अमेरिका जान डराए नेपाली विद्यार्थी, ट्रम्पको कठोर नीतिले अमेरिकी उच्चशिक्षाबाट नेपाली पछि हट्दै
काठमाडौं । महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिका आकर्षण घटेको हो । आइतबार अमेरिकाको नो अब्जेक्शन लेटर लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन् । शिक्षा मन्त्रालयका उपसचिव डिल्लिश्वर प्रधानका अनुसार अंग्रेजी महिनाको सुरू अर्थात जनवरी लागेदेखि अमेरिकाका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या घट्दै गएको छ । उपसचिव प्रधानले उपलब्ध गराएको तथ्यांक अनुसार मंसिर १ देखि पुस १६ गतेसम्म ६ हजार तीन सय ६६ बिद्यार्थीले नोअब्जेक्सन लेटर लिएका थिए । यसमा असट्रेलिया जाने विद्यार्थी धेरै थिए भने दास्रो स्थानमा अमेरिका थियो । राट्रिपति ट्रम्पको उदयसँगै अमेरिका जाने नेपाली विद्यार्थी ह्वात्तै घटेको उनले बताए । त्यस अवधिमा नोअब्जेक्सन लेटर लिनेमध्ये अष्ट्रेलिया जाने ३ हजार ३ सय ८८ थिए भने अमेरिका जाने ९ सय ५९ बिद्यार्थी रहेको प्रधानले बताए । उनका अनुसार जनवरी १ देखि अमेरिकाको लागि नोअब्जेक्सन लेटर लिन आउने विद्यार्थीको संख्या शून्य छ । नागरिक दैनिकबाट ।
पञ्चेश्वर पर्खदै तेस्रो पुस्ता, १० वर्षदेखि आयोजना आवासगृह कुर्दै ३ सुरक्षा गार्ड
काठमाडौं । बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाको निर्माणस्थलमा कुनै काम सुरु भएको छैन। आयोजना निर्माणस्थलको आवासगृहमा ३ जना सुरक्षा गार्ड भेटिन्छन्। तर, उनीहरुको पनि अवकास भइसकेको छ। पञ्चेश्वर विकास प्राधिकरण गठन भएकाले आयोजनाबाट नियुक्ति पाएका उनीहरु अवकाशमा परेका हुन्। ‘अढाइ दशक कुरेको भवनलाई बेवारिसे कसरी छाड्ने ?’ गार्ड जनक साउदले भने, ‘प्राधिरणले व्यवस्था नगरुन्जेल कुरेर बस्छौं, कुनै निकास आउला।’ तर स्थानीयलाई आयोजनाको काम अघि बढ्ला ? नबढ्ला अझै दोधार नै छ। ‘गत असारसम्म स्थानीयले केही न केही काम भएको देख्थे,’ साउदले भने, ‘कर्मचारी हटाएकाले आशंका उब्जाएको छ।’ उनले ०४४ मा बैतडीको पञ्चेश्वर ७ रोलघाट नजिकै आयोजनाको आवास गृह तथा आयोजना कार्यालय खुलेको बताए। स्थानीयले जीर्ण बन्दै गएका आयोजनाको साइट कार्यालय, माटो परीक्षणका लागि नेपाल र भारत दुबैतर्फ बनाइएका ५० मिटर लामो सुरुङ, पानीको बहाव नाप्ने गेजरिडर र बर्खामा नदी वारपार गर्ने ट्रलीबाहेकका संरचना देख्न पाएका छैनन्।
कर्मचारीको काम विदेश घुम्ने मात्र, विदेश घुम्नेले पनि ६ वर्षदेखि प्रतिवेदन बुझाएनन्
काठमाडौं । अन्तराष्ट्रिय सहरसँग सम्बन्ध सुधार्न काठमाडौं महानगरपालिकामा अन्तराष्ट्रिय सम्बन्ध सचिवालय छ । तर दुई जना कर्मचारीका भरमा उक्त सचिवालय सञ्चालनमा छ भन्दा अचम्म लाग्न सक्छ । भगिनी सम्बन्ध स्थापना गर्ने, सांस्कृतिक टोली र भ्रमण आदन प्रदान गर्ने, अन्तराष्ट्रिय सहरमा संयुक्त कार्यक्रम सञ्चालन गर्ने, विशेष व्यक्तिको सम्मान गर्ने र प्रवद्र्धनात्मक सामाग्रगी तथा कार्यक्रम गर्ने लगायत जिम्मेवारी अन्तराष्ट्रिय सचिवालयको थियो । तर उदेश्यविहीन रुपमा यो सचिवालय स्थापना भएको महानगरपालिकाको कार्ययोजनाले बताउँछ । महानगरपालिकाका एक उच्च अधिकृत भन्छन् जिम्मेवारी एउटा छ तर काम अरु नै भइरहेको छ । विदेश घुम्नेबाहेक अरु काम भएको छैन । उनका अनुसार विदेश गएका कर्मचारीले पनि ६ बर्षदेखि प्रतिवेदन बुझाएका छैनन् । कतिपय कर्मचारी विदेश गएको अभिलेख समेत छैनन् । अन्तराष्ट्रिय प्रवद्र्धनको काम अहिलेसम्म भएको छैन । एक अधिकृतले बताए । अन्नपूर्ण पोस्टबाट ।
अस्वस्थ प्रतिस्पर्धामा टेलिकम कम्पनीहरु, आफैले गरेको सम्झौता विपरित कल ब्लक, सेवाग्राही मार्कामा
काठमाडौं। नियम विपरित टेलिकम कम्पनीहरुले अवैद्य रुपमा कललाई ब्लक गर्ने गरेको खुलेको छ। त्यसमा पनि टेलिकमका दुई ठूला प्लेयर नेपाल टेलिकम र एनसेलले अस्वस्थ प्रतिश्पर्धामा उत्रिएर कल ब्लक गरेका छन्। एक आपसमा कल अवरोध नगर्ने भनी सम्झौता गरेका टेलिकम र एनसेलले ब्लक गरेर सर्वसाधारणलाई सास्ती दिइरहेको दूरसञ्चार प्राधिकरणको अनुसन्धानमा खुलेको छ। नेपाल टेलिकम र एनसेल पूर्ण रूपमा असल नियतका साथ फोन कलहरूमामा कुनै अवरोध गर्ने छैनन् भनेर टेलिकम र एनसेलबीच २०६८ सालमा गरेको व्यावसायिक सम्झौता उल्लङ्घन गरेका हुन। सम्झौतामा स्वदेशी र विदेशी दुवैखाले कलमा अवरोध कृतिम रूपमा अन्तरआबद्धता अवरोध गर्ने काम गरिने छैन भनेर हस्ताक्षर गरेका थिए। दुवै कम्पनीले पटकपटक आफूविच र नियामक नेपाल दूरसञ्चार प्राधिकरणको रोहवरमा गरेको सहमतिसमेत उल्लंघन गरी कल ‘ब्लक’ गरेको पाइएको हो । आम्दानीको लडाइँमा यी कम्पनीले एक अर्काको नेटवर्कबाट हुने कल ‘ब्लक’ गर्दा उपभोक्ताले सास्ती पाइरहेका छन्। टेलिकम हरेक महिना विदेशबाट आउने २० करोड मिनेट कल ‘टर्मिनेट’ गरी एनसेलको नेटवर्कमा निर्वाध रूपमा पठाउने भनिएको छ। त्यस्तै एसनेलले पनि हरेक महिना विदेशबाट आएका १५ करोड मिनेट कल ‘टर्मिनेट’ गरी टेलिकमको नेटवर्कमा पठाउनेछ भनिएको छ तर सम्झौता विपरित दुवै कम्पनीले एक अर्कामा सो नियमको पालना गरेका छैनन्। गत बर्ष नियामक निकाय दूरसञ्चार प्राधिकरणले दुवै पक्षलाई राखेर कल ब्लकका विषयमा छलफल गरेपनि त्यसको कार्यान्वयन भएको छैन। प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले धेरैपटक कल ब्लक गरेको रेकर्ड भेटिएकाले यसलाई अझ कडाइका साथ लागु गर्नुपर्ने बताए। उनले पटकपटक चेतावनी दिँदा पनि नमानेकाले अव कानून ल्याएर कम्पनीहरुलाई कार्वाहिको दायरामा ल्याउनुपर्ने बताए। दुवै कम्पनीले अहिले पनि आफैंले गरेका सहमति विपरीत विदेशबाट आउने मात्र होइन, स्वदेशी कलमा समेत अवरोध गरिरहेका छन्। यसरी अवरोध गर्नु कम्पनी बीचको सम्झौता मात्र होइन, दूरसञ्चार ऐन र अन्तरआबद्धता निर्देशिका विपरीतसमेत भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले केहि समय अगाडि टेलिकम र एनसेललाई अवरोध नगर्न निर्देशनसहितको पत्राचार गरिसकेको छ। सहमति र नियम विपरीत कल ‘ब्लक’ गर्ने कार्य जारी राखे कम्पनीहरूलाई कानुनी कारबाही अघि बढाउने कानुनमा प्रावधान रहेको छ। त्यसको पालन नभए प्राधिकरणले कानुनी कारबाही अघि बढाउँने मिश्रले बताए। ऐनमा यस्ता कार्य गर्नेलाई ५ लाखसम्म जरिवाना र क्षतिपूर्तिसमेत भराउने व्यवस्था छ।
कतार एयरवेयद्धारा विश्वकै सबैभन्दा लामो व्यवसायिक उडान शुरु
काठमाडौं । कतार एयरवेयले विश्वकै सबैभन्दा लामो व्यवसायिक उडान शुरु गरेको छ । यो उडान कतारको दोहादेखि औकल्याडसम्मको रहेको कम्पनीको प्रबक्ताले बताएका छन् । बोइङ ७७७को क्वीआर९२० फ्लाईट सोमबार स्थानीय समय अनुसार ५ बजे दोहाबाट उडेको जहाज १६ घण्टा २० मिनेटदेखि १७ घण्टा ३० मिनेटको अवधिमा औकल्याण्डमा अवतरण गर्ने अनुमान गरिएको छ । यस उडानले पाँच देशको आकाशमा १४ हजार ५३५ किलोमिटर दुरी पार गर्नेछ । उडान ट्रायकिङ गर्ने वेवसाइट फ्लाईटर्याडर२४ का अनुसार यात्रुसहित व्यवसायिक रुपमा गरिएको यो सबैभन्दा लामो दूरीको उडान हो । सो उडानमा ५ जना पाइलट, १५ जना सहयोगि कर्मचारी रहेको उक्त उडानमा कति यात्रु उडेका छन् भन्ने कम्पनीले सार्वजनिक गरेको छैन । एजेन्सी
डाबर च्यवनप्राश स्कुल इम्युनो च्याम्पमा ६ विद्यालयहरू विजेता घोषित
काठमाडौं । डाबर नेपालको उत्पादन ‘डाबर च्यवनप्राश’ले जाडो मौसमलाई लक्षित गरी प्रस्तुत गरेको काठमाडौँ उपत्यकाव्यापी कार्यक्रम डाबर च्यवनप्राश स्कुल इम्युनो च्याम्प २०१६ को समापन गरेको छ । काठमाडौँ उपत्यकाका तीन क्षेत्रहरू काठमाडौँ पूर्व र भक्तपुर, काठमाडौँ पश्चिम, र ललितपुर गरी प्रत्येक क्षेत्रबाट २–२ वटा विद्यालयहरू विजेता घोषित गरिएका छन् । काठमाडौँ पूर्व र भक्तपुरबाट ग्यालेक्सी पब्लिक स्कुल र रिलायन्स इन्टरनेशनल एकेडेमी, काठमाडौँ पश्चिमबाट नेपाल ए.पि.एफ. स्कुल र होली भिजन स्कुल तथा ललितपुरबाट डि.ए.भि. सुशील केडिया विश्व भारती स्कुल र प्रिमियर इन्टरनेशनल स्कुल विजेता घोषित गरिएका छन् । विजयी स्कुललाई डाबर नेपाल तथा अस्पताल पार्टनर वयोधा अस्पतालका प्रतिनिधिहरूले उपहार प्रदान गरेका छन् । शरीरको आन्तरिक शक्ति, स्वास्थ्यकबद्र्धक खानेकुरा र विशेष गरी बालबालिकामा जाडो याममा आन्तरिक शक्तिको कमी आउने हुनाले सो विषयमा सूचना तथा ज्ञान दिने हेतुले डाबर च्यवनप्राशले १ महिना लामो कार्यक्रम ३१ वटा विद्यालयहरूमा सञ्चालन गरेको थियो । बालबालिकाको उचाई र वजन मापन गरी बडी मास इन्डेक्स, विद्यालयको सरसफाइ तथा खानेकुरा, आदिका आधारमा विजेताहरू घोषणा गरिएका हुन् । त्यसै गरी कार्यक्रम सञ्चालन भएका विद्यालयहरूबाट न्याना प्रयोग गर्न सकिने लुगाहरूको सङ्कलन गरी डाबर च्यवनप्राशले सोही बराबरको नयाँ लुगा थप गरी सि.एन.एन. सुपर हिरो पुष्पा बस्नेतलाई यस अघि नै न्याना लुगाहरू हस्तान्तरण गरिसकेको छ । सो कपडाहरू देशभरिका कारागारहरूमा रहेका बालबालिकालाई वितरण गरिनेछ । डाबर नेपालका बजार–व्यवस्थापन प्रमुख अभयप्रसाद गोर्खालीले भने, “डाबर च्यवनप्राश स्कुल इम्युनो च्याम्प २०१६ कार्यक्रमबाट हामीले १३ हजारभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया गर्ने मौका पायौँ । भाग लिने ३१ वटा यी स्कुलहरूको उत्साहकै कारण हामीलाई आउँदा दिनहरूमा काठमाडौँ उपत्यकाबाहिर पनि यो कार्यक्रम लिएर जाने प्रेरणा प्राप्त भएको छ ।”
बूढीगण्डकी जलविद्युत् आयोजनाले पहिलो चरणमा पाँच अर्ब बढी मुआब्जा वितरण गर्ने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण गर्न लागिएको छ । धादिङ तथा गोरखाका जिल्ला प्रशासन कार्यालयले मुआब्जा वितरणका लागि रु पाँच अर्ब ५० करोड प्राप्त भएको जनाएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत मुआब्जा वितरणका लागि पहिलो चरणमा उक्त रकम प्रदान गर्न केही दिन पहिले अख्तियारी दिएको थियो । गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले रु दुई अर्ब २५ करोड रकम मुआब्जाका लागि प्राप्त भएको जानकारी दिँदै निवेदन दिएका प्रभावितलाई वितरणको अन्तिम तयारी गरिएको बताए । गोरखाका घ्यालचोक, भुम्लीचोक, दर्बुङ गाविसका लागि पहिलो चरणमा मुआब्जा वितरणको प्रक्रिया सुरु गर्न लागिएको उनले बताए । प्रजिअ बस्नेतले पाँच सयको हाराहारीमा मुआब्जा पाऊँ भनी प्रशासन कार्यालयमा निवेदन दर्ता भएको र ती निवेदनमाथि छानबिनको क्रम अन्तिममा पुगेकाले केही दिनभित्रै वितरण सुरु गरिने उल्लेख गरे । तीन गाविसको करिब दुई हजार बढी प्रभावितले मुआब्जा लिनुपर्ने भए पनि कमैको मात्र निवेदन परेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मुआब्जा वितरणका लागि रु दुई अर्ब ५० करोड प्राप्त भएको र निवेदन आउने क्रम पनि जारी रहेको बताए । पहिलो चरणमा धादिङको सलाङ, मैदी र खरी गाविसका प्रभावितलाई मुआब्जा वितरण गर्ने तयारी गरिएको छ । करिब चार हजार रोपनी जमिनको मुआब्जा वितरणको प्रक्रिया अगाडि बढाउने आयोजनाको तयारी छ । गोरखा जिल्ला प्रशासन कार्यालयले गत मङ्सिर ११ गते विभिन्न ११ खण्डमा मुआब्जा वितरणको आधार तयार पारेको थियो । न्यूनतम रु पाँच लाख २५ हजारदेखि अधिकतम रु आठ लाख ३५ हजारसम्म मुआब्जा लिन पाउने गरी निर्णय गरिएको थियो । यस्तै धादिङ जिल्ला प्रशासन कार्यालयले पनि गत पुस १९ गते मुआब्जा वितरण मापदण्ड तय गरेको थियो । धादिङको खहरेबजार र गोरखाको आरुघाट बजारको मात्रै मुआब्जा निर्धारण गरिएको छैन । बजार क्षेत्र भएकाले ती दुई स्थानको केही समयपछि मात्रै मुआब्जा निर्धारण गरिने बूढीगण्डकी जलविद्युत् आयोजनाले जनाएको छ । आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतले मुआब्जा वितरणका लागि दुवै जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी गरेको जानकारी दिए। उनले चालु आवको बजेटअनुसार नै पहिलो चरणमा रु पाँच अर्ब ५० करोड रकम मुआब्जाका लागि पठाइएको बताए । आयोजनाबाट धादिङ र गोरखाका २७ गाविस प्रभावित हुनेछ । कुल एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका प्राविधिक काम भइसकेको छ । यस्तै आयोजनाका लागि नेपाल आयल निगमले भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार शुल्कबाट हालसम्म रु तीन अर्ब ४० करोड रकम सरकारी खातामा जम्मा भइसकेको छ । आयोजनालाई सरकारले आफ्नै लगानीमा निर्माण गर्ने जनाएको छ । बूढीगण्डकी सरोकार समितिका अध्यक्ष हरेराम ढकालले भने मुआब्जा पुनरावलोकनका लागि आफूहरुले गृह मन्त्रालयमा निवेदन दिएको र त्यसको सुनुवाइ हुनुपर्ने बताए । गृहमन्त्रालयले भने मुआब्जाका बारेमा के भएको हो र कसरी समस्याको निरुपण गर्न सकिन्छ भन्ने बारेमा राय पठाउन गोरखा जिल्ला प्रशासन कार्यालयलाई केही दिनपहिले पत्राचार गरेको छ । ऊर्जा मन्त्रालयले भने मुआब्जा वितरण गर्न संयोजक नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पु¥याएको र चालु आवमा नै आयोजना सुरु गर्ने जनाएको छ । रासस
सिद्धार्थ बैंक, पोखरा फाइनान्स र रिद्दी हाईड्रोको ८४ लाख ८९ हजार कित्ता सेयर सूचिकरण, आपूर्ति बढेकोले मूल्य घट्न सक्ने
काठमाडौं । आईतबार तीन कम्पनीको ८४ लाख ८९ हजार १५६ कित्ता सेयर नेपाल स्टक एक्चेञ्जमा सूचिकृत भएको छ । नेप्सेका अनुसार सिद्धार्थ बैंकले निष्काशन गरेको ७५ लाख ५५ हजार १९३ कित्ता हकप्रद सेयर सूचिकरण भएको छ । त्यस्तै, पोखरा फाइनान्सको ६ हाल ६३ हजार १० कित्ता बोनस सेयर पनि नेप्सेमा सूचिकरण भएको छ । आइतबार नै रिद्दी हाईड्रोपावर कम्पनीले निष्काशन गरेको २ लाख ७० हजार ९५३ बोनस सेयर सूचिकरण भएको छ । सेयर सूचिकरणसँग आपूर्ति तथा बिक्री चाप बढ्ने भएकाले यी कम्पनीको सेयर मूल्यको केही गिरावट आउन सक्नेछ ।