विकासन्युज

तिनाउ विकास बैंकको साधारणसभा पुस ८ मा, १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने

  काठमाडौं । तिनाउ विकास बैंकको ११ औं वार्षिक साधारणसभा पुस ८ गते बस्ने भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने कार्यक्रम छ । सभामा चुक्ता र जारी पुँजी वृद्धिको प्रस्ताव पेश हुने छ ।

बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

चितवन । काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशूलीमा खसेको हो । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । रासस

एक्सेल डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद लिलामी हुँदै

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको साधारण समूहतर्फको हकप्रद सेयर लिलामी हुने भएको छ । बैंकको १८ हजार २८६ कित्ता हकप्रद सेयर लिलामीका लागि पुस ९ गतेसम्म समय तोकेको छ । गत असोज १८ देखि कात्तिक २१ गतेसम्मका लागि खुला गरेको हकप्रद सेयर बिक्री नभएपछि बैंकले लिलामी गर्न लागेको हो । बैंकले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो ।

यसरी फिनिसिङ हुँदैछ मेलम्चीको सुरुङ, १० वटा एजाक्स फिओरी बोर्डरमा

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा २७.५ किलोमिटर सुरुङ छ र त्यो मध्ये २६.६५२ किलोमिटर खन्ने काम सकिएको छ । अब जम्मा ९३२.५ मिटर सुरुङ मात्रै खन्न बाँकी छ । २०७५ सालको नयाँ बर्षमा राजधानी बासीलाई मेलम्चीको पानी उपहार दिने योजनासहित धमाधम काम गरिरहेको आयोजनाले सुरुङ फिनिसिङका लागि १० वटा आधुनिक मेसिन मगाएको छ । ती मेसिनहरु हाल नेपाल भारत बोर्डरमा आईपुगेका छन् । एजाक्स फिओरी कम्पनीका ती मेसिनहरुले मेलम्चीको सुरुङमै पसेर फिनिसिङको काम गर्न सक्नेछन् । मेलम्ची आयोजनाका उप कार्यकारी निर्देशक रमाकान्त दुवाडीका अनुसार सुरुङ फिनिसिङका लागि ति मेसिनहरुले बालुवा, गिट्टी र सिमेन्टको खोल भित्रै लिएर जानेछन् । ‘सुरुङ फिनिसिङका लागि आवश्यक पर्ने बालुवा, गिट्टी र सिमेन्टलाई घोल्दै ती मेसिनहरु सुरुङ भित्रै पुग्नेछन र दिनमा २ सय मिटर काम गर्न सकिनेछ’, दुवाडीले भने । ती मेसिनहरुले ३ घनमिटरको बालुवा, गिट्टी र सिमेन्ट घोल्ने क्षमता राख्दछन् । मेलम्चीको सुरुङको चौडाई ३.५ मिटर र उचाई ४ मिटर रहेको छ । एक साताभित्रै आयोजनाले सिन्धु देखि सुन्दरीजलसम्मको ९.५ किलोमिटरमा फिनिसिङको काम थाल्नेछ । इञ्जिनियरिङ भाषामा सुरुङ फिनिसङको कामलाई इन्भर्ट लाइनिङ भनिन्छ । हालसम्म जम्मा २ किलोमिटर सुरुङमा मात्रै फिनिसिङको काम सकिएको छ । सुरुङ फिनिसिङको बाँकी कामलाई तिब्रगतिमा अघि बढाउन ल्याउँदै गरिएको मेसिनलाई ट्राञ्जिट मिक्स्चर भनिन्छ । दैनिक २ सय मिटरका दरले सुरुङ फिनिसिङको काम अघि बाँकी काम सक्न करिब १३० दिन लाग्ने देखिन्छ । मेलम्ची खानेपानी आयोजनाले सुन्दरी जलमा ८.५ करोड लिटरको पानी प्रसोधन केन्द्र तयार पारिसकेको छ । त्यस्तै राजधानीमा पानी वितरणका लागि पाइप जडानको काम समेत अन्तिम चरणमा पुगिसकेको छ । मेलम्चीले दोश्रो चरणमा अघि बढाउन लागेको याङग्री र लार्के नदिको कामका लागि परामर्श दाता छनौट प्रक्रिाय पनि अघि बढाईसकेको छ । आयोजनाले ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर प्राबिधिक तथा वित्तिय प्रस्ताव मागेको छ ।

नेपाल र बंगलादेशका सूचना आयोगबीच सहकार्य योजनामा हस्ताक्षर

काठमाडौं । नेपालको राष्ट्रिय सूचना आयोग र बंगलादेशको सूचना आयोगबीच आपसी सहयोग आदान–प्रदान गर्नेसम्बन्धी कार्यान्वयनपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा नेपालका तर्फबाट प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा र बंगलादेशका तर्फबाट प्रमुख सूचना आयुक्त प्राडा गुलाम रहमानले हस्ताक्षर गरेका छन् । बंगलादेशको आयोगका पदाधिकारी काठमाडौँ आएको समयमा हालै सो सम्झौता भएको हो । गत वर्ष बंगलादेशको ढाकामा दुई आयोगबीच समझदारीपत्र भएको थियो । दुई आयोगले प्रत्येक वर्ष उच्चस्तरमा भए गरेका कामको समीक्षा गर्ने तथा दुवै देशमा सूचनाको हकका क्षेत्रमा आयोजना हुने कार्यक्रममा एक अर्को मुलुकबाट विज्ञका रुपमा आमन्त्रण गर्ने कार्ययोजनामा उल्लेख भएको आयोगले जनाएको छ । कार्ययोजनाअनुसार दुवै आयोगका कर्मचारी एक अर्को आयोगको कार्य पद्धतिको जानकारी हासिल गर्न एक अर्को मुलुकमा तालिममा जानेछन् । यस अतिरिक्त दुवै आयोगले आफ्ना प्रकाशन एकआपसमा साटफेर गर्नेछन् । यसैगरी दुवै मुलुकका विज्ञ र यस क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाबीच सहकार्यमा पनि दुवै आयोग संलग्न रहनेछन् । साथै यी दुई आयोगले दक्षिण एशियामा जारी भएका सूचनाको हकसम्बन्धी कानूनको समीक्षा गरी आ–आफ्नो कानूनमा आवश्यक सुधारको पहल गर्नेछन् । बंगलादेशबाट आएको प्रतिनिधिमण्डलले राष्ट्रिय सूचना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सूचना तथा सञ्चार मन्त्रालयका उच्च पदाधिकारीसँग छलफल गरेको आयोगका उपचिव वेदनिधि अधिकारीले जानकारी दिए । क्यानडामा रहेको सेन्टर फर ल एण्ड डेमोक्रेसी नामक संस्थाले तयार पारेको सूचनाको हकसम्बन्धी कानूनको विश्वव्यापी उत्कृष्टताको सूचीमा बंगलादेशको कानून चौबिसौँ नम्बरमा परेको छ भने नेपालको कानून सत्ताइसौं स्थानमा छ ।

रुस्लान भोड्का अब नयाँ प्याकेजिङ्गमा, मदिराको मापन गर्न र क्याप खोल्न सजिलो

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डष्ट्रिज प्रा. लि.को व्यवस्थापनमा विजय डिष्टीलरी प्रा. लिद्वारा उत्पादित तथा वितरित रुस्लान भोड्का अब नयाँ प्याकेजिङ्गमा बजारमा आएको छ । हाल बजारमा रहेको बोतलको क्याप खोल्न केही अप्ठेरो र मदिराको मात्रा पहिचान गर्न असजिलो भएको गुनासोहरुलाई मध्यनजर गर्दै कम्पनीले अत्याधुनिक प्याकेजिङ्ग भएको बोतल बजारमा ल्याएको जनाएको छ । अहिले बजारमा ल्याइएको नयाँ प्याकेजिङ्ग सहितको बोतलको क्याप खोल्न सजिलो हुनुका साथै सजिलै मदिराको मात्रा पहिचान गर्न सकिने छ । नयाँ प्याकेजिङ्ग पहिलेको तुलनामा निकै आकर्षक रहेको कम्पनीले जनाएको छ । प्याकेजिङ्ग नयाँ भए पनि स्वाद र गुणस्तर मा कुनै पनि सम्झौता नगरिएको जानकारी कम्पनीले जनाएको छ । ग्राहाकहरु माझ अधिक रुचाइएको नेपालकै नं. १ रुस्लान भोड्का, ग्राहाककै चाहाना अनुरुप नयाँ प्याकेजिङ्गमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

चुडामणि शर्मा १ करोड धरौटीमा रिहा

काठमाडौं– आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा धरौटीमा छुटेका छन् ।शर्माले मंगलबार १ करोड रुपैयाँ धरौटी राखेर रिहा भएका हुन् । उनले नेपाल इन्भेष्टमेन्ट बैंकबाट धरौटी ल्याएका थिए । विशेषले शर्मासँग थुनछेक बहसपछि एक करोड धरौटी मागेको थियो । यसअघि शर्मा विशेष अदालतलाई अटेर गर्दै आएका थिए । कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल जेल गएपछि शर्मा मंगलबार विशेष अदालतमा हाजिर भएका थिए । न्यायाधिसद्धय द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले धरौटी माग्ने आदेश गरेको हो । आयोगका सदस्यसचिव समेत रहेका शर्मालगायत अध्यक्ष महत र सदस्य ढकलालले साढे २० अर्ब रुपैयाँ बढी कर छुट दिएर राज्यलाई अर्बौ रुपैयाँ नोक्सान पुर्याएको भन्दै अख्तियार दुरपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दर्ता गराएको थियो ।

कोकाकोलाले पानी उत्पादन थाल्यो, किन्ले ब्राण्ड नेपाली बजारमा

काठमाडौं । कोकाकोला नेपालले नेपाली बजारमा आफ्नो किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ । वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको पेय पदार्थ (पानी) जुन कोकोकोलाको नेपाली बजारमा दोस्रो ठुलो उत्पादन हो । जुन उत्पादन शुद्ध पिउने पानीको रुपमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने पानीको रुपमा बजारमा आएको यो उत्पादनमा प्रयोग गरिने पानी कोकाकोला कम्पनीबाटै आउने छ । जसलाई प्रशोधन मार्फत उच्च गुणस्तरको बनाईएको छ । किन्ले ब्राण्डको अनावरण ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल, कोकाकोला नेपालका कन्ट्रिडाइरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शने संयुक्त रुपमा गरेका थिए । प्रडक्ट लञ्चिङ कार्यक्रममा बोल्दै नेपालको लागि कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने “किन्ले ब्राण्ड सबै ठाउँमा नै निकै प्रख्यात भएको छ । हामीलाई विश्वास छ नेपालमा समेत यसले निकै राम्रो बजार पाउने छ । अघिल्लो बर्ष कोक जिरो नेपाली बजारमा ल्याएका थियौँ । र यस बर्ष किन्ले ब्राण्डलाई नेपालमा ल्याउन पाएकोमा खुसी छौँ ।” उक्त कार्यक्रमा बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्शनेले लन्च गरिएको किन्ले एक लिटर साइजमा बजारमा उपलब्ध हुने पानीको बजार मुल्य २५ रुपैँया रहेको जानकारी दिए । कार्यक्रमा ब्राण्ड एम्बेस्डर महानायक राजेश हमालले भने ‘किन्लेले मेरो विश्वास जितेको छ, मलाई विस्वास छ यसले सारा नेपालीको विस्वास जित्ने छ ।’ किन्ले कोकाकोलाको अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन भएकाले यसको उत्पादनमा कुनै सम्झौता गरिएको हुँदैन । यसले स्टेट अफ आर्ट टेक्नोलोजीमा आधारीत रहेर आफ्नो उतपादन ल्याएको हुन्छ । त्यसैले किन्ले सधै मेरो रोजाईमा पर्ने गरेको हमालले बताए ।