एनआईसी एशिया बैंकद्वारा नेपाल बाल संगठनलाई सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन (बाल मन्दिर) मा आश्रित बालबालिकाहरुलाई सहयोग गरेको छ । बैंकले मासिक रुपमा उपलब्ध गराउदै आईरहेको दिउँसोको खाजा पुनः आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बैंकले आफ्नो देश भरी फैलिएको ८९ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिदै आएको छ । साथै, बैंकले भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ । यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकाशका कार्यहरुमा योगदान पुर्याउन प्रोत्साहन दिने विश्वास बैंकले लिएको छ ।
सनराइज बैंकको शाखा सितापाइलामा स्थानान्तरण
काठमाडौं । सनराइज बैंक लिमिटेडले काठमाडौंको सितापाइला चोकमा आफ्नो शाखा स्थानान्तरण गरेको छ । उक्त स्थानान्तरित शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले गरेका छन् । बैंकले नारायणी नेशनल फाइनान्स लि.लाई प्राप्ती गर्दा शंखमुलमा दोहोरिएको शाखाको कारोबार एउटा शाखामा एकीकृत गरी अर्का शाखालाई सितापाइलामा स्थानान्तरण गरिएको हो । सो शाखाबाट ग्राहकहरुलाई लकर सेवा समेत उपलब्ध गराइएको छ । हाल बैंकले ६८ वटा शाखा र ७६ वटा एटिएमद्वारा ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन. काठमाडौंमा एक्स्टेन्सन काउन्टर तथा अधिराज्यका विभिन्न स्थानहरुमा १३ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।
एलजी एयर कन्डिसनिङ कन्क्लेभ सम्पन्न, एयर कन्डिसनरका नयाँ भेराइटी बजारमा
काठमाडौं । सिजी इलेक्ट्रोनिक्स र एलजी इलेक्ट्रोनिक्सले एलजी एयर कन्डिसनिङ कन्क्लेभ २०१७ सम्पन्न गरेको छ । सिंगापुरमा सम्पन्न उक्त कन्क्लेभमा एलजीका मल्टि भि एचभिएसी सिस्टममा आधारित एयर कन्डिसनरको प्रवर्द्धन गरिने बताइएको थियो । एयर कन्डिसनरको प्रवर्द्धन गरि भविष्यमा उर्जाको बचत गर्न तथा ग्रिनर इभोलुसका लागि एलजीका उत्पादन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एयरकन्डिसनिङ कन्क्लेभमा एलजीले घरायसीका साथै कमर्सियल एयर कन्डिसनरको पनि उत्पादन शुरु गरेको छ । सन् १९६८ मा कोरियामा सुरु भएको ब्राण्ड एलजीले एयरकन्डिसनरका नयाँ भेराइटी बजारमा ल्याएको जनाएको छ ।
सेयर बजारमा उतारचढाव, नेप्से २२ अंकले घट्दा २ अर्ब ५४ करोडको सेयर कारोबार
काठमाडौं । सेयर बजारमा उतारचढाव भएको छ । मंगलबार उच्च अंकले उकालो लागेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ । बुधबार परिसूचक २२ दशमलब ३३ अंकले ओरालो लागेर १५८८ अंकमा झरेको छ । बजार खुलेको केही समयमै बढेर १६४३ अंकमा पुगेको परिसूचक करिब एक घण्टामै घटेर १५९५ अंकमा झरेको थियो । त्यस्तै, करिब साढे १२ बजेतिर बढेर १६३५ अंकमा पुगेको परिसूचक त्यसपछिको कारोबारमा भने निरन्तर ओरालो लागेर १५८८ अंकमा अडेको छ । बजारमा नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने सुधार नै भएको छ । सो दिन २ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन मंगलबारको तुलनामा १ अर्ब १६ करोड ७१ लाख रुपैयाँले बढी हो । मंगलबार एक अर्ब ३८ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको थियो । बुधबार १४९ कम्पनीको ५० लाख ३३ करोड कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा ७ वटा समूहको परिसूचक ओरालो लागेका छन् भने ट्रेडिङ समूहको परिसूचक सामान्य अंकले उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १५२ अंकले ओरालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, होटल, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः ७३, ६६, २० रु १६ अंकले ओरालो लागेका छन् ।
वेष्टर्न डेभलपमेन्ट बैंकले ३ करोड ३० लाख रुपैयाँ लाभांश दिने, चुक्ता पूँजी ३४ करोड नाघ्ने
काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३ करोड ३० लाख ४४ हजार २१० रुपैयाँ बराबरको लाभांश दिने भएको छ । बैंकले सेयरधनीलाई ३ करोड १३ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस र १६ लाख ५२ हजार २१० रुपैयाँ बराबरको नगद गरि सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय चैत १३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । सभाले पारित गरेपछि मात्र बैंकका सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ३१ करोड ३९ लाख २० हजार रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ३४ करोड ५३ लाख रुपैयाँ नाघ्ने छ । बुधबार बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँ रहको छ ।
एनआईसी एशियाको १५ प्रतिशत हकप्रद खुला, वैशाख १९ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । एनआईसी एशिया बैंकले सर्वसाधारणको लागि १५ प्रतिशत (अर्थात १०० बराबर १५ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले चैत १६ गते (बुधबार)देखि एक सय अंकित दरको ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी २०७४ वैशाख १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले काठमाडौंको सुन्धारमा रहेको सिभिल क्यापिटल मार्केट र बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटलबाट आवेदन दिन सक्नेछन् । साथै, काठमाडौंमा रहको एनआईसी एशिया बैंक तथा बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन गर्न सक्ने सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । सो मात्राको हकप्रद निष्कासन पछि बैंकको चुक्ता पूँजी ६ अर्ब ६९ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ४७७ रुपैयाँमा कारोबार भएको थियो ।
राष्ट्र बैंकको नियमनमा अब सहकारी पनि, अर्बभन्दा माथिको विगोमा १० वर्षसम्म कैद
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको हिसाव किताव जुनसुकै बेला पनि हेर्न पाउने गरी नयाँ सहकारी ऐनको ड्राफ तयार भएको छ । सहकारी संस्थाहरू छाडा भएर आम ऋणीलाई ठग्ने र हिसाव नदेखाउन परिपाटीको अन्त्य गर्न नयाँ सहकारी विधेयकमा यस्तो व्यवस्था गर्न लागिएको हो । सहकारीको मूल्य मान्यता पालना गराउने तथा सहकारीको हित प्रवद्र्धन र बजारीकरणको लागि नयाँ सहकारी ऐन आवश्यक भएकोले यस्तो ड्राफ तयार पारिएको सरकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले बताए । ‘नयाँ ऐन पास भएपछि सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेपछिमात्र आफ्नो कारोवार तथा सेवा सञ्चालन गर्न पाउने छ,’ उनले भने ‘बैंकले उनीहरूको नियमन गर्नेछ । ऐन पास भएपछि प्राकृतिक व्यक्तिमात्र सहकारीको सदस्य हुन पाउने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ । विद्यमान ऐनमा व्यक्ति वा संस्था पनि सहकारीको सदस्य हुन पाउने व्यवस्था छ । सहकारी संस्थाहरूले एक अर्बभन्दा माथिको विगोमा १० वर्षसम्म कैदको व्यवस्था गरेको विधेयकमा उल्लेख गरिएको छ । उक्त विधेयकमा १ अर्बभन्दा बढी जतिसुकै रुपैयाँ भएपनि ८ वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था गरिएको छ । नयाँ ऐनमा १० करोड रुपैयाँभन्दा माथिको विगो भए ६ वर्षदेखि ८ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । एक देखि १० करोडसम्म विगो भएमा ४ वर्षदेखि ६ वर्षसम्म कैदको व्यवस्था गरिएको छ । सहकारीले प्रदान गर्ने ऋण तथा ब्याजदरबीचको अन्तर ६ प्रतिशतभन्दा बढी भएमा त्यस्तो कार्यको गम्भिरता तथा प्रकृतिको आधारमा ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था नयाँ ऐनमा व्यवस्था गरिएको छ । कुनै सदस्यलाई आफ्नो पूँजीकोषले तोकेभन्दा बढी हुने गरी ऋण प्रदान गरेमा, सदस्य बनेको ३ महिनाअघिनै ऋण दिएमा ऐनले उक्त जरिवानको व्यवस्था गर्न लागेको हो । यदि ऐन पासभएमा शेयरपूँजीको दश गुणाभन्दा बढी हुने गरी बचत संकलन गरेमा तथा शेयर पूँजीको १५ प्रतिशतभन्दा बढी शेयर लाभांश वितरण गरेमा उक्त ऐन आकर्षित हुने व्यवस्था गरिएको छ । कुनै व्यक्ति वा सहकारी संस्थाले पुनः यस्ता कसुरहरु दोहोराएमा त्यस्ता व्यक्ति वा सहकारीलाई रजिष्ट्रार वा कार्यालय प्रमुखले प्रत्येक पटकको दोव्वर जरिवाना गर्न सक्ने छ । नयाँ ऐनमा सुरक्षित पूँजी फिर्ता कोषबाट कारोबारको आधारमा नाफाको बढीमा ४० प्रतिशतसम्म रकम फिर्ता दिने व्यवस्था गरिएको छ । ‘२०४८ मा बनेको सहकारी सम्बन्धी ऐन पुरानो भएको र ऐनले गरेका व्यवस्थाले कतिपय मुद्दाहरु सल्टाउन अप्ठ्यारो परेपछि मन्त्रालयले नियम उलंघन गर्नेलाई कडा सजायको व्यवस्था सहित विधेयक तयार पारेको छ,’उनले भने ‘यसको क्षेत्र तथा दायरामा पनि परिर्वतन गर्नु पर्नेछ । हाल भएका सहकारीलाई व्यवस्थित गर्न तथा नयाँ बन्ने सहकारी संस्थाले महानगरपालिकामा एउटा वडामा, उपमहानगरपालिकाले दुई वडा, नगरपालिकाको हकमा जोडिएका तीन वडा र गाउँपालिकामा सोही गाउँपालिकाको आफ्नो कार्य क्षेत्र विस्तार गर्न पाउने व्यवस्था ऐनले गरेको छ । विषयगत सहकारीमा भने यसको आधारमा ऐनले तोकिए बमोजिम कार्यक्षेत्र तथा अन्य व्यवस्था तोकिने छ । सहकारीमा बढ्दै गएको अनियमितालाई रोक्न तथा सहकारीलाई सुरक्षित एवम् पारदर्शी व्यवसाय बनाउन मन्त्रालयले समय सापेक्ष नयाँ ऐनको विधेयक तयार पारी व्यवस्थापिका संसद्को अर्थ समितिमा पठाएको हो । मन्त्रालयले गत साउत ७ गते उक्त विधेयक तयार पारी संसदीय समितिमा दर्ता गराएको थियो भने असोज १८ गते समितिमा गएपनि हालसम्म उक्त ऐनमा कुनै छलफल नभएको मन्त्रालयले जानकारी दिएको छ ।
ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा बौद्धमा
काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्नो नयाँ शाखा बौद्धमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरेका छन् । शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले मनास्लु विकास बैंकसँग मर्जरको लागि नेपाल राष्ट्र बैंकसँग संयुक्त कारोवार गर्न अन्तिम स्वीकृतीको लागि निवेदन पेश गर्ने पक्रियामा रहेको बताए । मर्जरपछि बैंकले १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने छ । बैंकले हाल ३१ वटा शाखाहरुबाट १ लाख २५ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको छ ।