सिटिसी मलमा इजी मोबाइल केयर, ३० प्रतिशत डाउन पेमेन्टमा खरिद सुबिधा
काठमाडौं । राजधानीको सुनधारास्थित सिटिसी मलमा सुबिधा सम्पन्न इजी मोबाइल केयर सञ्चालनमा आएको छ । बिहिबार नायक राजेश हमालले एक कार्यक्रमका बिच इजी मोबाइल केयरको सुभारम्भ गरेका हुन् । नेपालमै पहिलो पटक एउटै सेन्टरमा मोबाइल सम्बन्धी सबै सेवा उपलब्ध गराउने दावी पनि सेन्टरले गरेको छ । कार्यक्रममा सांसद ईच्छाराज तामाङ, नेपाल मोबाइल इम्पोर्टस एसोसियसनका अध्यक्ष दिपक मलहोत्राको उपस्थिती थियो । कम्पनीले मोबाइल व्यवसायको क्षेत्रमा नौलो अवधारणा सहित शुरु गरेको मोबाइल बिक्रि तथा सर्भिस सेवाले नेपाली ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्ने दावी सेन्टरले गरेको छ । यस कम्पनीले ग्राहकहरुको चाहना र ईच्छा बमोजिम मोबाइल बिक्रि साथै सर्भिस पनि प्रदान गर्नेछ । कम्पनीले मोबाइल सेल्सका लागि अनलाइन पनि संचालन गरेको छ । जसमा अनलाइनबाटै मोबाइल किन्न सकिनेछ । यसको लागि ईजी मोबाइल केयर डटकममा लगईन गरेर मोबाइल अनलाइन बाटै किन्न सकिन्छ । ५० हजार भन्दा कम मूल्यको मोबाइल किन्दा २० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लैजान सकिने सुबिधा पनि उपलब्ध छ । यसमा ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्ने जानकारी दिइएको छ । कम्पनीले कुनै पनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने सुविधा पनि दिएको छ । ईजी मोबाइल केयर प्रालिका अध्यक्ष संजित पौडेलले मोबाइल बजारमा अझै पनि ग्राहकहरुले चाहे अनुसारको सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई सस्तो मुल्यमा स्तरीय मोबाइल बिक्रि र सर्भिस दिने लक्ष्य लिएको बताए । अध्यक्ष पौडेलले भने, ‘‘अहिले पनि बजारमा भरपर्दो र उचित रुपमा मोबाइल बिक्री गर्ने र बिक्रीपछिको सेवा दिने कम्पनीहरु छैनन् । हामी हाम्रा ग्राहकहरुलाई घरैमा पुगेर सेवा दिने र उनीहरुको मोबाइलसम्बन्धि समस्या समाधान गर्ने उद्धेश्यका साथ आएका छौं ।’’
बैंक अफ काठमाण्डूले सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई कार्यक्रम आयोजना गर्ने
काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच शहरहरुमा सरसफाई कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकले साउन २२ गते अत्तरिया, २३ गते टिकापुर, २४ गते कोहलपुर, २५ गते तुलसीपुर र २६ गते बर्दघाट शहरहरुमा सो कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त सरसफाई कार्यक्रमको नेतृत्व यस बैंकका ब्राण्ड एम्बेसेडर प्रसिद्ध हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) ले गर्ने भएका छन् । सरसफाईका लागि चाहिने औजार र अन्य सामग्रीहरु बैंकले नै व्यवस्था गर्ने भएको छ । सरसफाई कार्यक्रम पश्चात मेरी बास्सैका हास्यकलाकारहरु धुर्मुस, चम्सुरी र दाह्री बुढोले आफ्नो मनोरञ्जनात्मक कला प्रदर्शन गर्ने छन् । उक्त अवसरमा स्थानीय जनतालाई सरसफाईमा भाग लिन र मनोरञ्जनात्मक कार्यक्रम अवलोकन गर्न बैंकले अनुरोध गरेको छ ।
एसबिआई बैंकको साउन ३१ गते बुक क्लोज
काठमाडौं । नेपाल एसबिआई बैंकको आगामी साउन ३१ गते बुक क्लोज हुने भएको छ । बैंकले विशेष साधारणसभा प्रयोजनको लागि उक्त दिन कम्पनीको दर्ता पुस्तक बन्द(बुक क्लोज) गर्न लागेको हो । उक्त निर्णय असार ४ गते बसेको कम्पनीको ४०८औँ बैठकले गरेको छ । बैठकको निर्णय अनुसार बैंकको विशेष साधारणसभा आगामी भदौ १२ गते हुने भएको छ । उक्त सभामा कम्पनीको प्रस्तावित विषयहरुमा छलफल हुने बैंकले जनाएको छ ।
बाबा रामदेवले कपडा उत्पादन थाले, ५० अर्ब भारु कारोबार गर्ने लक्ष्य
काठमाडौं । आर्युवेर्दिक औषधीलगायत अन्य दैनिक उपभोग्य खाद्य र सौन्दर्य सामाग्री उत्पादन गर्दे आएका बाबा रामदेवको पतञ्जली आर्यूवेद लिमिटेडले कपडा उत्पादन थालेको छ । योगा टाइकुन रामदेवले पछिल्लो समयमा व्यवसायलाई विविधिकरण गरी ब्राण्डेड कपडा व्यवसाय सुरु गरेका छन् । पतञ्जली आर्यूवेदले महिला, पुरुष र बच्चालाई लक्षित गरी स्वदेशी नामक ब्राण्डको कपडा बजारमा ल्याउन लागेको लाइभ मिन्ट अनलाईनले जनाएको छ । पहिलो वर्ष ५० अर्ब भारुको बिक्रि गर्ने लक्ष्य लिएको कम्पनीका प्रवत्ता एस के तिजरावालाले जानकारी दिएका छन् । उनका अनुसार पतञ्जलीले विभिन्न किसिमका कपडा बजारमा ल्याउने तयारी भएको छ । उनका अनुसार पहिलो चरणमा २५० विशेष केन्द्रबाट बिक्री गर्ने लक्ष्य लिएको छ । यस्तै विस्तारै अन्य बिक्री केन्द्रबाट बजार विस्तार गर्ने लक्ष्य लिएको छ । पतञ्जलीले यो वर्ष २५ खर्ब भारु कारोबार गर्ने लक्ष्य लिएको छ । रामदेवले नेपालमा पनि लगानी गरेका छन् ।
प्यारागनका जुत्ता नेपाली बजारमा, सोल र पेस्टिङमा एक वर्षको वारेन्टी
काठमाडौं । भारतको नं. १ जुत्ता ब्रान्ड प्यारागन नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि प्यारागनका अधिकृत बिक्रेता प्रिन्साइम्पेक्सले उक्त ब्रान्ड नेपाल भित्र्याएको हो । कम्पनीले बुधबार राजधानीमा एक पत्रकार सम्मेलन गरी नेपालमाबिक्री सुरु गरेको जानकारी गराएको छ । कार्यक्रममा प्यारागनका भाइस प्रेसिडेन्ट नविनथोमसले यो ब्रान्ड भारतमा निकै लोकप्रिय रहेको र नेपाली उपभोक्ताले पनि रुचाउने बताए । यो भारतमा सबैभन्दा बढी जुत्ता उत्पादन गर्ने कम्पनी हो । थोमसका अनुसार यसले वार्षिक १४ करोड जोर जुत्ता उत्पादन गर्छ । सन् १९७५ मा केरलामा स्थापना भएको यो उद्योगले भारतका विभिन्न स्थानमा चारवटा प्लान्ट स्थापना गरी जुत्ता उत्पादन गर्दै आएको छ । कम्पनीले भारतीय बजारको माग आपूर्ति गर्दै विदेशमा समेत जुत्ता निर्यात गर्दै आएको छ । निकट भविष्यमै राजधानीका विभिन्न स्थानमा चारवटा शेरुम स्थापना गरी जुत्ता बिक्री–वितरण गर्ने प्रिन्साले जनाएको छ । स्कुलजुत्ता, पार्टी जुत्ता, अफिसियल जुत्ता, इन्डस्ट्रियल (कलकारखाना र निर्माण कार्यमा संलग्न व्यक्तिहरुले प्रयोग गर्ने) लगायत फेसनेबल जुत्ताहरु यसका प्रडक्ट रेन्जमा छन् । कम्पनीले यी जुत्तामा एक वर्षको वारेन्टी दिएको छ । वारेन्टी सोल र पेस्टिङमा लागू हुनेछ ।
आइतबार ५ अर्बको विकास ऋणपत्र बिक्रीका लागि खुला हुदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । सरकारलाई आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले ५ वर्षका लागि विकास ऋणपत्र ०७९ बिक्री गर्न लागेको हो । बोलकबोलबाट ब्याज दर निर्धारण हुने छ । बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न पाउने राष्ट्र बैंकले जनाएको छ । ०७९ साउन २३ गते साँवा भुक्तानी हुने छ । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुने र सोमा कर लाग्ने राष्ट्र बैंकले स्पष्टपारेको छ । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण मध्ये ७२ अर्ब रुपैयाँ विकास ऋणपत्र उपकरणबाट उठाउने भएको छ ।
व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न मन्त्री विश्वकर्माको आग्रह
काठमाडौं । वाणिज्यमन्त्री मीन विश्वकर्माले व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्शको टोलीले बिहीबार मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री विश्वकर्माले मुलुकको आर्थिक विकासको मेरुदण्ड व्यवसाय भएकाले यसलाई बढावा दिनुपर्ने बताए । “व्यवसायीको रक्षा भएमात्र व्यवसायको रक्षा हुन्छ, व्यवसाय राम्रो भए मुलुकको विकास हुन्छ”, उनले भने । व्यवसायीका समस्या समाधानका लागि मन्त्रालयले काम गर्ने तर कालोबजारी र कर छली गर्ने व्यवसायीलाई कारबाही गर्ने उनको भनाइ थियो । मन्त्री विश्वकर्माले आयातित सामानलाई कम गरी निर्यातजन्य वस्तुलाई बढाउन सकेमात्र देशको व्यापार घाटा कम हुने भन्दै यसका लागि व्यवसायी लाग्नुपर्ने बताए । कर तिर्ने व्यापारी देशको मेरुदण्ड भएकाले व्यापारीको सल्लाहअनुसार आफू अगाडि बढ्ने उनले बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा राजेशकाजी श्रेष्ठले वाणिज्य नीतिमा सुधार गरे व्यापार–व्यवसाय सहज हुने भन्दै सुधारका कार्यक्रमलाई अगाडि बढाउन मन्त्रीसमक्ष आग्रह गरेका छन् । उनले व्यापारका क्रममा रसुवा नाकामा भोग्नुपरेका समस्या, कालोबजारी ऐन, उपभोक्ता ऐन संशोधन नभएको भन्दै संशोधनका लागि मन्त्रालयले पहल गर्नुपर्नेमा जोड दिए । भेटमा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी र सदस्यको सहभागिता रहेको थियो । रासस
नागरिक छात्रवृत्ति परियोजनामा एनआरएनए र सिभिल इनिसियटिभबीच सम्झौता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्ड र सिभिल इनिसियटिभबीच नागरिक छात्रवृत्ति कोष (सिभिल स्कलरसिप फण्ड) स्थापनाको लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा मेगा बैंकले हरेक वर्ष ३ लाखका दरले ५ वर्षमा कुल १५ लाख रूपैयाँ सहयोग गर्ने गरी हस्ताक्षर गरेको छ । यो छात्रवृत्ति कक्षा आठदेखि १२ सम्म अध्ययन गर्नेहरुलाई समावेशीताको सिद्धान्तअनुसार प्रदान गरिने छ । छात्रवृत्ति कोषको निरन्तरताका लागि बैंकबाट प्राप्त ब्याजबाट विद्यार्थीहरुलाई सहयोग प्रदान गरिनेछ । अवसरबाट विभुख समुदायका विद्यार्थीहरुको सहयोगको लागि स्थापना गरिएको यस कोषको मुख्य उद्देश्य विद्यार्थीहरुको भर्ना दरमा वृद्धि गर्नु, विद्यालयमा उनीहरुको उपस्थिति बढाउनु, स्कुल छोडने दर कम गर्नु र अध्ययनको स्तर बढाउनु रहेको छ । यस कोषमा एनआरएनए थाइलयाण्डले यसअघि नै ३६ लाख रुपियाँभन्दा बढि सहयोग गरिसकेको छ । यो रकम मेगा बैंकमा मुद्दती खाता खोजी सम्मा गरिएको छ । कोषको परिचालनका लागि नागरिक छात्रवृत्ति कोष निर्देशिका, २०१७ तयार गरिएको छ । पहिलो बर्ष पाइलोट प्रोजेक्ट को हिसाबमा भूकम्प प्रभावित दोलखा र गोरखा जिल्लाका २०–२० जना गरी ४० जना विद्यार्थीलाई यो छात्रवृत्ति वितरण गरिनेछ । त्यसपछि प्रत्येक वर्ष १०० जना बिद्यार्थी लाइ छात्रवृति वितरण गर्ने लक्ष्य रहेको एनआरएनए थाईल्याण्ड का अध्यक्ष एबम नागरिक छात्रवृति का प्रबर्द्धक ढकाल ले जनाएका छन् ।यसको सञ्चालनका लागि तपशील बमोजिमको छात्रवृत्ति कार्यान्वयन समिति गठन गरिएको छ । छात्रवृत्ति कोषको दीर्घकालिन सञ्चालनका लागि इच्छुक व्यक्ति तथा संस्थाहरुमार्फत कोषको रकम बढाउन सिभिल इनिसियटिभ र एनआरएनए थाइल्याण्डले निरन्तर र संयुक्तरुपमा पहल गरिने एनआरएनएले जनाएकाे छ । साथै, कोषको पारदर्शी खर्चका लागि यसको कारोबारको विवरण संस्थाको प्रकाशन र वेभसाइटमार्फत नियमितरुपमा सर्वाजनिक गरिने छ । सिभिल इनिसियटिभ नामक संस्थाको नाममा मेगा बैंकमा रहेको यस छात्रवृत्ति कोषको खाता नम्बर ००१००६०३७२३४३ रहेको एनआरएनएले जनाएकाे छ ।