समीट माइक्रोफाइनान्सले ४५% बोनस र शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं, ३० मंसिर । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंक ४५ प्रतिशत बोनस पश्चात शतप्रतिशत (एक बराबर एक अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकको उल्लेखित निर्णय अनुमोदन गर्न पुस २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस २५ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ ।
करिब १० लाख रुपैयाँको लागतमा लन टेनिसका खेल मैदान निर्माण हुँदै
पोखरा, ३० मंसिर । पोखरा रङ्गशालामा लगभग १० लाख ५० हजार रुपैयाँको लागतमा लन टेनिसका खेल मैदान निर्माण भइरहेको छ । सातौँ राष्ट्रिय खेलकुदका अधिकांश खेल पूर्वाञ्चलमा आयोजना हुने भए पनि एउटा मात्र खेल लन टेनिस पोखरामा हुने भएपछि मैदान निर्माणमा जुटेको खेलकुद सङ्घ, कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिए । “हामीले आम खेलप्रेमी पोखरेलीलाई लन टेनिसको राष्ट्रिय खेलमा प्रत्यक्ष अवलोकनका लागिसमेत आह्वान गर्ने छौँ”, उनी भन्छन्– “यो बृहद् कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक छ ।” पुस महिनाको दोस्रो साताबाट सुरु हुने टेनिसको राष्ट्रिय खेलका लागि छनोटका सम्पूर्ण कार्यक्रम सम्पन्न भइसकेको बताउँदै उनले लन टेनिस प्रतियोगितामा पोखराबाट ४० जना महिलासहित ८० जनाले प्रतिस्पर्धा गर्ने जानकारी दिए । प्रत्येक विकास क्षेत्रबाट १० जना खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा पाँचजना महिलासहित विभागिय टिमबाट १०–१० जना खेलाडीको सहभागिता रहने व्यवस्था छ । रासस
जीडीपीमा उद्योगको योगदान १०.३ प्रतिशत पुर्याउने लक्ष्य, ३ वर्षमा उद्योगमा ६ खर्ब ३४ अर्ब खर्चिने सरकारको तयारी
काठमाडौं, ३० मंसिर । सरकारले आगामी ३ वर्षमा समग्र उद्योग क्षेत्रको विकासका लागि ६ खर्ब ३३ अर्ब ९५ करोड खर्चिने भएको छ । १४औं योजना अवधिको ३ वर्षमा स्वदेशमा प्रत्येक वर्ष ५० हजारका दरले रोजगारी सिर्जना गर्न सरकारले सो रकम खर्च गर्ने योजना बनाएको हो । सरकारले उद्योग क्षेत्रमा तीन वर्षभित्र सो रकम लगानी गरीे कुल एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको योगदान १० दशमलव ३ प्रतिशत पुर्याउने लक्ष्य तय गरेको छ । सो खर्चमा सार्वजनिक क्षेत्रबाट २ खर्ब ९८ अर्ब ८५ करोड, निजी क्षेत्रले ३ खर्ब ८ अर्ब ४४ करोड र सहकारीबाट २६ अर्ब ६६ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य योजनाले लिएकोे छ । उद्योगमा भएको लगानीले उत्पादन तथा उत्पादकत्वकमा वृद्धि, रोजगारी सिर्जना, स्थानीय स्रोत तथा साधन र प्रविधिको उपयोग, आयात प्रतिस्थापन तथ निर्यात प्रवद्र्धनमा जोड दिने राष्ट्रिय योजना आयोग सदस्य डा. सुनिलबाबु श्रेष्ठले बताए । यसले गरिबी न्यूनिकरण गर्न पनि महत्वपूर्ण भुमिका खेल्ने छ । औद्योगिक क्षेत्र आर्थिक विकासको इन्जिन भएको र औद्योगिकरणविना देशमा रोजगारी सिर्जना तथा उत्पादकत्व वृद्धि सम्भव नभएको औल्याउँदै सरकारले उद्योगमा लगानी बढाउने योजना अघि सारेको हो । सो खर्चबाट सरकारले उद्योग क्षेत्रको आर्थिक वृद्धिदर तीन वर्षमा १० दशमलव ६ प्रतिशत पुग्ने अनुमान गरेको छ । सरकारले तेह्रौं योजनाको अत्यसम्म जीडीपीमा उद्योग क्षेत्रको योगदान ५ दशमलव ४ प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरिएको थियो । तर, भूकम्प र सीमा नाका बन्दका कारण उद्योग क्षेत्रको वृद्धिदर ६ दशमलव ३ प्रतिशत ऋणात्मक रह्योे । औद्योगिक विकासको मूल आधारका रूपमा लिइने उत्पादन मूलक उद्योग क्षेत्रको वृद्धिदर भने समग्र उद्योग क्षेत्रको तुलनामा अत्यन्त न्यून रह्यो । २०७०/७१ वा तेह्रौं योजना शुरु भएको वर्ष उत्पादनमूलक क्षेत्रको वृद्धि ६ दशमलव २८ प्रतिशत रहेपनि १३ औं योजनाको अन्तिम वर्ष अर्थात गत आर्थिक वर्षमा उद्योग क्षेत्रको वृद्धि ९ दशमलव ८६ प्रतिशतले ऋणात्मक रह्यो । योजना शुरुको वर्ष उत्पादनमूलक क्षेत्रको वृद्धिदर राम्रै रहेपछि पछिल्ला दुई वर्षमा ऊर्जा संकट, भूकम्प तथा नाकाबन्दीका कारण उद्योग क्षेत्रनै थला परेका थिए । औद्योगिक पूर्वाधारको प्रर्याप्त विकास नहुनु, आवश्यक युवा जनशक्ति विदेश पलायन हुनुलगायतका कारण औद्योगिक क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा न्यून योगदान रहेको छ । आर्थिक समृद्धिका लागि औद्योगिक विकास जरुरी रहेको भन्दै उद्योग क्षेत्र कमजोर हुँदा राष्ट्र कै अर्थतन्त्र कमजोर भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनवहादुर श्रेष्ठले बताउँदै आएका छन् । देशलाई आर्थिक रुपले मजवुद बनाउने मूल आधार भनेको उद्योग भएको र उद्योग विकासले देश परनिर्भरताबाट आत्मनिर्भर हुने भएकोले पनि उद्योगको लगानी हामी जस्ता अल्पविकशित देशका लागि बढी उपयोगी तथा फलदायी हुने देखिन्छ ।
नबिल बैंकको २२ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना
काठमाडौं, ३० मंसिर । नबिल बैंक कर्मचारी सघंले २२ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । उक्त कार्यक्रममा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा ७० जना बैकंका कर्मचारीहरु तथा कर्मचारी परिवारहरुले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई नबिल बैंक कर्मचारी सघंबाट प्रशंशापत्र प्रदान गरिएको थियो । नबिल बैंक कर्मचारी सघंले आफ्नो वार्षिक उत्सवको दिन हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । नबिल बैंक कर्मचारी सघंले भविष्यमा पनि यस्तो कार्यक्रम काठमांडौ उपत्यकामा मात्र सिमित नभई उपत्यका बाहिरका बैंकका शाखाहरु मार्फत पनि निरन्तरता दिने योजना बनाएको छ । नेपाल रेड क्रस सोसाईटिले सघंले निरन्तर रुपमा रक्तदान कार्यक्रम राख्दै आएकोमा उक्त योगदानको प्रशंशा गरेको छ ।
एनएमबि बैंकको सामाजिक कार्य अन्तर्गत मन्दिर सरसफाई तथा व्यवस्थापन कार्यक्रमको आयोजना
काठमाडौं, ३० मंसिर । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थापाथली स्थित गोरखनाथ मन्दिरको अवषेशलाई मन्दिर परिसरमै सुरक्षित राख्ने तथा सरसफाइ, व्यवस्थापन कार्यक्रमको आयोजना गरेको छ । बिनाशकारी भुकम्पले सो मन्दिर पूर्णरुपले क्षति भएको थियो । गुठि संस्थानसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, कर्मचारी तथा स्थानिय बासिन्दाहरुको सहभागिता थियो । “सम्पदा संरक्षणको साथमा एनएमबि बैंक” भन्ने नारा लिएर एनएमबि बैंकले सम्पदा संरक्षणको क्षेत्रमा २०११ साल देखि विभिन्न कार्यहरु गर्दै आईरहेको छ । एनएमबि बैंकको एनएमबि सोसियल इनिशिएटिभ कोषले हरेक वर्ष विभिन्न सम्पदा क्षेत्रहरुको जिर्णोद्धार, सफाइ कार्यक्रम तथा एनएमबि बैंक हेरिटेजवाकको पनि आयोजना गर्दै आएको छ ।
चिलिमे जलविद्युत कम्पनीले २० प्रतिशत लाभांश दिने, १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद
काठमाडौं, ३० मंसिर । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । विहीबार बसेको कम्पनीको सञ्चालक समिति बैंठकले १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सो कम्पनीले जनाएको छ । प्रतावित लाभांश नियामक निकायको स्वीकृति र कम्पनीको साधारणसभाले अनुमोदन गरपछि वितरण गरिनेछ ।
१३ नाकाबाट जोडिँदैछ नेपाल–चीन सडक सञ्जाल, चार नाका उच्च प्राथमिकतामा
काठमाडौं, ३० मंसिर । नेपालले उत्तर छिमेकी चीनसँग जोडिने बिभिन्न १३ वटा नाकामा सडक सञ्जाल विस्तार अभियानलाई तिब्रता दिएको छ । सरकारले सडक विभाग चीनसँग जोडिने १३ वटा नाकासम्म आधुनिक सडक सञ्जाल विस्तार अभियानलाई अघि बढाएको हो । सडक विभागका उप महानिर्देशक गोपाल प्रसाद सिग्देलका अनुसार तातोपानी नाका, रसुवागढी नाका, कोरला नाका, हिल्सा नाका, किमाथांका नाका, ओलाङचोङगोला नाका, लाप्ची नाका, रोलाभञ्ज्याङ नाका, सिर्दिबास नाका, मरिम्ला नाका, न्याक्चे लाग्ना नाका, उराइपास नाका, टिंकर नाकासम्मको सडक विस्तारलाई तिब्रता दिएको छ । यी १३ सडक मध्ये रसुवागढी, हिल्सा, किमाथांका र कोरला नाका जोड्ने सडक पुर्वाधारलाई उच्च प्राथमिकतामा राखेर निर्माण कार्य अघि बढाइएको छ । ‘निर्माण कार्य भैरहेका १३ सडक मध्ये ४ वटा नाका जोड्ने सडक उच्च प्राथमिकतामा छन्, रसुवागढीलाई पहिलो, किमाथांकालाई दोश्रो, हिल्सालाई तेश्रो र कोरला नाका जोड्ने सडकलाई चौथो प्राथमिकतामा राखेर काम गरिरहेका छौं’, विभागका उप महानिर्देशक सिग्देलले विकासन्युजसँग भने । उनले ती चार सडकमध्ये पनि कोरला नाकालाई व्यवसायीक रुपमा सञ्चालन गर्न सकिने वा नसकिनेबारे चिनियाँ पक्षसँग सम्वाद आवश्यक रहेको बताए ।‘कोरला नाकालाई व्यवसायीक रुपमा सञ्चालन गर्न चिनियाँ पक्षसँग सरकारले आवश्यक छलफल गर्नुपर्छ’, सिग्देलले भने । कुन सडकमा कति भयो काम ? ओलाङचोङगोला नाका ताप्लेजुङ सदरमुकामबाट ओलाङचोङ गोला हुँदै चीन जोडिने सडकको लम्बाई ९५ किलोमिटरको छ । सो खण्डमध्ये ३५ किलोमिटरका ट्रयाक खोलिसकिएको छ भने ६० किलोमिटरमा धमाधम काम भैरहेको छ । किमाथांका नाका संखुवासभाको सदरमुकाम खाँदबारीबाट १६२ किलोमिटरको दुरीमा किमाथांका नाका पर्र्छ । सो सडक खण्डको ८५ किलोमिटर ट्रयाक खोलिसकिएको छ भने ७७ किलोमिटरमा काम जारी छ । लाप्ची नाका दोलखाको लामाबगरबाट २५ किलोमिटरको दुरीमा लाप्ची नाका छ जसको ५ किलोमिटर ट्रयाक खोलिएको छ भने २० किलोमिरटको काम जारी छ । रोइलाभञ्ज्याङ नाका धादिङको बेनीघाटबाट १६२ किलोमिटरको दुरीमा पर्ने यो नाकाको ५८ किलोमिटरमा काम सम्पन्न भैसकेको छ भने १०४ किलोमिटरमा काम भैरहेको छ । सिर्दिबास नाका गोरखाको गुम्दाबाट चुम्चेट हुँदै १३५ किलोमिटर दुरी पार गरेपछि सिर्दिबास नाका पुगिन्छ । सो सडकको पनि २५ किलोमिटर ट्रयाक खोलिसकिएको छ भने ९० किलोमिटरमा काम भैरहेको छ । कोरला नाका जोमसोमबाट कोरला नाकासम्मको दुरी ११० किलोमिटरको छ । सो सडकमा हाल सिंगल लेनमा सवारी साधन गुडिरहेका छन् । सडक विभागले डबल लेनको ग्राभेल सडकका रुपमा विस्तार गर्न ठेक्का समेत लगाइसकेको छ । मरिम्ला नाका डोल्पाको मरिल्ला नाका पुग्न दुनैबाट १३५ किलोमिटर दुरी पार गर्नुपर्छ । सोमध्ये हालसम्म ९५ किलोमिटरको ट्रयाक खुलिसकेको छ भने ४० किलोमिटरको काम भैरहेको छ । न्याक्चे लाग्ना नाका मुगुकको गमगढीबाट ११० किलोमिटरको दुरीमा न्याक्चे लाग्ना नाका पर्छ । हाल सो सडक खण्डको १५ किलोमिटर ट्रयाक खोलिएको छ भने ९५ किलोमिटरको काम खण्ड खण्डमा जारी छ । हिल्सा नाका हुम्लाको हिल्सा नाका पुग्न सिमिकोटबाट ९५ किलोमिटर दुरी छिचोल्नु पर्छ । त्यसमध्ये ८० किलोमिटरमा ट्रयाक खोलिएको छ भने बाँकी १५ किलोमिटरमा काम जारी छ । उराइपास(ताक्लाकोट) चैनपुरबाट ११५ किलोमिटरको दुरीमा उराइपास पर्छ । सो खण्डमध्ये ३५ किलोमिटरमा ट्रयाक खोलिएको छ भने ८० किलोमिटरमा काम भैरहेको छ । टिंकर नाका दार्चुला सदरमुकामबाट टिंकर नाका पुग्ने दुरी ११२ किलोमिटरको छ । सो खण्डमा ४० किलोमिटरको ट्रयाक खोलिएको छ भने ७२ किलोमिटरमा काम भैरहेको छ । तातोपानी नाका तातोपानी नाका जोड्ने सडक नेपाल तर्फ चालु आवस्थामा रहेको छ । सडक विभागले ठाउँ ठाउँमा स्तरोन्नतिका काम पनि गरिरहेको छ भने केहि स्थानमा चीन सरकारले पनि स्तरोन्नतिको काम गरिरहेको छ । तर चीन सरकारले नै तातोपानी नाका पारीकोे आफ्नो बस्तीलाई ३० किलोमिटर पर नल्याम सारिसकेको छ । यो नाकालाई हाल चीन सरकारले खासै महत्व नदिएको सडक विभागका उप महानिर्देशक सिग्देलले बताए ।
तीन लाखमा किनेको दरबारमा अर्बको हेरिटेज होटल, राणाकालिन दरबार बन्यो ४४ कोठे आधुनिक होटल
नक्साल स्थित तोरणसम्सेरको दरबारमा रहेको माया मनोर होटल काठमाडौं ३०, मंसिर । नेपालको पुरानो ऐनिहासिक दरबार धमाधम होटल बन्न थालेका छन् । याकएण्ड यति होटल दरबार मासेरै होटल बनाइएको थियो भने अहिले अर्को दरबार मासेर होटल बनाइएको छ । होटल व्यवासायी तथा केजीएच ग्र्रुपले पुरानो इतिहासलाई सम्झाउने गरी तोरणसम्सेरको एक सय वर्ष भन्दा पुरानो दरबारलाई माया मनोर होटल बनाएको छ । ग्रुपका अध्यक्ष कर्ण शाक्यका अनुसार नक्सालमा रहेको तोरणसम्सेरको दरबारलाई तीन लाख रुपैयाँमा खरिद गरेर अर्बको होटल बनाइएको छ । शाक्यका अनुसार दरबारमा भएको यो हस्पिटालीटी सेवा उनको सपनाको होटल पनि हो । दरबारकै संरचनालाई होटल बनाउँन मात्रै १५ करोड रुपैयाँ खर्च गरेको भएको शाक्यले बताए । ‘तोरणसम्सेर राणाको दरबारलाई मैले १९७५ मा किने र अहिले त्यसेमा हेरिटेज होटल संचालन गर्न थाले’ शाक्यले भने । राणकालिन यो दरबार सन् १९३० राणाकालिन सदस्य नै बस्थे । १९६० मा चिनियाँ राजदूत बसेको यो भवन सन् १९७५ मा शाक्यले किनेका हुन । सन् २००० मा जिमी कार्टरले यसमा कार्टर सेन्टर खडा गरेका थिए । अहिले जयनेपाल हलबाट बाँया तर्फको नक्सालतर्फको यो ऐतिहासिक भवनमा शाक्यको माया मनोर नामक होटल संचालन छ । जम्मा ३ रोपनी क्षेत्रफल रहेको यो होटलको जग्गामा ऐतिहासिक सम्पदाको जगेर्ना गर्दै गुणस्तरीय होटल संचालन गरेको शाक्यको दाबी छ । यो होटलमा जम्मा ४४ वटा कोठा रहेको छ । होटलको कोठा भाडा पनि जम्मा ९० डलर लिने गरिएको उल्ले छ । यो होटललाई हेरिटेजसहितको बुटिक भनिएको छ । बुटिकको विशेषता भनेको सानो भएपनि आकर्षक र नेपाली पनाको हो । यसमा इतिहास झल्काइएको छ । बुटिक होटल बढीमा ५० देखि ६० कोठा सम्मको मात्रै हुन्छ । विशेष गरी कुनै एउटा क्षेत्र र सम्पदाको थिम बुटिक होटलले बोकेको हुन्छ । माया मनोर पनि ऐतिहासिक महत्व बोकेको पुरानो बुटीक होटल भएको शाक्यको भनाइ छ । मेरो होटल सबै फरक विशेषताका छन् । शाक्यका अन्य हाटेल पनि फरक फरक विशेषतामा संचालन भइरहेका छन् । उनको लुम्बिनीको बुद्धमाया होटल धर्मावलम्बी पर्यटनको लागि हो । विशेष गरी यो होटल बुद्धिष्ट पर्यटकको लागि हो । पोखराको वाटर फ्रन्ट लेक साइटको लागि, हिमाल हेर्नेका लागि हिमालयन फ्रन्ट हो भने कन्फ्रेन्सका लागि पार्क भिलेज होटल हो । काठमाडौं गेष्ट हाउस टे«कर्सको लागि भएको शाक्यको होटल संचालन समूह केजीएचले जानकारी दिएको छ ।