विकासन्युज

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै, अन्य सांसदहरूको बिहीबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य  निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११:१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।  प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।  ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ । 

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बदली भएको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने तथा बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा तथा अन्य प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहने तथा तराईका भू-भागमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने पूर्वानुमान छ । साथै महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।

वडाध्यक्ष बन्न पनि ‘क्लास’ लिनुपर्ने, गगनले ल्याए ‘कांग्रेस लिडरसिप एकेडेमी’ को अवधारणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक परिवर्तनका लागि ‘ग्रान्ड रिफर्म’ को योजना अघि सारेका छन् ।  गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेपछि पहिलो पटक मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकका क्रममा विशेष सम्बोधन गर्दै सभापति थापाले अबको यात्रा महाधिवेशन र पार्टी पुनर्जागरणतर्फ केन्द्रित हुने उद्घोष गरेका हुन् । पार्टीको आन्तरिक जीवनका बारेमा बोल्दै थापाले कांग्रेसमा अब ‘सानो सुधार होइन, ग्राण्ड रिफर्म’ चाहिएको बताए । उनले सत्ताका लागि गरिने सिद्धान्तहीन सम्झौता र राज्यशक्तिको दुरुपयोग जस्ता ‘मैला पातहरू’ अब हटाउनुपर्ने बेला आएको उल्लेख गरे । पार्टीको भद्दा संरचनाले यसको मौलिकता थिचिएको भन्दै उनले चार पुस्ताको विविधतालाई कांग्रेसको शक्तिमा बदल्नुपर्ने धारणा राखे। पार्टीलाई केवल ‘इलेक्सन मेसिन’ मात्र नबनाई एक जीवन्त सामाजिक आन्दोलनका रूपमा पुनर्जागृत गर्ने उनको संकल्प छ । उनले निर्वाचनको हारको जिम्मेवारी लिँदै आफू ‘टिमको क्याप्टेन’ भएको नाताले जवाफदेहिताबाट नभाग्ने स्पष्ट पारे । सभापति थापाले निर्वाचन परिणाम लगत्तै उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुझाएको राजीनामाका सम्बन्धमा बोल्दै यो कुनै हतास मानसिकता नभई राजनीतिक जवाफदेहिताको कसी भएको बताए ।  उनले भने, ‘म यो टिमको क्याप्टेन हुँ र मेरो नेतृत्वमा हामी निर्वाचनमा गएका हौं, त्यसैले हारको जिम्मेवारी मैले लिनुपर्छ भन्ने मेरो दृढ निष्कर्ष थियो ।’ यद्यपि केन्द्रीय समितिले विशेष महाधिवेशनबाट आएको नेतृत्वले नै बाँकी जिम्मेवारी पूरा गर्नुपर्ने निर्णय गरेपछि उनले समितिको निर्णयलाई सम्मान गर्दै नयाँ अध्यायको प्रारम्भ भएको घोषणा गरे । थापाले अब राजीनामाको अध्याय समाप्त भएको र पार्टीलाई १५ औँ महाधिवेशनतर्फ डोर्याउने जिम्मेवारी आफ्नो काँधमा आएको बताए । सुशासनका सन्दर्भमा सभापति थापाले आक्रामक प्रस्ताव अघि सारेका छन्। उनले २०४६ सालको जनआन्दोलनपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्नुपर्ने माग गरे । ‘गलत ढङ्गले आर्जन गरिएको सम्पत्ति जफत गरिनुपर्छ, यो हाम्रो प्रतिज्ञा पत्रको मुख्य बुँदा हो’, उनले भने ।  गिरीबन्धु, ललिता निवास, वाइडबडी जस्ता चर्चित प्रकरणकहरू अब सार्वजनिक खपतको विषय मात्र नभई ‘दूधको दूध पानीको पानी’ हुनुपर्ने र दोषीले सजाय पाउनुपर्नेमा उनले जोड दिए । उनले नयाँ सरकारले यस्ता काण्डहरूको निष्पक्ष अनुसन्धान गरेमा कांग्रेसको पूर्ण साथ रहने प्रतिवद्धतासमेत व्यक्त गरे । संविधानका आधारभूत पिलरहरूलाई नचलाई सुशासन र प्रभावकारिताका लागि संविधान संशोधन गर्नुपर्ने प्रस्ताव थापाले राखेका छन् । यसका लागि कांग्रेसले एक वरिष्ठ नेताको संयोजकत्वमा विज्ञहरू सम्मिलित समिति बनाउने र उक्त समितिले पार्टीभित्र, संसदका दलहरू र संसद् बाहिरका शक्तिहरूसँग समेत छलफल गरी राष्ट्रिय सहमति निर्माण गर्ने योजना सुनाए । समावेशीकरण, सामाजिक न्याय र युवाको अधिकारलाई अझ सुदृढ बनाउँदै संविधानलाई समयसापेक्ष परिमार्जन गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने उनको दाबी छ । सदस्यता प्रणालीमा आमूल परिवर्तन गर्दै आगामी वैशाख १ गतेबाट सबै क्रियाशील सदस्यको नयाँ ढङ्गले अभिलेखीकरण र अद्यावधिक गरिने थापाले जानकारी दिए । अब प्रत्येक सदस्यले ‘कांग्रेस आइडी’ पाउनेछन् र सबै प्रक्रिया डिजिटल हुनेछ । यस्तै, विभिन्न पेशा र व्यवसायमा रहेका विज्ञहरूलाई पार्टीको नेतृत्वमा ल्याउन ‘ल्याटरल इन्ट्री’ (पाश्र्व प्रवेश) को ढोका खोलिने उनले बताए । शुभेच्छुक संस्थाहरूबाट महाधिवेशन प्रतिनिधि आउने पुरानो व्यवस्था खारेज गरी विज्ञहरूलाई सिधै नीति निर्माण र नेतृत्वमा सहभागी गराइने नयाँ विधानको व्यवस्था कार्यान्वयन गरिने उनको प्रस्ताव छ । सार्वजनिक जिम्मेवारीमा जान चाहने नेताहरूका लागि थापाले ‘कांग्रेस लिडरसिप एकेडेमी’ को अवधारणा अघि सारेका छन् । अब स्थानीय वा प्रदेश निर्वाचनमा उम्मेद्वार बन्न चाहने व्यक्तिले अनिवार्य रूपमा एकेडेमीको पाठ्यक्रम अनुसार प्रशिक्षण लिनुपर्नेछ । ‘मेयर वा वडाध्यक्ष बन्न चाहनेले पब्लिक पोलिसी, अर्थतन्त्र र सुशासनका बारेमा तोकिएको घण्टा क्लास लिनैपर्छ, उनले भने ।  यसले पार्टीका उम्मेदवारहरूलाई शासकीय क्षमतामा अब्बल बनाउने र जनताका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।  १५ औँ महाधिवेशनको कार्यतालिका सभापति थापाले आगामी २०८३ भदौमा १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी विस्तृत कार्यतालिका प्रस्ताव गरेका छन् । प्रस्तावित तालिकाअनुसार २०८३ वैशाखमा वडा तहमा क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ । साउन ६ गते वडा अधिवेशन, साउन १२ गते गाउँ÷नगर अधिवेशन, साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन गरिनेछ । यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन र अन्ततः २०८३ भदौ २४, २५ र २६ गते नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका उनले पेस गरेका छन् । अनुशासन र एकताको सन्देश सभापति थापाले पार्टीको ‘गाडी’ अब अगाडि बढिसकेको र यसले कसैलाई पनि नछोड्ने बताए । निर्वाचनका बेला पार्टीका आधिकारिक उम्मेद्वारलाई असहयोग गर्ने वा रुख चिन्हमा मत नहाल्ने प्रवृत्तिलाई आफूले गम्भीरतापूर्वक ‘नोटिस’ मा लिएको उनले चेतावनी दिए ।  ‘पार्टीको सदस्य भएर शपथ खाएपछि उम्मेद्वारलाई जिताउनु कर्तव्य हो, कसैसँग असन्तुष्टि छ भन्दैमा पार्टीलाई हराउन पाइँदैन’, उनले भने ।  उनले विगतका सबै पूर्वाग्रह त्यागेर सबैलाई समेटेर अगाडि बढ्ने र कांग्रेसलाई एक भरोसायोग्य र विश्वासिलो पार्टी बनाउने प्रतिवद्धता जनाए । सङ्घीय प्रतिपक्षको भूमिका र राष्ट्रिय राजनीति निर्वाचनपछि नेपाली कांग्रेसले प्राप्त गरेको संघीय प्रतिपक्षको भूमिकालाई सभापति थापाले विशिष्ट जिम्मेवारीका रूपमा व्याख्या गरे । उनले नयाँ सरकार गठन गर्ने म्याण्डेट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिँदै कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिज्ञा गरे। ‘सरकारको गति बढाउन हाम्रो दबाब र प्रोत्साहन रहन्छ, तर देशलाई कुनै पनि हालतमा दुर्घटनामा पर्न दिँदैनौं,’ उनले भने । थापाले लोकतन्त्रका आधारभूत मूल्य, प्रेस स्वतन्त्रता र न्यायपालिकाको स्वायत्ततामा कुनै सम्झौता नहुने र कांग्रेसले ‘भिजिलेन्ट’ (सतर्क) भएर पहरेदारी गर्ने स्पष्ट पारे ।

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं । सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन २०५० सम्म क्षयरोग मुक्त देश बनाउने लक्ष्य नेपालको छ । यो लक्ष्यका साथ सरकारले देशभरि क्षयरोगी पत्ता लगाउने र उपचार गर्ने काम गरिरहेको पनि धेरै वर्ष भइसकेको छ । तर, नेपाललाई दुवै लक्ष्य पुरा गर्न अहिलेको तथ्यांकले चुनौती देखाएको छ ।  ४२ प्रतिशत बिरामी अहिले पनि उपचार बाहिर रहेकाले चुनौती थपिएको छ भने अहिले पनि नेपालमा वार्षिक ६७ हजार नयाँ बिरामीहरू फेला पर्ने गरेका छन् । नेपालमा क्षयरोग अझै जनस्वास्थ्यको समस्याको रुपमा रहेकाले लक्ष्य पुरा गर्न चुनौती देखिएको विज्ञहरू बताउँछन् ।  राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा वर्षमा करिब ६९ हजार नागरिक क्षयरोगबाट प्रभावित हुने गरेका छन् भने करिब १७ हजारको यही रोगका कारण मृत्यु हुने गरेको छ । अहिले पनि दैनिक ४४ जनाको मृत्यु यही रोगका कारण हुने भएकाले चुनौती थपिएको केन्द्रले देखाएको छ ।  केन्द्रका निर्देशक डा. भुवन पौडेलले यसको न्यूनीकरणका लागि राज्यका तर्फबाट विभिन्न प्रयास भइरहेको बताए ।  गत आर्थिक वर्ष २०८१/०८२ मा ३९ हजार १ सय ५१ जना क्षयरोगी पत्ता लगाइ उपचारका लागि ल्याइएको थियो । जसमा ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत बालबालिका थिए ।  सरकारले देशभर  निःशुल्क परीक्षण तथा उपचार सेवा उपलब्ध गरेको छ । हाल देशका ६ हजार २ सय ४१ वटा स्वास्थ्य संस्थाबाट क्षयरोगको सेवा उपलब्ध छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार ७ सय ८५ संस्थामा माइक्रोस्कोप सेवा, १ सय ४२ वटा संस्थामा द्रुत परीक्षण सेवा नि:शुल्क रूपमा सञ्चालन गरिएको छ भने औषधी प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेको छ । यस्तै, १ सय ४९ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान विस्तार भएको छ ।  फोक्सोका बिरामी धेरै  नेपालमा तीन प्रकारका क्षयरोगी भेटिएका छन् । जसमध्ये सबैभन्दा बढी फोक्सो सम्बन्धी क्षयरोग रहेको छ । फोक्सो सम्बन्धी क्षयरोग देखिएको क्षयरोगमा ज्वरो आउने, खोकी लाग्ने, खोकीबाट रगत आउने, तौल घट्ने लक्षण देखिन्छ भने यसले फोक्सोलाई असर गर्छ ।  फोक्सोभन्दा बाहेक शरीरका अन्य ग्रन्थी, पेट, हड्डी, मस्तिष्कमा पनि क्षयरोग देखिन्छ भने अर्को औषधि प्रतिरोधी क्षयरोग पनि नेपालीमा देखिएको छ । जुन जटिल प्रकारको मानिन्छ । यसमा अन्य क्षयरोग भएका व्यक्तिले खाने औषधिले काम गर्दैन र त्यसको लागि उपचार महँगो र लामो समय लाग्ने हुन्छ ।  क्षयरोग नियन्त्रणका लागि सरकारले प्रयास गरेपनि नागरिक सम्पर्कमा नआइदिँदा समस्या भएको छ । वर्षेनी करिब ६७ हजार नागरिक क्षयरोगबाट प्रभावित भएपनि धेरै बिरामी सम्पर्कमा नआइदिँदा पनि नियन्त्रणमा समस्या भएको विज्ञहरू बताउँछन्।

विपन्नका आँखामा खुसी छर्दै ग्लोबल आइएमई बैंक र तीलगंगा प्रतिष्ठान

काठमाडौं । ग्लोबल आइएमई बैंक र तीलगंगा आँखा प्रतिष्ठानबीच आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइतको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरे । समझदारी अनुसार तीलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूको निःशुल्क रूपमा मोतिबिन्दुको पहिचान गरी शल्यक्रिया गर्ने छ ।  साथै विद्यालयमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा विपन्न छात्रा/छात्रहरूको आँखा परिक्षण गरी आवश्यकताअनुसार निःशुल्क रूपमा चस्मा वितरण गरिनेसमेत समझदारी भएको छ ।  हस्ताक्षर समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताएका छन् । उनले भने, ‘हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई सातै प्रदेशमा समान रूपमा पुर्‍याउने प्रयास गरेका छौं, किनकि हाम्रो विश्वास छ, हामी जहाँ व्यापार गर्छौं, जहाँबाट नाफा कमाउँछौं, त्यहीँ समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ ।’  उनले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा कार्यलयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता, दिगो विकास लक्ष्य तथा बेलाबेलामा आइपर्ने विभिन्न दैविक प्रकोपहरुमा उद्दार तथा राहतमा विभिन्न कार्यक्रमहरू गर्दै आएको पनि बताए । त्यसैगरी, तीलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रुइतले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौती दुवै रहेको बताउँदै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताए । उनले आफूहरूले कुनै पनि कार्यक्रममा पारदर्शिता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको पनि उल्लेख गरे । बैंकका सीईओ रेग्मीले नेपालकै ठूलो बैंक र तिलगंगाजस्तो प्रतिष्ठित संस्थाबीचको सहकार्यले बैंकलाई सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न उत्साह मिलेको बताउँदै यस सहकार्यलाई आगामि दिनमा थप विस्तार गर्दै लैजाने बताए । हस्ताक्षर समारोहमा बैंकका डीसीईओ सुमन पोखरेल, बैंकका उच्च पदस्थ कर्मचारीलगायत प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक-फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।  नेपाल आँखा कार्यक्रम, तीलगंगा आँखा प्रतिष्ठान गैर नाफामूलक संस्थाको रूपमा सन् १९९२ मा दर्ता भई आँखा स्वास्थ्य सम्बन्धमा गुणस्तरीय सेवा, इन्ट्रा ओकुलर लेन्स उत्पादन, आँखा सम्बन्धित महत्त्वपूर्ण अनुसन्धानहरू, आँखा स्वास्थ्य सम्बन्धी शिक्षण, समुदाय आँखा कार्यक्रम तथा नेपाल आँखा बैंकमार्फत् नेपाल तथा विश्वस्तरमा विश्वसनीय आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको संस्था हो ।

आर्थिक सचेतना बढाउन मेरोमाइक्रोफाइनान्सको अन्तरक्रिया कार्यक्रम

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता अभिवृद्धि तथा ग्राहक गुनासो सुनुवाइ कार्यक्रम चितवनमा सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, संस्थाका पदाधिकारी तथा सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिका–८ का वडा अध्यक्ष शंकर कडेलले वित्तीय साक्षरताले नागरिकलाई आत्मनिर्भर बनाउने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । उनले स्थानीय तह र वित्तीय संस्थाबीच सहकार्यमार्फत आर्थिक सशक्तीकरणलाई अगाडि बढाउन सकिने धारणा व्यक्त गरे । कार्यक्रमका विशेष अतिथि इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक सागर पन्तले वित्तीय कारोबारलाई सुरक्षित र पारदर्शी बनाउन सबै सचेत हुनुपर्नेमा जोड दिए । उनले ठगी तथा वित्तीय अपराधबाट जोगिन सचेतना अत्यन्त आवश्यक रहेको बताए । त्यसैगरी, मेरोमाइक्रोफाइनान्सका बागमती तथा गण्डकी प्रदेश प्रमुख जितेन्द्र काजी थापा र अनुगमन कार्यालय चैनपुर, चितवनका प्रमुख कृष्ण प्रसाद उप्रेतीले संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमहरू र सेवाबारे जानकारी गराउँदै वित्तीय अनुशासन र जिम्मेवार ऋण प्रयोगमा जोड दिएका थि ए। कार्यक्रममा सहभागी सेवाग्राहीहरूलाई बचत, ऋण व्यवस्थापन, आय–व्यय सन्तुलन तथा योजनाबद्ध लगानीका विषयमा जानकारी प्रदान गरिएको थियो । ग्राहक गुनासो सुनुवाइ सत्रमा सेवाग्राहीहरूले आफ्ना समस्या, जिज्ञासा तथा सुझावहरू राखेका थिए । ग्राहकको तर्फबाट मन्तव्य राख्दै सदस्यहरू सुस्मा सिवाकोटी र विद्या महतोले यस्ता कार्यक्रमले आफूहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बन्न मद्दत पुगेको बताएका थिए । कार्यक्रमले सेवाग्राही र संस्थाबीच आपसी विश्वास अभिवृद्धि गर्नुका साथै वित्तीय सचेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । 

एनआईसी एशियाका ग्राहकलाई स्तुपा हस्पिटलमा १५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच ग्राहक तथा सेयरधनीलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने विषयमा समझदारी भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट काठमाडौं नर्थ सर्कल हेड सुदिन कुमार लामा तथा हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनआईसी एशिया बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यस्तै, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य सेयरधनीहरूले बैंकको क्रेडिट कार्डमार्फत उपलब्ध सेवा सुविधाहरू उपयोग गर्न सक्नेछन् । ग्राहकहरूको सहजताका लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा बैंकको एटीएम सेवा सञ्चालन गर्ने सहमति समेत भएको छ । ग्राहकलाई परिष्कृत तथा सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ गरिएको यस सहकार्यबाट बैंकका ग्राहक तथा सहकारी संस्थासँग आबद्ध कर्मचारी र सेयरधनीहरूलाई थप सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको जनाएको छ ।  

८० लाख १५ हजार ठगी गरेको आरोपमा बस्नेत पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा फरार रहेकी एक महिला पक्राउ परेकी छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दोलखाकी ३७ वर्षीय राधिका बस्नेतलाई काठमाडौंबाट पक्राउ गरेको हो । बस्नेत ८० लाख १५ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेकी हुन् । उनीविरुद्ध काठमाडौंका विभिन्न प्रहरी वृत्तमा उजुरी परेको थियो । बस्नेत विरुद्ध बैंकिङ कसुरमा ७ र वैदेशिक रोजगारीमा दुईवटा मुद्दा रहेको कार्यालयले जनाएको छ ।