्तै एक्सचेन्ज गर्ने सुविधा उपलब्ध छ ।  विशेष अफरका रूपमा कम्पनीले ८ हजार रुपैयाँसम्मको भ्यालु एडिसन, ७ हजार रुपैयाँ नगद छुट र मात्र ३ हजार ७१० रुपैयाँको सुरुवाती मासिक किस्ता (ईएमआई) मा नयाँ बाइक वा स्कुटर घर लैजान सकिने योजना अघि सारेको छ । खरिद प्रक्रियालाई सहज बनाउन मेलास्थलमै फाइनान्स परामर्श र मूल्यांकनका लागि विशेष काउन्टरहरू समेत स्थापना गरिएका छन् । व्यापारिक गतिविधिका साथै मेलालाई थप मनोरञ्जनात्मक बनाउन दैनिक रूपमा लाइभ स्टन्ट शो, जिमखाना च्यालेन्ज, अन्तरक्रियात्मक खेल र विभिन्न एक्टिभेसनहरू सञ्चालन भइरहेका छन् ।  उद्घाटन समारोहमा बोल्दै अध्यक्ष साहिल अग्रवाल र कार्यकारी निर्देशक अखिल गुप्ताले पहिलो दिनको सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको र मेला अवधिभर नयाँ मोडेलहरू सार्वजनिक गर्ने योजना समेत रहेको बताए ।

उद्योगमन्त्री सिन्हाले ६ महिनामा के-के गरे काम ?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आफूले गरेका काम सार्वजनिक गरेका छन् । उनले जेनजी आन्दोलन पश्चात गठन भएको अन्तरिम सरकारको मन्त्रीका रुपमा गरेको कार्यप्रगति सार्वजनिक गरेका हुन् ।   उनले उद्योगन्त्रालय अन्तर्गत पर्ने विभिन्न १६६ वटा काम गरेको दाबी गरेका छन् । कार्यप्रगति सार्वजनिक गर्दै उनले  सार्वजनिक सेवाको प्रभावकारिताको अभिवृद्धिको लागि तत्काल सुधार कार्ययोजना, २०८२ को तर्जुमा गरी कार्यान्वयन भैरहेको, जेन–जी आन्दोलनका क्रममा जलेका सवारी साधन तथा अन्य भौतिक सम्पत्तिको क्षति तथा नोक्सानीको विवरण मातहतका सबै निकायसँग माग गरी एकीकृत विवरण तयार गरिएको।साथै, मिनाहा तथा लिलाम बिक्रीका सम्बन्धमा मुचुल्का सहितको विवरण संकलन भएको कार्यप्रगतिमा उल्लेख गरेका छन् ।   

ऊर्जा संकटको संकेत, तेल भण्डार खुलाउन जापानको आग्रह

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब देखिँदै जाँदा जापानले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) लाई आवश्यक परे थप तेल भण्डार बजारमा ल्याउन तयार रहन आग्रह गरेको छ । यसले सम्भावित आपूर्ति सङ्कटलाई समयमै नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ ।      टोकियोमा बोल्दै आइइएका प्रमुख फातेह बिरोलले पनि परिस्थितिअनुसार थप भण्डार सार्वजनिक गर्न एजेन्सी तयार रहेको सङ्केत गरे । उनले हालसम्म उपलब्ध भण्डारको ठूलो हिस्सा अझै सुरक्षित रहेको उल्लेख गर्दै आवश्यक परे थप कदम चाल्न सकिने बताए । 'हाम्रो कुल भण्डारको करिब ८० प्रतिशत अझै सुरक्षित छ, अहिलेसम्म जारी गरिएको ४० करोड ब्यारेल त केवल २० प्रतिशत मात्र हो', उनले स्पष्ट पारे, 'आवश्यकता परे हामी अघि बढ्न तयार छौँ, तर यस्तो अवस्था नआओस् भन्ने अपेक्षा पनि छ ।'      यसअघि जापानी प्रधानमन्त्री साने ताकाइचीले मध्यपूर्वको अस्थिर अवस्थालाई ध्यानमा राख्दै आइइएलाई थप ‘समन्वित रिलीज’ कार्यान्वयन गर्न तयार रहन आग्रह गरेका थिए । ऊर्जा आपूर्ति अवरुद्ध हुने जोखिम बढिरहेका बेला यस्तो कदमलाई सावधानीपूर्ण रणनीतिका रूपमा लिइएको छ ।      आइइएले यसै महिनाको सुरुआतमा आफ्ना सदस्य राष्ट्रहरूसँग मिलेर करिब ४० करोड ब्यारेल तेल भण्डार बजारमा ल्याउने निर्णय गरेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो समन्वित रिलीज मानिएको छ । यसले मध्यपूर्वमा जारी द्वन्द्वका कारण उत्पन्न आपूर्ति दबाब कम गर्ने उद्देश्य राखेको थियो ।      बिरोलले विश्वले गम्भीर ऊर्जा सुरक्षा चुनौती सामना गरिरहेको उल्लेख गर्दै आइइए आफ्नो भूमिकामा सक्रिय रहने बताए । उनका अनुसार अन्तर्राष्ट्रिय ऊर्जा बजारमा स्थिरता कायम राख्न एजेन्सीले आवश्यक समन्वय गर्न तयार छ ।      जापानका लागि ऊर्जा सुरक्षाको विषय अझ संवेदनशील छ, किनकि यो मुलुक आफ्नो करिब ९५ प्रतिशत तेल आयातका लागि मध्यपूर्वमा निर्भर छ । यस कारण टोकियोले आन्तरिक रूपमा पनि आपतकालीन तयारी तीव्र बनाएको छ ।      सरकारले गत साता निजी क्षेत्रको १५ दिन बराबरको पेट्रोलियम भण्डार बजारमा ल्याउन सुरु गरेको छ भने बिहीबारदेखि सरकारी भण्डारसमेत प्रयोगमा ल्याउने तयारी गरिएको छ । यसका साथै महिनाको अन्त्यसम्ममा जापानमा उत्पादक राष्ट्रहरूले राखेका संयुक्त भण्डारबाट पनि तेल निकाल्ने योजना रहेको प्रधानमन्त्री ताकाइचीले जानकारी दिए ।      जापान पेट्रोलियम एसोसिएसनका अनुसार साउदी अरब, संयुक्त अरब इमिरेट्स र कुवेतले जापानमा संयुक्त भण्डार राखेका छन् । सामान्य अवस्थामा यी भण्डारहरू व्यावसायिक रूपमा प्रयोग गरिने भए पनि आपतकालीन परिस्थितिमा जापानी कम्पनीहरूले प्राथमिकताका आधारमा खरिद गर्न पाउने व्यवस्था रहेको छ । रासस    

२५ अर्बको तल्लो सेती आयोजना : आवास र कार्यालयका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु

काठमाडौं । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।  एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुने थप पानी प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।  तल्लो सेतीको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको र अब विद्युतगृह, कार्यालय र कर्मचारी आवास क्षेत्रका लागि देवघाट गाउँपालिकामा पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।  मुआब्जा निर्धारण समितिअन्तर्गत गठित उपसमितिले जग्गा अधिग्रहणस्थलमा रहेका संरचनाको विस्तृत नापजाँच सर्वेक्षण र क्षति सूची तयार गरी प्रतिवेदन समिति समक्ष पेस गरेको प्रमुख भण्डारीले बताए । आयोजनाको पहुँच सुरुङ निर्माण कार्यसमेत सुरु भइसकेको छ । चितवनस्थित राजमार्गबाट आयोजनाको विद्युतगृह क्षेत्रतर्फ जान त्रिशुली नदीमाथि निर्माण गरिने पहुँच पुल लागत अनुमान तथा टेण्डर कागजात तयारी सकिएको उनले जानकारी दिए।   आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६.८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमदेखि करिब ५०० मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युतगृहमा खसाली विद्युत उत्पादन गर्ने योजना बनाइएको छ ।  आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१३ र १४, देवघाट गाउँपालिका–२, ३ र ४, ऋषिङ गाउँपालिका–१ र ३, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुने छन् । देवघाट गाउँपालिका–४ गाईघाटमा अर्धभूमिगत विद्युत गृहको निर्माण गरी विद्युत् उत्पादन गरिने छ । उत्पादित विद्युत्लाई तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेको २२० केभी दमौली–नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिने छ । यसका लागि करिब दुई किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्छ ।  अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात बाँधस्थलबाट सुँडेगाउँसम्म विस्तार हुने छ । आयोजनाबाट वार्षिक रूपमा ५२ करोड युनिट विद्युत् उत्पादन हुने छ । आयोजनाको अनुमानित लागत २५ अर्ब रहेको छ । कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत/निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो । 

युगाण्डाबाट ठमेलमा आएर यौनधन्दा गराउने २० जना महिला पक्राउ

काठमाडौं । ठमेलमा अनैतिक क्रियाकलाप गर्ने युगाण्डाका २० जना विदेशी महिला पक्राउ परेका छन् । घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी यौन धन्दामा संलग्न गराउने विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनीहरूले व्यवसाय सञ्चालन गरी बाटो हिँड्ने सर्वसाधारण मानिसहरूलाई समेत दुःख हैरानी दिने गरेका थिए । ठमेल स्थित विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा काठमाडौं महानगरपालिका २६ ठमेल फायरचोकबाट यौन धन्दामा संलग्न विदेशी महिलाई पक्राउ गरेको हो । युगाण्डाका महिला नागरिकहरूले बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी दुःख हैरानी दिने गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप गरेर प्रहरी वृत लैनचौरबाट अनुसन्धान भइरहेको छ ।   

सुनसान सिंहदरबार : बजेट लेखनको छैन तयारी, ठप्प छ प्रशासनिक काम

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग सुरु भइसकेको छ । यतिखेर सिंहदरबारका सबै मन्त्रालयमा मन्त्रीहरू भइदिएको भए प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिहरु बजेट माग्न सिंहदरबारमा आइसकेका हुने थिए । जनप्रतिनिधि मात्र नभएर जिल्ला जिल्लाबाट विभिन्न राजनीतिक दलका नेताहरु अहिले सिंहदरबार आउने समय हो । नेपालको संविधानको प्रावधानअनुसार प्रत्येक जेठ १५ गते नेपाल सरकारले सङ्घीय संसद समक्ष बजेट प्रस्तुत गर्नुपर्दछ ।      तर, सिंहदरबारमा अहिले पहिले पहिले जस्तो बजेट माग्न आउनेहरुको भीडभाड देखिँदैन । बजेट निर्माणको क्यालेन्डर त सुरु भइसकेको छ, तर कर्मचारी तहमा नै यो काम भइरहेको छ । त्यसैले राजनीतिक नेतृत्व तहमा बजेटको चटारो सुरु भएको छैन ।      अर्कोतर्फ अहिले सरुवा, बढुवा होस् या अन्य प्रशासनिक काम लिएर सिंहदरबारमा नागरिक पुगेका देखिँदैनन् । किनभने निर्वाचनको केही समयअघि देखि नै सिंहदरबारमा अधिकांश मन्त्रीहरु छैनन् । केही मन्त्रीहरु यही फागुन २१ गते सम्पन्न निर्वाचनमा उम्मेदवार बन्न गएकोले अधिकांश मन्त्रालय खाली जस्तै छन् । एउटा मन्त्रीले धेरै मन्त्रालयको जिम्मेवारी लिनुपर्ने अवस्था भएकाले मन्त्रालयहरु सुनसान देखिएका छन् । प्रशासनिक काम लिएर आउने नागरिक कर्मचारी समक्ष पुग्ने गरेका देखिन्छन् तर त्यो सङ्ख्या थोरै छ ।      शिक्षासम्बन्धी काम लिएर बागलुङबाट आएका बलराम आचार्य अझै केही दिन काठमाडौं बस्नुपर्ने अवस्था भएको बताउँछन् । उनले भने, 'यहाँ आएको केही दिन भयो, तर मन्त्री नभइ काम नहुने भएकाले अब नयाँ मन्त्री नआउञ्जेल यतै बस्नुपर्ने भएको छ । नयाँ मन्त्रिमण्डल बनेपछि काम सकेर मात्र घर फर्कने निधो गरेको छु ।’      आफ्ना निजी एवं प्रशासनिक काम लिएर आउने राजनीतिक दलका कार्यकर्ता एवं जनप्रतिनिधिको भीडभाड देखिने गरेको सिंहदरबार केही समय यतादेखि सुनसान जस्तै छ । जनतासँग प्रत्यक्ष जोडिएका र कतिपय विकासे कार्यक्रम सञ्चालन हुने मन्त्रालयमा पहिला जस्तो खचाखच नागरिक नआएका सिंहदबारमा कार्यरत कर्मचारी बताउँछन् ।       शिक्षा मन्त्रालयमा मन्त्रीको कार्यकक्षमा बस्नु भएका एक कर्मचारीका अनुसार मन्त्री नभएपछि नीतिगत रुपमा हुने काम रोकिएका छन् । अरु बेला बजेटको समय मन्त्रीको सचिवायलमा भेटघाट गर्नेको भीड थेगी नसक्ने हुन्थ्यो । अहिले खाली कुर्सी र दुई/चार कर्मचारी मात्रै भेटिन्छन् । शिक्षा मन्त्रीको मन्त्री निवासको कार्यकक्षमा पुग्दा पूर्वमन्त्री महाविर पुनको फोन नम्बर लेखिएको कागज भित्तामा टाँसिएको थियो ।       त्यहाँ कार्यरत कर्मचारीले भने, 'उतिबेला मन्त्री आफैले सेवाग्राहीको गुनासो सुन्न फोन नम्बर टाँस्नु भएको थियो । अहिले मन्त्री नभएका कारण कोही आएका छैनन् ।'      गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि क्षतिग्रस्त पश्चात टहरामा सञ्चालीत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मन्त्री डा. सुधा गौतम नियमित कार्यमा नफर्किने भन्दै अनौपचारिक रुपमा बिदा भइसकेकी छन् । नागरिकले प्रत्यक्ष रुपमा स्वास्थ्यका विषय लिएर मन्त्रालय आउने थलो अहिले सुनसान छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बजेट बनाउने समयमा मन्त्री नहुँदा कार्य सम्पादनमा चुनौती देखिएको बताए ।  उनले भने, 'नयाँ मन्त्री को आउला भन्दै पर्खिनेहरु हुनुहुन्छ । बजेटकै बेलामा मन्त्रीको आगमनले केही प्रभावकारिता हुने थियो ।'       बजेटको बेला सिंहदरबारका मन्त्रालय मात्रै होइनन्, वरिपरिको माहोलको रौनक नै बजेटमय हुन्थ्यो । हातमा फाइल बोकेर सिंहदरबार धाउनेको चहलपहलले एक किसिमको रमाइलो अनुभूति हुने गरे पनि अहिले सुनसान जस्तै अवस्थामा रहेको सिंहदरबार देख्दा अनौठो लागेको गृह मन्त्रालयका कर्मचारी केदार घिमिरेले बताए ।  'मन्त्रालयमा पालो कुरेकाहरु क्यान्टिनमा आएर चिया खाजा खाने, गफ गर्ने गर्दथे, यसले सबै मन्त्रालयका क्यान्टिन भरिभराउ हुन्थे', उनले विगत सम्झँदै भने, 'प्रवेशद्वारादेखि नै भित्र पस्नेको लाइनै लाग्थ्यो, अहिले सुनसान छ ।'      सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव उदयबहादुर रानामगरले बजेट तयारी सबै मन्त्रालयको महत्वपूर्ण समय भएको बताए । अरु समय बजेट तयारी गर्दा खाजा खान पनि फुर्सद नहुने बिगत सम्झिदै उनले भने, 'मन्त्री नभएपछि सार्वजनिक सम्पर्कहरु निकै नै कम हुने रहेछ । यतिबेला बजेट तयारी गर्ने महत्वपूर्ण बेला भएकाले यो अवस्था खट्किएको पाइएको हो ।'         गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भइसकेको छ । बिहीबार नवनिर्वाचित सांसदहरु सबैले सपथ लिने कार्यक्रम तय भएको छ । शुक्रबार नयाँ प्रधानमन्त्रीले सथप लिएपछि मन्त्रिमण्डल बन्ने छ । अनी त्यसपछि मात्र सिंहदरबारमा चहल पहल सुरु हुने छ । रासस