विकासन्युज

मेटलाइफले शुरु गर्यो नयाँ विश्वव्यापी ब्राण्ड प्लेटफर्म

काठमाडौं । मेटलाइफ नेपालले “मेटलाइफ तपाई संगै जीवनमा अघि बढ्दै”भन्ने नारा सहित नयाँ विश्वव्यापी ब्राण्ड प्लेटफर्मको आजबाट शुरुवात गरेको छ । यस ब्राण्डले ग्राहकहरुको जिवनकोे उतार-चढावको सारथी बन्न मेटलाइफलाई विश्वासिलो साझेदारको रुपमा खडा गरेको छ । दृश्यात्मक पहिचान, लोगो र नाराहरु समेत रहेको यस मेटलाइफले विश्वव्यापी ब्राण्डमा विगत ३० वर्षकै महत्वपूर्ण परिवर्तन ल्याउने कम्पनीको विश्वास रहेको छ । मेटलाइफले विश्वभरि ५०,००० भन्दा बढी ग्राहकहरुमाझ गरेको खोजमा एउटा विश्वव्यापी सत्य पत्ता लगाएको छ । उक्त सत्य अनुसार परिवर्तनको गतिले ग्राहकहरु प्रभावित हुन्छन् र यस्ता परिवर्तन पहिल्याउनका लागि एउटा विश्वासिलो साझेदारको खोजीमा रहन्छन् । मेटलाइफ बाङ्लादेश, नेपाल र म्यान्मारका अध्यक्ष मोहम्मद नुरुल इस्लाम भन्छन् “१५० वर्ष पुरानो कम्पनीको नाताले, मेटलाइफले परिवर्तनशील विश्वलाई अङ्गाली हामीले गर्दै आएको व्यवसाय र त्यसले ग्राहकहरुलाई पार्ने प्रभावको विषयमा पुनःविचार गर्दै अगाडि बढेका छाैँ । त्यसैगरी हामी परम्परागत सेवा विकास गर्नेढाँचा भन्दा फरक ग्राहकको धारणा अनुसार सेवा दिने ढाँचालाई अंगालेका छौं ।” मेटलाइफनेपालका जनरल म्यानेजर तथा उपाध्यक्ष निर्मल काजी श्रेष्ठ भन्नुहुन्छ, “हामीले नेपालमा ग्राहकहरुको चाहाना परिपुर्ति गर्ने खालको सरल बीमा तथा सुरक्षाका उपायहरु विकास गर्नग्राहकहरुको धारणा विश्लेषण तथा संकलन गर्नका लागि यसअघि नै लगानी गरिसकेका छौं । ग्राहकहरुलाई अघि बढ्नमद्दत गर्ने विश्वासिलो साझेदार बनी परिवर्तित जीवन पहिल्याउन हाम्रो भुमिका तथा महान् उद्देश्य अभिव्यक्त गर्न हामीले हाम्रो ब्राण्ड विकसित गर्दै छौँ ।” बिमासँग सम्बन्धित परम्परागत जटिलता हटाउन मेटलाइफले आफ्नो ग्राहक वर्गको अनुभवमा आधारभूत परिवर्तन गर्दैछ ।मेटलाइफको ब्राण्डको यो परिवर्तनले ग्राहकसंग सम्पर्क राख्ने सबै माध्यम जस्तै वेबसाइट, ग्राहक सेवा, बिक्री प्रकिया आदिमा फरक पार्दछ । यसले अझ बढी केन्द्रित र सरल अन्तरक्रिया सुनिश्चित गर्ने कम्पनीको विस्वास रहेको छ । मेटलाइफको नयाँ दृश्यात्मक ब्राण्ड स्वच्छ र आधुनिक सौन्दर्यमा बनेको छ । यसको आकर्षक निलो र हरियो रगंले साझेदारीको प्रतीक स्वरुप मेटलाइफको एम् बनाउँदछ । निलो रगंले मेटलाइफको विरासतलाई झल्काउँछ भने हरियो रगंले जीवन, नवीकरण र उर्जाको प्रतिनिधित्व गर्छ । मेटलाइफको नयाँ ब्रान्डले आफ्नो ग्राहकको विविधतालाई अरु उज्यालो रगंहरुद्वारा प्रतिविम्बित गर्छ । मेटलाइफले आफ्नो नयाँ ब्राण्ड २०१८ मा प्रकाशन गर्नेछ ।

नुवाकोटमा सबै स्थानमा वाम गठबन्धन विजयी

नुवाकोट । नुवाकोटमा दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका छ पदमा नै वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज अपरान्ह सम्पन्न पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फको अन्तिम मत परिणामअनुसार सबै पदमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ विजयी भएका छन् । तामाङले ३६ हजार ४७३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा रामशरण महतले २७ हजार ९२० मत प्राप्त गरेका छन् । विसं २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा डा महतले तामाङलाई पराजय गरेका छन् । यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का नारायणप्रसाद खतिवडा ३६ हजार ८९२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अर्जुननरसिंह केसीले २६ हजार ३३५ मत प्राप्त गरेका छन् । यस्तै प्रतिनिधिसभा सदस्य–१प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र)का राधिका तामाङ १८ हजार १३७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोपाल लामिछानेले जानकारी दिए । यस्तै प्रदेश (ख)मा एमालेका बद्री मैनाली २० हजार ५०९ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका रमेशकुमार महत १२ हजार २१७ मत प्राप्त गरेर उनका निकटतम प्रतिष्पर्धी बनेका छन् । यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ प्रदेशसभा(क)मा एमालेका केशवराज पाण्डेले २० हजार नौ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगदीश्वरनरसिंह केसीले १२ हजार ७२९ मत प्राप्त गरेका छन् । प्रदेशसभा(ख)मा माओवादी केन्द्रका हीरानाथ खतिवडा १७ हजार ६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी काँग्रेसका जगतबहादुर तामाङले १४ हजार ५२ मत प्राप्त गरेका छन् । यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा साविकका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेस उम्मेदवारले जितेका थिए । रासस

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १०० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको गत शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको मुनाफाबाट सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ बढी छ । १०० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

एसबिआई बैंकले तोक्यो बुक क्लोजको मिति, २४अाैँ वार्षिक साधारणसभामा जाँदै

काठमाडौं । नेपाल एसबिआई बैंकले यही मंसिर २९ गतेदेखि आगामी पुस १९ गतेसम्म कम्पनीको बुक क्लोजको मिति तोकेको छ । बैंकले साधारणसभा प्रयोजनमा जानको लागि उक्त २० दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको आगामी २४अाैँ वार्षिक साधारणसभा पुस १९ गते हुँदै छ ।

मितेरी डेभलपमेन्ट बैंकको पुस ९ गतेदेखि २२ गतेसम्म बुक क्लोज

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको आगामी पुस ९ गतेदेखि २२ गतेसम्म बुक क्लोज हुने भएको छ । हालै बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले १४ दिन कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको हो । यस बैंक आगामी पुस २२ गते वार्षिक साधारणसभामा जाँदै छ । सोहि प्रयोजनको लागि कम्पनीको १४ दिन बुक क्लोज हुन लागेको हो । साभाले कम्पनीको ३१.५८ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । बैंकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभांश गरी सो मात्रामा लाभांश दिने प्रस्ताव राखेको थियो ।

८ अर्ब धेरै भयो भन्नेहरु नै १६ अर्ब पुँजी माग्दैछन्: गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बाणिज्य बैंकहरुको पुँजी ८ अर्ब पुर्याउँदा बिरोध गर्नेहरुले नै यतिबेला १६ अर्ब पुँजी माग गर्न थालेका बताएका छन् । सेञ्चुरी कमर्सियल बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको एकिकृत कारोबार आरम्भ गर्दै गभर्नर डाक्टर नेपालले भने–‘हिजो आठ अर्ब पुँजी पुर्याउँदा धेरै भयो भनेर मेरो बिरोध गर्ने बैंकका लगानी कर्तामध्ये कतिपयले आज मैसँग १६ अर्बको माग गर्न थाल्नु भएको छ ।’ उनले नेपाल राष्ट्र बैंकको लामो अनुसन्धानपछि पुँजी वृद्धिको योजना अघि सारेको र ८ अर्ब पँजी अझै पर्याप्त नभएको दावी पनि गरे ।‘यो देशको सबै भन्दा राम्रो अनुसन्धान गर्ने निकाय राष्ट्र बैंक नै हो, लामो अध्ययनपछि पुँजी वृद्धिको योजना ल्याएका थियौं, त्यसको सकारात्मक प्रभाव देख्न थालिएको छ, यो अन्तिम होइन, अझै पर्याप्त भएको छैन, समय अनुसार बढ्दै जान्छ’, डा. नेपालले भने । उनले पुँजी वृद्धिको योजना कार्यान्वयनमा आएपछि वित्तिय पहुँच ४० प्रतिशतबाट बढेर ८५ प्रशित पुगेको पनि बताए ।‘४० प्रतिशतको वित्तिय पहुँच ८५ प्रतिशतमा पुगेको छ, अब १५० वटा स्थानीय तहमा मात्रै बाणिज्य बैंक खोल्न बाँकी छ’, डा. नेपालले भने । उनले राष्ट्र बैंक कारवाही गर्ने निकाय मात्रै नभएर बैंक तथा वित्तिय संस्थालाई मार्गदर्शन गर्ने निकाय पनि भएको धारणा राखेका थिए । डा. नेपालले मुलुकको कुल गार्हस्थ उत्पादन(जिडिपी) गणनाको नयाँ मोडल र मापदण्ड तयार भैरहेको पनि बताएका थिए । हाल मुलुककको जिडिपी २६ खर्बको रहेको र नयाँ मापदण्डले त्यसलाई बढाएर ३० अर्ब पुर्याउन सक्ने पनि उनको भनाई थियो ।  

स्वेच्छिक बीमा गर्ने संस्कार वृद्धि नहुनुमा बीमा कम्पनीहरु जिम्मेवार छन्-विरेन्द्र बैद्यवार क्षेत्री

  विरेन्द्र बैद्यवार क्षेत्री, प्रमुख कार्यकारी अधिकृत, सिद्धार्थ इन्स्योरेन्स लिमिटेड     जबसम्म अनिवार्य बीमा प्रिमियम बराबरीको तहमा स्वेच्छिक बीमा प्रिमियम रकम पुग्दैन, तबसम्म बीमा कम्पनीहरुले सन्तुष्ट हुने ठाउँ हुँदैन । विकासित देशमा ७०/७५ प्रतिशत बीमा स्वेच्छामा हुन्छ भने २५/३० प्रतिशत बीमा बाध्यकारी हुन्छ । ४/५ वर्षपछि बीमा कम्पनीहरुले धेरै सेवा डिजिटलाईज गर्नेछन् । ग्राहकले सेवा लिनको लागि बीमा कम्पनीको कार्यालय जानुपर्दैछ । हामीले स्वास्थ्य बीमातर्फ विशिष्ट सेवा दिएका छौ । उपचारमा भएको खर्च दावी गर्न, भुक्तानी लिनको लागि ग्राहक बीमा कम्पनी धाइरहनु पर्दैन । बीमा बजारको प्रतिस्पर्धामा सिद्धार्थ इन्स्योरेन्स कम्पनी कुन स्थानमा छ ? असोज मसान्तसम्ममा प्रिमियम संकलनको आधारमा हामी दोस्रो स्थानमा छौं । चालु आर्थिक वर्षमा प्रिमियम बजारको वृद्धि करिव १५ प्रतिशत छ । प्रथम तीन महिनामा हामीले १८ प्रतिशतको वृद्धि हासिल गरेको छौं । यस वर्ष प्रिमियम संकलन गर्न वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएका छौं । बीमा प्रिमियम वृद्धिदर गतवर्ष भन्दा कम भएको हो ? प्रिमियम वृद्धिदरमा केही कमी देखिए पनि बीमा बजारको वृद्धिमा कमी आएको छैन । मोटर बीमाको प्रिमियम, दंगा तथा आतंकवादको बीमा प्रिमियम लगायत केही शिर्षकको बीमा प्रिमियम दर बीमा समितिले घटाई दिएकोले प्रिमियम रकमको वृद्धिमा कमी आएको देखिन्छ । कुन कुन क्षेत्रको बीमा स्वेच्छिक वृद्धि भएको छ ? कुन कुन क्षेत्रमा नीतिगत रुपमा अनिवार्य गरिएको कारणले बीमा गर्ने क्रम बढेको छ ? मुलतः अनिवार्य बीमा नीतिको प्रभावले नै बीमा बजार विस्तार भएको छ । बैकिङ क्षेत्रबाट कर्जा प्रवाह हुँदा गरिने बीमा बढी छ । त्यस्तै, अनिवार्य बीमा गर्ने पर्ने सरकारको नीतिहरु भएका कारणले तेस्रो पक्षको बीमा बजार विस्तार भएको छ । बाली तथा पशुबाली बीमा बजार बढ्दै गएको छ । स्वेच्छिक बीमाको अभ्यास कम छ । यसमा बीमा कम्पनीहरुको पनि कमजोरी रहेको देख्छु म । किनकी बीमा कम्पनीहरुबीच बाध्यकारी बीमा बजारमा प्रतिस्पर्धा छ । बीमा हुनु पर्ने तर नीतिगत रुपमा अनिवार्य नगरिएको क्षेत्रलाई आकर्षिक गर्नेतर्फ बीमा कम्पनीहरुको भूमिका प्रभावकारी हुन सकेको छैन । अनिवार्य बीमा प्रिमियम रकमको तुलनामा बीमा कम्पनीको प्रयासमा आएको प्रिमियम रकम ज्यादै कम छ । करिव ९५ प्रतिशत प्रिमियम अनिवार्य बीमाबाट आएको छ भने स्वेच्छिक बीमाबाट करिव ५ मात्र प्रिमियम संकलन हुन्छ । जबसम्म अनिवार्य बीमा प्रिमियम बराबरीको तहमा स्वेच्छिक बीमा प्रिमियम रकम पुग्दैन, तबसम्म बीमा कम्पनीहरुले सन्तुष्ट हुने ठाउँ हुँदैन । जबसम्म ग्राहक आफ्नो वा आफ्नो सम्पत्तिको सुरक्षाका लागि बीमा गर्छु भनेर बीमा कम्पनीमा आउने वातावरण बन्दैन, तबसम्म तबसम्म बीमा बजारप्रतिको आकर्षण पनि हुँदैन । स्वेच्छिक बीमा बढाउन बीमा कम्पनीहरुको भूमिका के हुनसक्छ ? बीमा कम्पनीका सञ्चालकहरुमा सोचमा केही गम्भिर कमजोरीहरु छन् । खासगरी निर्जीवन बीमा गर्न चाहाने मान्छे बीमा कम्पनी आउनुपर्छ, कहाँ बीमा कम्पनीहरु ग्राहकको घर घरमा जान सक्छ ? भन्ने सोच गलत हो । त्यस्तै, जनचेतनाको कमी भएकोले बीमा गर्न मानिसहरु स्वेच्छाले आएनन् भन्ने तर्क पनि गलत छ । जनचेतना पनि बढाउने र हामी यस्तो सेवा दिन्छौं भनेर कम्पनीहरु किन सर्वसाधारणको घरदैलोमा नजाने ? हामी जानै पर्छ । हाम्रो जस्तो गरिब र विकासोन्मुख देशमा मात्र होइन, विकसित देशहरुमा पनि बीमा कम्पनीहरु ग्राहकको खोजीमा घरदैलोमा जानैपर्छ । फरक के चाही हो भने विकासित देशमा ७०/७५ प्रतिशत बीमा स्वेच्छामा हुन्छ भने २५/३० प्रतिशत बीमा बाध्यकारी हुन्छ । बीमा कम्पनीहरुको सोचाई फारकिलो हुनुपर्छ । बीमा बजार सहरमा मात्र खोज्ने होइन, ग्रामिण क्षेत्रमा पनि जानुपर्छ । बीमा कम्पनीहरु परम्परागत रुपमा घर, सवारी, कार्गो जस्ता सम्पत्ति बीमा जबरजस्ती बीमा गराउने काममा मात्र सीमित रहे । माइक्रो बीमा पोलिसी बनाएर आधुनिक सम्पत्तिको बीमा गर्ने गराउने अभ्यास नै भएन । मुख्य शहरमा शाखा खोलेर ती शाखामा आउने ग्राहकको मात्र बीमा गरेर पुग्दैन । बैंकहरुले शाखारहित बैकिङ सेवा शुरु गरेको छन् । उनीहरुले एक व्यक्तिलाई प्रतिनिधि तोकेर प्रविधिको सहायाताले जसरी बैकिङ सेवा दिएका छन्, त्यसरी नै बीमा कम्पनीहरुले नै प्रविधिको प्रयोग, ब्रान्चलेस इन्स्योरेन्स सर्भिसको प्रयोगलाई बढाउनुपर्छ । सूचना प्रविधिमा बीमा कम्पनीहरुले लगानी वृद्धि नगरी सुखै छैन । पछिल्लो समयमा बीमा कम्पनीहरुले कसरी बजारीकरण गरिरहेका छन् ? बीमा सेवा लिन ग्राहक कम्पनीमा जान्छन् वा कम्पनीका कर्मचारी ग्राहकको खोजीमा बजारमा जान्छन् ? बीमा कम्पनीका कर्मचारीहरु नयाँ ग्राहक आकर्षित गर्न बजारमा नजानु नै मुख्य समस्या हो । बैंकहरुसँग सम्पर्क सम्बन्ध बढाएर, ठूला औद्योगिक समूहको कार्यलयमा गएर लविङ गर्ने बाहेक बजारीकरणतर्फ बीमा कम्पनीहरुको भूमिका कमजोरी नै छ । जसरी बैंकमा निक्षेप संकलन गर्न वा कर्जा लिन ग्राहक बैंक खोजेर जान्छन्, त्यसरी बीमा सेवा लिन ग्राहक आउने अभ्यास पनि छैन । त्यसैले बीमा कम्पनीहरुले आफ्नो सेवा विस्तार गर्नको लागि कर्मचारी, अभिकर्ता परिचालनदेखि सेवा वितरणको च्यानलमा धेरै सुधार गर्न जरुरी छ । धेरै बैंकहरुले शाखा १०० भन्दा बढी बनाएका छन्, २००/५०० भन्दा बढी स्थानमा ब्रान्चलेस सेवा सञ्चाल बनाएका छन् । रेमिट कम्पनीहरुले हजारभन्दा बढी भुक्तानी काउन्टर सेवा सञ्चालन गरेका छन् । यस्तो नेटवर्कमा बीमालाई पनि सँगै लैजान सकिन्छ । व्यक्ति र संस्था दुबैलाई एजेन्ट बनाएर ठूलो सञ्जालमार्फत जनचेतनाका कार्यक्रमसँगै सेवा बिक्रीमा जोड दिनुपर्छ । प्रविधिको प्रयोग ग्राहकको पनि माग हो, तपाईहरुको पनि चाहाना हो । धेरै नेपालीले स्मार्ट फोन प्रयोग गर्छन । इन्टरनेटको नेटवर्क पनि व्यापक विस्तार भईसकेको छ । तर पनि बीमा क्षेत्रमा प्रविधिको प्रयोग किन सुस्त भयो ? हो, बीमा बजार प्रविधि भित्र्याउने मामिलामा अनिच्छुक देखिएको जस्तो देखियो । हाल १७ वटा निर्जीवन कम्पनीहरु छन्, कुल प्रिमियम करिव २० अर्ब रुपैयाँ हो । प्रति कम्पनीको हिस्सा सवा अर्ब रुपैयाँ मात्र छ । जसरी अहिले बैकिङ क्षेत्रमा प्रविधिको प्रयोग भएको देखिन्छ, त्यो लेबलको प्रविधि प्रयोग गर्न एउटा बीमा कम्पनीले कम्तिमा ५/७ करोड रुपैयाँ लगानी गर्नुपर्छ । दुई वर्षअघिसम्म बीमा कम्पनीहरुको चुक्ता पुँजी नै १२/१५ करोड थियो । उनीहरुले ५/७ करोड खर्च गरेर प्रविधिको प्रयोग गर्न सकिरहेका थिएनन् । अब कम्पनीहरुको पुँजी पनि १ अर्ब रुपैयाँ हुँदैछ । जुन कम्पनीको पुँजी पनि १ अर्ब पुग्दैछ, वार्षिक प्रिमियम ३/४ अर्ब रुपैयाँ हुँदैछ, उनीहरुले ५/७ करोड खर्च गरेर प्रविधिको प्रयोग बढाउने छन् । त्यसले अरु कम्पनीलाई पनि प्रविधिको प्रयोग गर्न दवाव दिनेछ । ४/५ वर्षपछि बीमा कम्पनीहरुले धेरै सेवा डिजिटलाईज गर्नेछन् । ग्राहकले सेवा लिनको लागि बीमा कम्पनीको कार्यालय जानुपर्दैछ । धेरै सेवा अनलाईनबाट नै लिन सकिनेछ । सबै बीमा कम्पनीहरु मिलेर कम लागतमा साझा सफ्टवेयर किनेर प्रयोग गर्न सकिदैन ? हाल बीमा कम्पनीहरुले प्रयोग गर्दै आएको सफ्टवेयरबाट सबै प्रकारको इन्टिग्रेटेड सूचना प्राप्त हुन सक्दैन । सबै निर्जीवन बीमा कम्पनीलाई उपयोगि हुने सफ्टवयर कष्ट सेयररिङमा ल्याएर प्रयोगमा ल्याउन सकिन्छ । त्यो स्वभाविक पनि हो । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले कुन कुन सेवामा विशिष्टिकरण गर्दैछ ? बीमा सेवा प्रदान गर्न विशिष्ट प्राविधिक ज्ञान र जनशक्ति आवश्यक हुन्छ । हामीले अहिले व्यक्तिगत बीमा र सम्पत्ति बीमामा जोड दिएका छौ । सवारी बीमा, घर बीमा, व्यवसाय बीमा, स्वास्थ्य बीमामा हामीले जोड दिएका छौं । ठूलो बीमा भन्दा साना र मध्यम खालको बीमालाई जोड दिएका छौं । सरकारले छुट्टै स्वाथ्य बीमा ऐन आएको छ, सरकार आफैले स्वास्थ बीमा कार्यक्रम चलाईरहेको छ । यसले बीमा कम्पनीहरुलाई फाइदा पुग्छ कि तपाईहरुको विजनेश पनि खोसिन्छ ? विजनेश खोस्ने कुरै छैन । यसले बीमा कम्पनीहरुलाई फाइदा नै पुग्छ । ९३ प्रतिशत नेपाली बीमाको दायरामा छैनन् । बजार ठूलो छ । सरकारले बीमा कार्यक्रम सञ्चानल गर्दा बीमाबारे जनचेतना बढाउँछ । बीमाको महत्व सर्वसाधारणले बुझ्छन् । त्यसको लाभ बीमा क्षेत्रले पाउँछ । हामीले स्वास्थ्य बीमातर्फ विशिष्ट सेवा दिएका छौ । नर्भिक, बयोदा, मेडिसिटी, अल्का, नोबेल मेडिकल कलेज, मणिपाल कलेज लगायतसँग सहकार्यको सम्झौता गरेर स्वास्थ्य बीमा सेवा दिदै आएका छौं । स्वास्थ्य बीमा गर्ने ग्राहकलाई हामीले एउटा यूनिक कार्ड दिन्छौं । त्यही कार्डको आधारमा ग्राहकले हामीसँग सहकार्य भएका अस्पतालहरुमा उपचार गराई बीमा बापतको रकम पाउनेछन् । उपचारमा भएको खर्च दावी गर्न, भुक्तानी लिनको लागि ग्राहक बीमा कम्पनी धाइरहनु पर्दैन । हामीले २५ हजारदेखि १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा पोलिसी दिईररहेको छौं । उपचार गर्दा हुने सबै खर्च रकमको १० देखि १५ प्रतिशत मात्र विरामीले बोहोर्नुपर्छ । बाँकी बीमा पोलिसीले कभर गर्छ, बीमा कम्पनीले हस्पताललाई सोझै बुक्तानी गर्छ । बीमा पोलिसी लिँदा अस्पताल भर्ना भएको बेलामा मात्र बीमाले खर्च बोहोर्ने वा ओपीडी सेवामा पनि बीमाले खर्च बेहोर्ने भनेर ग्राहकलाई छनौटको अवसर दिन्छौं । यो सेवा १५ वर्षदेखि ६५ वर्षसम्मका उमेर समूहलाई दिईरहेका छौं । १५ वर्षमुनिका बालबालिकालाई अभिभावको पोलिसले कभर गर्छ । बीमा रकमको १.५ प्रतिशत प्रिमियम तिर्नुपर्छ । १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्दा वार्षिक १५०० रुपैयाँ प्रिमियम बुझाउनुपर्छ । तपाईले यो सेवालाई बीर, टिचिङ, पाटन जस्ता बढी विरामी जाने र उपचार खर्च पनि कम हुने अस्पतालमा किन लैजानु भएन ? तपाईले भनेको अस्पतालहरु लगायत सबै सरकारी अस्पतालहरु, जिल्लाहरुमा रहेको सरकारी अस्पतालहरुमा पनि यो सेवा विस्तार गर्ने हाम्रो सोच रहेको छ । तर ती अस्पतालहरुमा बीमा कम्पनीले मागेका सूचनाहरु दिनुपर्छ । त्यसको निश्चित प्रक्रियाहरु छन् । त्यो प्रक्रिया बुझ्ने र बुझाउने प्रयास भईरहेको छ । सरकारी अस्पतालहरुमा निजी क्षेत्रको बीमा कम्पनीसँग सम्झौता गरेर काम गर्नको लागि अधिकार प्रत्यायोजनको समस्याहरु पनि देखिएको छ ।

बामपन्थी सरकारः अब कता जान्छ सेयर बजार ?

काठमाडौं । मंसिर २० गते बुधबारका दिन सेयर बजार ११.६७ अंकले बढेर १४३६.५४ पुगेर रोकियो । बिहिबार ४५ जिल्लामा दोश्रो चरणको निर्वाचन भयो र यतिबेला धमाधम निर्वाचनको परिणाम आईरहेको छ । निर्वाचनले आगामी पाँच बर्षका लागि बामपन्थीहरुको सरकार गठन हुने निश्चित देखाएको छ । सेयर बजार प्रति अनुदार मानिँदै आएका बामपन्थीहरुको सरकार गठन हुने निश्चित भएसँगै अब सेयर बजार कता जान्छ भन्ने कौतुहलता उत्कर्षमा पुगेको छ । ‘स्थिर सरकारका कारण अर्थतन्त्र सुधार हुने भएकाले सेयर बजार पनि सुधार हुने अपेक्षा गरेका छौं, सरकारको नीति पनि अब छिटो छिटो परिवर्तन नहोला त्यसले गर्दा सेयर बजार पनि उकालो नै लाग्ने आस छ’, एक सेयर ब्रोकरले भने । उनले बामपन्थी सरकारसँग सेयर बजार डराउनुपर्ने कुनै कारण नभएको पनि बताए । नेपालको नेप्से इन्डेक्स बामपन्थी सरकारहरुकै पालामा उच्चतम विन्दु कायम भएको इतिहास पनि उनले सुनाए । सेयर बजार बामपन्थी सरकारका कारण नभएर आफ्नै स्वभाविक विकासक्रमका कारण भने घट्ने वा बढ्ने अवस्था आउने पनि उनले बताए । सेयर बजारका जानकार ज्योति दाहालले पनि बामपन्थी सरकारका कारण सेयर बजारमा तात्विक असर नपर्ने बताए । उनले बामपन्थीहरुको घोषणा पत्रमा सेयर बजारबारे खासै उल्लेख नगरिएकाले तत्काल सरकारात्मक वा नकारात्मक प्रभावको अपेक्षा राख्न अवस्था नरहेको दावी गरे । बाम सरकारसँग सेयर बजारका लगानी कर्ता आत्तिनु नपर्ने उनको भनाई छ । तर पनि सेयर बजारमा मनोवैज्ञानिक त्रास भने उत्पन्न हुन सक्ने बताए ।‘बापमन्थी सेयर बजार प्रति निरपेक्ष देखिन्छन्, न सुधार्ने योजना देखिन्छ न त बिगार्ने नै । यद्यपी लगानी कर्तामा मनोवैज्ञानिक त्रास आउन सक्छ । तर डराउनुपर्ने अवस्था रहनन’, दाहालले भने । तर बजारमा बैंक तथा वित्तिय संस्थाहरुको बोनस सेयर धमाधम आउने क्रममा छ । लाइफ र नन लाइफ बीमा कम्पनीहरुको हकप्रद सेयरको बाढी नै आउँदैछ । केहि कम्पनीहरुले प्रीमियम मूल्यमा एफपिओ नै जारी गर्दैछन् । केहि बैंकहरुको हकप्रद सेयरको आवेदन अझै खुल्ला रहेको छ । धेरै जलविद्युत कम्पनीहरु आइपीओ निष्काशनको तयारीमा जुटेका छन् । यसैबिच, बैंकहरुले ब्याजदर तत्काल घटाउने अवस्था पनि नरहेको विश्लेषकहरु बताउँछन् । महंगो ब्याजमा ऋण लिएर सेयर बजारमा लगानी गर्ने अवस्था नरहेकाले पनि सेयर बजारमा अपेक्षित सुधार आउन नसक्ने अनुमान गरिएको छ । त्यसो त अब गठन हुने बामपन्थी सरकारको आर्थिक नीति हेर्ने सम्भावित पात्रका रुपमा रहेका डा. युवराज खतिवडा देखिन्छन् । उनी रियलस्टेट र सेयर बजार प्रति सकारात्मक सोँच नभएका अर्थशास्त्री मानिन्छन् । खतिवडा नेतृत्वको विज्ञ समुहले तयार पार्ने आर्थिक नीतिले पनि सेयर बजारलाई खासै प्रोत्साहन दिने छैन् । बामपन्थी सरकारले सेयर बजारलाई सुधार्न कुनै ठोस कदम नचाले पनि बिगार्ने प्रयास पनि नगर्ने भने पक्का छ । खुल्ला बजार अर्थतन्त्रका पक्षपातीहरु सरकारमा आएपछि मात्रै सेयर बजार उकालो लाग्छ भन्ने मान्यतालाई शेर बहादुर देउवा नेतृत्वको सरकारले गलत सावित गरिसकेको छ । काँग्रेस सभापति शेर बहादुर देउवाले सरकार सम्हालेको ६ महिने अवधीमा सेयर बजार करिब ७५ अंकले घटेको देखिन्छ । त्यसकारण पनि बामपन्थी सरकारका पालामा सेयर बजारमा कुनै असर नपर्ने विश्लेषकहरु बताउँछन् ।