त्रिविको फारम अब अनलाइनबाट, त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नु नपर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययनरत विद्यार्थीका लागि खुसीको खबर छ । त्रिविको कुनै पनि फाराम भर्न घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अब अन्त्य हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फाराम भर्न अनलाइन प्रविधि ल्याउन थालेको छ । त्यसमा पहिलो चरणमा त्रिविले उपत्यकाबाहिरका आङ्गिक क्याम्पसहरूबाट यो प्रविधि आरम्भ गर्न लागेको हो । उपत्यका बाहिरका विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने झञ्झट हटाउन अनलाइनबाट फाराम भर्ने तयारी थालिएको त्यस कार्यालयले जनाएको छ । विगत ६ महिनादेखि अनलाइनबाट नै फाराम भर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको त्यस कार्यालयको कार्य तालिकाअनुसार यो अनलाइन प्रणाली अहिलेसम्म सुरु भइसक्नु पथ्र्यो तर प्राविधिक काम अझै बाँकी रहेकाले एक महिना थप गरिएको बताइएको छ । ‘उपत्यका बाहिरका विद्यार्थीलाई वार्षिक परीक्षा, रजिस्ट्रेसन र ट्रान्सक्रिप्ट लगायतका फारम भर्न काठमाडौँ आउनुपर्ने झञ्झटबाट मुक्ति दिन यो अनलाइन प्रणालीको विकास गर्न थालिएको हो, तर प्राविधिक काम समयमै नसिकिएकाले एक महिनाको समय थप गरेका हौँ, अब छिट्टै अनलाइन प्रक्रिया सञ्चालन गर्छौं,’ परीक्षा नियन्त्रक केशवराज बास्तोलाले भने। कार्यालयले सञ्चालनमा ल्याउने अनलाइन वेबसाइटमा आधारित ९वेब बेस्ड० सफ्टवेयर त्रिविले आफ्नै जनशक्तिबाट तयार गर्न लागेको हो। ‘हामी अहिले यो प्रणालीको परीक्षण चार विकास क्षेत्रका पाँचवटा आङ्गिक क्याम्पसबाट गर्दैछौँ। यसका लागि चाहिने इन्टरनेट र भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) नेपाल टेलिकमसँगको सहकार्यमा जोड्ने प्रक्रिया अगाडि बढेको छ’, उनले भने। परीक्षा नियन्त्रक बास्तोलाका अनुसार २०५४ सालअघिको विद्यार्थीका सबै तथ्याङ्क पुरानो सफ्टवेयरमा रहेकाले नयाँ सफ्टवेयरमा ती विद्यार्थीको तथ्याङ्क सार्ने कार्य भइरहेको छ। अनलाइन फाराम भरेको एक हप्ताभित्र केन्द्रीय कार्यालयबाट विद्यार्थीले ट्रान्सक्रिप्ट पाउनेछन्। पहिलो चरणमा इलाम, सिराहा, भरतपुर, बुटवल, धनगढीमा रहेका त्रिविका पाँचवटा आङ्गिक क्याम्पसमा परीक्षणको रूपमा अनलाइन फाराम भर्ने प्रविधि सञ्चालन गर्ने तयारीमा परीक्षा नियन्त्रक कार्यलय जुटेको छ । ‘हामीले उपत्यकाबाहिरका विद्यार्थीलाई सजिलो होस् भनेर अनलाइन फाराम सञ्चालनमा ल्याउन लागेका हौँ, अनलाइनबाट फाराम भर्ने प्रणाली सुरु भएपछि विद्यार्थीले आफ्नो ठाँउबाट अनलाइनमा फाराम भरेर सिधै केन्द्रीय कार्यालयमा आएर ट्रान्सक्रिप्ट लिन पाउँछन्’, नियन्त्रक बास्तोलाले भने । त्यसो त केही वर्षयता त्रिविले निजी अनलाइनबाट सबै नतिजा प्रकाशन गदैँ आएकोमा अनलाइन फाराम सञ्चालनसँगै सबै नतिजा त्रिविकै वेब साइटमार्फत प्रकाशन गर्ने जनाएको छ। गोरखापत्र दैनिकबाट ।
दुई सय ३१ नेपाली विदेशी जेलमा, १९ जनालाई मृत्युदण्डको सजाय
काठमाडौं । वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका हुन् । कुवेतको जेलमा रहेका ३६ जनाले ६ महिनादेखि १५ बर्षे जेल सजाय काटिरहेका छन् भने, सात जनाको मुद्दा अदालती प्रक्रियामा छ । साउदी अरबको जेलमा रहेका ७६ मध्ये एकजनासँग ब्लडमनी लिन सहमति भएपनि रकम तोकिएको छैन । मलेसिया जेलमा रहेका १३ जनामध्ये १० जनालाई मृत्युदण्डको सजाय पाउने अभियोगमा जेलमा राखिएको छ । एक जानलाई जन्मकैदको सजाय तोकिएको छ । एकजनालाइृ भने अवस्था नखुलेको भन्दै नेपाल फिर्ता गर्ने केन्द्रमा ल्याइएको छ । जेलमा रहेका मध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ भने थप १४ जनालाई पनि मृत्युदन्ड हुनसक्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । कुवेतमा ५, साउदीमा ३, मलेसियमा १० र यूएईमा एकजनालाई मृत्युदण्डको फैसला भइसकेको छ । जेलमा परेका नेपालीको संख्या साउदीमा – ७६ जना कुवेतमा – ६१ कतारमा – ५० यूएईमा – १९ मलेसियामा – १३ बहराइनमा – ६ ओमानमा – ३ कोरियामा – २ इजरायलमा – १ अन्नपूर्ण पोस्टबाट ।
पाँचखालमा सैन्य अभ्यास गर्न २८ देशका एक हजार २४ सैनिक नेपालमा
काठमाडौं । नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा सोमबारदेखि २८ मुलुकका एक हजार २४ सेनाले संयुक्त सैन्य अभ्यास गर्दै छन् । नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डको संयुक्त आयोजनामा हुने बहुपक्षीय सैन्य अभ्यास २१ चैतमा समापन हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार पाँचखालमा सैन्य अभ्यास उद्घाटन गर्दै छन् । नेपालमा तेस्रोपटक हुँदै सैन्य अभ्यासलाई ‘अभ्यास शान्ति प्रयास ३’ नाम दिइएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापक मिसनमा कार्यरत मुलुकका सेनाबीच तालिम र सहकार्यमा सामन्जस्य कायम गर्न हरेक वर्ष यस्तो अभ्यास आयोजना हुँदै आएको छ । सेनाको तालिम केन्द्रका प्रमुख महासेनानी प्रयोगजंगबहादुर राणाका अनुसार नेपालमा हुन लागेको यो तेस्रोपटक हो । अभ्यासका लागि नेपाली सेनाले ४९ जना सैन्य प्रशिक्षक तयार गरिसकेको महासेनानी राणाले जानकारी दिए । पहिलोपटक सन् २००० जनवरीमा र दोस्रोपटक सन् २०१३ मार्च १९ देखि ७ अप्रिलसम्म नेपालमा बहुपक्षीय शान्ति अभ्यास आयोजना भएको थियो । उक्त अभ्यासमा अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डर हर्रे भी ह्यारिस तथा राष्ट्रसंघको पिस किपिङ अपरेसन विभाग प्रमुख हर्भे ल्याडसस पनि सहभागी हुने कार्यक्रम छ । अमेरिकी कमान्डर ह्यारिस आइतबार काठमाडौं आइपुगेका छन् । ‘यो तालिमको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिसन इलाकामा तैनाथ हुनुपूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरणमा एक–आपसमा सहकार्य गर्ने र शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिवृद्धि ल्याउनु रहेको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । अमेरिकी आए, श्रीलंकाली फर्किए ‘शान्ति प्रयास ३ अभ्यास’ का लागि अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्डका कमान्डर एड्माइरल हर्रे बी ह्यारिस आइतबार काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाध्यक्षरथी पूर्णचन्द्र थापाले स्वागत गरे । ६ दिनअघि आएका श्रीलंकाली सेनाप्रमुख डी सिल्वा आइतबार स्वदेश फर्किएका छन् । उनलाई सेनाको युद्धकार्य महानिर्देशक उपरथी विनोदकुमार श्रेष्ठले बिदाइ गरे । नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि अभ्यासमा स् राष्ट्रसंघमातहत शान्ति स्थापक फौज पठाउने देशहरूमध्ये नेपाल छैटौँ स्थानमा छ । विश्वसनीयता र व्यावसायिकताका आधारमा नेपालको आग्रहमा यस्तो बहुपक्षीय अभ्यास हुन लागेको हो । हाल युएनमातहतका १५ वटा शान्तिस्थापक मिसनमा नेपाली सेनाका चार हजार ६ सय ६० जना खटिएका छन् । राणाका अनुसार स्टाफ ट्रेनिङ, फिल्ड ट्रेनिङ, रिजनल सेमिनार र क्रिटिकल इन्याबलर, क्यापासिटी इन्याब्लर गरी चारवटा विषयमा अभ्यास केन्द्रित हुनेछ । काठमाडौंबाट ४५ किलोमिटरको दूरीमा रहेको पाँचखालमा सेमिनारबाहेक सबै अभ्यास सञ्चालन हुनेछन् । यसपटक उक्त अभ्यासमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई–दुईजना सहभागी हुन लागेको महासेनानी राणाले बताए । उनीहरू पहिलोपटक सहभागी हुन लागेका हुन् । स्टाफ ट्रेनिङमा २६ देशका सेना सहभागी हुनेछन् भने फिल्ड ट्रेनिङका लागि २८ देशका सेना सहभागी हुनेछन् । महिला सैनिकको बेग्लै टिम यसमा सहभागी हुनेछ । कुन–कुन देश सहभागी हुँदै छन् नेपाल, बंगलादेश, बोस्निया हर्जगोभिना, कम्बोडिया, घाना, इन्डोनेसिया, जोर्डन, काजकिस्तान, मलेसिया, मंगोलिया, मेक्सिको, पाराग्वे, फिलिपिन्स, पाकिस्तान, रुवान्डा, श्रीलंका, किर्गिस्तान, थाइल्यान्ड, अमेरिका, उरुग्वे, भियतनाम, अस्टे«लिया, क्यानडा, भारत, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया र बेलायत । नयाँ पत्रिका दैनिकबाट ।
ऋणीसँग सम्मानजनक व्यवहार गर्न र बजार मूल्यअनुसार धितो लिलाम गर्न निर्देशन
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने व्यक्ति, तिनको परिवार र सम्बन्धित नातेदारसँग सम्मानजनक व्यवहार गर्न, धितोमा उनीहरुको सम्पत्तिको सहि मूल्याङकन गर्न र बजार मूल्यअनुसार लिलाम तथा सकार गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै कर्जा लिँदाका बखतमा गरिएको वाचा विपरित बारम्बार व्याजदरमा वृद्धि नगर्न/नगराउने राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आइतबार निर्देएन दिएको छ । २०७३ कात्तिक ८मा सर्वोच्च अदालतबाट भएको फैसला अनुसार कर्जा लिने क्रममा नै ऋणीको सम्पत्तिको सही मूल्याङ्कन हुने बातावरणको सुनिश्चितता गर्ने, धितोमा रहेको सम्पत्ति लिलाम गर्दाको बखतको प्रचलिन बजार मोल अनुसार लिलाम बिक्री तथा सकार गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । ‘प्रत्येक ऋणीले ठगी गर्ने नियतवश नै कर्जा लिएको रकम नबुझाएको हो भन्ने मान्यता कर्जा प्रदायक संस्थाले राख्नु उपयुक्त नहुने हुनाले ऋणी र निजका परिवारप्रति सम्मान र सहानुभूति राखी न्यायोचित तवरले कर्जा असुली गर्ने प्रक्रिया थाल्न उपयुक्त हुने हुँदा सो को सुनिश्चितता हुने गरी व्यवस्था मिलाउने’ राष्ट्र बैंकले दिएको निर्देशमा उल्लेख गरिएको छ–‘ऋण असुली प्रक्रिया प्रारम्भ भएपछि ऋणीको परिवारसँग सम्बन्धित अन्य सदस्यहरुको सामाजिक प्रतिष्ठ, इज्जत, सम्मानमा प्रतिकूल प्रभाव नपर्ने गरी आवश्यक व्यवस्था मिलाउने ।’
स्ट्याण्डर्ड चार्टर्ड बैंककाे एफपीअाेमा ३८ अर्बकाे अावेदन, शुक्रबार म्याद सकियाे तर अाइतबार १० अर्ब अावेदन थपियाे
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले निष्काशन गरेको फरदर एफपिओमा ३८ अर्ब २० कराेड ९४ लाख ९३ हजार५४० रूपैयाँको आवेदन परेको छ । नेपाल धिताेपत्र बाेर्डका प्रवक्ता निरज गिरीका अनुसार २ लाख २३ हजार ३०८ वटा अावेदनबाट उक्त रकमकाे सेयर माग भएकाे हाे । गिरीका अनुसार आश्वा प्रणालीमार्फत ८४ हजार ९१६ वटा आवेदक मार्फत २४ अर्ब ५२ करोड ८ लाख ११ हजार ६८०रुपैयाँ बराबरको आवेदन परेको छ । त्यसैगरी, नगद तथा चेक फारम मार्फत १ लाख ३८ हजार ३९२ आवेदकले १३ अर्ब ६८ करोड ८६ लाख ८१ हजार ८६० रुपैयाँ बराबरको सेयर माग भएकाे छ । याे अार्इतबार साँझसम्म धिताेपत्र बाेर्डलार्इ प्राप्त विवरण हाे । शुक्रबार रातीसम्म २८ अर्ब ४९ कराेड रूपैयाँकाे अावेदन परेकाे विवरण एनएमवी क्यापिटलले दिएकाे थियाे । अाइतबार मात्र थप १० अर्ब अावेदन परेकाे विवरण बाेर्डले दिएकाे छ । यस एफपीअाेकाे अावेदन गर्ने समय शुत्रबार नै सकिएकाे थियाे । नियम अनुसार अावेदन बुझाउने अवधि सकिएकै दिन साँझ सबै विवरण बिक्री प्रबन्धक र धिताेपत्र बाेर्डलार्इ जानकारी दिनुपर्छ ।
भैरहवाबाट गोल्छा टिमको उम्मेदवारी घाेषणा, पशुपति मुरारका र भवानी राणाकाे खुला समर्थन
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि शेखर गोल्छाको समूहले भैरहवाबाट आफ्नो उम्मेदवारी घोषणा गरेको छ । गोल्छाले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् भने उनको प्यानलबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञनेन्द्रलाल प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । गाेल्छा समूहलार्इ समर्थन गर्दै उम्मेदवारी घोषणा सभामा वर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष भवानी राणा, पूर्व अध्यक्षहरु चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ सहभागि थिए । वर्तमान अध्यक्ष मुरारका र आगामी अध्यक्ष भवानी राणा उक्त सभामा भाग लिनु र निर्वाचनको प्रतिस्पर्धामा उत्रिएको एउटा पक्षको समर्थनमा खुलेर मैदानमा जानुलाई धेरै व्यवसायीले ननिको मानेको देखिन्छ । ‘अध्यक्षको निर्वाचनले गुटको राजनीति निम्त्याएको भन्दै वरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने गरि महासंघको विधान संशोधन गरिए पनि पुरानो समस्याले निरन्तरता पायो’ महासंघको एक पूर्व अध्यक्ष भने–‘कम्तिमा वर्तमान अध्यक्ष मुरारका र विधान अनुसार निर्वाचनपछि स्वतः अध्यक्ष भईसकेकी राणा चुनावी मैदानमा नउत्रिएको भए राम्रो हुन्थ्यो ।’ उम्मेदवारी घोषणा गर्न देशका विभिन्न स्थानबाट करिव ३०० जना व्यवसायी हवाईजहाज र हेलिकप्टरबाट भैरहवा उतारिएको थियो । यसअघि महासंघको निर्वाचनमा अध्यक्षको उम्मेदवारले जिल्ला जिल्लामा भोट माग्न गाडी र हवाई टिकटमा ठूलो खर्च गर्ने गरेका थिए । यसपछि वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा हेटिकप्टर चार्टड गरेर विभिन्न जिल्लामा भोट माग्न हिडेका छन् । स्राेतका अनुसार गोल्छा समूहले निर्वाचनमा करिव १५ करोड रुपैयाँ खर्च गर्ने अनुमान गरिएकाे छ । महासंघको निर्वाचन निकै महँगो र भड्किलो भएकोमा व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।
३ अर्बको १० करोड किलो विदेशी प्याज नेपालीका भान्छामा
काठमाडौं । के तपाइँले आफ्नो भान्छामा पाक्ने प्याज स्वदेशी हो वा विदेशी भनेर कहिल्यै ख्याल गर्नु भएको छ ? तपाइँ हाम्रै भान्छामा पाक्ने तरकारीमा स्वाद भर्न बर्षेनी अरबौं नेपाली रुपैंयाँ बाहिरिरहेको छ । गत आर्थिक बर्ष २०७२/७३ मा मात्रै ३ अर्ब १८ करोड ६२ लाख २४ हजार ७ सय ८० रुपैंयाँ मूल्यमा १० करोड ५ लाख ८ हजार २ सय ४४ किलो प्याज नेपाल भित्रिएको छ । जबकी पाँच बर्ष अघि अर्थात आर्थिक बर्ष २०६८/६९ मा एक अर्ब १७ करोड पैंयाँमा ८ करोड ३२ लाख किलो प्याज आयात भएको थियो । यो क्रम बर्षेनी वृद्धि भैरहेको छ । आव ६९/७० मा एक अर्ब ८५ करोडको ९ करोड ४६ लाख किलो प्याज आयात भएको थियो । आव २०७१/७२ मा ३ अर्ब ७६ लाखको ९ करोड ६२ लाख किलो प्याज आयात गरिएको थियो । गत आवमा नेपाल भित्रिएको प्याजको औषत मूल्य प्रति केजी ३१ रुपैंयाँ ७० पैसा पर्न आउँछ ।
बैंक अफ काठमाण्डूकाे अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त
काठमाडौं । बैंक अफ काठमाण्डूको अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । चैत ४ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । श्रेष्ठ यसअघि लुम्बिनी बैंकको अध्यक्ष थिए । उनी पर्यटन क्षेत्रमा विस्तापित व्यवसायी हुन् । गत बिहीबार बसेको बैंककाे २२औँ वार्षिक साधारणसभाले कम्पनीको संस्थापक लगानीकर्ताको तर्फबाट सञ्जयबहादुर शाह, केदारनाथ गौतम, प्रकाश श्रेष्ठ र राधेश पन्त गरि चार जनालाई सञ्चालक समितिको नयाँ सदस्यमा नियुक्त गरेको छ । साथै, उक्त सभाले कम्पनीको साधारण लगानीकर्ताको तर्फबाट डा. प्रेम हेमराज सुबेदी, गोबिन्दप्रसाद शर्मा रेग्मी, सौरभ केसी र मदनलाल जोशीलाई सञ्चालक समितिको नयाँ सदस्यमा नियुक्त गरेको छ ।