बाहिरी चक्रपथमा २२ सालको नापी लफडा, तयारी अन्तिम चरणमा
काठमाडौं, २४ पुस । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टका रुपमा अघि बढाउने भनिएको चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटरमा नापीको समस्या देखिएको छ । बि.स. २०२२ सालको नापी अनुसार स्थानियले जमिन भोगचलन गर्दै आएको र पछिल्लो नापी प्रणाली अनुसार नक्सा मिलान नभएपछि आयोजनाको काम अघि बढ्न नसकेको हो । ‘२२ सालको नापीले बनाएको नक्सालाई अहिलेको प्रबिधीले म्याच गरेन, कसैको जमिन कहाँ पुर्यो भने कसैको जमिनै घटेको पनि देखियो, त्यसको मिलान गर्ने काम भैरहेको छ’, बाहिरी चक्रपथ सडक आयोजनाका अधिकृत ध्रुबप्रसाद सापकोटाले भने । पुरानो नापीका कारण किर्तिपुर पाँगा, बालकुमारी, मच्छेगाउँ, बलम्बु ४ ख, मातातिर्थ ४ ग, थानकोट महादेवस्थान २ ग र तीनथाना १ ख को जमिन एकिन गर्न मुस्किल भएको हो । ‘जहाँ जहाँ नक्सा एकिन गर्न मुस्किल भएको हो, त्यहाँ काम भैरहेको छ, त्यो सुल्झिने वित्तिकै सूचना निकालेर जमिन रोक्का गर्छाै’, आयोजना प्रमुख दिकप श्रेष्ठले विकासन्युजसँग भने । निर्माणाधिन बाहिरी चक्रपथ सडकको चोभार सतुंगल खण्ड कुल ७१ दशमलब ९३ किलोमिटर लामो बाहिरी चक्रपथको पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल क्षेत्रको निर्माण आरम्भ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आयोजनाले सो खण्डको डिपिआर स्विकृतीका लागि मन्त्रालयमा पठाईसकेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत रहेको आयोजनाले जग्गा एकिकरणको काम गर्नेछ भने सडक बिभागले सडक निर्माणको काम गर्नेछ ।आयोजनाले चालु आर्थिक बर्षका लागि एक करोड बजेट पाएको छ । ‘एक करोड बजेट बिनियोजन भएको छ, त्यसले काम सुरु गछौं, अर्थमन्त्रालयले २५ करोडसम्म दिन सक्छौं भनेको छ’, आयोजना प्रमुख श्रेष्ठले भने । उता, सडक विभागले पनि सोही आयोजनाका लागि ४ करोड बजेट पाएको छ । विभागका उप महानिर्देशक दयाकान्त झाले जग्गा अधिग्रहणको काम सुरु हुने वित्तिकै आफुहरुले सडक निर्माण थाल्ने बताए । बाहिरी चक्रपथ आयोजनाको ५८ किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) सन २००६ सालमै तयार भएको थियो । टोखादेखि गोकर्णेश्वरसम्मको १२ किलोमिटर क्षेत्रको डिपिआर भने अझै बन्न सकेको छैन् । आयोजनाले एक महिना भित्रै चोभारदेखि सतुंगल क्षेत्रमा जग्गाको कित्ताकाट तथा नयाँ भवन निर्माणमा रोक लगाउन लागेको हो । सो खण्डको ८ हजार ९ सय ५६ रोपनी जमिन अधिग्रहण गर्नेछ । सो क्षेत्रफलमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमटिर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ । ‘पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको चोभार सतुंगल क्षेत्रले कुल आयोजनाको २६ दशमलब ४९ प्रतिशत हिस्सा ओगट्छ, भूकम्पले कम क्षति गरेको भुभागका रुपमा यो क्षेत्रबाट काम थाल्न लागिएको हो’, आयोजनाका शाखा अधिकृत सापकोटाले विकासन्युजसँग भने । कस्तो हुनेछ सडक ? बाहिरी चक्रपथ आयोजनाको मुल सडक ५० मिटर चौडा हुनेछ । मुल सडकको दायाँ र बायाँ क्रमशः २५०÷२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् । यसरी तयार पारिएको खाली जमिनमा जग्गा एकिकरणको काम गरिनेछ । जस अनुसार जमिन अधिग्रहणमा परेका सबै नागरिकले केहि हिस्सा बाटोका लागि योगदान गर्नुपर्नेछ भने बाँकी जमिन फिर्ता प्राप्त गर्नेछन् ।
एभरेष्ट बैंकको नयाँ एटिएम सेवा सोह्रखुट्टेमा, बैंकको कर्पोरेट धुनको विमोचन
काठमाडौं, २४ पुस । एभरेष्ट बैंकले भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो एटिएम सेवा उद्घाटन गरेको छ । सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले सो स्थानमा उक्त सेवाको उद्घाटन गरेको हो । उक्त सेवाको उद्घाटन पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम. एस. साङ्गापुरेले गरेका हुन् । उक्त कार्यक्रममा कर्नल मनराज सिंह मान रक्षा सहचरी, भारतीय दुतावास, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, बैंकका संचालकहरु लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । सोहि दिन, बैंकको संचालकज्यूहरुको बैठकमा बैंकको कर्पाेरेट धुनको पनि विमोचन गरियो जसलाई बैंकले आफ्नो श्रव्य–दृष्य सामाग्रीहरुमा प्रयोग गर्ने बताएको छ । बैंकले हाल ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत ग्राहकलाई उत्कृष्ट सेवा दिदै आइरहेको छ ।
६ अंकले नेप्से घट्दा ४१ करोडको कारोबार, होटल बाहेक बाँकी समूहको परिसूचक राताम्मे
काठमाडौं, २४ पुस । आइतबार बजारमा उतार चढाव देखिएको छ । नेप्से परिसूचक ६ दशमलब ६९ अंकले घटेर १४४७ दशमलब ४५ अंकमा झरेको छ । बजारमा ४१ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३१ कम्पनीको १७ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा होटल समूहको परिसूचक बाहेक अन्य बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूहको परिसूचक ३३ दशमलब २२ अंकले बढेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ११ दशमलब १७ अंकले घटेको छ । आइतबार सबैभन्दा बढी बैंक अफ काठमाण्डू लुम्बिनीको ९ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार बैंकको सेयर मूल्य प्रतिकित्ता ६१३ रुपैयाँ रहेको छ ।
यामाहाको नयाँ शोरुम दमौलीमा, ग्राहकलाई सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा
दमौली, २४ पुस । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले तनहुँको दमौलीमा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले आफ्नो नयाँ डिलर मोडर्न अटो वक्र्समार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा शुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले दमौलीमा यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको कम्पनीले जनाएको छ । नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि उद्योग वाणीज्य संघ तनहुँका कृष्णराज पण्डित र हाँस्य कलाकार सन्दिप क्षेत्रीले गरेका छन् । उद्घाटनअघि बजारमा यामाहा मोटरसाइकलहरुको र्याली आयोजना गरिनुका साथै सन्दिप क्षेत्रीले स्यान्ड अप कमेडी प्रस्तुत गरेका थिए । सो अवसरमा मोटरसाइकल स्टन्ट पनि देखाइएको थियो । कम्पनीका अनुसार दमौलीको केन्द्रमा अवस्थित मोडर्न अटो वक्र्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउनेछन् । ‘विश्वमै परिचित ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा गौरव महसुस गरेका छौं,’ मोडर्न अटो वक्र्सका प्रबन्ध निर्देशक वसन्त गिरीले भने ‘यहाँ यामाहाका मोटरसाइकलको लोकप्रियता धेरै छ । अब यामाहाका मोटरसाइकल किन्न अन्त धाइरहनु पर्दैन । शोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन हुनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।’ नयाँ शोरुममा यामाहाका सबै मोडेलका मोटरसाइकल र स्कुटरहरु उपलब्ध हुनेछ । एमएडब्लुले यसै वर्ष स्पोर्टी स्कुटर रे जेडआरलाई नेपालमा ल्याएको थियो । यसबाहेक बजारमा यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो, रेजी र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित रहेको कम्पनीले जनाएको छ । नेपालमा रेसिङ कल्चर भित्र्याउने श्रेय पाएको आर १५ को डिजाइन र इन्जिन रेसिङ बाइक आर १बाट प्रभावित छ जुन युवामाझ निकै लोकप्रिय छ । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ । जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइने कम्पनीले जानकारी दिएको छ ।
बुम रेमिट्यान्सको सातौँ बार्षिक साधारणसभा सम्पन्न, थप नौवटा देशबाट कारोवार शुरु गर्ने
काठमाडौं, २४ पुस । बुम रेमिट्यान्स प्रा लि को सातौँ बार्षिक साधारण सभा सल्टीमोडको ग्रान्ड होटलमा सम्पन्न भयो । उक्त साधारण सभामा प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले सँस्थाले नेपाल र बिदेशमा निकै राम्रो ख्याति कमाएको र छोटो समयमानै राम्रो पहिचान बनाउन सफल भएको कुराको जानकारी गराएका छन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनीधीहरु छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । बुम रेमिटले विदेशमा पनि आफ्नो संञ्जाललाई तीव रूपले विस्तार गर्दै जाने रणनिति राखेको छ । बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । कार्यक्रममा बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी पन्तले दिएका छन् । पन्तले “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताएका छन् ।
१६ करोड लागतमा सदरमुकाममा खानेपानी योजना, दश हजार कर्मचारी लाभान्वित हुने
सल्यान, २४ पुस । जिल्लाको सदरमुकाममा वर्षौंदेखिको खानेपानीको समस्या समाधान हुने भएको छ । साना सहरी विकास कार्यक्रममार्फत शारदा नगरपालिका–२, ३ मा पर्ने सल्यान सदरमुकाम खलङ्गामा खानेपानी आयोजना निर्माण भएसँगै खानेपानीको समस्या समाधान हुने भएको हो । लामो समयदेखि खानेपानीका लागि सास्ती झेल्दै आएका सदरमुकामवासीले आगामी माघ दोस्रो हप्तादेखि सास्ती व्यहोर्नु नपर्ने खानेपानी उपभोक्ता महासङ्घका अध्यक्ष तथा उपभोक्ता समिति खलङ्गाका उपाध्यक्ष केशव बुढाथोकीले बताए । आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको र पुसको अन्तिमसम्ममा पाइपलाइनमा परीक्षण गरिने बुढाथोकीले जानकारी दिएका छन् । शारदा नगरपालिका–२ शीतलपार्टीको शारदा नदी नजिकैबाट बोरिङ गरेर लिप्ट प्रणालीद्वारा ५०० मिटर उचाइमा रहेको सदरमुकाम बजारमा पानी पुर्याएर वितरण गरिने छ । आयोजनाबाट नगरपालिकाभित्र पर्ने १, २ र ३ वडाका एक हजार २५६ परिवारले सहज रुपमा खानेपानी पाउने छन् । साथै सदरमुकाममा बसोबास गर्ने र बाहिरबाट आएका कर्मचारी गरी १० हजार लाभान्वित हुने छन् । सदरमुकाममा दैनिक ७५ हजार लिटर पानी आवश्यक भए पनि पानी नहुँदा सल्यान, खलङ्गा सदरमुकामवासी विस्थापित हुँदै आएका थिए । खानेपानी सङ्कलन गर्न तीन ठाउँमा एक लाख लिटरका तीनवटा टङ्की र एक वटा ५० हजार लिटरको टङ्की निर्माण गरिएको छ । विश्व बैंकको १० करोड रुपैयाँ, नगर विकास समितिबाट ऋण तीन करोड २५ लाख रुपैयाँ र उपभोक्ताबाट दुई करोड ७५ लाख रुपैयाँको लागतमा योजना सम्पन्न हुन लागेको हो । रासस
पूर्णिमा विकास बैंकको २६ प्रतिशत बोनस पारित, २५ प्रतिशत हकप्रद सेयर जारी गर्दै
भैरहवा, २४ पुस । । पूणिर्मा विकास बैक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत बोनस दिने भएको छ । सो मात्राको प्रस्तावित बोनसलाई कम्पनीको नवौँ बाषिर्क साधारण सभाले पारित गरेको हो । सो मात्राको बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी ३५ करोड २३ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । बैंकले पूँजी बृद्धि गर्न ४ चार बराबर एकको अनुपात (अर्थात २५ प्रतिशत) हकप्रद सेयर जारी गर्ने प्रक्रिया समेत अगाडी बढाएको छ । हकपप्रद शेयर जारी पश्चात बैंकको चुक्ता पूँजी ४४ करोड ५ लाख पुग्ने बैंकले बताएको छ । चालु आर्थिक बर्ष ०७३/०७४ को मंसिर मसान्त सम्ममा बैंकले २ अर्ब ४६ करोड निक्षेप संकलन गरेको छ भने २ अर्ब ५ करोड कर्जा लगानी बैंकले जनाएको छ । त्यस्तै बैंकको सञ्चालक समितीमा निधानचन्द्र श्रेष्ठ निर्वा्चित भएका छन् । सभाले सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरुमा श्रेष्ठसहित, सुरज उप्रेती, हरिहर प्रसाद नेपाल तथा सर्बसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक राजेन्द्रप्रसाद श्रेष्ठलाई निर्वा्चित गरेको छ । त्यसमा संचालकहरुले अध्यक्षमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ्गले बताएका छन् ।
सेवा र लाभांश दुबै हिसावले सगरमाथा इन्स्योरेन्स कम्पनी सबैभन्दा बलियो कम्पनी हो
चङ्की कुँवर क्षेत्री – प्रमुख कार्यकारी अधिकृत, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड चङ्की कुँवर क्षेत्रीले सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको ६ महिना भएको छ । शंकरदेव क्याम्पसबाट विकम र एस इन्स्टीच्यूट अफ म्यानेजमेन्टबाट इएमबीए गर्नुभएका क्षेत्री विगत २१ वर्षदेखि बीमा क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले सगरमाथा इन्स्योरेन्समा करिव १७ वर्ष काम गरिसक्नु भएको छ । उहाँले कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी समालेपछि कम्पनीको विजनेश बढेको देखिन्छ । चालु आर्थिक वर्षको प्रथम ५ महिनमा कम्पनीको बिजनेश करिव ४० प्रतिशत बढेको छ । कम्पनी वित्तीय अवस्था, सेवा विस्तार र लगानीकर्तालाई दिन सक्ने सम्भावित प्रतिफलको विषयमा केन्द्रीत भएर विकासन्युजले उहाँसँग विकास वहस गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था कस्तो छ ? समग्रमा भन्नु भर्दा सगरमाथा इन्स्योरेन्स कम्पनी पहिला पनि स्ट्रोङ (सबल) कम्पनी हो र अहिले पनि स्ट्रोङ छ । कम्पनीले सेयरधनीलाई १२६ प्रतिशतसम्म लाभांश दिएको इतिहास छ । भूकम्पले हाम्रा ग्राहकलाई ठूलो क्षति पुग्यो । ठूलो कम्पनीको धेरै ग्राहक हुनु र विनासकारी भूकम्पपछि सबैभन्दा बढी बीमा दावी आउनु स्वभाविक थियो । अप्ठ्यारो अवस्थामा हामीले उहाँहरुको सेवा गर्ने मौका पायौ । अहिलेसम्म बीमा दावीको ९५ प्रतिशत भुक्तानी गरिसकेका छौं । १ अर्ब ३० करोड रुपैयाँ भन्दा बढी भुक्तानी गसिसक्यौ । अब करिव ५ प्रतिशत बाँकी छ । त्यो पनि खासखरी अर्पाटमेन्टहरुको छ । उनीहरुले पहिलो किस्ता लगिसकेका छन् । मर्मत सम्पन्न भएपछि अन्तिम किस्ता भुक्तानी हुन बाँकी हो । भूकम्प पीडित ग्राहकलाई १ अर्ब ३० करोड दावी भुक्तानी गर्दा पनि कम्पनीले गत वर्ष २५ प्रतिशत बोनस सेयर दियो । यो वर्ष २३ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा लैजादै छौं । अहिलेसम्ममा सेयरधनीलाई सबैभन्दा बढी लाभांश दिने कम्पनी सगरमाथा हो । दावी भुक्तानीमा पनि सबैभन्दा बढी सगरमाथा सबैभन्दा अगाडि छ । त्यसैले ग्राहकलाई दिने सेवा र कम्पनीका सेयरधनीलाई दिने लाभांश दुबै हिसावले हामी बलियो कम्पनी हौ । बीमा बजारमा प्रतिस्पर्धा चर्को छ । कतिपय मामिलामा अस्वस्थ्य प्रतिस्पर्धा छ । तर हामी स्वच्छ प्रतिस्पर्धा गरिरहेको छौ । गत आर्थिक वर्षको १ अर्ब ११ करोड प्रिमियम संकलन गरेका थियौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रिमियम संकलन ४० प्रतिशतले वृद्धि भएको छ । हाल कम्पनीको चुक्ता पुुँजी ४४ करोड १२ लाख रुपैयाँ छ । यस पटक बोनस सेयर वितरणपछि चुक्ता पुँजी करिव ५४ करोड रुपैयाँ हुन्छ । चालू आर्थिक वर्षको मंसिरसम्मको प्रिमियम वृद्धिदर ४० प्रतिशत रहेको छ तर अग्नी बीमा तर्फ प्रिमियम बृद्धिदर १३ प्रतिशत मात्र देखिन्छ । भूकम्प पछि अग्नी बीमा झन बढ्नु पर्ने होइन ? हाम्रो अनुमान अनुसार पनि त्यो बढेको छैन । नेपालीहरुको आफ्नै प्रेडिक्सन हुन थालेको छ । भूकम्पले हल्लाउन छाड्यो । अब यति बर्ष भूकम्प आँदैन भनेर आफै पूर्वानुमान गर्न थाले । अर्को महत्वपूर्ण कुरा के हो भने यात्रु र तेस्रो पक्षको बीमा बराबर भयो । त्यसले मोटर बीमा बढायो । साथै गाडी आयात बढेको छ । त्यसले पनि मोटर बीमाबाट प्रिमियम बढी उठेको छ । एक करोडको घरको प्रमियम १० हजार हुन्छ भने एक करोडको गाडीको प्रमियम डेढ लाख हुन्छ । कुल बीमा बजारको ५० प्रतिशतको हाराहारीमा मोटर नै हुने गरेको छ । आर्थिक वर्ष २०७१/७२ को तुलनामा आर्थिक वर्ष २०७२/७३ मा कम्पनीको नाफा १७५ प्रतिशतले बढेको देखिन्छ । भूकम्प र नाकाबन्दीले अर्थतन्त्र थलिएको र आर्थिक वृद्धि १ प्रतिशतभन्दा कम रहेको समयावधिमा उच्चदरको नाफा कसरी भयो ? आर्थिक वर्ष २०७१/७२मा भूकम्प गयो । भूकम्प पीडितबाट दावी उच्च भएकोले सो वर्षको नाफाबाट हामीले सात करोड प्रोभिजनमा राखेको थियो । त्यसैले सो आर्थिक वर्षको नाफा कम देखियो । आर्थिक वर्ष २०७१/७२ नाफा कम देखिएकोले आर्थिक वर्ष २०७२/७३मा नाफा वृद्धि उच्च देखिएको हो । चालु आर्थिक वर्षमा कम्पनीले कति नाफा आर्जन गर्ला ? यो वर्ष एक अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्ने लक्ष्य छ । गत वर्षको तुलनमा ३५ प्रतिशतको बृद्धि हुन्छ भन्ने हो । अनुमान अनुसारको वृद्धि भइरहेको पनि छ । ठूलो दुर्घटना भएन भने र ठूलो दावी परेन भने सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई दिने लाभांश २० प्रतिशत भन्दा कम हुँदैन, बढी नै हुन्छ । पुँजी बढेको छ, नाफा पनि बढेको छ । पुँजी वृद्धि धेरै भयो भने प्रति सेयर आम्दानी घट्न सक्छ । तर कम्पनीको नाफा निरन्तर वृद्धि गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं । कम्पनीको चुक्ता पुँजी वृद्धिबारे के योजना छ ? चुक्ता पुँजी अहिले ४४ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि करिब ५४ करोड रुपैयाँ हुन्छ । कम्पनीले लगातार विगत तीन वर्ष बोनस सेयर वितरण गरेर चुक्ता पुँजी बढाउँदै आएको छ । यस वर्षको साधारणसभामा थप नयाँ सेयर निश्काशन (एफपीओ) गर्ने प्रस्ताव गरेको छ । तर कति सेयर निष्काशन गर्ने भनेर सुनिश्चित गरिएको छैन । मर्जरमा जाने हो कि पनि भन्ने छ । एफपीओको प्रस्ताव ल्याउनु भएको छ, कति कित्ता सेयर निष्काशन गर्न लागेको हो ? कित्ता कति भनेर अहिले तय भैसकेको छैन । कस्तो खालको र कति भन्ने विषय बोर्डले निर्णय गर्छ । कम्पनीको संयुक्त लगानीकर्ता, बीमा समिति, धितोपत्र बोर्डसँग सहमति लिनुपर्छ । बीमा समितिले पुँजी कति तोक्छ, त्यो पनि हेर्नुपर्छ । अहिले साधारणसभाबाट निर्णय गरिराख्यो भने पछि प्रक्रिया अगाडि बढाउने सजिलो हुन्छ । यतिबेला चुक्ता पुँजी कति बनाउने भनेर बीमा कम्पनीहरु अन्यौलमा परेका हुन् ? निर्जीबन बीमा कम्पनीको लागि पहिला चुक्ता पुँजी तीन करोड रुपैयाँ तोकिएको थियो । पछि बढाएर पाँच करोड, १० करोड हुँदै अहिले २५ करोड रुपैयाँ पुर्याउनु पर्ने निर्णय बीमा समितिले गर्यो । यतिबेला सगरमाथा इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी करिव ५५ करोड भईसक्यो । अब बीमा समितिले कस्तो नीति लिन्छ भन्नेमा हाम्रो ध्यान गएको छ । वहसमा १ अर्बदेखि ५ अर्ब सम्मको कुरा छ । तर अहिलेसम्म निश्चित छैन । ४/५ अर्बको कुरा आयो भने मर्जतर्फ पनि ध्यान दिनुपर्छ । सबैले ध्यान दिनु पर्ने विषय के हो भने पुँजी बढाएर मात्र बीमा बजार विस्तार हुन्छ कि हुँदैन ? पुँजी थोरै हुँदैमा बीमा कम्पनी डुब्छ भन्ने सोच गलत हो । थोरै पुँजी भएपनि बीमा कम्पनी डुब्दैन भन्ने कुरा नेपाल मै प्रमाणित भईसक्यो २०७२ सालको विकासकारी भूकम्पपछि । भूकम्प जाँदा सगरमाथाको चुक्ता पुँजी ३४ करोड थियो । हामीले भूकम्पबाट क्षति पुर्याएका ग्राहकलाई १ अर्ब ३० करोड भुक्तानी गरिसक्यौ । बीमामा जोखिम सेयर हुनैपर्छ । पुनर्बीमा गर्ने पर्छ । धेरै पुँजी हुँदैमा सबै जोखिम कम्पनीले लिएर बस्न सक्दैन । अहिले पनि बीमा बजारमा अस्वस्थ्य प्रतिस्पर्धा छ । बजारमा स्वस्थ्य प्रतिस्पर्धा हुने, बीमाबारे जनचेतना बढाउने, पहुँच बढाउनेतर्फ जोड दिन जरुरी छ । तपाईले भनेजस्तै अस्वस्थ प्रतिस्पर्धा कहाँ र कसरी भईराखेको छ ? बजारमा उदार चढाव आउने, प्राइसमा उदारचढाव आउने गरेको छ । कम्पनीहरुबीच गुणस्तरीय सेवामा भन्दा बीमा शुल्कमा प्रतिस्पर्धा हुने गरेको छ । कम्पनीहरुबीच कसले बढी प्रिमियम संकलन गर्ने भन्नेमा प्रतिस्पर्धा छ । बीमा समितिलाई यो कुरा थाहा छ । बीमा शुल्क बीमा समितिले तोकेको छ । तर त्यहाँ प्राइस कटिङ छ । मेरो भनाई प्राइसमा होइन, क्वालिटीमा प्रतिस्पर्धा जरुरी छ । मूल्यमा प्रतिस्पर्धाले उपभोक्तालाई त लाभ नै हुन्छ नि, हैन ? त्यस्तो लाभ क्षणिक हुनसक्छ । नेपालको बीमा नेपालको सीमाभित्र सीमित हुँदैन । पुर्नवीमा मार्फत एशिया, यूरोप, अमेरिका, अफ्रिका लगायत विश्व बजारमा जोखिम सेयर हुन्छ । पुनर्बीमा कम्पनी नेपालमा किन आउँछ ? नाफाको लागि हो । नेपालको बजारमा जब पुनर्बीमा कम्पनीले नोक्सान देख्छ, उसले रेट बढाउँछ । त्यसको मार फेरी हामीलाई नै पर्ने हो, हाम्रा ग्राहकलाई नै पर्ने हो । पुनर्बीमा कम्पनीले नेपालमा बीमा गर्दिन भनेको दिन हामीले के गर्ने ? नेपालमा माओवादी द्वन्द्व चर्केको र संकटकाल लागू भएको बेलामा पुनर्बीमा कम्पनीहरुले नेपालमा काम गर्दिन भनेर घोषणा नै गरे । हामीले आकष्मिक बीमा कोष गठन गर्नुपर्यो । नयाँ सम्झौता गर्नुपर्यो । अस्वास्थ प्रतिष्पर्धाले भोलि अर्को जोखिम निम्तिन सक्छ । सगरमाथा इन्स्योरेन्स प्राइस कटिङको प्रतिस्पर्धामा छैन ? ट्यारिफमा चाहिँ गर्दै गर्दैनौं । ननट्यारिफमा अलिअलि छुट हुन्छ । ननट्यारिफमा पनि एउटा गाइडलाइन हुन्छ । त्यो गाइडलाइन भन्दा तल जाने काम चाहिँ गर्दैनौ । बजारमा कस्तो भयो भने ननट्यारिफ तर्फ ‘वाई वान गेट वान’ भयो । यसले बीमा बजारलाई फाइना गर्दैन । सगरमाथाले आफ्ना ग्राहकलाई दिएको विशेष सेवा के हो ? बीमा पोलिसी जारी गर्ने, प्रिमियम संकलन गर्ने जस्ता नियमित सेवा सबैले गर्छन । बीमा कम्पनीले गर्नु पर्ने मुख्य काम भनेको दावी पर्दा भुक्तानी प्रक्रिया कति सहज छ, कति छिटो छ, नियम अनुसार दावी रकम पायो कि पाएन भन्ने हो । ग्राहकलाई असहज अवस्था पर्दा कसले सहज ढंगबाट सेवा दिन्छ भन्ने हो । हामीले ग्राहकको सेवालाई छिटो र छरितो बनाउँन ‘भिआईपी अन दी स्पोर्ट’ सेवा दिएका छौं । त्यसको छुट्टै डिपार्टमेन्टसमेत खोलेर काम गरेका छौं । यसको प्रभाव धेरै राम्रो भएको छ । ग्राहकले नै महसुस गर्न सक्ने गरि सगरमाथाबाट छिटो सेवा दिएका छौं । अहिले हाम्रा ग्राहकबाट माउथ टु माउथ सगरमाथा इन्स्योरेन्सको प्रमोशन हुन थालेको छ । बीमामा नयाँ अध्यक्ष नियुक्ती भएको छ । समितिबाट कम्पनीले नयाँ अपेक्षा के गरेको छ ? बीमा समितिबाट हामीले गर्ने अपेक्षा भनेको सहज बातावरण हो । बजारमा स्वच्छ प्रतिस्पर्धाको बातावरण बन्नु पर्छ । बजारको व्यवस्थित विकासका लागि नियमन, संस्थागत सुशासन जरुरी छ । नयाँ अध्यक्ष राष्ट्र बैंकमा काम गरेको अनुभवी मान्छे हुनुहुन्छ । पक्कै पनि उहाँको कार्यकालमा धेरै राम्रो हुने अपेक्षा गरेका छौं । कसरी हुन्छ यो क्षेत्रको बढावा गर्ने काम हुनुपर्छ ।