काठमाडौंमा बजार खोज्दै कर्णालीको खाद्यान्न, ५० रुपैंयाँ सस्तो बेच्दा पनि अर्ग्यानिक सिमी र फापरले बजार पाएन
काठमाडौं । के तपाईंलाई थाहा छ ? सरकारी स्वामित्वको खाद्य संस्थानले कर्णालीको अर्गानिक सिमी र तिते फापर बेच्ने गरेको छ । खाद्य संस्थानले बेच्ने खाद्यान्न बजार मुल्यभन्दा किलोमा पचास रुपैयाँ सस्तो छ । कर्णालीको कृषी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले खाद्य संस्थानले वार्षिकरुपमा कर्णालीबाट अर्गानिक खाद्यान्न खरिद गरेर काठमाडौंमा बिक्री गरिरहेको छ । यसपालीपनि सरकारले आगामी आर्थिक वर्षमा कर्णालीबाट एक करोड रुपैयाँ बराबरको खाद्यान्न खरिद तयारी गरेको छ । संस्थानका सूचना अधिकारी शंकर सापकोटाका अनुसार काठमाडौंको धान गोदामबाट प्रति किलो एक सय ५० रुपैयाँमा सिमी र ९० रुपैयाँ प्रति किलोमा फापरको बिक्री भइरहेको छ । उनले भने, ‘ आजभोली बजारमा अर्गानिक खाद्यान्नका नाममा महंगोमा तरकारी बिक्री भइरहेका छन्। तर हामीले बेच्ने सिमी र फापर कर्णालीको शुद्ध अर्गानिक खाद्यान्न हो । सिमी बजार मूल्यभन्दा पचास रुपैयाँ सस्तो र फापर तीस रुपैयाँ सस्तो पर्न आउँछ ।’ बजारको अभाव चालु आवमा संस्थानले झन्डै डेढ करोड रुपैयाँ खर्चेर ल्याएको आठ सय २० क्विन्टल सिमी र फापर पर्याप्त बजारीकरणको अभावमा धान गोदाममा थन्किएर बसेको छ । प्रचार प्रसारको अभाव र एक ठाँउबाट मात्र बिक्री भइरहेकाले कर्णालीको खाद्यान्न बिक्न नसकेको संस्थानका प्रमुख गोकुल धिताले बताए । पोहोर साल कर्णालीबाट आएको बठ सय २० क्विन्टल खाद्यान्न बिक्री नभएको उद्दृत गर्दै धितालले भने, ‘धेरैलाई संस्थानले सस्तोमा अर्गानिक खाद्यान्न बेच्छ भन्ने नै थाहा छैन । त्यसमाथी यहाँ बजारको पनि त्यतिकै अभाव छ । सबैजना धानगोदाममा धाएर अर्गानिक खाद्यान्न किन्न आउदैनन् ।’ चालु आवमा डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न खरिद गरेको संस्थान आगामी आवमा कम खरिद गर्ने भएको छ । यसपाली करिब एक करोड रुपैयाँ मात्र खरिद गर्ने तयारी रहेको सापकोटाले जानकारि दिए । बजारीकरणको प्रयास सिमित बिक्री कक्षका कारण खाद्यान्न बेच्न नसकिरहेको संस्थानले उपत्यकामा बिक्री कक्ष विस्तार गर्ने भएको छ । सापकोटाका अनुसार उपत्यकाका ६ वटा स्थानमा बिक्री कक्ष सञ्चालन गर्ने तयारी छ । उपत्यकामा संस्थानको दुईवटा स्थानमा मात्र डिपो छ – नखु र थापाथली, जसमध्ये थापाथलीमा बिक्री कक्ष छ । उनले भने, ‘हाम्रो एकै ठाँउमा मात्र बिक्री कक्ष भएकाले खाद्यान्न बिक्रीमा कठिनाई भइरहेको छ । अब उपत्यकाको कलंकीऽ सातदोबाटो, ललितपुर, भक्तपुर लगायतका ६ वटा स्थानहरुमा बिक्री कक्ष सञ्चालनका लागि सटर भाडामा लिँदै छौं ।’ घुम्ती सेवा लामो समयदेखि बन्द रहेको संस्थानको घर घरमा घुम्ती सेवा फेरि सञ्चालन मा आएको छ । जनशक्ती अभाव जस्ता विभिन्न कारणले बन्द रहेको घुम्ती सेवा बैशाखदेखि सूचारु भएको संस्थानका प्रमुख धितालले बताए । गत वर्ष घरैमा ट्रकमा संस्थानले सस्तोमा खाद्यान्न बिक्री गर्न ल्याएपछि यो सेवाले निकै लोकप्रियता पाएको थियो । तर उचित व्यवस्थापनको अभावका कारण बिचमा बन्द भएको धितालले बताए । उनले भने, ‘यो सेवा पुन सुचारु भएको करिब १०/१५ दिन भएको छ। ‘ तीनवटा गाडीका दरले खाद्यान्नको बिक्री भइरहेको सापकोटाले जानकारी दिए । उनका अनुसार एउटा गाडीबाट दैनिक तीन लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ।
भोट नदिएको भन्दै एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते
धादिङ । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ । पिलभन्ज्याङमा रहेको बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरिएको र त्रिपालसँगै जस्तापाताले समेत छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी सोही स्थानमा रगत लतपतिएको अवस्थामा भेटिएको छ । सोही घरसँगै रहेको रेशम चेपाङको पसल फोरेर सामान लुटिएको सोही गाउँका प्रदीप श्रेष्ठले जानकारी दिए । राति घटना भएपछि छिमेकीले प्रहरीलाई खबर गरेको तर प्रहरी घटनास्थलपुग्न ढिलाइ हुँदा गाउँवासीेले घटनास्थलको सुरक्षा गरेर राखेकोे र प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यायलले जानकारी दिएको छ । केही दिनदेखि लक्ष्मण चेपाङ र उनका भाइलाई भोट नहालेमा मार्ने धम्की आइरहेकाले सोही आधारमा हत्या भएको मृतकका भाइ लालबहादुर चेपाङले बताए । यसैगरी मतदान सकिएपछि नीलकण्ठ नगरपालिका–५ देयरालीमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा एमालेका ४२ वर्षीय राजेन्द्र थापामगर, २५ वर्षीय ललितबहादुर थापामगर र १९ वर्षीय गणेशबहादुर थापामगर र नेपाली काँग्रेसका २४ वर्षीय रामबहादुर थापामगर रहेका छन् । आइतबार मतदान सकिएपछि साँझ घर फर्किने क्रममा झडप भएको थियो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस
अब जलाशययुक्त आयोजना कम्तिमा ५० वर्ष टिक्नुपर्ने
अब निर्माण हुने जलाशययुक्त आयोजना कम्तिमा पनि ५० वर्ष टिक्नु पर्ने नियम बनेको छ । कतिपय जलाशयहरू निर्माण भएको छोटो अवधिमा भत्किने तथा ढुंगा, माटो तथा लेदो भरिने भएकाले यस्तो हुन नदिन जलाशय निर्माण हुनुपर्ने व्यवस्था गरिएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । नयाँ विद्युत खरिद सम्झौता (पीपीए) सम्बन्धी कार्यविधिमा जलाशय आयोजना निर्माण गर्न नयाँ व्यवस्था थपिएको हो । सरकार वा निजी क्षेत्र जुनसुकै क्षेत्रले अब जलाशय आयोजना निर्माण गर्दा जलाशय (डेड स्टोरेज भोलुम) कम्तिमा ५० वर्ष हुने गरी डिजाइन गर्नुपर्ने छ । सरकारको नियम विपरि अब जलाशययुक्त आयोजना निर्माण गर्न पाइने छैन । जलाशय आयोजनाहरू सयौं वर्ष टिकेपनि तर, ढुंगा माटो भने भरिने गरेको छ । अब बन्ने जलाशययुक्त आयोजनामा सेडिमेन्ट भरिनु भएन । मन्त्रालयका अनुसार अब निर्माण हुने जलाशय कम्तिमा ५० वर्ष टिक्नैपर्ने र ढुंगा, बालुवा तथा लेदो (सेडिमेन्ट) नभरिने गरी डिजाइन गरिएको हुनुपर्ने नियम बनाएका छौं,’ ऊर्जा मन्त्रालयका प्रव्रक्ता दिनेश घिमिरेले भने ‘दिगो ऊर्जा विकासलाई प्राथमिकतामा राख्दै यस्तो नियम बनाइएको हो । यो नियम यहि वैशाख १४ देखि कार्यान्वयनमा आएको हो । सरकार वा निजी क्षेत्र जोसुकैले अब जलाशय आयोजना निर्माण गर्दा जलाशय (डेड स्टोरेज भोलुम) कम्तिमा ५० वर्ष हुने गरी डिजाइन गर्नुपर्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
मनाङको नेस्याङ गाउँपालिकामा एमालेको प्यानलै विजयी
काठमाडौं । मनाङको नेस्याङ गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित सबै वडामा विजय हासिल गरेको छ । अन्तिम मतगणना अनुसार एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरी विजय भएका छन्र । उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेको निर्वाचन अधिकृत उद्वीर नेपालीले बताए ।
आधा दर्जन आयोजनाको डलरमा पीपीए हुँदै, जोखिम व्यहोर्नको लागि हेजिङ फण्ट
काठमाडौं । अब सरकारले एक सय मेगावाटभन्दा माथिका आयोजनाका लागि विदेशी मुद्रा (अमेरिकी डलर) मा विद्युत् खरिद सम्झौता गर्ने भएको छ । विद्युत् खरिद सम्झौता (पीपीए) सम्बन्धि कार्यविधिले एक सय मेगावाटभन्दा ठूला आयोजनाको पीपीए डलरमा हुने भएपछि वैदेशिक ऋण लगानी गर्नका लागि ढोका खुलेको छ । सरकारले डलरमा पीपीए गर्दा हुने जोखिम व्यवस्थापन गर्न हेजिङ फन्ड स्थापनाको प्रक्रिया सुरु गरेको छ । उक्त फन्डमा कति रहनेभन्दा पनि पीपीए गरिएका आयोजनामा आर्थिक नोक्सानी व्यहोर्नु पर्दा उक्त रकम सरकारले उपलब्ध गराउने छ । हेसिङ फन्टका लागि ऊर्जा मन्त्रालयले सरकारलाई अनुरोध गर्ने कार्यविधिमा उल्लेख गरिएको छ । सो कार्यविधि आएपछि करिब आधा दर्शन विद्युत् आयोजनाले डलरमा पीपीए गर्न प्रक्रिया अघि बढाएका छन् । नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारी अनुसार २ सय ८९ मेगावाटको माथिल्लो तमोर, २ सय ८२ मेगावाटको मनाङ मस्र्याङ्दी, २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१, १ सय ६३ मेगावाटको कालीगण्डकी कोबान, १ सय २० मेगावाटको रसुवा–भोटेकोसी र सय मेगावाटको सुपर त्रिशूलीले डलरमा पीपीए गर्ने प्रक्रिया अघि बढाएका हुन् । माथिल्लो त्रिशूली र रसुवा–भोटेकोसीलगायतका विद्युत् आयोजनाले मात्र डलर पीपीए गर्ने प्रस्ताव अघि बढाएका छन् । उक्त आयोजनामध्ये माथिल्लो त्रिशूलीको पीपीए सम्झौता अन्तिम चरणमा छ । सुपर त्रिशूली, कालीगण्डकी कोबान र रसुवा–भोटेकोसीको पिपिए प्रस्तावको प्राविधिक मूल्यांकन भइरहेको छ । प्राधिकरणको विद्युत मागबारे ‘भेरिफिकेसन’ गर्न बनेको समितिले तीन चरणमा छलफल गरेपछि मात्र डलर वा नेपाली रुपैयाँमध्ये कुनमा पीपीए गर्ने भन्ने टुङ्गो लाग्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताए । कुनै पनि आयोजना पीपीए गर्ने अवस्थामा पुग्नुभन्दा पहिला निश्चित शर्त तथा आधारहरू तोकिएको हुन्छ । आयोजनासँग विद्युत् उत्पादन क्षमता र वार्षिक विद्युत् उत्पादनलाई पीपीएको मुख्य आधार मानिन्छ । प्राविधिक मूल्यांकन र प्रसारण लाइन सम्झौता गरिसकेपछिमात्रै पीपीए प्रक्रिया अघि बढ्ने अधिकारीले बताए । विदेशी मुद्रामा पीपीए गर्दा अर्धजलाशयको छुट्टाछुट्टै दरभाउ तोकेको छ । सरकारले तोकेको दरमै गरिने प्रवक्ता अधिकारीले बताए । अर्धजलाशय (पिकिङ) आयोजनाको बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँदेखि १०.५५ रुपैयाँ निर्धारण गरिएको छ । हिउँदमा पिकिङ नगर्नेलाई प्रतियुनिट ८.४० रुपैयाँ र पिकिङ गर्ने आयोजनाको हकमा सोहीअनुसार पीपीए दर निर्धारण गरेको छ । यसैरीनै प्राधिकरणले जलाशय आयोजनाको बर्खामा प्रतियुनिट ६.०३५ रुपैयाँदेखि ७.१० रुपैयाँ र हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ पीपीए दर निर्धारण गरेको छ ।
ललितपुरको गोदावरी १ मा काँग्रेस, महाँकाल ६ मा एमाले विजयी
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाको अन्तिम मत परिणाम आएको छ । जसअनुसार गोदावरी नगरपालिका–१ वडाका वडाप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार हरिहर कार्की ८४८ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै महाँकाल गाउँपालिका–६ को प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार रामकृष्ण आचार्यसहित प्यानलनै विजयी भएको छ ।
ललितपुरमहानगरमा काँग्रेसको अग्रता, प्रतिस्पर्धामा एमाले
ललितपुर । ललितपुर महानगरपालिका–१ वडाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसले अग्रता लिएको छ । जारी मत गणनामा प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ३६७ मतका साथ अग्र स्थानमा रहेका भने नेकपा (एमाले)का हरिकृष्ण ब्यञ्जनकार ३०९ मतका साथ दोस्रो र नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जन ११२ मतका साथ तेस्रो स्थानमा रहेका छन् । आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनमा यहाँका सबै छ स्थानीय तह महानगरसहित दुई नगरपालिका र तीन वटै गाउँपालिकामा मतगणना जारी छ । गएराति १२ बजेबाट महानगरको १ वडाबाट मतगणना सुरु भएको थियो । उक्त वडामा दुई हजार ४६१ मतदाता रहेका छन् । जम्मा २९ वडा रहेको महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पदका गरी ६३४ जनाले उम्मेदवारी दिएका थिए । कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।
मनाङको चामेमा एमालेको पहिलो विजय, गाउँपालिका अध्यक्षमा घले
काठमाडौं । मनाङको सदरमुकाम चामे गाउँपालिकामा नेकपा(एमाले)का लोकेन्द्रवहादुर घले विजयी भएका छन् । उनी एमालेका तर्फबाट मनाङमा निर्वाचन जित्ने पहिलो उम्मेदवार बनेका हुन् । घलेले २१४ मत प्राप्त गरी चामे गाउँपालिकाको प्रमुख निर्वाचित भएका हुन् । घलेका प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी थिइन् । चामेको उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् ।