विकासन्युज

आम्दानीको ५ प्रतिशत भन्दा कममा इन्टरनेट पाइने, डेढ वर्षपछि ३७७ रुपैयाँमै इन्टरनेट

काठमाडौ । इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा ३ सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ। सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था गरेको छ। यो व्यवस्था अनुसार हाल इन्टरनेट सेवा प्रदायकहरूले करिब १ हजार वा त्यसभन्दा बढी शुल्क लिएर प्रवाह गरिरहेको यो सेवालाई ३७७ रूपैयाँमा झार्नुपर्नेछ। यो व्यवस्था अुनसार इन्टनरेट सेवाप्रदायकले हाल एक हजार रुपैयाँमा प्रदान गरिएको शुल्क नेपालीको बार्षिक राष्टिय आयको ५ प्रतिशत भन्दा कम हुनुपर्ने छ । अन्नपूर्ण पोस्टबाट ।

गैर बैंकिङ च्यानलबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउन जोड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष तथा नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले भारत नेपाल रेमिट्यान्सका अवसरहरु विषयक कार्यक्रमलाई आइतबार भारतको नयाँ दिल्लीमा सम्बोधन गरेका छन् । भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ढकालले गैर बैंकिङ च्यानलबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउने कार्यमा सरोकारवाला सबै लाग्नुपर्नेे बताए । कार्यक्रममा बोल्दै ढकालले रेमिट्यान्स कम्पनीहरुको सक्रिय प्रयासपछि डेड दशक अगाडिको तुलनामा अहिले निकै सुधार आएको बताए । तर जनचेतनाको अभावले गर्दा भारतमा रहेका नेपालीहरुले अझै पनि अनौपचारिक माध्यममार्फत भारतबाट नेपालमा पैसा पठाउने गरेको बताए । भारतका बिभिन्न बैंक तथा रेमिट्यान्स कम्पनीहरुसँग मिलेर ग्लोबल आइएमई बैंकले रेमिट्यान्स नेपाल पठाईरहेको जानकारी गराउँदै बैकिंङ् च्यानलमार्फत भारतबाट नेपालमा पैसा पठाउन औपचारिक माध्यमको प्रयोगलाई सम्बद्ध सबैले प्रबद्र्धन गर्नुपर्ने आवस्यकतालाई औँल्याएका छन् । उक्त कार्यक्रमलाई भारतकालागि नेपालका राजदूतदीपकुमार उपाध्याय, नेपालका लागि भारतका पूर्वराजदूतहरु रञ्जित रे तथा के. भी. राजनले सम्बोधन गर्दै भारत नेपाल रेमिट्यान्समा बैकिंङ च्यानलको महत्व माथि प्रकाश पारेका छन् । उक्त कार्यक्रममा भारतका विभिन्न बैंकका प्रतिनिधि तथा भारतमा कार्यरत नेपालीहरुको उपस्थिती रहेको थियो ।

पशुपक्षी बिमाका लागि अनुदान रकम सात करोडले वृद्धि

काठमाडौं । पशुपक्षी विकास मन्त्रालयले कृषकको आकर्षण बढेपछि पशुपक्षीको बिमाका लागि अनुदानबापतको रकम आगामी आव २०७४/०७५ का लागि २५ करोड रुपैयाँ पुर्याएको छ । सोही शीर्षकमा मन्त्रालयले चालु आवमा १८ करोड रुपैयाँ विनियोजन गरेकामा देशभर त्यसको सकारात्मक प्रभाव परेका कारण आगामी आवका लागि रु सात करोडले रकम थप गरिएको मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले जानकारी दिए । आव २०७२/०७३ मा कृषकलाई पशुपक्षीको बिमामा सहुलियत दिन रु आठ करोड मात्र विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा व्यावसायिक रुपमा पशुपक्षी पालन गर्ने किसानको व्यवसायमा जोखिम घटाउने उद्देश्यले विसं २०६८ मा पशुपक्षीको बिमाको अवधारणा ल्याइएको थियो । सो अनुसार उक्त परियोजनामा सर्वसाधारण नागरिक तथा कृषकको चेतना तथा आकर्षण वृद्धि भएकाले पनि बिमा गर्नेको सङ्ख्या बढेको छ । बिमामा सर्वसाधारण नागरिकबाट पशुपक्षीको मूल्याङ्कन गराई वर्षमा एकपटक निश्चित रकम तिर्नुपर्ने हुन्छ । विभिन्न बिमा कम्पनीसँग समन्वय गरी तिरिएको रकमबाट निश्चित समयावधिभित्र पशुपक्षी मरेमा सम्बन्धित कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउनेछ । बिमा प्रिमियम रकमको २५ प्रतिशत पशुपक्षी धनीले तथा ७५ प्रतिशत सरकारले विनियोजन गरेको बिमा रकममध्येबाट प्रिमियम बुझाउने व्यवस्था गरिएको छ । देशका विभिन्न २१ वटा निजी क्षेत्रका बिमा कम्पनीले यस कार्यका लागि जनतालाई बिमा सेवा उपलव्ध गराउने जिम्मा लिएका छन् । रासस

एनआईसी एशिया बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंकद्वारा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार धरान स्थित वि.पि. कोईराला विज्ञान स्वास्थ्य प्रतिष्ठानको परिसरमा ९५० थान बिरुवाको वृक्षारोपण गरेको छ । बैंक र प्रतिष्ठान बिच भएको सम्झौता अनुरुप बैंकले प्रतिष्ठानको परिसरमा प्रतिष्ठानका पदाधिकारीहरु लगायत धरान स्थित उक्त कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संघ संस्थाको सहकार्यमा वृक्षारोपण गरिरहेको छ । यसै क्रममा बैंकले यहि आर्थिक वर्ष २०७३/७४ भित्र ७००० विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढीरहेको छ । यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुग्ने विश्वास लिएको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

चितवन मेडिकल कलेजमा कार्यारत कर्मचारी आन्दोलित

काठमाडौं । चितवन मेडिकल कलेजमा कार्यारत १ सय १९ कर्मचारी मध्ये ६७ जना कर्मचारीहरु आन्दोलित भएका छन् । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मुल ईकाई कमिटीकी अध्यक्ष सरस्वती ढकालले २०६६ सालमा तत्कालिन आन्दोलनरत पक्ष र अस्पताल प्रशासनबीच भएको बिगतमा भएको १४ बुँदे सहमती र श्रम कार्यलय हेटौंडाबाट भएको सहमतीको पालना गर्न अस्पताल प्रशासन सहमत नभएको आरोप लगाएका छन् । मजदुर कर्मचारी र अस्पताल प्रशासनबीच २०६४ सालदेखी आफ्ना विभिन्न सेवा सुबिधाको माग गर्दै गरेको आन्दोलनले अझै सार्थकता नपाएको भन्दै भरतपुरमा पत्रकार सम्मेलन गर्दै विगतमा भएका सहमतीहरुको अक्षरस पालना गर्न माग गरिएको छ । साथै , उनले आफुहरुको मागप्रती अस्पताल प्रशासन दत्तचित्त भई नलागे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । यता, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ एवंम जिल्ला कमिटीका सचिव इन्द्र लम्सालले कर्मचारीहरुको आन्दोलन तथा मागका विषयमा श्रम अदालत हेंटौडाले गत बैशाख ७ गते अस्पतालमा कार्यरत २ सय ४० दिन काटेका मजदुर कर्मचारीहरुलाई स्थायी गर्न आदेश दिएपनि अस्पताल प्रशासनले अदालतको कदर नगरी कार्यान्वयन गर्नमा हिच्किचाएको आरोप लगाएका छन् । अस्पतालका प्रबन्ध निर्देशक डाक्टर हरिशचन्द्र न्यौपानेले मजदुर कर्मचारीका माग सहमतिमा ल्याइ सम्बोधन गर्नुको सट्टा अस्पतालमा ६७ जना कर्मचारीहरु नै नरहेको र मेडिकल कलेजमा कार्यरत नरहेको भन्ने ब्यहोराका चिठ्ठी जिल्ला प्रशासन कार्यलय चितवन र श्रम अदालत हेटौडामा मुद्धा दायर गरेकाले सहमति हुन नसकेको आरोप कर्मचारीहरुको रहेको छ । चितवन मेडिकल कलेजले थप तीन वटा अत्याधुनिक मेसिन सहित मृगौलाको डाईलेसिस् सेवा सुरु गरेको छ । बिरामीहरुको चापलाई मध्ययनजर गर्दै मेसिन थप गरिएको अस्पतालका वरिष्ठ मृगौला रोग बिशेषज्ञ डा. अरुण सेढाईले जानकारी दिए । उनले चितवनमा मृर्गौला परीक्षण गर्ने र सफा गर्ने बिरामीको चापको अनुपातमा मेसिन र दक्ष जनशक्तिको अभाब भईरहेको समयमा अस्पतालले यो सेवालाई छिटो छरितो बनाउनका लागि उच्च प्रबिधिको मेसिन ल्याएर काम गरेको बताए । यस अस्पतालले हाल सम्म २ सय १५ जनाको डाईलेसिस् गरिसकेको बताउँदै अस्पताल प्रशासनका अप्रेशन इन्चार्ज पारस अधिकारी भन्छन्, ‘एउटा मेसिनले एक जनाको मृर्गौला सफा गर्नका लागि यसअधि चार घण्टा लाग्ने गरेको र दिनमा चार जनाको मात्र परीक्षण गर्न सकिन्थ्यो तर अहिले थप तीनवटा मेसिन भित्राएपछि दैनिक ३२ जना लाई सेवा दिन सक्ने गरी क्षमता बिस्तार गरेका छौँ ।’ सरकारले आजिवन निःशुल्क घोषणा गरेको मुटुको रोग, क्यान्सर, स्पाईनल ईन्जुरी, हेडईन्जुरी, अल्जाईमर, आमा सुरक्षा, पाठेघरको अप्रेसन जस्ता रोगमा जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारीस लिएर आउने सबै बिरामीहरुलाई निःशुल्क सेवा समेत दिँदै आएको छ ।

दराज केमु मोबाइल सप्ताह असार १९ गतेदेखि शुरु, मोबाइल खरिदमा ५० प्रतिशत छुट

काठमाडौं । दराज केमु प्रालिले आफ्नो अनलाइन प्लेटफर्ममा मोबाइल सप्ताह २०१७ सञ्चालन गर्ने भएको छ । नेपाल सहित दक्षिण एशियाली मुलुकहरु पाकिस्तान, बंगलादेश, श्रीलंका तथा म्यानमारमा विगत तीन वर्षदेखि अनलाइन प्लेटफर्ममार्फत विभिन्न समग्रीको अधिक व्यापार गर्दै आएको दराज केमु प्रा.लि.ले आफ्नो मोबाइल सप्ताह सञ्चालन गर्न लागेको हो । असार १९ देखि २३ गतेसम्म तदनुसार जुलाई ३ देखि ७ तारिखसम्म केमुडटकम डटएनपीमा मोबाइल सप्ताह आयोजना हुने भएको छ । पाँच दिनसम्म केमुडटकम डटएनपीमा चल्ने अनलाइन मोबाइल सप्ताहमा अहिलेको बजार मुल्य भन्दा धेरै सस्तो मूल्यमा मोबाइल खरिद गर्न सकिने छ । सप्ताह अवधिभर अनलाइन स्टोरमा नेपालमा अधिक प्रयोगमा रहेका सबै ब्राण्डका मोबाइलहरु ५० प्रतिशतसम्म छुटमा किन्न पाइन्छ । यसका अलावा केमु डटकमडटएनपी बाट मोबाइल सप्ताह अवधिमा विभिन्न ब्राण्डका मोबाइल खरिद गर्ने ग्राहलाई आकर्षक उपहार पनि प्रदान गरिनेछ । उक्त अवधिमा मोबाइल खरिद गर्ने ग्राहकलाई थप नगद छुट साथै मोबाइल डाटा पनि निशुल्क उपलब्ध गराइने दराज केमुका प्रबन्ध निर्देशक राजिव अमात्यले बताए । सन् २०१६ मा ब्ल्याक फ्राइडे नामक अनलाइन शपिंग इभेण्टको अपार सफलता पछि दराज केमुले मोबाइल सप्ताह २०१७ आयोजना गरेको हो । उक्त मोबाइल सप्ताहमा सामसुंग, वान प्लस, माइक्रोम्याक्स, एप्पल, हुवावे, नोकिया, जोप्पो, ओप्पे लगायत अन्य धेरै ब्राण्डका मोबाइलहरु सहज रुपमा सुपथ मूल्यमा अनलाइन प्लेटफर्मबाट किन्न सकिनेछ । यसका साथै मोबाइलका अन्य उपकरणहरु इयरफोन, ब्लुटुथ, साउण्ड सिष्टम, पावर बैंक लगायतका सामग्री पनि मोबाइल सप्ताहको आकर्षण्का रुपमा रहने छन् । यस अघि आयोजना भएको व्ल्याक फ्राइडे इभेण्टमा केमु डटकम डटएनपीमा लाखौंको संख्यामा अनलाइन भिजिट आएको थियो । यसैको सफलताले आगामी दिनमा पनि अनलाइन प्लेटफर्ममा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्न आफुहरु उत्साहित भएको प्रबन्ध निर्देशक अमात्यले बताए । मोबाइल सप्ताह अवधिमा केमु डटकमडटएनपी भिजिट गरि आफुलाई आवश्यक पर्ने कुनै पनि मोबाइल तथा अन्य सामग्री सुपथ मूल्य खरिद गर्न सकिने छ । केमु अनलाइन स्टोरका सेवाग्राहीहरुको मायाले नै आजको सफलता प्रप्त गरेको हो । आगामी दिनमा पनि अनलाइन प्लेटफर्मका सेवाग्राहीको उक्त माया पाइरहने अपेक्षा लिइएको छ ।

सार्वजनिक गाडीमा एनटी बस इन्टरनेट सेवा सञ्चालन हुने, टेलिकम र साइबरनेटिक्सबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा बस लगायतका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा सञ्चालन हुने भएको छ । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकुन भन्ने उद्देश्यले टेलिकम र साइबरनेटीक्स प्रा.लि.का बीच एनटी बस इन्टरनेट सञ्चालन सम्बन्धमा केही दिन अघि सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्याय र साइबरनेटीक्स प्रा.लि. को तर्फबाट अध्यक्ष जेम्स न्याछ्योँले हस्ताक्षर गरेका थिए । एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ कार्यक्रममा कम्पनीका कर्पोरेट तथा व्यावसायिक रणनीति विभागका प्रबन्धक प्रतिभा वैद्यले यस सहकार्यबाट लामो तथा छोटो दुरीका वस यात्रुहरुले यात्राका क्रममा वाइफाइ मार्फत निःशुल्क इन्टरनेट, भिडियोलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने बताए । उक्त अवसरमा साइबरनेटीक्स प्रा.लि. का अध्यक्ष जेम्स न्याछ्योँले एनटी बस इन्टरनेट सेवा सम्बन्धी विस्तृत जानकारी गराएका थिए । एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिने छ । यो डब्लुसिडीएमए वा सिडीएमए प्रविधिबाट सञ्चालन हुने भएकोले नेपाल टेलिकमको सिडिएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि यो सेवा लिन सकिन्छ । यसका लागि बस कम्पनीहरुले साइवरनेटीक्स प्रा. ली. सँग सम्पर्क गरी सो सुविधा प्राप्त गर्नुपर्छ । एनटी बस इन्टरनेट सेवाबाट कुनै पनि सवारी साधनहरु जस्तै: बस, माइक्रोबस, कार आदिमा यात्रा गर्दा सरल र सुलभ तरिकाले इन्टरनेट चलाउन सकिन्छ । एनटी बस इन्टरनेट सेवाबाट यात्रुहरुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेट आदिमा वाइफाइ कनेक्ट गरी इन्टरनेट चलाउन सकिनेछ । एनटी बस इन्टरनेट डिभाइसको आफ्नै इन्टरनल स्टोरेज हुने भएकोले अफलाइनमा पनि फिल्म, भिडियो, गीतहरु सुन्न र हेर्नुको साथसाथै गेमहरु एवं एप्सहरु पनि निःशुल्क डाउनलोड गर्न सकिन्छ । साथै आफ्नो सवारी साधन कहाँ छ, सोको जानकारी जिपिएस प्रविधि मार्फत कुनै पनि क्षण कार्यालयबाट नै पत्ता लगाउन सकिनेछ । यो सेवा शुरु गर्ने सवारी साधनलाई एकपटकको लागि निःशुल्क रिम कार्ड सहित १० जिबी डाटा नेपाल टेलिकमले उपलब्ध गराउने छ ।

कृषि फार्मबाट मासिक डेढ लाख आम्दानी

पोखरा । कास्कीको पोखरा-लेखनाथ महानगरपालिका वडा नं ११ काहुँडाँडामा सञ्चालित काहुँ देउराली एकीकृत कृषि फार्मले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ । काहुँ देउराली बहुउद्देश्यीय सहकारी संस्थाद्वारा दुई वर्षदेखि सञ्चालन भएको सो फार्ममा हाल ११३ वटा सानाठूला भैँसी रहेको संस्थाका प्रबन्धक दीपक प्रकाश आचार्यले बताए । पाँचसय साठी सेयर सदस्य रहेको सो संस्थाको पुँजी तीन करोड रुपैयाँ र बचत ११ करोड रुपैयाँ पुगेको छ । सो फार्ममा पालिएका भैँसीबाट ३१५ लिटर र संस्थाभन्दा बाहिरका कृषकबाट दैनिक ७०० देखि एक हजार लिटर दूध सङ्कलन गरेर पोखराको नगर क्षेत्रमा दूध बिक्री वितरण हुँदै आएको छ । कृषि फार्म सञ्चालनका लागि बृहत् भैँसी स्रोत केन्द्रबाट रु ४३ लाख ७५ हजार अनुदान प्राप्त भएकामा सो संस्थाले एक करोड ६० लाख रुपैयाँ लगानी गरेको केन्द्रका प्रबन्धक आचार्यले जानकारी दिए । मेहनत र परिश्रम गरे स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने एक उदाहरणीय सन्देश दिन कृषि फार्म खोलेको प्रबन्धक आचार्यको भनाइ छ । रासस