नेपाल इन्भेष्टमेन्ट बैंकले पायो बैंक अफ द एयर अवार्ड २०१६, अहिलेसम्म पाँच पटक जित्यो
काठमाडौं, २३ मंसिर । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘बैंक अफ द एयर अवार्ड २०१६’ प्राप्त गरेको छ । बेलायतको प्रतिष्ठित पत्रिका ‘दी बैंकर्स’ले हिजो राती यो अवार्ड प्रदान गरेको छ । लण्डनमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र ज्योति प्रकाश पाँडेले उक्त अवार्ड लिएका छन् । बैंकका सूचना शाखाका सावित्री घिमिरेका अनुसार बैंकले अहिलेसम्म पाँच पटक यो अवार्ड प्राप्त गरेको छ । बैंकर्स पत्रिकाले प्रत्येक वर्ष हरेक देशका बैंकहरु मध्ये उत्कृष्ट बैंकलाई बैंक अफ द एयर अवार्ड दिने गरेको छ ।
खराब मौसमका कारण भारतमा आठ सय पर्यटक अलपत्र
नयाँ दिल्ली, २३ मंसिर । अत्याधिक खराब मौसमका कारण भारतको दक्षिणपश्चिम क्षेत्रमा पर्ने अन्दामन र निकोबार टापुमा स्वदेशी तथा विदेशी गरी आठ सय जना पर्यटक अलपत्र परेका छन् । भारतीय नौसेनाले अन्दामन र निकोबार टापु गरी दुवै ठाउँमा चार वटा पानी जहाज पठाएको जनाएको छ । नौसेनाका प्रवक्ता डि.के. शर्माले पर्यटकहरू अलपत्र परेको ठाउँमा चार वटा पानी जहाज पठाएको भए पनि हेभलक टापुमा अत्यधिक खराब मौसमका कारण सो ठाउँमा पुग्न नसकेको जानकारी दिए । “आठ सयभन्दा बढी पर्यटक यातायातका साधन नपाएर अलपत्र परेका छन्, हामी उनीहरूलाई उद्धार गर्न तयारी अवस्थामा छौँ, त्यसका लागि सफा मौसमको प्रतिक्षा गरिरहेका छौँ,” उनले भने । प्रवक्ता शर्माले थपे, “हाम्रो सबैभन्दा ठूलो चासो पर्यटकहरूलाई सुरक्षित तरिकाले उद्धार गर्नु हो ।” हेभलकको किनारा पर्यटकका लागि लोकप्रिय गन्तव्य मानिन्छ । हरेक नयाँ वर्षमा हजारौँ पर्यटकले हेभलकमा डिसेम्बरमा रमाइलो गर्ने गर्दछन् । रासस/सिन्ह्वा
नेपालबाट संसारले सिक्न सक्छ- परराष्ट्रमन्त्री डा. महत
काठमाडौं, २३ मंसिर । परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले नेपालले शान्ति वार्ताबाटै द्धन्द्धको समाधानमा हासिल गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएकोले यसबाट विश्वले नै सिक्न सक्ने बताएका छन् । इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले भने— संसारका अरु देशमा पनि द्धन्द्ध व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्छ । शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको संघर्षको उदाहरण दिँदै परराष्टमन्त्री डा. महतले यस संघर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशिल बन्न सिकाएको धारणा राखेका छन् । नेपालले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको यस संघर्षको परिणामस्वरुप दशकौंपछि नेपाली जनताले संविधान सभामार्फत आफै संविधान लेख्ने अवसर पाएका र नेपाली जनताद्धारा जारी यस संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको पनि बताए । मन्त्री डा महतले भने- हामी संसारममा नै उदाहरण दिनमिल्नेगरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसदमा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहहरुमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ । उनले अगाडि भने, हाल नेपालमा राष्ट्रपति, संसदमा सभामुख र प्रधानन्यायाधीशमा पनि महिला रहेका छन् । समावेशी र सहभागितामूलक विकास प्रयासलाई नेपाल सरकारले प्राथमिकतामा राखेको र देशका महिला, गरिब तथा समाजमा विभिन्न कारणले पछि परेका समुदायका नागरिकको सशक्तिकरणका लागि आवश्यक नीति र कार्यक्रमहरुका लागि अघि बढेको जानकारी पनि उनले सो सम्बोधनका क्रममा दिए । नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहहरुका निर्वाचनको योजना गरिरहेको र यसमार्फत लामो समयपछि नेपाली जनताले लेखेको संविधानको कार्यान्वयनमा थप सशक्तता आउने र दिगो विकास र देशले लिएको समावेशी र सहभागितामूलक शासन व्यवस्थालाई थप संस्थागत बनाउन सहयोग पुग्ने धारणा पनि राखेका छन् । सो सम्मेलनमा मन्त्री डा महतले नेपाल धार्मिक सहिष्णुता र सांस्कृतिक बहुलताको एक अद्धितीय उदारहण हो भन्दै हाम्रो देशमा हिन्दू, बौद्ध, इस्लामलगायतका अन्य धर्महरुबीचमा ऐतिहासिक रुपमा सहिष्णुता कायम रही आएको स्मरण गरेका छन् । नेपाल सधैं शान्तिपूर्ण सहअस्तित्व र धार्मिक तथा बहुसांस्कृतिक मान्यतामा विश्वास गर्छ भन्दै उनले भने-प्रजातन्त्र, कानुनी शासन, बहुलबाद र शान्तिपूर्ण सहअस्तित्वका माध्यमबाट नै अन्तर्राष्टिय समुदायका बीचमा पनि सहयोग, साझेदारिता र समन्वय कायम गर्न सकिन्छ भन्नेमा नेपालको विश्वास रहेको बताए । नेपाल संसार नै एउटा परिवार हो भन्ने बसुधैव कुटुम्बकम मान्यतामा विश्वास गर्छ भन्दै एसिया नै यस्तो क्षेत्र हो जुन गौतम बुद्ध, महात्मा गान्धी, कन्फ्युसियस र अरु कैयौं महान दार्शनिकहरुको जन्मस्थल हो । एसिया यस्तो धार्मिक र सांस्कृतिक बहुलताको धनी क्षेत्र हो भन्दै नेपालजस्तै इन्डोसियाको बालीले पनि एसियाली विविधतायुक्त समाजको प्रतिनिधित्व गर्ने बताए । समाजका हरेकखाले चुनौतीहरुको समाधानका साथै नागरिकको सामाजिक न्यायका लागि समावेशी प्रजातन्त्र र धार्मिक स्वतन्त्रता एवम् सहिष्णुता सशक्त औजार हुन् भन्दै नेपाल सधैं धर्म वा अन्य कारणले हुने कुनै पनि प्रकारका आतंकवादको विरुद्धमा रहदै आएको प्रतिबद्धता पनि सो अवसरमा उनले व्यक्त गरेका छन् । नेपाल सधैं शान्ति, प्रजातन्त्र र मानवअधिकारका पक्षमा रहेको भन्दै नेपालले हरेक नागरिकको मौलिक तथा नैसर्गिक अधिकारको सम्मानको पक्षमा रहेको उनले उल्लेख गरेका छन् ।
नेपाल र बङ्गलादेशबीच विद्युत् सेवा विस्तार बारे छलफल, बङ्गलादेशमा विद्युत्को माग
काठमाडौं, २३ मंसिर । बङ्गलादेशको भ्रमणमा रहेका ऊर्जामन्त्री जनार्दन शर्माले बङ्गलादेशका प्रधानमन्त्री सेख हसिनासँग दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे छलफल गरेका छन् । बिहीबार साँझ भएको शिष्टाचार भेटमा उनीहरुबीच नेपालसँग विद्युत्को प्रचूर सम्भावना रहेको र बङ्गलादेशमा ठूलो परिमाणमा विद्युत्को माग भएकाले दुई देशबीच विद्युत् सेवा विस्तार गर्नेबारे सम्झौता गरी अघि बढ्ने विषयमा कुराकानी भएको थियो । भेटका अवसरमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध विस्तारका अन्य विविध विषयमासमेत छलफल भएको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । सो अवसरमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे तथा बङ्गलादेशका लागि नेपाली निमित्त राजदूत डिल्लीप्रसाद आचार्य र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिजमन्त्री नसु्रल हमिद, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार गोहर रि ज्वी, परराष्ट्र मन्त्राल तथा विद्युत्, ऊर्जा तथा खनिज मन्त्रलायका उच्च अधिकारी उपस्थित थिए । रासस
भारु ५०० र एक हजारको नोटमा लागेको प्रतिबन्धको महिना दिन, उपलब्धि शुन्य
काठमाडौं, २३ मंसिर । भारत सरकारले भारु ५०० र एक हजारको नोटमा प्रतिबन्ध लगाएको विहिबार एक महिना पुगेको छ । भारु ठूला दरका नोटमा प्रतिबन्ध लगाएको एक महिना पुग्दा पनि नेपालमा भएको भारु ५०० र एक हजारको नोटको सटहीबारे सरकार अझै अनिर्णित रहेको छ । भारत सरकारले आफ्नो देशबासीको लागि ५०० र एक हजारको भारु डाक घर वा बैंकमा गएर ५० दिनभित्रमा साटिसक्न समय सिमा तोकेको छ । सो समयसिमामा अव जम्मा २० दिनमात्र बाँकी रहेको छ । तर नेपालमा रहेका ५०० र एक हजार दरका भारुको सटहीको बारेमा सरकारी प्रयास भने पर्याप्त नहुदा अझै के गर्ने भन्ने अन्यौलता कायम नै छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालसँग टेलिफोन कुराकानी गर्दै आरबिआइका गभर्नर उर्जित पटेलले नोटको समस्या समाधान गर्न एउटा कार्यदल बनेको जानकारी गराएको राष्ट्र बैंकले जनाएको थियो । तर सो कार्यादलले कस्तो सुझाव दियो र नेपालमा भएको भारुको समस्या बारे के भइरहेको छ भन्ने विषयमा भने राष्ट्र बैंकले केही बोलेको छैन । गभर्नर डा. नेपालले भने दैनिकजसो भारतीय राजदुत रन्जित रे र आरवीआइका गभर्नर उर्जित पटेलसँग कुराकानी भइरहेको र सकारात्मक रुपमा अगाडी बढेको भनेपनि भारतले नेपालमा रहेको ५०० र एक हजारको भारुको विषयमा कुनै चासो देखाएको छैन । सरकार र राष्ट्र बैकको कमजोरीका कारण ५०० र एक हजारको भारुको विषयमा निर्णय हुन नसक्दा सर्वसाधरणले दुख भोग्नुपरेको छ । ‘एक महिना वितिसक्दा पनि भारतीय ठुला दरका विषयमा अझै अन्यौलता कायमै रहेको छ’ न्युरोडका व्यापारी प्रेम अग्रवालले भने । उनले सरकारसँग आक्रोस पोख्दै भने—‘सर्वसाधरणलाई यसरी अल्मल्याएर राख्नु हुदैन यदी ५०० र एक हजारको भारु साटिदेन भने नसाट्ने भनिदिए हुन्छ सर्वसाधरण अरु विकल्प खोज्छन् ।’ नेपाल राष्ट्र बैंकका अनुसार, नेपालको बैकिङ प्रणाली र मनि चेञ्जरहरुसँग कुल तीन करोड ३६ लाख बराबरको ५०० र १००० दरका भारु नोट छन् । तर व्यापारी, नेपाल भारत आउजाउ गर्ने सर्वसाधारण र कामका लागि भारत पुगेका सूदूर पश्चिमका सर्वसाधारणसँग ठूला दरको भारु कति छ भन्ने अझै यकिन भएको छैन । भारत सरकारले कालोधन नियन्त्रणका लागि भन्दै एक महिनाअघि ५ सय र एक हजार दरका नोट कारोबारमा रोक लगाएको थियो ।
‘जतिवटा उद्योग चलायो, दैनिक त्यतिथरी औषधि खानुपर्छ’ उद्यमी प्रबलजंग पाण्डे भन्छन्–‘तरपनि म हरेक वर्ष नयाँ उद्योग खोल्छु’
काठमाडौं, २३ मंसिर । ‘एउटा नयाँ उद्योग खोल्नु भनेको बल्ड प्रेसरको अर्को एउटा औषधि थप्नु हो । मैले अहिले ३ वटा उद्योग हेर्छु र मैले दैनिक ४ प्रकारका औषधि खान्छु । अब मैले नयाँ उद्योग खोले भने ५ प्रकारका औषधि खानुपर्ने हुन्छ’ युवा उद्यमी प्रवलजंग पाण्डे भन्छन्–‘नयाँ उद्योग खोल्नु भनेको अर्को तनाव लिनु हो । तरपनि म नयाँ उद्योग खोल्छु । यो मेरो अठौट हो । आज सरकारले बुझेको छैन, तर कुनै दिन सरकारले बुझ्ने छ ।’ प्रबलजंग पाण्डे हरेक वर्ष एउटा उद्योग खोल्दै जाने उदेश्य आफूले लिएको बताए । ‘सानो होस वा ठूलो, प्रत्यक वर्ष एउटा उद्योग खोल्छु’ उनले आफ्नो अठोट सुनाए । उनी र उनका परिवारले औषधि, सिमेन्ट, जलविद्युत् क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । साथै, बैकिङ, बीमा र सूचनाप्रविधि जस्ता सेवा मुलक क्षेत्रमा पनि लगानी विस्तार गर्दै आएको छ । आफूले लगानी गरेको सबै कम्पनीहरुको पर्फमेन्स राम्रो रहेको बताए । ‘हामीले लगानी गरेको जुनसुकै बिजनेश वार्षिक १५÷२० प्रतिशत वृद्धि भईरहेको छ । उद्योग होस्, बैकिङ होस् वा बीमा’ पाण्डे भन्छन्–‘हामीले औषधिको उत्पादनमा हरेक वर्ष २५ प्रतिशतले वृद्धि गर्दै आएका छौं । पहिला जनकपुरमा मात्र सिमेन्ट उद्योग थियो, अहिले विराटनगरमा पनि सिमेन्ट उद्योग लगाएका छौं । जनकपुरमा पहिला ४०० मेट्रिकटन उत्पादन हुन्थ्यो, अहिले उत्पादन क्षमता वृद्धि गरेर ८०० मेट्रिकटन पुर्याएका छौं । एकमहिना भित्र क्लिङकर उद्योग सञ्चालन गर्दैछौं ।’ ‘हामीले उत्पादन गरेको औषधि विश्व बजारमा प्रतिस्पर्धा गरिरहेको छ । हामी ८ भन्दा बढी देशमा औषधि निर्यात गर्दै आएका छौं’ पाण्डेले भने–‘हामी संलग्न भएको शिखर इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा अगाडि छ, बैंकले पनि राम्रो गरिरहेको छ ।’ व्यवसायको लागि उद्योग भन्दा सेवाको क्षेत्र सजिलो भएको उनले बताए । ‘सेवा क्षेत्रमा प्रतिस्पर्धा स्वदेशमा मात्र हुन्छ । उद्योगले विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसैले उद्योग चलाउन गाह्रो छ’ उनले भने । उद्योग चलाउँदा धेरै समस्याहरुसँग जुध्नु पर्ने उनले बताए । उत्पादन लागत बढी हुनु सबैभन्दा ठूलो समस्या भएको उनले बताए । बजार सानो भएकोले ठूलो परिमाणमा उत्पादन गर्न नसक्नु, उद्योमा विद्युत आपूर्ति नियमित नहुनु, अधिकांश नेपाली उद्योग विदेशी कच्चा पदार्थमा आधारित हुनु र कच्चा पदार्थ नै महँगो पर्नु, ढुवानी तथा यातायातको लागत बढी हुनु, नीतिगत अस्तिरता हुनु, जग्गा व्यापारीलाई भन्दा उद्योगीलाई आयकर दोब्बर हुनु मुख्य समस्या भएको बताए । उद्यमीलाई इज्जत नदिने संस्कारले व्यवसायीहरुको मनोबल गिरेको उनले बताए । ‘नेता, प्रशासकहरु नै उद्योगी व्यवसायीलाई चोर, ठग भनेर गाली गर्छन’ युवा उद्यमी पाण्डे भन्छन् ‘जतिसुकै दुःख भएपनि हामी उद्योग बन्द गर्दैनौ । हामी जस्ता धेरै उद्यमी, जो निरन्तर उद्योगमा लागेका छन्, उनीहरु नै यो देशका सच्चा देशभक्त र देश निर्माता हुन् ।’ ‘जुनदिन औषधिको एउटा केसमा मलाई प्रहरीले एक दिन समातेर लग्यो र भोलि पल्ट छोडिदियो । त्यहि वेला मैले भनेको थिए, नेपालमा उद्योगमा लगानी गर्नु भनेको पाप गर्नु हो । अहिलेसम्म मेरो बुझाई त्यहि हो कि उद्योगमा लगानी गर्नु पाप गर्नु नै हो’ उनले निरासा व्यक्त गरे । उनीसँग गरिएको ‘विकास वहस’ विकास मिडियाको प्रिन्ट संस्करण देशविकास पत्रिका र डिजिटल संस्करण विकासन्युज डटकममा अागामी आईतबार प्रकाशित हुनेछ ।
नेपालमा मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन हुने, व्यवस्थापन तथा विज्ञान विषय अध्ययनरतले पढ्न पाउने
काठमाडौं, २३ मंसिर । नेपालमा पनि स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयको अध्ययन अध्यापन हुने भएको छ । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी शैक्षिकसत्रदेखि अन्तर्राष्ट्रियस्तरमा सो विषयमा पठनपाठन सञ्चालनमा ल्याउन लागेको हो । तीन वर्षमा अध्ययन सम्पन्न हुने सो विषय छ सेमेस्टरमा हुने कलेजद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसका लागि ती दुई शैक्षिक निकाय कलेजका अध्यक्ष सुलभ बुढाथोकी र विश्वविद्यालयका उपकुलपति प्रा जोनर्याफ्टेरीका बीच आपसी सहमति समेत भएको छ । दश जोड दुई तहमा व्यवस्थापन तथा विज्ञान विषय अध्ययन पूरा गरेका छात्राछात्राले सो विषय अध्ययन गर्न योग्य हुने छन् । नेपालमा बसी अन्तर्राष्ट्रियस्तरका अध्ययन गर्न पाउनु नेपाली विद्यार्थीका सुखद् रहेको इस्लिङ्टन कलेजका अध्यक्ष बुढाथोकीले बताए । उनले कलेजबाट स्नातक तह पूरा गरेका विद्यार्थीलाई सूचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर तहमा अध्ययन गर्न ७५ प्रतिशत छात्रवृत्तिको समेत व्यवस्था आगामी शैक्षिकसत्रबाट सुरु गर्न लागिएको जानकारी दिए । सन् १९९६ मा स्थापना भएको सो कलेजबाट सूचना प्रविधि र व्यवस्थापन विषयमा १३ हजारले स्नातक तह पूरा गरिसकेका छन् । रासस
देश विकासमा निर्माण व्यवसायीको महत्वपूर्ण योगदान- मन्त्री लेखक
काठमाडौं, २३ मंसिर । दिगो र गुणस्तरिय भौतिक संरचनाको निर्माणले देश विकासमा महत्वपूर्ण योगदान पुग्ने हुँदा राज्य निजी क्षेत्रमा भर परेको भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो स्थापनाको रजत जयन्तिको अवसरमा राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री लेखकले निजी क्षेत्रबाट हुने दिगो र गुणस्तरीय भौतिक संरचनाको निर्माणबाट नै देशविकास हुने भएकाले राज्य निजी क्षेत्रमा भर परेको बताएका हुन् । उनले आजको आवश्यकता निर्माण मात्रै नभएर समयमा नै गुणस्तरीय र दिगो निर्माणमा व्यवसायीले प्राथमिकता दिनुपर्ने बताए । नवौं निर्माण दिवस तथा रजत जयन्ति समापन समारोहमा महासंघको समृद्धि विकासमार्फत भन्ने नारामा थप गरी गुणस्तरीय र समयमै विकासबाट समृद्धि भन्ने नारा तय गर्न आग्रह गरे । यो नारालाई सरकारले पनि आत्मसाथ गर्न तयार भएको मन्त्री लेखकको भनाइ छ । उनले राष्ट्र निर्माणको जिम्मा निजी क्षेत्रको हातमा रहेको बताए । उनले भने–‘देशको भौतिक विकास निर्माणमा निजी क्षेत्रको मात्रै योगदान रहेकोले व्यवसायीले दक्षता प्रदान गर्दै आफ्नो देशको निर्माण आफै गर्न सक्छौं भन्ने विश्वस दिलाउन सक्नुपर्छ ।’ मन्त्री लेखकले नेपालका निर्माण व्यवासायी पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धाबाट छनोट हुन सक्ने बतावरण बनाउन महासंघलाई सुझाव दिए । कार्यक्रममा उपस्थित विशिष्ट अतिथि भूमिसुधार मन्त्री विक्रम पाण्डेले विकास निर्माणको क्षेत्रमा निजी क्षेत्रले पु¥याएको योगदानको प्रशंसा गर्दै हरेक निर्माण कार्यमा नेपाली निर्माण व्यवसायीलाई नै अवसर दिनुपर्ने बताए । उनले निर्माण जगत्मा नेपाली व्यवसायीहरु सक्षम बन्दै गइरहेकाले सरकाले विदेशी निर्माण कम्पनीलाई भन्दा स्वदेशी कम्पनीलाई नै प्रथमिकता दिने तयारी गरेको बताए । महासंघका अध्यक्ष शरदकुमार गौचनले देश निर्माणमा निजी क्षेत्रले २५ बर्षमा उल्लेख्य फड्को मारेको बताए । नेपालमा निर्माण व्यवसायीको लामो इतिहास नभएपनि देश निर्माणमा निकै अगाडी रहेको दावी गरे । सरकारले नीति नियम कानुन बनाउँदा व्यवसाय मैत्रि हुनुपर्नेमा गौचनले जोड दिए । उनले निर्माण व्यवसायीलाई वलियो नवनाएसम्म देश निर्माण र समृद्धि नहुने बताए । महासंघ २०४६ सालमा स्थापन भएर २५ वर्ष पार गरेको अवसरमा तत्कालिन कार्यसमिति पदाधिकारी, निर्माण व्यवसायलाई व्यवस्थित गर्न विभिन्न कोणबाट सहयोग गर्नेे पूर्व सरकारी कर्मचारीसहित विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । संघले रजत जयन्तिको महासंघले समापनको अवसर पारेर प्रभातफेरी, महासंघको प्रङ्गनमा निर्माणको प्रतिमा अनावरण गर्नुका साथै सांङ्गीतिक कार्यक्रम गरेको थियो ।