भूकम्प गएको दुई बर्ष पुरा, सरकार असफल पीडितको बास टहरामै
काठमाडौं । दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेतृत्व गरेका सरकारले पुनर्निर्माणका लागि ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेका छन् । चालु आर्थिक वर्षमा ३० अर्ब ५२ करोड रुपैयाँ र अघिल्लो आर्थिक वर्षमा चार अर्ब रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक विश्लेषण गर्दा भूकम्पपछिको पुनर्निर्माणमा सरकार असफल देखिएको छ । निजी आवास पुनर्निर्माणमा ९.५२ प्रतिशत, विद्यालय पुनर्निर्माणमा १४।४० प्रतिशत, स्वास्थ्य संस्था पुनर्निर्माणमा २१.५५ प्रतिशत, खानेपानी आयोजना पुनर्निर्माणमा ४।६८ प्रतिशत र पुरातात्विक सम्पदा पुनर्निर्माणमा १२ प्रतिशत मात्रै प्रगति देखिएको छ । प्राधिकरणलाई राष्ट्रिय योजना आयोगको महाशाखाका रूपमा सीमित गरिएका कारण पुनर्निर्माणले गति लिन नसकेको प्राधिकरणका अधिकारी स्विकार्छन् । पुनर्निर्माणमा शिथिलता आउनुमा प्राधिकरणका अधिकारी र सरकारी कर्मचारीबीच समन्वय अभावलाई मुख्य जिम्मेवार ठहर्याउने गरिएको छ । ‘लक्ष्य पूरा गर्न सकेका छैनौं’, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा स्विकार्नुभयो, ‘प्राधिकरणले नीति, बजेट र कार्यक्रम मात्रै बनाउँछ, समन्वयको चुनौती देखिएको छ ।’ निर्वाचन मिति घोषणासँगै ग्रामीण क्षेत्रका कर्मचारीलाई निर्वाचन आयोगका काममा परिचालन गरिएपछि पुनर्निर्माणको काममा थप शिथिलता आएको छ । एक वर्ष म्याद थप्नसक्ने व्यवस्थासहित पाँच वर्षका लागि गठन गरिएको प्राधिकरणका कार्यकारी अधिकृत पोखरेलले भन्नुभयो, ‘हामी ढिलो भएका छौं, जनशक्ति परिचालनसहितका उपाय खोजिरहेका छौं ।’ पोखरेलले ४० प्रतिशत भूकम्पपीडितले घर बनाएको दाबी गरे पनि सरकारले पहिचान गरेका पीडितको विश्लेषण गर्दा त्यो तथ्यांक सही सावित हुने देखिँदैन । सरकारले ३१ जिल्लामा सात लाख १७ हजार दुई सय ५१ भूकम्पपीडित पहिचान गरेको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा अनुदान सम्झौता गर्नेको संख्या पाँच लाख ६२ हजार दुई सय ७८ छ भने पहिलो किस्ताको रकम लिने पाँच लाख ४३ हजार ६ सय ६ जना मात्रै छन् । तीमध्ये घर निर्माण गर्न थाल्ने ४९ हजार ६ सय ८१ जना मात्रै छन् । घर निर्माण गर्न थालेकामध्ये ३४ हजार दुई सय ९४ जनाले दोस्रो किस्ताका लागि निवेदन दिएका छन् । तीमध्ये १४ हजार पाँच सय ५७ जना दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण भएका छन् । आफैं घर निर्माण गर्ने भूकम्पपीडितको संख्या १८ हजार ६ सय ३३ छ । जनशक्ति अभाव, ग्रामीण क्षेत्रमा अनुपयुक्त घरका डिजाइन, विकट ग्रामीण क्षेत्रमा प्राविधिक र कर्मचारी नपुग्नु, सरकारले दिएको अनुदानले घर बनाउन अपर्याप्त हुनु, थप रकम जुटाउन ऋणको सहज व्यवस्थापन नहुनु, पैसा कमाउन घरधनी स्वयं विदेश वा सहर पस्नुजस्ता कारणले अनुदान सम्झौता गरेर पहिलो किस्ताको रकम लिएकाले पनि घर निर्माण थालेको देखिँदैन । एक सय ३३ वटा पूर्ण क्षति र ६ सय १७ वटा आंशिक क्षति भएका पुरातात्विक सम्पदामध्ये बौद्धनाथ क्षेत्रबाहेक अन्यको पुनर्निर्माण पूरा भएको छैन । पाटन दरबार क्षेत्रका २८ वटा, वसन्तपुर दरबार क्षेत्रका १२ वटा, भक्तपुर दरबार क्षेत्रका १९ वटा, स्वयम्भू क्षेत्रका चारवटा, पशुपति क्षेत्रका २१ वटा, चाँगुनारायण परिसरका पाँचवटा सम्पदा पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ । अन्नपूर्ण पोस्टबाट ।
काठमाडौं महानगरपालिकाले थाल्यो सडक पखाल्ने अभियान, महानगर प्रमुख भन्छन्–‘काठमाडौंमा नो हर्न, नो डस्ट’ अभियान सँगसँगै
काठमाडौं । काठमाडौंका सडकमा भएको धुलोका कारण उत्पन्न वायु प्रदुषण नियन्त्रण गर्न महानगरपालिकाले आज (बैशाख ११ गते) राती ९ बजेदेखि सडक पखाल्ने भएको छ । महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत ईश्वरराज पौडेलले आज राती साढे ९ बजेबाट धुलो पखाल्ने अभियानको शुरुवात गर्दैछन् । ‘आज राती ९ः३० बजेबाट सडक पखाल्ने काम शुरु गर्दैछौं’ प्रमुख कार्यकारी अधिकृत पौडेलले विकासन्युजसँग भने–‘अब हरेक दिन राती ९ बजेदेखि १२ वर्षसम्म सडकको धुलो र फोहोर पखाल्ने अभियान चलाउने छौं ।’ कार्यक्रमको पहिलो तीन दिन आफै उपस्थित भएर सडक पखाल्ने र तीन दिनको अनुभवका आधारमा निश्चित कार्ययोजना बनाएर निरन्तर सडक सफा बनाउने अभियान चलाउने उनले बताए । आज ४ वटा पानी ट्याङकर र २ वटा दमकल परिचालन गरि सडक पखाल्न शुरु गरिने छ । ‘एउटा पानी ट्याङकरले कति किलोमिटर पखाल्छ, दमकलले कति किलोमिटर पखाल्छ, आफैले हेर्छु । त्यसको आधारमा कार्ययोजना बनाएर अनुगमन गर्छु’ पौडेलले भने । उनका अनुसार शुरुमा चक्रपथभित्र मेलम्चीको खानेपानी पाईप विछ्याउने खनिएका बाहेकका सडक पखालिने छ । क्षमताअनुसार नियमित कार्यतालिका बनाएर सडक पखाल्ने काम हुनेछ । मेलम्चीको खानेपानी पाईप विछ्याइएका सडकमा धुलो कम गर्न हरेक दिन विहान पानी हालिनेछ । त्यस्तै, महानगरभित्र घर निर्माण गर्न जम्मा गरिएको निर्माण सामाग्री हटाउने, महानगरभित्रका सबै सडकमा रहेका खाल्टाखुल्टी पुर्ने, पिच गर्ने काम पनि अभियान कै रुपमा थालिएको उनले बताए । ‘काठमाडौंमा नो हर्न अभियान धेरै सफल भएको छ, अब नो डस्ट (धूलो मूक्त) बनाउने प्रयास हुन्छ । यसलाई सफल बनाउनुपर्छ’ उनले भने–‘सडकलाई धूलो मुक्त बनाउन र सहरलाई ग्रिनरी (हरियाली) बनाउन महानगरपलिकाले नागरिकस्तरमा अभियान चलाउनेछ ।’
सिभिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ नियुक्त
काठमाडौं । सिभिल बैंकले कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोबिन्द गुरुङलाई नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको दोस्रो कार्यकाल आगामी साउन १२ गतेबाट सकिने र तेस्रो कार्यकालका लागि महर्जनलाई नियुक्त हुन अदालतको फैसला बाधक हुने भएपछि बैंकले उनलाई विदा गर्ने भएको छ । महर्जन सिभिल बैंकको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । त्रिभुवन विश्वविद्यालयबाट २०४९ सालमा एमबीए गरेका गुरुङसँग २१ बैंक विभिन्न बैंकमा काम गरेको अनुभव छ । कामु सीईओ गुरुङ विगत साढे चार वर्षदेखि सिभिल बैंकमा कार्यरत छन् । उनले यसअघि मेघा बैंकमा साढे २ वर्ष, ग्लोबल बैंकमा साढे तीन वर्ष र हिमालयन बैंकमा ११ वर्ष काम गरेका थिए । साउनपछि गुरुङनै सो बैंकको प्रमुख कार्यकारी अधिकृत हुने सम्भावना रहेको छ । साउन १२ गतेसम्म किशोर महर्जनको कार्यकाल बाँकी नै भएपनि उनी महत्वपूर्ण निर्णयमा सहभागी हुने छैनन् । जिम्मेवारी हस्तान्तरणको कामले कार्यलय गएपनि महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्ने छैनन् ।
सिद्धार्थ डेभलपमेन्ट बैंकमा फेरी चुनाव हुने, जेठ १२ गते विशेष साधारणसभा
काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकको सञ्चालक समितिको लागि पुनः निर्वाचन हुने भएको छ । मंसिर २४ सम्पन्न साधारणसभाले चयन गरेको सञ्चालक समितिलाई कम्पनी रजिष्ट्रारको कार्यालयले मान्यता नदिएपछि सञ्चालक समितिको निर्वाचन फेरी हुन लागेको हो । मंसिर २४ गते सम्पन्न साधारणसभामा गणपुरक संख्या नै नपुगेको भन्दै असन्तुष्ट पक्षले कम्पनी रजिष्ट्रारको कार्यालयमा पुन साधारणसभाको माग गरेका थिए । असन्तुष्ट पक्षको माग उचित रहेको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयले पुन साधारसभा गर्न बैंकलाई निर्देशन दिएको छ । ‘मंसिरमा सम्पन्न भएको साधारणसभाको प्रक्रिया नमिलेको भन्दै केही सेयरधनीबाट उजुरी आएपछि हामीले दुबै पक्षलाई बोलाएर पुन साधारणसभा गर्न भनेका छौं । जेठ १२ गते साधारणसभा गर्ने विषयमा दुबै पक्षबीच सहमति भएको छ’ रजिष्ट्रार प्रेमकुमार श्रेष्ठले विकासन्युजसँग भने ‘साधारणसभा भएपछि त्यहा सबै सेयरधनी सहभागी हुन सक्छन्, सबै विषयमा छलफल हुनसक्छ, विधि र प्रक्रियाअनुसार गर्नु पर्ने निर्णय सबै त्यहीबाट हुन्छ ।’ जेठ १२ गतेको लागि विशेष साधारणसभा गर्ने सहमति भएको बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए । विशेष साधारणसभामा सञ्चालन समितिको निर्वाचन र जनता बैंक नेपालसँग गाभिने विशेष प्रस्तावको रुपमा पेश गरिने उनले बताए । मंसिरमा सम्पन्न १७ औं वार्षिक साधारणसभाले गरेको अरु निर्णय यथावत रहने र सञ्चालक समितिको निर्वाचन पुन गरिने उनले जानकारी दिए । मंसिरमा सम्पन्न साधारणसभाले रामबहादुर भण्डारी, खेमराज पन्त, रतनलाल अग्रवाल, बद्री खनाल, मिलन कुमार कार्की र रबिनमान अमात्य सञ्चालक बनाएको थियो । भण्डारी, पन्त, खनाल र कार्की निर्वाचन अघि पनि सोही बैंकमा सञ्चालक थिए । रतनलाल अग्रवाल र रबिनमान अमात्य नयाँ सञ्चालक भएका थिए । पहिलाको सञ्चालक धुब्रप्रसाद ढकाल र शंकर ज्ञवाली बाहिरीएका थिए । जनता बैंकमा गभिएको अवस्थामा अब बन्ने सञ्चालक समिति करिव ढेड महिना रहनेछ । दुबै बैंकले असार मसान्तसम्म गाम्ने गाभिने कार्य सम्मन्न गर्ने उदेश्यका साथ काम गरिरहेका छन् ।
लोकतन्त्र दिवसमा महेश जल सेवा आरम्भ
काठमाडौं । नेपालमा बसोबास गर्ने माहेश्वरी समुदायको प्रतिनिधी मुलक संस्था नेपाल माहेश्वरी परिषदले लोकतन्त्र दिवसको अवसर पारेर महेश जल सेवा कार्यक्रम सुरु गरेको छ । गर्मी समयमा सर्वसाधारणहरुलाई खानेपानीको अभाव नहोस भन्ने उदेश्यसहित परिषदले काठमाडौंसहित देशका प्रमुख शहरहरुमा जल सेवा आरम्भ गरेको अध्यक्ष जयकिशन सारडाले बताए । अध्यक्ष सारडाका अनुसार परिषदले सोमबारदेखि नै काठमाडौं हुँदै मेचि, सुनसरी, बिराटनगर, सप्तरी, बिरगञ्ज, हेटौँडा, नारायणगढ, भैरहवा, नेपालगञ्ज र धनगढीमा जल सेवा आरम्भ गरेको हो । परिषदले सर्वसाधारणहरुको बढि आवतजावत हुने ठाउँमा निःशुल्क सुद्ध खानेपानी उपलब्ध गराउनेछ । सो कार्यक्रमको सुभारम्भ सोमबार काठमाडौंको ज्ञानेश्वरबाट गरिएको थियो । चाँडै देशका २० शहरहरुमा जल सेवा विस्तार गर्ने योजना रहेको पनि अध्यक्ष सारडाले बताए । परिषदले जल सेवा सञ्चालन गरेकै क्षेत्रमा रक्तदान कार्यक्रम पनि आयोजना गर्ने बताएको छ । पानी नै जिवन हो भन्ने मुल नारालाई सार्थक बनाउन भन्दै जल सेवा कार्यक्रमलाई व्यापक बनाउँदै लैजाने कार्यक्रम रहेको पनि उनले जानकारी दिए । नेपालमा ८ सय माहेश्वर परिवारको ४ जनसंख्या रहेको छ । विश्वभर माहेश्वरीहरुको जनसंख्या ११ लाख मात्रै रहेको छ । माहेश्वरी समुदायलाई मारवाडी समुदाय भित्रको अल्प संख्या समुदाय मानिन्छ ।
भूकम्पको २ बर्षः कति बने जनताका घर ? कति ठडिए पुरातात्विक संरचना ?
काठमाडौं । भूकम्प गएको २ बर्ष पुरा हुनु एक दिन अघि पुननिर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले प्रगति विवरण सार्वजनिक गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोबिन्द्र पोखरेलको उपस्थितिमा हालसम्मको पुननिर्माणको प्रगति विवरण सार्वजनिक गरिएको हो । जस अनुसार ६ लाख २६ हजार, ६ सय ९५ परिवारलाई लाभग्राही सूचिमा समावेश गरिएको छ । तीमध्ये पाँच लाख ६२ हजार २ सय ७८ परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ भने ५ लाख ४३ हजार ६ सय ६ परिवारले पहिलो किस्ताको ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । ४९ हजार ६ सय ८१ परिवारले घर बनाउन आरम्भ गरेका छन भने ३४ हजार २ सय ९४ परिवारले दोश्रो किस्ताका लागि निवेदन दिएका छन् । तीमध्ये १४ हजार ५ सय ५७ परिवारको घर दोश्रो किस्ताका लागि प्रमाणिकरण गरिसकिएको छ । नागरिक आफैंले १८ हजार ६ सय ३३ वटा घर बनाईसकेका छन् । विश्व सम्पदा सूचिमा समावेश भएका ९० वटा संरचनामध्ये बौद्धनाथको स्तुपाको मात्रै पुननिर्माण सम्पन्न भएको छ । बाँकी ८९ वटा सम्पदाको पुननिर्माण अघि बढिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । विश्व सम्पदा सूचिमा रहेका पाटन दरबार स्क्वायरका २८, बसन्तपुरका १२, भक्तपुरका १९, स्वयम्भुका ४, पशुपतिका २१ र चाँगुनारायणका ५ सम्पदाको निर्माण भैरहेको छ । ऐतिहासिक महत्वका अन्य २० वटा सम्पदाको पनि पुननिर्माण सम्पन्न भएको छ । भूकम्पले १३३ वटा ऐतिहासिक सम्पदामा पुर्ण क्षति पुर्याएको थियो भने ६१७ वटामा आंशिक क्षति पुर्याएको थियो । हालसम्म बिभिन्न गैर सरकारी संस्थाहरुको सहयोगमा ११४२ वटा विद्यालय भवनहरुको पुननिर्माण सकिएको छ भने १०५१ वटाको पुननिर्माण धमाधम अघि बढिरहेको छ । भूकम्पले भत्काएका ४४० वटा स्वास्थ्य संस्थामध्ये २०० वटा संस्थाको पुननिर्माण सम्पन्न भएको छ । जोखिमयुक्त बस्तीका रुपमा प्रारम्भिक पहिचान गरिएका ४७५ वटा बस्तीमध्ये ३१७ वटाको भौगर्भिक अध्ययन सम्पन्न भएको छ । १५८ वटा बस्तीको भौगर्भिक अध्ययन जारी रहेको छ । अध्ययन सम्पन्न भएका बस्तीमध्ये १११ वस्ती सार्नुपर्ने अवस्थामा रहेका छन् । हामी पास मात्रै भयौंः पोखरेल भूकम्प गएको २ बर्षसम्म पनि पुर्ननिर्माणको कामले अपेक्षाकृत गति लिन नसकेको स्विकार गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्राधिकरण पास मात्रै भएको बताए । ‘आफैंले आफैलाई कसरी फेल भन्नु ? हामी बल्लतल्ल पाससम्म भएका छौं’, पोखरेलले भने । उनले गाउँमा घर बनाउने जनशक्तिको चरम अभाव रहेको बताएका थिए ।
भोली काँग्रेसको घोषणा पत्र आउँदै, के ल्याउँदैछ काँग्रेसले स्थानिय तहका लागि ?
काठमाडौं । नेपाली कांग्रेसले मंगलबार स्थानिय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । काँग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपाबाट आसन्न निर्वाचनका लागि आफ्नो घोषणा पत्र सार्वजनिक गर्न लागेको हो । पार्टी सभापति शेर बहादुर देउवाले घोषणा पत्र सार्वजनिक गर्नेछन् । काँग्रेसले अपरान्ह३ बजे भब्य कार्यक्रम मार्फत स्थानिय तहको निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन अपिल गर्दै घोषणा पत्र सार्वजनिक गर्न लागेको काँग्रेसका मुख्य सपिच कृष्ण प्रसाद पौडेलले जानकारी दिएका हुन् ।
शाइन रेसुङ्गा र स्वाभलम्बनको ३४ लाख कित्ता बोनस सेयर सूचिकृत, कसमस र साहाराको प्रमोटर सेयर साधारणमा परिणत
काठमाडौं । सोमबार ३४ लाख ११ हजार ६८२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको २३ लाख ४४ हजार ७३२ कित्ता सेयर सोमबार नेप्सेमा सूचिकृत भएको हो । त्यस्तै स्वाभलम्बन लघुवित्त विकास बैंकको १० लाख ६६ हजार ९५० कित्ता बोनस सेयर सूचिकृत भएको छ । कसमस डेभलपमेन्ट बैंकको १ लाख १ हजार २४८ कित्ता प्रमोटर सेयर साधारण सेयरमा परिणत भएको छ । त्यस्तै साहारा विकास बैंकको १ लाख ३८ हजार ६९० कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत गरिएको छ । त्यस्तै, गोर्खा फाइनान्सले हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि बैशाख २० गते बुक क्लोज गर्ने भएको छ । यस फाइनान्सले २ बराबर १ हकप्रद सेयर निष्काशन गर्दैछ ।