सिटिजन्स बैंकद्धारा एक दर्जन संस्थालाई ४७ लाख रुपैयाँ सहयोग, दशक पार गरेपछि ‘दशक बचत खाता’ शुभारम्भ
काठमाडौं । २०६४ बैशाख ७ गतेदेखि २० आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज दशौं वर्ष पूरा गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शंकरप्रसाद शर्माले सिटिजन्स दशक बचत खाता शुभारम्भ गरेका छन् । यस योजना अन्तर्गत निक्षेपकर्ताले न्यूनतम मौज्दात पाँच हजार रुपैयाँमा दैनिक मोज्दातमा ५ प्रतिशत व्याजदर प्राप्त गरिने बैंकले जनाएको छ । साथै निःशुल्क एविविएस, निःशुल्क सेयर डिम्याट सेवा, लकर शुल्कमा पनि ५० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ । बैंकले सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य, खेलकुल तथा परोपकारी काममा संलग्न करिब एक दर्जन संस्थाहरुलाई करिब ४७ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले ‘चितवन मानव सेवा आश्रम’लाई ३ लाख रुपैयाँ, ‘संगीतकार संघ नेपाल’लाई पनि ३ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ भने विगत ५ वर्षदेखि निरन्तर रुपमा १३ जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान ‘बाल विकास समाज’ मार्फत १ लाख ३० हजार रुपैयाँ सहयोय गरेको बैंकले जनाएको छ । यस बैंकले माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्य लिई कार्यरत्त ‘स्नो याक फाउण्डेशनलाई’ १ लाख रुपैयाँ प्रदान गरेको छ । यसै गरी एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा प्रदान गरिरहेका संस्थाहरु साथ र र बेवी लाईफ होमलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । साथै, मिर्गौला तथा अन्य मानव अङ्ग प्रत्यारोपण गर्नु पर्ने बिरामीहरुको सहयोगका लागि बैंकले आरोग्य फाउन्डेशनलाई आर्थिक सहयोग स्वरुप २ लाख रुपैयाँ सहयोग गरेको छ भने बावु—आमा जेल पेरेका बाल बालिकाहरुाई सहयोग गरिरहेका बन्दि सहायता नेपाललाई आर्थिक सहयोग स्वरुप १ लाख ४० हजार रुपैयाँ प्रदान गरेकोे छ । त्यस्तै बैंकले कुलेश्वर माध्यमिक विधालयमा कम्प्यूटर कक्ष निर्माण गर्न २ लाख १० हजार, बाल विनोध माध्यमिक विधालयलाई कक्षा कोठामा झ्यालहरु राख्नको लागि २ लाख रुपैयाँ, कमल निम्न माध्यमिक विधालयलाई २ लाख ५० हजार, त्रिवेण्ी सामुदायिक पुस्ताकलय तथा श्रोत केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । त्रिवेणी क्षेत्रको नर्वदेश्वर महादेवको मन्दिरको जीर्णदारको लागि १ लाख ५० हजार, दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टरलाई हस्पिटलको सामान खरिद गर्नको लागि १ लाख ५० हजार, वमन हेल्थ स्क्रीन नेपाललाई १ लाख, अभय उपचार केन्द्रलाई २ लाख रुपैयाँ सहयोग प्रदान गरेकोे छ । बैंकले दरवारमार्गस्थित नेपाल ट्राफिक प्रहरीको कार्यलयमा वाटर ट्रिमेन्ट प्लान्ट स्थापनामा सहयोग गरेको छ । त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंकाका भेत्राण क्रिकेट खेलाडीहरुबीच आयोजन हुन लागेको क्रिकेट खेल सञ्चालनका लागि तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सव पारेर खेलकुद, रक्तदान, अंगदान, प्रभातफेरी कार्यक्रम गरेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राज पोखरेलले जानकारी दिएका छन् ।
एउटै गाउँमा १० वटा जलविद्युत् आयोजना, बिजुली गाउँ नारच्याङ
म्याग्दी । कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना निर्माण प्रक्रिया थालिएको छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने नारच्याङ जलविद्युत् गाउँ (हाइड्रो भिलेज)का रुपमा चिनिन थालेको छ । नारच्याङमा विसं २०४४ मा पहिलो पटक दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजना निर्माण गरिएको थियो । जलस्रोतको अथाह भण्डार भएको सो गाउँमा अहिले १० वटा जलविद्युत् आयोजना निर्माणका क्रममा रहेका नारच्याङ जलसरोकार समितिका सदस्य तेज गुरुङ बताउछन । अन्नपूर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बग्ने निलगिरि र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट गरी नारच्याङमा मात्रै करिब २९० मेगावाट विद्युत् उत्पादन गर्न सकिने गुरुङको भनाइ छ । “अहिले आयोजना निर्माण चरणमा प्रवेश गरेका छन्, यसले छिट्टै नारच्याङलाई ‘हाइड्रो भिलेज’मा परिणत गराउने सम्भावना बढेको छ,” उनले भने। पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्तीखोला जलविद्युत आयोजना निर्माणको कार्य सुरु भएको छ । त्यसैगरी ३८ मेगावाटको निलगिरि, ६२ मेगावाटको निलगिरि क्यास्केट, १० मेगावाटको रेलेखोला आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन कार्य सम्पन्न भएको छ । नारच्याङमा १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो, ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएका छन् । यस्तै लाइसेन्स खारेजीमा परेको १६५ मेगावाट क्षमताको कालीगण्डकी गर्जले विस्तृत सर्वेको र करिब ३०० रोपनी जग्गाको मुआब्जा वितरण समेत गरिसकेको छ । जलविद्युत् आयोजनाको आगमनसँगै गाउँमा भौतिक पूर्वाधार विकासले समेत गति लिएको छ । स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेसन तथा ३८ किमी दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरिएको छ । नारच्याङमा करिब ४८० घरधुरीको बसोबास रहेको छ । घलेम्दीखोला आयोजनामा करिब ९० जना स्थानीयवासीले रोजगारी पाएका छन् । घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव विमल रिजाल आयोजनामा सीप नभएकालाई पनि अन्य व्यक्तिबाट सीप विकास गरी क्षमताअनुसारको काम गर्ने अवसर दिइएको बताउछन । नारच्याङ गाविसका बासिन्दाले करिब रु एक करोड आयोजनामा सेयर लगानी समेत गरेका छन् । उपल्लो नारच्याङको लेकगाउँका अधिकांश घरधुरीबाट आयोजनामा लगानी भएको छ । नारच्याङमा घलेम्दीसँगै रोवस्ट इनर्जी कम्पनीले निर्माण गर्न लागेको ४२ मेगावाट क्षमताको मिरिस्तीखोला जलविद्युत् आयोजनासमेत निर्माण चरणमा प्रवेश गरेको छ । आयोजनामा काम गर्ने कामदार र लगानीकर्ताको आवतजावत बढ्न थालेको छ भने जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको लागि सडक, पुललगायतका भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढेको छ । स्थानीयवासी अर्जुन मगर नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले रोजगारी र लगानीको अवसरमात्रै नभई स्थानीय विद्यालयको निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउन समेत सहयोग पुगेको बताउछन। रासस
निगमको जहाज खरिदका लागि सरकार जमानी बस्ने, बिपी र पुष्पलालका नाममा पार्क बनाउने निर्णय
काठमाडौँ, ७ वैशाख । मन्त्रिपरिषद्को बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ । निगमले गत चैत २५ गते अमेरिकी विमान कम्पनीसँग २१ अर्ब ९० करोडमा दुई वटा वाईड बडी जहाज’ खरिदका लागि सम्झौता गरेको थियो । मन्त्रिपरिषद्को बैठकले युरोपियन सङ्घलाई नेपालमा जग्गा खरिदका लागि अनुमति दिने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए । बैठकले महोत्तरीको बर्दिवास नगरपालिकास्थित मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लाग्ने जग्गा रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय गरेको उनले बताए । बैठकले महिला बालबालिका दिवा सेवा स्याहार केन्द्रको म्याद थप गर्ने, खेलकुद मन्त्रीको विदेश भ्रमण स्वीकृति गर्ने, सेनाका प्रधानसेनापतिसहितको भ्रमण दललाई अमेरिका भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । विभिन्न ठाउँका वनको रुख काट्न अनुमति दिने, शिक्षा मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा आधारित प्रणाली लागू गर्ने निर्णय समेत बैठकले गरेको मन्त्री शर्माले जानकारी दिए । बिपी र पुष्पलाल पार्क निर्माण गरिने बैठकले नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जामा सङ्ग्रहालय र पार्क बनाउने तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थल रामेछापमा पार्क निर्माण गर्ने निर्णय गरेको छ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफ्नो मन्त्रालयको प्रस्तावअनुसार तत्कालका लागि ती दुई स्थानमा पार्कको काम अघि बढाउन ५०÷५० लाख छुट्याउने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी दिए । रासस
नेशनल लाईफको हकप्रद सेयरमा २५ प्रतिशत कटौति, २५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्वघोषित हकप्रद सेयरमा २५ कटौति गर्ने निर्णय गरेको छ । २०७३ मंसिर २९ गते सम्पन्न कम्पनीको २८ औं वार्षिक साधारणसभाले १ बराबर १ अर्थात चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर अब कम्पनीले ७५ प्रतिशत मात्र हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । हाल नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी २०७५ असार मसान्तसम्ममा २ अर्ब रुपैयाँ मात्र भए पुग्ने स्पष्ट नीति लिएकोले कम्पनीले ७५ प्रतिशत मात्र पुँजी वृद्धिको निर्णय लिएको जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड ४८ लाख ६३ हजार रुपैयाँ छ । गत आर्थिक वर्ष २०७२÷७३ को नाफाबाट कम्पनीले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । २५ प्रतिशत बोनस सेयरको रुपमा लाभांश ३३ करोड १२ लाख १५ हजार ९२० रुपैयाँ र ७५ प्रतिशत हकप्रद सेयरबाट ९९ करोड ३६ लाख ४७ हजार ७५० पुँजी वृद्धि गर्ने निर्णय कम्पनीले लिएको छ । कम्पनीको सञ्चालक समितिले गरेको निर्णय बीमा समितिबाट स्वीकृत गराई साधारणसभाबाट अनुमोदन गराई कार्यान्वयन गरिने कम्पनीले जनाएको छ । बोनस र हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ हुनेछ । कम्पनीको पुँजी प्रयाप्तता र सेयरधनीको हितलाई ध्यानमा राखेर नयाँ निर्णय लिनु परेको कम्पनीले जनाएको छ ।
१२ वटा कम्पनीको १ करोड ७२ लाख २७ हजार कित्ता बोनस सेयर सूचिकृत, नेपाल लाईफको एफपीओ आगामी साताबाट किनबेच हुने
काठमाडौं । विहीबार नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से)मा १२ कम्पनीको १ करोड ७२ लाख २७ हजार ३७५ कित्ता सेयर सूचिकृत भएको छ । त्यसमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ रहेको छ भने बाँकी ११ कम्पनीको बोनस सेयर मात्र रहेको छ । नेपाल लाईफ लगायत सबै कम्पनीको सूचिकृत सेयर आगामी सातादेखि कारोबार हुने नेप्सेले जनाएको छ । विहीबार नेपाल एसबीआई बैंकको १ करोड ८ लाख ८९ हजार २७२ कित्ता बोनस सेयर विहीबार नै नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, साना किसान बैंकको १० लाख ६ हजार १२४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । मेरो माइक्रोफाइनान्सले जारी गरेको २ लाख कित्ता बोनस सेयर पनि सूचिकृत भएको छ । त्यस्तै समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको २ लाख २५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । साहारा विकास बैंकले वितरण गरेको ५७ हजार ३४८ कित्ता बोनस सेयर पनि विहीबार नै नेप्सेमा सूचिकृत भएको छ । सेन्ट्रल फाइनान्सले आफ्ना सेयरधनीलाई वितरण गरेको ५ लाख ५५ हजार २०४ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचिकृत भएको छ । लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले वितरण गरेको १४ लाख ४३ हजार ७५० कित्ता बोनस सेयर पनि सूचिकृत भएको छ । गुजेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले वितरण गरेको ५ लाख २८ हजार ७३० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तैगरी, बुटवल पावर कम्पनी लिमिटेडको ११ लाख ८४ हजार ५६३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । पूर्णिमा विकास बैंकको ४ लाख ९८ हजार २२० कित्ता बोनस सेयर सूचिकृत भएको छ । अल्पाइन डेभलपमेन्ट बैंकको ३ लाख २९ हजार ३५३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
शिक्षा, भौतिक पूर्वाधार, गृह, स्वास्थ्य र रक्षालाई ३६७ अर्ब बजेट प्रस्ताव, शिक्षालाई मात्र सवा खर्ब
काठमाडौं । सरकारले शिक्षा क्षेत्रको विकास तथा विस्तारको लागि आगामी आर्थिक वर्ष २०७४÷७५ मा सवा एक खर्ब बजेट विनियोजन गर्ने भएको छ । सबै प्रदेशमा विश्व विद्यालय निर्माण गर्न तथा प्राविधिक क्षेत्रमा पहुँच बढाउँदै समय सापेक्ष आधुनिका शिक्षा उपलब्ध गराउन सबैभन्दा बढी रकम विनियोजन गर्न लागेको हो । कुल ११ खर्ब ५६ अर्बको बजेट ल्याउने तयारीमा जुटेको सरकारले राज्यको प्राथमिक क्षेत्र पूर्वाधार निर्माणमा लागि ९५ अर्ब २१ करोड बजेट विनियोजन गर्ने तयारी गरेको छ । देशभरिनै पूर्वाधार निर्माण गर्न र यसको विकास तथा विस्तारको लागि सरकारले पूर्वाधार क्षेत्रलाई बढी रकम विनियोजन गर्न लागेको हो । पूर्वाधार निर्माण नभइ देश विकासको गतिमा अघि बढ्न नसक्ने औल्याउँदै सरकारले विगत केही वर्ष यता पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राख्दै आएको छ । देश निर्माणको लागि सानातिना तथा झोलुङ्गे पुलदेखि ठूला ठूला परियोजनाको उत्तिकै महत्व छ । ठूला परियोनजाले रोजगारी सिर्जना, उत्पादनकत्व बृद्धि अर्थतन्त्र निर्माणमा भुमिका खेल्दछ भने साना परियोजनाले ठूला सञ्जालमा जोड्ने तथा पहुच विस्तार गर्ने कार्य गर्दछ । संघीय संरचना अनुसार बजेट निर्माण गर्दै गरेको सरकारले गृह मन्त्रालयलाई ५५ अर्ब ३१ करोड र स्वास्थ्य मन्त्रालयलाई ४६ अर्ब ५ करोड बजेट सीमा निर्धारण गरेको छ । आगामी आर्थिक वर्ष २०७४/७५ मा रक्षा मन्त्रालयको लागि ४५ अर्ब २४ करोड बजेट सीमा निधारण गरिएको छ । यी पाँच मन्त्रालय बाहेक कृषि, सिंचाइ, सहरी विकास, खानेपानी तथा सरसफाइ मन्त्रालयले क्रमशः ३० अर्ब ५८ करोड, २९ अर्ब ६१ करोड, सहरी विकासको २७ अर्ब ९२ करोड, २६ अर्ब ७० करोड रुपैयाँ पाउने भएका छन् । त्यस्तै ऊर्जा मन्त्रालयले १५ अर्ब १ करोड पाउने भएका छन् । मन्त्रालय गत बजेट विवरण यस्तो भएपनि अर्थ मन्त्रालय भने संघीय संरचना अनुसार बजेट निर्माण गरी सोझै स्थानीय निकायसम्म बजेट निकासा गर्ने तयारी गरिरहेको छ । अब नयाँ संरचना अनुसार कम्तीमा पनि एक गाउँपालिकालाई एक अर्ब रुपैयाँदेखि ३ अर्ब रुपैयाँसम्म बजेट दिने तयारी सरकारले गरेको छ । संघीय संरचना अनुसार केन्द्र सरकारभन्दा स्थानीय सरकार बढी शक्तिशाली हुने तथा स्थानीय तहलाई पुन संरचना गर्नको लागि सरकारले यसरी बजेट विनियोजन गर्ने भएको हो ।
मोरङको धनपालथानमा झिँगा आतंकले स्थानीयवासी हैरान
मोरङ । मोरङको धनपालथान–३ मा सञ्चालित विराट पोल्ट्री फार्मको फोहोर र त्यसबाट उत्पादित झिँगाका कारण स्थानीयवासी हैरान भएका छन् । झिँगा व्यवस्थापन नगरेका कारण स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी इन्दिरा उप्रेतीको भनाइ छ । पोल्ट्री फार्मबाट निस्केको दुर्गन्ध र झिँगाका कारण सोराभाग, रङ्गेली, बबियाविर्ता र दर्वेशाका स्थानीयवासी हैरान भएको उप्रेतीको भनाइ छ । पोल्ट्री फार्मको कुखुराको सुली मानवबस्ती नजिकै फाल्दा त्यसबाट उत्पादित दुर्गन्ध र झिँगाका कारण गाउँमा बस्नै नसक्ने अवस्था आएको स्थानीय चटपटे व्यापारी प्रकाश साहको भनाइ छ । स्थानीयवासीले प्रदूषण नियन्त्रण गर्नुपर्ने, झिँगा नियन्त्रण गर्नुपर्ने, स्वास्थ्यमा खेलबाड गर्न नपाइने माग राखेको झिँगा तथा प्रदूषण विरुद्धको सङ्घर्ष समितिकी सचिव इन्दिरा उप्रेतीको भनाइ छ । उनले भने, “पाँचपटक सिडिओ कार्यालय, उद्योग सचिव र उद्योग मन्त्रालयमा नै पुगेर ज्ञापन दिएपनि सम्बन्धित निकायले बेवास्ता गरेको छ, मागप्रति कुनै सुनुवाइ भएको छैन ।” झिँगाका कारण स्थानीयवासीले भने घरमा पूजाआजा, विवाह व्रतबन्ध केही ग¥यो भने कोही पनि आएर खाना नखाने गरेको बताइएको छ । सो क्षेत्रमा दुई हजार घरधुरीका ६ हजार व्यक्ति बस्दै आएका छन् । रासस
फलफुलको भाउ ५४ प्रतिशतसम्मले बढ्यो, औंशीमा फलफुलको माग चार गुणाले बढ्ने
काठमाडौं । मातातिर्थ औंशी नजिकिँदै गर्दा राजधानीमा फलफुलको खपत बढेपनि मूल्य भने बढेको छ । औंशीमा एकैपटक माग बढ्ने भएकाले नेपालको उत्पादन अपुग हुने गरेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीका अनुसार एक महिनामा ५४ प्रतिशतसम्मले बढेको छ । समितिका अनुसार एक महिनामा अनारको भाउ ३२.५६ प्रतिशतले बढेको छ । हाल अनार प्रति किलो दुई सय ८५ रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै सुन्तलाको भाउ ५४.५५ प्रतिशतले महंगिएको छ । मेवाको भाउ १४.५७ प्रतिशतले बढेको छ । उत्पादन पर्याप्त मात्रामा नहुँदा भारत र चीनबाट आयात गर्नुपर्ने भएकाले फलफुल महंगोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँले बताए । कुशे औंशीमा विशेषगरी केरा, स्याउ, सुन्तला र अनारको खपत बढ्ने गरेको उनले बताए । औंशीमा फलफुलको माग चार गुणाले बढ्ने भएकाले उपत्यकामा दोब्बर मात्रामा आयात भइरहेको छ । बानियाँका अनुसार कुशे औंशीमा फलफुलको कारोबार चार गुणाले बढ्छ । उनले भने, ‘१३ गते कुशे औंशीपरेकाले त्यसको ठिक चार दिन अगाडीदेखि फलफुलको कारोबार बढ्न थाल्छ ।’ गर्मीमा सबैभन्दा बढी खपत उपत्यकामा गर्मीमा सबैभन्दा बढी फलफुलको खपत हुने गरेको छ । गर्मीमा सबैभन्दा बढी खरबुजा, सुन्तला, मेवा, अनार र आपको माग हुने गरेको बानियाँले बताए । ‘अहिले राजधानीमा दैनिक ४० टनका दरले मेवा, खरबुजा, सुन्तला र आपको खपत हुने गरेको छ भने अनार दैनिक २५ टन खपत हुने गरेको छ। यो एक महिना अगाडीको तुलनामा दोब्बर हो, ‘ उनले भने । सुन्तलाको अभाव भारतमा अत्याधिक तापक्रमका कारण सुन्तलाको उत्पादन घटेपछि बजारमा सुन्तलाको अभाव रहेको बानियाँले जानकारी दिए । ‘ भारतमा तापक्रम बढेर सुन्तलाको उत्पादन घटेको छ । गर्मीले सुन्तलामा रस पनि लागेका छैनन् । अहिले व्यापारीहरुले कोल्ड स्टोरमा स्टक रहेको सुन्तलाको मात्र बिक्री गरिरहेका छन् ,’ उनले भने । फलफुलको एक महिनाको तुलनात्मक मूल्य सूची फलफुल (किलोमा) चैत ७ गते, २०७३ बैशाख ७ गते, २०७४ अनार २१५ २८५ अंगुर १०५ ११५ सुन्तला ५५ ८५ तरबुजा ३३ २२ मौसम १०५ १०५ मेवा ४८ ५५ स्याउ १०५ १०५ केरा ८५ ८५