विकासन्युज

१० दिन एडिएसएल चल्छ विल ३० दिनको, १० सेकेण्डमा फोन काटिन्छ विल ६० सेकेण्डको

काठमाडौं । “मैले ४० सेकेन्डमात्रै फोन गरेँ । मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो । फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ? ” यो प्रश्न कुनै सर्वसाधारण नागरिकको होइन सांसद् उदयशम्शेर राणाको हो । दूरसञ्चार सेवा प्रदायकले उपभोक्तामाथि ठगी गरिरहेको सन्दर्भ जोड्दै सांसद राणाले भने– “उपभोक्तालाई गुणस्तरीय सेवा नदिने अनि उल्टै थप शुल्क लिने ? के उनीहरुलाई कुनै नियम कानून लाग्दैन ?” व्यवस्थापिका–संसद् अर्थसमितिको आजको बैठकमा सांसदले दूरसञ्चार सेवा प्रदायकले उपभोक्तालाई सेवाको नाममा सास्ती दिएको र थप शुल्कको मारमा पारेको भन्दै आपत्ति जनाए । नेपाल दूरसञ्चार प्राधिकरणले नियमन गर्नेतर्फ समेत कुनै पहल नगरेको र सेवा प्रदायकलाई छाडा छाडेकामा सांसदले आलोचना गरेका थिए । फोन गरेको समय अनुसारको शुल्क लिने अन्तर्राष्ट्रिय प्रचलन भए पनि मुलुकभित्रका सेवा प्रदायकले उपभोक्तालाई गुणस्तरीय, सरल र सहज सेवा दिन कन्जुस्यार्इं गरेकामा सांसदको आपत्ति थियो । मोबाइल फोनको गुणस्तर नभएको, कुरा गर्दा गर्दै काटिने, फोन गर्दा नसुनिने, अनावश्यक शुल्क तिर्नु परेको तथा कतिपय स्थानमा फोन नै नलाग्ने अवस्था रहेकामा सांसदले दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाको ध्यानाकर्षण गराए । सांसदले कति समयभित्र सुधार हुन्छ र सुधार गर्न सकिन्छ भनेर प्रश्न गरेका थिए । सांसद केदारप्रसाद सञ्जेलले सेवाको गुणस्तरबारे प्रश्न गर्दै भने –“एक महिनाको अवधिमा १० दिन एडिएसएल चल्छ, बाँकी समय चल्दैन तर समय पुगेपछि लाइन आफैँ काटिन्छ यस्तो लापर्बाही किन ? के अब इन्टरनेट अर्कै कम्पनीको चलाउनु भनेको हो टेलिकमले ?” अर्का सांसद ल्ह्यारक्याल लामाले एडिएसएल लाइन लिन जाँदा टेलिकमका कर्मचारीले आफूलाई थर्काएको भन्दै सेवा दिने संस्थाले जे मन लाग्यो त्यही गर्न मिल्छ ? भन्ने प्रश्न गरे । यी र यस्ता प्रश्न टेलिकम सेवा प्रदायकको सेवाप्रतिको गुनासो हो । सूचना तथा सञ्चार मन्त्रालयले पटकपटक सेवा सुधार गर्न सेवा प्रदायकलाई निर्देशन दिएको भए पनि अवस्था जहाँको तहीँ छ । साँझको समयमा सबैभन्दा बढी समस्या पर्ने गरेको छ । प्राधिकरणले समस्या समाधानमा जोड दिएको भन्दै स्पष्टीकरण दिने गरेको छ । तर उपभोक्ताले सेवाको गुणस्तर प्रभावकारी भयो भनेर कहिल्यै अनुभव गर्न पाएका छैनन् सांसद दीपक कुइँकेलले गुनासो गरे । सांसद कमला पन्तले सेवा दिने संस्थामा हाकिमी प्रवृत्ति रहेको र उपभोक्ताको गुनासो सुन्ने धैर्यता नै नभएको भन्दै सेवाग्राही संस्थामा नैतिक शिक्षा पढाउनुपर्ने भएको बताइन् । सांसदको चर्को गुनासा र प्रश्न सुन्दै बसेका प्राधिकरणका अध्यक्ष झाले भने – “प्राधिकरणले प्रति १० सेकेन्डको एक पल्स बनाएको छ । बढी शुल्क लिन पाइँदैन, लिइएको भए कानूनअनुसार कारबाही हुन्छ । प्राधिकरण कारबाही गर्न तयार छ ।” प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर बढाउन पटकपटक निर्देशन दिएको र अनुगमनसमेत गरेको भन्दै अध्यक्ष झाले समस्या आएको खण्डमा नागरिकले पनि प्राधिकरणलाई सुझाव दिन सक्ने बताए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमको सेवालाई थप भरपर्दो, गुणस्तरीय, व्यावसायिक र सरल बनाउन प्रयासरत रहेको बताइन् । आधारभूत टेलिफोन लाइनमा प्रयोग भएको पुरानो प्रविधिलाई परिवर्तन गरेर नयाँ अत्याधुनिक प्रविधि जडान कार्य शुरु भएको र एकाध महिनाभित्रै थप आठ लाख लाइनमा त्यस्तो प्रविधि जडान भइसक्ने भएकाले एडिएसएलमा कुनै पनि गुनासो नआउने प्रतिबद्धता व्यक्त गरिन् । कर्णाली र सेतीको पहाडी क्षेत्रमा सधैँ समस्या अर्थसमितिको बैठकमा सांसद गोमा कुँवरले कर्णाली अञ्चलमा साँझ परेपछि फोन नै गर्न नसकिने अवस्था रहेको भन्दै राज्यले सधैँ अँध्यारोमा नै राख्नुपर्ने के कारण आइलाग्यो भन्ने प्रश्न गरे । “बिरामी भए भने पनि एम्बुलेन्ससमेत बोलाउन नसकिने अवस्था छ” उनले भने –“सेवाको गुणस्तर छँदै छैन, पन्ध्रभन्दा बढी गाउँपालिका अझै पनि दूरसञ्चार सेवाको पहुँचमा छैनन्, किन यस्तो सौतेलो व्यवहार ?” सांसद मदनकुमारी शाहले टीकापुरमा आधारभूत टेलिफोन सेवा जडान गर्न नौ महिना लागेको भन्दै सेवाप्रदायकको व्यवहारप्रति गुनासो गरिन् । समितिको बैठकमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले टेलिकमलाई थप व्यावसायिक र प्रविधिमैत्री बनाउन पहल गरिएको भए पनि सार्वजनिक खरिद ऐनलगायतका कानूनका कारण निजी क्षेत्रले जस्तो सहजरुपमा काम गरिहाल्ने अवस्था नरहेको बताए । उनले टेलिकमलाई प्रतिस्पर्धी र मर्यादित बनाउन रणनीतिक साझेदार ल्याउने विषयमा पनि छलफल जारी रहेको, पूर्वाञ्चल क्षेत्रमा नयाँ ७०० र पश्चिमाञ्चलमा ३०० नयाँ टावर जडान कार्य शुरु गरिएकाले गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे । समितिले कर्णालीलगायतका क्षेत्रमा दूरसञ्चार सेवामा देखिएको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । रासस

रियल स्कूलअफ नेपालद्धारा नवौं क्षेत्रिय प्रतिस्पर्धा सम्पन्न

काठमाडौं । रियल स्कूलअफ नेपाल २०१७ अन्तर्गत नवौं क्षेत्रिय (फाईनल) प्रतिस्पर्धा मध्यमाञ्चलको वीरगञ्जमा सम्पन्न भएको छ । यस प्रतियोगिताबाट विजयी विद्यालय जि.एच.पि.सेकेण्डरी स्कूल घोषित भएको छ । यी विजयी विद्यार्थीहरुले काठमाडौंमा सम्पन्न हुने रियल स्कूलअफ नेपाल २०१७को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नेछन् । विगत दुई वर्षदेखि शुरुवात गरिएको २५ हजार रुपैयाँ बराबरको छात्रवृत्तिलाई यसपालि पनि निरन्तरता दिंदै स्कुलले दुई जना आर्थिक स्थिति कमजोर भएका प्रभावशाली विद्यार्थीहरु नसिर हुसैन(छात्र) र कविता तामाङ्ग (छात्रा) लाई प्रदान गरेको छ । यसैगरी अरु बाँकी क्षेत्रहरुमापनि छात्रवृत्ति प्रदान गर्ने स्कुलले जनाएको छ ।

इक्यान मेला दोश्रो दिन ३३ हजार ५ सयले अबलोकन गरे

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ इक्यानको ११ औ शैक्षिक मेलाको दोस्रो दिन शुक्रबार करिब ३३ हजार पाँच सय जनाले अबलोकन गरेका छन । मेला अवधिभर १ लाख २५ हजार भन्दा बढिले अवलोकन गर्ने अपेक्षा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को रहेको छ । उक्त मेलामा विद्यार्थीहरुलाई बैदेशिक शिक्षाको बारेमा परामर्श दिइने बताइएको छ । शुक्रबार आयोजित रिपोर्टर्स क्लबको पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष प्रकाश पाण्डेले सबै व्यक्तिले मेलाको बारेमा बुझ्नपर्ने बताए । साथै, इक्यान मेलाले बिदेशमा रहेका कलेज तथा विश्व विद्यालयमा रहेको राम्रो पक्षलाई विश्लेषण गरेर विद्यार्थीलाई जानकारी दिइने तथा विद्यार्थीका अभिभावकलाई पनि सल्लाह सुझाव दिइने उद्देश्य रहेको बताए । कुनै पनि विद्यार्थी बिदेश जानु पूर्व लगानीदेखि भाषाको बारेमा जानकार भएर जान पर्नेमा उनले जोड दिएका छन् । साथै, नेपाली विद्यार्थीहरु पढ्न मात्र नभएर कमाउन पनि जाने गरेकाे र राष्ट्रलाई पनि आर्थिक टेवा पुगेको पाण्डेले बताए । इक्यानले बैदेशिक शिक्षाका लागी जाने विद्यार्थीलाई निःशुल्क बिमा, शिक्षामा उद्दार कोषको विकास तथा जाने व्यक्तिलाई सम्झौता गरेर मात्र शिक्षण संस्थामा भर्ना गर्नु पर्नेमा जोड दिएको छ । उक्त पत्रकार सम्मेलनमा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बिदेश पठाउने संघ संस्थाहरु करियर काउन्सेलिङ भन्दा पनि नाफाको उद्देश्य राखेको हुनाले यसमा सुधार गर्नु पर्नेमा जोड दिनु पर्ने बताए । समग्रमा उचित सिट तथा विषयहरु नेपालमा विकास हुन नसकेकाले बर्षेनी लाखौं विद्यार्थीहरु बिदेश जाने क्रम बढ्दो छ । इक्यान मेलाका अवलोकनकर्तालाई विदेश किन जान चाहानु हुन्छ भन्दा काभ्रेकी आरति रावल भन्छिन् “नेपालमा धेरै विषयहरु छानेर पढ्न पाईँदैन त्यसैले बिदेश जान चाहान्छु ।” त्यसै गरी ललितपुरका रुपेस लोहनी भन्छन् “अटो मोबाइलस् पढ्न मन छ, युएस जान चाहान्छु ।” उनको भनाई अनुसार नेपालमा यो विषय खासै प्रभावकारी ढङ्गले नचलेको बताए ।  

स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेष्ट कन्जुमर डिजिटल अवार्ड’बाट सम्मानित

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक ‘वल्र्ड बेष्ट कन्जुमर डिजिटल अवार्ड-२०१७’ बाट सम्मानित भएको छ । शुक्रबार न्यूर्योकमा आयोजित एसिया प्यासिफिक वल्र्ड बेष्ट कन्जुमर डिजिटल बैंकस् प्रतियोगिताको पहिलो चरणको विजेताको घोषणा ग्लोबल फाइनान्सले गरेको छ । प्रतियोगितामा स्ट्याण्डर्ड चार्टर्ड लगायतका अरु बैंकहरु छानिएका छन् । ग्राहकलाई डिजिटल अफरिङ्गहरु प्रयोग गराउनमा सफल भएका बैंकहरु उक्त प्रतियोगितामा छानिएका छन् । साथै, विजेता बैंकहरु डिजिटल ग्राहकहरुको वृद्धि, प्रोडक्ट अफरिङ्गको दायरा, डिजिटल पहलबाट प्राप्त मूर्त लाभको प्रमाण र वेब/मोबाइल साइट डिजाइन र कार्य क्षमताको आधारमा छानिएका बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विजेताहरु इन्फोसिस्, विश्वको अग्रणी परामर्श, प्रविधि र आउटसोर्सिङ्ग कम्पनीको उच्चस्तरीय निर्णयक मण्डलले छानेका हुन् । ग्लोबल फाइनान्स इडिटर्स पहिलो चरणको अन्तिम नतिजाको लागि जिम्मेवार थिए । यस बैंकले लगातार तीन पटक उक्त अवार्ड हासिल गरेको हो । यसै महिना यस बैंकले इरोनोमीद्वारा प्रस्तुत गरिएको सम्माननिय नेपालस् बेष्ट बैंक २०१७ को अवार्ड पनि हासिल गरेको थियो ।

नेप्से ५२ अंकले उक्लियो, चार अर्ब ७३ करोडको सेयर कारोबार

काठमाडौं । यस साता नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२.१८ अंकले बढेर अन्तिम दिन १६३५.७५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११.०८ अंकले बढेर ३४७.४५ अंकमा आईपुगेको छ । त्यस्तै, बजारमा चार अर्ब ७३ करोड ८२ लाख ७६ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका छन् । कारोबार रकम गत साताको भन्दा १२.७२ प्रतिशत बढी हो । गत साता चार अर्ब २० करोड ३४ लाख ५२ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका थिए । यसैगरी बजारमा व्यापार समूह बाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६४१ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ८१, बैंकिङ ४०, विकास बैंक ४६ र उत्पादनमूलक समूहको परिसूचक ५८ अंकले उकालो लागेका छन् । यस साता कारोबार रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो अवधिमा यस कम्पनीको २८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

युरोपियन युनियनको कालोसूचिबाट हट्दै नेपाली बायुसेवा कम्पनी

काठमाडौं । युरोपियन युनियनको कालोसूचिबाट नेपाली बायुसेवा कम्पनीहरु हट्ने भएका छन् । अन्तर्राष्ट्रिय हवार्इ उड्ययन संस्था (आइकाओ) को टोलीले गरेको सेफ्टी अडिट नेपालका बायु सेवा कम्पनीहरुले आधारभुत स्तर पारे गरेपछि कालोसूचिबाट हटेका हुन् । आइकाओले कालोसूचिबाट हटाएपछि इयुले पनि हटाउने सम्भावना रहन्छ । इयुको कालोसूचीमा एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालयन एयरलाइन्स, मकालु एयर, मनाङ एयर, माउन्टेन हेलिकप्टर्स, मुक्तिनाथ एयर, नेपाल वायुसेवा निगम, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सीता एयर, तारा एयर र यती एयरलाइन्स थिए। इयुले नेपाल बाहेक अफगानिस्तान, कङ्गो, अंगोला, इन्डोनेसिया, लाइवेरिया, मोजाम्विक, सिरियालियोन, इरान, इराकका बायु सेवा कम्पनीलाई कालोसूचिमा राखेको छ ।

मुक्तिनाथ विकास बैंकको नाफा ४९ करोड ६३ लाख, खराब कर्जा शून्य नजिक

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आर्थिक २०७३/०७४ वर्षमा ४९ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.३० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको तुलनामा २०७३/०७४ वर्ष बैंकको निक्षेप र कर्जा लगानी दुबैमा वृद्धि भएको छ । सोही अवधिमा बैंकको निक्षेप ४८.७६ प्रतिशतले बृद्धि भई १६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ५४.६४ प्रतिशतले वृद्धि भई १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । बैंकका प्रति शेयर वार्षिक आम्दानी ३२.११ रुपैयाँ रहेको छ । साथै, सो अवधिमा बैंकको प्रति शेयर कुल सम्पत्तीको मूल्य १,२७८.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३०.२४ रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, बैंकले वार्षिक तरलता अनुपात २२.६७ प्रतिशत, प्रति सेयर नेटवर्थ १४९.८० रुपैयाँ र पूँजीकोष अनुपात १४.९६ प्रतिशत पुर्याएको छ । सो अवधिमा बैंकले न्यून खराब कर्जा ०.०२ प्रतिशत कायम गरेको छ, जुन गत आर्थिक वर्षको यही अवधिमा ०.०९ प्रतिशत रहेको थियो ।

नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले मौद्रीक नीतिको अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने

काठमाडौं । नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले हालै सार्वजनिक भएको मौद्रीक नीति २०७४/७५ को अन्तरक्रिया कायक्रमको आयोजना गर्न गईरहेको छ । काठमाडौंको होटल र्याडिसनमा हुन गइरहेको यस कार्यक्रममा मौद्रीक नीति संग सरोकार राख्ने एवम बैंकिङ्ग क्षेत्रका विज्ञहरु बाट प्रस्तुति हुने इन्टिच्यूटले जनाएको छ । यस अन्तरक्रिया कायक्रमा नरबहादुर थापा (कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक) बाट मौद्रीक नीतिको बारेमा प्रस्तुती हुने छ । त्यस पश्चात हुन गई रहेको प्यानल डिसकसनमा नेपाल राष्ट्र बैंकको एक्विक्विटिभ डाइरेक्टर नर बहादुर थापा, सानिमा बैंकको सिइओ भुवन कुमार दाहाल, डिबिएएनको भाइस प्रिसिडेन्ट गोबिन्द प्रसाद ढकाल र एनएफआईएको राष्ट्रपति सरोज काजी तुलाधर द्वारा आ-आफ्नो धारणाहरु राख्नुहुने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।