विकासन्युज

एनआईसी एशियाको नाफा १४७ करोड, कागज नछोई सेयर आवेदन गर्न र बैंक खाता खोल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा १०७ करोड रुपैयाँ नाफा गरेको यो बैंकले आर्थिक वर्ष २०७३/७४मा ३७ प्रतिशतले नाफा बढाएको छ । १९ वर्ष पुरा गरी २० वर्ष प्रवेश गरेको अवसरमा बैंकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै २०७४ असार मसान्तसम्ममा निक्षेप ८५ अर्ब संकलन भएको, कर्जा ७२ अर्ब लगानी भएको जानकारी दिएको छ । ‘बैकिङ क्षेत्रमा गत आर्थिक वर्ष तरलताको अभाव हुँदै पनि एनआईसी एशियाले निक्षेप २६ प्रतिशत वृद्धि गर्न र कर्जा २२ प्रतिशतले विस्तार भएको छ’ बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले भने । बैंकको खराव कर्जा घटेको, सम्पत्तिको क्वालिटी धेरै राम्रो भएको र बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ ‘इक्रा एनपीआईआर ए’ प्राप्त गरेको उनले बताए । एनआईसी एशियाले २०औं वर्षमा आक्रामक रुपमा बजार विस्तार गर्ने जनाएको छ । ‘चालु आर्थिक वर्षभित्रका बैंकको शाखा २०० वटा र एटीएम ३०० वटा सञ्चालनमा आउनेछन् । यस वर्ष निक्षेप ११५ अर्ब रुपैयाँ पुर्याउने र कर्जा ९५ अर्ब पुर्याउने लक्ष्य लिएको छौं’ प्रमुख कार्यकारी अधिकृत रिसालले भने । चालु आर्थिक वर्षभित्र जाजरकोटमा केन्द्रीय कार्यालय राख्ने गरी माइक्रोफाइनान्स खोल्न लागिएको उनले बताए । केही महिनाअघि मात्र यस बैंकले एनआईसी क्यापिटल सञ्चालनमा ल्याएको छ । ‘बैंकिङ बाहेक अर्थतन्त्रका अन्य क्षेत्रमा पनि योगदान गर्ने लक्ष्य बैंकले लिएको उनले बताए । बैंकले निकट भविष्यमा फूलफेजमा अनलाईनबाट आश्वा एकाउन्ट र डिपोजिट एकाउन्ट खोल्न सकिने गरी डिजिटल बैकिङ सेवा दिन लागेको उनले बताए । ‘आश्वाको एकाउण्ट खोल्ने र सेयर आवेदन गर्न कागज छुन नपर्ने गरी फूलफेज अनलाईन सेवा दिने अन्तिम तयारीमा छौं’ प्रमुख कार्यकारी अधिकृतले भने । १९ वर्षमा बैंकले सरकारलाई करिव ५ अर्ब रुपैयाँ राजश्व तिरेको र लगानीकर्तालाई ५ अर्ब ६० करोड लाभांश वितरण गरेको उनले जानकारी दिए ।

चुडामणि शर्माको मुद्दा यथास्थितीमा राख्न सर्वाेच्च अदालतको आदेश

काठमाडौँ । सर्वाेच्च अदालतले कर फछ्र्याेट आयोगका सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्माको मुद्दा यथास्थितीमा राख्न आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायधिश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले शर्मा विरुद्ध परेको भ्रष्टाचारको मुद्धालाई यथास्थितीमा राख्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मा, लुम्बध्वज महत र उमेश ढकाल विरुद्ध करिब ११ अर्ब भ्रष्टाचार गरेको ठहरसहित बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । आयोगले शर्मालाई पक्राउ गरेर हिरासतमा राखेपछि शर्माकी पत्नि कल्पना उप्रेती शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।

एनआईसी एशिया र एनआइबिएलले १५० करोडको इकाई निष्काशन गर्न मागे बोर्डको अनुमति

काठमाडौं । दुई क्यापिटलले १५० करोडको इकाई निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेका छन् । एनआईसी एशिया क्यापिटलले एक अर्ब र एनआइबिएल क्यापिटलले ५० करोडको गरी सो मात्राको इकाई निष्काशन गर्न अनुमति मागेका हुन् । एनआईसी एशिया क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्डको एक अर्ब रुपैयाँकोे इकाई निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत असार २५ गते नै १० करोड ईकाई निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको फण्ड म्यानेजरमा एनआईसी एशिया क्यापिटल रहेको छ । त्यस्तै, एनआईबिएल क्यापिटलले पनि एनआईबिएल सहभागिता फण्डको ५० करोड रुपैयाँकोे इकाई निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले गत असार २७ गते नै ५ करोड ईकाई निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको फण्ड म्यानेजरमा एनआईबिएल क्यापिटल रहेको छ ।

जेबिल्स फाइनान्सले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । जेबिल्स फाइनान्सले आफ्ना सेयरधनीहरुलाई शतप्रतिशत हकप्रद निष्कशन गर्न अनुमति पाएको छ । बुधबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार फाइनान्सले १०० अंकित दरको २८ लाख ८९ हजार ५६२ कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले २८ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडद्धारा निष्काशन गर्न लागेको छ ।

नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई ५० प्रतिशत(२ः१) हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । उक्त निर्णय साउन ४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई बीमा समितले अनुमति दिएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र कम्पनीले सो मात्राको सेयर निष्काशन गर्न पाउने छ ।

बजारमा एक अर्ब १८ करोडको सेयर कारोबार, सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको

काठमाडौं । बुधबारको सेयर बजारमा एक अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँ घटि हो । अघिल्लो दिन मंगलबार बजारमा एक अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार १५५ कम्पनीको १६ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको सेयर किनबेच भएका छन् । कम्पनीको ७ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार २७२ रुपैयाँ रहेको छ । त्यस्तै, नेको इन्स्योरेन्सको ७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १४७ रुपैयाँ रहेको छ । सो दिन अपी पावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यस दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.९६ प्रतिशतले बढेर ६१८ रुपैयाँ पुगेको छ । त्यसैगरी, बीमा र होटल समूहको परिसूचक हरिया भएका छन् भने बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । बीमा र होटल समूहको परिसूचक क्रमशः ५१ र १० अंकले बढेका छन् । अन्य बाँकी समूहको परिसूचक भने एकल(सामान्य) अंकले झरेका छन् । समग्रमा नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । परिसूचक अघिल्लो दिनको तुलनामा १ दशमलब १४ अंकले ओरालो लागेर १६३७ दशमलब २७ अंकमा झरेको छ ।

वीरगञ्ज भन्सारमा १०१ प्रतिशत राजश्व असुली, डिजेल र पेट्रोलमा मात्रै १० अर्ब

वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७३/७४ मा १०१ प्रतिशत राजश्व असुली गरेको छ । गत आवमा एक खर्ब सात अर्ब ११ करोड ३१ लाख ६३ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेकामा एक खर्ब आठ अर्ब १० करोड ७७ लाख ८७ हजार रुपैयाँ राजश्व उठाउन सफल भएको छ । कार्यालयले मुख्य रुपमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तः शुल्कतर्फ बढी राजश्व उठाएको कार्यालयका सूचना अधिकारी सन्तोष यादवले बताए। डिजेल र पेट्रोलमा कार्यालयले १० अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । सिमेन्टको कच्चापदार्थ क्लिङ्करमा तीन अर्ब ३८ करोड रुपैयाँ र एलपी ग्यासमा दुई अर्ब नौ करोड रुपैयाँ संकलन भएको छ । कार्यालयलाई करिब ४० प्रतिशत राजश्व भारतीय गाडीको निकासीबाट आउने गरेको छ । गत आवमा एक लाख १४ हजार थान मोटरसाइकल, आठ हजार थान कार, १७ हजार थान बस र ट्रक र एक हजार ६३३ थान ठूला ट्रक नेपाल भित्रिएका थिए । भन्सारले आव २०७१/७२ मा ९१ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकामा ९८ अर्ब रुपैयाँ संकलन गरेको थियो । आव २०७२/७३ मा ७१ अर्ब रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य लिएकामा ५५ अर्ब रुपैयाँ मात्र संकलन भएको थियो । रासस

१५ करोड उठाउन यसरी च्यात्दैछ काठमाडौं महानगरपालिकाले होर्डिङ बोर्ड(फोटोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिभिन्न क्षेत्रका होर्डिङ बोर्डहरु धमाधम हटाउन थालेको छ । महानगरपालिकाले बिशेष टोली नै खटाएर नियम विपरिद राखिएका र कर नतिर्ने होर्डिङ बोर्डहरु हटाउन थालेको हो । ‘अनधिकृत रुपमा राखिएका र कर समेत नतिरेका होर्डिङ बोर्डहरु हटाउन बिशेष टोली नै परिचालन गरेका छौंं’, काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने । महानगरपालिकाले यस्तो अभियान चलाएर विज्ञापन करको दायरा फराकिलो पार्ने र संकलन लक्ष्य पुरा गर्ने सोँच बनाएको हो । महानगरले गत आर्थिक बर्षमा विज्ञापन कर वापत ७ करोड ३२ लाख रुपैंयाँ संकलन गरेको थियो । चालु आवमा भने त्यसलाई बढाएर १५ करोड संकलन गर्ने लक्ष्य राखेका छ । महानगरपालिकाले विज्ञापन करमा व्यापक वृद्धि गरेको छ । महानगरको राजश्व महाशाखाका अधिकृत ध्रुब काफ्लेले भने विज्ञापन करको दर औषतमा २० देखि २५ प्रतिशतसम्म वृद्धि गरेको बताए । हालसम्म महानगरमा विज्ञापन करदाताका रुपमा १८३ वटा कम्पनी रहेका छन् । यसलाई बढाएर ३ सय पुर्याउने योजना रहेको काफ्लेले जानकारी दिए ।