विकासन्युज

बस्तुगत संघ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत संघ तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले आफ्ना निकटतम प्रतिद्धन्द्धी भन्दा ११ मत बढि ल्याएर उपाध्यक्ष जितेका हुन् । श्रेष्ठले ४९ मत ल्याएर विजय हुँदा शंकर प्रसाद पाण्डेले ३८ मत ल्याएका थिए । उपाध्यक्ष पदका अर्का उम्मेदवार अनुप बहादुर मल्लले ११ मत ल्याएका थिए । केन्द्रिय कार्यसमिति तर्फ  श्रेष्ठको समूहबाट ११ जना निर्वाचित भएका छन भने शंकर पाण्डे समुहका ३ जना मात्रै निर्वाचित भएका छन् । श्रेष्ठ समुहबाट अञ्जन श्रेष्ठ, आकाश अधिकारी, कमला श्रेष्ठ, जय प्रकाश सिवाकोटी, प्रकाश सिंह कार्की, बिनोद ढकाल, सञ्जिव अग्रवाल, सुरेन्द्र कुमार श्रेष्ठ र हेमराज ढकाल निर्वाचित भएका छन । पाण्डे समुहबाट भने डा. त्रिचन्द्र भट्टराई, शिव प्रसाद घिमिरे र सकुन्तलाल हिराचन निर्वाचित भएका छन् । चार जना उम्मेदवारको भने मत बराबर भएको छ । तीमध्ये गोलाप्रथाद्धारा २ जनालाई निर्वाचित गरिएकाे छ । खेमराज पन्त, नरेशलाल श्रेष्ठ, रबिन कुमार श्रेष्ठ र सुनिल गोपाल श्रेष्ठको मत बराबर भएको हो । गाेला प्रथाबाट रबिन कुमार श्रेष्ठ र सुनिल गोपाल श्रेष्ठ विजयी घाेषणा गरिएकाे छ ।

बुम रेमिट्यान्सको एजेन्टमा प्रोग्रेशिभ फाइनान्स नियूक्त

काठमाडौं । बुम रेमिट्यान्स प्रा लि र प्रोग्रेशिभ फाइनान्स लिमिटेडलाई आफ्नो एजेन्ट नियूक्त गरेको छ । बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र प्रोग्रेशिभ फाइनान्स लिमिटेडको तर्फबाट वरिष्ठ प्रबन्धक उमा लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । धिरेन्द्र पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउछन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् ।

नयाँ वर्षको अवसरमा टेलिकमले ल्यायो तीन नयाँ अफर

काठमाडौं । नेपाल टेलिकमले नव वर्ष २०७४ को शुभअवसरमा आफ्ना उपभोक्ताहरुलाई बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गरेको छ । कम्पनीको नव वर्ष प्रोमोसनल अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् । रिचार्ज बोनस अन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपोस तथा रिचार्ज कार्ड माफर्त १०० रुपैयाँ र २०० रुपैयाँको कार्ड प्रयोग गर्दा १० प्रतिशत बोनस पाउने छन् । साथै, ५०० रुपैयाँ र १००० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध पाउने छन् । यसको भ्यालिडिटि तीन दिनको हुनेछ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस चैत्र ३० देखि बैशाख १३ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । डाटा प्याकेज अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० देखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँ, २०० रुपैयाँ र ३०० रुपैयाँ (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी क्रमशः ४०० एमबी, ८५० एमबी र १५०० एमबी डाटा भोल्यूम उपलब्ध गराइनेछ । त्यस्तै, नाइट डाटा प्याकेज अन्तर्गत २०० रुपैयाँ र ३०० रुपैयाँ (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइनेछ । यो अफर अन्तर्गत डाटा सेवाको मूल्य प्रति एम बी ४.५ पैसा देखि २५ पैसा (करसहित) मात्र पर्नेछ । अल टाइम डाटा प्याकेज सेवा लिनका लागि DATA टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्दछ । जस्तै: ४०० एमबी डाटा लिनका लागि DATA400MB टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ भने नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न NIGHT टाइप गरी आफुलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ । जस्तै: ६.५ जिबी डाटा लिनका लागि NIGHT6GB टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ । त्यसैगरी, नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० गतेदेखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी २५ रुपैयाँ (कर सहित) मा सात दिनको भ्यालिडिटि सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइनेछ । नाइट भ्वाइस प्याक सेवा लिनका लागि NIGHTVOICE टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ ।

टाटा मोटर्सको आरामदायी नयाँ पर्यटक बसहरु सञ्चालनमा, बस भित्रै वासरुमको सुविधा

काठमाडौं । ट्राभल नेपाल बस सर्भिस प्रा. लि. ले नेपाली तथा विदेशी यात्रुहरुलाई लक्षित गरि “उमङ्ग को अनुभुति” का साथ नयाँ पर्यटक बसहरुको सेवा सञ्चालन शुभारम्भ गरेको छ । पर्यटकहरुलाई सुविधा सम्पन्न र आरामदायी पर्यटक बसहरुको सेवा दिँदै आएको कम्पनीले थप सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसनयुक्त नयाँ बसहरु सञ्चालनमा ल्याएको हो । टाटा मोटर्स लि भारतको एमसीभी बस सेग्मेन्टको नयाँ मोडल एलपी०१५१२टीसी ५५ एयर सस्पेन्सन च्यासिस्मा नयाँ दिल्लीको प्रख्यात कोच तथा क्याराभान निर्माता कम्पनिमा निर्मित विशेष सुविधा सम्पन्न बढी बनाइएको छ । ११ मिटर लामो यो बस टाटा चुम्मिन्स टुरबोचार्ज इन्टरकुल्ड डिजेल इन्जिनको शक्तिले सम्पन्न छ । १३३ हर्ष पावरको इन्जिन भएको यस वाईड बडी बस, एयर सस्पेन्सन अनि २८ रिक्लाइनिङ थाई रेष्ट सिटहरुमा फोल्डेबल टेबल (ट्रे) जडीत छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो बस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट छ । १३३ हर्ष पावरको ईञ्जिन, ४९० न्युटन मिटरको टर्क ,२५३ मिलि मिटरको क्लचप्लेट र जि-६०० गियर बक्स जस्ता विशेषताले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले बसले भार बहन गर्ने क्षमता राख्दछ । यसैगरी यो बसमा जि–६०० गियर बक्समा पनि ओभरड्राइभ विशेषता र ४१/७ अनुपातको क्राउन भएको कारण यो बसले कम इन्धनमा नै उच्च गति प्रदान गर्दछ । बसको भित्रि भागमा काठले बनाइएका सामानहरुको प्रयोग गरिएको छ जुन अति आकर्षक देखिन्छ र बस भित्रै वासरुमको सुविधा पनि छ । धुम्रपानको बानी भएका यात्रुहरुको लागी छुट्टै ठाउँको व्यबस्था पनि बस भित्रै रहेको छ । साथै यात्रुहरुलाई चिसो तातो पेय पदार्थ र खानेकुराको व्यबस्था पनि बस भित्रै रहेको छ । सुविधा संग खान र पिउनको लागी हरेक सिटमा फोल्डेबल टेबल (ट्रे) जडीत छ र आरामदायी र सुविधायुक्त यात्राको लागी रिक्लाइनिङ थाई रेष्ट सिटहरु रहेका छन् । यस बसको सञ्चालन संगै नेपाल अधिराज्यभरि नै विशेष सुविधायुक्त र आरामदायी यात्रामा यो बस अग्रणी स्थानमा रहनेमा सञ्चालकहरु विश्वस्त छन् । सञ्चालनको शुभारम्भमा ४ वटा बसहरुले काठमाण्डौं – पोखरा-काठमाण्डौं र काठमाण्डौं – लुम्बिनि-काठमाण्डौं को विशेष सेवा शुरु गरिनेछ र नयाँ बसको यात्रा गर्न चाहने यात्रुले मोबाइल एप्सको प्रयोग गरेर आफ्नो गन्तब्यको टिकट बुक गर्न सकिन्छ । ट्राभल नेपाल बस सर्भिसमा टिकट बुकिङ्गको लागि मोबाइल एप्सको सुविधा ई-सेवा नेपालले उपलब्ध गराउने छ । साथै, टाटा मोटर्स मार्कोपोलो लिको बडि बिल्ट बसहरु स्टारबस अल्ट्राका बिभिन्न श्रेणीहरुमध्ये स्टारबस अल्ट्रा लक्जरी श्रेणीको एउटा मोडल एलपी०७.५टी अल्ट्र एयर कण्डिसन बस नेपाली बजारमा ल्याएको छ । ३७८३ सि सि को १२३ हर्ष पावरको भिस्कोस् फ्यान टेक्नोलोजी जडित ईञ्जिन भएको बसमा एउटै ईञ्जिनबाट चल्ने एयर कण्डिसन रहेको छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो बस सुरक्षाको दृष्टिकोणले पनि सर्वोत्कृष्ट छ । पाराबोलिक सस्पेन्सन र रेडियल टायर जडित एलपिओ च्यासिसमा बनेको विश्वस्तरीय बडि अति आकर्षक देखिन्छ । पर्यटकलाई सुविधा सम्पन्न र आरामदायी बस उपलब्ध गराउन चाहने पर्यटन उद्योग व्यबसायीलाई लक्षित गरि नेपाली बजारमा ल्याइएको बसमा विशेष प्रकारको सुविधाहरु रहेका छन् । अति आधुनिक ड्यासबोर्ड रहेको बसमा न्युमेटिक सिस्टमको ढोका रहेको छ जुन चालक आफैंले खोल्न र बन्द गर्न सक्दछ र चालकको सुविधालाई ध्यानमा राखेर अलग्गै क्याबिन कम्पार्टमेन्ट बनाइएको छ । बसमा २९ आरामदायी सेमि रिक्लाइनिङ सिटहरु छन् । बसमा सामानहरु राख्नको लागी पर्याप्त ठाँउको साथै हातको व्याग समेत राखेर आरामसगं बस्न मिल्ने व्यबस्था छ । ८४० मिमि को फ्लोर हाईट भएको बसमा फिक्स्ड विण्डो ग्लास र भेन्टिलेसन, प्रत्येक सिटमा पंखाहरु, सबै विण्डोहरुमा आकर्षक पर्दा अनि स्टेरियो साउण्ड सिस्टम नयाँ बसको थप विशेषताहरु हुन् । एलपी०७.५टी एयर कण्डिसन बस ग्राहक वर्गहरुलाई विश्वस्त पार्ने क्षमता राख्दछ । साथै यस गाडीमा ३ बर्ष वा ३ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ ।

पुरानो बोइङ बिक्री गर्दै निगम

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले पुरानो बोइङ बी सेभेन फाइभ सेभेन-दु हन्ड्रेड नाइन एन-एसिए जहाज बिक्री गर्नका लागि ‘ग्लोबल टेन्डर’ आह्वान गरेको छ । नियमित मर्मतसम्भारको खर्चले उडानमा लागत बढी हुने भएपछि निगमले बोइङ बिक्री गर्न लागेको हो । पुरानो जहाजले तेल बढी खाने र पटक पटक मर्मत गर्नुपर्ने भएकाले बिक्री गर्न लागिएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार निगमले झन्डै ३० वर्षअघि पहिलो पल्ट भित्र्याएका दुई ठूला बोइङमध्ये यो पहिलो जहाज हो । अर्को बोइङ नाइन एन-एसिबी भने अहिले नियमित सञ्चालनमा छ । निगम सञ्चालक समिति बैठकले बोइङ बिक्री गर्ने निर्णय गरी मूल्य समेत निर्धारण गरेर टेन्डर आह्वान गरेको हो । उक्त जहाजको मूल्य न्यूनतम १७ लाख मिलियन अमेरिकी डलर निर्धारण गरिएको छ । नयाँ खरिद गर्दा करिब ४० लाख मिलियन डलर पर्ने बताइन्छ । अन्तर्राष्ट्रिय उडानका लागि निगमले अहिले एक बोइङ ७५७-२०० र दुई एयरबस ३२०-२०० सिरिजका न्यारो बडी जहाजमार्फत आठ गन्तव्यमा उडान भरिरहेको छ । निगमले केही दिनअघि दुई वाइडबडी ए३३०-२०० विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरसँग सम्झौता गरेको थियो । आन्तरिक उडानमा दुई ट्विनेटर जहाजले २० भन्दा बढी गन्तव्यमा नियमित उडान भर्दै आएका छन् । रासस

एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेड र सीटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं । एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) र सिटी एक्सप्रेस मनी ट्रान्सफरले आपसी रूपमा रकम आदान-प्रदानको सेवा प्रदान गर्ने सम्झौता गरेका छन् । यही अप्रिल महिनादेखि यो सम्झौताबाट एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेडको नेपालमा सञ्जाल बिस्तार भएको छ । यससँगै सिटी एक्सप्रेसको सेवामा नयाँ आयाम थपिएको छ भने अब नेपालमा रहेका सिटी एक्सप्रेसका कुनै पनि भुक्तानी काउन्टरबाट विदेशबाट विप्रेषण गरेको रकम सहजै प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ । ‘यूरोप तथा अमेरिकामा रहेका लाखौँ नेपालीले विप्रेषण गरेका रकम बिना झन्झट आफूलाई पायक पर्ने सिटी एक्सप्रेस मनि ट्रान्सफरको नेपालभर रहेका ५००० भन्दा बढी भुक्तानी केन्द्रबाट सजिलै प्राप्त गर्न सकुन् भन्ने सोचका साथ एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) प्रयासरत रहेको छ’ , एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निकोलस डे ले भने ‘यो सहकार्यसँगै हाम्रो उद्देश्य पुरा हुने कुरामा हामी विश्वस्त छौँ ।’ सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा बोल्दै सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले यूरोप तथा अमेरिकामा सबैभन्दा बढि संजाल भएको रेमिट्यान्स सेवा प्रदायक एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) सँग सहकार्य गर्न पाउँदा आफू निकै उत्साहित भएको बताए । ‘हामीले यूरोप तथा अमेरिका लगाएत एलसीसी ट्रान्स-सेन्डिङ लिमिटेड (स्मल वल्र्ड फाइनान्सियल सर्भिसेज) बाट भित्रिने कोरोबारका लागि हाम्रा ५००० भन्दा बढी भुक्तानी केन्द्रहरूबाट अब सहज रूपले सेवा दिने कुरामा विश्वस्त छौँ’, उनले भने ।

आगामी आवमा मुलुकको सबै तहमा बैंकको शाखा खोल्न अर्थ मन्त्रीको निर्देशन

काठमाडौं । आगामी आर्थिक वर्ष २०७४/७५ मा देशको सात सय ४४ स्थानीय तहमा बैंकको शाखा खुल्ने भएको छ । मंगलवार उपप्रधान तथा अर्थ मन्त्री कृष्णवहादुर महराले स्थानिय तहमा शाखा खोल्ने गरी आवश्यक व्यवस्था गर्न निर्देशन दिनु भएको हो । मन्त्रीको निर्देशन अनुसार सबै स्थानीय तहमा बैंक शाखा खोल्नका लागि अर्थ मन्त्रालय वित्तिय क्षेत्र व्यवस्थापन महाशाखाले त्यसको प्रक्रिया शुरु गरेको छ ।

नेप्सेले पार गर्यो १७०० अंक, एक अर्ब ९० करोडको सेयर कारोबार

काठमाडौं । मंगलबारको नेप्से परिसूचकले १७०० अंक पार गरेको छ । सो दिन नेप्से परिसूचक ३३ दशमलब ६० अंकले उकालो लागेर १७०९ दशमलब ८२ अंकमा पुगेको छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार सेयर बजारमा करिब २ अर्बको सेयर कारोबार भएको छ । सो दिन १४४ कम्पनीको ३१ लाख ४ हजार कित्ता सेयर एक अर्ब ९० करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ । सो रकम सोमबारको तुलनामा २८ करोड ५० लाख रुपैयाँ बढी हो । सबैभन्दा बढी एनसीसी बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ रहेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु बैंकको ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १०३ अंकले उकालो लागेको छ । त्यस्तै, होटल र अन्य समूहको परिसूचक क्रमशः ९ र ३ अंकले उकालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले बढेका छन् ।