‘हिमालयन हाइड्रो एक्स्पो’ पुस २१ गतेदेखि शुरु, विभिन्न ८ देशको सहभागिता रहने
काठमाडौं । ‘हिमालयन हाइड्रो एक्स्पो-२०१८’ आगामी पुस २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको सँस्था नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आयोजना गर्न लागेको उक्त एक्स्पोको तयारी ७५ प्रतिशत सकिएको आयोजकले जनाएको छ । आगामी पुस २३ गते सम्म चल्ने यो मेलालाई नेपाल सरकार राष्ट्रिय योजना आयोग, उर्जा मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपाल सरकारको ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्षलाई यो मेलाले सहयोग गर्ने आयोजकको विश्वास रहेको छ । एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य विषयमा तीनवटा सेमिनारको आयोजना गरिने छ । साथै, युवा पुस्तालाई लक्षित हाइड्रो पावर क्षेत्रमा अभिरुची भएकाहरुलाई आकर्षित एवम् प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए । हाइड्रो पावर सम्बन्धी उत्पादन र सर्भिसको बिकाससम्बन्धी प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी प्रथम हुनेलाई ५० हजार रुपैयाँभन्दा बढी तथा द्धितीय र तृतीयलगायत अन्य सान्त्वना पुरस्कार प्रदान गरिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका हाइड्रो पावरका कम्पीका प्रतिनिधिहरु एक्स्पोमा सहभागी हुँदै छन् । विशेष गरी भोईथ, क्रिस्टल, फ्लोभेल, भ्यापटेक, म्याभल, बीएफएल जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि यो एक्स्पोमा सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ । एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक/वित्त कम्पनीहरुको सहभागिता रहने स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंको विस्वास रहेको छ । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक लगायतका देशका कम्पनीहरुको सहभागिता रहने इपानका अध्यक्ष गुरागाईले जानकारी दिए ।
बामपन्थी बहुमतलाई सेयर बजारको ग्रीन सिग्नल, दोहारो अंकको वृद्धि
काठमाडौं । बाामपन्थीहरुको बहुमतलाई सेयर बजारले ग्रीन सिग्नलसहित अनुमोदन गरेको छ । लगातार तीन दिन घटेको सेयर बजार बुधबार भने १०.५३ अंकले उकालो लागेर १५२०.७४ अंकमा पुगेको छ । बजारमा परिसूचकमा वृद्धि भए पनि सेयर कारोबारमा भने गिरावट आएको छ । सो दिन जम्मा ४८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जनु रकम अघिल्लो कारोबार(मंगलबार)को भन्दा १८ करोड रुपैयाँ घटी हो । मंगलबारको बजारमा भने कुल ६६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको थियो । बुधबार सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको सेयर कारोबार भएको छ । यस बैंकको कुल ५ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३४ रुपैयाँ रहेको छ । त्यस्तै, बुधबारको सेयर बजारमा कारोबारमा आएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५२ अंकले उकालो लागेको छ । त्यसैगरी, होटल र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ३८ र ३२ अंकले बढेका छन् । बजारमा कुल १० वटा समूहको कारोबार भएको थियो । दोहोरो अंकले उकालो लागेको बजारमा सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सका लगानीकर्ताले ९.६३ प्रतिशत कमाएका छन् । त्यस्तै, ललितपुर फाइनान्सका लगानीकर्ताले पनि ९.५५ प्रतिशत कमाएका छन् ।
स्याङयोङले नेपाली बजारमा ल्यायो नयाँ कार ‘रेक्सटन’, न्युनतम १ करोड १२ लाख मूल्यसम्ममा उपलब्ध
काठमाडौं । स्याङयोङ मोटर्सले नयाँ कार ‘स्याङयोङ रेक्सटन’ सार्वजनिक गरेको छ । बिक्रेता आइएमएस मोटर्सले बुधबार एसयुबी सेग्मेन्टको रेक्सटन वाइ ४०० लाई नेपाली बजारमा भित्र्याएको हो । नेपालमा ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटीक ट्रान्समिसन गरी दुई विकल्पका साथ प्रस्तुत गरिएको छ । जसको मूल्य क्रमश: १ करोड ११ लाख ९९ हजार रुपैयाँ र १ करोड १९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ३ वर्षको वारेन्टी रहेको कम्पनीले जानकारी दिएको छ । स्याङयोङ कोरियाको लक्जरी एसयुभी ब्राण्ड हो, जुन कोरियाका ठूला अटोमोबाइल्स कम्पनीहरुमध्येको चौथो हो । इ एक्स डी २२० डिजेल इन्जीन र मर्सिडिज-बेन्ज ७ स्पीड अटोमेटिक ट्रान्समिसनको प्रयोग भएको यो कार आरामदायी रहेको कम्पनीले जनाएको छ । रेक्सटनमा ९ वटा एयर ब्याक छन् । यसमा उत्कृष्ट पार्श्व टकराव सुरक्षाका लागि क्वाड फ्रेमको पनि प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसमा गतिशील र विशाल फ्रन्ट लुक बाहेक एलइडी(डिआरएल, टर्न लाइट, ब्रेक लाइट, लाइसेन्स प्लेट लाइट) जस्ता फिचर छ । सेन्टर क्रोम मोल्डीङ, २० इन्चको स्पटर ह्विलले यो मोडलमा यसको स्टाइलिसनेस र सानदार छवि थपेको कम्पनीले जानकारी दिएको छ ।
साञ्जेनले ८७ लाखको आईपीओ निष्कासन गर्न पायो बोर्डकाे अनुमति
काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले ८७ लाख ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डले मंगलबार मात्र यस हाइड्रोपावरलाई साे मात्राकाे आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले ८७ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी गर्ने सो मात्राको सेयरका लागी यस संस्थाका संस्थापक सेयरधनी, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋण प्रदायक कम्पनीका कर्मचारीले आवेदन दिन पाउने छन् । यसपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीको बिक्री प्रबन्धक अर्थात सेयर निष्कासनको रुपमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट(नागरिक लगानी कोष) रहेको छ ।
पेट्रोलियम अन्वेषणका लागि विदेशी कम्पनीकै भर, राजनीतिक अस्थिरता मुख्य कारण
काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि विदेशी कम्पनीकै भर पर्नुपर्ने अवस्था छ । लामो समयदेखि पेट्रोलियम अन्वेषण गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाले हालसम्म पाँचवटा विदेशी कम्पनीले नेपालमा अन्वेषण कार्य गरिसकेको जानकारी दिएको छ । जसमा सोल ट्राइगन नेदरल्याण्ड, केयर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, विविवि च्याम्पियन्स अमेरिका र इएवीजी कम्पनी युएई छन् । सोल ट्राइगन, केयर इनर्जी र टेक्साना रिसोर्सेस कम्पनीले अन्वेषणको काम गरे पनि नेपालमा देखिएको राजनीतिक हिंसा र अस्थिरताका कारण बीचमै काम छाडेका थिए । परियोजना प्रमुख सुधीर रजौरे पेट्रोलियम अन्वेषणका लागि नेपालको अर्थतन्त्र र जनशक्तिले सम्भव नहुने भएकाले विदेशी कम्पनीको भर पर्नुपरेको बताउँछन् । “पेट्रोलियम पदार्थ कहाँ-कहाँ छ भन्नेबारे हामीले प्रारम्भिक अनुसन्धान गरिसकेका छौँ, विशिष्ट खालका अनुसन्धानको लागि विदेशी कम्पनीको भर पर्नुपर्ने हुन्छ,”– उनले भने । परियोजनाले गरेको अध्ययनअनुसार नेपालको चुरे र तराई क्षेत्रमा पेट्रोलियम पदार्थ हुनसक्ने निष्कर्ष निकालेको छ । परियोजनाले प्रारम्भिक पेट्रोलियम अन्वेषणका लागि पूर्वदेखि पश्चिमसम्ममा तराई र चुरेका १० खण्ड बनाएर अन्वेषण गरेको थियो । परियोजनाका प्रमुख रजौरेले नेपालको भूमिजस्तै रहेको भारतको आछाम र पाकिस्तानको पोटवारमा पेट्रोलियम पदार्थ उत्पादन भइरहेकाले यहाँको तराई र चुरे क्षेत्रमा पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावना उच्च रहेको बताए । यस्तै गत साउनमा मात्र चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालमा आएको बेला नेपालको पेट्रोलियम पदार्थ अन्वेषणका लागि सम्झौता गरेको थियो । जसमा सवा दुई अर्बसम्म सहयोग गर्ने उल्लेख छ । रासस
नेपाल ल्यूब आयलले २५ प्रतिशत नगद लाभांश दिने, पुस ५ गतेदेखि बुक क्लोज
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । सो प्रयोजनको लागि आगामी पुस ५ गतेदेखि १९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस १९ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ ।
प्रथम महिला मुख्य मन्त्रीको इतिहास लेख्दै अष्टलक्ष्मी शाक्य
काठमाडौं । रणनीतिक महत्वको ३ नम्बरको मुख्य मन्त्री पद यतिबेला सर्वाधिक चर्चाको बिषय बनेको छ । यो प्रदेशमा कुल ६४ सदस्य छन् । जसमा एमालेले एक्लै ४३ सिट जितेको छ भने माओवादीको १४, काँग्रेसको ६ र नयाँ शक्ति पार्टी नेपालको १ सिट रहेको छ । प्रदेश नम्बर ३ मा एमालेले एक्लै सरकार बनाउन सक्ने नजिता निकालेको छ । तर बाम गठबन्धनका कारण संयुक्त सरकार निर्माण हुनेछ । स्वभाविक रुपमा ३ नम्बर प्रदेशको मुख्य मन्त्री नेकपा(एमाले)ले नै पाउनेछ । एमालेबाट पार्टी उपाध्यक्ष अष्ट लक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौँलागाई, अरुण नेपाल, राजेन्द्र पाण्डेले मुख्य मन्त्रीको दावी गरिरहेका छन् । काठमाडौं महानगरपालिकाका पुर्व मेयर केशब स्थापित पनि मुख्य मन्त्रीको दौडमा थपिएका छन् । यीनै पाँच जनामध्ये एक जनाले प्रदेश नम्बर ३ को मुख्य मन्त्रीको बागडोर सम्हाल्ने निश्चित जस्तै देखिन्छ । यीमध्ये शाक्य, चौँलागाई, नेपाल र पाण्डे एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर हुन । स्थापित भने बामदेव गौतम पक्षधर हुन् । स्थापितले आफुलाई केपी ओलीको समेत समर्थन रहेको बताउँदै आएका छन् । बरिष्ठताका आधारमा अष्ट लक्ष्मी शाक्यले नै मुख्य मन्त्री बन्ने सम्भावना रहेको एमाले नेताहरुले नै बताउँदै आएका छन् । ३ नम्बर प्रदेशको मुख्य मन्त्री को बन्छन भन्ने प्रश्नको जवाफमा एमालेका एक नेताले भने–‘अष्ट लक्ष्मी शाक्य बाहेक को होला र ? बरिष्ठताका आधारमा पनि उहाँको विकल्प छैन, महिला मुख्य मन्त्री बनाएर इतिहास पनि लेख्ने कुरा छ ।’ अष्टलाई मुख्य मन्त्री बनाउने निर्णय गर्दा चौँलागाई, नेपाल र पाण्डेले बिरोध नगर्ने बताइन्छ । तर शाक्यलाई छाडेर चौँलागाई, नेपाल वा पाण्डेमध्ये एक जनालाई मुख्य मन्त्री बनाउन थाल्दा अन्यले अस्विकार गर्ने अवस्था देखिन्छ । त्यस्तो अवस्थामा सबैका लागि साझा उम्मेदवारका रुपमा अष्टलक्ष्मी शाक्यले प्रदेश नम्बर ३ को मुख्य मन्त्री बन्ने अवसर प्राप्त गर्नेछिन् । उनलाई पहिलो महिला मुख्य मन्त्री बनाएर नयाँ इतिहास लेखाउने तयारीमा पनि एमाले लागिपरेको नेताहरुले नै बताउँदै आएका छन् ।
प्राइम कमर्सियल बैंकको पुस ५ गतेदेखि १६ दिन बुक क्लोज
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको पुस ५ गतेदेखि १६ दिन बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस ५ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज हुन लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २५ गते हुने भएको छ । उक्त सभाले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने कम्पनीको निर्णयलाई पारित गर्ने भएको छ ।