विकासन्युज

नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने चीनको प्रतिबद्धता

शरच्चन्द्र भण्डारी काठमाडौं । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षका निम्ति गठन हुने स्थिर सरकारले दशकौँदेखिको नेपालीको समृद्धि र सुशासनको चाहना पूरा गर्ने विश्वास पनि बेइजिङले व्यक्त गरेको छ । साथै उसले पर्यटन, लगानी र पूर्वाधारमा साझेदारी एवं सहकार्य बढाएर नेपालीको विकासको आकाङ्क्षा साकार पार्न सकिने बताएको छ । मंगलबार साँझ आफ्नो कार्यालयमा मूलधारका प्रमुख सञ्चारमाध्यमका पत्रकारहरूलाई जनवादी गणतन्त्र चीनको १४औँ राष्ट्रिय जन कांग्रेसको चौथो अधिवेशनबारे जानकारी दिँदै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चीन नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउन नेपालको नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए ।   वर्षौँदेखि नेपालको सहयोगी बन्दै आएको चीनले नेपाली जनताको चाहनाअनुरूप सधैँ सहयोग गर्ने, नेपालको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर विगतदेखि गर्दै आएको सहयोगलाई निरन्तरता दिने तथा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला भएका सहमतिहरूको कार्यान्वयनमा उनले जोड दिए । नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा चीन सधैँ साथमा रहने प्रतिबद्धता पनि उनले दोहोर्याए ।   नेपालको आर्थिक–सामजिक उन्नयनमा जलस्रोत र पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै राजदूत चाङले पर्यटनसँग सम्बन्धित भौतिक पूर्वाधार सुधार गर्न सके अधिकभन्दा अधिक चिनियाँ पर्यटक नेपाल भित्र्याउन सकिने बताए । चिनियाँ लगानीकर्ताले नेपालमा होटल तथा रेष्टुराँ क्षेत्रमा लगानी गर्न रुचि देखाए पनि लगानीको सुरक्षा, नीतिगत स्पष्टता तथा प्रशासनिक सहयोगको अभावका कारण केही कठिनाइ भएको गुनासो उनले गरे । 'हाम्रा लगानीकर्ताले प्रशासनिक झन्झटका कारण नेपालमा काम गर्न असहज भएको बताएका छन् ,' अब बन्ने सरकारले यस्ता समस्या हल गर्नेमा आफू आश्वस्त रहेको बताउँदै उनले भने ।   चिनियाँ राजदूतले पर्यटनलाई आर्थिक विकासको वाहकका रूपमा उच्च प्राथमिकतामा राखेर दुवै देशले सहकार्य गर्न सके छोटो समयमै नेपालको आर्थिक विकास सम्भव हुने धारणा व्यक्त गरे । साथै चिया प्रशोधन, प्याकेजिङ र ब्रान्डिङलाई नेपालको आर्थिक उन्नतिको अर्को सम्भावित क्षेत्रका रूपमा औँल्याउँदै यस क्षेत्रमा पनि चिनियाँ सहयोग आकर्षित गर्न सकिने उनले बताए ।   चीनले हासिल गरेको प्राविधिक प्रगतिको लाभ नेपालले पनि लिन सक्ने उल्लेख गर्दै हरित विकासलाई प्राथमिकतामा राखेर त्यससँग सम्बन्धित व्यवसाय प्रवद्र्धन गर्न सकिने बताउँदै चिनियाँ कूटनीतिज्ञले व्यापार र लगानीसँग सम्बन्धित नीतिगत व्यवस्था एकीकृत रूपमा एउटै स्थानबाट उपलब्ध गराउन सके चिनियाँ लगानीकर्ताको आकर्षण बढ्ने बताए । हजारौँ वर्ष पुरानो नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले विकास र समृद्धिका साझा एजेन्डामा नेपालको नयाँ सरकारसँग निकट सम्पर्कमा रहेर काम गर्न चीन तयार रहेको दोहोर्याए । स्थिर सरकारले आगामी पाँच वर्षमा नेपाललाई विकासको मार्गमा अघि बढाउने विश्वास व्यक्त गर्दै अल्पविकसित राष्ट्रहरूको समूहबाट बाहिरिने नेपालको लक्ष्य प्राप्तिमा चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए ।   दुई वटा मात्र छिमेकी भएकाले सन्तुलित परराष्ट्र नीति कार्यान्वयन गर्न नयाँ सरकारलाई कठिन नहुने राजदूत चाङको बुझाइ छ । जनचाहनाअनुसार नीति तथा कार्यक्रम निर्माण गर्दै नयाँ सरकारले नेपाली जनताको जीवनस्तर सुधार गर्ने तथा विकासका चाहना पूरा गर्ने विश्वास पनि उनले व्यक्त गरे ।   राजदूत चाङले चीन विश्व समुदायका सबै सदस्य राष्ट्रहरूसँग मिलेर समान र सुव्यवस्थित बहुध्रुवीय विश्वको प्रवद्र्धन गर्न तथा सबैका लागि लाभदायक र समावेशी आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउन तयार रहेको बताए । उनले चीन विश्व शासन प्रणालीको सुधार र विकासमा सहभागी भई अन्तरराष्ट्रिय व्यवस्थालाई अझ न्यायोचित र समतामूलक बनाउन प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।   फरक प्रसङ्गमा उनले कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय भएको उल्लेख गर्दै वार्ताको माध्यमबाट यो समस्याको समाधान खोजिनुपर्ने र चीनलाई आरोप लगाउन नहुने स्पष्ट गरे । परराष्ट्र सचिवस्तरको नेपाल–भारत संयन्त्रलाई सक्रिय बनाएर समस्या समाधान गर्न सकिने उनको भनाइ थियो ।   बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको आर्थिक विकासमा सहयोगी हुने विश्वास व्यक्त गर्दै चिनियाँ राजदूतले कृषि, पूर्वाधार विकास तथा लगानी विस्तारलाई आफ्नो मुलुकले प्राथमिकता दिएको बताए । चीनले नेपाललाई दिएको कर छुट सुविधाको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले हाल कृषिजन्य वस्तुमा सीमित निर्यातलाई अन्य उत्पादनतर्फ विस्तार गर्न चीन तयार रहेको जानकारी दिए । व्यापार विस्तारको प्रशस्त सम्भावना रहेको भन्दै उनले द्विपक्षीय साझेदारीलाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।   आपसी सम्मान, सार्वभौमिकताको कदर, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा आधारित चीन र नेपालबीचको सम्बन्धलाई अझ सघन बनाउन आफू सधै क्रियाशील रहने बताउँदै उनले नेपाल सरकारले चीनलाई विश्वसनीय विकास साझेदार तथा सच्चा मित्रका रूपमा लिँदै आएकामा त्यसको सराहना गरे ।  राजदूत चाङले भने, 'विभिन्न क्षेत्रमा चीनले पु¥याउँदै आएको सहयोगले द्विपक्षीय सम्बन्धलाई व्यावहारिक र परिणाममुखी बनाएको छ । साथै नेपाल एक चीन सिद्धान्तमा दृढ रहेको छ, जसलाई चीनले उच्च महत्व दिँदै आएको छ ।'   नेपाल–चीन सम्बन्ध बहुआयामिक सहकार्यतर्फ उन्मुख हुँदै गएको ‘ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी सञ्जाल’ को अवधारणाले नेपाललाई भूपरिवेष्टित नभइ भूजडित राष्ट्रमा रूपान्तरण गर्ने लक्ष्य लिएको बताउँदै चिनियाँ राजदूतले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्ग, कोदारी–झाङ्मु सडक स्तरोन्नति, सीमापार सुरुङ तथा उत्तर–दक्षिण आर्थिक करिडोर विस्तारजस्ता परियोजना दुवै देशका निम्ति लाभप्रद हुने विश्वास व्यक्त गरे । सन् २०१९ मा राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच २० भन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भई सम्बन्धलाई ‘रणनीतिक सहकार्य साझेदारी’मा स्तरोन्नति गरिएको सन्दर्भ जोड्दै चिनियाँ राजदूतले पारस्परिक लाभका प्रस्तावित परियोजनाबारे चर्चा गरेका हुन् ।   सीमापार व्यापार प्रवद्र्धनका लागि तातोपानी–झाङ्मु तथा रसुवागढी–नाकाको स्तरोन्नति, सुक्खा बन्दरगाह तथा हवाई कनेक्टिभिटी विस्तार, पोखरा र गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमार्फत उडान विस्तार, बेइजिङ र काठमाडौँबीच सिधा हवाई सम्पर्क विस्तार  गरी पर्यटन प्रवर्द्धनमा उनले जोड दिए । सन् २०१७ मा नेपाल बिआरआईमा सहभागी भएपछि पूर्वाधार, व्यापार र कनेक्टिभिटीमा सहकार्य अझ सुदृढ भएको छ । यो सहकार्यले ऊर्जा,स्वास्थ्य, शिक्षा, खेलकुद, तथा सांस्कृतिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पारेको छ भने सीमा व्यवस्थापन, सुरक्षा सहकार्य तथा अवैध गतिविधि नियन्त्रणमा पनि दुवै देशबीच समन्वय र साझेदारी भइरहेकामा उनले सन्तोष व्यक्त गरे ।   नेपाल–चीन सम्बन्धको रणनीतिक महत्व बढ्दै गएको सन्दर्भमा सम्पर्क सञ्जाल विस्तार गरेर व्यापार वृद्धि, आर्थिक रूपान्तरण तथा एकल पारवहन निर्भरता घटाउने दिशामा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस  

एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार (आज) ह्वात्तै बढेको छ । केही दिनयता लगातार घट्दै आइरहेको सुनको मूल्य आज तोलामा १४ हजार ६०० रुपैयाँले बढी २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो । 

नागढुंगा सुरुङमार्गमा बैंकमार्फत चिप पाइने, यी बैंक छन् प्रतिस्पर्धामा

काठमाडौं । नागढुंगा सुरुङमार्ग सडकखण्डमा सडक दस्तुर उठाउने प्रक्रियालाई पूर्ण रूपमा आधुनिक र प्रविधिमैत्री बनाइने भएको छ । सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार सुरुङमार्गमा तीन प्रकारका आधुनिक तथा वैज्ञानिक टोल भुक्तानी प्रणाली लागु गर्न लागिएको हो । जसमा  नगद, डिजिटल र सबैभन्दा छिटो आरएफआईडी अटोमेटेड प्रणाली रहेका छन् ।  निर्देशक केसीले नागढुंगा सुरुमार्गमा अब क्यासलेस (नगदरहित) प्रणाली लागू गरिनेछ । यसका लागि विभिन्न वाणिज्य बैंकहरूबीच प्रतिस्पर्धा भइरहेको उनले जानकारी दिए । ‘यो पूर्ण रूपमा डिजिटल पेमेन्ट हुनेछ । नेपाल राष्ट्र बैंकको उपस्थितिमा कृषि विकास बैंक, ग्लोबल आईएमई, नबिल र कुमारीजस्ता बैंकहरू यो प्रक्रियामा सहभागी हुन इच्छुक देखिएका छन्,’ उनले भने ।  उनका अनुसार सवारीधनीले बैंकमार्फत चिप प्राप्त गर्नका लागि सवारी दर्ता प्रमाणपत्र, फोटो तथा अद्यावधिक गरिएको केवाईसी कागजात अनिवार्य रूपमा बुझाउनुपर्नेछ । भारतमा आरएफआईडी प्रणाली लागू भएपछि टोल सङ्कलन प्रक्रिया सहज हुनुका साथै राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको बताइएको छ ।  नेपालमा पनि यो प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आएपछि राजस्व चुहावट नियन्त्रण हुने र सडक मर्मत तथा सुधारका लागि पर्याप्त कोष संकलन हुने अपेक्षा सरकारले गरेको छ ।  सुरुवाती चरणमा सबै सवारीसाधनमा चिप जडान नभइसकेकाले केही समय ट्राफिक जामको समस्या देखिन सक्ने अनुमान गरिएको छ । त्यसैले सम्बन्धित निकायले करिब ६ महिनासम्म नगद तथा स्क्यानिङजस्ता वैकल्पिक प्रणालीसमेत सञ्चालन गर्ने योजना बनाएको छ । यो प्रणालीले नागढुङ्गा क्षेत्रमा हुने सवारी जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय बचत, इन्धन खपतमा कमी र समग्र सुरुङमार्ग यात्रालाई थप छिटो, सहज र आकर्षक बनाउने विश्वास गरिएको छ । नागढुंगाबाट उठ्ने दस्तुर सिधै सडक बोर्डको खातामा जम्मा हुने र सोही रकमबाट उक्त सडकको मर्मत सम्भार अनिवार्य रूपमा गरिने योजना छ । यो प्रणाली उक्त सुरुङमार्गमा लागु भएपछि अन्य देशभरका सडक गेटमा लागु हुने केसीको भनाइ छ ।  नागढुंगा सुरुङमार्ग र सडक विस्तारमा जापानी प्रविधिको प्रयोग भएको तर काम गर्ने क्रममा चिनियाँ कम्पनीहरूको लो-बिडिङ (न्यून कबोल) का कारण केही प्राविधिक समस्याहरू देखिएको पनि केसीले संकेत गरे । जापानी र चिनियाँ प्रविधिबीच तालमेल मिलाउन केही चुनौती रहे पनि सडक बोर्डले यसलाई प्रभावकारी ढंगले अगाडि बढाउने लक्ष्य राखेको छ ।  विश्व बैंक र एसियाली विकास बैंकसँगको समन्वयमा सडक बोर्डको क्षमता अभिवृद्धि गर्ने र सडक मर्मत कार्यलाई राष्ट्रिय बजेटमा बोझ नपर्ने गरी आत्मनिर्भर बनाउने गरी गृहकार्य भइरहेको निर्देशक केसीको भनाइ छ । नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चिनियाँ कम्पनीले पाउने निश्चित अबको केही दिनमा औपचारिक रूपमा घोषणा गर्ने तयारी आयोजनाले गरेको छ । 

सुजुकी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य ५० लाख

काठमाडौं । सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले आफ्नो पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक गाडी ‘सुजुकी ई–भिटारा’ को नेपालमा आधिकारिक रूपमा बुकिङ खुला गरेको छ ।  पोखरामा आयोजित ‘वाडा अटो शो’ को अवसर पारेर सार्वजनिक गरिएको यस गाडीको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जुन सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।  जापानी इन्जिनियरिङ र विश्वसनीयताको विरासत बोकेको यो ईभीले नेपाली बजारमा विद्युतीय गाडीप्रतिको विश्वासलाई थप बलियो बनाउने लक्ष्य राखेको छ । विशेष गरी इलेक्ट्रिक गाडीका लागि नै तयार पारिएको हर्टइक्ट– ई प्लेटफर्ममा निर्मित यो गाडी दुईवटा ब्याट्री विकल्पमा उपलब्ध छ । यसको ४९ किलोवाट आवर ब्याट्रीले १०६ किलोवाट र ६१ किलोवाट आवर ब्याट्रीले १२८ किलोवाटको शक्तिशाली पावर उत्पादन गर्दछ ।  उत्कृष्ट प्रदर्शनका लागि यसमा इको, नर्मल र स्पोट्र्स गरी तीनवटा ड्राइभिङ मोडका साथै हिउँमा चलाउनका लागि विशेष ‘स्नो टेरेन मोड’ समेत दिइएको छ । आधुनिक प्रविधि र सुरक्षालाई प्राथमिकता दिँदै यसमा लेभल–२ एडास , ७ वटा एयरब्याग, र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता सुविधाहरू समावेश गरिएका छन्, जसले यात्रालाई सुरक्षित र भरपर्दो बनाउँछन् । यसको डिजाइन निकै आकर्षक र फ्युरचिस्टिक छ । बाहिरी भागमा १८ इन्चको अलोय ह्विल र मस्कुलर लुक दिइएको छ भने भित्री भागमा १०.२५ इन्चको डिजिटल इन्फोटेनमेन्ट सिस्टम, सनरुफ र भेन्टिलेटेड सिटहरूले प्रिमियम अनुभव प्रदान गर्दछन् ।  सुजुकीको देशभर फैलिएको विशाल सर्भिस नेटवर्कका कारण ग्राहकले मर्मतसम्भारमा कुनै तनाव झेल्नु नपर्ने र सन् २०३० सम्म थप ६ वटा नयाँ ईभी मोडलहरू ल्याउने योजना रहेको समेत कम्पनीले जानकारी दिएको छ ।

चितवनमा सर्ने क्षयरोगका बिरामी बढी, चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन । चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका पाइएको छ ।  नियमित परीक्षणका क्रममा जिल्लामा पहिचान भएका क्षयरोगीमध्ये २७ जना १४ वर्षमुनिका बालबालिका छन् । तीमध्ये चार जना चार वर्षमुनिका छन् ।    जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता पाँच हजार ३८२ जनाको परीक्षण गरिएकामा उनीहरूमा यो रोगको सङ्क्रमण देखिएको हो । जसमध्ये २८७ जनामा नसर्ने र ३३६ जना सर्ने खालको क्षयरोग भएको भेटिएको छ । सङ्क्रमितमध्ये सात जनालाई औषधिले काम नगर्ने खालको क्षयरोग भेटिएको छ ।   सङ्क्रमितहरूले जिल्लाका १०७ वटा औषधि वितरण गर्ने संस्थाबाट नियमित औषधि सेवन गर्दै आएका छन् । क्षयरोग प्रमाणित गर्नका लागि जिल्लामा २८ वटा ‘माइक्रोस्कोप’ र चारवटा ‘जिन एक्स्पर्ट’ गर्ने संस्था छन् । माइक्रोस्कोपबाट तीन हजार ८१ जनाको परीक्षण गरिएकामा १४३ जनामा सङ्क्रमित भेटिएको थियो । यस्तै जिन एक्स्पर्टबाट दुई हजार ३०१ जनाको परीक्षण गर्दा ३०७ जनामा क्षयरोग सङ्क्रमित देखिएको उनले बताए । जिल्लामा भेटिएका सङ्क्रमितमध्ये २३५ महिला र ३८८ जना पुरुष रहेका छन् । गत आर्थिक वर्षमा एक हजार ८९ जनामा क्षयरोगको सङ्क्रमण भेटिएको थियो । सङ्क्रमितमध्ये २२ जनाको क्षयरोगका कारण मृत्यु भएको थियो । गत वर्ष १३ हजार १०७ जनाको परीक्षण गरिएको थियो । यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाको सङ्क्रमणका कारण हुने रोग हो । रोग लागेको सुरुआती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ ।   मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको ब्याक्टेरियाले सङ्क्रमण भई गम्भीर समस्या निम्त्याउने उनले बताए । रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।   यो रोग लागेमा सूर्ति मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छाड्ने गर्नुपर्छ । अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन गर्न नहुने उनले जानकारी दिए । स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रूपमा पूरा समय (छदेखि आठ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न सुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समय–समयमा परीक्षण गर्न उनी सुझाउँछन् । रासस 

१.२ अर्ब डलर सम्पत्तिका साथ अष्ट्रेलियाका शीर्ष धनाढ्यको सूचीमा शेष घले दम्पत्ति

काठमाडौं । नेपाली मूलका उद्यमी शेष घले र जमुना गुरुङ सन् २०२६ मा पनि अष्ट्रेलियाका धनी व्यक्तिहरूको सूचीमा परेका छन् । द अष्ट्रेलियनले सार्वजनिक गरेको सूचीअनुसार उनीहरू धनाढ्यको क्रमशः १५०औं र १५१औं स्थानमा छन् । सन् २००९ मा पहिलोपटक शीर्ष २५० भित्र परेका यो दम्पतीले लगातार १८ वर्षसम्म सूचीमा आफ्नो स्थान कायम राखेका छन् ।  मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका सह–संस्थापक घले–गुरुङको संयुक्त सम्पत्ति करिब १ अर्ब २१ करोड डलर पुगेको बताइएको छ । १९९० को दशकमा अष्ट्रेलिया पुगेका उनीहरूले सन् १९९६ मा स्थापना गरेको एमआईटी अहिले मेलबर्न र सिड्नीमा क्याम्पससहित अन्तर्राष्ट्रिय विद्यार्थीका लागि प्रमुख निजी शैक्षिक संस्थामध्ये एक बनेको छ । शिक्षासँगै उनीहरू घरजग्गा क्षेत्रमा पनि सक्रिय छन् । मेलबर्नका विभिन्न व्यावसायिक सम्पत्तिमा लगानी गरेका उनीहरूले केही भवनलाई पुनःविकास गर्दै लक्जरी होटल र सर्भिस अपार्टमेन्ट निर्माण गर्ने योजना अघि सारेका छन् ।  घले–गुरुङले शिक्षा र सामुदायिक क्षेत्रमा योगदान दिँदै नेपाल र विदेशमा होटल व्यवसाय विस्तार गरिरहेका छन् । साथै, शेष घले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष समेत हुन् ।   

ललितपुरमा अन्तर्राष्ट्रिय महिला उद्यमी मेला हुने

काठमाडौं । महिला उद्यमी महासंघ नेपाल (FWEAN) ले नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०२६ आयोजना गर्ने भएको छ । महिला उद्यमशीलताको प्रवर्द्धन, बजार पहुँच विस्तार तथा आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ । महासंघले विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत आगामी चैत २० देखि २२ गते (अप्रिल ३–५, २०२६) ललितपुरस्थित हेरिटेज गार्डेनमा तीनदिने व्यापार मेला आयोजना गरिनेछ । मेलामा देशका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रका महिला उद्यमीका उत्पादनहरू प्रदर्शन तथा बिक्री गरिनेछ । हस्तकला, प्राकृतिक रेसाजन्य सामग्री, कृषि उत्पादन, खाद्य परिकार, कपडा, घरेलु सामग्रीलगायत विभिन्न उत्पादनहरू प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । साथै अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको समेत सहभागिता रहनेछ । महिला उद्यमीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, व्यवसायिक नेटवर्क विस्तार गर्ने तथा ज्ञान, अनुभव र सीप आदान–प्रदान गर्ने अवसर सिर्जना गर्ने उद्देश्य मेलाले राखेको छ । मेलामा करिब १४० स्टल रहने र सातै प्रदेशका महिला उद्यमीहरूको सहभागिता रहने जनाइएको छ । मेलाको आकर्षणका रूपमा र्याम्प वाक, प्यानल छलफल, बी–टु–बी अन्तरक्रिया, कार्यशाला, डिजिटलाइजेशन तालिम तथा प्राकृतिक फाइबर अर्थतन्त्रसम्बन्धी विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछन् । साथै ‘Enterprising Women Nepal’ पुस्तकको १४औँ संस्करण पनि सोही अवसरमा सार्वजनिक गरिनेछ । आयोजकका अनुसार मेलामा करिब दुई करोड रुपैयाँ बराबरको कारोबार हुने तथा ५० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

सिद्धार्थ बैंकका ५१ कार्यक्रममार्फत २६४९ विद्यार्थी लाभान्वित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले मार्च १६ देखि २२, २०२६ सम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी अभियान सम्पन्न गरेको जनाएको छ । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित मनाइएको यस वर्षको अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विद्यालय तथा क्याम्पस गरी ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा बैंकिङ सेवा, डिजिटल कारोबार तथा त्यसमा अपनाउनुपर्ने सावधानीबारे जानकारी प्रदान गरिएको थियो । विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, सकारात्मक मनोवृत्ति तथा व्यवहार विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा २ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए । साथै, बैंकिङ प्रणालीको व्यवहारिक ज्ञान प्रदान गर्न ४७८ विद्यार्थीलाई बैंकका विभिन्न शाखाहरूमा भ्रमण गराइएको बैंकले जनाएको छ । ग्लोबल मनी वीक अवधिभर बैंकले कुल ५१ वटा कार्यक्रममार्फत २ हजार ६४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको जनाएको छ । सप्ताहभर बैंकले सामाजिक सञ्जालमार्फत दैनिक रूपमा जानकारीमूलक सामग्री प्रकाशन गर्दै वित्तीय सचेतना विस्तार गर्ने प्रयास पनि गरेको थियो । देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गर्दै सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यअनुसार सञ्चालन गरिएका कार्यक्रमहरूले ग्लोबल मनी वीकका मूल उद्देश्य हासिल गर्न सकारात्मक योगदान पुगेको बैंकको विश्वास छ ।