पाँच कम्पनीको दुई करोड बढीको सेयर सूचिकृत, क-कसको कति?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न पाँच बैंक तथा वित्तीय संस्थाको दुई करोड ६४ हजार ६८८ कित्ता सेयर सूचिकृत भएका छन् । सोमबार मात्रै बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । बजारमा सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । सो दिन तीन कम्पनीको एक करोड ५८ लाख २१ हजार ६८८ कित्ता बोनस सेयर सूचिकृत भएको हो । बोनस सेयर सूचिकृत गर्ने मध्येमा एनआईसी एसिया बैंकको एक करोड ३३ लाख ८५ हजार १९५ कित्ता बोनस थपिएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको ११ लाख ८ हजार ८४५ कित्ता र नागरिक लगानी कोषको १३ लाख २७ हजार ६४८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । त्यसैगरी, अन्य दुई कम्पनीको ४२ लाख ४३ हजार कित्ता हकप्रद सेयर थपिएका छन् । अरुण फाइनान्सको १५ लाख कित्ता र सप्तकोशी डेभलपमेन्ट बैंकको २७ लाख ४३ हजार कित्ता गरी सो मात्राको हकप्रद नेपाल स्टक एक्स्चेञ्जमा थपिएका छन् ।
विद्युतीय ट्रान्सफरमर आपूर्तिको ठेक्का चीनियाँ कम्पनी जियाङलाई
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सवस्टेशनमा ठुलो विद्युतीय ट्रान्सफरम आपूर्तिको जिम्मा चीनियाँ कम्पनीलाई दिएको छ । चीनको जियाङ जिन्सियान ट्रान्सफरमर कम्पनी लिमिटेडलाई २० वटा ठुला ट्रान्सफरमर खरिदको ठेक्का दिएको हो । उसले २५ लाख २८ हजार ४४८ अमेरिकी डलरमा ट्रान्सफरमर आपूर्ति गर्ने छ । प्राधिकरणले विभिन्न सवस्टेशनमा जडान गर्नका लागि ठुलो ट्रान्सफरमर खरिद गर्न लागेको हो ।
इष्टर्न हाइड्रोपावरको साधारणसभा पुस २४ मा, आईपीओ निष्कासन गर्ने
काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको निर्णय गर्न पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धिको प्रस्ताव पेश हुने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने छ । सभाबाट पारित भएपछि १ वर्षभित्र आईपीओ निष्कासन हुने कम्पनीले जनाएको छ । इष्टर्नले भोजपुरमा ५ मेगावाटको पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको छ । आउदो असारसम्म आयोजनाबाट बिजुली उत्पादन गर्ने तयारी कम्पनीको छ ।
मेनेजर अफ द इअर अवार्डका लागि आवेदन खुल्ला
काठमाडौं । मेनेजमेन्ट एसोसियसन अफ नेपाल(म्यान)ले मेनजेर अफ द अवार्डका लागि आवेदन खुल्ला गरेको छ । म्यानले पुरुष र महिला समुहमा अवार्ड वितरण गर्दै आएको छ । कम्पनीका प्रखुम कार्यकारी अधिकृत वा सिनियर मेनेजर स्तरमा लगातार २ बर्षदेखि काम गरिरहेकाहरुले आवेदन दिन सक्ने जनाएको छ । पब्लिक, प्राइभेट, गैर सरकार संस्था वा नागरिक समाज सम्बद्ध संस्थाहरुमा कार्यरतहरुले आवेदन दिन सक्नेछन् । जनवरी १० तारिख भित्र आवेदन दिइसक्न म्यानले अनुरोध गरेको छ । आवेदकहरुमध्येबाट उत्कृष्ठ पुरुष र महिला मेनेजरलाई पुरस्कृत गरिनेछ । म्यानले नेपालमा व्यवस्थापनका क्षेत्रमा तालिम, सेमिना, गोष्ठि लगायतका गतिबिधी मार्फत क्षमता अभिवृद्धिको काम गर्दै आएको छ ।
जनता बैंकको साधारणसभा पुस २८ गते, १ अर्ब ७० लाख लाभांश बाड्ने
काठमाडौं । जनता बैंकको आठौं वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ । सभामा चुक्तापुँजीको १४.४० प्रतिशतले हुने १ अर्ब ७० लाख रुपैयाँ ९१ हजार रुपैयाँको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने कार्यक्रम छ । यस्तै सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ गरी ६ जना संचालकको निर्वाचन हुने कार्यक्रम रहेको बैंकले जनाएको छ । यस्तै सभामा बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभ्ने, प्राप्ति गर्ने र विदेशी रणनीतिक साझेदारी भित्राउनका लागि सञ्चालक समितिलाई प्राप्त अख्तियारीलाई निरन्तरता दिने प्रस्ताव पेश हुने भएको छ ।
मिसन डेभलपमेन्ट बैंकको २० प्रतिशत बोनस, पुस १६ गतेसम्म सेयर किन्नेले पाउने
काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत आवको नाफाबाट लगानी कर्तालाई ८ करोड ६५ लाख ४६ हजार ७ सय मूल्य बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । बोनस सेयर वितरण प्रयोजनका लागि बैंकले पुस २७ गतेका लागि साधारण सभा समेत डाकिसकेको छ । पुस १६ गतेसम्म सेयर खरिद गर्ने लगानी कर्ताहरुले बोनस सेयर पाउनेछन् । बैंकले पुस १६ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ ।
नियमित बिजुली आपूर्तिले उद्योगलाई राहत, औद्योगिक क्षमता बढेर ५७ प्रतिशत पुग्यो
काठमाडौं । नियमित रुपमा बिजुली आपूर्ति भएपछि नेपालमा औद्योगिक क्षमता उपयोग र उत्पादनमा वृद्धि भएको छ । उद्योगले औसतमा ५७.३ प्रतिशत क्षमता उपयोग गरेका छन् । अघिल्लो वर्ष उद्योगको औसत क्षमता उपयोग ४८.२ प्रतिशत मात्र थियो । क्षमता उपयोग बढेपछि उत्पादनमा पनि सुधार आएको छ । गत वर्षदेखि नियमित उर्जा आपूर्ति, बन्द हड्ताल लगायतका आपूर्तिजन्य अवरोधमा कमी, पुनर्निर्माणका कारण निर्माणजन्य सामग्रीको माग बढेको र औद्योगिक श्रम सम्बन्धमा सुधार भएका कारण उद्योगहरुको क्षमता उपयोगमा वृद्धि आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सबैभन्दा बढी क्षमता उपयोग गर्नेमा पश्मिना उद्योग भएका छ । पश्मिनाको ९८.५, वियरको ८२.१, चाउचाउको ७९.१ र प्रशोधित चिया उत्पादन गर्ने उद्योगको ७८.६ प्रतिशत क्षमता उपयोग भएको छ । अघिल्ला वर्ष यी उद्योगको क्षमता उपयोग क्रमशः ८८, ६२.८, ८३.३ र ६५.५ प्रतिशत मात्र थियो ।सबैभन्दा कम क्षमता उपयोग गर्नेमा चामल उद्योग रहेको छ । चामल उद्योगले २८.८, चिनी उद्योग ३१.२ र इँटा उत्पादन गर्ने उद्योगले ३५.७ प्रतिशत गरेका छन । औद्योगिक उत्पादनमध्ये वनस्पति घिउ तथा तेल समूह, पेय पदार्थ समूह, लत्ता कपडा समूह, कागज, अन्न तथा पशुदाना समूह अन्य रसायनिक पदार्थ समूह, प्लाष्टिकजन्य उत्पादन, गैरधातु खनिजजन्य उत्पादन तथा फ्रेबिकेटेट धातुको सामानको उत्पादनमा वृद्धि भएको छ । दुग्धपदार्थ, अन्य खाद्य पदार्थ समूह, तयारी कपडा, काठको उत्पादन, बिजुलीको तार र जुत्ताको उत्पादनमा ह्रास आएको छ । वनस्पती घिउ तथा तेल समूहको उत्पादन ३९.२, समग्र पेय पदार्थको उत्पादन २७.२,लत्ता कपडाको उत्पादन २८.८ प्रतिशतले वृद्धि भएको छ । अन्न तथा पशुदाना समुहको उत्पादन १९.४ प्रतिशतले वृद्धि भएको छ । अन्य खाद्य पदार्थ समूह अन्तर्गत विस्कुट, चाउचाउ र प्रशोधित चियाको उत्पादनमा वृद्धि भएको छ । चिनी र चकलेटको उत्पादनमा कमी आउँदा अन्य खाद्य पदार्थ समूहको समग्र उत्पादनमा १५.३ प्रतिशतले ह्रास आएको छ । तयारी कपडा समूहको उत्पादन ३२.९ प्रतिशतले घटेको छ । रंगको उत्पादनमा २६, साबुनको उत्पादनमा ३२.३, इँटाको उत्पादन १२.२ र सिमेन्ट उत्पादन ५८.३ प्रतिशतले बढेको छ । यसैगरी, फलामको छड तथा पत्ति र जिआई तारको उत्पादनमा क्रमशः १०९.३ र ८२.२ प्रतिशतले वृद्धि भएको छ । घरेलु धातुका सामान उत्पादनमा ३.८, जुत्ताको उत्पादनमा १७.५ प्रतिशत ह्रास आएको छ । प्रशोधित छालाको उत्पादनमा ९.७, चिरेको काठको उत्पादनमा २०.८, बिजुलीको तार र केबलको उत्पादनमा १०.९ प्रतिशत कमी आएको छ । कागज उत्पादनमा २८.८, रोजिनको उत्पादन १२.५ र समग्र औषधिको उत्पादनमा औसतमा १७.१ प्रतिशतले वृद्धि भएको छ । क्षेत्रगत रुपमा विश्लेषण गर्दा काठमाडौमा मुख्यतया प्रशोधित दूध, हल्का पेय पदार्थ, पस्मिना, चाउचाउ, रंग, औषधी, जुत्ताको उत्पादन हुने गरेको छ । विराटनगरमा वनस्पती घिउ तथा तेल, चिनी, चाउचाउ, चिया, जुटका सामान, प्लाष्टिकका सामान, फलामको छड तथा पत्ति, धातुका उपकरण, सिमेन्ट आदिको उत्पादन प्रमुख छ । जनकपुरमा चिनी, मदिरा, कागज, ईटा, सिमेन्ट आदिको उत्पादन हुने गरेको छ । वीरगञ्जमा वनस्पति घिउ, तेल, प्रशोधित दूध, पशुदाना, चिनी, हल्का पेय पदार्थ, चुरोट, छाला, लत्ताकपडा, सिमेन्ट, प्रशोधित छाला, औषधी र पोखरामा विस्कुट, चाउचाउ, रवरजन्य वस्तुको उत्पादन हुने गरेको छ । सिद्धार्थनगरमा गहुँको पिठो, पेय पदार्थ, औषधि, सिमेण्ट उत्पादन हुने गरेको छ । नेपालगञ्जमा तोरीको तेल, चामल, सिमेण्ट उत्पादन हुने गरेको छ । धनगढीमा गहुँको पिठो, रोजिन, साबुन लगायतका वस्तुहरुको उत्पादन हुने गरेको छ । चालु आर्थिक वर्षमा उर्जा आपूर्तिमा सुधार भएको, कच्चा पदार्थको सहज उपलव्धता रहेको तथा पुनर्निर्माण कार्यले लिएका गतिबाट उद्योगहरुको क्षमता उपयोगमा थप विस्तार हुने अनुमान गरिएको छ । प्रादेशिक तथा केन्द्रीय स्तरको चुनाबमा सरकारी खर्चमा हुने वृद्धिबाट चाउचाउ, चकलेट, वियर र हल्का पेय पदार्थ जस्ता वस्तुहरुको माग बढ्न गई उत्पादन समेत बढ्ने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा मौसमी अनुकुलता रहेका कारण कृषि उत्पादनमा वृद्धि हुन गई चामल, पिठो, दाल र तेल जस्ता कृषिजन्य उत्पादनमा आधारित उद्योगहरुको उत्पादन समेत बढ्ने अनुमान गरिएको छ । सरकारले उखुको मूल्य निर्धारणमा गर्ने ढिलाई तथा चिनी उद्योगहरुले विगत वर्षहरुको उखुको मूल्य किसानहरुलाई भुक्तानी नगरेबाट किसानको उखु खेतीमा आकर्षण घट्न गई चिनी उत्पादन भने घट्ने देखिन्छ । पुनर्निर्माण प्राधिकरणबाट भूकम्प पिडितहरुलाई दोस्रो तथा तेस्रो किस्ताको रकम वितरणमा ल्याएको तीव्रता, भत्किएका सरकारी संरचनाहरुको पुनर्निर्माण कार्यले लिएको गति लिएको छ । भर्खरै सम्पन्न स्थानीय तहरुको निर्वाचन पश्चात् गठित स्थानीय तहहरुले आप्mनो क्षेत्रमा पूर्वाधार विकास निर्माणमा वृद्धि गर्ने लगानीबाट निर्माणजन्य सामाग्री इँटा, सिमेन्ट, फलामे छड तथा पत्ति लगायका उत्पादन बढ्न जाने देखिन्छ
राधि विद्युत कम्पनीको आईपीओ सोमबारदेखि बिक्री खुला, बिहीबार बन्द हुने
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्धित राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबारदेखि बिक्री खुला हुने भएको छ । राधीले १५ प्रतिशत अर्थात ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६ हजार ५५० कित्ता आईपीओ निष्कासन गरेको हो । सेयर निष्कासन पुस ६ गते बन्द हुने कम्पनीका अध्यक्ष विनय भण्डारीले जानकारी दिए । धितोपत्र बोर्डबाट गत कात्तिकको पहिलो साता आईपीओ निष्कासन गर्न स्वीकृति पाएको थियो । यसअघि आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरेको थियो । ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ । संस्थापक सञ्चालक तथा आयोजना क्षेत्रका स्थानियबासिन्दालाई आईपीओ जारी भइसकेकाले उनीहरु यो खरिद प्रक्रियामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ । राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४१ करोड रुपैयाँ हुनेछ । गत वर्ष राधीले बिजुली बिक्रीबाट १४ करोड ५० लाख रुपैयाँ थियो । गत वर्ष राधीले ७ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीको संचित कोषमा २९ करोड ८४ लाख रुपैयाँ छ ।