विकासन्युज

सेयर बजार दोहोरो अंकले उक्लियो

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सोमबार सामान्य अंकले ओरालो लागेको नेप्से परिसूचक बुधबार भने १०.१२ अंकले उकालो लागेर १५२३ अंकमा पुगेको छ । बजारमा अघिल्लो दिनको तुलनामा परिसूचकमा वृद्धि भएता पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन(सोमबार) ६५ करोडको सेयर कारोबार भएको बजारमा मंगलबार(आज) जम्मा ५७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम करिब ८ करोड रुपैयाँले घटि हो । चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा बढीको सेयर किनबेच भएको छ । सो दिन यस कम्पनीको ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६० रुपैयाँ रहेको छ । त्यस्तै, मंगलबार कारोबारमा आएका १० समूहमध्ये ७ समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी अन्य समूहको परिसूचक ३४.४१ अंकले उकालो लागेको छ । उता, ट्रेडिङ समूहको परिसूचक स्थिर रहेको छ भने बीमा र उत्पादनमूलक समूहको परिसूचक राताम्मे भएका छन् । मंगलबार मिसन डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ८ प्रतिशत कमाएका छन् ।

चुनाव लगत्तै तराईका बाढी पीडितलाई एकमुष्ठ २५ हजार राहत

काठमाडौं । सरकारले आगामी मंसिर २१ गतेको निर्वाचन लगत्तै तराईका ४१ हजार ६ सय २६ बाढी पीडित परिवारलाई एक अर्ब ४० करोड ६५ हजार रुपैंयाँ वितरण गर्ने भएको छ । सरकारले तराईका बाढी पीडितलाई तत्कालिन राहत स्वरुप १५ हजार र जाडोमा न्यानो कपडा खरिदका लागि थप १० हजार रुपैंयाँ उपलब्ध गराउन लागेको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत जिल्ला दैवी प्रकोप उद्धार समितिले बाढी पीडितलाई राहतको १५ हजार र न्यानो कपडा खरिद गर्न थप १० हजार रुपैंयाँ एकमुष्ठ उपलब्ध गराउनेछ । ‘मन्त्रि परिषदले प्राधिकरणको अगुवाईमा रकम वितरण गर्ने भनेको छ, हामीले बजेटका लागि अर्थ मन्त्रालयमा लेखि पठाएका छौं, निर्वाचन लगत्तै वितरण आरम्भ हुन्छ’, प्राधिकरणका प्रवक्ता यमलाल भुषालले विकासन्युजसँग भने । गत साउनको बाढी तथा डुबानका कारण ४१ हजार ६ सय २६ परिवार पुर्णरुपले विस्थापित भएका थिए भने १८ जिल्लाका १ सय ३४ को मृत्यु भएको थियो । गत कात्तिक ६ गतेको मन्त्रिपरिषद बैठकले बाढी तथा डुवान प्रभावित क्षेत्रमा पुनस्र्थापना तथा पुनर्निर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनर्निर्माणको समन्वय गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मातहत रहने गरी बाढी पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना गठन गरेको थियो । अब सोही समितिले चुनावपछि बाढी तथा डुबान पीडितलाई राहत तथा न्यानो कपडाका लागि रकम उपलब्ध गराउनेछ । बाढीले आवास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, सिँचाइ, यातायात, पानी तथा सरसफाइ र ऊर्जा क्षेत्रमा ६१ अर्ब ८४ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति पुर्याएको थियो । बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि ७३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले देखाएको थियो ।

नेपाल सेवा लघुवित्तले एक करोड ८० लाखको आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधरणको लागि एक करोड ८० लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । लघुवित्तले मंसिर ७ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो । कम्पनीले एनएमबी क्यापिटल मार्फत आइपीओ निष्काशन गर्ने भएको छ ।

डिप्रोक्स लघुवित्त विकास बैंकले १६ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत गरी १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । उक्त घोषणा कम्पनीको मंसिर ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६१ लाख रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ७० करोड नाघ्ने कम्पनीले जनाएको छ ।

सिटिजन्स बैंकबाट अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब अष्ट्रेलियन डलरको कारोबार गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर(एयूडी)खाताखोली उक्त कारोबारको शुरु गरेको हो । यस बाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने छ । साथै, अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

अन्तर बैंक ब्याजदरको सीमा नाघेपछि राष्ट्र बैंकले १० अर्ब बजारमा पठाउदै

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ पठाउने भएको छ ।अन्तर बैंक ब्याजदर कम भएपछि केन्द्रीय बैंकले बजारमा हस्तक्षेप गर्न रिपोमार्फत मंगलबार बजारमा पैसा पठाउन लागेको हो । बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गरेपछि तरलताको कमी हुन गएपछि तत्काल तरलतको समस्या समधान गर्न १० अर्ब रुपैयाँ थप रकम बजारमा पठाउन लागेको हो । १४ दिन अवधिको रिपोको ब्याज दर ५ प्रतिशत रहेको छ । रिपोको रकम मंसिर २६ गते फिर्ता हुने केन्द्रीय बैंकले जनाएको छ । अहिले बजारमा १६ अर्ब रुपैयाँ हारहारीम तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।  

एक बर्ष नपुग्दै आइपीओ निष्काशन गर्ने बीमा कम्पनीको तयारी, धितोपत्र बोर्ड भन्छ-मिल्दैन

काठमाडौं । लाइसेन्स लिएर भर्खरै कारोबार आरम्भ गरेका बीमा कम्पनीहरुले आइपीओ निष्काशन गर्ने तयारीमा थालेका छन् । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभाबाटै आइपीओ निष्काशन गर्ने निर्णय गराईसकेको छ । तर धितोपत्र दर्ता तथा निष्काशन नियमावलीले भने कम्पनीहरुले आफ्नो उदेश्य अनुसारको कारोबार गरेको एक आर्थिक बर्षको वित्तिय विवरण सार्वजनिक गरेपछि मात्रै आइपीओ निष्काशन गर्न पाउने व्यवस्था गरेको छ । युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भने नियामक निकायको अनुमति लिएर आइपीओ निष्काशन गर्ने निर्णय गरिएको बताए । ‘बीमा समितिले अनुमति दिएमा आइपीओ निष्काशन गर्न दिने संकेत धितोपत्र बोर्डले दिएको छ, त्यसैले साधारण सभाबाट आइपीओ निष्काशन गर्ने निर्णय गरेका हौं’, यूनियनका सिइओ लाल कर्णले विकासन्युजसँग भने । उनले केहि समयभित्रै बीमा समितिसँग अनुमतिका लागि औपचारिक अनुरोध गर्ने पनि बताए । यद्यपी यूनियन, आईएमई र ज्योति लाइफ इन्स्योरेन्सले आइपीओ निष्काशन गर्न अनुमति माग्दै विगत केहि समयदेखि नै बीमा समितिमा लबिङ गर्दै आएका छन् । अनुमति पाएमा यूनियनले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न पाउनेछ । बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ । युनियनले लाइफले कात्तिक १४ गते नै साधारण सभा गरेर आइपीओ निष्कासन गर्ने निर्णय गरेको हो । युनियन, ज्योति र आइएमई लाइफले १० गत आवको १० दिनको वित्तिय विवरण पास गराएका छन् । यी तीन वटै कम्पनीले गत असार २० गते लाइसेन्स पाएका थिए । कम्पनीहरुले आफ्नो वित्तिय वित्तिय विवरणमा बैंकमा राखिएको निक्षेपको ब्याज र कर्मचारी खर्च लगायत समेटेका छन् । बीमा समितिको नियमन विभागका प्रमुख समेत रहेका उप निर्देशक साम्भराज घिमिरेले भने धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको दफा ९ को उप दफा ३ अनुसार बीमा कम्पनी सञ्चालनमा आएको एक बर्ष नपुगे पनि आइपीओ निष्काशन गर्न पाउन सक्ने बताए । यद्यपीले उनले सो नियमावलीमा रहेको व्यवस्थाको गहन अध्ययनपछि मात्रै के गर्ने भन्ने निष्कर्षमा पुग्न सकिने पनि बताए । उता नेपाल धितोपत्र बोर्डले भने सञ्चालनमा आएको एक बर्ष नपुगी बीमा कम्पनीले आइपीओ निष्काशन गर्न नपाउने स्पष्ट पारेको छ । बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले भने–सञ्चालनमा आएको एक बर्ष नपुगेको बीमा कम्पनीले आइपीओ निष्काशन गर्न पाउँदैनन्, नयाँ आएका इन्स्योरेन्स कम्पनीका हकमा पनि यहि लागु हुन्छ ।’ यद्यपी बीमा समितिले बिशेष निर्णय गरेको अवस्थामा भने त्यस्तो बाधा फुकाउन सकिने उनले बताए । बीमा कम्पनीहरुलाई सञ्चालनमा आएको एक बर्षपछि मात्रै आइपीओ जारी अनिवार्य गरिएको छ ।

सरकारले माग्यो जलविद्युत आयोजनाको प्रगति विवरण, काम नगर्नेको लाइसेन्स खोसिन सक्ने

काठमाडौं । सरकारले जलविद्युत आयोजनाका प्रवद्र्धकसंग प्रगति विवरण मागेको छ । विद्युत उत्पादन अनुमतिपत्र प्राप्त आयोजना सञ्चालनमा आए वा नआएको भनी प्रगति विवरण बुझाउन विद्युत विकास विभागले भनेको छ । अनुमतिपत्र (लाइसेन्स) लिएर पनि आयोजना निर्माण नगर्ने प्रवद्र्धकको लाइसेन्स खारेज गर्ने तयारी विभागको छ ।ऊर्जा मन्त्रालयले हालसम्म ४ हजार १०७ मेगावाट बिजुली उत्पादन गर्न १४५ प्रवद्र्धकलाई लाइसेन्स दिएको छ । पछिल्लो समयमा सरकारले नेपाली र कोरियाको संयुक्त लगानीमा निर्माण हुन लागेको २१६ मेगावाटको त्रिशुली १ जलविद्युत आयोजनाबाट विद्युत उत्पादनका लागि लाइसेन्स दिएको छ । सरकारले हालसम्म ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत उत्पादन गर्न अपरतामाकोसी हाइड्रोपावर लिमिटेडलाई लाइसेन्स दिएको छ । तामाकोसीबाट आगामी वर्षदेखि बिजुली उत्पादन हुने छ । हालसम्म केन्द्रीय प्रणालीमा ९८० मेगावाट बिजुली जोडिएको छ ।