विकासन्युज

काठमाडौंमा शहरी पारवहन दौडाउने तयारी, गृहकार्य तीब्र

काठमाडौं २३, मंसिर । काठमाडौंमा शहरी पारवहन (मोनो रेल) सञ्चालनका लागि लगानी बोर्डले तीव्रगतिमा गृहकार्य अगाडि बढाएको छ। काठमाडौंमा मोनो रेल र मेट्रो रेलको विकास निर्माण र सञ्चालनका लागि अध्ययन गर्ने जिम्मा पाएसँगै बोर्डले गृहकार्यलाई तीव्रता दिएको हो। काठमाडौं मोनो रेल सञ्चालनका लागि मोनो रेल कम्पनी प्रालीले प्रस्ताव गरेको छ भने यसले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर त्यसको प्रतिवेदन बोर्डलाई बुझाएको  छ। बोर्डले उक्त प्रतिवेदन अध्ययन गरिरहेको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रस्तावक कम्पनीले निर्देशन दिइए अनुसार प्रतिवेदन बुझाइसकेपछि त्यो प्रतिवेदन हेरेर निर्णय लिने बताए।नेपाल समाचारपत्रबाट ।

बोलेको ८० प्रतिशत दिए दाताले,  ४ खर्ब १० अर्ब प्रतिबद्धता मध्ये २ खर्ब ७८ अर्ब रुपैयाँप्राप्त

काठमाडौ २३, मंसिर । भूकम्पपछिको पुनर्निर्माणका लागि दातृ निकायले प्रतिबद्धता जनाएकोमध्ये करिब ८० प्रतिशत रकम प्राप्त भएको छ । १० असार ०७२ मा भएको दाता सम्मेलनमा दातृ निकाय तथा सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसमध्ये अहिलेसम्म २ खर्ब ७८ अर्ब रुपैयाँको सम्झौता भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । सम्झौता भएपछि सरकारले गरेको खर्चअनुसारको रकम दाताले सोधभर्ना दिने गर्छन् । दाता सम्मेलनमा भारतले सबैभन्दा धेरै १ खर्ब र चीनले ७६ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । तर, उनीहरूले यही प्रतिबद्धताभित्रैबाट नियमित सहयोग पनि गर्ने बताएपछि ६७ अर्ब रुपैयाँ पुनर्निर्माणका लागि खर्च नहुने तय भएको थियो । भारत र चीनको नियमित सहयोग कटाएपछि वास्तविक सहयोगका रूपमा ३ खर्ब ४३ अर्ब रुपैयाँमा सीमित भएको थियो । दाता सम्मेलनमा प्रतिबद्धता जनाएका २५ दातामध्ये अन्तर्राष्ट्रिय मुद्रा कोष, युरोपेली युनियन, क्यानडा, बेलायत र जर्मनीले आफ्नो घोषणाअनुसारकै सम्झौता गरिसकेका छन् । तुलनात्मक रुपमा धेरै घोषणा गरेका भारत, चीन र जापानसँग थोरै रकमको सम्झौता हुन बाँकी छ । नयाँ पत्रिका दैनिकबाट ।

प्रेस काउन्सिल नेपालको प्रतिनिधिमण्डल बंगलादेश भ्रमणमा, सार्कस्तरीय प्रेस काउन्सिल गठनको प्रस्ताव

काठमाडौं, २२ मंसिर । प्रेस काउन्सिल अफ बंगलादेशको निमन्त्रणामा त्यसतर्फ गएको प्रेस काउन्सिल नेपालको प्रतिनिधिमण्डललाई भव्य स्वागत गरिएको छ । २१ गते प्रेस काउन्सिल अफ बंगलादेशका अध्यक्ष मोहम्मद ममताजुद्धिन अहमदले फूल, पुष्पगुच्छाले भ्रमणटोलीको स्वागत गरेका छन् । भने २२ गते विशेष भोजको आयोजना गरिएको छ । सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले निस्वार्थ भावनाले दुई देशबीच द्विपक्षीय सहकार्य गर्दै प्रगाढ सम्वन्ध विस्तार गर्न सार्कस्तरीय प्रेस काउन्सिलको यथासक्य गठन गरिने प्रक्रियामा सघाउन आग्रह गरेका छन् । त्यसैगरी भुपरिवेष्ठित देश नेपाललाई बन्दरगाह सुविधा प्रदान गरेकोमा वंगलादेश सरकारलाई धन्यवाद प्रकट गरेका छन् । ५ दिने भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, सदस्यद्वय किशोर श्रेष्ठ, गोविन्दप्रसाद चौंलागाई, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालको सहभागिता रहेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

मेलम्चीको पानी घरघरमा पुर्याउन दैनिक १००० कामदार परिचालन, पाइप विछ्याउने काम एकैसाथ चालीस स्थानबाट

काठमाडौँ, २२ मंसिर । मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न ४० स्थानमा एकसाथ काम भइरहेको छ । विसं २०७४ असोजमा मेलम्ची खोलाको पानी २७ किमी सुरुङबाट सुन्दरीजलमा खसेपछि उपत्यकाका तीन जिल्लामा वितरणका लागि हाल दैनिक एक हजार कामदारले काम गरिरहेका छन् । उपत्यकाका आठ स्थानमा पानीपोखरी निर्माण र ३२ स्थानमा पाइपलाइन बिच्छ्याउने काम भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । पानी आउनुअघि बिच्छ्याइ सक्नुपर्ने ६७० किमी पाइपलाइनमध्ये ४३२ किमीको काम सम्पन्न भएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । अब २३८ किमी पाइप बिच्छ्याउन बाँकी छ । “महाँकालचौर ८० लाख लिटर, बाँसबारी ९५ लाख लिटर, पानीपोखरी ७५ लाख लिटर, बालाजु ७० लाख लिटर र खुमलटार ९५ लाख लिटर क्षमताको पानीपोखरी निर्माण अन्तिम चरणमा पुगेको छ”– उनले भने । काठमाडौँको आरुबारी ८५ लाख लिटर र कीर्तिपुर ६० लाख लिटर एवम् भक्तपुरको टिग्नीमा ३० लाख लिटर क्षमताको पानीपोखरी पनि निर्माण भइरहेको छ । उपत्यकामा नौ पानीपोखरी निर्माण र पाइपलाइन बिच्छ्याउन १३ निर्माण व्यवसायी कम्पनीले काम गरिरहेका छन् । काम छिटोसक्न दैनिक एक हजार ५०० कामदारलाई काम लगाउन निर्माण व्यवसायीलाई भनिएको प्रवक्ता ढकालले बताए । सार्वजनिक यातायातलाई असर नपर्ने गरी थोक वितरण प्रणालीको मुख्य सडकमा पाइप बिच्छ्याउँदा राति काम भइरहेको छ । थोक वितरण प्रणालीको ६० किमी पाइप बिच्छ्याउनुपर्नेमा ३१ किमीमा काम सम्पन्न भएको छ । सुन्दरीजलदेखि चाबहिलसम्म नौ किमी थोक वितरण प्रणालीको काम सम्पन्न भएको छ । विसं २०७४ असोजअघि नै पाइप बिच्छ्याउने काम सम्पन्न गर्ने निर्देशनालयको लक्ष्य छ । रासस

हकप्रद र एफपिओ सेयर जारी गर्न कडाई, बैंकिङ् र बीमा बाहेकका कम्पनीलाई बोर्डको विभिन्न सर्त

काठमाडौं , २२ मंसिर । नेप्सेमा सूचिकृत भएका बैंकिङ्  र बीमा बाहेकका संस्थाहरुले अब आफूखुसी हकप्रद र एफपीओ जारी गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले बैंकिङ्  र बीमा बाहेकका कम्पनीहरुले हकप्रद र एफपीओ जारी गर्दा विभिन्न सर्तहरु पालना गरेको हुनुपर्ने प्रावधान राखेको छ । पछिल्लो समयमा जलविद्यतु लगायतका अन्य सूचिकृत संस्थाहरुले आफूखुसी हकप्रद सेयर र एफपीओ जारी गरेको भन्दै विरोध भएपछि बोर्डले मंगलबार यस्तो निर्णय गरेको हो । हकप्रद एवं एफपीओ जारी गर्दा स्वच्छ, निष्पक्ष र पारदर्शी वनाउन एवं सो सम्बन्धमा आवश्यक नीतिगत व्यवस्था सिफारिश गर्न गठित समितिले पेश गरेको प्रतिवेदनको सिफारिशको आधारमा बोर्डले सो निर्णय गरेको हो । पछिल्लो सयमा अपी पावर कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विषयमा निक्कै विवाद भएपछि बोर्डले विज्ञहरु सम्मिलित एक समिति बनाएको थियो । बोर्डले विभिन्न सर्तहरु पुरा गरेको अवस्थामा मात्र ति कम्पनीहरुले हकप्रद र एफपीओ जारी गर्न पाउने निर्णय गरेको छ । बोर्डले बैंक तथा वित्तिय संस्था र विमा कम्पनी बाहेकका कम्पनीहरुले हकप्रद निष्कास गर्न चाहेमा हकप्रद निष्काशन अनुपातको औचित्य पुष्टि गर्ने आधारहरु प्रष्ट हुनुपर्ने, प्राथमिक निष्काशन गरेको कम्तिमा २ वर्ष पूरा भएको हुनुपर्ने, नियमानुसार क्रेडिट रेटिङ्ग गरेको हुनुपर्ने ,जारी पूँजी शत प्रतिशत चुक्ता भैसकेको हुनुपर्ने लगायतका सर्तहरु पालना गरेको कम्पनीले मात्र हकप्रद र एफपीओ जारी गर्न सक्ने प्रावधान राखेको छ । त्यस्तै प्रचलित कानून बमोजिम परियोजना निर्माणको लागि कुनै निकायबाट इजाजत, अनुमति वा स्वीकृति लिनुपर्ने भएमा लिइसकेको हुनुपर्ने, परियोजना निर्माणको लागि वित्तीय व्यवस्थापन तथा फाइनान्सियल क्लोजरको सैद्धान्तिक सहमतिपत्र प्राप्त गरिसकेको हुनुपर्ने हकप्रद वा एफपीओ जारी गर्नुभन्दा पाँच दिन अगावै परियोजना निर्माणको वित्तिय व्यवस्थापन तथा फाइनान्सियल क्लोजर भएको जानकारी दिइ बोर्डको स्वीकृति लिनुपर्ने सर्तहरु राखेको छ । सो व्यवस्थाबाट बैंक तथा वित्तिय संस्था बाहेकका अन्य सूचिकृत संस्थाहरुले हकप्रद तथा एफपीओ मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने शर्त तथा मापदण्डहरु सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था हुने बोर्डले स्पष्ट पारेको छ । बोर्डले स्पष्ट नीति हुदा लगानी व्यवस्थित हुने र त्यस्ता संस्थाहरु प्रति लगानीकर्ताहरुको विश्वास अभिबृद्धि भई समग्र पूँजी बजारको समयानुकुल विकास तथा विस्तार हुने स्पष्ट पारेको छ । बोर्डको मुख्य शर्त तथा मापदण्डहरु:

सुविसुको ‘मोर देन एक्सपेक्टेड’ योजना अन्तर्गत ईन्टरनेट र टिभीमा ५० प्रतिशत छुट

काठमाडौं, २२ मंसिर । सुविसु केवल नेट प्रा.लि. ले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि मोर देन एक्सपेक्टेड योजना प्रस्तुत गरेको छ । जस अन्तर्गत ग्राहकहरुले क्लियर टिभी एचडी सेटअप बक्स, मोडियम, वाईफाई राउटर जडान खर्च निःशुल्क रुपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । उक्त योजना अन्तर्गत ग्राहकहरुले क्लियर टिभीको प्याकेज २ हजार ९ सय ९९, र इन्टरनेट र टिभी कम्बो प्याकेज ७ हजार ९ सय ९९ मा प्राप्त गर्न सक्नेछन् । कम्पनीले ईन्टरनेट र टिभी सेवाका प्याकेजहरुमा ५० प्रतिशत भन्दा बढि छुट दिएको हो । उक्त योजना सिमित अबधिका लागि लागु गरिएको छ भने योजनामा केही शर्तपनि लागु हुने कम्पनीले जनाएको छ । सुबिसुले ग्राहकहरुलाई एउटै तारबाट ईन्टरनेट र टिभी सेवा प्रदान गर्दछ ।

काठमाडौंमा टाटा टिपर मेला हुने, नयाँ टिपर खरिदका साथै पुराना एक्स्चेन्ज गर्न सकिने

काठमाडौं, २२ मंसिर । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले यही मंसिर २४ र २५ गते आफ्नो प्रधान कार्यालय नैकापमा टाटा टिपर मेला संचालन गर्ने भएको छ । उक्त टिपर मेलामा ग्राहकहरुले टाटा मोटर्स्को अत्याधुनिक टिपरहरु अवलोकन, छनोट र पुराना टिपरहरु एक्स्चेन्ज गर्ने अवसर प्राप्त गर्नेे कुरा कम्पनीले जानकारी गराएको छ । साथै कम्पनीले ग्राहकहरुको पुराना गाडीहरुको चेक जाँच र खरिद गर्ने नयाँ टिपरहरुका लागि अन द स्पट फाइनान्स र बीमा सुविधा प्रदान गर्ने कुरा जानकारी गराएको छ । यी सम्पूर्ण कार्यक्रमहरु एउटै छानामुनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित सम्पन्न हुने कम्पनीले बताएको छ । नेपालभरका टाटा टिपर प्रयोकर्ताहरुका लागि लक्षित गरिएको उक्त टिपर मेलामा सम्पूर्ण दर्शहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने उक्त २ दिने मेलामा दर्शकहरुको उल्लेख्य एवं उत्साहजनक सहभागिता रहने कुरामा कम्पनी आशावादी रहेको छ ।

प्राधिकरणका तीन सञ्चालकले मन्त्रालयमा नै गएर बुझे स्पष्टीकरण पत्र

काठमाडौँ, २२ मंसिर । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकले उर्जा मन्त्रालय गएर स्पष्टीकरण पत्र बुझेका छन् । बुधबार प्राधिकरणका सञ्चाक मनोज कुमार मिश्र, लक्ष्मण प्रसाद अग्रवाल र सुरज लामिछानेले उर्जा सचिव अनुपकुमार उपाध्यायको कार्यालयमा गएर स्पष्टीकरण पत्र बुझेका हुन् । यसअघि मन्त्रालयले घरमा र कार्यालयमा स्पष्टीकरण पत्र पठाउदा पनि उनीहरुले पत्र बुझ्न अस्विकार गरेका थिए । उनीहरुको नाम पत्रिकामा छापिएपछि उनीहरुले पत्र बुझेका हुन् । उनीहरुविरुद्ध उर्जा मन्त्रालयले प्राधिकरण सुधार अभियानमा अवरोध गरेको आरोप लगाइ काराबाही थालेको थियो । सोही कारबाही स्वरुप उनीहरुलाई स्पष्टीकरण पत्र दिइएको हो । उनीहरुले प्राधिकरणका प्रमूख कार्यकारी अधिकृत कुलमान घिसिङको प्रस्ताव बोर्डबाट पारित गर्न दिएका थिएनन् । घिसिङे प्राधिकरण सुधार एवं कम्पनी मोडलमा परियोजना अघि बढाउने प्रस्ताव सञ्चालक समितिमा राखेका थिए ।