विकासन्युज

पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन, अब पुरानै मूल्यमा इन्धन पाइने

काठमाडौं, ७ पुस । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको छ । बिहिबार बसेको सो समिति अन्तर्गत गठिन उप समिति बैठकले नेपाल आयल निगमले हालै वृद्धि गरेको मुल्य कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।‘उपभोक्ताको ढाड सेक्ने गरि आफैले बनाएको कार्यबिधीको समेत उल्लंघन गर्दै पेट्रोलियम पदार्थको वृद्धि गरिएको मुल्य घटाउन निर्देशन गरिन्छ’, समिति बैठकको निर्णय सुनाउँदै उप समिति सभापति सुभाषचन्द्र ठकुरीले विकासन्युजसँग भने । नेपाल आयल निगमले पुस ४ गते राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा मूल्य वृद्धि गरेको थियो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा र मट्टितेल ७७ रुपैया ५० पैसाका कारोबार भैरहेको थियो । समितिको निर्णय कार्यान्वयन भएमा पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मट्टितेल ७३ रुपैयाँमा पाइनेछ । बिहिबारको बैठकमा बाणिज्य सचिव प्रेम कुमार राई सहभागी थिए । बढेको मुल्य कार्यान्वयन नगर्न संसदिय समितिले दिएको निर्देशन कार्यान्वयनबारे बुझ्न निगमका कार्यकारी प्रमुख गोपाख खड्काको मोबाइल स्विच अफ थियो । निगम प्रवक्ता भानुभक्त खनालले भने यसबारे आफुलाई केहि थाहा नभएको प्रतिक्रिया दिए ।

साताको अन्तिम दिन नेप्से परिसूचक हरियो, ५० करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं, ७ पुस । साताको अन्तिम दिन सेयर बजार हरियो भएको छ । बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । परिसूचक ४ दशमलब ७८ अंकले बढेर १४७५ दशमलब ४१ अंकमा पुगेको छ । लगातार घटेको बजारमा आज केही मात्रामा सुधार भएको देखिन्छ । परिसूचक सँगै कारोबार रकममा पनि सुधार भएको छ । सो दिन १३८ कम्पनीको ७६ लाख ९९ हजार कित्ता सेयर ५० करोड २२ लाख रुपैयाँमा कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार ५ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा सनराइज बैंक लि प्रमोटर सेयरको सेयर, नेको इन्स्योरेन्स र नेपाल दुरसञ्चार कम्पनीको ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, चिलिमे हाइड्रो पावर कम्पनीको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन उत्पादनमूलक, अन्य समूह, विकास बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः ३४, १९, ५ र २ अंकले उकालो लागेका छन् । यी मध्ये बाँकी रहेका समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक २३ अंकले ओरालो लागेको छ । बजारमा एनबी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी करिब ८ प्रतिशत कमाएका छन् । उता सबैभन्दा बढी माउन्ट मकालु डेभलपमेन्ट बैंकका लागानीकर्ताले करिब ५.७ प्रतिशत गुमाएका छन् ।

फास्ट ट्रयाक आफैं बनाउने सरकारको निर्णय, ७ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं, ७ पुस । सरकारले काठमाडौं–निजगढ फास्ट ट्रयाक आफैं बनाउने निर्णय गरेको छ । भारतीय कम्पनी आइएल एण्ड एफएसँगको सम्झौता तोडेर फास्ट ट्रयाक आफैं बनाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयलाई बिहिबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो । ‘फास्ट ट्रयाक आफैं बनाउने मन्त्रालयको निर्णयलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ, अब थप प्रक्रिया अघि बढाउँछौं’, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भने । मन्त्रिपरिषदले नै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको नेतृत्वमा सात सदस्यिय अध्ययन समिति पनि गठन गरेको छ । समितिले फास्ट ट्रयाक निर्माणको मोडल र वित्तिय व्यवस्थापनबारे अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाउने छ । त्यस्तै, मन्त्रिपरिषद बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा प्रमोद कुमार वैद्यलाई नियुक्त गरेको छ भने नेपाल औषधी लिमिटेडको महाप्रबन्धकमा रोबस कुसुम सुवेदीलाई नियुक्त गरेको छ । त्यस बाहेक राष्ट्रिय फुटबल टिमलाई ७५ लाख पुरस्कार दिने निर्णय पनि बिहिबारको मन्त्रिपरिषद बैठकले गरेको छ । शुक्लाफाँट वन्यजन्तु आरक्षको नाम परिर्वतन गर्दै राष्ट्रिय निकुञ्जका रुपमा स्तरोन्नति गर्ने निर्णय पनि सरकारले गरेको छ ।

नेको इन्स्योरेन्सले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, पुस २८ गते साधारणसभा

काठमाडौं, ७ पुस । नेको इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा यही पुस २८ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २८ गतेसम्म कम्पनीको बुक क्लोज हुने बताइएको छ ।

३१ गाविसका ३४ हजार मानिस उच्च खाद्य असुरक्षाको जोखिममा, कुन कुन गाविस जाेखिममा ?

काठमाडौं, ७ पुस । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूको एक अध्ययनले भूकम्पले अतिप्रभावित ४ जिल्ल्लाका ३४ हजार मानिस उच्च खाद्य सुरक्षा जोखिमको अवस्थामा पुगेको देखाएको छ । सञ्जालले साउनदेखि कार्तिकसम्म गरेको अध्ययनले धादिङ ५, गोरखा ११, नुवाकोट ९ र सिन्धुपाल्चोक ६ गरी ३१ गाविस उच्चतम खाद्य असुरक्षित (चरण ३) अवस्थामा पुगेको कृषि विकास मन्त्रालयले जानकारी दिएको हो । यी गाविसका ३४ हजार मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको कृषि विकास मन्त्रालयले जानकारी दिएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले यस्तो अवस्था आउनुका प्रमुख कारण वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पको निरन्तर प्रभावलाई मानेका छन् । यसका साथै भूकम्प प्रभावित जिल्लाहरूमा जिल्ला खाद्य सुरक्षा संजालहरूले हिउँदे बालीको उत्पादनमा ह्रास आएको, सरसफाई र स्वास्थ्यको अवस्था नराम्रो रहेको, बाढी पहिरोको कारण सडक र बाटोहरू बन्द भएकोे समेत जानकारी दिएको छ । उक्त जिल्लाहरुमा खाद्य उपभोग अभावको अवस्था सामान्य भन्दा धेरै माथि छ । सञ्जालले १५ जिल्लाका धेरै गाविसहरू र नगरपालिकालाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा वर्गीकरण गरे गरेको छ । त्यहाँका घरधुरीहरू परम्परागत निर्वाह पद्धति अपनाएर न्यूनतम खाद्य आवश्यकताहरू परिपूर्ति गर्न सक्ने अवस्थामा रहेका छन् । तर, केही अत्यावश्यक गैर खाद्य आवश्यकताका परिपूर्तिका लागि भने निर्वाह पद्धतिहरूबाट नहुने देखिएको छ । सञ्जालको प्रतिवेदनअनुसार बझाङका ७, बाजुरा/धादिङ ११, दोलखा १२, डोल्पा ७, गोरखा ९, हुम्लाका १८, कालिकोट ७, काभ्रेपलाञ्चोकको १०, मुगा १५, नुवाकोट २१, प्यूठान ३, रामेछाप १३, रसुवा २ र सिन्धुपाल्चोक १३ गाविसहरु मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा रहेका छन् । सञ्जालले वाँकी तीन हजार एक सय १५ गाविस तथा नगरपालिकालाई न्यूनतम खाद्य असुरक्षित (चरण १) अवस्थामा वर्गीकरण गरिएका छ । यो अवस्था मानिसहरुले जीविकोपार्जनका पद्धतिहरू (उपायहरू) परिवर्तन नगरिकन खाद्य र गैर खाद्य आवश्यकताहरू पूरा गर्न सक्दछन् । ती घरधुरीहरूले यस्तो अवस्थामा पुग्नुको प्रमुख कारण आफ्नो सामाजिक, प्राकृतिक तथा आर्थिक हैसियतका तथा प्रकोप, संकट, माहामारी र द्वन्द वा हिंसा रहेको छ । ती क्षेत्रहरूमा भर्खर गहुँ (चैत्र/बैशाख) र मकै (श्रावण/भाद्र) बालीहरूको उत्पादन भएका कारण पर्याप्त खाद्य वस्तुको संचिती रहेको देखिएको छ । कृषि र गैर कृषिजन्य कृयाकलापहरूबाट समेत प्राप्त आम्दानीले गर्दा घरधुरीको खाद्य उपलब्धता र पहुँचमा सहयोग पुर्याएको हुँदा प्राकृतिक तथा मानव सिर्जित विपत्तिले खाद्य उपयोग र स्थिरतामा पार्ने प्रभावलाई सीमित तुल्याएको छ । यस वर्ष धानको उत्पादन १५ प्रतिशतले बढ्ने भएपनि खाद्य संकट अझ बढ्ने देखिएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले हालको अवस्था र भावी परिदृष्यलाई मध्यनजर गर्दै मंसिर देखि फाल्गुनसम्मको अवधिलाई खाद्य सुरक्षाको अवस्थाको प्रक्षेपण गरेका छ । यस वर्ष धान बाली लगाउने र हुर्कने बेलामा समयमै र प्रशस्त मात्रामा मनसुनी वर्षा भएकाले धानको उत्पादन राम्रो हुने अनुमान गरिएको हो । दोस्रो प्रारम्भिक पूर्वानुमान नतिजाका अनुसार धान बालीको उत्पादन गत वर्षको तुलनामा वृद्धि भई गत सालको उत्पादन ४२ लाख ९९ हजार मेट्रिक टनबाट बढेर यस यस वर्ष ४९ लाख ५२ हजार पुग्ने अनुमान सञ्वालले गरेको छ । समग्रमा जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले मंसिर देखि फाल्गुन सम्मको अवधिमा खाद्य सुरक्षाको अवस्था खस्कन गई गम्भिर खाद्य असुरक्षित अवस्था (चरण ४) मा समेत वर्गीकरण हुन सक्ने अनुमान गरेको छ । तथापि उच्चतम खाद्य असुरक्षित (चरण ३) र मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) मा वर्गिकृत हुने गाविसहरुको संख्या समेत बढेर क्रमशः ३१ बाट ४६ र १७५ बाट १७९ मा पुग्ने संभावना देखिएको छ । जिल्ला खाद्य सुरक्षा सञ्जालले ४६ गाविस (बझाङ ७, बाजुरा ९, धादिङ ५, हुम्ला १८, र कालिकोट ७) उच्चतम खाद्य असुरक्षित (चरण ३) को अवस्थामा वर्गीकरण पुग्न सक्ने अनुमान गरेको छ । यस अवधिमा वर्षे बालीबाट प्राप्त खाद्य सञ्चय रित्तिदै जाने र गहुँको उत्पादन फाल्गुन÷चैत्रमा मात्र भित्रिने हुनाले खाद्यान्न अभाव हुन सक्ने जनाएको हो । सञ्जालले १४ जिल्लाका १७९ (अछाम १५, बैतडी १४, बझाङ २०, दार्चुला १९, धादिङ ११, डोल्पा ७, डोटी १८, गोरखा ११, हुम्ला ९, कालिकोट २३, मुग १५, नुवाकोट ९, रसुवा २, र सिन्धुपाल्चोक ६) लाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा पुग्न सक्ने देखाएको छ । सञ्जालका अनुसार ४६ गाविस (बझाङ ७, बाजुरा ९, धादिङका ५, हुम्ला १८, र कालिकोटका ७) उच्चतम खाद्य असुरक्षित (चरण ३) को अवस्थामा पुग्ने छन् । १४ जिल्लाका १७९ गाविस (अछाम १५, बैतडी १४, बझाङ २०, दार्चुला १९, धादिङ ११, डोल्पा ७, डोटी १८, गोरखा ११, हुम्ला ९, कालिकोट २३, मुगु १५, नुवाकोट ९, रसुवा २, र सिन्धुपाल्चोक ६) लाई मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) अवस्थामा वर्गीकरण हुनसक्ने सम्भावना देखाएको छ ।

सेञ्चुरी कमर्सियल बैंक र बुम रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं, ७ पुस । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र बुम रेमिट्यान्सबीच रेमिट्यान्स सम्झौता भएको छ । बुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम सेञ्चुरी कमर्सियल बैंकका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सेञ्चुरी कमर्सियल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिना र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनिधिहरु छन् । यस अघि बुम रेमिट्यान्स प्रा. लि. सेन्चुरी कर्मसीयल बैंक लि. को सेन्चुरी रेमिटको लागी आधिकारिक प्रतिनिधि समेत रहेको छ । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि प्रतिनिधिहरु छन् । यस अघि बुम रेमिट्यान्स प्रा. लि. सेन्चुरी कर्मसीयल बैंकको सेन्चुरी रेमिटको लागी आधिकारिक प्रतिनिधि समेत रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । आन्तरिक संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्र रूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिएका छन् । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिएका छन् ।

बैंक अफ काठमाण्डू लुम्बिनीको ब्राण्ड एम्बेसेडरमा धुर्मुस र सुन्तली

काठमाडौं, ७ पुस । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले समाज सेवीएवं हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ । सो सम्बन्धि सम्झौतामा दुई पक्ष बिच हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र कलाकार सीताराम कट्टेलले उक्त सम्झौताम हस्ताक्षर गरेका छन् । नवनियुक्त ब्राण्ड एम्बेसेडरहरुले टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन संचार माध्यमबाट एकीकृत रुपमा बैंकको प्रवद्र्धन गर्ने बैंकले जनाएको छ । बैंकले “वचत नै हो धन, सुनौलो भविष्य, सजिलो जीवन ” नारालाई कार्यरुप दिने लक्ष्य लिएको छ । हस्ताक्षरका अवसरमा प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले कलाकारद्वय सँगको सहकार्यले बैंकलाई दीर्घकालीन सहयोग पुग्ने बताएका छन् । त्यस्तै, सीताराम कट्टेल र कुञ्जना घिमिरेले आफूहरुलाई बैंकले ब्राण्ड एम्बेसेडर नियुक्त गरेकोमा प्रसन्नता व्यक्त गर्दै आफूले सक्दो सहयोग दिने बतााएका छन् । बैंकका अनुसार बैंकको सेवा र क्षेत्र विस्तार हुँदै गएको र सर्वसाधारणमा बढी मात्रामा वित्तीय पँहुच पुर्याउने उद्देश्यले कलाकारिताको माध्यमबाट पनि योगदान गर्न हास्य कलाकारद्वयलाई सहयोगीको रुपमा नियुक्त गरिएको हो । बैंकले आर्थिक बर्ष २०७३/७४को पहिलो त्रैमासिकमा २७ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । हाल बैंकको ७४ शाखा ६६ एटीएम् र ७ वटा एक्सटेन्सन काउन्टर छन् ।

प्रभु बैंकको सेयर कारोबार आगामी सातादेखि खुल्ने, राष्ट्र बैंकले दियो अनुमति

काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको सेयर कारोबार फुकुवा गरेको छ । राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले प्रभु बैंकको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले बिहीबार प्रभु बैंकको सेयर कारोबार खोल्नको लागि नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्ने समेत निर्णय गरिसकेको छ । राष्ट्र बैकका प्रबक्ता नारायण पौडेलका अनुसार प्रभु बैंकको सेयर कारोबार खोल्ने विषयमा सञ्चालक समितिमा छलफल भएको र अव छिट्टै निर्णय सार्वजनिक हुने छ । ग्राण्ड बैंक प्रभु बैंकमा मर्जर भएर एकीकृत कारोबार सुरु भएपछि नेपाल राष्ट्र बैंकले प्रभु बैंकतर्फको मात्र कारोबार फुकुवा गरेर ग्राण्ड बैंकको खराव कर्जा धेरै भएको भन्दै कारोबार रोक्न निर्देशन दिएको थियो । सो निर्देशन पश्चात प्रभु बैंकको मात्र दुई दिन सेयर कारोबार भएको थियो । तर ग्राण्ड बैंक र प्रभु बैंक एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गरेपछि प्रभु बैंकको मात्र सेयर कारोबार गर्न नमिल्ने भन्दै धितोपत्र बोर्डले प्रभु बैंकको पनि कारोबार रोकेको थियो । नेपाल स्टक एक्सचेन्जले प्रभु बैकको मात्र कारोबार खोल्दा दुईदिन कारोबार भएको थियो भने सेयर मुल्य १० प्रतिशतले बढेको थियो । राष्ट्र बैंकले ग्राण्ड तर्फको खराब कर्जाको अबस्था जटिल रहेको भन्दै ग्राण्डतर्फको सेयर कारोबार रोकेर कर्जा असुल गर्न प्रभु ब्यवस्थापनलाई दबाब दिइरहेको थियो । बितेको तीन महिनामा प्रभु बैंकले खराब कर्जा असुलीमा उल्लखनीय प्रगति गरेको आधारमा राष्ट्र बैंकले सेयर कारोबार खोल्न अनुमति दिएको राष्ट्र बैंकका एक सञ्चालकले जानकारी दिए । आगामी साताबाट प्रभु बैंकको सेयर नियमित कारोबार हुने भएपछि झण्डै दुई बर्षदेखि पीडित बनेका प्रभु र ग्राण्डका लगानीकर्ता पनि लाभान्वित हुने भएका छन् । साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभ्ने गाभिने कार्य सम्पन्न भई गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार भएको थियो । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २८ करोड रुपैयाँ खुद नाफा कमाएको प्रभुको चुक्ता पूँजी पाँच अर्ब ८८ करोड रुपैयाँ छ ।