‘बजाज डोमिनार ४००’ नेपाली बजारमा, मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ मात्र
काठमाडौं । बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू ‘बजाज डोमिनार ४००’ बाइक बजारमा सार्वजनिक गरेको छ । नेपाली बजारमा सो बाइकको मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ डोमिनार ४०० ले रोमाञ्चक अनुभव प्रदान गर्नेछ, जून अन्य मोटरसाइकल भन्दा अत्यन्तै पृथक छ । यसमा आधुनिक चेसिस इन्जिनियरिङका साथमा ३७३ दशमलव ३ सीसीको ट्रिपल स्पार्क डीटीएसआई इन्जिन रहेको छ । यसमा ३५ पीएस २८००० आरपीएम आठ अधिकतम टर्क ३५-एनएम-२६५०० सम्म दिन सक्ने क्षमता रहेको छ । यसमा ६ स्पिड गियरबक्स र स्लिपर क्लच राखिएको छ भने यसले १ सय ४८ किलोमिटर प्रतिघण्टाको उच्च गति प्रदान गर्छ । डोमिनार ४०० ले शून्यदेखि सय किलोमिटर प्रतिघण्टाको गति केवल ८ दशमलव २३ सेकेन्डमा नै तय गर्न सक्ने कम्पनीको भनाइ छ । यसले ४६ दशमलव १९ मिटरमा सय किलोमिटर प्रतिघण्टाबाट शून्यमा ब्रेकिङ गर्न सक्छ । यसमा भएको एड्भान्स लिक्विड कुलिङ सिस्टमले इन्जिनको कार्यक्षमतालाई निरन्तरता दिँदै लामो यात्राका लागि सहज बनाउँछ । यसमा ३२० एमएमको फ्रन्टमा रहेको डिस्क र २३० एमएमको रियर डिस्क रहेको छ । यसमा रहेको डुअल च्यानल एबीएस (एन्टीलक ब्रेकिङ सिस्टम) ले ब्रेकिङलाई सुरक्षित बनाउने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यस बाइकमा ११०/७० सेक्सन टायर फ्रन्टमा र १५०÷६० सेक्सन टायर रियरका साथमा १७ इन्चको एलओए ह्वील राखिएको छ । डोमिनार ४०० पेरिमिटर सशक्त फ्रेमका साथै कन्टाउर प्रेस्ड स्टिल स्विङआमले सशक्त यात्राको अनुभूति दिन्छ । यसको फ्रन्टमा ४३ एमएमको टेलिस्कोपिक फर्क र मल्टी स्टेप एड्जस्टेबल मोनो सक राखिएको छ । डोमिनार ४०० मा बाइकको श्रेणीमा फुल एलईडी हेडल्याम्पका साथै अटोमेटिक हेडल्याम्प अन विशेषता रहेको छ, जसले युनिक र प्याटेन्टेड प्रविधिको सहकार्यले स्तरीय कार्य दक्षता दिन्छ । सानदार आकार र अवस्थिति गर्दै बजाज डोमिनारको लम्बाइ २ हजार १ सय ५६ एमएम, चौडाइ ८ सय १३ एमएम तथा १ हजार १ सय १२ एमएमको उचाइ प्रदर्शित गरिरहेको छ । यस बाइकमा १ हजार ४ सय ५३ एमएमको ह्वीलबेस छ भने यसको ग्राउन्ड क्लियरेन्स १ सय ५७ एमएम रहेको छ । यसका साथै बाइकको इन्धन ट्यांकको क्षमता १३ लिटरको छ भने यसको कुल तौल १ सय ८२ केजी रहेको कम्पनीले जनाएको छ ।
कुमारी बैंकको ५० प्रतिशत हकप्रद खुला, वैशाख १० गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । कुमारी बैंकले सर्वसाधारणको लागि ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले चैत ६ गते (आइतबार)देखि ५० प्रतिशत (अर्थात २ बराबर १ को अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आगामी २०७४ वैशाख १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ३२४ रुपैयाँमा कारोबार भएको थियो ।
बस्तुगत उपाध्यक्षमा शंकर पाण्डेको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचतमा बस्तुगत समूहको उपाध्यक्ष पदमा शंकर पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् । बरिष्ठ उपाध्यक्ष किशोर प्रधानको समूहको तर्फबाट उनले शनिबार उम्मेदवारी घोषणा गरेका हुन् । पाण्डेको उम्मेदवारी घोषणा सभामा प्रधान, महासंघमा पूर्व अध्यक्षहरु सुरज बैद्य, कुशकुमार जोशी, विनोद बहादुर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारसहित विभिन्न बस्तुगत संघको पदाधिकारीहरुको उपस्थिति थियो । सभामा बाेल्दै अध्यक्षहरु बैद्य, जोशी, श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले पाण्डेले महासंघमा धेरै वर्ष काम गरेकाे र खासगरी नेपाली पश्मिनालार्इ विश्व बजारमा ब्राण्डिङ गर्नेतर्फ उल्लेख्य काम गरेकाे बताउँदै उनलार्इ जिताउन सहयाेग गर्ने बताए । प्रधानको समूहबाट जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् भने एशोसिएटतर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा भएको छैन ।
सूचना विभागबाट प्रेस पास लिने पत्रकार २३ हजार, सञ्चार गृहमा सञ्चारकर्मीको अभाव
काठमाडौं । सूचना विभागको प्रेस पास लिने सञ्चारकर्मीको संख्या बर्षेनी बढ्दै गए पनि आम सञ्चार माध्याममा दक्ष सञ्चारकर्मीको अभाव रहेको पाइएको छ । सुचना विभागका निर्देशक राजु भण्डारीका अनुसार हालसम्म सुचना विभागबाट पें्रस पास लिनेको संख्या २३ हजार ४ जना रहेको छ भने त्यस मध्ये ३६ जना विदेशी रहेका छन् । नेपाल जस्तो सानो देशमा २३ हजार भन्दा बढी पत्रकार हुनु आफैमा ठूलो संख्या भएको उनी बताउँछन् । तर सञ्चार माध्ययममा पत्रकारको ज्यादै आभाव देखिन्छ । दैनिक पत्रिकाहरुमा दैनिक जसो पत्रकार आावश्यक भएको सूचना प्रकाशित हुन्छ । सञ्चारगृहमा सञ्चचचारकर्मीको अभाव हुनुमा आर्थिक समस्या मुख्य कारण रहेको बताउँछन् भण्डारी । मेहनत अनुसार पैसा कमाउन नसक्ने भएकाले गर्दा पे्रस पास लिएर पनि धेरै पत्रकार आफ्नो पेशा छोड्न बाध्य भएको उनले बताए । साधारणतया प्रेस पास लिनको लागि न्यूनतम शैक्षिक योग्यता पूरा गरेको र आफूले काम गर्ने सञ्चारगृहबाट न्यूनतम पारिश्रमिक पाउने गरि नियुक्ती पत्र पाएकोलाई मात्र सूचना विभागले प्रेसपास दिने गरेको भण्डारीले बताए । पत्रकार महासंघका महासचिव उचिल मगर भने सञ्चारगृहमा सञ्चारकर्मीको अभाव भएको कुरा स्वीकार्दैनन् । कुनै पनि सञ्चारगृहमा सञ्चारकर्मीको अभाव भएर सञ्चारगृह नै बन्द नभएको उनको तर्क छ । ‘पत्रकार महासघंमा भने कुनै पनि सञ्चारगृहमा सञ्चारकर्मी नभएर बन्द भयो भनेर कुनै पनि सुचना आएको छैन’उनले भने । सञ्चार माध्यममा दक्ष पत्रकारको अभाव भए नभएको सञ्चार माध्यमको गुणस्तरले देखाउने बताउँछन् नेपाल आर्थिक पत्रकार समाजका निवर्तमान अध्यक्ष विज्ञान अधिकारी । आफन्तबाद, नाताबाद र राजनीतिक दलका ठूला व्यक्तित्वको आड सूचना विभागकाबाट प्रेस पास लिनेको संख्या जति धेरै भएपनि दैनिक पत्रकारितमा संलग्न पत्रकार धेरै कम भएको उनले बताए । पत्रिका, अनलाइन र टेलिभिजन जस्ता सञ्चारगृहको संख्या बढ्दै गए पनि राम्रो आम्दानी नहुने भएकोले पत्रकारहरु धेरै समयसम्म सञ्चार गृहमा टिक्न नसक्ने समस्या देखिएको काठमाण्डौको हिमालय कलेजका पत्रकारिता विद्यार्थी प्रबल कोइराला बताउँछन् । पत्रकारता पढेका फ्रेस विद्यार्थीलाई मिडियाले प्राथमिकता नदिने गरेकोले पनि दक्ष सञ्चारकर्मीको अभाव भएको उनी बताउँछन् । उनी भन्छन् पत्रकारिता पढेर भन्दा पनि पत्रकारिता नपढिकन पत्रकार बन्नेको संख्या उच्च छ । जवसम्म सञ्चारगृहले पत्रकारीता पढेकोलाई प्राथमिकता र प्रोत्साहन दिदैनन तबसम्म यो समस्या रहिरहन्छ । राजधानी काठमाण्डौमा मात्रै नभएर मोफसलका सञ्चारगृहमा समेत सञ्चारकर्मीको अभाव छ । विराटनगरबाट संचालनमा आएको विराट खबर डटकम अनलाइनका सम्पादक अविजाल विष्टका अनुसार काठमाडौँमा त केहि मात्रामा भएपनि मिडिया क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरु भेटिन्छन् । काठमाडौँ भन्दा बाहिरका शहरमा राम्रै पारिश्रमीक दिन्छौ भन्दा पनि सञ्चारकर्मी पाउन सकिदैन । उनका अनुसार पत्रकारिता र मिडिया सम्बन्धी पठन पाठन हुने क्याम्पस नहुनु र पत्रकारिता प्रति विद्यार्थीको घट्दो आकर्षणले गर्दा सञ्चारगृहले यस्तो समस्या आएको हो । (केशर के.सी./प्रशिक्षर्थी पत्रकार)
नगर विकास कोषमा आन्दोलन, ठेकेदार अध्यक्षलाई कार्यालय प्रवेशमै रोक
काठमाडौं । नगर विकास कोषको सञ्चालक समितिको अध्यक्षमा राजनीतिक नियुक्ति गर्न लागेको भन्दै कोषका कर्मचारीले आन्दोलन गर्ने तयारी गरेका छन् । कोषकै कार्यालयमा पत्रकार सम्मेलन गर्दै नगर विकास कोष स्वतन्त्र कर्मचारी यूनियनले सहरी विकास मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था रहँदारहँदै राजनीतिक नियुक्ति गरि निर्माण व्यवसायी (ठेकेदार) धु्रब रिजाललाई अध्यक्षमा नियुक्ति गर्ने गरि गरिएको सरकारको निर्णय विरुद्ध आन्दोलन गर्ने बताएका हुन् । उनीहरुले कर्मचारीको र दातृ निकायको हीत विपरित सरकारको निर्णय आए नयाँ अध्यक्षलाई कोषमा प्रवेश निषेध गर्नेसम्मको कार्यक्रम बनाएको बताएका छन् । सरकारले मन्त्री परिषद्को बैठक बसी गत फागुन ९ गते नै प्रतिष्ठा कन्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक ध्रुब रिजाललाई कोषको अध्यक्षमा नियुक्त गरेको थियो । तर, कर्मचारी र सम्बन्धित निकायहरुको दबाबकै कारण हालसम्म कार्यान्वयनमा आउन भने सकेको छैन । पत्रकार सम्मेलनमा यूनियनका अध्यक्ष जगतप्रसाद घिमिरेले २९ वर्ष अघिदेखि कोषको अध्यक्ष सहरी विकास मन्त्रालयको सचिव रहि आएकोमा हाल सरकारले कोषलाई भर्तिकेन्द्र बनाउँदै कोषलाई आर्थिक एवं सांगठनिक हिसावले कमजोर बनाउने उद्देश्यले प्रचलित नियम÷कानूनको खिलापमा निर्णय गरेको भन्दै आफूहरुले आन्दोलनको तयारी गरेको बताए । यूनियनका सदस्य सुभाष पन्तले सरकारको यस निर्णय विरुद्धमा कोषमा रहेको ४० जना (सबै) कर्मचारीहरुले हस्ताक्षर गरेको, जर्मन सरकारका तर्फबाट दातृसंस्था जर्मन विकास बैंक, नेपाल नगरपालिका संघ र राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघलगायतका संघसंस्था र सरोकारवाला निकायले समेत विरोध जनाएको बताए । उनले मन्त्रीपरिषद्ले गरेको निर्णय तत्काल फिर्ता गर्न र कोषलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्न अनुरोधसमेत गरेका छन् ।
हाम्रो टिमले चुनाव जितेपछि महासंघ दौडन्छ-उमेशलाल श्रेष्ठ
उमेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा बस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । क्वष्ट फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशन श्रेष्ठ नेपाल औषधि उत्पादक संघको पूर्व अध्यक्ष समेत भईसक्नु भएको छ । उहाँले महासंघको कार्यसमितिमा ६ वर्ष र बस्तुगत परिषदमा ३ वर्ष गरी महासंघमा ९ वर्ष काम गरिसक्नु भएको छ । प्रस्तुत छ नीति निर्माण तहमा महासंघको भूमिका र महासंघले गर्दै आएका विवादस्पद कार्यहरु, महासंघको आगामी निर्वाचन र उहाँको तयारी विषयमा केन्द्रीत भई विकासन्युजले उहाँसँग गरेको विकास वहस । उमेशलाल श्रेष्ठ, उद्योग समिति सभापत – नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा तपाईको तयारी कस्तो छ ? म बस्तुगत समूहको उपाध्यक्ष पदमा उम्मेदवारी दिदै छु । निर्वाचनपछि महासंघको अध्यक्ष भवानी राणा हुने कुरा स्पष्ट छ । उहाँको समर्थनमा बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, बस्तुगत उपाध्यक्षमा म, एशोसिएट उपाध्यक्ष्यमा चन्द्रप्रसाद ढकाल र जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने निर्णय भईसकेको छ । हाम्रो टिम राम्रो बनेको छ । निर्वाचनमा तपाईको टिमको एजेण्डा के के हुन् ? निजी क्षेत्रको हितमा काम गर्नु महासंघको उदेश्य हो । महासंघलाई बलियो बनाउनुपर्छ । महासंघको व्यवस्थापन सुदृढ बनाउनुपर्नेछ । निर्वाचित कार्यसमितिले सरकारसँग नीति निर्माणमा काम गर्ने हो । हामी सबैको एउटै उदेश्य हो–देशमा उद्योग व्यवसाय फस्टाओस्, रोजगारी सिर्जना होस्, जनता समृद्ध हुन् । हाम्रो टिमसँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने साथीहरुको पनि उदेश्य त्यहि हो । तर कसले राम्रो गर्न सक्छ ? कसको क्षमता बढी छ ? महासंघका साथीहरुले मूल्याङ्कन गरेर भोट हाल्नुहुनेछ । हामी आ–आफ्नो क्षेत्रमा खारिएर आएका, क्षमता प्रर्दशन गरेका व्यक्तिहरु छौं । शेखरजी, दिनेशजी, चन्द्रजी, भवानीजी सबै आफ्नो क्षमता देखाईसकेका सक्षम व्यक्ति हुनुहुन्छ । म पनि शुन्यबाट औषधि क्षेत्रमा प्रवेश गरेको थिएँ र यो क्षेत्रमा सबैले देख्ने काम गरेको छु । अब हाम्रा स्ट्रेन्थ जाँच्ने महासंघका सदस्य साथीहरुले हो । तपाईको आफ्नै क्षमता के हो ? मेरो क्षमता भनेको मेरो काम हो । मैले निरन्तर ९ वर्ष महासंघमा काम गरे । ६ वर्ष कार्यसमितिमा र ३ वर्ष बस्तुगत समितिमा बसेर साथीहरुको लागि काम गरेको छु । म प्रष्ट वक्ता हुँ । मलाई सहि लागेको कुरा बोल्छु । जे बोल्छु, हृदयदेखि नै बोल्छु । प्रष्ट बोल्दा कसैलाई चित्त दुख्न पनि सक्छ । हाम्रो समाजमा प्रष्ट बोल्ने मान्छेलाई अहंकारी, घमण्डी भन्छन् । मलाई कुनै घमण्ड छैन । तर मलाई साँचो लागेको कुरा बोल्छु । साँचो बोल्दा कहिले कही छुच्चो पनि भइन्छ । गाली पनि खाइन्छ । जो मसँग लामो समय संगत गर्छ, उसले मलाई नराम्रो मान्छे भन्दै भन्दैन । मसँग झगडा भयो भने पनि त्यो क्षणिक हुन्छ र म फेरी मिल्छु । मनमा लागेको बोल्छ, रिसाउँछु पनि र तर मेरो दुस्मन कोही पनि छैन । व्यक्तिगत रुपमा तपाईले महासंघमा रहेर गरेको उल्लेख्य काम के के हुन् ? नितान्त व्यक्तिगत लाभको विषय लिएर महासंघमा आउने साथीहरुलाई मैले केही पनि गरेको छैन । तर समग्र क्षेत्रको सामूहिक हितको विषय लिएर महासंघमा आउने साथीहरुलाई सक्दो सहयोग गरेको छु । जस्तो २०६९ सालमा सरकारले प्लाष्टिक उद्योग बन्द गराउने निर्णय गर्यो । त्यस क्षेत्रका साथीहरुले आफूहरु समस्यामा परेका बताउनु भयो । उहाँहरुको समस्या समाधान गर्न हामीले धेरै काम गरेका छौं । सरकारी अधिकारीहरुलाई बस्तुगत अवस्था बुझाउन, प्लाष्टिक उद्योगका राम्रा पक्ष बुझाउन सफल भयांै । औषधि उद्योगका क्षेत्रमा देखिएको गम्भिर समस्याहरुबारे मन्त्रालयमा छलफल गरेर समाधान गर्न हामी सफल भएका छौं । समग्रमा बस्तुगत संघहरुको हितमा हामीले धेरै काम गरेका छौं । उद्योग समितिको सभापतिको हैसियतमा मैले धेरै काम गर्ने मौका पाएको छु । महासंघमा ९९ वटा बस्तुगत संघ सदस्य छन् । उनीहरुको मत तान्न तपाईका एजेण्डा के के छन् ? मेरो मात्र होइन, हाम्रो टिमको एजेण्डा हुन्छ । टिमले कार्यक्रम बनाउने र प्राथमिकता निर्धारण गर्ने हो । सबैभन्दा महत्वपूर्ण एजेण्डा भनेको महासंघमा प्रभावकारी थिङ्क ट्याङक चाहिन्छ । उद्योगी व्यापारीले बोल्दा हाम्रो आफ्नो स्वार्थले बोल्यो भनिन्छ । हामी भनेको अर्थशास्त्रका विज्ञ पनि होइनौ । अर्थशास्त्रीहरुको विज्ञ समूहले बोल्यो भने त्यसको ठूलो भ्यालु हुन्छ, सरकारले पनि सुन्छ । मलाई उद्योग चलाउन आउँछ । सिमेन्ट उद्योग चलाइरहेका साथीहरुलाई सिमेन्ट उद्योग कसरी चलाउने भन्ने आउँछ । धेरै थरी उद्योग व्यवसाय होल्ड गर्नेलाई अलि धेरै विषय थाहा हुन्छ । तर हामीलाई अर्थतन्त्र कसरी चलाउनु पर्छ भन्ने थाहा हुँदैन । नजानेको विषयमा बुज्रुक भएर बोल्नु राम्रो हुँदैन । विषय विज्ञलाई नै अगाडि सार्नुपर्छ । हामी त्यो काम गर्छौ । महासंघले पहिला पनि विज्ञ समूह बनाएको थियो । त्यो प्रभावकारी देखिएन । अहिले महासंघमा विज्ञ समूह नै छैन । किन यस्तो भयो ? हो, धेरै अगाडि महासंघमा विज्ञहरुको समूह थियो । तर अहिले छैन । समस्या के भयो भने विज्ञ भनेको विज्ञ नै हो । कर्मचारी जस्तो हुँदैन । उनीहरु सल्लाहकार हुन् । सल्लाकार भनेको मान्यजन हुन् । मान्यजनलाई मानेरै राख्नुपर्छ । मेरो मान्यता त्यो हो । विज्ञलाई जागिरे जसरी राख्नु गल्ती थियो । विज्ञलाई जागिरेको रुपमा राख्ने होइन । हामीले उहाँहरुलाई समस्या भन्ने हो, उहाँहरुको सुझाव लिने हो । कन्सल्ट्यान्टको रुपमा उहाँहरुले योगदान गर्नुहुन्छ । महासंघको सचिवलाय बलियो बनाउने कुरा गर्नुभयो । निर्वाचन ताका सबैले यहि भन्छन् । तर महासंघमा सचिवालय चलाउने कार्यकारी प्रमुख अर्थात महानिर्देशकको पद खाली भएको १ वर्ष भयो । तपाई कार्यसमितिमा हुनुहुन्छ । एक वर्षसम्म कार्यकारी प्रमुख नियुक्त नगर्ने अनि सचिवालय बलियो बनाउने चुनावी नारा बनाउने ? महानिर्देशकको नियुक्ती पदाधिकारीले गर्ने हो, कार्यसमितिले होइन । यो विषयमा म यति मात्र बोल्छु कि निर्वाचनपछि अलि तगडै मान्छे नियुक्त हुन्छ । हामीभित्र पनि केही समस्या छ । राम्रो काम गर्ने सबैको चाहाना हुन्छ । राम्रो गर्न खोज्दा त्यसभित्र पनि केही सीमा हुन्छन् । तर तपाई मेरो कुरा विश्वास गर्नुहोस्, हामी सचिवलाय बलियोे बनाउँछौं, राम्रा मान्छे राख्छौ, विज्ञ समूह बनाउँछौं । सहि मान्छे भएपछि सहि काम हुन्छ । हाम्रो टिमले जितेपछि उद्योग वाणिज्य महासंघ दौडन्छ । हामी आयात ७७० अर्बको गर्छौ, निर्यात जम्मा ७० अर्बको छ । आज भन्दा २५ वर्षअघि हामी जीडीपीमा उद्योगको योगदान १६ प्रतिशत थियो, अहिले ५ प्रतिशतमा झरेको छ । २५ वर्षअघि हामी खाद्यन्नमा आत्मनिर्भर थियौं, अहिले २५÷३० अर्बको खाद्यन्य आयात गर्छौ । चाउचाउ र विस्कुट मात्र ७ अर्बको आयात हुन्छ । हामीले सरकारलाई बुझाउन जरुरी छ । उद्योग चलाउन शुरुमा गाह्रो पर्छ । तर पछि सबैलाई लाभ हुन्छ । रोजगारी पनि हुन्छ । राजश्व पनि हुन्छ । नेपालले खुला अर्थनीति लिएको तीन दशक बितिसक्यो । नेपाल उद्योग वाणिज्य महासंघ आज स्वर्ण जयन्ती मनाईरहेको छ । नेपालको अर्थतन्त्र परनिर्भर बन्नुमा निजी क्षेत्र दोषी छैन ? जुन देशमा २६ वर्षदेखि राजनीतिक द्वन्द्व र संक्रमण चलिरहेको छ त्यो देशको आर्थिक विकास भएन भनेर निजी क्षेत्रलाई तपाई कसरी दोष लगाउनु हुन्छ ? धन्न नेपाली विर हुन् । देशभित्र र देश बाहिर गएर पनि संघर्ष गरिरहेका छन् । निजी क्षेत्रले प्रयास गरिरहेको छ । जुन देशमा ९ महिनाभन्दा लामो समय सरकार टिक्दैन, नीतिगत अस्थिरता छ, लगानीको वातावरण छैन, त्यो देशमा निजी क्षेत्रले धेरै गर्न सक्दैन । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७० प्रतिशत छ भन्ने, निजी क्षेत्रको नेतृत्व महासंघले गर्छ भन्ने तपाईहरुको तर्क छ । यति बलियो संस्थाले नीतिगत स्थायीत्व कायम गर्न किन काम गर्न सकेन ? स्थिति अनुकुल भएन । सरकारहरु महासंघको नियन्त्रणमा हुँदैनन । ९÷९ महिनामा सरकार परिवर्तन हुन्छ भने महासंघले चाहेर मात्र नीतिगत स्थायीत्व हुँदैन । एउटा मन्त्रीले गरेको कुरा अर्को मन्त्रीलाई थाहा हुँदैन् । मन्त्रीहरुबीच समेत छलफल नै हुँदैन । महासंघको सुझाव सुनिएन । त्यसैले त हामी महासंघलाई बलियो बनाउने कुरा गर्दैछौं । हामी नेतृत्वमा पुगेपछि निजी क्षेत्रको कुरा सरकारले सुन्ने वातावरण बनाउँछौं । महासंघको मुख्य काम नीति निर्माणमा सरकारलाई सहयोग गर्नु हो । तर महासंघ र सरकारबीच नीतिगत द्वन्द्व हुने गरेको छ । राजश्व छलेको आशंकामा दोकानमा छापा मार्दा महासंघ त्यसको विरोध गर्दै विज्ञप्ती निकाल्छ । सुनमा मिसावट भयो, तौलमा ठगि भयो भन्ने उजुरी पछि सरकार जाँच गर्न जाँदा व्यवसायी बजार बन्द गरेर सडकमा आउँछन्, महासंघ व्यवसायीको पक्षमा हुन्छ । यस्तो किन हुन्छ ? सरकारसँग अधिकार छ, गलत गर्नेलाई कारवाही पनि गर्नुपर्छ । तर सरकारको शैली ठिक भएन । ८÷१० वटा टेलिभिजन राखेर आक्रमण शैलीमा छापा पार्नु पनि भएन । कुनै पनि काम गर्दा भद्र तरिकाले गर्नु पर्छ । दोषी प्रमाणित हुन्छ वा हुँदैन, शुरुमै मान्छेको इज्जत प्रतिष्ठा गुम्नेगरी काम गर्नु भएन । सरकारले आफ्नो काम प्रक्रिया पुरा गरेर गर्दा हुन्छ । त्यसमा महासंघको विरोध हुँदैन । गलत गर्नेलाई सरकारले दण्ड जरिवाना गर्न सक्छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा २८ अर्ब ५० करोडको सेयर माग, आश्वा प्रणालीबाट आवेदन थोरै तर माग धेरै
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले निष्काशन गरेको एफपीओमा साढे २८ अर्ब रुपैयाँ बराबरकाे सेयर माग भएकाे छ । निष्काशन तथा बिक्री प्रबन्धक एनएमवी क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमल नेपालका अनुसार १ लाख ८१ हजार २३३ आवेदनबाट २८ अर्ब ४९ करोड ९६ लाख रुपैयाँको सेयर माग भएको छ । उक्त विवरणमा केही थप हुन सक्ने उनले बताए । ‘हामीले शुक्रबार राती साढे १० बजेसम्म इमेलबाट प्राप्त विवरणहरु अपडेट गरेको छौं । तर शुक्रबार केही आश्वा मेम्बरबाट र केही संकलन केन्द्रबाट विवरण प्राप्त हुन सकेन’ विकासन्युजसँग कुरा गर्दै नेपालले भने–आईतबार ११ बजेसम्म पूर्ण विवरण संकलन हुनेछ । थप एक/ढेड अर्ब रुपैयाँ बराबर सेयर माग आवेदन परेको हुनसक्न ।’ नेपालका अनुसार हालै प्रयोगमा आएको आश्वा प्रणालीबाट ६१ हजार ५०६ आवेदन मार्फत १६ अर्ब ९५ करोड ५१ लाख रुपैयाँको सेयर माग भएको छ भने पुरानो प्रणालीको फारमबाट १ लाख १९ हजार ७२७ वटा आवेदन मार्फत ११ अर्ब ५४ करोड ४५ लाख रुपैयाँको सेयर आवेदन भएको छ । विवरणअनुसार ठूला लगानीकर्ताले आश्वा प्रणालीबाट आवेदन गरेको र साना लगानीकर्ताले पुरानो शैली अपनाएको देखिएको छ । यस बैंकको सेयरमा आवेदन गर्ने ठूला लगानीकर्ताले मागको करिव ८ प्रतिशत सेयर पाउने देखिएको छ । यसअघि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको एफपीओमा ठूला लगानीकर्ताले मागको करिब साढे ५ प्रतिशत सेयर पाएका थिए । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँमा सेयर निष्काशन गरेको हो । बैंकले २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशन गरेकोमा शुक्रबार आवेदन गर्ने समय सकिएको छ।
विदेशी चेनको मेरिओट फेयरफिल्ड उद्घाटन बिहीबार, पाँचतारे सरहको सुविधा भएपनि तीन तारेकाे अनुमति
फाेटाे सम्बन्धित हाेटलकाे वेवसाइटबाट । काठमाडौं । नेपालमा डेढ दशकपछि भित्रिएको पहिलो विदेशी चेनको होटल फेरियफिल्ड म्यारिओटमा पाँचतारे सरहको सेवा सुविधा रहेको भएपनि यसले स्तर वर्गीकरणमा भने तीन तारे स्तरको मात्रै प्रमाणपत्र पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल अन्र्तगतको पर्यटन विभागले यो होटललाई शुक्रबार तीन तारे स्तरमा वर्गीकरणको प्रमाणपत्र दिएको हो । यो होटलले भने पाँचतारे सरहकै सेवा सुविधा रहेको दाबी गरेको छ । होटलले शुक्रबार पर्यटन विभागबाट स्तर वर्गीकरणको प्रमाणपत्र पाएकोले यसको आगामी बिहीबार (चैत १०) गते उद्घाटन गर्ने भएको छ । होटलले औपचारिक रूपमा सेवा सुरुको उद्घाटन बिहीबार गर्न लागेको होटलकै एक कर्मचारीले जानकारी दिए । अमेरिकी होटल चेन मेरिओटसँगको साझेदारीमा मलिराम शिवकुमार (एमएस) ग्रुपले ठमेलमा चारतारे होटल बनाउने भनेर सुरु गरेको भएपनि औपचारिक रुपमा सुरुवात गर्दा भने आवश्यक सर्त पूरा हुन नसक्दा तीन तारे स्तरको भएको उल्लेख छ । होटलमा स्वीमिङ पुल, बाहिरी बगैचासहितका सुविधा नभएको कारण चारतारेको स्तर नपुगेको पनि पर्यटन विभागले जानकारी दिएको छ । एक अर्ब १५ करोड रुपैयाँ लगानी रहेको यो होटलमा ११० वटा कोठा रहेको उल्लेख छ । होटलको निर्माण सकिएकोले पहिलो चरणमा औपचारिक उद्घाटन गर्ने समय तय भएको होटलले जानकारी दिएको छ । यो होटलले ठमेल प्रवेश गर्ने पर्यटकलाई स्तरीय सेवा र सुविधा दिने भएको छ । नेपालमा विदेशी चेनको होटल हुँदा पर्यटकले पनि अन्तर्राष्ट्रिय स्तरकै सेवा र सुविधा पाउने उल्लेख छ । नेपाल हस्पिटालिटी ग्रुपको नामबाट संचालन भएको यो होटलपछि एमएस ग्रुपले एभरेष्ट हस्पिटालिटी एण्ड होटलको नामबाट नक्सालमा अर्को पाँचतारे होटलको निर्माण गर्ने भएको छ । यो होटल निर्माणको काम पनि अगाडि बढिसकेको उल्लेख छ । यो पाँचतारे होटलमा पनि मेरिओट फेयरफिल्डकै चेन हुने उल्लेख छ । हाल नेपालमा विदेशी चेनमा सञ्चालनमा भएका होटलमा सोल्टी होटल सोल्टी क्राउन प्लाजा, तारागाँउ होटल ह्यात रिजेन्सी, र्याडिसन होटल र्याडिसन ग्रुप र पोखराको फूलबारी होटल क्लार्क ग्रुपमा संचालन भएको छ । नयाँ ब्राण्डमा भने धमाधम नयाँ पाँचतारे होटल खुल्ने घोषणा भने भइरहेको छ ।