७४४ वटै स्थानीय तहलाई एक/एक करोड अनुदान, तत्कालिन पुर्वाधारमा खर्च गरिने
काठमाडौं । सरकारले नव गठित ७४४ वटै स्थानिय तहलाई एक एक करोड नगद अनुदान प्रदान गरेको छ । अर्थ मन्त्रालयले बुधबार सबै स्थानिय तहको भौतिक पूर्वाधार बिकासमा खर्च गर्न गरि ७४४ करोड रुपैंयाँ अनुदान निकासा गरेको हो । नयाँ बनेका गाउँ पालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको पूर्वाधार विकासका लागि एक करोडका दरले रकम निकासा गरिएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । यसले जनताले स्थानीय निकायको पुनःसंरचना भएको अनुभुती गर्ने अपेक्षा अर्थ मन्त्रालयले गरेको महराले बताए । ‘स्थानिय निकायको पुनःसंरचना हुने तर आवश्यक पर्ने रकम नहुँदा, स्थानीय तहको पुनःसंरचना बोर्डमा मात्र सीमीत नहोस् भनेर यो रकम उपलब्ध गराएका हौं’, महराले भने ।
इपिएस भाषा परिक्षाको शुल्क ग्लोबल आइएमई बैंकका ९४ शाखाहरुबाट संकलन
काठमाडौं । ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । बैंकले चैत ९ गतेदेखि चैत १८ गतेसम्म सञ्चालन हुने ८ औँ इपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क आफ्ना ९४ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो । नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परिक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकका देशभर रहेका ९४ वटा शाखाहरु मार्फत परिक्षा शुल्क संकलन गरिएको कारण यसवर्ष सेवाग्राहीहरुले लामो लाईनमा बस्नुपर्ने समस्याबाट छुटकारा पाएका छन् ।
राजधानीमा फेरी थपियो ३२ सिटे ठुलो बस
काठमाडौं । राजधानीका सडकमा फेरी ३२ सिट क्षमताका ठुला बस थपिएका छन् । गोकर्णेश्वर यातायात प्रालिले ८ मीटर च्यासिसमा आधारित ३२ सिट क्षमताका बस सञ्चालन गरेको छ । प्रालीले अशोक लेलैण्डका लिनएक्स स्मार्ट बसबाट चैत ८ गतेदेखि सेवा आरम्भ गरेको अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताए । हाल २० वटा बसहरू संचालनमा ल्याइएको छ । जसमध्ये १० वटा बसहरू माकलबारीबाट नारायणटार, गौरीघाट, मित्रपार्क, गौशाला हुदै कोटेश्वर पुगेर चक्रपथ परीक्रमा गर्ने र चावहिलबाट पूनः मित्रपार्क आएर सोही रुटबाट फर्किने छन् । बाँकी १० वटा बसले माकलबारीबाट नारायणटार, जोरपाटी, बौद्ध, चावहिल, धुम्बाराही हुदै चक्रपथ परिक्रमा गर्ने र सोही रुटबाट फर्किने छन् । २० वटा बसले सुविधा नपुग्ने भएकोले पुनः १० दिन भित्र ५ वटा बस थप्ने कम्पनीले जनाएको छ ।
हकप्रद निष्काशनका लागि एकैदिन तीन कम्पनीले दिए आवेदन, कुन कुनले दिए?
काठमाडौं । राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिमको पूँजी बढाउने क्रममा बुधबार मात्रै तीन कम्पनीले धितोपत्र बोर्डमा हकप्रद निष्काशनको लागि आवेदन दर्ता गराएका छन् । सनराइज बैंक, गरिमा विकास बैंक र गुडविल फाइनान्सले एकैदिन छुट्टाछुट्टै मात्राको हकप्रद निष्काशनको लागि आवेदन दिएका हुन् । सनराइज बैंकले ३० प्रतिशत(अर्थात १० बराबर ३ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । बैंकले एक अर्ब ६३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड ६३ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम प्रभु क्यापिटल लि. लाई दिएको छ । त्यस्तै, गरिमा विकास बैंकले पनि ७० प्रतिशत(अर्थात १० बराबर ७ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । सो बैंकले ९० करोड ७६ लाख रुपैयाँ बराबरको ९० लाख ७६ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम एस क्यापिटल लि. लाई दिएको छ । त्यसैगरि, गुडविल फाइनान्सले पनि ६० प्रतिशत(अर्थात १० बराबर ६ को अनुपातमा) हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २७ करोड २२ लाख रुपैयाँ बराबरको २७ लाख २२ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । बैंकले सेयर निष्काशनको काम एनआईबीएल क्यापिटल मार्केट लि. लाई दिएको छ । यी तीन वटै कम्पनीले बोर्डको अनुमति पाए पछि मात्रै हकप्रद सेयर निष्काशन गर्ने छन् ।
नेपाल टेलिकमको प्रति शेयर आम्दानी १०५ रुपैंयाँ बढि, बजार मूल्य ६३५ मात्रै
काठमाडौं । नेपाल टेलिकमको प्रति शेयर आम्दानी १०५ रुपैंयाँ ५८ पैसा पुगेको छ । टेलिकमले चालु आर्थिक बर्षको दोश्रो त्रैमासिकमा आफ्नो प्रति सेयर आम्दानी १०५ रुपैंयाँ ५८ पैसा पुर्याएको हो । जबकी गत आवको सोही अवधीमा कम्पनीको यस्तो आम्दानी जम्मा ९६ रुपैंयाँ ७५ पैसा थियो । कम्पनीले पुस मसान्तसम्ममा २२ अर्ब ४७ करोड रुपैंयाँ बराबरको कारोबार गरेर ७ अर्ब ९१ करोड रुपैंयाँ नाफा आर्जन गरेको छ । १५ अर्ब चुक्ता पुँजी रहेको टेलिकमले गत आर्थिक बर्षमा १३ अर्ब २७ करोड नाफा कमाएको थियो । टेलिकमको प्रति सेयर आम्दानी आर्थिक बर्ष २०७२/७३ मा बाहेक निरन्तर वृद्धि हुँदै आएको छ । सो आवमा भने ८०६ जना कर्मचारीलाई भिआरएसमा पठाउँदा तीन अर्ब भन्दा बढि रकम खर्च भएकाले कुल नाफा र प्रति सेयर आम्दानी दुबै घटेको टेलिकमका प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले बताइन् । तैपनि ९१ रुपैंयाँ २१ पैसा प्रति सेयर आम्दानी कायम हुनु राम्रो भएको उनको भनाई छ । आर्थिक बर्ष २०६८/६९ मा टेलिकमको प्रति सेयर आम्दानी ७७.७३ रुपैंयाँ थियो । त्यसको एक बर्षपछि त्यो घटेर ७५.३३ रुपैंयाँमा झरेको थियो । तर २०७०/७१ मा पुग्यो कम्पनीको त्यस्तो आम्दानी ७७.१२ पुग्यो । आव २०७१/७२ मा पुग्दा टेलिकमको प्रति सेयर आम्दानी ९७.०४ पुग्यो तर त्यसको एक बर्ष पछि अर्थात गत आवमा भने ९१.२१ रुपैंयाँमा खुम्चियो । चालु आवमा भने टेलिकमको प्रति सेयर आम्दानी अझै बढ्ने देखिएको छ । ‘यसपाली कुल नाफा पनि वृद्धि हुन्छ र प्रति सेयर आम्दानी पनि बढ्छ’, कम्पनीका प्रमुख वित्तिय अधिकृत सुर्यभक्त पोखरेलले भने । प्रति सेयर आम्दानी एक सय रुपैयाँ नाघेको कम्पनीको सेयर मूल्य भने ६३५ रुपैंयाँ मात्रै रहेको छ ।
सेयर बजार उकालो लाग्ने क्रम जारी, नेप्से १८ अंकले बढ्दा एक अर्ब ३९ करोडको कारोबार
काठमाडौं । सेयर बजार उकालो लाग्ने क्रम जारी रहेको छ । लगातार उकालो लागेको परिसूचक बुधबार पनि दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक १८ दशमलब ८५ अंकले बढेर १४८१ दशमलब ०८ अंकमा अडेको छ । बजार खुलेको करिब ३ घण्टामै १५१२ अंक नाघेको परिसूचक त्यसपछिको कारोबारमा भने केही गिरावट आएको देखिन्छ । बजारमा परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । बुधबार १ अर्ब ३९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । १४६ कम्पनीको २५ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम करिब ४ करोड रुपैयाँ घटी हो । सो दिन बीमा समूहको परिसूचक ८८ दशमलब ६२ अंकले ओरालो लागेको छ भने अन्य बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ४० अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ र हाइड्रोपावर समूहको परिसूचक २५ अंकले बढेका छन् । बुधबार कारोबार गर्ने उत्कृष्ट दश कम्पनी बुधबार कमाउने उत्कृष्ट दश कम्पनी
नेप्से परिसूचक १५०० नाघ्यो, कारोबार पनि एक अर्ब माथी
काठमाडौं । बुधबार नेप्से परिसूचक १५०० नाघेको छ । दिउँसो २ बजेर ३ मिनेट जाँदाँसम्ममा परिसूचक १५०३ दशमलब ९ पुगेको छ । परिसूचक मात्रै होइन कारोबार रकममा पनि वृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म एक अर्ब ६ करोड मुल्य बराबरको सेयर कारोबार भैसकेको छ । नेप्सेका सात वटै परिसूचक उकालो चढेका छन् । सानिमा बैंकको ५ करोड, नेपाल बैंकको ४ करोड, एनसीसी बैंकको पनि ४ करोड भन्दा बढि मुल्य बराबरको सेयर कारोबार भैसकेको छ ।
देवःविकास बैंकले युनियन फाइनान्स एक्वाएर गर्ने
काठमाडौं । देवः विकास बैक लिमिटेडले युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति(एक्वाएर)गर्ने सम्झौता भएको छ । उक्त एक्वाएर गर्ने सम्बन्धमा मंगलबार दुई संस्था बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा देवः विकास बैकको तर्फबाटबाट संचालक समितिका अध्यक्ष सुवर्णलाल बज्राचार्य र युनियन फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष भक्तबहादुर मल्लले हस्ताक्षर गरेका छन् । नेपाल राष्ट्र बैकबाट जारी निर्देशन बमोजिम २०७४ आषाढ मसान्तसम्म तोकिए बमोजिम चुक्ता पूँजी पुर्याउनु पर्ने भएकोले सो बमोजिम चुक्ता पूँजी कायम गर्न यो समक्षदारी पत्रमा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ । साथै, बैंकले उक्त फाइनान्स प्राप्ति पछि नपुग चुक्ता पूँजीको लागि थप संस्थाहरु प्राप्त/मर्जर गर्ने योजना सहित कार्य गरिरहेको छ । साथै, उक्त संस्था प्राप्ति पछि संस्थाको नाम देवः विकास बैक लि. नै रहने बैंकले जनाएको छ ।