विकासन्युज

संविधान संसोधन थाती, चुनाव घोषणाको तयारीमा सरकार

काठमाडौं १९, मंसिर । सरकारले संविधान संशोधन प्रक्रियाका लागि लामो समय नपर्खने भएको छ । प्रस्ताव पारित नभए पनि एक दुई दिनभित्रै चुनाव घोषणा गर्ने सरकारको तयारी छ । सदनमा पेश भएको संशोधन प्रस्ताव पारित हुने या नहुने अनिश्चिता बढिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘अब केही दिनभित्रै यो प्रक्रिया टुङ्ग्याउने’ निष्कर्षमा पुगेका हुन् । माओवादी उच्च तहका नेताका अनुसार सहमति भए नयाँ संरचना अनुसार स्थानीय तहको नभए पुरानै व्यवस्था अनुसार स्थानीय निकायको घोषणा हुनेछ । सदन र सडकमा प्रतिपक्षी नेकपा एमाले सहितका दलले विरोध गरिरहेको बेला संशोधनको पक्षमा रहने अपेक्षा गरिएको मधेसी दलले पनि प्रस्तावको पक्षमा खुलेर समर्थन नगरेपछि प्रधानमन्त्री प्रचण्डले ‘एक दुई दिनभित्रै यसलाई टुङ्गोमा पुर्‍याउने’ पहल गरिरहेका छन् । नेकपा माआवादीं केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले शनिबार पार्टी कार्यालय तथा पोलिटब्युरोको बैठकमा यही आशयको कुरा राखेको बैठकमा सहभागी एक पोलिट्ब्युरो सदस्यले जानकारी दिए । उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय बैठकले प्रस्ताव पारित हुने या नहुने दुवै अवस्थामा चुनाव घोषणा गरेर नयाँ प्रक्रियामा जाने निर्णय गरेको बताए। ‘प्रस्ताव पारित गर्नका लागि मधेसी मोर्चाका नेतादलहरुसंग छलफल भइरहेको छ । प्रस्ताव पारित गरेर चुनावमा जानु नै अहिलेको उत्तम विकल्प हो,’श्रेष्ठले भने, ‘तर उहाँहरुले समर्थन गर्नुभएन भने यो प्रक्रिया अगाडि बढ्दैन । यदि त्यसो भयो भने पनि चुनावको घोषणा हुन्छ । ’ पोलिटब्युरो बैठकमा प्रचण्डले संविधान संशोधनमा सबैको सहमति जुटाउन सरकार प्रयत्नशील रहेको बताएका थिए । उनले प्रमुख प्रतिपक्षी र मधेसी मोर्चासँग सरकार निरन्तर संवादमा रहेको जानकारी दिँदै संविधान संशोधनमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेको बताएका थिए । गोरखापत्र दैनिकबाट ।

मेलम्चीमा सुनखानीको आंशका, सुरक्षा कडा पारेर वरिपरी जानै निषेध

काठमाडौं १९, मंसिर । हेलम्बुस्थित मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा भेटिएको पहेंलो पदार्थ आउने पहाडको भाग खानी हुने आशंकामा शनिबारदेखि सुरक्षामा कडाइ गरिएको छ । गेटपारिका स्थानीयहरुलाई बाहेक सबैलाई आउन जान पुरै रोक लगाइएको छ । पहेंलो पदार्थ भएको ढुंगा सुन या खनिज हुनेसक्ने आशंकामा सुरक्षाकर्मीद्वारा बाहिरी गेटबाट समेत आवात जावत गर्न गेटपारिका स्थानीय बाहेक अरुलाई निषेध गरिएको छ । ‘गेट पारि बस्नेले मात्रै उता जान पाउँछन् अरु सबैलाई आउन जान निषेध छ,’ हेलम्बुका स्थानीय ग्याल्देन शेर्पाले भने, ‘प्रत्येक चोटी हामीले आउजाउ गर्न अनुमति लिनपरेको छ ।’ उनले आफ्नै घर जानपनि अनुमति लिएर जानुपर्ने अवस्था भएको जानकारी दिए । उनी मात्र होइन हेलम्बु ७, ८, ९ का सबै स्थानीयहरु अहिले बाहिरी गेटमा बसेका सेनासँग अनुमति लिएर मात्रै पार गर्न पाउँछन । आउँदा छुट्टै अनुमति लिनुपर्ने प्रावधान गरिएको छ । निर्माणको काम नै रोकेर ल्याब टेष्टको लागि लगिएको उक्त पहेंलो पदार्थ के हो भन्ने तथ्य अहिलेसम्म पत्ता लागिसकेको छैन । हाल भने उक्त स्थानको केही भाग बाहेक सबै कार्य सुचारु गरिएको मेलम्ची आयोजनाका प्रमुख घनश्याम भट्टराइले जानकारी दिएका छन् । ‘चम्कीलो पहेंलो कण देखिएकाले सुनको आशंका गरिएको हो । आहिले यकिन भन्न सकिने अवस्था छैन,’ प्रमुख भट्टराइले भने, ‘भूर्गभविदले सुन हुन नसक्ने क्षेत्रको रुपमा दाबी गरेपनि उक्त पदार्थ के हो भन्ने यकिन नभएकाले संरक्षणमा लागेका हौं । यो के हो खानी विभागले आइतबार टेष्टपछि निर्क्यौल निकाल्ने छ ।’ उनले मेलम्ची आयोजनाको हेडवर्क्स साइटमा ड्यामको वर्कस्पट बनाउने कामका साथै खानी वरीपरी सुरक्षाको लागि वायरसेभ, काँडेतार लगाइसकेको जानकारी दिए । उनका अनुसार मेलम्ची खानेपानीको मुख्य ड्याम निर्माणको काम धमाधम भइरहेको र सुन खनिजको अनुमानमा सुरक्षामा कडाइ गरिएको छ । कान्तिपुर दैनिकबाट ।

गोविन्द केसीले आज अनशन तोड्दै, केसीको मागबारे सहमति नजिक

काठमाडौं १९, मंसिर । डा. गोविन्द केसीले आइतबार अनशन तोड्ने सम्भावना छ । केसी समर्थक र सरकारी वार्ता टोली शनिबार सहमतिनजिक पुगे पनि औपचारिक रूपमा आइतबार मात्र हस्ताक्षर गर्ने समझदारी भएको छ । केसी समर्थक र सरकारी वार्ता टोलीले १२ बुँदे मस्यौदा तयार पारेको थियो ।  केसीले सहमतिलाई मन्त्रिपरिषद् बैठकले पास गर्नुपर्ने, दुई साताभित्र न्यायिक परिषद् गठन गर्नुपर्नेलगायत विषयमा अडान राखेका छन् । उनले त्रिविका उपकुलपति डा। तीर्थ खनियाँको राजीनामाको अडानलाई पनि छाडेका छैनन् । शनिबार दिउँसो नै केसीलाई सहमत गराई हस्ताक्षर गराउने भनिए पनि नसकिएको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले बताए । तर, मोटामोटी रूपमा १२ बुँदामा सहमति भइसकेकाले आइतबारसम्म केसीले अनशन तोड्ने उनले विश्वास व्यक्त गरे । केसीका सहयोगी जीवन क्षेत्रीले पनि दुई पक्षले तयार पारेको मस्यौदामा माटामोटी सहमति भइसकेकाले आइतबार अनशन तोड्न सक्ने बताए । केसीले बिहान ९ बजे पत्रकार सम्मेलन गरी आफ्नो धारणा राख्ने तयारी गरेका छन् । नयाँ पत्रिका दैनिकबाट ।

सेवाप्रदायकको सुविधासँगै दुईवटा सिमकार्ड प्रयोग गर्ने बढे

काठमाडौं १९, मंसिर । दूरसञ्चारको पहुँच विस्तारसँगै दोहोरो सिमकार्ड प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । सेवाप्रदायक कम्पनीहरुबीचको तीव्र प्रतिस्पर्धाका कारण भिन्न सुविधाका लागि उपभोक्ताले दोहोरो सिमकार्ड प्रयोग गर्छन् । डबल सिमकार्ड प्रयोग हुने स्मार्टफोन र एक कम्पनीबाट अर्कोमा लाग्ने शुल्कसमेत महँगो भएपछि दोहोरो सिमकार्ड प्रयोगकताको संख्या बढेको हो । प्राधिकरणले सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम प्रतिवेदनका अनुसार साउनसम्म ३ करोड १८ लाख २० हजारमा दूरसञ्चार सेवा पुगेको छ । कुल दूरसञ्चार पहुँचमध्ये ३ करोड ग्राहक मोवाइल सेवामार्फत छन् । कारोबार दैनिकबाट ।

भूकम्पपीडितले नयाँ ट्याक्सी तत्काल नपाउने, प्रक्रिया नै झन्झटिलो भएकोले ट्याक्सी दर्ता नम्बर आएन

काठमाडौं १९, मंसिर । फारम विवरण भरेको साढे तीन महिना हुँदा पनि सरकारले भूकम्पपीडितलाई ट्याक्सीको दर्ता नम्बर दिन सकेको छैन । सरकारले भूकम्पपीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सी वितरण गर्न गत ५ साउनदेखि २ भदौसम्म फारम भराएको थियो । यातायात व्यवस्था कार्यालयमार्फत वितरण गरेर भराइएका फाराम व्यवस्थापन गर्न झन्झटिलो भएकोले दर्ता नम्बर दिन ढिलाइ भएको हो । नम्बर तितरण गर्न अझै साँढे तीन महिनाभन्दा बढी समय लाग्ने बताइएको छ । साना ठूला सवारी साधन यातायात व्यवस्था कार्यालयका अनुसार ट्याक्सीको नम्बर वितरण गर्न अझै तीन महिना लाग्ने छ । सबै फारम व्यवस्थित गर्न नयाँ कम्प्युटर सर्भर बनाउनुपर्ने भएकोले समय लागेको कार्यालयका प्रमुख वसन्त अधिकारी बताए । नयाँ पत्रिका दैनिकबाट ।

रिङरोड विस्तारको काम सुस्त, निर्माण कार्यले गति नलिए २७ किमी विस्तार गर्न १२ वर्ष लाग्ने

काठमाडौं १९, मंसिर । सरकारी उदासीनताका कारण राजधानीको रिङरोड विस्तारमा ढिलाइ भएको छ । अहिलेकै गतिमा काम गर्दै जाने हो भने २७ किलोमिटर रिङरोड विस्तारको काम सन् २०२९ मा मात्र सकिनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले रिङरोड निर्माणलाई गम्भीर रूपमा नलिँदा निर्माण कहिले सकिन्छ भन्ने अनिश्चित भएको छ । रिङरोडको पहिलो चरण कलंकीदेखि कोटेश्वर खण्ड १० दशमलव ३९ किमि विस्तार सन् २०१२ बाट थालिएको हो । तर, सन् २०१८ जुलाईमा मात्र उक्त खण्ड पूर्ण रूपमा निर्माण हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको आँकलन छ । यस हिसाबमा हेर्दा साढे ६ वर्षमा रिङरोडको १० दशमलव ३९ किमि खण्डको मात्र विस्तार सम्पन्न हुनेछ । ५ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त ८ लेन सडकको निर्माण चिनियाँ कम्पनी सांघाई कन्ट्रस्क्सनले गरिरहेको छ । भूकम्प र भारतले लगाएको नाकाबन्दीका कारण पनि निर्माण कार्यमा थप ढिलाइ भयो । २०७२ माघको अन्त्यमा नाकाबन्दी खुलेसँगै विस्तारको काम पुनः सुरु भएको हो । तर, यसमा पनि थप २ वर्ष लाग्ने देखिएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका प्रमुख ज्ञानेन्द्र झा चालु आवमा ५ किमि मात्र कालोपत्रे गर्ने योजना रहेको बताउँछन् । कान्तिपुर दैनिकबाट ।

भारतमा ‘नगद विनाश’का कारण अराजकता र खर्च गर्ने होड, पेट्रोल पम्पहरूमा तनाव

नयाँ दिल्ली, १७ मंसिर । भारतका जनता शुक्रबार मध्यरातको समयसीमापूर्व पुराना नोट पेट्रोल पम्पमा खर्च गर्ने होडमा छन् भने प्रतिपक्षले उच्च दरका नोट रद्द गर्ने सरकारी निर्णय विनाशकारी भएको आरोप लगाएको छ । सरकारले पेट्रोल पम्पमा पुराना नोट उपयोग गर्न सकिने समयसीमा डिसेम्बर १५ का लागि तोके पनि त्यसलाई बिहीबार साँझ २४ घण्टामा घटायो । सरकारको अकस्मात यस पाइलाका कारण लाखौँ जनता क्रुद्ध भई पेट्रोल पम्पमा लाइनमा पुगेका छन् भने त्यहाँ पनि गाडीधनीबीच झगडा देखा परेको बताइएको छ । पुरानो दुईपाङ्ग्रेमा आफ्नो पालो कुर्दै गरेका आरएस आदवले सरकारले पहिले डिसेम्बर १५ सम्म समय दिएको र हाल त्यसलाई उल्ट्याएको सही नभएको बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना रु ५००।– र रु एक हजारका नोटलाई कानुनी मान्यता नदिने घोषणा गर्नुभएपछि भारतमा अराजकता उत्पन्न भएको छ । भारतमा हाल प्रचलनमा आएका ८६ प्रतिशत नोट यी दुई दरको भएको बताइएको छ । सरकारले यी दुई नोट हटाउने कार्य कालो तथा अघोषित नगदलाई औपचारिक प्रणालीमा ल्याउन गरिएको दाबी गरेको छ । यी नोटलाई कानुनी मान्यता नदिने कार्यको आरम्भमा व्यापक समर्थन प्राप्त भए पनि नयाँ नोट झिक्न पाउने सीमाका कारण जनतामा दिक्दारी बढेको छ । भारतमा कारोबारको ९० प्रतिशत भाग नगदमा हुने गर्छ र सरकारले नयाँ नोट वितरणमा केही समय लाग्ने बताएको छ । निजी क्षेत्रमा काम गर्ने सौरभ मल्लिकले आफूले पेट्रोल किन्न पुराना नोट प्रयोग गरिरहेको र अब आफू बैंक जान डराइरहेको बताए । नगदको कमी निरन्तर रहेपछि क्रोध बढेको छ र प्रतिपक्षी कङ्ग्रेस पार्टीका नेताहरूले मोदी सरकारले एक अर्ब ३० करोड जनताको वित्तीय भविष्यलाई परीक्षण गरेको आरोप लगाएका छन् । एक प्रतिवेदनमा उपभोक्ताको खर्चमा निकै कटौती भएको उल्लेख गरिएको छ भने आफ्ना पार्टीका समर्थकहरूलाई सम्बोधन गर्दै प्रतिपक्षी नेता राहुल गान्धीले सरकारको विनाशक परीक्षणको नतिजा छिटै देखिने बताए । उनले ख्यातिप्राप्त सबै अर्थशास्त्रीले यस पाइलाको भत्र्सना गरेको बताए । एटीएममा पनि नियमित रूपमा नगद सकिँदा केही व्यक्तिले घण्टौँसम्म लाइनमा बिताउनुपरेको छ । विभिन्न समूहबाट दबाब आउँदा तथा अव्यवस्था बढ्दा सरकारले नियममा पटकपटक परिवर्तन गरेको छ र यसले अवस्थालाई अझै नकारात्मक बनाएको छ । पुराना नोट भएका व्यक्तिलाई यस वर्षको अन्त्यसम्म बैंकमा जम्मा गर्न अनुमति दिइएको छ र बैंकमा लामो लाइनका कारण व्यक्तिहरू पेट्रोल तथा ग्यास स्टेसनमा पुगेका छन् । अब यो विकल्प पनि नरहने भएको छ ।  अर्थमन्त्री अरुण जेट्लीले भारत जस्तो आकारको मुलुकमा लाइन देखिनु सामान्य कुरा भएको स्वीकार गरे । उनले नयाँ दिल्लीमा मुलुकको ८६ प्रतिशत नगदलाई प्रतिस्थापन गर्दा समय लाग्ने बताए । उनले यसले अन्त्यमा सरकारात्मक प्रभाव पार्ने र धेरै उपभोक्ता डिजिटल माध्यममा प्रवेश गर्ने बताए । उनले नगदको कमीले पनि यस्तो हुने र यो राम्रोका लागि विकास भएको बताए। नुभयो । भारतको अर्थतन्त्र गत तीन महिनामा ७।३ प्रतिशतले वृद्धि भएको देखिए पनि धेरै अर्थशास्त्रीले ठूला नोटको कानुनी मान्यता नरहँदा यो अङ्कमा कमी आउने दाबी गरेका छन् । हिन्दुस्तान टाइम्सले शुक्रबार अर्थतन्त्रमा सङ्कुचन देखिन थालिएको र मोबाइल फोन, घरेलु उपकरण, गाडी र घरजग्गाको बिक्रीमा कमी आएको उल्लेख गरेको छ । रासस/एएफपी

तस्करी भइरहेको १० किलो सुन बरामद, प्रहरी भन्छ तस्करहरु मोटरसाइकल छोडेर भागे

काठमाडौँ, १८ मंसिर । प्रहरीले बौद्धको फुलबारी क्षेत्रबाट तस्करी भइरहेको १० किलो सुन बरामद गरेको छ । गएराति गस्तीमा रहेको प्रहरी देख्नासाथ मोटरसाइकलमा सवार दुई व्यक्ति मोटरसाइकल छोडी भागेपछि जाँच गर्दा सो सुन बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए । बा ५५ प १७७२ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलको भित्रि भागमा लुकाइराखेको अवस्थामा सो सुन भेटिएको हो । मोटरसाइकलमा सवार अभियुक्त र मोटरसाइकल धनीको सम्बन्धमा छानविन भइरहेको उनले बताए । प्रवक्ता कार्कीले भने“आज शनिबार भएकाले बरामद सुन आइतबार राजस्व विभागको जिम्मा लगाउँछौं ।” बिस्कुटको आकारमा रहेको १० वटा टुक्रामा रहेको सो सुनको बजारमूल्य रु चार करोडभन्दा बढी पर्छ । रासस