विकासन्युज

प्रदेश संरचना मर्मतमा २८ करोड रुपैयाँ लाग्ने

सुर्खेत । छ नं प्रदेशको प्रस्तावित राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका-संसद्का लागि आवश्यक तयारी शुरु भएको छ । प्रदेश सरकार संरचनाका लागि २८ करोड रुपैयाँ लाग्ने भएको छ । प्रदेश व्यवस्थापिका-संसद्, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेश सरकारका लागि विद्यमान पूर्वाधार मर्मतका लागि २८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको हो । कार्यदलले तयार पारेको प्रतिवेदनमा अडिटोरियम हलदेखि आवाससम्मको मर्मतका लागि उक्त रकम आवश्यक पर्ने उल्लेख छ । प्रदेशसभा भवन, सभामुख कार्यालय, सभामुख निवास, प्रदेश उपप्रमुखलगायत प्रदेशसभा सचिवालयमा खटिने कर्मचारी र संसदीय दलको कार्यालयका लागि उक्त रकम प्रस्ताव गरिएको र शैक्षिक तालीम केन्द्र भवन मर्मतका लागि रु छ करोड आवश्यक पर्ने उल्लेख छ । यस्तै प्रदेश प्रमुख कार्यालय, निवास, प्रदेश सचिव कार्यालय, प्रदेश मन्त्रिपरिषद्, मुख्यमन्त्री, मुख्य सचिव कार्यालय, गृह, अर्थ, कृषि तथा भूमि व्यवस्थापन, पूर्वाधार विकास, विज्ञान तथा वातावरण, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, मन्त्रीहरुको निवास, विशिष्ट कर्मचारी निवासलगायतमा २२ करोड रुपैयाँ खर्च लाग्ने क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत केशवप्रसाद उपाध्यायले बताए । “भवन मर्मतका साथै नजिकका बिग्रेका सडकको मर्मतका लागि पनि यो बजेट प्रस्ताव गरेका हौँ” उपाध्यायले भने, “केन्द्रबाट अहिलेसम्म बजेटका बारेमा कुनै निर्णय आइपुगेको छैन ।” क्षेत्रीय प्रशासन कार्यालयले शाखा अधिकृत केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले शैक्षिक तालीम केन्द्रका लागि प्रदेशसभा भवन, सभामुख कार्यालय, सभामुख निवास, प्रदेश उपप्रमुखलगायत प्रदेशसभा सचिवालयमा खटिने कर्मचारी र संसदीय दलको कार्यालयका लागि पनि आवश्यक भवन पनि सो प्रस्तावमा समेटेको छ । रासस

सबै ब्रोकरसँग भ्याट असुल्ने तयारी, चित्त नबुझे पुनरावलोकन

काठमाडौं । आन्तरिक राजश्व विभागले सबै ब्रोकर कम्पनीहरुसँग भ्याट असुल्ने स्पष्ट पारेको छ । विभागका प्रवक्ता प्रवक्ता यज्ञ प्रसाद ढुंगेलले सबै ब्रोकरहरुले भ्याट तिर्नुपर्ने दावी गरे । ‘अहिले तीन वटा कम्पनीको कर निर्धारण गरेर पत्र काटेका छौं, बाँकी ब्रोकर कम्पनीहरुको कर निर्धारण भैरहेको छ, उनीहरुले पनि भ्याट तिर्नु पर्छ’, विभागका प्रवक्ता ढुंगेलले विकासन्युजसँग भने । उनले विद्यमान कानुन अनुसार सबै ब्रोकरसँग कर असुल उपर हुने र नयाँ नीतिगत व्यवस्था आएपछि भने सोही बमोजिम हुने पनि स्पष्ट पारे । ‘अहिलेको कानुनी व्यवस्था अनुसार सबै ब्रोकरसँग भ्याट असुल्छौं, नयाँ नीतिगत निर्णय भएपछि सोही बमोजिम हुन्छ, चित्त नबुझ्नेहरु पुनरावलोकनमा जान सक्छन्’ प्रवक्ता ढुंगेलले भने । विभागले सुन्धारा सेक्युरीटिज, सेवा सेक्युरिटिज र इन्भेष्टमेन्ट मेनेजमेन्टलाई आव २०६९।७० देखि गत आवसम्मको भ्याट बुझाउन पत्र काटिसकेको छ । विभागले केहि दिन अघि मात्रै पत्र काटेर आगामी १५ दिनभित्र भ्याट र जरिवाना दस्तुर समेत बुझाउन भनेको हो । तीन वटा ब्रोकर कम्पनीले २ करोड ९० लाख रुपैंयाँ भ्याट, जरिवाना र ब्याज बुझाउनुपर्छ । कर कार्यालयले ब्रोकर कमिसनमा भ्याट लगाएपछि ब्रोकर एसोसियसनले कर हटाउन दबाब दिँदै आएको छ । ब्रोकर एसोसियसनले अर्थ मन्त्रालयसँग पटक पटक छलफल गरिसकेको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले २२५ प्रतिशत हकप्रद निष्कासन गर्न पायो बोर्डको अनुमति

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले २२५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले आइतबार मात्रै यस कम्पनीलाई सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति पाएको हो । बैंकले ३३ करोड ९७ लाख रुपैयाँ बराबरको ३३ लाख ९७ हजार कित्ता सेयर जारी गर्ने भएको छ । सो मात्राको सेयर जारी गर्न अर्थात बैंकको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रभु मनी ट्रान्स्फर र युएई एक्स्चेन्जबीच फ्लयास रेमिट्टान्स सिस्टम शुरू

काठमाडौं । प्रभु मनी ट्रान्स्फर र युएई एक्स्चेन्जबीच फ्लयास रेमिट्टान्स सिस्टम शुरू गर्ने सम्झौता भएको छ । उक्त सम्झौता मार्फत युएई एक्स्चेन्जको फ्लयास रेमिट्टान्स सिस्टम मार्फत पठाएको रकम अब नेपालमा प्रभु मनी ट्रान्स्फरको ७००० भन्दा धेरै एजेन्टहरुबाट तुरुन्तै भुक्तानी लिन सकिनुको साथै नेपालमा रहेका कुनै पनि बैंकको खातामा पैसा पठाउने सुबिधा पनि प्रदान गरेको छ। साथै, पठाएको पैसामा नेपालमा कुनै पनि सर्भिस चार्ज काटिने छैन र पुरै पैसा पाउने र खातामा जम्मा हुनेछ। प्रभु मनीले खाडी मुलुकको साथै सन्सारको धेरै देशहरुबाट रेमिट्टान्स नेपाल भित्र्याउने क्रममा युएई एक्स्चेन्जको बिभिन्न देशहरुमा रहेको शाखा कार्यलयहरुबाट नेपालीले आर्जन गरेको रकमलाई अझ सजिलो र सरल तबरले तुरुन्त नेपाल पैसा पठाउनको लागी युएई एक्स्चेन्जसँग सहकार्य गरेको हाे । साथै नेपालीले आर्जन गरेको रकमलाई कुनै पनि समयमा तुरुन्त भुक्तनी लिन तथा बिभिन्न सेवाहरु समाबेश भएको र नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त रेमिट्टान्स कार्ड समेत पैसा पठाउन सकिनेछ। रेमिट्टान्स कार्ड मार्फत प्रभु बैंकको १२६ वटा एटिएम साथै एन्पिएन नेटवर्कको ६०० भन्दा बढी एटिएम र चाडै नै एससिटीको ८०० भन्दा बढी एटिएमबाट रकम सहजै निकाल्न सकिनेछ।  

प्रचण्डको नेतृत्वमा रगत बगायौं, ओलीको नेतृत्वमा पसिना 

भक्तपुर /‘१४ बर्ष जेल बसें तर कुनै पूर्जीमा हस्तक्षर गरिन । कतिसम्म भने जेलबाट छुट्दा पनि छुटकारा पूर्जीमा हस्ताक्षर नगरी निस्किंए’, नेकपा(एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बधाइ दिन ओली निवास बालकोट गएको वाइसिएल नेपालको केन्द्रीय पदाधिकारीको समुहलाई आफ्नो जेल जीवनको स्मरण सुनाउदै ओलीले भने,‘जेल हालेको केही समयपछि एउटा कागज ल्याएर हस्ताक्षर गर्न ठिक परेको त राजाको मन्त्री हुन तयार छु भनेको पो रहेछ ।’ त्यही राजतन्त्र र निरंकुशताको अन्त्यका लागि विद्रोह गरेर हिडेको मान्छे फेरी राजाको मन्त्री खाने कुरा हुन्छ ? संविधान मान्दिन भनेर हिडेको मान्छेले त्यही संविधान अन्तरगत मन्त्री हुने कुरा हुन्छ ? ओलीले सुनाए । ‘०४४ सालमा जेलबाट छुट्दा पनि सही नगरी छुटेको हुँ ।’ अडानबाट कहिले पनि विचलित नहुने स्वभाव भएकोले निर्णय लिने बेलामा नै सोचविचार गर्ने बानी रहेको बताए । द्वन्द्वको बेला माओावादीका धेरै नेता कार्यकर्तालाई आफ्नो पहलले ज्यान बचाएको ओलीले वाइसिएलका नेताहरुलाई सुनाए । ‘कहिले सेनापतिलाई आग्रह गरेर,कहिले आइजीलाई, कहिले गृहमन्त्रीलाई आग्रह गरेर थुप्रै माअ‍ोवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु’ ओलीले भन्ने ‘बिचार र बाटो सही वा गलत केहो भन्ने बहस गरौंला तर मान्छेको ज्यानै मार्नु हुन्न भन्ने मेरो मान्यता हो ।’ २०२८ सालमा झापा विद्रोहका बेला आफूहरुले पनि हिंसात्मक आन्दोलन थाले पनि मारकाटबाट राजनीति बदलिदैन भनेर त्यसैबेला त्यस्तो बिचार त्यागेको बताए । ओलीले आफ्नो बानी ‘शक्तिसँग नझुक्ने,सत्यसँग नलड्ने’ प्रकारको भएको बताए । वाइसिएलका नेताहरुले ओलीलाई छिटोभन्दा छिटो पार्टी एकता गर्न आग्रह गरेका छन् । ओलीले पार्टी एकता हुँदा कोही नेतालाई म समितीमा पर्दिन कि भन्ने चिन्ता होला तर त्यस्ते चिन्ता नगरी देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुने आग्रह गरे । काँग्रेसको शासनबाट देशले मुक्ति पाएको भन्दै यो जनमतको सम्मान गर्दै देशलाई विकासको बाटोमा लैजान वाइसिएलहरुले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना पनि दिएका छन् । उनीहरुले देशको विकास र समृद्धिका लागि आफूहरु जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । वाइसिएलका उपाधक्ष्य वीरु तामाङले भने, ‘प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं तपाईंको नेतृत्वमा पसिना बगाउन तयार छौं ।’ आगामी सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला शैक्षिक योग्यताको प्रमणपत्र राखेर ऋणदिने व्यवस्था गरिएको सुनाएका थिए । युवाहरुलाई उद्यमी, अध्ययनशिल,समाजका रोल मोडल र सीपयुक्त हुन ओलीले सुझाव दिए । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाको नेतृत्वमा बधाइ दिन टोली आएको थियो ।

सगरमाथा इन्स्योरेन्सको पुस ७ गतेदेखि बुक क्लोज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आगामी पुस ७ गतेदेखि पुस २१ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीे साधारणसभामा जाने प्रयोजनको लागि उक्त १५ दिन बुक क्लोज हुन लागेको हो । यस इन्स्योरेन्स आगामी पुस २१ गते कम्पनीको २१औँ वार्षिक साधारणसभामा जाँदै छ ।

आश्वाः आवेदनको झण्झट हट्यो तर बाँडफाँडमा ढिलाई उस्तै

काठमाडौं । सानिमा क्यापिटलको सानिमा इक्वीटी फण्डमा एक अर्ब २४ करोडको आवेदन पर्यो। कम्पनीले मंसिर १८ गते नै आवेदन बन्द गरेको थियो तर अझै पनि बाँडफाँड गरेको छैन । आश्वा सदस्यहरुले तथ्यांक पठाउन ढिलाई गरेकाले अझै बाँडफाँड नभएको हो । ‘आश्वा सदस्यहरुबाट आवेदनको तथ्यांक आएको छैन, अब एक हप्तापछि मात्रै बाडफाँट गर्ने तयारी गरेका छौं’, सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी भन्छन् । नेपाल धितोपत्र बोर्डले साउन १ गतेदेखि आश्वा प्रणाली अनिवार्य गरेको थियो । आश्वा कार्यान्वयनमा आएपछि आवेदन र बाँडफाँड दुबै सहज हुने दावी गरिएको थियो । आवेदनका लागि घण्टौं लाइन बस्नुपर्ने झण्झटको अन्त्य भएको छ तर सेयर बाँडफाँडमा भने यसले खासै छिटो नतिजा दिन सकिरहेको छैन । नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी भन्छन्-‘आश्वाले लाइन बस्नुपर्ने झण्झट समाप्त पारेको छ, तथ्यांक अद्यावधिक गर्न सहज भएर बाँडफाँड पनि चाँडै हुनुपर्ने हो, किन ढिलाई भैरहेको छ, हामी बुझ्छौं ।’ उक्त प्रणाली लागूसँगै धितोपत्रको सार्वजनिक निष्काशन तथा बाँडफाँड प्रक्रिया २० दिन सम्मभित्र सम्पन्न हुने बोर्डले दावी गरेको थियो । सानिमा क्यापिटलले सानिमा इक्वीटीको बाडफाँट २० दिनभित्र गर्न नसक्ने स्पष्ट देखिएको छ । हाल अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले आश्वा सदस्यता लिएर सेवा आरम्भ गरिरहेका छन् ।

पर्यटकीयस्थल विकासका लागि फेसबुकबाट एक लाख संकलन

बैतडी । पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् । रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि सामाजिक सञ्जालमार्फत रु एक लाख बढी रकम संकलन गरेका छन् । सुर्नया गाउँपालिका-२ मा रहेको नेपालकैै गहिरो पत्तालभुमेश्वर गुफा रहेको तथा धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रचारप्रसारका लागि मलेसिया, कतार तथा भारतमा रहेका युवाले गत मंसिर १५ गतेदेखि पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाइन अभियान नाम दिएर उक्त रकम संकलन गरेका हुन् । उक्त अभियानका सह-कोषाध्यक्ष वीरबहादुर विष्टका अनुसार हालसम्म एक लाख एक हजार ६१७ रुपैयाँ संकलन भएको छ । उक्त संकलित रकमले पत्ताल भुमेश्वरको प्रवेशद्वारमा मूलगेट र अन्य भौतिक विकासका लागि खर्च गरिने बताइएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थलको सम्बन्धित निकायले संरक्षण, विकास, प्रवद्र्धन तथा प्रचारप्रसार गर्न स्थानीय तह तथा सम्बन्धित निकायले खासै पहल नगर्दा प्रवासमा रहेका युवा एकजुट भएका हुन् । बैतडीको सुर्नया गाउँपालिका घर भई हाल मलेसियामा कार्यरत तीलक पाण्डेले रु १० हजार, भारतमा रहेका निशान्त विष्ट र विनोद विष्टले जनही रु आठ/आठ हजार रुपैयाँ , मलेसियमा रहेका पूर्णबहादुर विष्टले छ हजार २८० रुपैयाँ सहयोग गरेका छन् । यस्तै, सुर्नया घर भई हाल मलेसिया रहेका महेश पाण्डेले छ हजार २५० रुपैयाँ, तिलक चन्दले छ हजार १५१ रुपैयाँ, मानबहादुर विष्ट पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । रासस