विकासन्युज

बेष्ट फानान्सलाई सिनर्जी फाईनान्स अक्वायर गर्न राष्ट्र बैंककाे सैद्धान्तिक सहमति

काठमाडौं । बेष्ट फानान्सलाई सिनर्जी फाईनान्स अक्वायर गर्न नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ । यो सहमतिसंगै अब यो प्रकृयाले तिव्रता पाउने बेष्टले जनाएको छ । बढीमा ५ महिना भित्रै आवश्यक सवै प्रकृया सम्पन्न गरेर एकिकृत कारोवार प्रारम्भ गर्ने लक्ष्यको कार्यतालिका साथ कामको थालनी प्रारम्भ भैसकेको फाइनान्सका अध्यक्ष पद्म न्यौपानेले जानकारी दिए ।

निष्क्रिय कर्जा बढेपछि २८ वाणिज्य बैंकले गरे ४३ अर्ब ५३ करोड नोक्सान व्यवस्था

काठमाडौं । निष्क्रिय कर्जा बढेपछि विभिन्न २८ वाणिज्य बैंकले कुल कर्जाको २.४ प्रतिशत कर्जा नोक्सान व्यवस्था (प्रोभिजन) गरेका छन् । हालसम्म वाणिज्य बैंकले निष्क्रिय कर्जाका लागि ४३ अर्ब ५३ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेका हुन् । गत असोज मसान्तमा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा बढेर १.८ प्रतिशत पुगेको छ । गत असार मसान्तमा यस्तो कर्जा अनुपात १.६ प्रतिशत रहेको थियो । निष्क्रिय कर्जा बढेपछि बैंकले कर्जा नोक्सानी रकम पनि पनि बढेको हो । यसले बैंकको नाफामा समेत असर गरेको छ । चालु आवको पहिलो त्रैमाशमा वाणिज्य बैंकले १० अर्ब ९ करोड रुपैयाँ खुदनाफा गरेका छन् । चालु आवको पहिलो त्रैमाशमा मात्रै सिभिल बैंकले कर्जा नोक्सानी वापत १ अर्ब ८६ करोड रुपैयाँ राखेको छ । सिभिलको निष्क्रिय कर्जा अनुपात बढेर ४.६५ पुगेको छ । निष्क्रिय कर्जा बढेका कारण सिभिलले गरेको नाफा कर्जा नोक्सानीमा व्यवस्थापन गर्नुपरेको छ । सबैभन्दा बढी निष्क्रिय कर्जा सिभिलको छ । चालु आवमा यस्तो कर्जा घटाएर २ प्रतिशतमा झार्ने सिभिलको योजना छ । सबैभन्दा कम निष्क्रिय कर्जा नेपाल एसबीआई बैंकले कायम गरेको छ । एसबीआईको निष्क्रिय कर्जा ०.१३ प्रतिशत मात्र छ । यद्यपी गत आर्थिक वर्षको असारमा बैंकको यस्तो कर्जा ०.१० प्रतिशत मात्र थियो ।एसबीआईपछि कम निष्क्रिय कर्जा हुनेमा सानिमा बैंक दोश्रो नम्बरमा रहेको छ । सानिमाको निष्क्रिय कर्जा ०.१४ प्रतिशत छ । यद्यपी यसघि बैंकको यस्तो कर्जा ०.०५ प्रतिशत मात्र थियो । खराब कर्जा न्युन राख्ने प्रतिष्पर्धामा बैंकहरु लागिपरेको भएपनि अधिकांश बैंकको खराब कर्जा भने बढेकै देखिन्छ । स्ट्यान्डर्ड चाटर्ड बैंकको निष्क्रिय कर्जा ०.१८, एभरेष्ट बैंकको ०.२६, एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा ०.२९ प्रतिशत मात्र रहेका छ । १ प्रतिशत भन्दा कम निष्क्रिय कर्जा हुने अन्य बैंकमा माछापुच्छ्रेको ०.४५,नेपाल बंगलादेशको ०.७३ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको निष्क्रिय कर्जा ४.२९ प्रतिशत छ । प्रभु बैंकको ४.२३ प्रतिशत छ । ४ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा हुनेमा सिभिल र एनसीसी र प्रभु बैंक मात्र छन् । यस्तै सरकारी स्वामित्वका कृषि विकास बैंकको ३.५४, राष्ट्रिय वाणिज्य बैंकको २.९२ र नेपाल बैंकको ३.४२ प्रतिशत छ । कुमारी बैंकको १.९७, लक्ष्मी बैंकको १.७८, नेपाल इन्भेष्टमेन्ट बैंककको १.०४, सिद्धार्थ बैंकको २, हिमालयन बैंकको १.२४, एनएमबी बैंकको १.६७, जनता बैंकको १.८५, नविल बैंकको १.११, सिटिजन्स बैंकको १.९९ प्रतिशत रहेको छ । यसैगरी प्राइम कमर्शियल बैंकको १.३७, मेगा बैंकको १.६७, ग्लोबल आइएमईको १.५७, सेन्चुरी बैंकको १.७०, सनराइज बैंकको १.४९ र बैंक अफ काठमाण्डुको २ प्रतिशत रहेको छ । ५ प्रतिशत बढी निष्क्रिय कर्जा भएका बैंक तथा वित्तीय संस्थालाई जोखिमयुक्त मानिन्छ । हाल सञ्चालनमा रहेका बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत तल रहेको छ ।

कावेली विकास बैंकले मकालु डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न पुस १० विशेष साधारणसभा हुने

  काठमाडौं । कावेली विकास बैंकले माउन्ट मकालु डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वार) गर्ने भएको छ । प्राप्ति गर्न दुबै बैंकले पुस १० गते विशेष साधारणसभा बोलाएका छन् । चुक्तापुँजी बढाउन कावेलीले मकालुलाई प्राप्ति गर्न लागेको हो । दुबै बैंकको सम्पत्ति तथा दाइत्व मूल्याँकन प्रतिवेदन (डीडीए) अनुसार कावेलीको १ सय कित्ता सेयर बराबर मकालुको ८८ कित्ता दिने गरी सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ । मकालुलाई प्राप्ति गरेपछि कावेलीले १ बराबर १ः८ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव विशेष सभामा पेश हुने भएको छ । यस्तै सभामा जारी तथा चुक्तापुँजी ५० करोड ३५ लाख ९३ हजार रुपैयाँ पुर्याउने प्रस्ताव पारित हुने भएको छ ।

साँग्रीला डेभलपमेन्ट बैंकको हकप्रद सेयर पुस १७ देखि बिक्री खुला

काठमाडौं । चुक्तापुँजी बढाउन साँग्रीला डेभलपमेन्ट बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले आउदो पुस ९ गतेदेखि माघ २१ गतेसम्म १० कित्ता बराबर ८ कित्ताका दरले हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी २ अर्ब २४ करोड ५२ लाख रुपैयाँ पुग्ने भएको छ । राष्ट्रिय स्तरको विकास बैंक हुन साँग्रीलाले साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्नेछ । हाल बैंकको चुक्तापुँजी १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ छ ।

समानुपातिमा एमाले ८७ हजार मतले अगाडी

काठमाडौं । प्रत्यक्ष निर्वाचनमा अत्याधिक स्थानमा जित हासिल गरेको नेकपा एमालेले समानुपातिक मतगणनामा पनि अग्रता कायम गरेको छ । बुधबार साँझसम्म एमालेले २३ लाख ४७ हजार ३७१ मत प्राप्त गरेको छ । यस्तै नेपाली काँग्रेसले २२ लाख ५९ हजार ७८२ मतका सात दोस्रो स्थानमा छ । एमाले भन्दा काँग्रेस ८७ हजार ५८९ मतले पछि रहेको छ । यस्तै माओवादी केन्द्रले ९ लाख २१ हजार ९०६ मत प्राप्त गरेको छ । संघीय समाजवादी फोरमले ३ लाख १५ हजार ९२९ मत प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टीले २ लाख ५४ हजार ४०२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको चुक्तापुँजी २३८ अर्ब

काठमाडौं । हालसम्म बैंक तथा वित्तीय संस्थाको चुक्तापूँजी बढेर २ खर्ब ३८ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाले एक आपसमा गाभिएर (मर्जर), प्राप्ति (एक्जिसन) बोनस सेयर, हकप्रद सेयर र थप सेयर निष्कासन (एफपीओ) बाट चुक्तापुँजी बढाएका हुन् । हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकको १ खर्ब ९६ करोड १० लाख, ३९ विकास बैंकको ३१ अर्ब ४० करोड र २७ वित्त कम्पनीको १० अर्ब ९० करोड रुपैयाँ चुक्तापूँजी पुगेको छ । आर्थिक वर्ष ०७२/०७३ को मौद्रिक नीतिले न्यूनतम चुक्ता पूँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेपश्चात् बैंक तथा वित्तीय संस्थाको चुक्तापुँजी बढेको हो । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकले ८ अर्ब, विकास बैंकको साढे २ अर्ब र राष्ट्रियस्तरको विकास बैैकले ८० करोड रुपैयाँ चुक्तापुँजी तोकेको छ । २०७२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी १ खर्ब ४१ अर्ब ७० करोड रुपैयाँ थियो । प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ को पहिलो त्रयमासमा वाणिज्य बैंकहरुले १० अर्ब ९ करोड खुद नाफा गरेका छन् ।

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सप्तरीको छिन्नमस्ता भगवतिमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो १७ औँ शाखा रहित बैंकिङ्ग सेवा सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका वडा नं. ३, छिन्नमस्ता भगवतीमा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन प्रदेश नं. २(ख) का प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद शाहले एक समारोहका बीच गरेका छन् । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि विद्यानन्द चौधरीलाई पोइन्ट अफ सेल मेसिन शैलेन्द्रप्रसाद शाह र बैंकको राजविराज शाखाका प्रवन्धक रोहित कुमार महाशेठले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस शाखा सहित बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या १७ पुगेको छ । साथै बैंकको उक्त शाखाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत छिन्नमस्ता भगवती मन्दिरमा २० के.जी. पित्तलको घन्टी प्रदान गरियो ।

भ्याट लगाउने निर्णय फिर्ता गर्न लगानीकर्ताले दिए सरकारलाई ७ दिने अल्टिमेटम

काठमाडौं । नेपाल इनभेष्टर फोरमले मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सम्बन्धी निर्णय फिर्ता लिन करदाता सेवा कार्यालयलाई ७ दिने अल्टिमेटम दिएको छ । ७ दिन भित्र फिर्ता नलिएमा संघर्षका कडा कार्यक्रम गर्ने उनीहरुले विज्ञप्ती मार्फत चेतावनी दिएका छन् । धितोपत्र व्यवसायीहरुमाथी अन्तिम कर निर्धारण गरि मूल्य अभिवृद्धि कर दर्ता गर्न दिएको करदाता सेवा कार्यालयको निर्देशन फिर्ता लिन आग्रह गरेको हो । सो निर्देशन प्रचलित कानुनको प्रतिकुल रहेको भन्दै फोरमले उक्त निर्णय फिर्ता लिन सात दिने अल्टिमेटम दिएको छ । मुल्य अभिबृद्धी कर लगाउने सम्बन्धि निर्णयले पन्ध्रलाख भन्दा बढी लगानीकर्ताहरू संलग्न रहेको सम्बेदनशील पूँजी बजारलाई प्रत्यक्ष रुपमा नकारात्मक प्रभाब पार्ने उनीहरुको भनाई छ । यसरी स्पष्ट रुपमा मूल्य अभिबृद्धि कर छुट हुने भनि सो सम्बन्धका तथ्यहरु सहित सम्बन्धित निकायहरूमा पत्राचार गर्दा गर्दै तथ्यहरुको वेवास्ता गरि धितोपत्र दलाल व्यवसायीहरु माथी अन्तिम कर निर्धारण गरि मुल्य अभिबृद्धिकरमा दर्ता हुन निर्देशन दिने जस्ता कार्य प्रचलित कानुन तथा मु.अ.कर निर्देशिकाको प्रतिकूल रहेको उनीहरुको दाबी छ । पूँजी बजारमा तरलता प्रदान गर्ने, आर्थिक विकासको लागि पूँजीको सहज र सरल रुपमा उपलब्ध गराउने, अर्थतन्त्रको सहि सूचकको रुपमा प्रतिनिधित्व गर्ने पूँजी बजारलाई नकारात्मक प्रभाव पार्ने फोरमले जनाएको छ । करदाता सेवा कार्यालयले धितोपत्र दलाल व्यवसायीहरुलाई मूल्य अभिबृद्धि कर निर्धारण गरी विहीबारसम्मको जरिवाना, ब्याज तथा थप दस्तुर गणना गरी अन्तिम कर निर्धारण आदेश जारी गरेको र मूल्य अभिबृद्धि कर प्रयोजनको लागि दर्ता भई कारोबार गर्नु भन्ने निर्देशन जारी गरेको थियो । लगानीकर्ताका अनुसार धितोपत्र दलालको सेवा २०५० सालबाट प्रारम्भ भएको र तत्कालिन बिक्रीकर ऐन, २०२३ अनुसार पनि दलाल सेवामा बिक्रीकर लागेका थिएन र मूल्य अभिबृद्धि कर लागू भएपछि हालसम्म पनि करिब १९ बर्षसम्म लगातार धितोपत्र दलालको दलाली सेवा शुल्कलाई वित्तीय सेवा मानि मूल्य अभिबृद्धि करमा दर्ता हुने र कर उठाउने कार्य भएको छैन ।