विकासन्युज

उद्योग मन्त्रालयको बजेट लक्ष्यः वर्षेनी १० खर्ब वैदेशिक लगानी र ५० हजार रोजगारी

काठमडौं । उद्योग मन्त्रालयले आगामी आर्थिक बर्षमा १० खर्ब विदेशी लगानी भित्र्याएर ५० हजार रोजगारी सृजना गर्ने महत्वकांक्षी योजना अघि सारेको छ । मन्त्रालयले आगामी आर्थिक बर्ष २०७४/७५ को बजेटका पाँच प्राथमिकता सार्वजनिक गर्दै आगामी आर्थिक बर्षमा १० खर्ब लगानी भित्र्याउने र न्युनतम पनि ५० हजार नेपाली युवालाई रोजगारी दिने लक्ष्य अघि सारेको हो । मन्त्रालयका सह सचिव प्रदिपकुमार कोइरालाले उद्योग मन्त्री नविन्द्रराज जोशी र उद्योगी व्यवसायीलाई साक्षी राखेर बजेटका पाँच प्राथमिकतासहितको सो योजना सार्वजनिक गरेका हुन् । ‘नेपाली युवाहरुलाई आगामी १० बर्षभित्र देश भित्रै रोजगारीको अवसर सिर्जना गर्न र रोजगारीका लागि विदेशमा जान वाध्य नहुने अवस्थाको श्रृजना गरिने छ’, कोइरालाको कार्यपत्रमा लेखिएको छ । ‘प्रथम वर्षमा वैदेशिक लगानी कम्तिमा १० खरव लगानी भित्र्याइने र सोही अनुपातमा प्रत्येक वर्ष वेदेशिक लगानीको रकम वृद्धि गर्दै जाने कार्यक्रमहरु निर्माण गरिनेछ ।’, उद्योग मन्त्रालयको योजनामा भनिएको छ । मन्त्रालयले आगामी १० वर्ष भित्र २५० खर्ब वैदेशिक लगानी भित्र्याएर सम्पुर्ण नेपालीलाई रोजगारी दिने दावी समेत प्रस्तुत गरेको छ ।‘हामीले आगामी १० बर्षपछि कुनै पनि नेपालीले वैदेशिक रोजगारीका लागि जानु नपर्ने वातावरण बनाउने गरि काम अघि बढाएका छौं, लगानीको अभिवृद्धि र रोजगारी सृजना नै हाम्रो पहिलो प्राथमिकता हो’, उद्योग मन्त्री जोशीले भने । मन्त्रालयले जलविद्युत, पूर्वाधार, पर्यटन, वन र कृषि पैदावार र खनिज उद्योगहरुमा १ खर्बको लगानीबाट १८००० प्रत्यक्ष रोजगारी र ४५००० अप्रत्यक्ष रोजगार सृजना हुने दावी समेत गरेको छ ।

एनआईसि एसियाले जित्यो ‘सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’

काठमाडौं । ‘सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’को तेश्रो ससंकरण एन.आई.सि एसियाले बैंकले जितेको छ । सोमबार भएको फाइनल खेलमा खेलमा एन.आई.सि एसियाले एनएमबि बैंकलाई ट्राईब्रेकरमा हराउन सफल भएको थियो । खेलमा विजय बैंक एनआईसि एसिया, उपविजेता एनएमबि बैंक र तेस्रो भएका सिद्धार्थ बैंकका खेलाडिहरुलाई सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकारी राजन सिंह भण्डारीले पुरस्कार वितरण गरेका थिए । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित ‘सिटिजन्स इन्टरबैंक फुटसल टुर्नामेन्ट’को तेश्रो ससंकरण वैशाख २ गते देखि वैशाख ४ गतेसम्म सञ्चालन गरेको थियो । उक्त प्रतियोगितामा १७ वटा वाणिज्य बैंक सहभागी भएका थिए ।

सोमबारदेखि ७५ वटै जिल्लामा निर्वाचन कार्यालय खुला

काठमाडौं । आगामी ३१ वैशाखका लागि तय गरिएको स्थानीय तहको निर्वाचन गराउन ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतका कार्यालय आजदेखि खुल्ने भएका छन् । निर्वाचनको तयारी स्वरुप निर्वाचन आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको छ । कार्यालय खुलेसँगै अब निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोग जिल्लामा क्रियाशील हुने आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतले जिल्लामा छुट्टै कार्यालय खोलेर निर्वाचनका लागि सम्पादन गर्नुपर्ने काम र आफू मातहतका निर्वाचनमा खटिने कर्मचारीका लागि काममा खटाउने जिम्मेवारी हुन्छ । मुख्य निर्वाचन अधिकृतलाई जिल्लाभित्र निर्वाचनसम्बन्धी कामको समन्वय र सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने अधिकार पनि तोकिएको छ । जिल्ला सदरमुकाममा रहने स्थानीय तहको निर्वाचन अधिकृतको भूमिका पनि निर्वाह गर्ने गरी मुख्य निर्वाचन अधिकृतलाई जिम्मेवारी तोकिएको आयोगले जनाएको छ । आयोगले ७५ मुख्य निर्वाचन अधिकृत र ६ सय ६९ निर्वाचन अधिकृत नियुक्त गरी तालिम दिएर सम्बन्धित क्षेत्रमा पठाइसकेको छ । ७ सय ४४ वटा स्थानीय तहमा भने वैशाख १२ मा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिनेछन् । न्याय सेवा र निजामती सेवाका अधिकृतलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन अधिकृतलाई आफूलाई तोकिएको स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ ।

विद्यालय बाहिर रहेका ५० प्रतिशत बालबालिकाले यस वर्ष पढ्न पाउने

डडेल्धुरा। गत वर्ष डडेल्धुरामा ८१६ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क जिल्ला शिक्षा कार्यालयले सार्वजनिक गरेसँगै यस वर्ष ३३२ बालबालिकालार्ई विद्यालय भर्ना गरिने जिल्ला शिक्षा कार्यालय, डडेल्धुराले जनाएको छ । विभिन्न कारणले विद्यालय बाहिर रहेका बालबालिकालाई ५० प्रतिशत भर्ना अभियानको दौरानमा विद्यालयको पहुँचसम्म ल्याएपछि अब ४८४ बालबालिका मात्रै विद्यालय बाहिर रहने जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत, नरेन्द्र खातीले जानकारी गराए । उनले विद्यालय बाहिर रहेका बाँकी बालबालिकालाई पनि समेट्ने प्रयास भइरहेको जनाए । विसं २०६२ देखि सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियान यस वर्ष पनि सञ्चालन गरिएको छ । हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा भन्ने नारासहित डडेल्धुरामा पनि यस वर्ष विद्यार्थी भर्ना अभियान सञ्चालन गरिएको हो । विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयसम्म पु¥याई शिक्षित गराउने उद्देश्यले विद्यालय भर्ना अभियान सञ्चालनमा ल्याइएको जिल्ला शिक्षा अधिकारी, बसन्तकुमार खत्रीले बताए । भर्ना अभियानको १२ वर्ष पुग्दा डडेल्धुराका १० हजार विद्यार्थी विद्यालय जान थालेको जिल्ला शिक्षा कार्यालय, डडेल्धुराले जनाएको छ । डडेल्धुरामा सञ्चालन गरिएको विद्यार्थी भर्ना अभियान तथा विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान कार्यक्रमअनुसार यस वर्ष विद्यालय बाहिर रहेका बालबालिकामध्ये झन्डै ५० प्रतिशत बालबालिकालाई विद्यालय भर्ना गरिने बताइएको छ भने अन्यलाई पनि विद्यालयको पहुँचमा ल्याउने प्रयास गरिने जनाएको छ । घरदैलो अभियानपछि तयार पारिएको प्रतिवेदनअनुसार यस वर्ष ३३२ बालबालिकालाई विद्यालय भर्ना गरिने जिल्ला शिक्षा कार्यालयको दाबी रहेको छ । रासस

शुक्रबारको सार्वजनिक बिदा फिर्ता

काठमाडौं । शुक्रबारको सार्वजनिक बिदा दिने सरकारको निर्णय फिर्ता भएको छ । आइतबारको निर्णयमा चर्को आलोचना भएपछि सरकारले उक्त निर्णय फिर्ता लिएको हो । सरकारले आइतबार राष्ट्रपति विद्या भण्डारी पहिलो विदेश भ्रमणमा जाँदा र फर्किदा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सो अनुरुप सरकारले सोमबार सार्वजनिक बिदा दिए पनि शुक्रबारको बिदा भने फिर्ता गरेको छ । सोमबार भारत भ्रमणमा गएकी राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

रुस्लान वीन-वीन योजनाको विजेता सार्वजनिक, ८ जनाले पाए छुट्टाछुट्टै बाइक

काठमाडौं । रुस्लान वाटर द्घारा संचालित ‘रुस्लान वीन–वीन अफर’ अन्तर्गतका विजेताहरुको नाम सार्वजनिक गरेको छ । राजधानीको लाजिम्पाटस्थित र्याडिसन होटलमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले लक्की ड्र मार्फत विजेताहरुको छनौट गरेको हो । जसमा बम्पर प्राइज अन्तर्गत एउटा डुकाटी मोन्स्टर ८२१ बाइक कुपन नं ५९६२८० को विजेता घोषित भएका थिए । त्यस्तै, रिजनल (क्षेत्रीय) प्राइज अन्तर्गत ७ जनाले बिनेलली टीएनटी २५० नामक बाइक जित्न सफल भएका छन् । सो लक्की ड्र मदिरा व्यवसायी महासंधका अध्यक्ष, मदिरा व्यवसायी महासंधका महासचिव, होटेल व्यवसायी महासंधका अध्यक्ष, रेबयनका अध्यक्ष साथीहरुको उपस्थितमा गरिएको थियो । कम्पनीले गत वर्ष अर्थात वि. सं २०७३ मंसिर ३० गते देखि चैत ३० गते सन् २०१६, १५ डिसेम्बर देखि सन् २०१७ अप्रिल १० तारिखसम्म उक्त योजना जारी गरेको थियो ।

विश्व विद्यालय र पाटन कलेजबीच सम्झौता, सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नाकोत्तर स्तरको पढाई हुने

काठमाडौं । यसनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायत बाट सम्बन्धन प्राप्त पाटन कलेज फर प्रोफेसनल स्टडिजले स्नातक स्तरको बिएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन बिजनेश एडमिनिष्ट्रेसन कार्यक्रम शुरु गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलले एक समारोह बीच सो कलेजको उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बेलायती राजदूत रिचर्ड मोरीस र विश्वविद्यालयका सहायक उपकुलपति अशरफ जावेदको समेत उपस्थिति थियो । सो कार्यक्रमको अध्यक्षता संस्थापक परमानन्द केजरीवालले गरेका थिए । सोही अवसरमा विश्व विद्यालय र पाटन कलेज बीच सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नाकोत्तर स्तरको कार्यक्रम संचालन गर्ने सम्झौता पत्रमा विश्वविद्यालयका तर्फबाट उपकुलपति अशरफ जावेद र पाटन कलेजको तर्फबाट अध्यक्ष पंकज जलानले हस्ताक्षर गरेका छन् । टाइम्स युकेको रैकिङ्ग अनुसार १३० वर्ष पुरानो युनिभर्सिसटि अफ बेडफोर्डसायर विश्वको उत्कृष्ट आठ सय विश्व विद्यालय मध्ये एक हो । यो विश्व विद्यालयमा १२० मुलुकको २२ हजार विद्यार्थी अध्ययनरत छन् । यो विश्वविद्यालयको कार्यक्रमहरु चिन र भियतनाम लगायत मध्य पूर्व, यूरोप, दक्षिण पूर्व एशिया लगायतका अन्य देशहरुमा संचालित छ । यो विश्व विद्यालयबाट अध्ययन गरेका ९२ प्रतिशत विद्यार्थीहरुले ६ महिनामै काम गर्न थाल्छन् वा उच्च शिक्षा अध्ययन तिर लाग्छन् । तिन वर्षको अध्ययन अवधि र ३६० क्रेडिट आवर भएको बिएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन बिजनेश एडमिनिष्ट्रेसन मात्र प्राज्ञिक डिग्री होइन, यसका स्नातकहरु विज्ञ जस्तै हुन्छन् । विद्यार्थीले चाहेमा यस पाटन कलेज फर प्राफेसनल स्टडिजमा प्रथम लगायतका अन्य वर्ष सकाएर बाँकी समयको अध्ययन युनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायतको मुल क्याम्पसमा गर्न सक्छन् ।

पल्स रेटपछि ल्याण्डलाइन र पोष्टपेडको शुल्क घट्दै

काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले पल्स रेटपछि ल्याण्ड लाइन फोन र पोष्टपेड मोबाइलको शुल्क घटाउने तयारी थालेको छ । प्राधिकरणले उपभोक्तालाई अनावश्यक आर्थिक भार परेको भन्दै ल्याण्ड लाइन फोन र पोष्टपेड मोबाइलको शुल्क घटाउन लागेको हो ।‘उपभोक्तालाई अनावश्यक भार परेको निष्कर्षसहित ल्याण्ड लाइन(पिएसटिएन) र पोष्टपेडको शुल्क घटाउने तयारीमा जुटेका छौं’, प्राधिकरणका निर्देशक दिपेश आचार्यले विकासन्युजसँग भने । हाल पोष्टपेड मोबाइलको न्युनतम(भ्वाइसका लागि मात्रै) शुल्क ३०० र मल्टिपल सर्भिसका लागि थप एक सय रुपैंयाँ तिर्नुपर्छ ।  त्यस्तै, ल्याण्डलाइन(पिएसटिएन)को न्युनतम शुल्क २०० रुपैंयाँ तोकिएको छ । उपभोक्ताले सेवा प्रयोग गरेपनि नगरेपनि मासिक रुपमा सो शुल्क भने तिर्नै पर्ने व्यवस्था रहेको छ । हाल टेलिकमको ६ लाख ८३ हजार १ सय २९ वटा ल्याण्डलाइन फोन सञ्चालनमा रहेका छन् भने पोष्टपेड मोबाइलका प्रयोग कर्ता साढे ३ लाख रहेको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले बताए । ‘फोन गरेपनि नगरेपनि त्यति धेरै शुल्क लिने कुरा ठिक भएन, त्यसैले उपभोक्ताको हितलाई ध्यानमा राखेर हामी शुल्क घटाउने तयारीमा जुटेका हौं’, आचार्यले भने । उनले पोष्टपेड सिम बोक्ने उपभोक्ताले महिनौंसम्म फोन नचलाउँदा पनि पैसा तिर्नु परेको र एउटै घरमा पाँच छ वटासम्म ल्याण्ड लाइन रहेकाले उपयोग नहुँदा पनि उपभोक्ता मारमा परेको बताए । न्युनतम शुल्क समायोजनसहित प्रतिकल शुल्क समेत घटाउने तयारीमा प्राधिकरण जुटेको हो ।