बैंक अफ काठमाण्डूमा संजय शाह र राधेश पन्तको पुनरागमन, शाह र पन्तको फाटेको मन अध्यक्ष श्रेष्ठले सिऊँन सक्लान् ?
काठमाडौं । ८ वर्षपछि संजयबहादुर शाह र राधेश पन्त बैंक अफ काठमाण्डूमा फर्किएका छन् । ८ वर्षअघि आपसी झगडामा फसेर उनीहरु बाध्य भई बैंकबाट बाहिरीएका थिए । ८ वर्षपछि चुनावी प्रतिस्पर्धाबाट दुबै जना बैंकको सञ्चालकमा चुनिएका छन् । त्यतिबेला शाह बैंकको अध्यक्ष थिए भने पन्त प्रमुख कार्यकारी अधिकृत । दुबै जना बैंकका डोमिनेन्ट प्रमोटर सेयर होल्डर पनि हुन् । अध्यक्ष शाहले पन्तलाई प्रमुख कार्यकारी अधिकृत पदबाट हटाउने निर्णय बोर्डबाट गराए । पन्तले प्रतिकार गरे र राष्ट्र बैंकलाई गुहारे । त्यतिबेला पन्त नेपाल बैंकर्स संघको अध्यक्ष पनि थिए । त्यतिबेला राष्ट्र बैंकमा गभर्नर दीपेन्द्रवहादुर क्षेत्री थिए । उनले पन्तलाई हटाउने निर्णय उल्ट्याएर मिलाप गर्न आग्रह गरे तर शाह र पन्तबीच मिलाप भएन । पन्तलाई हटाउनुको कारणबारे राष्ट्र बैंकले बैंक अफ काठमाण्डूलाई स्पष्टीकरण सोध्यो । अध्यक्ष शाहले ‘प्रमुख कार्यकारी अधिकृत नियुक्ती वा हटाउने विषय सञ्चालक समितिको अधिकार भएको’ जवाफ दिए । पुरानो घट्ना सम्झदै दीपेन्द्रवहादुर क्षेत्री भन्छन्–हटाउनु भन्दा केही समयअघि मात्र पन्तले उत्कृष्ट बैकर्स अवार्ड पाएका थिए । सीईओले गल्ती विराम गरेकोबारे केही बताइएन । मेरो लगानी हो, मैले जे निर्णय पनि गर्न सक्छु भन्ने दम्भ देखियो । संस्थागत सुशाशन, कार्य सम्पादन मूल्याङकन केही पनि देखिएन । त्यसपछि कारवाहीको निर्णयमा पुग्यौ । गभर्नर क्षेत्रीले बैंक अफ काठमाण्डूको सञ्चालक समिति भंग गरिदिएँ । विशेष साधारणसभा गरी नयाँ सञ्चालक समिति चयन गर्ने मुख्य जिम्मेवारीसहित राष्ट्र बैंकबाट सञ्चालक समिति खटियो बैंक अफ काठमाडौंमा । झगडिया सञ्चालकलाई उम्मेदवार बन्न नपाइने व्यवस्थासहित निर्वाचत भयो र नयाँ सञ्चालक समिति बन्यो । त्यसपछिको दुईवटा सञ्चालक समितिमा शाह र पन्तले प्रवेश पाएनन् । पन्त तत्काल कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत भए । पछि त्यहाँबाट राजीनामा गरेर लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत भए । चैत ३ गते सम्पन्न साधारणसभाले पुन शाह र पन्तलाई सञ्चालकमा निर्वाचित गर्यो । निर्वाचनमा संस्थापक सेयरधनीको तर्फबाट शाह, पन्त, शान्तराज सिंह थापा, प्रकाश श्रेष्ठ, केदारनाथ गौतम र रामकाजी कोने प्रतिस्पर्धामा उत्रिए । निर्वाचनमा थापा र कोने पराजित भए । श्रेष्ठ र गौतम मर्जपूर्व लुम्बिनी बैंकका प्रवद्र्धक हुन् । श्रेष्ठ अध्यक्ष भएका छन् । उनी पर्यटन क्षेत्रमा स्थापित व्यवसायी हुन् । गौतम कर्मचारी संचयकोषको प्रतिनिधि हुन्, उनी नागरिक लगानी कोषसहितको समर्थनमा चुनिएका हुन् । सर्बसाधारण सेयरधनी समूहको तर्फबाट डा हेमराज सुवेदी, गोविन्दप्रसाद शर्मा, सौरभ केसी, मदनलाल जोशी निर्वाचित भएका छन् । सञ्चालक समितिमा निर्वाचित मध्ये शाह र पन्तबीचको सम्बन्धबारे धेरैको मनमा खुल्दुली छ । उनीहरुबीच फाटेको मन अध्यक्ष प्रकाश श्रेष्ठले सिऊँन सक्छन् कि सक्दैनन ? क्षमताको हिसावले दुबै जना बैंक सञ्चालक बन्न अब्बल मान्छे हुन्, इगो समस्या आयो भने बैंक फेरी सफल नहुन सक्छ ।
प्रभु इन्स्योरेन्सको १९ लाख कित्ता हकप्रद सेयर निष्कासन, चैत ३० गतेदेखि आवेदन खुला
काठमाडौं । प्रभु इन्स्योरेन्सले १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले २ कित्ता र बराबर एक कित्ता अर्थात ५० प्रतिशत हकप्रद निष्सकासन गरेको हाे । कम्पनीकाे चुक्ता पुँजी हाल ३८ करोड ५० लाख १५ हजार ७१६ रुपैयाँको छ । हकप्रद सेयरकाे लागि यही चैत्र ३० गतेबाट जेठ २ गतेसम्मका अावेदन गर्न सकिने कम्पनीले जनाएकाे छ । यसको सेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापटिल लिमिटेड हो । यसको आवेदन प्रभु क्यापिटल कमलादी र प्रभु बैंक र यसका शाखा कार्यालयबाट आवेदन दिन पाइने छ ।
मुग्लिन नारायणगढ सडक अब दैनिक ६ घण्टा अबरुद्ध, विहान १० बजेदेखि ४ बजेसम्म सवारी आवागमन ठप्प
काठमाडौं । विश्व वैंकको ऋण सहयोगमा बाटो विस्तारको काम भइरहेको मुग्लिन नारायणगढ सडक खण्ड अब दैनिक ६ घण्टा बन्द हुने भएको छ । यो सडक दैनिक विहान १० बजेदेखि ४ बजेसम्म बन्द गरेर बाटो विस्तरको काम गर्ने यो सडक आयोजनाले जानकारी दिएको छ । यस अघि विहान साढे १० देखि ३ बजेसम्म अर्थात साढे चार घण्टा नियमित मर्मतको लागि सडक बन्द गर्ने गरिएकोमा अब यही चैत्र १५ गतेबाट दैनिक ६ घण्टा बाटो बन्द गरेर मर्मत गरिने भएको छ । यो आयोजनाले यसको विकल्प अन्य सडक प्रयोग गर्न र धैर्य गर्न पनि आम सर्वसाधार तथा बाटो प्रयोगकर्तासँ अनुरोध गरेको छ । यो बाटो दुई लेनबाट चारलेनको बनाउने काम भइरहेको छ ।
कृषिका परियोजनाका आकार वार्षिक बजेटसरह, योजना धेरै कृषिक्षेत्रको प्रगति र सुधार कम
काठमाडौं । कृषि क्षेत्रमा दातृ सहयोगमा सञ्चालित कार्यक्रमहरूको रकमगत आकार सरकारकै कृषि बजेटबराबर भए पनि प्रभावकारिताबारे अध्ययन नै नभएको पाइएको छ । दातृ निकाय आफैंले सञ्चालन गरेका कार्यक्रमबारे केही अध्ययन गरे पनि सरकारले यस्ता आयोजनाको बृहत लेखाजोखा नै नराखेको हो । सोही कारण दाताले कार्यक्रम हस्तान्तरण गर्नेवित्तिकै त्यसको प्रगति नै अलमलमा पर्ने गरेको छ । चालू आर्थिक वर्षका लागि मन्त्रालयका लागि २७ अर्ब ४३ करोड रकम विनियोजन गरिएको छ । कृषि विकास मन्त्रालय मातहत २७ अर्ब ६५ करोड रकम बराबरका वैदेशिक सहायताका मुख्य १० परियोजना सञ्चालनमा छन् । यद्यपि, यो रकम एकै वर्षको कार्यक्रमको भने हैन । यीमध्ये अधिकांश परियोजना पाँच वर्षयताका छन् भने परियोजना अवधि अधिकतम आव ०७६/७७ सम्मका छन् । परियोजनामा सबैभन्दा धेरै लगानी विश्व बैंकको छ । विश्व बैंकको चार वटा परियोजनाको कुल बजेट मात्र ९ करोड ६७ लाख ५० हजार डलर (करीव १० अर्ब रुपैया) रहेको छ । दोस्रो ठूलो लगानी गर्नेमा अन्तर्राष्ट्रिय कृषि विकास कोष (आइफाड)को ७ करोड ९ लाख डलरको दुई परियोजनामा सञ्चालनमा छन् । जीएएफएपीको ५ करोड ७५ लाख डलर र एसडीसीको २ करोड ८० लाख डलर बराबरको परियोजना चलिरहेका छन् । एसियाली विकासको दुई परियोजनामा ३ करोड ३८ लाख डलर कुल बजेट छ । हाल ७५ वटै जिल्लामा संचालित व्यावसायिक कृषि तथा व्यापार आयोजना सन् २००९ देखि तत्कालीन समयमा २५ जिल्लामा सुरु गरिएको थियो । अतिरिक्त लगानीसहित ८ करोड १८ लाख ५० हजार डलरको यो परियोजना जुन २०१८ मा सकिँदैछ । कृषिमा दाताको बजेट दाता कुल लागत (डलर) विश्व वैंक ९६.७५ मिलियन (९ करोड ६७ लाख ५० हजार) एडीवी ३८ मिलियन (३ करोड ८० लाख डलर) आइफाड ६०.९ मिलियन (६ करोड ९ लाख डलर) जीएएफएसपी ५७.५ मिलियन (५ कोड ७५ लाख डलर) एसडीसी २.८ मिलियन (२८ लाख डलर) स्रोतः कृषि विकास मन्त्रालय कारोबार दैनिकबाट ।
बैंकले उपभोग्य कर्जाको व्याजदर बढाउँदा समस्या, व्याजदर छिटो बढेपछि ऋणीलाई समस्या
काठमाडौं । बैैंक तथा वित्तीय संस्थाले उपभोग्य कर्जाको व्याजदर जथाभावी बढाउँदा कर्जा जोखिममा पर्ने संभावना बढ्दै गएको छ । व्यक्तिगत जमानत वा धितोमा प्रवाह भएको उपभोग्य कर्जाको व्याजदर छोटो समयमा नै उच्च दरले बढेपछि ऋणीहरुले समायमा नै पैसा तिर्न नसकेको बैंकहरुले नै बताएका छन् । ऋणीलाई आफ्नो बजेट बनाउँदा बैंक किस्ताका किस्ताका रुपमा छुट्याइएको रकम थोरै हुन्थ्यो । तर छिटो व्याजदर बढेको र दोब्बरसम्म व्याजदर पुगेका कारण ऋयालीलाई समस्या परेको उल्लेख छ । बैंक तथा वित्तीय संस्थादले पछिल्लो ५ महिनादेखि वित्तीय प्रणालीमा तरलमा अभाव भएको भन्दै निक्षेपको व्याजदर बढाएपछि कर्जाको व्याजदर पनि पछिल्लो ३ महिनामा दोब्बर भएको छ । नयाँ पत्रिका दैनिकबाट ।
भारतले बढायो नेपालीलाई पेन्सन, भूपूगोर्खा सैनिकको पेन्सनलाई ४० अर्ब
काठमाडौं । भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ। यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो। भारत सरकारले पेन्सनका लागि छुट्ट्याएको बजेटमा भारतीय सेनामा कार्यरत नेपालीलाई दिँदै आएको सेवासुविधासमेत जोड्ने हो भने नेपालको कुल रक्षा बजेटभन्दा करिब दुई गुणा बढी हुन आउँछ। सन् २०१६र१७ मा नेपालको कुल रक्षा बजेट ३६ अर्ब १ करोड ८० लाख ५ हजार रुपैयाँ छ भने भारतले नेपालमा रहेका भूपूगोर्खा सैनिकको पेन्सनका लागि ४० अर्ब रुपैयाँ छुट्याएको देखिन्छ। नेपालको कुल रक्षा बजेटभन्दा ४ अर्ब रुपैयाँ बढी भारतले नेपालमा रहेका भूपूगोर्खा सैनिकलाई छुट्ट्याएको हो। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार नेपालमा भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त करिब १ लाख २७ हजारले पेन्सन बुझ्ने गर्छन्। ४० अर्ब रुपैयाँ भारत सरकारले उनीहरुका लागि छुट्ट्याएको हो। अहिले भारतीय सेनामा ३२ हजार नेपाली सेवारत रहेको भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रित शर्माले जानकारी दिइन्। सेवारत ३२ हजार गोर्खा सैनिकको सेवासुविधाका लागि यसवर्ष करिब २० अर्ब रुपैयाँ छुट्ट्याएको छ। नागरिक दैनिकबाट ।
पोखरामा पर्यटकको अवैध व्यापार, पर्यटक भिसामा आएर व्यापारदेखि रेष्टुरेन्टको मालिकसम्म
पोखरा । सरकारी अनुगमन नहुँदा पर्यटकीय सहर पोखरामा बसेर अवैध व्यापार गर्ने पर्यटक बढ्दै गएका छन् । पर्यटक भिसामा आएर सडकमा बसेर क्युरियो सामानको बिक्रि गर्नेदेखि रेस्टुराँ र व्यवसायिक रुपमा प्याराग्लाइडिङ गराउने पर्यटकको संख्या बढेको छ । पछिल्लो समयमा भिसा अवधि सकिएर पनि अवैध रुपमा बस्ने पर्यटकको संख्या बढ्दै गएको छ । लामो समय बस्ने पर्यटकका क्रियाकलापहरुको नियमित अनुगमन नहुँदा पोखरामा गैरकानुनी रुपमा बस्ने र अवैध रुपमा कारोबार गर्ने विदेशी पर्यटक बढेका हुन् । कुनै घटनामा संलग्न भएको अवस्थामा पक्राउ परेर अनुसन्धान गर्दा मात्रै प्रहरीले पर्यटक अवैध रुपमा बसेको भेउ पाउने गरेको छ । अन्नपूर्ण पोस्टबाट ।
नेपाल दक्षिण एसियाको तेस्रो खुसी राष्ट्र, खुशी र दुखी १०/१० राष्ट्रको नाम सार्वजनिक
काठमाडौं । नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा परेको छ। संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको छ। विश्वको खुसी राष्ट्रका सूचीमा नेपाल ९९औँ सूचीमा छ। गत वर्ष भने नेपाल विश्वको १०७औँ खुसी राष्ट्रमा थियो। यस वर्ष नेपालले आठ स्थान सुधार गरेको छ। नर्वे संसारकै खुसी राष्ट्र वल्र्ड ह्याप्पिनेस संस्थाको प्रतिवेदनमा युरोपेली राष्ट्र नर्वे संसारको सबैभन्दा खुसी राष्ट्रको सूचीमा परेको छ। गत वर्ष डेनमार्क पहिलो स्थानमा रहँदा नर्वे चौथो स्थानमा थियो। डेनमार्क यस वर्ष दोस्रो स्थानमा झरेको छ। संसारको सबैभन्दा खुसी हुने राष्ट्रको पहिलो ६ स्थानसम्म युरोपेली देश नै छन्। तेस्रो स्थानमा आइसल्यान्ड, चौथोमा स्विट्जरल्यान्ड, पाँचौँमा फिनल्यान्ड तथा छैटौँमा नेदरल्यान्ड छन्। दक्षिण एसियामा पाकिस्तान पहिलो आतंकवादको चपेटामा रहेको पाकिस्तान दक्षिण एसियाकै सबैभन्दा खुसी राष्ट्रमा परेको छ। समग्र विश्वमा भने पाकिस्तान ८०औँ स्थानमा छ। पाकिस्तानले ५।२६ अंक पाएको छ। दक्षिण एसियाको दोस्रो खुसी राष्ट्रमा भुटान रहेको छ। भुटानले ५.०१ अंक पाएको छ। बंगलादेश ४.४६ अंकसहित चौथो र ४.४४ अंकसहित श्रीलंका पाँचौँ खुसी राष्ट्रमा परेका छन्। दक्षिण एसियाकै ठूलो तथा विकसित भारत भने छैटौँ खुसी राष्ट्रमा रहेको छ। भारतले ४.३१ अंक पाएको छ। अफगानिस्तान ३ं.७९ अंकसहित सातौँ खुसी राष्ट्रमा रहेको ग्लोबल साइन्टिफिक स्टडिज संस्थानको प्रतिवेदनमा उल्लेख छ। अमेरिका १४औँ राष्ट्र विश्वकै सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिका खुसी राष्ट्रको शीर्ष दश स्थानमा समावेश छैन। अमेरिका चौधौँ स्थानमा छ। अमेरिका गत वर्षभन्दा एक स्थान तल झरेको प्रतिवेदनमा उल्लेख छ। अमेरिकाले यसपटक ६.९९ अंक पाएको छ। चीन भने ६.६५ सहित २०औँ खुसी राष्ट्रको सूचीमा छ। दुःखीमध्येको पहिलो खुसी राष्ट्रमा हैटी ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले १४५औँदेखि १५४औँ स्थानसम्मकालाई विश्वकै दुःखी राष्ट्र मानेको छ। सबैभन्दा दुःखी राष्ट्रमध्येको पहिलो खुसी राष्ट्रमा ३.६३ अंकसहित हैटी छ। दुःखी राष्ट्रको पनि सबैभन्दा दुःखी राष्ट्रमा २.९० अंकसहित बुरुन्डी रहेको छ। सबैभन्दा खुसी राष्ट्र स्थान राष्ट्र अंक १) नर्वे ७.५३ २) डेनमार्क ७.५२ ३) आइसल्यान्ड ७.५० ४) स्विट्जरल्यान्ड ७.४९ ५) फिनल्यान्ड ७.४६ ६) नेदरल्यान्ड ७.३७ ७) क्यानडा ७.३१ ८) न्युजिल्यान्ड ७.३७ ९) अस्ट्रेलिया ७.३१ १०) स्विडेन ७.२८ दुःखी १० राष्ट्र स्थान विश्वमा स्थान राष्ट्र अंक १)१४५ हैटी ३.६३ २) १४६ यमन ३.५९ ३) १४७ दक्षिण सुडान ३.५ ४) १४८ लिबेरिया ३.५३ ५) १४९ गुएना ३.५० ६) १५० टोगो ३.४९ ७) १५१ रुवान्डा ३.४७ ८) १५२ सिरिया ३.४६ ९) १५३ तान्जानिया ३.३४ १०) १५४ बरुन्डी २.९० नयाँ पत्रिका दैनिकबाट ।