विकासन्युज

स्थानीय चुनावका ९ नयाँ रेकर्ड, तालमेलमा जालझेलदेखि एकलाैटी किल्लासम्म

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गत आइतबार सम्पन्न स्थानीय तहको चुनावमा भरतपुर महानगरको ४ नम्बर वडाबाट मत हाले । त्यही वडामा माओवादी केन्द्र होइन, एमालेका हरि आचार्यले वडाध्यक्ष जिते । एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर २ बाट मत हाले । त्यही वडाको नतिजा भने एमालेको पक्षमा आएन । कांग्रेसका कमलराज आचार्यले वडाध्यक्ष जिते । स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भइरहँदा यस्तै केही रोचक रेकर्ड बनेका छन् । अधिकांश स्थानमा मतगणना सकिँदा कतै उम्मेदवार त, कतै मतका रेकर्ड बनेका छन् । एकलौटी किल्ला भत्किए यो चुनावमा प्रमुख तीन दलकै पकड मानिएको किल्ला भत्किएका छन् । विगतका चुनावमा उनीहरूले पटकपटक वर्चस्व स्थापित गरेका स्थान गुमाउनुपरेको छ । नवलपरासीको गैंडाकोटलाई कांग्रेसको निकै ठूलो पकड रहेको क्षेत्र मानिन्थ्यो । कांग्रेसका महामन्त्री शंशाक कोइरालाको निर्वाचन क्षेत्रसमेत हो । तर गैंडाकोटको त्यो किल्ला यसपटक एमालेले तोडेको छ । मेयरमा एमालेका छत्र पौडेलले २ सय २४ मत अन्तरमा कांग्रेसका गजेन्द्र आलेलाई हराए । काभ्रेको बनेपालाई पनि कांग्रेसकै किल्ला मानिन्थ्यो । त्यहाँ पनि एमालेले मेयर जितेको छ । यो जितलाई ऐतिहासिक मान्दै एमाले अध्यक्ष केपी ओली शुक्रबार बनेपाको विजयसभामा आफैं सहभागी हुन गए । स्याङ्जालाई त कांग्रेसको पकड भएको जिल्ला नै ठानिन्छ । तर त्यहाँका ११ वटा स्थानीय तहमध्ये ७ वटामा एमालेले जितेको छ भने कांग्रेसले चारवटामा चित्त बुझाउनुपरेको छ । पुतलीबजार र गल्याङ नगरमा एमालेले किल्ला गाडेको छ । उता तनहुँमा एमालेको पकड मानिएको शुक्लगण्डकी नगरमा भने यसपटक कांग्रेसले जितेको छ । काभ्रेको पाँचखालमा पनि एमालेको गढ भत्काउँदै कांग्रेस विजयी भएको छ । कांग्रेसले यसअघिका दुई चुनावमा भत्किएका आफने किल्ला गोरखामा फिर्ता ल्याएको छ । सधैं जित्दै आएको गोरखामा विगतका दुइटा संविधानसभाका चुनावमा माओवादीले जितेको थियो । तर माओवादीमा आएको विभाजन र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी बनेको फाइदा यसपटक कांग्रेसलाई भयो । गोरखाका ११ वटा स्थानीय तहमध्ये दुई नगरपालिकासहित नौवटामा कांग्रेसले विजयी झन्डा फहराएको छ । माओवादीले दुई सिटमा चित्त बुझाउनुपरेको छ । त्यस्तै नयाँ शक्तिका भट्टराई आफ्नै गृहनगर पालुङटारमा तेस्रो भएका छन् । उनले आफ्नो पकड जोगाउन सकेनन् । बाग्लुङलाई राष्ट्रिय जनमोर्चाको गढ मानिथ्यो । त्यहाँको एउटा गाउँपालिकाबाहेक अन्यमा जनमोर्चाले आफ्नो उपस्थिति देखाउन सकेन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीकै गृहनगर गल्कोटमा राजमोलाई कांग्रेसले हरायो । त्यहाँ मेयरमा केसीकै भाइ टंक केसी उठे पनि विरासत जोगाउन सकेनन् । बाग्लुङको एउटा बरेङ गाउँपालिकामा मात्र जनमोर्चाले जित हासिल गर्‍यो । यो चुनावमा राप्रपाले जसरी जित्ने अनुमान थियो, त्यो पनि सत्य सावित भएन । धादिङको रुविभ्यालीमा मात्र राप्रपाले आफ्नो इज्जत जोगायो । कमल थापाको गृह जिल्ला हेटौंडा, सांसद विक्रम पाण्डेको चितवन जिल्लामा उसले राम्रो मत ल्याउन सकेन । विगतका चुनावमा जितेका धेरे स्थानमा यसपटक हारे पनि माओवादीले रुकुममा भने सबै स्थानमा जित हासिल गरेको छ । अन्य स्थानमा भने माओवादीका पनि धेरै किल्ला तोडिए । तालमेलमा जालझेल यो चुनावमा दलहरूले तालमेल गरेका थिए । तर तालमेलअनुसार परिणाम भने हासिल भएन । बरु तालमेलका नाममा एकअर्कालाई जालझेल नै गरेको जस्तो परिणाम बाहिर आइरहेको छ । मतगणना भइरहेको स्थानको मतको शैली हेर्दा पनि त्यो स्पष्ट हुन्छ । बाग्लुङको बाग्लुङ नगरपालिकामा मात्र तालमेलअनुसारको परिणाम आयो । त्यहाँ एमाले, राप्रपा र राष्ट्रिय जनमोर्चाको तालमेल थियो । त्यही तालमेलअनुसार एमालेले मेयर, राप्रपाले उपमेयर र वडा अध्यक्षहरूमा राष्ट्रिय जनमोर्चाले जिते । बाग्लुङको जैमिनी र गल्कोटमा तालमेल थियो । तर सफल भएन, कांग्रेसले जित्यो । अन्य स्थानमा तालमेल सफल भएको छैन । अहिलेसम्म चारवटा महानगरपालिकाको प्रारम्भिक मत परिणाम हेर्दा त्यहाँ पनि सफल नहुने हो कि भन्ने आशंका देखिएको छ । लमजुङ र तनहुँमा एमाले र माओवादीको तालमेल पनि सफल भएन । काठमाडौं र ललितपुर महानगरपालिकामा एमाले र राप्रपाको मेयर र उपमेयरमा तालमेल छ । तर उम्मेदवार नै नभएको एमालेको चुनाव चिहन सूर्यमा राप्रपाका उम्मेवारको भन्दा बढी मत आइरहेको छ । त्यस्तै पोखराको महानगरमा मेयरको उम्मेदवार नै नभएको माओवादीको चिहन र चितवनमा उम्मेदवार नभएको कांग्रेसको चुनाव चिहन रूखमा धेरै मत आइरहेको प्रारम्भिक रिपोर्ट छ । भक्तपुरको मध्यपुर ठिमीमा एमाले र नेमकिपाबीच तालमेल भएको थियो । तर प्रमुखमा एमालेले अग्रता लिइरहँदा उपप्रमुखमा नेमकिपाका उम्मेदवार धेरै मत अन्तरले दोस्रो पोजिसनमा छन् । पार्टी होइन, उम्मेदवार स्थानीय चुनावमा प्रमुख र उपप्रमुख पद क्रस गरेर जित्ने पनि भएको छ । एउटा पार्टीले प्रमुख जिते अर्को पार्टीको उम्मेदवार उपप्रमुख जित्ने गरेको देखिएको छ । एमालेले प्रमुखमा १ सय १ स्थान जित्दा उपमेयरमा भने १ सय १५ स्थानमा जित हासिल गरिसकेको छ । प्रमुखभन्दा उपप्रमुख पद बढी जितेको छ । कांग्रेसले भने प्रमुखमा ९७ पद जित्दा उपप्रमुखमा ७६ सिटमात्र छ । कांग्रेसले प्रमुखभन्दा उपप्रमुख पद कम जितेको छ । माओवादीले भने प्रमुख र उपप्रमुख करिब बराबरी जितेको छ । प्रमुखमा ४५ वटा सिट जित्दा उपप्रमुखमा ४६ सिट जितेको रेकर्ड छ । राप्रपाले एक प्रमुख जित्दा ५ जना उपप्रमुख जितेको छ । यस्तो जितको अर्थ हो पार्टीभन्दा व्यक्ति छानेर मतदान गरेको तथ्य यसबाट देख्न सकिन्छ । फराकिलो अन्तर डोल्पाको काइके गाउँपालिकामा जित्ने एमालेका अंगद रानाले ९२० मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हीराबहादुर रोकायले ८० मत ल्याएका छन् । जित्नेले निकटतम प्रतिद्वन्द्वीले भन्दा अत्यधिक फराकिलो अन्तरमा विजयी भएका हुन् । झिनो मतान्तर डोल्पाका मुडेचुला गाउँपालिका प्रमुखमा दुई मत अन्तरले जितहार भयो । माओवादी केन्द्रका दत्तबहादुर शाहीले ९ सय ३३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले ९ सय ३१ मत ल्याए । यी दुईबीचको मतान्तर जम्मा दुई मात्र हो । जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रका रजबहादुर शाहीले एमाले प्रत्याशी भैरबहादुर रोकायभन्दा तीन मत बढी ल्याएर अध्यक्ष जिते । उनले १ हजार ३ सय १७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका रोकायले १ हजार ३ सय १४ मतमा चित्त बुझाउनुपर्‍यो । एक सयभन्दा कम मतको अन्तरमा धेरै स्थानमा हारजित भएको छ । नवलपरासीको बुङदिकालिकामा कांग्रेसका दुर्गाबहादुर रानाले एमालेका श्याम श्रेष्ठलाई जम्मा ९२ मतले हराए । नवलपरासीकै देवचुली नगरपालिकामा ६९ मतको अन्तरमा कांग्रेसका पूर्णकुमार श्रेष्ठले एमालेका हरि न्यौपानेलाई मेयरमा हराए । स्याङ्जाको अर्जुनपौचारीमा उपाध्यक्ष पदमा एमालेकी टिममाया गुरुङले कांग्रेसकी माया केसीलाई २६ मतले हराइन् । यही गाउँपालिकाको प्रमुखमा कांग्रेसका दीर्घनारायण अर्यालले ७८ मतको अन्तरमा एमालेका मोहन केसीलाई पछि पारे । सबभन्दा कम मतको विजय मनाङको चामेमा भने सबभन्दा कम मतले जित्ने रेकर्ड बनेको छ । चामे गाँउपालिकामा एमालेका लोकेन्द्रबहादुर घलेले जम्मा २ सय १४ मत ल्याएर प्रमुखमा निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी अनिता लामाले १ सय ७३ मत पाइन् । जम्मा ५ सय ११ मतदाता रहेकाले यहाँ विजयी हुन थोरै मत नै काफी थियो । उपाध्यक्षमा कांग्रेसका मनिन्द्रजंग गुरुङले त १ सय ६९ मतमै चुनाव चिते । उनले ९ मतको अन्तरमा एमालेकी टिकनीदेवी गुरुङलाई हराएका हुन् । निर्विरोध विजय त्यसो त सबभन्दा कम मतदाता भएको गाउँपालिका मनाङको नार्फु हो । त्यहाँ कुल मतदाता ३ सय ६२ थिए । त्यस्तै डोल्पाको शेफोक्सुन्डोमा कुल मतदाता १ हजार ४ सय ६६ थिए । तर त्यहाँका मतदाताले मतदानै गर्नुपरेन । नार्फु र शेफोक्सुन्डोमा गाउँपालिका प्रमुख निर्विरोध चयन भए । डोल्पाको डोल्पोबुद्धमा एमालेकी मलमचसी गुरुङले पनि निर्विरोध जितिन् । स्वतन्त्रले मारे बाजी चुनावमा राजनीतिक दलहरूलाई जितेर व्यक्ति जित्नु निकै जटिल काम हो । तर यो चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरूले पनि प्रमुख पद जितेका छन् । डोल्पाको डोल्पोबुद्धमा पेम्बा गुरुङ, छार्का ताङसोङमा सोनाम गुरुङ र मुस्ताङको दालोमेमा राजु विष्टले स्वतन्त्र ढंगले चुनाव जितेका छन् । सोनामले २४ मतको अन्तरमा एमालेका तोता गुरुङलाई हराएका हुन् । वृद्ध वडाध्यक्ष राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेसका ८० वर्षीय कर्णबहादुर खडकाले यही चरितार्थ गरे । उनी वडा अध्यक्षमा निर्वाचित भए । त्यस्तै ललितपुर महानगरको वडा १० मा ७७ वर्षे नरसिंह व्यञ्जनकारले स्वतन्त्र ढंगबाट वडा अध्यक्ष जिते । पञ्चायतकालदेखि नै हरेकपटक वडा अध्यक्ष जित्दै आएका उनले यसपटक पनि बाजी मारे । त्यस्तै सल्यानको ढोरचौर ४ मा कांग्रेस र एमालेका वडा अध्यक्षको मत बराबरी भयो । दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेपछि छिनोफानो गर्न गोलाप्रथा गर्नुपर्‍यो । गोलाप्रथाबाट कांग्रेसका दिनेश बीएमले जिते भने एमालेका देवेन्द्र रोकाले हारे । कान्तिपुर दैनिकबाट ।

भूकम्पपीडितलाई ट्याक्सी वितरण जेठ १३ देखि, डेढ लाख अावेदनमध्ये १५ सयले पाउने

काठमाडौं । भूकम्प पीडितले यही जेठको १३ देखि १५ गतेभित्र ट्याक्सीको नम्बर पाउने भएका छन् । सरकारले भूकम्प पीडितका लागि दिएको यो ट्याक्सी सुविधाको जानकारी संचार माध्यमबाट लाइभ गरेर सार्वजनिक गर्ने भएको छ । यातायात व्यवस्था विभागले १ लाख ४९ हजार आवेदनकमध्येबाट जम्मा १५ सय जनालाई मात्रै ट्याक्सी वितरण गर्न लागेको हो । यातायात व्यवस्था विभागलेगत चैत्र २६ मै ट्याक्सी वितरण गर्ने भनेपछि निर्वाचन आचारसंहिताले रोकेको थियो । सरकारले गत साउनमा मागेको आवेदनका आधारमा अहिले ट्याक्सी वितरण गर्न लागेको हो । सरकारले ट्याक्सीको नम्बर प्लेटमात्रै उपलव्ध गराउने र ट््याक्सी खरीदमा भने कुनै अनुदान वा सहयोग नदिने विभागले स्पष्ट पारेको छ । नम्बर लिएपछि भूकम्प पीडितले आफैंले ट्याक्सी किन्नुपर्ने विभागको भनाइ छ । अन्नपूर्ण पोस्टबाट ।

पेट्रोलियम अन्वेषण गर्न ग्लोवल टेण्डर हुँदै, लाइसेन्स लिएर होल्ड गर्न नपाइने

काठमाडौं । सरकारले मुलुकका १० स्थानमा पेट्रोलियम अन्वेषण गर्न पुनः ग्लोवल टेण्डर गर्ने भएका छ । पेट्रोलियम अन्वेषणका लागि यसअघि भएका सबै प्रयास असफल भएपछि सरकारले नयाँ टेण्डर गरेर अन्वेषणलाई पुनः अघि बढाउने भएको हो । यसका लागि नियमावली संसोधन गरेर प्रक्रिया अगाडि बढाइसकिएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । सरकारले १९९० को दशकदेखि पेट्रोलियम अन्वेषणको प्रक्रिया अगाडि बढाएको हो । तर अन्वेषणको जिम्मा पाएका कम्पनीले काम नगरी लाइसेन्स मात्रै होल्ड गरे  यस अघी पनि काम नगर्ने कम्पनीकाे लाइसेन्स खारेज भएकाे थियाे । नयाँ पत्रिकादैनिकबाट ।

१५ वर्षपछि १४ करोड ६१ लाख लाभांश बाड्दै आयल निगम, कर्मचारी बाेनमै २ अर्ब ३६ कराेड

काठमाडौं । आयल निगमले १५ वर्षपछि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । निगमको शुक्रबार सम्पन्न ३५ औं साधारण सभाले चुँत्ता पुँजीको ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । निगमको संचित मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ छ । कम्पनी ऐन २०६३ अनुसार सञ्चि मुनाफा नहुदाँ लाभांस, बोनस  वितरण गर्न नपाइने अर्थ प्रशासन विभाग प्रमुख नगेन्द साहले बताए । नाफा भएकाले १५ वर्षपछि सेयरधनीलाई वितरण गर्ने भएका छौं । आव २०७२/२०७३ को मुनाफाबाट सेयरधनीलाई चुत्ता पुँजीको ५० प्रतिशत लाभांस वितरण गर्ने निर्णय भएको उनले बताए । सेयरधनीलाई लाभांस वितरणमा १४ करोड ६१ लाख ९७ हजार खर्च हुने भएको छ । बाेनसमै २ करोड ६२ लाखको व्यवस्था निगमले कर्मचारी बोनसमै २ अर्ब ३६ करोडको व्यवस्था गरेको छ । यो संस्थाले बोनस नबाढ्ने भनेपनि यो रकम भने विनियोजन भएको छ । आर्थिक वर्षमा खुद नाफाको ६ प्रतिशतले हुन आउने रकम १ अर्ब २६ करोड १७ लाख रुपैयाँ कर्मचारीको वोनसमा व्यवस्था गरेको छ । कान्तिपुर दैनिकबाट ।

शिक्षण पेशामा नयाँलाई अवसर आउँने, त्रिविमा १४२० दरबन्दी थपिदैँ

काठमाडौं । त्रिभुवन विश्विद्यालयले सञ्चालन गरेको विशेष कार्यक्रमलाई नियमित बनाउन आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी १ हजार ४ सय २० नयँ दरबन्दी थप्ने भएको छ । विश्वविद्यालय कार्यकारी परिषद् बैठकले विश्वविद्यालयमा थपिएका नयाँ कार्यक्रमका लागि शिक्षक व्यवस्थापन गर्न दरबन्दी थप गर्ने निर्णय गरेको छ । परिषद्का सदस्य ताराप्रसाद सापकोटाले विश्वविद्यालयले दरबन्दी थप्ने निर्णयलाई स्वीकृतिका लागि विश्वविद्यालय अनुदान आयोगमा पठाएको बताए । विश्वविद्यालय अन्तर्गतका अंशिक कलेजमा अहिले आंशिक शिक्षकको भरमा नै नयाँ शैक्षिक कार्यक्रम सञ्चालन भएको छ । त्रिविमा सञ्चलन भएका १ हजार शैक्षिक कार्यक्रममध्ये ३ सयको हाराहारीमा नयाँ कार्यक्रम छन् । आंशिक प्राध्यापकको विरोध करारमा नियक्तिको माग राखि आन्दोलनरत आंशिक प्राध्यापककको शुक्रबार मुखमा कालोपछी बाँधी प्रधानमन्त्री निवास वालुवाटारमा धर्ना दिएका छन । नेपाल आंशिक प्राध्यापक संघको् नेतृत्वमा नयाँ भर्ना कार्यक्रम आयोजना भएको हो । नागरिक दैनिकबाट ।

स्कार्पियोमा भेटियामै भेटियो पाँच सय किलो चाँदी, राजस्व कार्यालयले बुझ्न मानेन

सिन्धुली । सिन्धुली प्रहरीले ठूलो परिमाणमा चाँदी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोटले बिहीबार राति चेकजाँचको क्रममा पाँच क्विन्टल चाँदी फेला पारेको हो । बिपी राजमार्ग हुँदै काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको बा१६प ६४७ नम्बरको स्कार्पियो जिपमा सो परिमाणको चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जनकपुर उपमहानगरपालिका बस्ने अमित गुप्ताले चलाएर ल्याएको जिपमा खानतलासी गर्दा पाँच क्विन्टल चाँदी फेला परेपछि शंका लागेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक उमाशंकर पंजियारले बताए । ‘यदि वैधानिक थियो भने यति ठूलो परिमाणको चाँदी ल्याउँदा हेलिकोप्टर प्रयोग गरिन्थ्यो या सडकमार्गबाट ल्याउँदा सुरक्षाविना ल्याइँदैन थियो,’ पंजियारले भने, ‘एक त यति ठूलो परिमाणको बहुमूल्य धातु, त्यसमा पनि रातको समयमा काभ्रे–सिन्धुली हुँदै जनकपुर लैजान लाग्नुले पनि आशंका पैदा भएको हो ।’ प्रहरीले नियन्त्रण लिएर अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय महोत्तरीलाई बिहीबार राति नै बुझाउन लगे पनि कार्यालयले बुझ्न नमानेको प्रहरी उपरीक्षक पंजियारले बताए । आन्तरिक राजस्व कार्यालय बर्दिबासले चाँदी बुझ्न नमानेपछि प्रहरीले आन्तरिक राजस्व कार्यालय बारा पथलैया लगेको छ । तर, आन्तरिक राजस्व कार्यालय पथलैयाले पनि बुझ्न आनाकानी गरेको छ । कार्यालयले बुझ्न नमानेपछि चाँदीको सुरक्षासहित सिन्धुलीबाट गएको सुरक्षाकर्मीलाई राजस्व कार्यालयको कम्पाउन्डभित्र गाडी राखेर फोटो खिचेर ल्याउनू भन्ने आदेश दिएको प्रहरी उपरीक्षक पंजियारले बताए । चाँदीको बिल देखिए पनि राति ल्याउनु, ठूलो परिमाण देखिनु र राजस्व कार्यालयले बुझ्न नमान्नुले आशंका पैदा गरेको छ । ‘कार्यालयमा कर्मचारी छन्, तर बुझ्न र छानबिन गर्न तयार हुँदैनन्,’ पंजियारले भने । नयाँ पत्रिका दैनिकबाट ।

जाँदा जाँदै अजय सुमार्गीको पैसा खुला !

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अजय सुमार्गीको रोक्का रहेको रकम निकासा गर्न दिने निर्णय  गरेको छ । सत्ताबाट बाहिरनै लाग्दा सरकारले डा. युवराज खतिवडा गभर्नर भएका बेलादेखि रोक्का रहेको ३ अर्व २९ करोड रुपैयाँ निकासा गर्न स्वीकृत दिएको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । जाँदा जाँदै प्रचण्ड सरकारले अयज सुमार्गीलाई सो रकम निकासा गर्न बाटो खोलिदिएको छ । यस विषयमा शुक्रबार नेपाल राष्ट्र बैंकमा दिनभर चर्चा भएको छ । पैसा निकासा गर्नका लागि आवश्यक डकुमेन्ट जुटाउन नसक्दा रकम निकासा त्यतिकै रोकिएको थियो । तर, सरकारबाट आधिकारिक पत्र नआएकोले राष्ट्र बैंकले यस विषयमा बोल्न चाहेन ।  अजय सुमार्गीले अफसोर कम्पनीको आवरणमा नेपालमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन् । २०७० सालदेखि नेपाल सरकारको कुनै निकायबाट उक्त रकम नेपाल भित्र्याउन पूर्वसहमति नलिएका कारण स्रोत नखुलेको धनका रुपमा राष्ट्र बैंकले रोकिराखेको थियो । अहिले सरकार ढल्ने बेलामा  प्रचण्ड र देउवाको सहमतिमा उक्त रकम निकासा गर्न स्वीकृत दिने निर्णय गरिएको हो । अजय सुमार्गीले मुक्तिश्री सिमेन्ट उद्योग दर्ता गरेका छन् ।  त्यसैका लागि २०७० सालमा ब्रिटिश भर्जिन आइलेण्डस्थित झोधार इन्भेष्टमेन्ट लि.बाट कर्जा लिने भनेर निवेदन दिँदा नेपालका बैंकले ऋण दिन सक्ने कि नसक्ने भन्ने खुलाउन भन्दा अजय सुमार्गीले आधार उल्लेख गर्न सकेका थिएनन् । त्यसपछि नेपाल स्याटेलाइट टेलिकम प्रालिले उद्योगका लागि साइप्रसस्थित एअरवेज सर्भिसेज लि.बाट ६५ मिलियन डलर ऋण लिन अनुमति मागियो । उद्योगको कुल पुँजीभन्दा ऋण बढी देखिएपछि किन भनेर सोध्दा अजय सुमार्गीले त्यस पत्राचारको पनि स्पष्ट पार्न सकेनन् अर्थात पुँजीको स्रोत खुल्न सकेन ।

संसद्को बजेट अधिवेशन सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम व्यवस्थापिका-संसद्को बजेट अधिवेशन यही जेठ ८ गते अपराह्न आह्वान गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी संसद्को अधिवेशन आह्वान गरेकी राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जानकारी दिइन् । लामो अवधिसम्म रहेको संसद्को वर्षे अधिवेशन बिहीबार मात्र अन्त्य गरिएको थियो । रासस