एलइडी बल्ब खरिद प्रक्रियामा कारण देखाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले एलइडी बल्ब खरिद प्रक्रियामा लिखित कारण देखाउन सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलाशले शुक्रबार लिखित जवाफसहित अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिए । एलइडी बल्ब खरिद प्रक्रिया कानुन विपरीत भएको उल्लेख गरी अधिवक्ता लेखनाथ भट्टराई र नारायण चौलागाईंले गत बुधबार मुद्दा दायर गरेका थिए। नेपाल विद्युत् प्राविधकरणले दुई करोड थान एलइडी बल्ब खरिद प्रक्रिया कानुनविपरीत अघि बढाइएको र त्यसलाई रोक्नका लागि अन्तरिक आदेशको माग रिट निवेदनमा गरिएको थियो । रासस
दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मत सङ्केत, नीलोबाट गर्दा मतगणनामा केही असहजता
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गरी मत सङ्केत गराउने निर्णय गरेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले दोस्रो चरणमा स्वस्तिक छापमा रातो रङको लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिए । पहिलो चरणमा नीलो रङको मसीको प्रयोग गरी मत सङ्केत गरिएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं १, २, ५ र ७ का ४१ जिल्लामा यही जेठ ३१ गते हुँदैछ । नीलो मसीबाट गरिएको मत सङ्केतले मतगणनामा केही असहजता देखिएको गुनासो आएको थियो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, “दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरिएको छ ।” पहिलो चरणमा देखिएका कमजोरीलाई दोहरिन नदिन आयोगले निर्वाचनमा सुरक्षा रणनीति र मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने योजना बनाएको उनले जानकारी दिए । रासस
राष्ट्रिय खनिज नीति २०७४ पारित, खनिज सम्पदाको अधिकतम उपयोग गर्ने
काठमाडौं । शुक्रबार राष्ट्रिय खनिज नीति, २०७४ पारित गरिएको छ । देशमा उपलब्ध खनिज सम्पदाको दिगो विवेकपूर्ण र यथोचित सदुपयोग गरी अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक, चलायमान समृद्ध र आत्मनिर्भर बनाउँदै राष्ट्रको समग्र विकासमा योगदान पुर्याउने उद्धेश्यले यो नीति पारित गरिएको हो । यस नीतिले नेपालमा निजी क्षेत्र समेतको सहभागितामा नेपालमा रहेको खनिज सम्पदाको अधिकतम उपयोग एवं विकास गर्ने वातावरण बनाएको छ । राष्ट्रिय खनिज नीति, २०७४ को मूख्य विशेषताहरु क) वर्तमान भौगर्भिक अध्ययन अनुसन्धान एवं खनिज अन्वेषण तथा विकास कार्यहरुको हालसम्मका प्रयासहरु, खनिज कार्यको वर्तमान अवस्था, मूख्य समस्याहरु, चुनौतीहरु र नीतिको औचित्यतालाई राष्ट्रिय खनिज नीति, २०७४ को प्रारम्भिक परिच्छेदमा समावेश गरिएको छ । ख) राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान र भूमिकालाई सार्थक रुपमा स्थापित गर्दै प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि र समृद्ध मुलुक निर्माण गर्नको लागि राष्ट्रिय खनिज नीति, २०७४ तर्जुमा गरिएको छ । ग) विगतमा नेपालमा खनिज सम्पदाको विकास नहुनुमा समय सान्दर्भिक नीति, ऐन, नियम तयार नहुनु, यथेष्ट लगानी नहुनु र निजी क्षेत्रलाई आकर्षित गर्न नसकिनु, दक्ष जनशक्तिको अभाव र नयाँ प्रविधिको समुचित उपयोग नहुनु पनि समस्याको रुपमा देखिएको छ । घ) खनिजको अन्वेषण, विकास र उत्पादन कार्यलाई अगाडि बढाउन आगामी दिनमा यसलाई राष्ट्रिय प्राथमिकतामा राख्नु, यसमा स्वदेशी तथा विदेशी लगानी आकर्षण गर्नु, विभिन्न क्षेत्रगत नीतिमा एकरुपता र समन्वय ल्याउनु र यसमा नेपाल सरकारको लगानीलाई उच्च तुल्याउनु समेत चुनौतिका रुपमा रहेका छन्। ङ) खनिज सम्पदाको वैज्ञानिक र अधिकतम उपयोग मार्पmत दोहारो अङ्क सहितको समतामूलक आर्थिक वृद्धि कायम गर्दै अति कम विकसित राष्ट्रबाट विश्वको मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति गर्ने गरी मुलुकले आत्मसात् गरेको सङ्कल्पलाई मूर्तरुप प्रदान गर्न समेत राष्ट्रिय खनिज नीति, २०७४ को तर्जुमा र कार्यान्वयन अपरिहार्य हुन गएको । ५. रसुवा जिल्लामा रहेको जस्ता र सीसा खानी उद्योग लामो समयसम्म संचालन हुन नसकेकोमा यस उद्योगको संचालन गर्ने कम्पनी नेपाल मेटल कम्पनी लि. मा बैदेशिक लगानी आकर्षित गरी यस उद्योगलाई संचालनमा ल्याउने तयारी गरिएको छ । यसका लागि इच्छुक लगानीकर्ताको लगानी सुनिश्चितताको लागि वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवालाहरु निकायका प्रतिनिधि समेत राखी तयारी कार्य असारको पहिलो हप्ता भित्र वैदेशिक लगानी भित्राई सक्ने । ६. उद्योग क्षेत्रको विकास र प्रवद्र्धनका लागि पर्यटन र जलविद्युतका साथै पाँचवटा प्राथमिकता निर्धारण गरी अर्थतन्त्रमा यस क्षेत्रको योगदान बढाउने उद्देश्यका साथ कार्यक्रम संचालन गर्न आगामी आ.व. ०७४/७५ लाई आँखाको लेन्स उत्पादन बर्ष, आ.व. ०७५/७६ लाई छाला तथा गार्मेन्ट बर्ष, आ.व. ०७६/७७ लाई इलेक्ट्रिक भेइकल बर्ष, आ.व. ०७७/७८ लाई कृषि तथा वन्यजन्य उत्पादन तथा बजारिकण आ.व. ०७८/७९ लाई खानी तथा खनिज बर्र्ष घोषणा गरी तत् तत् क्षेत्रमा विशेष कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना तयार गरिएको । ७. राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रलाई प्रभावकारी बनाउने र औद्योगिक क्षेत्र व्यवस्थापन लि. सँग गाभ्ने प्रक्रिया यही साउन १ गते देखि अगाडि बढाइनेछ । ८. कुनै विशेष उद्योगहरुले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सो क्षेत्रमा जाने सार्वजनिक पूर्वाधारमा नेपाल सरकारबाट उद्योगको प्रकृति र लगानी, रोजगारीको स्थिति हेरी लगानी गरिनेछ । हाल छाला जुत्ताका व्यवसायी उद्योगले यस सम्बन्धी विशेष औद्योगिक क्षेत्र स्थापना गर्न इच्छा देखाएको छ । यसका लागि उक्त क्षेत्रमा पुग्ने पहुँच मार्ग निर्माणका लागि अर्थ मन्त्रालयसँग पहल भैरहेको । ९. ७५ वटै जिल्लाबाट प्रत्येक जिल्लाका एक–एक जना पर्ने गरी उत्कृष्ट महिला उद्यमी छान्ने कार्य अन्तिम चरणमा रहेको र यसै महिनाको अन्त सम्ममा एक समारोह आयोजना गरी पुरस्कार वितरण तथा सम्मान गरिनेछ । १०. नवलपरासीको धौवादी क्षेत्रमा रहेको फलाम खानीको उत्खनन्का लागि निजी क्षेत्रको सहभागितामा उत्खनन् सुरु गर्ने कार्यलाई अगाडी बढाईने । ११. नेपाल र चीन सरकारबीच क्रस बोडर सेज स्थापनाको समझदारी पत्रमा हस्ताक्षर भएको । नेपाल सरकारले हिमाल, तराई र उपत्यकामा विशेष आर्थिक क्षेत्र निर्माणको सन्दर्भ उठाएको ।
देवः र कैलाश विकास बैंकको टेण्डर सेयर बाँडफाँड, बजारमा २७०मा पाईने सेयरलाई ग्लोबल आईएमईले ३१६ रुपैयाँ हालेपछि खैलाबैला
काठमाडौं । देवः विकास बैंक र कैलाश विकास बैंक बढाबढ मूल्यमा बिक्री आह्वान गरेको सेयर शुक्रबार बाँडफाँड भएको छ । देव: विकास बैंकको सेयरका लागि प्रतिकित्ता २३४ रुपैयाँ बुझाउनेले सेयर पाएका छन् भने कैलाश विकास बैंकको सेयरका लागि प्रतिकित्ता ३३५ रुपैयाँ हाल्नेले पाएका छन् । देवः मा २३३ रुपैयाँमा आवेदन गर्नेले दामासाही सेयर पाउने छन् भने कैशालमा ३४४ रुपैयाँमा आवेदन गर्नेले दामासाही पाउने भएका छन् । देव: विकास बैंकको सेयरका लागि बढी हाल्नेले ३१६ रुपैयाँ ७१ पैसा सम्म हालेको छ । ग्लोवल आईएमई क्यापिटलले प्रतिकित्ता ३१६ रुपैयाँ ७१ पैसाको दरले ५ हजार कित्ता सेयर हालेको छ । यो बैंकको सेयर २५५ देखि २७० को बीचमा कारोबार भईरहेको छ । बजार मूल्य भन्दा प्रतिकित्ता ५० रुपैयाँ बढी किन हालियो ? टेण्डर खोल्ने एनआईवीएल क्यापिटल मार्केट्सको हलमा खचाखच मानिसहरुले जिब्रो टोक्दै प्रश्न गरे । ग्लोबल आईएमई म्यूचल फण्डको पैसा दुरुपयोग भएको आशंका समेत केहीले गरे । तर ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारशमणि ढकालले उक्त टेण्डर म्यूचल फण्डको पैसा नभई ग्लोबल आईएमई क्यापिटलको पेसा हालेकाे बताए । ‘कम्पनीले केही परिसूचक देखेर नै सो मूल्य हालेको हो । त्यसको कारण बताउन मिल्दैन’ ढकालले विकासन्युजसँग कुरा गर्दै भने । ग्लोबल आईएमई क्यापिटल ग्लोबल आईएमई बैंकको सहयाक कम्पनी हो ।
कागज बनाउन यसरी ढुवानी गरिँदै छ अम्रिसोको सिठा
काठमाडौं । इलामको इरौंटारबाट कागज बनाउनका लागि झापातर्फ अम्रिसोको सिठा ढुवानी गरिँदै । अम्रिसोको सिठा, फूल र घाँससमेत उपयोगी छ । रासस
रसुवागढी नाका पुनः सञ्चालनमा
रसुवा। स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार निर्वाचनको समयमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न समझदारीबाट सर्वसाधारण र सवारी साधन आवागमनमा चिनियाँ पक्षले रोक लगाएको थियो । सो नाका खुल्ला भएपछि बिहीबारदेखि सामान आयात निर्यात हुन थालिसकेको छ । आजसम्म सयौँ ट्रक र कन्टेनर सामान लिनका लागि रसुवागढीको मितेरी पुलबाट केरुङतर्फ गएका छन् । रासस
सिटिजन्स बैंकले शुरु गर्यो दमकबाट एटिएम सेवा, काठमाडौंको कमलादीमा पनि
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबारबाट आफ्नो दमक शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । साथै काठमाडौंको कमलादी स्थित बैंकको एटिएम स्थानान्तरण गरेको बैंकले जनाएको छ । उक्त दमक शाखाबाट एटिएम सेवा विस्तार पछि बैंकको कुल एटिएम संख्या ५८ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । हाल बैंकको उपत्यका भित्र २९ वटा तथा उपत्यका बाहिर २९ वटा एटिएम सञ्चालनमा रहेको छ ।
सेयर बजारमा दुई अर्ब ५८ करोड रुपैयाँको कारोबार, सबैभन्दा बढी बीमा कम्पनीको
काठमाडौं । यस साता सेयर बजारमा दुई अर्ब ५८ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको छ । सो रकम गत साताको भन्दा ७ दशमलब ९१ प्रतिशत घटि हो । गत साता बजारमा दुई अर्ब ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस साता जम्मा चार दिन खुलेको बजारमा १५५ कम्पनीहरुको ८३ लाख २६ हजार २२० कित्ता सेयर किनबेच भएका छन् । सो अवधिमा सबैभन्दा बढी बीमा कम्पनीहरुको सेयर कारोबार भएको छ । त्यस्तै, हिमाल जनरल इन्स्योरेन्स कम्पनीको एक करोड ८८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको १ करोड १३ लाख र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकम सँगै साताको नेप्से परिसूचक पनि ओरालो लागेको छ । परिसूचक पहिलो दिनको तुलनामा १५.३६ अंकले घटेर अन्तिम दिन १६४३.८७ अंकमा पुगेको छ । यसैगरी समूहगत परिसूचकहरुमा पनि उतारचढाव आएको छ । सबैभन्दा बढी उत्पादनमूलक समुहको परिसूचक ९८.६४ अंकले उकालो लागेको छ । त्यस्तै, होटल समूको परिसूचक २२ अंकले उकालो लागेको छ । बीमा, वाणिज्य बैंक र जलविद्युत समूहको परिसूचक क्रमशः ४३, २५ र १४ अंकले ओरालो लागेका छन् ।