विकासन्युज

नेपालका ४० प्रधानमन्त्रीहरूको इतिहास , भीमसेन थापादेखि शेरबहादुर देउवासम्म

काठमाडौं । ‘बाह्र वर्षपछि खोलो फर्कन्छ’ भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ । अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः नेपालको ४० औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका छन् । नेपालको इतिहासमा प्रथम (प्रधानमन्त्री) मुख्तियार प्राप्त गर्ने व्यक्ति भीमसेन थापा हुनुहुन्थ्यो । विसं १८६३ देखि १८९४ सम्म (झन्डै एकतीस वर्ष) मुख्तियार भई शासनसत्ता सञ्चालन गरेका थापा राष्ट्रिय विभूतिसमेत हुन् । त्यसैगरी रणजङ्ग पाण्डे (१८९६–१८९०), पुष्कर शाह(१८९५–१८९६), पण्डित रङ्गनाथ पौड्याल (१८९४–१८९५) नेपालमा (प्रधानमन्त्री) मुख्तियार भई शासन व्यवस्था सञ्चालन गर्ने व्यक्ति हन् । तत्कालिन अवस्थामा राजा राजेन्द्र, रानी लक्ष्मीदेवी र राजकुमार सुरेन्द्रले आ–आफ्नै ढङ्गबाट शासन सञ्चालन गरेपश्चात दरबारमा देखिएको फुटलाई शक्तिमा रुपान्तरण गर्दे जङ्गबहादुर राणा नेपालको प्रधानमन्त्री भए । यसअघि माथवरसिहं (जङ्गबहादुर राणाको मामा) विसं १९०० देखि १९०२ सम्म नेपालको प्रधानमन्त्री भए । झन्डै ३० वर्षसम्म (१९०३–१९३३) नेपालको प्रधानमन्त्री भएका राणा प्रधानमन्त्री जङ्गबहादुरले कोतपर्वको रचना गरेका थिए । फलस्वरुप नेपालमा विसं १९०३ देखि २००७ सम्म जहानियाँ राणशासन रह्यो । नेपालको पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर हुन् । जङ्गबहादुरले भाइहरुलाई रोलक्रमअनुसार नेपालको प्रधानमन्त्री बनाए । बमबहादुर राणाले विसं १९१३ देखि १९१४, रणोद्वीप सिंह राणाले १९३३ देखि १९४२, वीरशम्सेरले १९४२ देखि १९५७, देवशम्सेरले १९५७ देखि १९५८, चन्द्रशम्मेरले १९५८ देखि १९८६, भीमशम्सेर १९८६ देखि १९८९, जुद्धशम्सेरले १९८९ देखि २००२, पद्यमशम्सेरले २००२ देखि २००५¬ र मोहनशम्सेरले २००५ देखि २००८ सम्म प्रधानमन्त्रीका रुपमा नेपालमा शासन गरे । राणा शासनको अन्त्यसँगै भारतबाट फर्किएका राजा त्रिभुवनले मातृकाप्रसाद कोइरालालाई विसं २००८ देखि २००९ र विसं २०१० देखि २०११ सम्म प्रधानमन्त्रीमा नियुक्त गरियो । त्यसपछि क्रमशः टङ्कप्रसाद आचार्य (२०१२–२०१), डा केआई सिंह (२०१४–२०१५) सम्म नेपालको प्रधानमन्त्री भए । विभिन्न कालखण्डमा प्रधानमन्त्री पदको सट्टामा मन्त्रिपरिषद्को अध्यक्षका रुपमा समेत केही व्यक्तिले मुलुकमा शासन गरे । राजा महेन्द्रले सुवर्ण शम्सेरको अध्यक्षतामा विसं २०१५ देखि २०१६, डा तुलसी गिरीको अध्यक्षतामा २०१९ देखि २०२१ र २०३२ देखि २०३४ तथा सूर्यबहादुर थापाको अध्यक्षतामा २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्को गठन गर्नुभएको थियो । त्यस्तै विसं २०६९ मा पनि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएको थियो । विसं २०१६ देखि २०१७ सम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला भए । राजा महेन्द्रले विसं २०१९ सालमा पञ्चायत व्यवस्था लागू गरेपछिको पहिलो प्रधानमन्त्री डा तुलसी गिरी भए । पञ्चायतकालमै सूर्यबहादुर थापाले विसं २०२१ देखि २०२३ सम्म मन्त्रिपरिषद्को अध्यक्ष र विसं २०२३ देखि २०२५ तथा विसं २०३६ देखि २०४० सम्म प्रधानमन्त्रीका रुपमा काम गरे । बहुदलीय व्यवस्थापछि विसं २०५४ र २०६० मा समेत उनी प्रधानमन्त्री भए । पञ्चायतकालमा क्रमशः कीर्तिनिधि विष्ट (२०२५–२०२), (२०२८–२०३०) र (२०३४–२०३६), नगेन्द्र प्रसाद रिजाल (२०३०–२०३२) र २०४२, लोकेन्द्रबहादुर चन्द (२०४०–२०४२) र २०४६ तथा मरिचमान सिंह श्रेष्ठ (२०४३–२०४६) सम्म प्रधानमन्त्री भए । विसं २०४६ को जनआन्दोलनबाट प्राप्त बहुदलीय व्यवस्थामा कृष्णप्रसाद भट्टराई पहिलो अन्तरिम प्रधानमन्त्री भए ।  त्यस्तै गिरिजाप्रसाद कोइरालाले (२०४८–२०५१) र (२०६३–२०६५) सम्म मुलुकको प्रधानमन्त्री भए । कम्युनिष्ट पार्टीका तर्फबाट मनमोहन अधिकारी विसं २०५१ देखि २०५२ सम्म प्रधानमन्त्री बने । पहिलो संविधानसभाले मुलुकमा गणतन्त्र घोषणा गरेलगत्तै २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । यसैगरी विसं २०६६ देखि २०६७ सम्म माधवकुमार नेपाल, २०६७ देखि २०६८ सम्म झलनाथ खनाल, २०६८ देखि २०६९ सम्म बाबुराम भट्टराई, २०६९ देखि २०७० सम्म तत्कालीन प्रधानन्यायाधीश रेग्मी, २०७० देखि २०७२ सम्म सुशील कोइराला, २०७२ देखि २०७३ सम्म केपी शर्मा ओली र विसं २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म ‘प्रचण्ड’ नेपालको प्रधानमन्त्री भए । रासस

मेगा बैंककाे ६५ प्रतिशत हकप्रद शेयर अाउँदै, नबिल इन्भेष्टमेण्ट बिक्री प्रबन्धक नियुक्त

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेगा बैंकका सिइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेण्टका सिइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मेगा बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको मेगा बैंकका सिइओ शाहले जानकारी दिए । हकप्रद शेयर निस्कासन गरेपछि मेगा बैंकको चुक्तापुँजी साँढे ७ अर्ब बढी पुग्नेछ । यसैगरी, आगामी आर्थिक बर्षको मुनाफापछि चुक्ता पुँजी ८ अर्ब पुग्ने बैंकले जनाएको छ । मेगा बैंकको साधारण सभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत बोनस शेयर समेत दिने निर्णय गरेको थियो । सोही अनुसार, मेगा बैंकका शेयरधनीहरुले १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश समेत गरी १३.९५ प्रतिशत बोनस शेयर समेत पाइसकेका छन् ।

शेरबहादुर देउवा बने चौथो पटक प्रधानमन्त्री, पक्षमा ३८८ र विपक्षमा १७० मतदात

काठमाडौं । व्यवस्थापिका–संसद्ले आज नेपालको ४०औँ प्रधानमन्त्रीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । प्रधानमन्त्री चयनको निर्वाचनमा एक मात्र उम्मेदवार रहेका देउवाले ३८८ मत प्राप्त गरेका छन् । उनको विपक्षमा १७० मत परेको थियो । देउवाले खरेको मतको ६९ प्रतिशत र कुल सांसदको ६५ प्रतिशत मत पाएका छन् । हाल संसद्मा कायम कुल ५९३ सांसद रहेकामा ५५८ जनाले मात्र मतदानमा भाग लिएका थिए । ‘सभापति देउवालाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरियोस्’ भनी प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गरेका थिए । माओवादी केन्द्र र नेपाली काँग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी र नेकपा (संयुक्त) लगायतका दलले देउवाको पक्षमा मतदान गरेका थिए । देउवाको विपक्षमा नेकपा (एमाले), नेकपा (माले) राष्ट्रिय जनमोर्चा, परिवार दललगायतले मतदान गरेका थिए । देउवा प्रधानमन्त्री भएको यो चौथो पटक हो । नवनिर्वाचित प्रधानमन्त्री देउवाको जन्म २००३ जेठ ३१ गते आसिग्राम–५ रुवाखोला डडेल्धुरामा भएको हो । २०१७ सालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रुपमा सक्रिय देउवा नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो गरेका छन् । उनकी धर्मपत्नी डा आरजु राणा देउवा व्यवस्थापिका–संसद् सदस्य छिन् भने उनका एक छोरा छन् । विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित देउवा २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए । विसं २०४८ मा गृहमन्त्री भएका प्रधानमन्त्री देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री भए । असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए । प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । राजाले नियुक्त गरी प्रधानमन्त्री बनाएका देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरे । २०५९ सालमा काँग्रेस विभाजन गरी उनले नेपाली काँग्रेस (प्रजातान्त्रिक) गठन गरे र सभापति भए ।  विसं २०६४ मा काँग्रेस र काँग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी नेपाली काँग्रेसको वरिष्ठ नेता भएका थिए । उनी ढेड वर्षअघि नेपाली काँग्रेसको सभापति भएका हुन ।

त्रिपुरेश्वरदेखि माइतीघरसम्म चार लेनको फ्लाई ओभर

काठमाडौं । त्रिपुरेश्वर देखि माइतीघर मण्डलासम्म निर्माण हुने चार लेनको फ्लाई ओभरको अध्ययन अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण र जापानी सहयोग नियोग(जाइका)ले संयुक्त रुपमा अध्ययन गरिरहेको १ दशमलब ४ किलोमिरट लामो सो फ्लाई ओभरको अध्ययन अन्तिम चरणमा पुगेको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । त्रिपुरेश्वरबाट सुरु भएर फ्लाई ओभर दशरथ रंगाशालाको छेउ हुँदै आर्मी हेडक्वार्टर र थापाथली क्याम्पसबाट माइतीघर पुग्नेछ । माइतीघरबाट सडक विभागमा पुगेर फ्लाई ओभर टुंगिनेछ । एक दशमलब ४ किलोमिटर लामो सो फ्लाई ओभर निर्माणका क्रममा ४९ वटा भवनहरु अधिग्रहण गर्नुपर्नेछ । ती भवनहरु केहि आंशिक र केहि पुर्णरुपमा अधिग्रहण गर्नुपर्ने विकास आयुक्त तिवारीले बताए । त्यसरी अधिग्रहण गर्दा जनताले क्षतिपुर्ति प्राप्त गर्नेछन् । ‘जाइका र प्राधिकरणले मिलेर गरेको अध्ययन अन्तिम चरणमा पुगेको छ, यो फ्लाई ओभर अमेरिका र युरोपकै जस्तो आधुनिक र सुबिधा सम्पन्न हुनेछ’, तिवारीले भने । यस्तो फ्लाई ओभरको अनुमानित लागत ९ अर्ब हुन सक्ने प्रक्षेपण गरिएको छ ।

बुटवल पावरले किन बढायो एफपीओको मूल्य?

काठमाडौं । बुटवल पावर कम्पनीले जारी गर्न लागेको एफपीओको मूल्य बढाएको छ । कम्पनीले धितोपत्र बोर्डबाट जारी गरिएको नयाँ निर्देशिका(धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४) बमोजिम जारी गर्न लागेको एफपीओको मूल्य बढाएको हो । कम्पनीले ४० लाख ८१ हजार कित्ता थप साधारणा सेयर (फरदर पब्लिक इस्यु(एफपिओ)) निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ४१८ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ५१८ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । जुन रकम अघिल्लो निर्णय अनुसार ४८ रुपैयाँ बढी हो । यस अघि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३७० प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४७० रुपैयाँमा एफपिओ निष्कासन गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुग्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ रहेको छ ।

भरतपुर प्रकरणलाई असामान्य तवरले प्रचार गरिएकोमा दुःख छ – प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार नै संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण दिशामा मुलुक अगाडि बढेको बताएका छन् । व्यवस्थापिका-संसद्को मंगलबारको बैठकलाई विशेष सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण आधारका रुपमा स्थानीय तहको निर्वाचन प्रक्रिया अगाडि बढेको र त्यसले हिमाल, पहाड र तराईबीचको एकतालाई कायम गरेको बताए । संविधान गतिशील दस्तावेज भएकाले संशोधन हुँदै जाने भन्ने प्रतिबद्धता विगतमा व्यक्त गरिएको स्मरण गर्दै उनले थारु, मधेसी र आदिवासी जनजातिको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास जारी रहेको र त्यो निकट भविष्यमा पूरा हुने विश्वास व्यक्त गरे। संविधान संशोधन विधेयकमाथि खुला दिलले छलफल गर्नु आवश्यक छ भन्दै प्रधानमन्त्रीले आन्दोलनरत पक्ष, प्रतिपक्ष र सत्तापक्ष सबैलाई स्वीकार गर्न सक्ने गरी तयार गरिएको प्रस्तावलाई सकारात्मक निष्कर्षमा पु¥याउनु जरुरी रहेको स्पष्ट पारेका छन्। राष्ट्रिय एकतालाई कायम राख्न कोही न कोहीले त्याग गर्नु जरुरी छ भन्दै उनले ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने जस्तो दृष्टिकोणले काम नगर्ने भएकाले प्रतिपक्षले पनि राष्ट्रिय आवश्यकतालाई ख्याल गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र)का बीचमा सरकार गठनका समयमा नै भएको सहमतिअनुसार नै आफूले स्थानीय तहको दोस्रो चरणको निर्वाचन अगाडि राजीनामा दिएको जानकारी उनले दिए । काँग्रेसका सभापति शेरबहादुर देउवाले दबाब दिएर प्रधानमन्त्रीबाट राजीनामा दिएको होइन भन्दै प्रधानमन्त्री दाहालले आफूले राजनीतिमा इमान र नैतिकता पनि छ भन्ने स्थापित गर्न चाहेको उल्लेख गरे। संविधान घोषणा भएपछि गठन भएपछि एमाले र आफ्नो पार्टीबीच भएको समझदारी तोडिएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले विगतदेखि नै सरकारका सन्दर्भमा भएका सहमति तोडिएको अवस्थामा अब राजनीतिमा इमान र नैतिकता छ भन्ने स्थापित भएको उल्लेख गरे । निर्वाचन आयोगले गर्ने नियमित कामको विषय संसद्मा ल्याएर घोलमेल गरिएको छ भन्दै प्रधानमन्त्री दाहालले भरतपुर प्रकरणको विषयलाई लिएर संसद् अवरुद्ध गर्नु लोकतन्त्रको प्रमुख पक्ष कसरी हुन गयो प्रश्न गरे । भरतपुर प्रकरणमा मतपत्र च्यातिएको विषय सुन्नेबित्तिकै आफूले सो कार्य सही होइन भनी निर्वाचन आयोगलाई बोलाएर कानुनअनुसार गर्न आग्रह गरेको जानकारी दिएका छन् । प्रधानमन्त्रीले भरतपुर प्रकरणमा आफ्नो पार्टी र आफूलाई अनपेक्षित रुपमा आरोप लगाइएको, गलत प्रचार गरिएको र प्रमुख प्रतिपक्षले राजनीतिक लाभ उठाउन नाजायज विषय उचालेको आरोप लगाउँदै प्रधानमन्त्रीले एउटा घटनालाई देखाएर गलत प्रचार गरिनु मुलुक र जनताका लागि जायज र फाइदाजनक विषय नभएको स्पष्ट पारेका छन्। भरतपुरमा सबैभन्दा बढी ध्यान गएकाले निष्पक्ष र भयरहित रुपमा चुनाव सम्पन्न हुने र अन्य क्षेत्रका लागि पनि सकारात्मक उदाहरण हुने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीले भने, “इतिहासदेखि आजसम्म मैले व्यक्त गरेको लोकतन्त्रप्रतिको निष्ठाको कति प्रमाण चाहियो बाह्र? बुँदेदेखि शान्ति प्रक्रियासम्म आइपुग्दा आफ्नो पार्टीले गरेको त्याग र बलिदानको कति प्रमाण चाहियो ? प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीमाथि मेरो प्रश्न छ ।” प्रतिपक्षलाई विश्वासमा नलिइएको भन्ने एमालेको भनाइ जायज नभएको स्पष्ट पार्दै उहाँले संविधान संशोधन, स्थानीय तहको निर्वाचनलगायत अन्य विषयमा आफूले निरन्तर छलफल र संवाद गरेको स्मरण गराए । प्रधानमन्त्रीले भने, “प्रमुख प्रतिपक्षी दलमा सबैभन्दा बढी दम्भ देखिएको छ । त्यो दम्भले कोही कसैको फाइदा गर्दैन, स्वयम् एमालेलाई पनि फाइदा गर्दैन ।” नेपाली सेनाले नै पहल लिएर काठमाडौँ तराई मधेस द्रुतमार्ग अगाडि बढेको र आफूले प्रधानमन्त्रीको हैसियतले शिलान्यास गरेको जानकारी दिँदै प्रधानमन्त्रीले आफूलाई त्यसमा जस नचाहिएको धारणा राखेका छन् । राजनीतिक दललाई मिलाएर देशमा आर्थिक एवम् औद्योगिक वातावरण नबनाएको भए र विद्युत्भार कटौती अन्त्य नगरेको भए आर्थिक वृद्धि ७.२ प्रतिशतको हाराहारीमा विगतको बजेटले मात्रै नहुने स्पष्ट पारे । राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने विषयमा प्रमुख दलबीच अझै सहमतिको आवश्यकता छ भन्दै उनले कोही कसैको मानमर्दन गरेर राष्ट्रिय आवश्यकता भुल्न नहुने र राष्ट्रिय अपेक्षा विपरीत जान नहुने धारणा राखेका छन् । रासस

युनाईटेड फाइनान्सलाई २० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यूनाईटेड फाइनान्सलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले ५ः१ अर्थात् २० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले १३ लाख ४५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १३ करोड ५४ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

एनएमबि बैंकले शुरु गर्यो शैक्षिक कर्जा सेवा, आवेदन दिएको ५ दिनमै उपलब्ध गराउने

काठमाडौं । एनएमबि बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीहरुका लागि ‘एनएमबि बैंक शैक्षिक कर्जा’ नामक कर्जा सेवाको आरम्भ गरेको छ । शिक्षामा आत्मनिर्भता भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले ल्याएको यो शैक्षिक कर्जाको कर्जा अवधि १० वर्ष सम्म रहने छ भने अधिकतम १ करोड रुपैयाँ सम्मको शैक्षिक कर्जा उपलब्ध हुनेछ । एनएमबि बैंक शैक्षिक कर्जा आवेदन दिएको ५ दिन मै उपलब्ध गराईने बैंकले जनाएको छ । शिक्षामा आत्मनिर्भता भन्ने नारा सहित आरम्भ गरिएको ‘एनएमबि बैंक शैक्षिक कर्जा’ ले विद्यार्थीहरुको शैक्षिक यात्रामा लाग्ने आर्थिक समस्या समाधान गर्न भरपर्दो वित्तीय सेवाका रुपमा स्थापित हुने विश्वास बैंकले गरेको छ ।