विकासन्युज

बाढी र डुबानको क्षति संकलन गर्न एकिकृत सयंन्त्र नबन्ने, एक हप्ता भित्रै विवरण आईसक्ने

काठमाडौं । मनसुनी वर्षा, भुक्षय, तराईमा आएको बाढी र डुबानको क्षति संकलनका लागि एकिकृत संयन्त्र नबन्ने भएको छ । सरकारले बिभिन्न मन्त्रालय र तालुकदार निकायबाटै क्षतिको विवरण संकलन अघि बढाएको हो । मन्त्रालयहरुले संकलन गरेको तथ्यांकलाई राष्ट्रिय योजना आयोगले एकिकृत रुपमा ग्रहण गर्नेछ । सबै मन्त्रालयलाई क्षतिको विवरण संकलन गर्न योजना आयोगले मन्त्रालयलाई अनुरोध गरिसकेको छ । विभिन्न मन्त्रालयमार्फत क्षतिको विवरण संकलन गर्ने काम भइरहेको योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताए । उनका अनुसार केही मन्त्रालयले प्रारम्भीक विवरण सार्वजनिक गरिसकको छन् । विकासन्युजसंग कुरा गर्दे उपाध्यक्ष वाग्लेले एम साताभित्र क्षतिको विस्तृत विवरण प्राप्त हुने जानकारी दिए । क्षतिको यकिन विवरण प्राप्त भएपछि अध्यय गरेर मात्र भएको नोक्सानी र आर्थिक वृद्धिमा पार्ने प्रभावको विषयमा भन्न सकिने उनको भनाई छ । भूकम्पपछिको क्षतिको आँकलन प्रतिवेदन (पीडीएनए) जस्तै गरी सम्बद्ध मन्त्रालयले नै विवरण संकलन गरिरहेको उनले जानकारी दिए । चालु आवमा लिएको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्न जटिल अवस्था देखिएको बताउदै उनले अध्ययन नभई भन्न नसकिने बताए । तराईमा भएको बाढी, र डुवानले कृषि, सिंचाइ, घरलागायतका संरचनाका अतिरित्त ठुलो मानविय क्षति भएको छ । १ खर्ब रुपैयाा बढी क्षति भएको अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको परिदृष्यि सार्वजनिक गर्दे बाढी र डुवानले भएको ठुलो जनधनको क्षतिले गर्दा आर्थिक वृद्धिदर नै खुम्चिने देखिएको छ । चालु आर्थिक वर्ष ०७४/०७५ मा ७.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको थियो । कृषि, सिंचाई, पशु पालन लगायतका क्षेत्रमा पुगेको क्षति नै ५० अर्ब नजिक पुगिसकेको छ । हालैको निरन्तर मनसुनी वर्षाले सृजना गरेको भूक्षय तथा मुलुकको दक्षिणी भेगमा आएको बाढीले चालु आवमा आर्थिक वृद्धिको परिदृष्यमा अनिश्चितता थपिदिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । शुन्यको आधारबाट गत वर्ष साढे ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेपनि साढे ७ प्रतिशत पुगेको छ । अनुकूल मौसमी वर्षा, उर्जा आपूर्तिमा भएको सुधार र आपूर्ति व्यवस्थामा सामन्यीकरण हुदा गत वर्षको न्यून आधारबाट आर्थिक वृद्धिदर उच्च रहन गएको हो । ७.५ प्रतिशतको आर्थिक वृद्धिदर आव ०५०/०५१ देखिपछिको उच्चत्तम वृद्धिदर हो । बाढीले सिंचाइ पुर्वाधारमा १२ अर्ब, धानबालीमा ४ अर्ब र पशुपंक्षी १० अर्ब रुपैयाँको नष्ट भएको प्रारम्भीक अनुमान छ । बाढी पहिरोले उपभोत्ता मूल्य वृद्धिमा चाप पर्न सक्ने देखिएको छ । यद्यपी यो अल्पकालीन जोखिमको रुपमा मात्र रहेको राष्ट्र बैंकको ठहर छ ।  

भदौ २९गतेदेखि ‘दशैंको बेला सस्तो मेला’, जुत्ता, कपडादेखि होम अप्लायन्ससम्म सुपथ मूल्यमा

काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला २०७४ हुने भएको छ । ‘दशैंको बेला सस्तो मेला’ स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले गर्न लागेको हो । भदौ २१ गतेबाट २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आवश्यक सामग्रीहरुको कारोबार गरिने तथा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, मोबाइल, कस्मेटिक, इलेक्ट्रोनिक्स, फुड प्रडक्ट र होम अप्लायन्सको कारोबार हुने जानकारी दिएको छ । उक्त मेलामा १ सय भन्दा बढी स्टल रहने यस मेलामा दशैंकालागि आवश्‍यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकैठाउँबाट बिशेष छुटमा पाइने आयोजकले जनाएको छ । यो मेलाका लागि ८० प्रतिशत भन्दा बढी स्टल बुक भइसकेको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले जानकारी दिए । केहि दिन भित्र सबै स्टल बुक भइसक्ने उनले बताए । उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा सामाना किन्न सर्वसाधारण आउने अनुमान गरिएको संयोजक जोशीले बताए । सो मेलामाा ५० हजार बढी उपभोक्ता मेला स्थलमा आउने अनुमान आयोजकको छ।

नेपाल स्टक बोक्रर्स एसोसिएसनद्धारा बाढी पीडितलाई १० लाखको आर्थिक सहयोग

काठमाडौं । नेपाल स्टक बोक्रर्स एसोसिएसन अफ नेपालले तराई मधेशमा गएको बिनासकारी बाढीबाट पीडितहरुको लागि १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । मंगलबार एसोसिएसनले बाढी पीडितहरुको राहतका लागि प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा सो मात्राको रकम उपलब्ध गराएको हो । एसोसीएसनका तर्फबाट अध्यक्ष प्रियराज रेग्मीले उक्त रकम बराबारको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका छन् । यो रकम संघमा आबद्ध सदस्यहरुबाट संकलन गरिएको बोक्रर्स एसोसिएसनले जनाएको छ । यस अघि २०७२ साल बैशाखमा गएको महा बिनासकारी भुकम्प पडितहरुहरुको सहयोगार्थ उल्लेख्य नगद तथा जिन्सी समान पनि उपलब्ध गराएको थियो । समारोहमा प्रधानमन्त्री देउवाले पिडितहरुलाई एसोसीएसनले गरेको सहयोगको प्रसंसा गरेका छन् । उनले विपतमा परेकाहरुलाई सहयोग गर्ने संस्कार विकास गर्न सके त्यसबाट देश र जनताको हित हुने बताएका छन् ।

बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, ७२ करोड माथिको सेयर कारोबार

काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । मंगलबार नेप्से २ दशमलब ४८ अंकले उकालो लागेर १६१४ अंकमा पुगेको छ । सामान्य अंकले उकालो लागेको बजारमा ७२ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २० करोड रुपैयाँ बढी हो । सोमबारको बजारमा जम्मा ५२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । मंगलबार उत्पादन र फाइनान्स समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ११ अंकले उकालो लागेको छ । सो दिन सबैभन्दा बढी हिमालयन पावर पार्टनरको सेयर कारोबार भएको छ । यस कम्पनीको ४ करोड ७९ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । कारोबारका साथै यस कम्पनीको सेयर मूल्यमा पनि ७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, नेपाल बैंक लिमिटेडको ४ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

मन्त्री उद्योग खोल्नुपर्छ भन्छन्, तर कर्मचारी बन्द गराउन खोज्छन्- कृष्णप्रसाद दुलाल

कृष्णप्रसाद दुलाल पूर्वाञ्चल ल्युब आयल (पिएलओ) प्रालिका निर्देशक हुन् । विराटनगरबाट लूब्रिकेन्टस व्यवसाय सुरु गरेर सफल उद्योगीका रुपमा स्थापित भइसकेका छन् उनी । उनको कम्पनीले स्टार लूब्रिकेन्ट, स्टार ग्रीज, पिएलओ लूब्रिकेन्ट र हाइड्रोलिक आयल लगायतका वस्तु उत्पादन गरिरहेको छ ।  नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनका (नाडा) का महासचिव समेत रहेका दुलालसँग लुब्रिकेन्ट व्यवसायको विषयमा केन्द्रीत रहेर विकासन्युजले गरेको कुराकानी : कृष्णप्रसाद दुलाल, महासचिव नाडा विराटनगरबाट सुरु भएको पिएलओ लूब्रिकेन्ट अहिले ब्राण्डका रुपमा स्थापित भइसकेको छ । समग्र लूब्रिकेन्ट बजारमा तपाईंको उत्पादनले कसरी व्यवसाय बढाइरहेको छ ? मैले २०५८ सालमा यो उद्योग स्थापना गरेको हो । अहिलेसम्मको ट्रेन्ड हेर्दा प्रत्येक वर्ष औषत २५ प्रतिशतले लूब्रिकेन्टको व्यवसाय बढीरहेको छ । गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने हाम्रो उत्पादनको बिक्री करिब ३५ प्रतिशतले बढेको छ । नेपालको उत्पादनले क्रमश विदेशी उत्पादनलाई प्रतिस्थापन गर्दै गएको छ । आयल निगमले जति पेट्रोलियम आयात गर्छ त्यसको दुई प्रतिशत लूब्रिकेन्टमा प्रयोग हुने अन्तराष्ट्रिय मापदण्ड छ । समग्र लूब्रिकेन्टको व्यवसाय पनि २५ देखि ३० प्रतिशतले वृद्धि भएको छ । नेपाली उत्पादनको सवालमा लूब्रिकेन्टको बजार हिस्सा पाँच प्रतिशत बढेको छ । नेपाली उत्पादनको ३० प्रतिशत बजार हिस्सा रहेकोमा अहिले बढेर ३५ प्रतिशत पुगेको छ । अटोमोबाइल क्षेत्रमा आएको वृद्धिसँगै लूब्रिकेन्टको बिक्री बढ्नु स्वभाविक हो । जलविद्युत आयोजा निर्माणमा प्रयोग हुने हेबी ईक्विपमेन्ट तथा ठुला साधनमा पनि उल्लेख्य मात्रामा वृद्धि भएको छ । लूब्रिकेन्टमा वृद्धि भएको प्रस्ट हुने आधार हुन् । उदाहरणका लागि गत आवमा सर्भोले २ हजार ८०० केएल लूब्रिकेन्टको व्यापार गरेको छ । म्याक लूब्रिकेन्टले २ हजार केएल कारोबार गरेको थियो । २ हजार केएल भनेको झन्डै १ सय करोडको व्यापार हुनुपर्छ । हामी पनि झन्डै १ करोडको हाराहारीमा पुग्दै छौं । समग्र लूब्रिकेन्ट बजारमा पिएलओको बजार हिस्सा कति छ ? मलाई लाग्छ पिएलओले बजारको १० प्रतिशत हिस्सा छ । नेपालमा समग्र लूब्रिकेन्ट कारोबारमा वार्षिक रुपमा करिब २५ देखि २६ हजार केएल लूब्रिकेन्ट बिक्री भइरहेको छ । त्यसमध्ये २ हजार ८०० केएल हाम्रो बिक्री भइरहेको छ । स्वदेशी उत्पादनकै कुरा गर्दा हाम्रो उत्पादनको बजार हिस्सा करिब ३० प्रतिशत छ । बिक्रीको तथ्यांक हेर्ने हो भने उपभोक्ताले स्वदेशी भन्दा विदेशी लूब्रिकेन्ट नै रुचाएको देखिन्छ । नेपाली कम गुणस्तरका भएर हो ? उद्योग व्यवसायमा सुधार ल्याउन सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । विदेशमा सरकारी कर्मचारीमा आफ्नो देशको उत्पादन प्रयोग गर्नुपर्छ भन्ने नै ट्रेन्ड छ । जस्तै भारतीय पर्यटक नेपाल आयो भने ईण्डियन प्रडक्ट नै खोज्छन। विदेशीले नि आफ्नै देशको उत्पादन खोज्छन । तर हाम्रोमा आफनै उत्पादनमा त्यति विश्वास भएको देखिदैन, यो मात्रै हाम्रो समस्या हो । नत्र खासै परिवर्तन गर्नुपर्ने देखिदैन । सरकारले आफ्नो देशको उत्पादन नै प्रयोग गर्नुपर्छ भन्ने नीति लियो भने पुग्छ । हाम्रो संस्कार नै अरु देशको राम्रो भन्ने बसिसक्यो । बनाउदै जाने हो भने हाम्रो उत्पादन पनि राम्रो हुन्छ । अहिले होटल रेस्टुरेन्टहरुमा स्वदेशी ब्राण्ड बनाउने गरेको पाइन्छ । हामीले लूब्रिकेन्टमा पिएलओ एउटा छाप बसाउने प्रयास गरिरहेका छौं । एउटा साधारण उद्योगले १० प्रतिशत बजार ओगट्नु भनेको सानो कुरा होइन । बिडम्बना के छ भने हामीलाई सरकारी तवरबाट असहयोग भइरहेको छ । राजश्वले विभिन्न बाहनामा दुःख दिइरहेको हुन्छ । उद्योगलाई बन्द गराउनुपर्छ भन्ने कर्मचारीको मानसिकता छ । मन्त्रीले उद्योग खोल्नुपर्छ भनेर भाषण गर्ने तर कर्मचारीले त्यसलाई बन्द गराउन अनेक षडयन्त्र गर्ने प्रवृत्ती छ । उनिहरुको भारतीय उत्पादन नेपालमा ल्याएर बेच्नुपर्छ भन्ने मानसिकता छ । गूणस्तरको सवालमा विदेशी र नेपाली उत्पादनका लूब्रिकेन्टलाई कसरी तुलना गर्न सकिन्छ ? विदेशबाट आयात हुने ग्रीज भन्दा नेपालको ग्रीज सस्तो र गूणस्तरीय पनि छ । नेपाली बजारमा स्वदेशी उत्पादनकै ग्रीजको एकलौटी छ । ९० प्रतिशत हिस्सा ग्रीजको छ भने बाकी १० प्रतिशत आयात गरिन्छ । मोबिलको कुरा गर्ने हो भने पुराना गाडी तथा ट्याक्टरमा स्वदेशी उत्पादन नै प्रयोग हुन्छ । नयाँ गाडीहरुका लागि भने छ वर्षको ग्यारेन्टी दिएर आफ्नै मोबिल प्रयोग गर्नुपर्छ भनेर बिक्री गर्छन् । लूब्रिकेन्टको गुणस्तरको सन्दर्भमा अमेरिकी पेट्रोलियम इन्ष्टिच्युट (एपिआई) ले मार्गनिर्देशन दिएको छ । गाडीको प्रकार अनुसार निश्चित फरक फरक सामग्री छुट्याइएको छ। जस्तो चिया बनाउन चियापत्ती, चिनी लगायतका कुराहरु छुट्याइएको हुन्छ त्यस्तै लूब्रिकेन्टका लागि पनि ट्रयाक्टरको लागि छुट्टै मापदण्ड छ भने बाइक तथा ठुला गाडीका लागि फरक फरक सामग्री राखिएको छ । चिप्लोपनालाई बाक्लो बनाइन्छ । जसका कारण बाह्रै महिनासम्म लूब्रिकेन्ट टिकाउ रहनसक्छ । त्यसमध्ये बढी मिहिनेत ग्रीज बनाउँदा लाग्छ । ग्रीज चाँही अन्तराष्ट्रिय मापदण्ड अनुसार कै छ । विदेशी उत्पादनका साथै स्वदेशी उद्योग पनि छन । यस्तो अवस्थामा पीएलओले कसरी प्रतिस्पर्धा गरिरहेको छ ? यो व्यवसाय सर्भिस डेलिभरीमा आधारित छ । तपाईंकोमा जो पुग्छ त्यहि बिक्री हुन्छ । प्रतिस्पर्धाको कुरा गर्दा लूब्रिकेन्टमा धेरै ठुलो छैन । हुन त प्रतिस्पर्धा बिनाको बजार नै हुँदैन । लूब्रिकेन्टको मार्केट सिस्टमअनुसार चल्छ छ । यो बिल्कुलै स्लो मुबिङ आइटम हो । यो उपभोग्य वस्तु जस्तो तुरुन्तै बिक्री हुने वस्तु होइन । विदेशी उत्पादनसँगको प्रतिस्पर्धा कस्तो छ ? नेपाली लूब्रिकेन्टका लागि आयात हुने कच्चा पदार्थमा १५ प्रतिशत भन्सार शुल्क लाग्छ । तयारी वस्तुमा ३० प्रतिशतको कर लाग्छ । कच्चा पदार्थ र तयारी लूब्रिकेन्टान जम्मा १५ प्रतिशतको फरक छ । यसले सम्पूर्ण उद्योगलाई समेट्न सकेको छैन । भारतले त्यहाँका उद्योगलाई अनुदान दिने चलन छ । भारतबाट आयात हुने लूब्रिकेन्टको मूल्य निकै कम छ । नेपाली लूब्रिकेन्ट र भारतिय लूब्रिकेन्टमा मूल्यको अन्तर खासै छैन । सरकारबाट हामीलाई सहयोग नै छैन । त्यसले गर्दा भारतसँगको प्रतिस्पर्धा अलि कडा भइरहेको छ । ०६२/०६३ साल अगाडी उद्योगलाई पाँच प्रतिशत लाग्थ्यो भने तयारी वस्तुमा ३० प्रतिशत लाग्थ्यो । २५ प्रतिशतको फरक थियो । त्यतिबेला एउटा मात्र लूब्रिकेन्ट उद्योगका रुपमा नेपालमा गल्फ उद्योग थियो । गल्फ त्यतिबेलाको एक नम्बर ब्राण्ड थियो । सरकारले नेपालमा उद्योग खोल्नुपर्छ भनेपनि फस्टाएको देख्ननसक्ने प्रवृत्तिको छ । अहिले आठवटा उद्योग हुन् तर त्यसरी एकछत्र राज गर्न सकेका छैनन् । अहिले काठमाडौं उपत्यका लगायत देशका अधिकांश स्थानमा सडकको अवस्था खराब छ । यसले लूब्रिकेन्ट उद्योगलाई प्रभाव पारेको छैन ? लूब्रिकेन्ट चल्ने भनेको गाडीले यात्रा गर्ने किलोमिटरको हिसाबले हो । अहिले सडकको खराब अवस्थाका कारण लूब्रिकेन्ट उद्योगले खासै व्यापार गर्न सकेको छैन । आवश्यकता अनुसार सडकमा गाडी नचलेपछि लूब्रिकेन्टको जति हुनेपर्ने हो त्यसको आधा पनि बिक्री भएको छैन । अहिले विश्वबजारमा नै विद्युतिय सवारी साधनले राम्रो स्थान लिइरहेका छन । भोली पेट्रोलियमबाट चल्ने गाडी विस्थापित हुँदा लूब्रिकेन्ट उद्योगमा के प्रभाव पर्न देख्नुहुन्छ ? विद्युतीय सवारी आउदाँ लूब्रिकेन्ट उद्योगलाई प्रभाव त पर्छ नै । तर यो एकैचोटीमा विस्थापित हुने विषय होइन । अन्तर्राष्ट्रिय बजारमा त विस्थापित हुनसकेको छैन भने नेपालमा विस्थापित हुने परिकल्पना समेत गर्न सक्ने अवस्था छैन । सधै भरी एउटै चिज चल्छ भन्ने पनि हुँदैन । हेबी इक्विपमेन्ट विद्युतबाट नचल्ने भएकाले लूब्रिकेन्ट विस्थापित हुन्छ भन्ने छैन । नेपालको सन्दर्भ हेर्ने हो भने हाम्रो लूब्रिकेन्ट बढी खपत हुने साधन भनेको ट्रयाक्टर हो । अब ट्रयाक्टर विद्युतबाट चल्ने कुरा त भएन । हाम्रो उत्पादनको सबैभन्दा बढी बिक्री ग्रीजको हुन्छ । ग्रीज त इलेक्ट्रिक सवारीसाधनमा पनि प्रयोग हुन्छ । त्यसपछि खेतमा प्रयोग हुने पम्पिङ सेटमा जाने हो । त्यसपछि वैकल्पिक उपकरणमा प्रयोग हुन्छ । हाम्रो उत्पादन कमर्शियल भेहिकल भन्दा बढी खपत प्राइभेट भेहिकलमा हुन्छ । देशभरी तराईका विभिन्न स्थानमा आएको बाढीले विभिन्न उद्योग समस्यामा छन् । तपाईंको उद्योग पनि तराईंमा भएकाले यसको प्रभाव कतिको छ ? बाढीले सम्पूर्ण तराई क्षेत्रलाई ध्वस्त नै बनाएको छ । मेरो उद्योगमा प्रत्यक्षरुपमा असर नपरेपनि अप्रत्यक्षरुपमा परेको छ । तराईका अन्य उद्योगका गोदाममा पानी छिरेका छन्। यसको असर आर्थिक वर्षको अन्त्यमा थाहा हुन्छ । यो महिनामा त कारोबार सुरु भएकै छैन भन्दा हुन्छ । नाडा अटो शो २०१७ लाई लक्षित यहाँहरुको नयाँ प्रस्तुती के हुनेछ ? यसपाली नाडा अटो शोमा हामी मेगा लूब्रिकेन्टलाई नै प्रचार गर्छौं । हाम्रो उत्पादन बजारमा ल्याइसकेका छौं (पिएलओ) स्टार र मेगा । हाम्रो उत्पादनलाई व्यापक प्रचार गरेर स्वदेशमा पनि हाम्रो उत्पादन छ है भन्ने चिनाउने हाम्रो उद्देश्य हो ।

इष्टर्न मोटर्स प्रा.लिले रिटेलर मिट २०१७ को आयोजना गर्यो

काठमाडौं । बतास अर्गनाइजेसनका इष्टर्न मोटर्स प्रा.लिले रिटेलर मिटको आयोजना गर्यो । सो अवसरमा जम्मा ८० रिटेलरहरुको सहभागी थियो । उक्त रिटेलर मिटको मुख्य उद्देश्य भनेको आविष्कार व्यवस्थापन, आर्थिक वर्ष २०७४।७५ को लागि नयाँ डिस्काउन्ट पोलिसी र स्पेस अर्डर प्रक्रियाको बारेमा जानकारी दिनु कम्पनीले जनाएको छ । जसमा पहिलो उच्च विक्रि अवार्ड शिव शेखर इन्टरप्राइजेज, दोश्रो उच्च विक्रि अवार्ड सिद्धि बिनायक मोटर पार्टस् र तेश्रो उच्च विक्रि अवार्ड चैत्य लक्ष्मी इन्टरनेशनल प्रा.लि. ले पाएको छ । साथै, कार्यक्रममा विभिन्न स्किमहरु पनि राखिएको जानकारी दिएको छ । सो कार्यक्रमको स्किमहरुमा युरोप ट्रीप, दुबई ट्रीप, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर ट्रीप, २९ इन्चको एलइडि, सामसुङ एण्ड्रोइड जसमा युरोप ट्रीपका बिजेताशिव शिखर इन्टरप्राइजेज भएको जानकारी दिइएको छ ।

विद्युत् प्राधिकरणमा १०३ कर्मचारीको एकैपटक सरुवा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक १०३ कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले इन्जिनियरदेखि उपप्रवन्धक तहसम्मका कर्मचारीको सरुवा तथा पदास्थापन गरिएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सुरुवा गराएका हुन् । कर्मचारी सरुवामा शिफारिश र दवाव आएको भन्दै माथिबाट भनसुन गर्न लगाउने कर्मचारीलाई दुर्गममा सरुवा गर्ने चेतावी दिएका थिए ।

एभरेष्ट इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । इन्स्योरेन्सले ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशनको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा तोकेको हो । सो मात्राको सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा मंगलबार एभेरेष्ट इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतम र सिद्धार्थ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।