१३ वटा वाणिज्य बैंक राष्ट्र बैंकको अनुसन्धानमा, जथाभावी ऋण लगानी गरेको आरोप
काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ वटा बाणिज्य बैंकहरुमा सुक्ष्म अनुगमन गरेको छ । राष्ट्र बैंकको सुपरिवेक्षण विभागले १३ वटा समुह खटाएर ती बैंकहरुको कर्जा लगानीको तथ्यांकको अध्ययन गरेको गरेको हो ।‘१३ वटा बाणिज्य बैंकमा सुक्ष्म अनुसन्धान गर्यौं, उनीहरुले कर्जा लगानीमा जथाभावी गरेको देखियो, अहिले माफी मागेका छन’, नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भने । उनले ती बैंकहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल भैरहेको पनि जानकारी दिए । व्यवस्थापिका संसदको लेखा समिति बैठकमा वर्तमान तरलताको अवस्था र त्यसको समाधानका लागि राष्ट्र बैंकले अवलम्बन गरेको कार्ययोजनाको जानकारी दिँदै गभर्नर डा. नेपालले भने–‘यो तरलता अभावको अवस्था होइन, केहि बैंकहरुले मार्जिन लेण्डिङमा धेरै लगानी गरेकाले आएको समस्या मात्रै हो ।’ डा. नेपालले माघ १३ गतेपछि तरलताको अवस्थामा सुधार आउँदै गरेको बताउँदै केहि समय भित्रै सहज अवस्थामा पुग्ने दावी समेत गरे । उनले साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न २० प्रतिशत कर्जा वृद्धि आवश्यक ठानेर राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको तर ३० प्रतिशत कर्जा बढेपछि तरलताको अवस्था खडा भएको जानकारी पनि दिएका थिए । केन्द्रिय बैंकले तरलताको व्यवस्थापनका लागि १९० अर्ब लैजान भनेको तर बैंकले ३२ अर्ब मात्रै लगेकाले पनि बजारमा तरलताको अवस्था नरहेको दावी गरेका थिए । उनले बैंकरहरु कर्जा निक्षेप अनुपात(सिसिडी रेसियो) घटाउन लबिङमा उत्रिएको बताउँदै तत्काललाई सिसिडी रेसियो नघटाउने पनि बताए ।‘सिसिडी रेसियो हटाउँदा जोखिम बढ्छ, बैंकहरु डुब्छन, जनताको पैसा पनि डुब्छ, त्यसकारण यो मामिलामा राष्ट्र बैंक सचेत छ’, नेपालले भने । उनले बैंकहरुलाई आक्रामक रुपमा कर्जा लगानी नगर्न निर्देशन दिएको पनि जानकारी गराएका थिए ।‘बैंकहरुलाई आक्रामक रुपमा कर्जा लगानी नगर्न भनेका छौं, कर्जा लगानी घटाउन निर्देशन दिएका छौं’, डा नेपालले भने । लेखा समितिको बैठकमा अर्थ सचिव शान्तराज सुवेदीले बैंकरहरुले तरलताको गलत हल्ला फैलाएको आरोप लगाएका थिए । उनले बैंकरहरुको नाफा बढाउने योजनाका कारण बजारमा तरलता अभाव जस्तो देखिएको बताउँदै त्यसका लागि अर्थ मन्त्रालय र केन्द्रिय बैंकले आवश्यक कदम चाल्ने चेतावनी पनि दिए ।
बैकिङ र सेयर बजारमा बारम्बार प्रयोग बाइस शब्दहरु, जसको व्याख्या यस्तो छ बाफियामा
१. “प्राथमिक पूँजी” भन्नाले बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजी, शेयर प्रिमियम, फिर्ता नहुने अग्राधिकार शेयर, साधारण जगेडा कोष र सञ्चित नाफा–नोक्सान शीर्षकमा रहेको रकम सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा प्राथमिक पूँजी भनी तोकिदिएको अन्य शीर्षकमा रहेको कोष वा रकम समेतलाई जनाउँछ । २. “धितोपत्र” भन्नाले बैंक वा वित्तीय संस्था वा संगठित संस्थाले जारी गरेको शेयर, स्टक, बण्ड, डिबेन्चर, डिबेन्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको प्रमाणपत्र, बचतपत्र वा बण्ड सम्झनु पर्छ र सो शब्दले धितोपत्र बजारमार्फत कारोबार हुन सक्ने वा हस्तान्तरण हुनसक्ने भनी धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्र समेतलाई जनाउँछ । ३. “पूँजी” भन्नाले बैंक वा वित्तीय संस्थाको अधिकृत पूँजी, जारी पूँजी वा चुक्ता पूँजी सम्झनु पर्छ । ४. “पूँजीकोष” भन्नाले राष्ट्र बैंकले तोके बमोजिमको बैंक वा वित्तीय संस्थाको प्राथमिक पूँजी र पूरक पूँजीको योग सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा तोकेको अन्य कोष वा रकम समेतलाई जनाउँछ । ५. “प्राथमिक पूँजी” भन्नाले बैंक वा वित्तीय संस्थाको चुक्ता पूँजी, शेयर प्रिमियम, फिर्ता नहुने अग्राधिकार शेयर, साधारण जगेडा कोष र सञ्चित नाफा–नोक्सान शीर्षकमा रहेको रकम सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा प्राथमिक पूँजी भनी तोकिदिएको अन्य शीर्षकमा रहेको कोष वा रकम समेतलाई जनाउँछ । ६. “बोनस शेयर” भन्नाले बैंक वा वित्तीय संस्थाको मुनाफाबाट भएको बचत वा अन्य कोषलाई पूँजीकरण गरी शेयरधनीलाई अतिरिक्त शेयरको रुपमा जारी गरिएको शेयर सम्झनु पर्छ र सो शब्दले बचत वा अन्य कोषलाई पूँजीकरण गरी शेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाउँछ । ७. “खुद सम्पत्ति (नेट वर्थ)” भन्नाले बैंक वा वित्तीय संस्थाको वासलातमा रहने सम्पत्तिको कुल जोडमा वाह्य दायित्वलाई घटाई कायम हुन आउने रकम सम्झनु पर्छ । ८. “कार्यकारी प्रमुख” भन्नाले बैंक वा वित्तीय संस्था सञ्चालनको जिम्मेवारी पाएको प्रमुख कार्यकारी अधिकृत सम्झनु पर्छ र सो शब्दले बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुखको रुपमा काम गर्ने कार्यकारी अध्यक्ष र प्रबन्ध सञ्चालक समेतलाई जनाउँछ । ९. “सञ्चालक” भन्नाले सञ्चालक समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले सञ्चालक समितिको अध्यक्ष र वैकल्पिक सञ्चालक समेतलाई जनाउँछ । १०. “संस्थापक” भन्नाले यस ऐन बमोजिम बैंक वा वित्तीय संस्था संस्थापना गर्नको लागि प्रबन्धपत्र तथा नियमावलीमा कम्तीमा एक शेयर लिन मन्जूर गरी संस्थापकको हैसियतले हस्ताक्षर गर्ने व्यक्ति सम्झनु पर्छ । ११. “पदाधिकारी” भन्नाले बैंक वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव र कुनै विषयमा निर्णय गर्ने अख्तियारी प्राप्त अधिकृतस्तरको कर्मचारी सम्झनु पर्छ । १२. “परिवार” भन्नाले सञ्चालकको पति वा पत्नी, छोरा, वुहारी, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नु पर्ने दाजु भाउजु, भाइ वुहारी र दिदी बहिनी सम्झनु पर्छ । तर सो शब्दले अंशवण्डा गरी मानो छुट्टिई आ–आफ्नो पेशा व्यवसाय गरी बसेको परिवारको सदस्यलाई जनाउने छैन । १३. “सम्बद्ध व्यक्ति” भन्नाले बैंक वा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा निजकोे परिवारको उल्लेख्य स्वामित्व रहेको कुनै फर्म, कम्पनी वा संस्था वा त्यस्तो फर्म, कम्पनी वा संस्थामा उल्लेख्य स्वामित्व रहेको कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्था वा सोमा उल्लेख्य स्वामित्व राख्ने सोको हिताधिकारी सम्झनु पर्छ । १४. “गैर कार्यकारी सञ्चालक” भन्नाले बैंक वा वित्तीय संस्थाको दैनिक कार्य सम्पादन गर्ने कार्यकारी सञ्चालक वाहेकको अन्य सञ्चालक सम्झनु पर्छ । १५. “साहु” भन्नाले बैंक वा वित्तीय संस्थाले तिर्नु बुझाउनु पर्ने व्यक्ति वा संगठित संस्था सम्झनु पर्छ र सो शब्दले खारेजीको प्रयोजनका लागि निक्षेपकर्ता तथा डिबेञ्चरहोल्डरलाई समेत जनाउँछ । १६.“जोखिमभारित सम्पत्ति” भन्नाले बैंक वा वित्तीय संस्थाको वासलातभित्रको र वासलातबाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई राष्ट्र बैंकले तोकेको ढाँचामा तोकिएको जोखिमभारले गुणन गरी निकालिएको कुल सम्पत्ति सम्झनु पर्छ । १७. “वित्तीय स्वार्थ” भन्नाले सञ्चालक, एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको शेयरधनी वा कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको परिवार वा सञ्चालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति, कम्पनी वा संगठित संस्थाले कुनै फर्म, कम्पनी वा संगठित संस्थाको चुक्ता पूँजीको दश प्रतिशत वा सोभन्दा बढी हुने गरी छुट्टाछुट्टै वा संयुक्त रुपमा शेयर खरिद गरेमा त्यस्तो व्यक्ति वा व्यक्तिहरुको दश प्रतिशत वा सो भन्दा बढी शेयर स्वामित्व रहेको संस्थामा रहेको निजहरुको स्वार्थ सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा वित्तीय कारोवारको प्रकृति र अवस्था हेरी वित्तीय स्वार्थ भनी तोकिदिएको स्वार्थ समेतलाई जनाउँछ । १८. “विद्युतीय कारोबार” भन्नाले टेलिफोन, टेलेक्स, कम्प्युटर वा म्याग्नेटिक टेप वा त्यस्तै प्रकारका अन्य विद्युतीय उपकरणको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तर गर्ने कारोबार सम्झनु पर्छ र सो शब्दले टर्मिनल, अटोमेटेड टेलर मेसिन र क्यास डिस्पेन्सिङ्ग मेसिनको माध्यमबाट हुने कारोबार, चार्ज कार्ड, डेबिट वा क्रेडिट कार्डबाट हुने कारोबार समेतलाई जनाउँछ । १९. “हाइपोथिकेसन कर्जा” भन्नाले मालवस्तु स्टकको भोगाधिकार सम्बन्धित ऋणीमै कायम राखी सोको धितोमा बैंक वा वित्तीय संस्था र ऋणी बीच सम्झौता भई प्रवाह गरिएको कर्जा सम्झनु पर्छ । २०. “जोखिमभारित सम्पत्ति” भन्नाले बैंक वा वित्तीय संस्थाको वासलातभित्रको र वासलातबाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई राष्ट्र बैंकले तोकेको ढाँचामा तोकिएको जोखिमभारले गुणन गरी निकालिएको कुल सम्पत्ति सम्झनु पर्छ । २१. “वासलात बाहिरको कारोबार” भन्नाले बैंक वा वित्तीय संस्थाले दायित्व व्यहोर्नु पर्ने सम्भावना भएको प्रतितपत्र, जमानतपत्र, स्वीकारपत्र, प्रतिबद्धता, विदेशी विनिमय सम्बन्धी स्वाप, अप्सन, अग्रिम कारोबार सम्झनु पर्छ र सो शब्दले राष्ट्र बैंकले समय समयमा तोकिदिएका उपकरणको कारोबार समेतलाई जनाउँछ । २२. “तरल सम्पत्ति” भन्नाले बैंक वा वित्तीय संस्थाको नगद मौज्दात, चल्ती खातामा रहेको मौज्दात, राष्ट्र बैंकमा राखेको मौज्दात र राष्ट्र बैंकले समय समयमा तरल सम्पत्ति भनी निर्धारण गरिदिएको बैंक वा वित्तीय संस्थाको सम्पत्ति सम्झनु पर्छ ।
घरजग्गाको कारोबार ‘डेरिभेटिभ’ शैलिमा, बैंकको ब्याजदर वृद्धिसँगैे कारोबार खस्किदै
काठमाडौं । पछिल्लो समय घरजग्गाको कारोबार ‘डेरिभेटिभ’ शैलीमा हुन थालेको छ । आफ्नो आवश्यकताले भन्दा पनि व्यापार गर्ने उदेश्यले दोस्रो तथा तेस्रो तहका कारोबारीहरुको विगविगी देखिएको छ । पहिलो वायरले आफ्नै लागि अर्थात आफै बस्नको लागि घरजग्गा खरिद गर्छ भने दोस्रो तथा तेस्रो वायरले अधिक नाफा कमाउने हिसावले घरजग्गामा लगानी गरेको हुन्छ । अहिले घरजग्गा कारोबारी बजारमा पहिलो वायरको भन्दा दोस्रो तथा तेस्रो वायरको उपस्थिति बढी भएकोले जग्गाको मूल्य कृत्रिम प्रक्रियाबाट बढ्दै गएको जानकारहरु बताउँछन् । उनीहरुका अनुसार बैंकबाट ऋण लिँदै घरजग्गाको कारोबार गर्ने यस्ता वायरहरुको विगविगीले बजारमा कृतिम तरिकाले बढ्दै गएको हो । पहिलो वायरले आफ्नो लागि घरजग्गा खरिद गर्ने भएकोले उसलाई नाफासँग त्यति सरोकार राख्दैन । तर, दोस्रो तथा तेस्रो वायरको मुख्य उद्देश्य भनेको नाफा कमाउनु भएकाले उनीहरुले सम्पर्कको आधारमै घरजग्गाको कारोकार आफसे आफ वृद्धि गरेका छन् । यस्ता वायरहरुले कृतिम रुपमा जग्गाको मूल्य बढाउने, त्यहि जग्गा राखेर ऋण तिर्नका लागि ऋण लिने प्रवृति बढ्दै गएको नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. युवराज खतिवडाले बताए । आयस्तर बढेको छैन तर, घरजग्गाको मूल्य अधिक बढ्नुको संकेत यहिनै हो उनले भने । मंसिर महिनासम्म उपत्यकाको विभिन्न स्थानमा घरजग्गा वायरको राम्रै उपस्थिति हुन्थ्यो, तर अहिले बैंकले ऋण दिन छाड्नु तथा मह्गो ब्याजमा ऋण लिएर जग्गाको कारोबार गर्दा कम फाइदा हुने र चर्को ब्याजले ढाड सेक्न सक्ने डरले यस्ता कारोबारी हच्किएका हुन् । केही गरी घरजग्गाको कारोबार घट्न गयो भने बैंकको ऋण तिर्न नसकिने र सो ऋणका कारण आफ्नो अन्य सम्पत्ति पनि पुग्मे डरले उनीहरुलाई सताएको एक घरजग्गा कारोबारीले बताए । उनले भने ‘नाफा गर्न रिक्स मोलिमोलि गरिएको व्यवसाय कारोबार घट्यो अर्थात आफूले तिरेभन्दा कम मूल्यमा विक्री गर्नु पर्ने स्थिति आयो भने थाम्न गाह्रो हुन्छ’ उनले भने ‘ त्यहि भएर हामी पनि पर्ख र हेरको अवस्थामा छौं ।’ मजस्तै अन्य व्यवसायी पनि अहिले बैंकको मह्गो ब्याजसँगै कारोबार गर्न डराएर अहिले पछि हटेको उनले बताए । इमोडोलकी अन्जु खड्काका अनुसार मंसिरसम्म दैनिक सात÷आठ समूह नै घरजग्गा खरिदका लागि आउने गर्थे । तर, अहिले एक दुई जनामात्र त्यो पनि किन्ननै भन्दा पनि कति खाली जग्गा रहेछ र भाउ कस्तो रहेछ भनेर बुझ्न आए भन्नेहरू आउने गरेको उनले बताए । त्यस्तै टोखाकी सितल रिसालको पनि त्यस्तै अनुभव छ । उनले अहिले वायरहरू आउने क्रम घट्न थालेको बताइन् । नत्र पहिला समूह समूहनै घरजग्गा खरिदका लागि आउने गरको उनको भनाइ छ । अर्थ विज्ञ डा.शंकर शर्माले घरजग्गामा बैंकले ऋण उपलब्ध गराउन नसक्ने भएपछि घरजग्ग्गाको कारोबार र मूल्य घट्ने जानकारी दिए । ‘ऋण नपाएपछि कारोबार कम हुन्छ,’ उनले भने, ‘लगानी नभएपछि कारोबार घट्ने नै भयो ।’ राष्ट्रबैंकले पनि घरजग्गाको कारोबारमा कडाइ गर्ने संकेत गरिसकेको छ । राष्ट्रबैंकले घरजग्गाको लगानीलाई अनुत्पादक र जोखिम भनिसकेको छ । बजार सँधै उकालोमात्र नलागेर निश्चित विन्दु पारगरेपछि ओरालो लाग्ने प्रवृत्तिका कारण पनि अबको केही समयमा घरजग्गा कारोबार घट्ने अनुमान विज्ञहरूले गरेका छन् । अहिले बढी नाफा कमाउने सजिलो माध्यमका रूपमा घरजग्गालाई लिइएको छ । तर, बैंकको ब्याज महँगो भएपछि घरजग्गामा लगानी गर्न कर्जा लिएर फाइदा अर्थ विज्ञ रामेश्वर खनालले भने । बैंकबाट ऋण लिएर घर किन्ने अनि भाडा उठाएर तिर्ने अवस्था अब नरहेको उनको भनाइ छ । घरजग्गा खरिदबिक्रीमा ‘फस्ट वायरभन्दा सेकेन्ड वायर’ को उपस्थिति बढी देखिएको छ । यस्ता वायरको मुख्य उद्देश्य मौका छोपेर बढीभन्दा नाफा कमाउनु नै हो । घरजग्गा तथा सेयर कारोबारजस्ता स्पेकुलेसन मार्केटबाट छोटो समयमै बढी नाफा कमाउन सकिने भएकाले पनि दोस्रो वायर आकर्षित भएका हुन् । कारोबारको प्रकृति हेर्दा उपभोक्ता आफैंले आफ्नो पुँजीबाट आफ्नै लागि घरजग्गा खरिदबिक्री गर्नुभन्दा पनि बैना टु बैना ‘डेरिभेटिभ’ को कारोबार हुने गरेको छ ।
सोमबारदेखि सुनको कोटा दैनिक पाँच किलोले बढ्यो, फागुनमा दैनिक २५ किलो आयात गर्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई माघ र फागुनका लागि दैनिक २० किलो सुनको आयात गर्ने अनुमती दिएको छ । विवाहको सिजनमा अत्याधिक सुनको माग बढेर कालोबजारी बढेपछि बैंकले सुनको कोटा पाँच किलोले बढाएको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार सोमबारदेखि २० किलो सुन आपूर्ति गर्न पाउने प्रावधान लागू भएको छ । यस अघि राष्ट्र बैंकले दैनिक १५ किलो मात्र सुन आपूर्ति गर्न अनुमति दिन्थ्यो । सुन व्यवसायीको पहलमा नेपाल राष्ट्र बैंक तथा वाणिज्य मन्त्रालय सहितको बोर्डको सहमतीमा सुनको कोटा बढाइएको पौडेलले बताए । फागुनमा सुनको कोटा २५ किलो पुर्याउने तयारी नेपाल राष्ट्र बैंकले सुनको कोटा दैनिक २५ किलो पुर्याउने तयारी गरेको छ । माघ र फागुनमा विवाहको लगन बढि भएकाले माग अनुसार कोटा बढाउने तयारी गरेको पौडेलले बताए । उनले भने, ‘सुरुमा व्यवसायीले १० किलो बढाउन पत्राचार गरेअनुसार बोर्डले सहमती जनाएको थियो । हाल पाँच किलो मात्र बढाइएपनि केहि दिनमा थप पाँच किलो बढाउने तयारी भइरहेको छ ।’ सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यका अनुसार फागुनमा सुनको कोटा थप पाँच किलो बढ्ने सम्भवना छ । उनले भने, ‘बजारमा सुनको यस्तो हाहाकार भएको बेलामा सुनको कोटा बढाउनु जरुरी छ । फलस्वरुप सरकारले फागुनका लागि दैनिक २५ किलो पुर्याउने प्रतिबद्धता जनाएको छ । यसले व्यवसायी थप उत्साहित बनेका छन् ।’ एक/दुई दिनमा सहज हुन्छ बैंकले सुनको आपूर्ति बढाएपनि बजार सहज बन्न केहि दिन लाग्ने शाक्यले बताए । उनले भने, ‘बैंकले निर्णय गरेपनि व्यवसायीका हातमा सुन परेको छैन । वाणिज्य बैंकसँग स्टक छ भने आजदेखि २० किलो सुन दिनसक्छ तर त्यस्तो अवस्था देखा परेको छैन ।’ सुनको भाउमा लगातार वृद्धि बजारमा सुन नपाइरहेको बेलामा सुनको भाउ पनि बढिरहेको छ । आइतबार प्रति तोला ५५ हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ सोमबार प्रति तोला ५५ हजार चार सय रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा अन्तराष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेकाले नेपाली सुन बजार प्रभावित भइरहेको छ । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको रस्साकस्सी चलिरहेकाले सम्पूर्ण आर्थिक क्षेत्र प्रभावित भएकाले सुनको भाउ बढ्दै जाने सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । शाक्यका अनुसार अन्य आर्थिक क्षेत्रमा अन्यौल अवस्थामा परेकाले सुनमा लगानी बढिरहेको शाक्यले बताए । आइतबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंष १२०० अमेरिकी डलर पुगेको थियो भने सोमबार प्रति औंष १२०४ डलर पुगेको छ ।
सरकारलाई कर बुझाउन अटेर गर्नेले कसरी युवा उद्यमीलाई सहयोग गर्न सक्छन् ? उद्यमी आनन्द बगरियालाई नैतिक प्रश्न
काठमाडौं । ”मुलुकमै धेरै रुचाईएका दुई सफल युवा उद्यमीहरु चौधरी ग्रुपको सिजि कर्पका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले माघ २१ गते ४ सय भन्दा बढी उद्यम शिलतामा प्रवेश गर्न चाहने युवालाई सम्बोधन गर्दै नेपालमा नयाँ युवा उद्यमीहरुका व्यवसायिक योजनामा आफूहरुले व्यक्तिगत र संस्थागत रुपमा लगानी गर्ने घोषणा गरे ।’’ हिमालयन क्लाईमेट इनिसिएटिभले काठ्माण्डौंमा आयोजना गरेको फाइनान्स योर ड्रिम कार्यक्रममा बोल्दै बगरिया र चौधरीले उक्त घोषणा गरेका थिए । गत शनिबार, आइतबार र सोमबार धेरै सञ्चार माध्ययममा प्रकाशित प्रसारित समाचार हो यो । मंगलबार गोरखापत्रमा अर्को सूचना प्रकाशित भयो । आन्तरिक राजश्व विभाग, करदाता सेवा कार्यलय पुतलीसडकले ११८ वटा कम्पनीहरुलाई बाँकी कर बक्यौता भुक्तानी गर्न सार्वजनिक सूचना प्रकाशित गर्यो । जहाँ तिनै आनन्द वगरियाको नाम पनि छापिएको छ । बगरियाको नाममा रहेको कम्पनी निम्बर मार्केटिङ (स्थायी लेखा नम्बर ३०००४८९५७) ले मुल्य अभिवृद्धि कर (भ्याट) र आयकर तिर्न बाँकी रहेको कर कार्यलयले जनाएको छ । ‘कर बक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा कार्यालयमा प्राप्त ठेगानामा पत्राचार गरिएको, पत्र बुझेका, फोन सम्पर्क गरिएकोमा हालसम्म पनि कर बक्यौता रकम दाखिला नगरेको तथा कार्यलयमा सम्मर्क राख्न नआएकोले यो सूचना प्रकाशित गरिएको छ’ कर कार्यालयले भनेको छ–‘यो सूचना प्रकाशित भएको पन्ध्र दिनभित्र कार्यालयमा बक्यौता रकमको लागि राख्नुहुनु …।’ उक्त सूचनामा शकुन्तला हिराचन, जयन्ती शाह, रेनु सराफ, गणेश भक्त शाख, ओम प्रकाश नौलखा, रविन्द्रमान मल्ल, बतास ब्रदर्श मोटर्स, अमात्य इन्टरप्राइजेज लगायत चर्चित व्यवसायी तथा कम्पनीहरुलाई कर बक्यौता भुक्तानी गर्न आग्रह गरिएको छ । कर कार्यालयको यो सूचनासँगै युवा उद्यमीलाई सहयोग गर्ने आस्वासन दिने बगरिया माथि नैतिक प्रश्न उठेको छ । ‘व्यवसाय गरेर सरकारलाई कर नतिर्नेहरुले युवा उद्यमीलाई कस्तो सहयोग हुन्छ ?’
२ वटा वाइडबडि खरिद गर्न ३ दिनभित्र १० करोड बैना, जहाज खरिदको पारदर्शीता पुष्टि गर्दै निगम
काठमाडौं । नेपाल नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गर्न लागेको लामो दूरीको उडान क्षमता भएको जहाज (वाइडबडि) खरिदका लागि बैना रकम पठाउने अन्तिम तयारी गरिरहेको छ । निगमले २ वटा दुई सय ८० सिट क्षमताको वाइडवडि जहाज खरिद गर्न ३ दिन भित्र १० करोड रुपैयाँ बैना रकम अमेरिकी जहाज कम्पनी एएआर करर्पाेरेसनलाई पठाउने भएको छ । वायुसेवा निगम स्रोतले दिएको जानकारी अनुसार जहाज दिन्छु भन्ने कम्पनीले पाँच दिनको समय दिएको भएपनि सात दिन वितिसकेको छ । ‘नेपाल राष्ट्र बैंकबाट डलर सहितको अनुमति बाँकी रहेकोले बैना रकम पठाउन ढिलो भएको हो, अबको तीन दिन भित्र वाइडवडि खरिदका लागि दुईवटा जहाजका लागि १० करोड रुपैयाँ बैना रकम पठाउने छौ’, निगमका एक उच्च अधिकारीले भने । निगमका अनुसार एउटा जहाजलाई पाँच लाख बैना रकम दिँदा पनि कम्तिमा ५ करोड ४५ लाख रुपैयाँ प्रतिजहाजको पठाउनुपर्ने हुन्छ । निगमले दिएको जानकारी अनुसार जहाज बेच्ने कम्पनीले २० करोड रुपैयाँ बैना रकम मागेको भएपनि हामीले भने तत्कालका लागि १० करोड रुपैयाँ मात्रै पठाउने निर्णय गरेका छौं । निगमले ऋण लिने प्रक्रियाको टुंगोमा पुर्याउँने चरणमा रहेको छ । सरकारले २५ अर्ब रुपैयाँको जमानी दिएको छ । निगमले निजी बैंक तथा वित्तीय संस्थाबाट पनि पैसा लिन सक्ने गरी बाटो खुला गरेको भएपनि हाल तरलता अभावका कारण कर्मचारी संचयकोषबाटै ऋण लिने भएको पनि उल्लेख छ । जहाज खरिदको पारदर्शीता पुष्टि गर्दै निगम निगमले आजै दिउँसो र्याडिसन होटलमा पत्रकार सम्मेलन गरेर जहाज खरिदको पारदर्शीति पनि पुष्टि गर्ने भएको छ । संचार माध्ययमा आएका नकारात्मक हल्ला र भ्रमलाई चिर्न र निगमको चोखो नियतलाई पुष्टि गर्न पनि आजै पत्रकार सम्मेलन आयोजना गरेको निगमको भनाइ छ । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले पनि आजै आयोजना हुने पत्रकार सम्मेलनमा वाइवडि र चिनियाँ जहाजमा धेरै प्रश्न आउने बताएका छन् । उनका अनुसार निगमले गरेको खरिद प्रक्रियाको बारेमा जानकारी दिन पनि सम्मेलन आयोजना गरिने भएको छ । अबको १० महिनाभित्रै निगमले नयाँ जहाज पाउने निगमले दुइटा वाइडबडी विमान खरिदका लागि निगमले असोज पहिलो साता आह्वान गरेको खरिद प्रक्रियामा विभिन्न ११ वटा कम्पनीले निगमलाई जहाज बेच्च रुची देखाउका थिए । ती मध्येबाट अमेरिकी कम्पनी एएआर करपोरेसन छानिएको छ । यो कम्पनीले निगमले नयाँ जहाज नै दिने भएको छ । निगमले पनि नयाँ जहाज नै लिने गरी कम्पनीसँग सम्झौता गरेकोले अब छिट्टै बैना रकम पठाउने भएको छ । एएआरले जहाज उपलब्ध गराउन नसके बैना फिर्ता दिने सम्झौतापत्रमा लेखिएको निगमको भनाइ छ । ‘बैना रकम पाएपछि जहाज किन्ने र बेच्नेबीच खरिद सम्झौता हुने उल्लेख छ । सम्झौताअनुुसार, एएआरले ०७४ पुस र चैतमा गरी दुइटा वाइडबडि दिने छ । निगमलाई यो कम्पनीले ११ अर्ब ३५ करोड (१० करोड ४० लाख डलर) का दरमा जहाज उपलव्ध गराउने पनि उल्लेख छ ।
मन्दिरभित्र पसेका दलितलाई ५ हजार जरिवाना, दलितको नाममा अव्यवाहारिक काम
रामेछाप । जिल्लाको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवालाई जरिवाना गरिएको छ। स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले गाउँलेको सहयोगमा पाँच हजार रुपैयाँ असुल गरेका छन्। शेराकाली मन्दिरमा साताको शनिबार र मंगलबार दुई दिन मात्र पूजाआजा हुने गरेको छ। मन्दिरबाट पुजारी बाहिरिएसँगै नियमित पूजाआजा सबै रोकियो। कृष्णकुमारले पाठी बलि दिन पाएनन्। त्यसपछि पुजारी र कृष्णबहादुरबीच लामो भनाभन भयो। दुवैको भनाभनपछि गाउँले, पूजाका लागि पुगेका भक्तजन र विश्वकर्माका परिवारसहित छलफल भयो। छलफलमा कृष्णबहादुरको गल्ती ठहर्याइयो। मन्दिरमा रुद्री लगाएर चोखो नगरी पूजा गर्न नमिल्ने भन्दै पुजारीले कृष्णकुमारसँग पाँच हजार रुपैयाँ माग गरे। उनले पुजारी भीमबहादुर बुढाथोकीलाई पाँच हजार दिए। पुजारीले रकम लिएसँगै आफूले लगेको पाठी बलि दिएको कृष्णकुमारले टेलिफोनमार्फत जानकारी दिए। शनिबार बिहानै उठेर नुहाइधुवाई गरी कृष्णबहादुर र उनकी श्रीमती एकजोर पाठी लिएर मन्दिर पुगेका थिए। मन्दिर पुगेपछि उनी आफूले लगाएको छालाको पेटी र चप्पल बाहिर फुकालेर पूजा गर्न मन्दिरभित्र पसे। अकस्मात् मन्दिरभित्र कृष्णबहादुरलाई देखेपछि ‘तँ अछुत जात ९दलित० मन्दिरभित्र पस्नै नहुने, पसिस्’ भनेर मन्दिरका पुजारी चिच्याउँदै बाहिर निस्किए। सरकारले छुवाछूतको अन्त्य गरेको धेरै समय भइसकेको छ। तर, आफूजस्ता दलितले अहिले पनि मन्दिरभित्रै पसेर पूजा गर्न नपाउँदा दुःख लागेको कृष्णबहादुरले बताए। मन्दिरमा पूजा गर्न नदिने र क्षतिपूर्ति भराउन लगाउने मन्दिरका पुजारीद्वयविरुद्ध बेताली प्रहरी चौकीमा आइतबार लिखित उजुरी दिएको उनले बताए। मन्दिरका दुवै पुजारी छत्रबहादुर र भीमबहादुर मोबाइल स्विच अफ गरेर बसेका छन्। पटक–पटक प्रयास गर्दा पनि उनीहरूसँग सम्पर्क हुन सकेन। स्थानीय विनोद फुँयालका अनुसार बेतालीमा रहेको शेराकाली मन्दिरमा परम्परादेखि नै महिनावारी भएका महिला र दलित मन्दिरभित्र पस्न पाउँदैनन्। मन्दिरका पुजारीलाई कृष्णकुमारले पाँच हजार बुझाएसँगै रुद्री लगाएर पुनः नियमित रूपमा पूजा सञ्चालन गरेको बेताली गाविसका प्राविधिक सहायक बाबुराम घिमिरेले जानकारी दिए। सो मन्दिरमा पूजा गर्न दोलखा, सिन्धुलीदेखि भक्तजन आउने गरेका छन्। मन्दिरमा दलितलाई पूजा गर्न नदिएको र उल्टै पुजारीले पाँच हजार असुलेको विषयमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमुद ढुंगेलले जानकारी दिए। उनका अनुसार अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको छ। ‘मन्दिर कसैको पेवा होइन,’ उनले भने। डिएसपी ढुंगेलले प्रहरी चौकीबाट मेलमिलाप नभए छुवाछूत मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही गरिने बताए। मन्दिरभित्र दलित पस्यो भनेर जरिवाना गराउने पुजारीलाई कानुनअनुसार कारबाही गर्न आफूले प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। नयाँ पत्रिका दैनिकबाट ।
उपत्यकाबाट टेम्पो र माइक्रोबस विस्थापन हुँदै, साना सवारी हटाएर ठूला यात्रुबस संचालन गरिदैँ
काठमाडौं । राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ। साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने योजना बनाएको सरकारले तीन तहमा यसको व्यवस्थापन गर्न लागेको छ। पहिलो चरणअन्तर्गत चैत पहिलो सातादेखि गोंगबु–सिनामंगल रुटका टेम्पो र माइक्रोबस हटाएर त्यहाँ ठूला सवारीसाधन सञ्चालन गरिनेछ। फाइल तस्बिर राजधानीको प्रदूषण र ट्राफिक जाम नियन्त्रण गर्न यातायात व्यवस्था विभागले चरणबद्ध रूपमा सार्वजनिक साना सवारीसाधन विस्थापन गरी ठूला सञ्चालन गर्ने योजना बनाएको विभागका सूचना अधिकारी डा. टोकराज पाण्डेले बताए। पहिलो चरणमा गोंगबु–सिनामंगल रुटका ३५ टेम्पो र २६ माइक्रोबस हटाइनेछ। ६१ वटा सवारीसाधन हटाई तिनका ठाउँमा १७ वटा ठूला बस सञ्चालन गरिनेछ। यी बस नयाँ बसपार्क, सामाखुसी, जमल, ज्ञानेश्वर, मैतीदेवी, पुरानोबानेश्वर, सिनामंगल हुँदै एयरपोर्टसम्म गुड्नेछन्। ‘काठमाडौं दिगो सहरी यातायात आयोजनाु अन्तर्गत साना सवारी व्यवस्थापन गर्न लागिएको हो। चलिरहेका टेम्पो र माइक्रोबस कम्पनी दर्ता गरेर आए ठूला सवारीसाधन खरिदमा ८० प्रतिशतसम्म ऋण र १५ प्रतिशत सिड मनी दिने व्यवस्था रहेको जानकारी सूचना अधिकारी पाण्डेले दिए। आयोजनालाई एसियाली विकास बैंक ९एडीबी० ले आर्थिक सहयोग गरेको छ। विभागका अनुसार गोंगबु(सिनामंगल रुटमा यो कार्यक्रम सफल भएपछि राजधानीका अन्य रुटमा पनि साना सवारीसाधन विस्थापन थालिनेछ। टेम्पो व्यवसायी संघ सिनामंगलका कोषाध्यक्ष नरेन्द्र अधिकारीले सरकारी योजनाको सराहना गर्दै माइक्रोबस सञ्चालक संघ, सामाखुसी यातायात र सिनामंगल सफा टेम्पो संघ मिलेर नयाँ ठूला बस खरिद गर्न कम्पनी दर्ताको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। अहिले देशभर दुई हजार दुई सय १६ माइक्रोबस र दुई हजार पाँच सय २८ टेम्पो सञ्चालनमा छन्। तीमध्ये अधिकांश माइक्रोबस र टेम्पो राजधानीमै छन्। यी दुई प्रकारका साना सवारीसाधनलाई व्यवस्थित गर्दा राजधानीको करिब ३० प्रतिशत ट्राफिकभार कम हुने विभागको विश्वास छ। सरकारले फागुन १७ गतेदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई देशभरबाटै हटाउने भएको छ। २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशन गरी सरकारले आउँदो फागुन १७ देखि २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको थियो। पुराना सवारीसाधन नवीकरण नगरेका सवारीधनीलाई राजस्व तिराएर त्यस्ता सवारी पत्रु गराउने तयारी विभागको छ। २० वर्ष पुराना सवारीको नवीकरण नहुने र वातावरणमैत्री हरियो स्टिकर नपाउने हुँदा त्यस्ता सवारी स्वतः हट्ने विश्वास विभागले लिएको छ। विभागका अनुसार काठमाडौं उपत्यकामा मात्र अहिले ९ लाख ६३ हजार ५ सय ८ वटा सवारीसाधन दर्ता भए पनि राजधानीबाहिर दर्ता भएका समेत गरी यहाँ करिब १० लाख सवारीसाधन गुड्छन्। यीमध्ये २० वर्ष पुराना सवारीको संख्या १ लाख ५ हजार ५ सय ६२ छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजधानीमा प्रदूषण र ट्राफिक जाम बढ्नुको मुख्य कारक २० वर्ष पुराना गाडी भन्दै हटाउने निर्णय गरेको थियो। सवारी तथा यातायात व्यवस्था ऐनले सवारी सञ्चालनयोग्य भएनभएको जाँच्न परीक्षण मापदण्ड बनाएको छ। सवारीको यान्त्रिक स्थिति, लम्बाइ, चौडाइ, उचाइ, बनोट वा स्वरूप, सवारीबाट हुनसक्ने प्रदूषण, सवारी चलाउन सकिने अवधिलाई प्राथमिकता दिई परीक्षण मापदण्ड निर्धारण गरिएको छ। सवारी सञ्चालनयोग्य भएको प्रमाणपत्र दिने क्रममा जाँचपास गर्ने/नगर्ने, सवारी दर्ता गर्ने÷नगर्ने अधिकार विभागमा निहित भएकाले सोही आधारमा पुराना सवारी हटाउन लागिएको हो। अन्नपूर्ण पोस्टबाट ।