राजश्वको २५ प्रतिशत हिस्सा ओगट्ने मदिरा व्यवासाय धरापमा, मदिरा नियन्त्रण नीति ल्याएपछि व्यावसायीमा खैलावैला
काठमाडौं। राज्यको कुल राजस्वमा २५ प्रतिशत योगदान रहेको मदिराजन्य क्षेत्रलाई नियमन गर्ने नाममा हचुवाको भरमा नीति ल्याइएको भन्दै मदिरा उत्पादक तथा व्यवसायिले विरोध गर्न थालेका छन्। मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीले सरकारले आफूहरुसँग छलफल नै नगरी नीति ल्याएको भन्दै मदिराको वर्तमान अवस्था र भविष्य नहेरी हचुवाको भरमा नीति आएकाले व्यवसायीहरुको भविष्य अन्धकारमा परेको बताए। उनले सरकारले जिम्मेवारीपूर्वक तरिकाले व्यवसायीसँग प्रस्तुत हुन र सरकार र व्यवसायी मिलेर समस्याको समाधान गर्न सकिने बताए। ‘औद्योगिक व्यवसाय ऐनमा सम्बन्धित सरोकारवाला पक्षसँग छलफल नगरी कुनै पनि कानून ल्याइने छैन भन्ने प्रावधान छ’ केसीले भने ‘सरकारले हतारमा मदिरा नियमन नीतिका लागि उद्योगीसँग छलफल भयो नत होटल व्यवसायी, मदिरा व्यवसायीसँग।’ त्यस्तै मदिरा व्यवसायी महासंघका अध्यक्ष कृष्ण प्रसाद नेपालले पनि नयाँ नीति अव्यवहारिक भएको बताएका छन्। उनले नीतिले नियमन भन्दा मदिरा व्यवसायलाई पूर्ण रुपमा नियन्त्रण गर्ने खालको भन्दै सरकारले व्यवसायीको उठीबास लगाउने गरी नीति ल्याएको बताएका छन्।’ सरकारले मदिराजन्य बिक्रि बितरणबाट उठेको राजस्व भन्दा सोही पदार्थ सेवनबाट लाग्ने रोगको उपचारमै बढी खर्च भएको भन्दै मदिराजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न खोजेको हो। व्यवसायिहरुले उक्त नीति उद्योग मन्त्रालयले ल्याउनुपर्नेमा स्वास्थ्य मन्त्रालयले ल्याएको भन्दै असम्वन्धित मन्त्रालयले गरेको काम अमान्य हुने चेतावनी दिएका छन्। स्वास्थ्यमन्त्री गगन थापाले यस सम्बन्धी ऐन बनाउने काम भइरहेको र तत्काल कार्यान्वयन गर्न निर्देशिका बनाएरै अघि बढ्ने जनाइसकेका छन्। ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३’ मन्त्रिपरिषदले पारित गरेसँगै मदिरा उत्पादक कम्पनी र व्यवसायीहरुले भने उक्त नीतिमा भएका कतिपय प्रावधानप्रति आपत्ति जनाएका हुन्। सरकार अब सार्वजनिक समारोह, विवाह उत्सव र भोज भतेरमा जाँड रक्सी सेवन गर्न नपाइने नियम बनाउने पक्षमा छ। के नयाँ नीतिमा २१ बर्षभन्दा कम उमेरका र गर्भवतीलाई जाँडरक्सी किनबेच र सेवन गर्न निषेध गर्ने तथा सार्वजनिक, पर्यटकीय, शैक्षिक, मनोरञ्जनात्मक तथा ऐतिहासिक ठाउँमा पनि मदिराको उत्पादन, बिक्रि र उपभोग गर्ने प्रतिबन्ध लाउन सकिने प्रावधान नीतिमा उल्लेख गरिएको छ। त्यस्तै नीतिमा बिहान पाँच बजेदेखि सात बजेसम्म जाँडरक्सीको खुद्रा किनबेच गर्न नपाउने र अरु समयमा पनि फुटकर रुपमा एक दिनमा एक लिटरभन्दा बढी किनबेच गर्न नपाउने व्यवस्था गरिने उल्लेख छ। नीतिले मदिरा सेवनलाई न्यूनीकरण गर्न राष्ट्रिय मदिरारहित दिवस मनाउने, मदिरा बोतलको कम्तीमा ७५ प्रतिशत भागमा मदिराले गर्दा सिरोसिस भएको कलेजो वा मुटुरोगको चित्र र ‘मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने चेतावनीयुक्त सन्देश उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ। यो नीति लागु भएपछि मदिरा नियन्त्रण भई नसर्ने रोग (क्यान्सर, उच्च रक्तचाप) लगायतले हुने मृत्युदर र स्वास्थ्य जटिलतामा कमी आउने सरकारको विश्वास छ ।
१ करोड २७ लाख डलर अपचलन गरेपछि विश्व मुद्रा काेषका पूर्व प्रमुखलाई चार वर्ष जेल सजाँय
म्याड्रिड (स्पेन), १२ फागुन । विश्व मुद्रा कोषका पूर्व प्रमुख रोड्रिगो रातो विरुद्ध पदीय मर्यादा विपरित उनी स्पेनी बैंकको प्रमुख रहँदा आर्थिक अपचलन गरेको आरोपमा चार वर्ष छ महिना लामो जेल सजाय तोकिएको छ । भ्रष्टाचार र वित्तीय अपराधसमेत हेर्ने स्पेनको राष्ट्रिय अदालतले रातोले स्पेनी दुई बैंकको प्रमुख रहेका बेला आर्थिक अपचलन गरेको ठहर गरेको हो । रातोले काजा म्याड्रिड र बैंकियामा रहेका र ती संस्था अप्ठ्यारोमा परेका बेला पदीय मर्यादा विपरित वित्तीय अपराध गरेको स्पेनी अदालतको ठहर छ । केही सयम स्पेनको अर्थमन्त्री समेत बनेका रातोसहित ६४ जना पूर्व कार्यकारी प्रमुख तथा बैंक सञ्चालक समिति सदस्यमाथि सन् २००३ देखि सन् २०१२ को बीचमा एक करोड २७ लाख अमेरिकी डलर बराबरको रकम दुरुपयोग गरेको ठहर अदालतले गरेको छ । पूर्व विश्व मुद्राकोष प्रमुख रातोले भने आफूमाथि लाग्दै आएको आरोपको निरन्तर खण्डन गर्दै आएका छन् ।
बजाजको नयाँ पल्सर एनएस १६० सार्वजनिक, मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ मात्र
काठमाडौं । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले हालै नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको छ । नेपाली बजारमा उक्त मोटरसाइकलको २ लाख ५९ हजार ९०० रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई १६०.३ सीसीको ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन रहेको छ । यो मोटरले १५.५ पिए एट दि रेट ८,५०० आरपीएमको शक्ति तथा ६,५०० आरपीएममा १४.६ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ । यो बाइकमा न्यूनतम हेड फेयरिंग रहेको छ, जसमा ५५ वाटको हेलोजिन हेडल्याम्प, नयाँ फ्यूल फिलर क्याप, एनालग टुयाक्टोमिटरका साथमा डिजिटल इन्स्ट्रुमेन्ट प्यानेल, निट्रोमोनो सक रियर सस्पेन्सन, सिल्भर फिनिस सेन्टर स्टे एण्ड रियर फुट रेस्ट, एयर डिफ्लेक्टिंग कोल, क्लियर लेन्स इन्डिकेटरहरु छन् । यसको पछाडिको भागमा, स्प्लीट एलईडी टेल ल्याम्प राखिएको छ । पल्सर एनएस १६० प्यासन रेड, पर्ल मेटालिक ह्वाइट र सापिरे ब्लू मिक्ड स्टेन ब्ल्याक कलरमा आउँछ । हंसराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘बजाजले बजारमा नेतृत्व लिनुको सबैभन्दा महत्वपूर्ण विषय भनेको यसको उच्चतहको उत्पादन डिजाइन तथा विशिष्ट ईन्जिन प्रविधीमा ध्यान केन्द्रित गर्नु हो र यो पल्सर परिवारमा नयाँ हिस्सा हो, हामी फेरी यो क्षेत्रमा नयाँ कन्स्पेस्टका साथ अगाडि आएका छौं । हामी यो विश्वास्त छौं कि पल्सर एनएस १६० ले चालकहरुको अपेक्षालाई पुरा गर्दै पावर टू प्ले भन्ने मुल मन्त्रलाई अंगिकार गर्नेछ ।’
अन्नपुर्ण केवलकारमा सनराइज बैंक र वाणिज्य बैंकले लगानी गर्ने
काठमाडौं । पोखराको कास्कीमा निमार्ण हुन लागेको अन्नपुर्ण केवलकारमा सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएका छन् । उक्त केवलकार परियोजनामा सनराइज बैंकको अगुवाइमा यी दुई बैंकको संयुक्त सहभागितामा सहवित्तियकरण लगानी व्यवस्था अनुसार लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । कास्कीमा निमार्ण हुन लागेको उक्त केवलकार २.३ किलोमिटर लामो रहेको छ । केवलकार परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त परियोजना प्रतिष्ठित व्यवसायी कालु गुरुङ् तथा जापानी मुलका नेपाली नागरिक टाकासी मियाहाराले प्रवद्र्धन गरेको अन्नपुर्ण केवलकार प्रा. लि.ले निमार्ण गर्न लागेको हो । उक्त परियोजनामा ८९ करोड ६० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । जसमा बैंकहरुले ६६ करोड रुपैयाँ लगानी गर्ने छन् र यस आयोजना सम्पन्न भए पश्चात पर्यटकीय नगरी पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।
देबिन्द्र काउचाले ल्याए बचनले रेट्ने मायालाई नामक दोहोरी गीत
काठमाडौं । प्रबासमा रहेर पनि आफ्नो कला संस्कृती मार्फत प्रबासी नेपालीको मन जित्न सफल देबिन्द्र काउचाले राम पुनको परिकल्पनामा बचनले रेट्ने मायालाई नामक दोहोरी गीत युट्युब सँगै बजारमा ल्याएका छन् । बैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहेका मिठो स्वरका धनी काउचाले यस अघि लोक गायक जितन भाइको सहकार्यमा हङकङको लाहुरे नामक दोहोरी गीत बजारमा ल्याइसकेका छन् । बैदेशिक रोजगारी सँगै काउचाले यस अघिनै बैंश छँदै र आँधी चलाएर गयौ नामक दुइ लोकगीतको एल्बम बजारमा ल्याइसकेका छन् । युवा गायक काउचाकै संगीत रहेको यो गीतमा टिका मास्की मगरको शब्द रहेको छ । काउचाले जुना श्रीस मगरको सुरिलो आवाजको साथ पाएकाछन् । देविन्द्र काउचाको आफ्नै युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका छन् भने यसको निर्देशन प्रकाश भट्टले गरेका छन् । यसैगरि गायक काउचाले मायामाया, म त पीरमा छु लोक गीत तथा बेशीतिर झर लोक दोहोरी गीत छिट्टै नै बजारमा ल्याउन लागेको जानकारी दिए ।
नेपाल लाइफको एफपीओ बाँडफाँड फागुन २२ अघि, फरवार्ड कम्युनिटीको आइपिओ २० नपुग्दै
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ फागुन २२ गते अघि बाँडफाँड हुने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एफपीओ बाँडफाँड को म्याद एक हप्ता थपिदिए पछि नेपाल लाइफले फागुन २२ अघि बाडफाँड गर्ने तयारी गरेको हो । ‘तरलता व्यवस्थापनका लागि भन्दै हामीलाई फागुन १३ गतेभित्रै बाँडफाँड गर्न भनिएको थियो, त्यो सम्भव नभएपछि २२ गतेसम्मको समय पाएका छौं, त्यस अघि नै बाँडफाँड गरिसक्छौं’, नेपाल लाइफको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले विकासन्युजसँग भने । पुरानो व्यवस्था अनुसार अघि बढ्दा नेपाल लाइफको एफपीओ बाँडफाँड चैत ३ गते मात्रै हुने थियो । उता, फरवार्ड कम्युनिटी डेभलपमेन्ट बैंकको आइपीओको बाँडफाँड पनि फागुन २० गते अघि हुने भएको छ । धितोपत्र बोर्डले एक हप्ता समय थपेर २० गते अघि बाँडफाँड गर्न निर्देशन दिएको हो । ‘हामीले चैत २ गते बाँडफाँड गर्ने तयारी गरेका थियौं तर बोर्डले फागुन १३ भित्रै बाड्न भनेको थियो, त्यो असम्भव भएपछि २० गतेसम्मको समय पाएका छौं, त्यस अघि नै बाँडफाँड सकिन्छ’, नविल इन्भेष्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले विकासन्युजसँग भने । एउटा योजना सहित अघि बढेको अवस्थामा अचानक चाडैँ बाँडफाँड गर्न निर्देशन आउँदा असहजता उत्पन्न भएको पराजुलीले बताए । यद्यपी नियामक निकायको निर्देशन अनुसार आफुहरुले चाँडै बाँडफाँडको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले तरलता अभावको तत्कालिन समाधानका लागि दुबै कम्पनीलाई सार्वजनिक निष्काशनको बाँडफाँड चाडो सक्न निर्देशन दिएको बताए । नेपाल लाइफ र फरवार्ड कम्युनिटीको एफपीओ र आइपीओ बाँडफाँड हुँदा ३ लाख ७० हजार लगानी कर्ताको ५५ अर्ब रुपैंयाँ बजारमा आउने छ ।
सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद निष्कासन गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले सेयरधनीलाई २५ प्रतिशत (१० बराबर २.५ को अनुपातमा) हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । बिहीबार बोर्डले उक्त बैंकलाई सो मात्रामा हकप्रद निष्कासन गर्न अनुमति दिएको छ । बोर्डको अनमति अनुसार बैंकले एक करोड ३८ लाख ४३ हजार कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । अंकित मूल्य १०० रुपैयाँ एक अर्ब ३८ करोड ४३ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको छ । हाल बैंकको बिक्री प्रवन्धकको काम सानिमा क्यापिटलले गर्दै आएको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । बोनस बाहेक सो मात्राको हकप्रद पश्चात बैंकको पूँजी करिब ६ अर्ब ६२ करोड रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको सेयर मूल्य प्रतिकित्ता ४२५ रुपैयाँ रहेको छ ।
प्रभु इन्स्योरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रभु इन्स्योरेन्स लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले २ः१ अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो । कम्पनीले १९ लाख २५ हजार ७९ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १९ करोड २५ लाख ५ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।