विकासन्युज

डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमालेको जित

काठमाडौं । डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । काइकेमा एमालेका अंगत रानाले ९२० मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हुरा बुढाले जम्मा ८० मत मात्र प्राप्त गरेका छन् । उपाध्यक्षमा भने राप्रपाका कुञ्जन बुढा बिजयी भएका छन् । डोल्पाको से फोक्सुण्डो गाउँपालिकामा एमालेका टसी तुण्डुप गुरुङ यस अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

१९ मत कम भएपछि सिन्धुलीको दुधौली नगरपालिकामा मतगणना रोकियो

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकामा मतगणना कार्य अहिले रोकिएको छ । वडा नं २ मा खसेको मतभन्दा १९ मत कम भएपछि मतगणना कार्य रोकिएको हो । वडा नं २ मा हिजो एक हजार ८३० मत खसेकामा आज एक हजार ८११ मत मात्र भएपछि मतगणना कार्य रोकिएको दुधौलीका निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिए । मतदान अधिकृतले दिएको तथ्याङ्कभन्दा १९ मत कम भएपछि राजनीतिक दलहरु असन्तुष्ट बनेका छन् । दलहरुलाई सहमतिमा ल्याएर मतगणना चालु गर्ने प्रयास गरिएको भए पनि दलहरु सन्तुष्ट हुन सकेका छैनन् । दुधौलीमा आइतबार भएको मतदानमा खसेको २७ हजार ५५ मतमध्ये अहिले बन्डल बनाएर मतगणना गर्न खोज्दा २७ हजार ३६ मात्रै मत भएपछि राजनीतिक दलहरुले मतगणना गर्न नमानेको दुधौली नगरपालिकाका निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए । आज बिहान ११ः३० देखि मतगणना गर्न ५० वटाको बन्डल बनाउँदा १९ मत कम भएपछि राजनीतिक दलहरु असन्तुष्ट बनेको निर्वाचन अधिकृत खतिवडाको भनाइ छ । राजनीतिक दलहरुले मतगणना गर्न नमानेकाले मिलेसम्म मिलाउने र नभए सर्वपक्षीय बैठक बसेर निर्णय गर्ने मुख्य निर्वाचन अधिृकत पर्शुराम भट्टराईले जानकारी दिए । सिन्धुलीका अन्य स्थानमा मतगणना कार्य जारी छ । रासस

सानिमा बैंकले शुरु गर्यो अनलाईन आश्बा र डिम्याट खाता सेवा, कहाँ कहाँबाट पाइने?

काठमाडौं । सानिमा बैंक लिमिटेडले जेठ १ गते (सोमबार)बाट आफ्ना ग्राहकहरुलाई अनलाईन मार्फत शेयर आवेदन दिन सकिने सेवा शुरु गरेको छ । यो सेवा बैंकमा खाता हुने खातावालहरु र नयाँ खाता खोल्ने खातावालहरुले बैंकवाट ईन्टरनेट बैंकिङ्ग कारोबारको सुविधा लिई प्रयोग गर्न सकिनेछ । साथै, बैंकले डिम्याट खाता खाेल्ने सुबिधा बैंकको केन्द्रिय कार्यालय बाहेक सम्पूर्ण शाखा कार्यालयहरुबाट प्रदान गरिने बैंकले जनाएको छ ।

पोखरामा एमालेका मान बहादुर जिसीलाई अग्रता

काठमाडौं । पोखरा लेखनाथ महानगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । प्रारम्भिक मत परिणाम अनुसार एमालेका मान बहादुर जिसीले ७१ मत ल्याएका छन भने काँग्रेसका रामजी कुँवरले ४६ मत मात्रै ल्याएका छन् । पोखरामा काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।

चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरमा मतदान

काठमाडौं । सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । स्थानीय निकाय पुनःसंरचनापछि गठन भएका पोखरा लेखनाथ, ललितपुर, भरतपुरसहित काठमाडौं महानगरपालिकामा आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिता थियो । औसतमा महानगरपालिकामा कुल मतदातामध्ये ७५ प्रतिशतभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गरेको देखिन्छ । यो पहिलो चरणमा सम्पन्न निर्वाचनमा खसेको कुल मतप्रतिशतभन्दा बढी हो । पोखरा महानगरपालिकामा मतदाता सङ्ख्या एक लाख ६८ हजार ६७ रहेकामा एक लाख २४ हजार छ सय १४ अर्थात् ७५।७४ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो महानगरपालिकाका रुपमा रहेको सो महानगरपालिकामा कुल ३३ वडा निर्धारण भएका छन् । पोखरा महानगरपालिकाको जनसङ्ख्या चार लाख १४ हजार १४१ रहेको छ । तराई-मधेसको एक मात्र चितवनस्थित भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ५० हजार दुई सय ७४ मध्ये एक लाख १२ हजार सात सय ४१ मतदाताले मतदान गरेका थिए । यो मतदाता सङ्ख्याको ७५।०२ प्रतिशत हो । कुल २९ वडा रहेको सो महानगरपालिकामा जनसङ्ख्या दुई लाख ८० हजार पाँच सय दुई छ । मुलुकको पहिलो कामपामा मतदाता सङ्ख्या दुई लाख ७१ हजार दुई सय २१ रहेकामा निर्वाचनमा झन्डै ७० प्रतिशत मत अर्थात् करिब एक लाख ९० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अन्य महानगरपालिकाको तुलनामा कामपाका बासिन्दाले कम मतदान गरेको देखिएको छ । कुल ३२ वडा रहेको कामपामा कुल जनसङ्ख्या नौ लाख ७५ हजार ४६३ छ । ऐतिहासिक तथा पर्यटकीय महत्वको ललितपुर महानगरपालिकामा कुल एक लाख १२ हजार नौ सय २३ मतदातामध्ये सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँ ८९ हजार दुई सय १४ मत खसेको थियो । चार महानगरपालिकामध्ये सबैभन्दा बढी अर्थात् ७९ प्रतिशत हो । उनन्तीस वडा रहेको सो महानगरपालिकामा पछिल्लो जनगणनानुसार दुई लाख ८४ हजार नौ सय २२ जनसङ्ख्या छ । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन सम्पन्न भएका ३४ जिल्लाका दुई सय ८१ स्थानीय तहमा ७३ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ । चारै महानगरपालिकामध्ये ललितपुरमा आइतबार रातिदेखि र अन्यमा आजदेखि मतगणना सुरु भएको छ । रासस

काठमाडौं महानगरमा काँग्रेस/एमाले टक्कर, पछिपछि रञ्जु दर्शना

काठमाडौं । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । परिणाम अनुसार मेयरमा काँग्रेस राजुराज जाेशीले २३ मत पाएका छन् । एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्यले ३५ मत पाएका छन् । काँग्रेस र एमालेलाई पच्छाउदै साझा पाटीको उम्मेदवार किशोर थापाले २६ मत पाएका छन् भने विवेकशिलकी रञ्जु दर्शनाले २५ मत ल्याएकी छिन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १२ नं वडामा माओवादी केन्द्र विजयी

धुलिखेल । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएको छ । माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र नेकपा(एमाले)का लीलाराम मोक्तानले एक सय चार मत प्राप्त गरेका छन् । सो वडामा सात सय १७ मत खसेको थियो । त्यस्तै सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले दुई सय ९०, काँग्रेसका उम्मेदवारले दुई सय ५४ र एमालेका उम्मेदवारले एक सय २५ मत प्राप्त गरेका छन् । अहिले सो गाउँपालिकाको वडा नंं १० र ११ को मतगणना जारी छ । रासस

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र भोटेकोसी गाउँपालिकामा मतगणना शुरु

चौतारा । सिन्धुपाल्चोकका तीन नगरपालिका र नौ गाउँपालिकामध्ये मेलम्ची नगरपालिका र भोटेकोसी गाउँपालिकाको मतगणना शुरु भएको छ । मेलम्चीमा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार आइतराम तामाङले ९७, उपप्रमुखकी सविता गुरुङले ९९, नेकपा (एमाले)का प्रमुख उम्मेदवार डम्बर अर्यालले दुई सय ६९ र उपप्रमुख उम्मेदवार भगवती नेपालले दुई सय ७७, नेकपा (माओवादी केन्द्र)का प्रमुख उम्मेदवार श्याम खड्काले एक सय ८९ उपप्रमुख उम्मेदवार मुना ढकालले एक सय ४४ तथा राप्रपाका प्रमुख उम्मेदवार फणीन्द्रले एक सय १३ र उपप्रमुख उम्मेदवार कुमारी तामाङले एक सय २७ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी भोटेकोसी गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका साङ्बु शेर्पाले दुई सय ९८ र उपप्रमुख उम्मेदवार गेलुम लामाले दुई सय ७, एमालेका प्रमुख उम्मेदवार छिरिङ शेर्पाले एक सय नौ र उपप्रमुख उम्मेदवार सुन्तली तामाङले दुई सय २०, माओवादी केन्द्रका प्रमुख उम्मेदवार राजकुमार पौडेलले एक सय २८ र उपप्रमुख उम्मेदवार दाबुटी शेर्पाले एक सय १९ मत प्राप्त गरेका छन् । चौतारा साागाचोकगढी नगरपालिकाको मतगणना भर्खर सुरु गरिएको र अन्य स्थानको मतगणना केही समयपछि शुरु हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस