विकासन्युज

२ नम्बर प्रदेश निर्वाचनमा पछाडि : इन्टरनेको प्राथमिकतामा अगाडि, तराइका ८ जिल्लामा निःशुल्क इन्टरनेट पुर्याँइदै

काठमाडौं । २ नम्बर प्रदेश चुनावमा सबैभन्दा पछाडि परेको भएपनि सरकारले निःशुलक इन्टरनेट पुर्याउने प्राथमिकतामा भने कर्णालीपछिको प्रथामितकामा परेको छ । २ नम्बरप्रदेशबाट यस्तो सेवा दिन तराइका आठ जिल्लामा रहेका सार्वजनिक स्थलमा निःशुल्क ब्रोडव्याण्डइन्टरनेट पुर्याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । संघीय संरचना अनुसार २ नम्बर प्रदेशमा पर्ने सप्तरी, सिराहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा प्राधिकरणले ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्न लागेको हो । यसरी विस्तार गरिने इन्टरनेट सबै जिल्लामा निःशुल्क उपलव्ध हुने प्राधिकरणले जानकारी दिएको छ । देशैभर ब्रोडव्याण्ड इन्टरनेट पुर्याउने सरकारी नीति अनुसार कामको गति बढाएको पनि उल्लेख छ । तराईका ८ जिल्लालाई २ प्याकेजमा यस्तो इन्टरनेट सेवा दिन लागेको पनि उल्लेख छ । गोरखापत्र दैनिकबाट ।

२२ जिल्लामा माओवादी शून्य, नयाँ शक्तिका कारण २० भन्दा धेरै तह गुमे

काठमाडौं ।  पहिलो र दोस्रो चरण गरी अहिलेसम्म ६७ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदा माओवादीले २२ जिल्लामा एउटा पनि तहको प्रमुख जितेन । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये सात जिल्लामा शून्य भएको छ । जसमा झापा, सुनसरी, इलाम, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा छन् । प्रदेश नम्बर ३ का १३ जिल्लामध्ये चार जिल्लामा शून्य भएको छ । जसमा काठमाडौ, भक्तपुर, रसुवा, दोलखामा शून्य भएको छ । प्रदेश नम्बर ४ का ११ जिल्लामध्ये पाँच जिल्लामा माओवादी शूून्य भएको छ । जसमा कास्की, स्याङ्जा, म्याग्दी, मनाङ र मुस्ताङ छन् । प्रदेश नम्बर ५ का १२ जिल्लामध्ये २ जिल्लामा शून्य भएको छ जसमा पाल्पा र कपिलवस्तु छन् । प्रदेश नम्बर ६ का १० जिल्लामध्ये २ जिल्लामा शून्य भएको छ जसमा मुगु र सुर्खेत छन् । प्रदेश नम्बर ७ का ९ जिल्लामध्ये बझाङ र बाजुरामा माओवादी शून्य भएको छ । नयाँ शक्तिका कारण २० भन्दा धेरै तह गुमे माओवादीबाट अलग भएका बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका कारण माओवादीले २० भन्दा धेरै स्थानीय तह गुमाउनुपरेको विश्लेषण गरेको छ । गोरखा, रसुवा, धादिङ, धनकुटा, ताप्लेजुङलगायतका जिल्लामा २० भन्दा धेरै तह गुमाउनुपरेका आन्तरिक रिपोर्टिङ छ । माओवादी र नयाँ शक्तिबीच तीव्र प्रतिस्र्धा हुँदा गोरखाका थप सात तह कांग्रेसले जितेको छ । गोरखाका पालुङटार र गोरखा नगरपालिका तथा अजिरकोट, धार्चे, गण्डकी, सिरानचोक र भीमसेन गाउँपालिका कांग्रेसले जितेको माओवादी भनाइ छ । त्यसो त कांग्रेसले गोरखाकै आरुघाट र चुमनुब्री पनि जितेको छ । माओवादीले सहिद लखन थापा र सुलिकोट गाउँपालिका मात्रै जितेको छ । नयाँ पत्रिका दैनिकबाट । राजपासँग चुनावको प्रतिबद्धता माग सत्तापक्षले स्थानीय तह निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाउन गरेको आग्रहलाई राजपाले अस्वीकार गरेको छ । तीन दलको बैठकपछि साँझ भएको छलफलमा सत्तापक्षले राजपासँग चुनावमा भाग लिने प्रतिबद्धता माग गरेको थियो । ‘सत्तापक्षले त्यो त भनिरहन्छ नि,’ राजपाका नेता राजेन्द्र महतोले भने, ‘संविधान संशोधन र मधेस आन्दोलनसँग जोडिएका अन्य विषयमा सरकार कसरी जान्छ भन्ने हेरेर मात्र चुनावबारे कुरा गर्छौ।’ संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशमा चुनाव गर्नुपर्ने राजपाको अडान कायम रहेको उल्लेख गर्दै महतोले भने, ‘संशोधनका लागि सरकार र राजपाले अन्य दलसँग पनि छलफल र वार्ता जारी राख्ने समझदारी बनेको छ । सरकारले पनि प्रयास गर्छ, हामी पनि गर्छौं।’ बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेको सहयोगविना संशोधन पारित गर्न दुईतिहाइ नपुग्ने र एमालेले प्रतिनिधिसभाको निर्वाचनपछि मात्र संशोधन विधेयक अघि बढाउनुपर्ने अडान राखेकोबारे राजपाका नेतालाई जानकारी गराएका थिए। ‘एमालेविनाको प्रक्रियामा भाग लिन्नौं संसद्को चौथो ठूलो दल राप्रपाले संविधान संशोधन विधेयकको पक्षमा आफू रहे पनि प्रमुख विपक्षी एमालेको असहमतिविना सरकारले संशोधन अघि बढाउन खोजे त्यसलाई समर्थन नगर्ने वचन एमालेलाई दिएको छ । एमाले संसदीय दलका कार्यालय सिंहदरबारमा भएको छलफलमा राप्रपा अध्यक्ष कमल थापाले राजपालाई चुनावमा ल्याउन संविधान संशोधन विधेयकका पक्षमा आफ्नो दल रहे पनि एमालेको सहमतिविना अघि नबढ्ने वचन दिएका थिए। ‘प्रदेशको सीमांकन हेरफेर गर्ने कुरा संशोधन विधेयकबाट हटाइएकाले राप्रपा संशोधनको पक्षमा छ,’ एमाले अध्यक्ष ओलीसँगको छलफलमा राप्रपा अध्यक्ष थापाले भनेका थिए, ‘स्थानीय तहको निर्वाचनबाट एमाले हिजोभन्दा पनि महत्वपूर्ण ठाउँमा आइपुगेको छ । एमालेलाई साथमा नलिई सत्तापक्ष अघि बढ्नु हुँदैन भन्नेमा हामी दृढ छौं ।’ दाहालका तीन विकल्प –  सत्तापक्ष, विपक्ष र राजपा बसेर संशोधन प्रस्ताव तयार पार्ने र प्याकेज बनाई पारित गर्ने – संसद्मा रहेको संशोधन प्रस्ताव अघि बढाई पासरफेल जे भए पनि परिणाम स्वीकार गरी अघि बढ्ने – संशोधन प्रदेश र केन्द्रको चुनावपछि मात्र अघि बढाउने, राजपाका अन्य माग पूरा गर्ने

कहाँ गयो बैंक लुटेको अर्बौं रकम ? द्धन्द्धकालिन समयदेखिकै हिसाव अपारदर्शी

काठमाडौं । एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो । कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो । त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अरबौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ । तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ? यो कुराको स्पष्ट जवाफ भने कतैबाटपाउन सकिँदेन । तर त्यतिबेलाको युद्धमा संलग्नमध्ये कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन् । उनीहरु अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँछन् । नेपाल समाचारपत्र दैनिकबाट ।

बाँदर धपाउन १० लाख बजेट, गाउँपालीकाको प्राथमिकतामै वाँदर नियन्त्रण

पोखरा । बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार त नौलो हुन छाड्यो। यसअघिका स्थानीय निकायमा पेश हुने योजनामा बाँदर नियन्त्रण पनि हुन्थ्यो। भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम बजेट बिनियोजन गरिरहेका बेला रूपा गाउँपालिकाले भने आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापनका लागि भन्दै बजेट छुट्याएको छ। गाउँपालिकावासीको मुख्य पेशा कृषि रहेको र पछिल्लो समय बाँदरको बिगबिगी बढेको भन्दै मंगलबार सम्पन्न पहिलो गाउँसभाले बाँदर धपाउन १० लाख रुपैयाँ बजेट छुट्याएको हो। ‘बाँदरबाट सातवटै वडा नराम्रोसँग प्रभावित छन्’, अध्यक्ष नवराज ओझाले भने, ‘पीडित किसानको माग अनुसार बजेट व्यवस्था गरेका हौं।’ ओझाका अनुसार गाउँपालिकाभित्रका बाँदर समातेर राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्रमा लैजाने योजनामा बजेट बिनियोजन गरिएको हो। यसका लागि भारताबाट प्राविधिक झिकाउने गाउँपालिकाको तयारी छ। स्थानीयको मुख्य पेशा नै कृषि भएकाले यसको व्यावसायीकरण रहेको तर बर्सेनि बाँदरले कृषि उपज नष्ट गर्ने गरेकाले त्यसलाई रोक्न लागिएको हो। ‘गाउँपालिकाबाट सबै बाँदर प्रतिस्थापन गर्ने योजना हो’, अध्यक्ष ओझाले भने,‘सहजै बाँदर समाउने प्राविधक भारतबाट झिकाउन लागेका छौं। कान्तिपुर दैनिकबाट ।

दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा, विदेश घुमेरै एक अर्ब स्वाहा

काठमाडौं । पछिल्लो दुई महिनासम्म सरकारका १ हजार ४ सय कर्मचारीले विदेश भ्रमणमा गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्। यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाव मात्र हो। ती कमर्चरीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर, अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन्। ‘यस अवधिमा कर्मचारीहरू अन्टार्टिकाबाहेक सबै महादेशमा पुगेका छन्, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने। विदेश भ्रमणमा सबैभन्दा बढी ११४ जना अर्थ मन्त्रालयका कर्मचारी गएका छन् । परराष्ट मन्त्रालयका ९२ जनाले विदेश भ्रमण गरेको छन भने कृषि मन्त्रालयका ८६ जना कर्मचारी गएको तथ्यांकले देखाएको छ । नागरिक दैनिकबाट ।

देशैभर जग्गा कारोबारमा मन्दी, तरलता अभावको असर देखियो घरजग्गामा

काठमाडौं । तरलता अभावका कारण बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा कडाइ गरेपछि यो व्यवसाय प्रभावित भएको छ। बैङ्कहरूले लगानीयोग्य रकम (तरलता)को अभावमा कर्जा प्रवाहमा कटौती गरेपछि देशैभर घरजग्गा कारोबारमा पुसदेखि कमी आएको हो। उपत्यकाका मालपोत कार्यालयको राजस्व सङ्कलन मङ्सिरको तुलनामा पुसमा ९ करोड रुपैयाँ घटेको थियो । पुसभन्दा माघमा थप ७ करोड रुपैयाँ घटेको छ। त्यस्तै, फागुनमा घट्ने क्रम तीव्र बन्दै माघको तुलनामा १५ करोड रुपैयाँले कमी आएको छ । चैत महीनामा फागुनको तुलनामा ४ करोड रुपैयाँ बढेको छ भने वैशाखमा चैतको तुलनामा २३ करोड रुपैयाँले कमी आएको छ । जेठ महीनाको राजस्व सङ्कलन भने वैशाखको तुलनामा ११ करोड रुपैयाँले बढेको छ । समग्रमा हेर्ने हो भने पुसपछि उपत्यकाका मालपोत कार्यालयको राजस्व सङ्कलन ओरालो लागेको देखिएको छ। गत आर्थिक वर्ष (आव) २०७२—७३ को ११ महिनाको तुलनामा चालू आवको ११ महिनामा ८ करोड रुपैयाँले राजस्वमा कमी आएको छ । बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा कडाइ गरेकाले जग्गा खरीद विक्रीमा कमी आएको भूमिसुधार तथा व्यवस्थापन विभागका निर्देशक सुशीलप्रसाद आचार्य बताँउछन् । उनको भनाइसँग घरजग्गा एजेण्ट सङ्घ नेपाल (रियान)का केन्द्रीय अध्यक्ष ईश्वरप्रसाद खरेल पनि सहमत छन्। चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकाका चारओटा मालपोत कार्यालयले जग्गाको मूल्याङ्कन २० प्रतिशतसम्म बढाउँदा पनि गत आवको तुलनामा रजिष्ट्रेशन दस्तुर घटेको छ । उपत्यकामा चक्रपथबाहिरका जग्गाको कारोबार गर्ने साँखु, मनमैजु, भक्तपुर र लगनखेल मालपोत कार्यालयले १० देखि २० प्रतिशतसम्म मूल्याङ्कन बढाएका छन् । चक्रपथसँग जोडिएका र चक्रपथभित्र भएका जग्गाको मूल्याङ्कन भने यथावत् छ । कलङ्की, चाबहिल र डिल्लीबजार मालपोत कार्यलयले गत आवकै मूल्याङ्कनलाई निरन्तरता दिएका छन्। राजधानीका मालपोत कार्यालयमध्ये सबैभन्दा धेरै कारोबार गर्ने डिल्लीबजारमा चैत महीनाकोे तुलनामा वैशाखमा झण्डै ९ करोड रुपैयाँ राजस्व घटेको थियो। वैशाखको तुलनामा जेठमा भने ७ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । डिल्लीबजारजस्तै मनमैजुको पनि वैशाखको तुलनामा जेठमा १ करोड रुपैयाँ राजस्व बढेको छ । मालपोत कार्यालय साँखुले वैशाखको तुलनामा जेठमा ९४ लाख रुपैयाँ बढी राजस्व उठाएको छ । त्यस्तै, मालपोत कार्यालय टोखाले वैशाखको तुलनामा ४ लाख रुपैया कम राजस्व उठाएको छ । चैतको तुलनामा जेठमा भने टोखाबाहेकका उपत्यकाका सबै मालपोत कार्यालयबाट कम राजस्व सङ्कलन भएको छ। बैङ्क तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको १० महिना अवधिमा घरजग्गा क्षेत्रमा २ खर्ब ९३ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका छन् । असारसम्ममा घरजग्गा क्षेत्रमा २ खर्ब ५० अर्ब ९० करोड रुपैयाँ लगानी भएको थियो । यसमा १ करोडभन्दा कमको आवासीय कर्जासमेत समावेश गरिएको राष्ट्र बैङ्कले जानकारी दिएको छ। अभियान दैनिकबाट ।

बजेट सक्न सरकारी अधिकारीको विदेश भ्रमणमा लर्को, शिक्षाका मात्रै १९ उच्च अधिकारीले सके ८० लाखले बजेट

काठमाडौं । आर्थिक बर्षको अन्त्यमा दाताको ऋण, अनुदान र राज्यकोषबाट करौडौं खर्चदै विभिन्न मन्त्रालयका सयौँ उच्च अधिकारी विदेश सयर गरिरहेका छन् । विपन्नको हितमा खर्चनुपर्ने रकम दुरपयोग गर्दै कतिपय अधिकारी अहिले विदेशमा घुमफिर गरिरहेका छन् भने कति फर्किईसकेका छन् । कतिपय जाने तयारीमै छन् । बेरोजगार युवालाई सीपमुलक तालिम प्रदन गरी स्वारोजगार तथा उद्यमी बनाउन एसियाली विकास बैंक एडीव ले दिएको अनुदानको ८० लाख रुपैयाँभन्दा बढी खर्चेर शिक्षा मन्त्रालयले उच्च अधिकारीहरुलाई हङकङ र अस्टेलिया भ्रमणमा पठाईदैछ । कान्तिपुर दैनिकबाट ।

भारतको चर्चित कफी ब्रान्ड क्याफे कफी डे नेपालमा

काठमाडौं । कफीको पारखीहरुका लागि भारतको चर्चित ब्रान्ड क्याफे कफी डे ले नेपालमा आफ्नो पहिलो शाखा जावलाखेलमा सुरुवात गरेको छ । बिषेश कार्यक्रमका बीच मंगलबार भारतिय राजदुत मन्जित सिहं पुरीको प्रमुख आतिथ्यता तथा मिस नेपाल नितिका चन्डकले क्याफे कफी डेकोे नेपालको संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै भारतिय राजदुत पुरीले भारतको चर्चित ब्रान्ड क्याफे कफी नेपालमा शाखा बिस्तार भएकोमा खुशी व्यक्त गरेका छन् । साथै, उनले कफीको पारखीहरुको रुचिमा उत्कृष्ट टेवा पुग्नेमा आफु विश्वस्त रहेको जानकारी गराएका छन् । क्याफे कफी डे लाई नेपालमा स्ताभ्य हस्पटालिटीले भित्र्याएको छ भने भबिष्यमा देशै भरि क्याफे कफी डे शाखाहरुको बिस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी गराएका छन् ।