विकासन्युज

म्याग्दीकाे नारच्याङ गाउँमा १० वटा जलविद्युत् आयोजना बन्दै, २९० मेगावट विजुली उत्पादन हुने

म्याग्दी । कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना भित्रिएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने नारच्याङ दर्जनौँ हिमशृङ्खला, मगर समुदायको कला र संस्कृति, नारच्याङ छहरासँगै अन्नपूर्ण प्रथमको आधार शिविर रहेका कारण पर्यटकीय गाविसका रुपमा चिनिँदै आएको यो गाउँमा अब जलविद्युत् आयोजना भित्रिएसँगै ‘हाइड्रो भिलेज’का रुपमा चिनिन थालेको छ । नारच्याङमा विसं २०४३ मा निर्माण सुरु भएर २०४४ सालदेखि जिल्लामै पहिलो पटक विद्युत् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जिल्लामै जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो । जलस्रोतको अथाह भण्डार भएको यस गाउँमा निर्माण सम्पन्न भएको एक आयोजनासहित १० वटा जलविद्युत् आयोजना भित्रिएको नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङले बताए । अन्नपूर्ण दक्षिणबाट बग्ने घलेम्दी, नीलगिरि हिमालबाट बाग्ने नीलगिरि अर्थात् मिस्ती र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत् उत्पादनका लागि अहिलेसम्म नारच्याङमा मात्रै करिब दुई सय ९० मेगावाट क्षमताका १० वटा जलविद्युत् आयोजना दर्ता भइसकेका छन् । “अहिले गाउँमा भित्रिएका जलविद्युत् आयोजना निर्माण चरणमा प्रवेश गरेका छन्, यसले छिट्टै यस नारच्याङलाई ‘हाइड्रो भिलेज’मा परिणत गराउने सम्भावना बढेको छ,” जलसरोकार समितिका सदस्य गुरुङले भने ।  अहिले गाउँमा भित्रिएका जलविद्युत् आयोजनामध्ये पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्तीखोला आयोजनाले धमाधम पूर्वाधार निर्माण गरिरहेका छन् । त्यसैगरी, ३८ मेगावाटको नीलगिरि, ६२ मेगावाटको नीलगिरि क्यास्केट, १० मेगावाटको रेले खोला जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम सकेको नारच्याङ जलसरोकार समितिले जनाएको छ । नारच्याङमा १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो र ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएर इआइएको चरणमा रहेका छन् । अनुमतिपत्र खारेजीमा परेको एक सय ६५ मेगावाट क्षमताको कालीगण्डकी गर्जको विस्तृत सर्भेक्षणको काम सकिएको र करिब तीन सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकिएकाले उक्त आयोजनासमेत लगानीकर्ताको खोजीमा रहेको बुझिएको छ । जलविद्युत् आयोजनाको आगमनसँगै गाउँको सामाजिक र भौतिक पूर्वाधार विकासले समेत गति लिएको अनुभव गरिँदै छ । कालीगण्डकी, म्याग्दी र राहुघाट नदीका साथै अन्य सहायक खोलानालालाई विद्युत्का लागि उपयोग गर्दै सिङ्गो जिल्लालाई मुलुककै ‘हाइड्रो हब’ बनाउने सङ्कल्प यहाँका स्थानीय निकाय र जनताले गरिसकेका छन् । नारच्याङमा दर्ता भएका जलविद्युत् आयोजनाले अहिले धमाधम काम गर्न थालेपछि जिल्लाभर यसले सकारात्मक सञ्चार गराएको छ । स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सय २० केभी क्षमताको सबस्टेसन तथा ३८ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरिएपछि जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएका हुन् । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सबस्टेसनको अभावमा यसअघि अनुमति लिएर लामो समयदेखि आयोजना दर्तामै थन्किनु परेको थियो । जलविद्युत् आयोजनाको ‘हब’ रहेको करिब चार सय ८० घरधुरीको बसोबास रहेको नारच्याङमा अहिले सर्वसाधारण नागरिक फुर्सदमा देखिन छाडेका छन् । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेकोे घलेम्दीखोला जलविद्युत् आयोजनामा अहिले करिब ९० जनाभन्दा बढी स्थानीयवासीले रोजगारी पाएका छन् । आयोजनाको सुरुङ मार्ग, बाँध निर्माणलगायत आयोजनाका लागि आवश्यक पर्ने जनशक्ति स्थानीयस्तरमा उपलब्ध भए उनीहरुलाई नै अवसर दिने नीतिले समेत नारच्याङमा स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना भइरहेका छन् । यस गाउँबाट रोजगारीका लागि गाउँमा अवसर नपाएर बिदेसिनुपर्ने बाध्यताको अन्त्य भएको छ । घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजालले आयोजनामा सीप नभएकालाई पनि अन्य व्यक्तिबाट सीप सिकेर क्षमताअनुसारको काम गर्ने अवसर दिइएको बताए । नारच्याङ गाविसका जनताले आयोजनामा करिब रु एक करोडको सेयर लगानी पनि गरेका छन् । उपल्लो नारच्याङको लेकगाउँका अधिकांश घरधुरीबाट आयोजनामा लगानी भएको छ । नारच्याङमा घलेम्दीसँगै रोबस्ट इनर्जी कम्पनीले निर्माण गर्न लागेको ४२ मेगावाट क्षमताको मिस्तीखोला जलविद्युत् आयोजनासमेत निर्माण चरणमा प्रवेश गरेपछि नारच्याङमा जलविद्युत् आयोजनाको चहलपहल झनै बढेको छ । आयोजनामा काम गर्ने कामदार र लगानीकर्ताको आवतजावत यहाँ बढ्न थालेको छ । जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि सडक, पुल लगायतका भौतिक विकास निर्माणलाई समेत अगाडि बढाइँदा यसले स्थानीयवासीलाई प्रत्यक्षरुपमा सहजता समेत प्रदान गरेको छ । जलविद्युत् आयोजनाले स्थानीयवासीलाई रोजगारी र लगानीका अवसर सिर्जना गर्ने तथा दीर्घकालीनरुपमा समेत यसले गाउँको विकासमा सघाउने भएकाले स्थानीयस्तरबाट समेत जलविद्युत्को विकासका लागि आवश्यक वातावरण तयार गर्ने काम भइरहेको स्थानीय युवा अर्जुन मगर बताउछन् । नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले रोजगारी र लगानीको अवसर मात्रै नभई स्थानीय विद्यालयको निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउने, विकास निर्माणका पूर्वाधार निर्माण गर्नेजस्ता सामाजिक काममा गाउँलेलाई प्रत्यक्ष राहत मिलेको छ । रासस

स्वास्थ्य कोषबाट अनुदान माग गर्दै मन्त्रालयमा २७३ वटा एनजीओ निवेदन

काठमाडौं । स्वास्थ्य कर कोषबाट धूमपान तथा सुर्तीजन्य पदार्थ प्रयोगबाट उत्पन्न हुने रोग नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि अनुदान माग गर्दै दुई सय ७३ गैरसरकारी अस्पताल र संस्थाले स्वास्थ्य मन्त्रालयमा निवदेन दर्ता गराएका छन् । मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालयले गत फागुन ६ गते कर कोष रु चार करोड रकमका लागि गैरसरकारी संस्थाबाट मापदण्ड पूरा गरी निवेदन पेस गर्न सूचना निकालेको थियो । मन्त्रालयका कानुन उपसचिव शम्भुराम रेग्मीले परेका निवेदनमध्ये मापदण्ड पूरा नगरेका निवेदन मूल्याङ्कनमै नजाने र मूल्याङ्कनयोग्य भएका संस्थाले प्राप्त अङ्कका आधारमा रकम पाउने बताए । रकम दाबी गरी पेस गरिएको निवेदनमा संस्था दर्ताको प्रमाणपत्र, नवीकरणको प्रमाणपत्र, संस्थाको विधान÷उद्देश्य र अघिल्लो आवको करचुक्ता प्रमाणपत्र अनिवार्य रुपमा पेस गरेको हुनुपर्ने रेग्मीले जानकारी दिए । सचिवालयले मूल्याङकन उपसमिति पनि गठन गरेको छ । उपसमितिमा उपसचिव रेग्मी, मन्त्रालयका लेखा अधिकृत सुरेश शर्मा र स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका प्रमुख छन् । लेखा अधिकृत शर्माले छिट्टै मूल्याङ्कनको काम सुरु गरिने जानकारी दिए । कम्तीमा ४० अङ्क प्राप्त गर्ने संस्था अनुदान पाउनयोग्य हुने छ । सरकारले जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने उद्देश्यले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ तथा सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) नियमावली र निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याएको छ ।

जेठ २४ र २५ गते युवा उद्यमी सम्मेलन हुने, युवा उद्यमीलाई सहभागी हुन मन्त्रालयको आह्वान

काठमाडौं । विशेष गरी युवा वर्गलाई लक्षित गरी उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान संचालन गर्ने उद्धेश्यले उद्योग मन्त्रालयले आगामी जेठ २४ र २५ गते काठमाडौंमा उद्यमशीलता सम्वन्धि सम्मेलन ‘स्टार्ट आप समिट’ आयोजना गर्न गईरहेको छ । देशभरका ७५ जिल्लाबाट ३०० जना युवाहरुको सहभागिता रहने सो सम्मेलनमा स्रोत व्यक्तिका रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सफल य्ुवा उद्यमीहकौ संलग्नता रहने उद्योग मन्त्रालयले जनाएको छ । विदेशबाट आउने श्रोत व्यक्तिहरुले ती देशहरुमा रहेको उद्यमशीलता सम्वन्धि अभ्यासका बारेमा आ—आफ्नो अनुभव साट्नुका साथै नेपालमा उद्यमशीलताको सम्भाव्यताका बारेमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ । विश्व अर्थतन्त्रमा उद्यमशीलताको क्षेत्रमा देखिएको प्रवृत्तिलाई आत्मसाथ गर्दै सँगसँगै अगाडी बढ्न नेपालमा पहिलो पटक राष्ट्रिय ‘स्टार्ट अप’ सम्मेलनको आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ । सम्मेलनका पाँच वटा उदेश्य रहेको छ । त्यसमा उद्यमशीलताको विकासमा विभिन्न सरकारी निकायहरुलाई संलग्न  गराउने, उद्यमशीलताको लागि आवश्यक वातावरण बनाउने,  उद्यमशीलता विकासमा संलग्न सबै सरोकारवालाहरुलाई एउटै मञ्चमा समेट्ने, देशभरी उद्यमशीलता विकासमा भएको प्रगति सम्वन्धि पूर्ण जानकारी, उपलब्ध सेवा र अवसरहरु प्रस्तुत गर्ने, राज्यको तर्फबाट रहेको उद्यमशीलता सम्वन्धि नीतिगत धारणामा स्पष्टता ल्याउने रहेको छ । ‘कुनै पनि राष्ट्रको आर्थिक प्रगतिका लागि उद्यमशीलता अपरिहार्य रहेको छ । अबको प्रतिष्पर्धी विश्वमा हामीले अपनाउने उद्यमशीलताको सोचमा पनि नयाँ आयाम र अवधारणा आवश्यक छ त्यसैले यो सम्मेलन नेपाली युवा उद्यमीहरुका लागि निकै महत्वपूर्ण हुनेछ भन्ने हाम्रो अपेक्षा हो’ मन्त्रालयले जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । उद्योग मन्त्रालयले अहिले युवा उद्यमशीलताको विकासका लागि स्टार्ट अप कमिटी बनाएर कार्यक्रमहरु अगाडी बढाईरहेको छ । नेपाल स्टार्ट अप समिट २०१७ को मूल नारा ’समृद्धिको रहर उद्यमशीलताको नयाँ प्रहर’ भन्ने रहेको छ ।  उद्योग मन्त्रालयको आयोजनामा हुन लागेको सो सम्मेलानमा नेपाल उद्यमी मञ्च, नेपाल उद्योग वाणिज्य महासैघ, नेपाल उद्योग परिसंघ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र नेपाल घरेलु तथा साना उद्योग महासँघ सायोगी संस्थाका रुपमा रहने मन्त्रालयले जनाएको छ ।

मुलुकभर स्मार्ट पेट्रोल पम्पलाई लाईसेन्स वितरण गरिदै, एक सातामा नै ७२ वटा आवेदन

काठमाडौं । नेपाल आयल निगमले मुलुकभर स्मार्ट पेट्रोल पम्प विस्तार गर्ने तयारी गरेको छ । उपभोक्तालाई आफ्नो मूल्य अनुसारको पेट्रोल उपलब्ध गराउन निगमले नयाँ प्रविधि युक्त पम्प जडान गर्न लागेको हो । परम्परागत पेट्रोल पम्पका कारण उपभोक्ता ठगिने क्रमलाई रोक्न सरकारले नयाँ प्रविधि युक्त स्मार्ट पेट्रोल पम्प जडान गर्ने तयारी गरेको हो । हाल नेपालमा स्मार्ट पेट्रोल पम्प सञ्चालनमा छैन । स्मार्ट पम्पमा एकै पटकमा आठ वटा सवारीमा तेल भर्न मिल्ने, कम्तिमा चार वटा पेट्रोल नोजल र चार वटा डिजल नोजलबाट रिफिलिङ गर्ने गरी पम्पले व्यवस्था गर्नुपर्नेछ । न्यूनतम २० वटा साना तथा ठूला गाडी पार्क गर्न मिल्ने ५ सय वर्गमिटरको पार्किङ क्षेत्र हुनु पर्ने प्रावधान राखिएको छ । उक्त पेट्रोल पम्प २४ सैं घण्टा सञ्चालनमा रहनु पर्नेछ । नयाँ बन्ने स्मार्ट पेट्रोल पम्प अत्याधुनिक सुविधा सम्पन्न हुनेछन् । पम्प राख्नको लागि जग्गाको क्षेत्रफल तराई तथा भित्री मधेशमा एक विगाहा र पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाँच रोपनी हुनुपर्ने प्रावधान राखिएको छ । ५ सय मिटरको क्षेत्रफल बाहिरमात्र राजमार्ग वा अन्य सडकबाट स्मार्ट पेट्रोल पम्प निर्माण गर्न सकिने छ । निगमले गत पुस १८ यस्ता पेट्रोल पम्प खोल्नका लागि इच्छुक निकाय तथा व्यवसायीसँग आवेदन माग गरेको थियो । पम्प स्थापनाको लागि ७२ वटा आवेदन परेको निगमका प्रवक्ता सिताराम पोखरेलले जानकारी दिए ।  साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी) ले ४ वटा, नेपाली सेनाले ४ वटा, साझा सहकारीले ४, नेसनल ट्रेडिङले ७ वटा स्मार्ट पम्प खोल्ने आवेदन दिएका छन् भने बाँकी निजी क्षेत्रको आवेदन परेको हो । निगमका अनुसार यही वैशाख १ गते थप नयाँ पेट्रोल पम्पका लागि सार्वजनिक सूचना जारी गरेर आवेदन माग गरेको थियो । व्यवसायीहरूले आगामी असारसम्ममा स्मार्ट पम्प स्थापनका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको सेयर बुक क्लोज १७ गते, १४ गतेसम्म सेयर किन्नेले हकप्रद सेयर किन्न पाउने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनको लागि बैशाख १७ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले ५.२ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । बैशाख १४ गतेसम्म सेयर किन्नेले मात्र हकप्रद सेयर किन्न पाउनेछन् । १५ र १६ गते सेयर कारोबार बन्द हुनेछ ।

युनाइटेड इन्स्योरेन्सले १० प्रतिशत बोनस दिने, शतप्रतिशत हकप्रद सेयर पनि

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)ले १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैशाख ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । सोही बैठकले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर दिने निर्णय पनि गरेको छ ।बीमा समितिको स्विकृति पछि कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर समेत निष्काशन गर्नेछ । बीमा समितिले निर्जिबन बीमा कम्पनीहरुको पुँजी एक अर्ब हुनुपर्ने नयाँ व्यवस्था ल्याएपछि युनाइटेडले बोनस सेयर र हकप्रदको निर्णय गरेको हो ।

बचत खाताको ब्याजदर ८ प्रतिशतसम्म,साधारण बचत कर्तालाई फाइदा

काठमाडौं । बाणिज्य बैंकहरुले बचत खाताको ब्याजदर धमाधम बढाउन थालेका छन् । पछिल्लो केहि समयदेखि बाणिज्य बैंकहरुले बचत खाताको ब्याजदर ८ प्रतिशतसम्म पुर्याएका छन् । आइतबार सानिमा बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्दै बचत खातामा ८ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । यस अघि ५ प्रतिशत रहेको सानिमा सम्पन्न बचत खाताको ब्याजर ३ प्रतिशतले बढाएर ८ प्रतिशत पुर्याएको छ । एक लाख न्युनतम मौज्दात चाहिने यस्तो खाताको ब्याज भुक्तानी मासिक रुपमा हुनेछ । त्यस्तै शुन्य मौज्दातको सानिमा नारी बचत खाताको ब्याजदर पनि ३ प्रतिशतले बढेर ६ प्रतिशत पुर्याएको छ ।‘मौद्रिक नीतिको मध्यावधि समिक्षा र बजारको अवस्थालाई हेरेर बचत खाताको ब्याजदर बढाएका हौं, यसले साधारण बचत कर्ताको पक्षपोषण गर्छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले विकासन्युजसँग भने । मौद्रिक नीतिको मध्यावधी समिक्षामा भनिएको थियो–‘माग तथा अल्प सूचनामा आधारित निक्षेप(कल डिपोजिट)लाई पारदर्शी र यथार्थपरक बनाउन हाल बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत तथा संस्थागत दुबै किसिमको निक्षेप संकलन गर्ने गरेकोमा माग तथा अल्प सूचनामा आधारित निक्षेप(कल डिपोजिट)मा साधारण बचत खातामा प्रदान गरिने भन्दा बढी ब्याज प्रदान गर्न नपाइने व्यवस्था मिलाइनेछ ।’ सिभिल बैंकले पनि बचत खातामा ७ प्रतिशतसम्मको ब्याजदर कायम गरिसकेको छ । मेगा बैंकले पनि बचत खातामा पाँच दशमलब ५ प्रतिशत ब्याजदर अघि सारेको छ । एनसीसी बैंकले एक हजार रुपैंयाँ मौज्दातको बखत खातामा ६ प्रतिशत ब्याजदर दिईरहेको छ । प्राइम कमर्सियल बैंकले बचत खातामा ७ दशमलब २५ प्रतिशत ब्याजदर दिएको छ । बजारमा लगानी योग्य पूँजीको अभाव सुरु भएसँगै बैंकहरुले ब्याजदर वृद्धि गरेका थिए । तर बचत खाताको ब्याजदर भने न्युन नै थियो । कल डिपोजिटमा बचत खाताको भन्दा धेरै ब्याजदर दिन नपाउने केन्द्रिय बैंकको सर्कुलरपछि बैंकहरुले धमाधम बचत खाताको ब्याजदर पनि वृद्धि गर्न थालेका हुन् ।

लिखुखोलामा एकैसाथ तीन जलविद्युत् आयोजना निर्माण सुरु

सोलुखुम्बु । सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा १५७ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । एमभी दुगड गु्रपका सहायक कम्पनीद्वारा प्रवद्र्धित लिखु १, लिखु २ र लिखु ‘ए’ को गत बिहीबार शुभारम्भ गरिएको हो । पान हिमालय इनर्जी प्रालिले लिखु १, ग्लोबल हाइड्रोपावर एसोसिएट प्रालिले लिखु २ र नुम्बुर हिमालय हाइड्रोपावर प्रालिले लिखु ‘ए’ जलविद्युत् आयोजना निर्माण गर्न लागेका हुन् । एउटै लिखु खोलामा लिखु १, २ र ‘ए’ गरी कुल १५७ मेगावाट क्षमताका परियोजना एकैसाथ निर्माण अघि बढाइएको कम्पनीले जनाएको छ । तीनवटै आयोजनाको कुल लागत अनुमानित रु २१ अर्ब छ । आयोजनाहरूबाट उत्पादित बिजुली खरिद–बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता ९पिपिए० भइसकेको छ । परियोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोतका लागि लक्ष्मी, सिद्धार्थ, सिटिजन बैंक र बैंक अफ काठमाडौँ लुम्बिनी बैंकहरूसँग ऋण सम्झौतासमेत भइसकेको छ । यी आयोजना १५ जुलाई २०२० सम्ममा निर्माण सम्पन्न गरी उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्य रहेको जनाइएको छ । यसैगरी प्रवद्र्धकले थप आयोजना निर्माण गर्ने योजना पनि सार्वजनिक गरेको छ । रासस