विकासन्युज

सुरुङ, टनेल र मेट्रो रेल विकासका लागि नयाँ विभाग स्थापना हुने

काठमाडौं ६, मंसिर । मुलुकको सुरुङ, टनेल र मेट्रो रेल विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नयाँ विभागको स्थापना हुने भएको छ । २६औँ वार्षिकोत्सवका अवसरमा सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चर इञ्जिनियरिङ फर्मसद्वारा राजधानीमा आइतबार आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले मुलुकको सुरुङ, टनेल र मेट्रो रेल विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नयाँ विभागको स्थापना हुने तयारी भइरहेको जानकारी दिए। मुलुकको आर्थिक समृद्धिबिना लोकतन्त्रको संस्थागत विकास सम्भव नरहेको बताउँदै उनले मुलुकको आर्थिक विकासका लागि आफूले आफ्नो पद र हैसियत अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा डा.विनोदलाल अमात्यले ‘मेट्रो रेल सञ्जालमार्फत काठमाडौँ उपत्यकाको नयाँ विकास’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। गोरखापत्र देनिकबाट ।

अमेरिका लैजाने आवश्वासनमा ठगी, एकै व्यक्तिको २९ लाख गुम्यो

काठमाडौं ६, मंसिर । मन्त्रीको भ्रमण टोलीमा मिसाएर बेलायत पुर्‍याइदिने आश्वासन पाएपछि पर्वत शंकरपोखरीका विनोद सेवाले २९ लाख रुपैयाँ बुझाए । काठमाडौं, कपनका सन्तोष कटवालले पनि उसैगरी अमेरिका पुर्‍याइदिने आश्वासनमा विश्वास गरेर ९ लाख रुपैयाँ बुझाए । उनीहरू दुवै त्यतिबेला झसंग भए, जतिबेला रकम लिएको मान्छे नै सम्पर्कविहीन भयो । उनीहरूलाई अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम असुल्ने व्यक्ति थिए, ललितपुर इमाडोलका मनोजबहादुर सिंह । आफूलाई राजा बाबु र अनुप सिंह जस्ता नामबाट चिनाउने र कोहीलाई पाइलट बताउने, कसैलाई हिन्दु प्रजातान्त्रिक पार्टी नेपालको उपाध्यक्ष रहेको परिचयपत्र देखाउने सिंह यसअघि पनि वैदेशिक रोजगारीको ठगीको मुद्दामा परेका व्यक्ति हुन् । वैदेशिक रोजगार विभागमा परेको ठगी मुद्दामा २०७० साउन २० मा उनले बयान दिएको रेकर्डले देखाउँछ । रामकाजी श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, विष्णु गौतम, कमल गौतम, कृष्णकान्त गौतम, रिसव गौतम र हर्षमान गौतमलाई वैदेशिक रोजगारीमा लगिदिने बहानामा ९३ लाख रुपैयाँ लिएको भन्दै अशोककुमार कारिन्जतविरुद्ध परेको मुद्दामा सिंह तानिएका थिए । कारिन्जतले बयानका क्रममा पीडितहरूबाट उठाएको ९३ लाख रुपैयाँ सिंहले लिएको बताएका थिए । ठगिएका अधिकांशलाई सिंहले मन्त्री विदेश जाने टोलीमा समावेश गरेर पठाइदिने आश्वासन दिएका थिए । केहीलाई भने दलित कोटामा पारेर ‘सेटिङ’मा अमेरिका पुर्‍याउने बचन दिएका थिए । उनले सेवा र कटवालजस्तै करिब २९ जनाबाट उस्तै प्रकृतिको आश्वासनमा करिब चार करोड रुपैयाँ उनले लिएको खुलेको छ । बडी गार्ड लिएर हिँडने र विभिन्न मन्त्रीसँग आफ्नो सोझो सम्बन्ध रहेको बताउने सिंहले रकम बुझाएकाहरूलाई झुलाउन अनेकन तिकडम रचेको देखिन्छ । कतिसम्म भने उनले असार २० मा इमाडोलस्थित एक होटलमा पासपोर्ट वितरण गरिने कार्यक्रम आयोजना हुँदैछ भन्ने व्यहोराका पत्रसमेत तयार पारेका थिए । सिद्धिदाता इन्टरप्राइजेजको नामबाट तयार पारिएको उक्त पत्रमा विषय लेखिएको छ, प्रमुख अतिथिको आसन ग्रहण गरी पासपोर्ट वितरण गरिने सम्बन्धमा । उक्त पत्रमा तत्कालीन उपप्रधानमन्त्री, श्रम तथा रोजगार मन्त्री र वाणिज्य मन्त्रीको उपस्थिति हुनेसमेत उल्लेख छ  । कोही आफन्तमार्फत, कोही ज्योतिषमार्फत पीडितहरू मनोजको सम्पर्कमा पुगेको देखिन्छ । खिमबहादुर परियारले सिंहका निकट आकाश लामालाई ३८ लाख रुपैयाँ बुझाएका थिए । ‘पैसा जसले बुझे पनि मनोजकै पासो हो,’ परियारले भने । उनलाई सिंहले अमेरिकाको भिसा लागेको नक्कली कागज नै बनाएर दिएका थिए । अमेरिका पुर्‍याएर छाडिदिने आश्वासनको चंगुलमा परेकाहरूले बैंकिक च्यानलमार्फत नभई हातैमा रकम बुझाएका थिए । आइतबार नै ठगिएका केही पीडित महानगरीय प्रहरी परिसर पुगेर एसएसपी सर्वेन्द्र खनाललाई पनि भेटेका थिए । कान्तिपुर दैनिकबाट ।

वैधानिक स्रोत देखाए भारु साट्न सकिने सुझाव, बैंकबाट साट्न दिने मोडालिटि बनाउँदै राष्ट्र बैंक

काठमाडौं ६, मंसिर । भारु पाँचसय र हजार दरका नोटको आम्दानी वा सटही गरेको प्रमाण पेस गर्न सके साट्न दिन यस विषयमा राय दिन गठन गरेको समितिले आग्रह गर्ने भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित उक्त समितिले राष्ट्र बैंकले तोकिदिएको फारम भरेर बैंक खाताबाट मात्रै नोट सटही गर्न सकिने गरी मोडालिटी तयार गरेको हो । नोट सटहीको मोडालिटी र वैधानिक स्रोतबाट आम्दानी भएका नोट पहिचानबारेमा अवधारणा पत्रमा यी विषय समावेश गरिएको डेपुटी गभर्नर सिवाकोटीले जानकारी दिए । नेपालस्थित भारतीय राजदूतावासले नोट सटहीको भरपर्दो विधि (मोडालिटी)मागेपछि राष्ट्र बैंकले भारु व्यवस्थापन समिति गठन भएको थियो । समितिले नोट सटहीको मोडालिटी र वैधानिक नोट पहिचानबारेमा अवधारणा पत्र तयार गरेको छ । अवधारणा पत्र सम्बन्धमा भारतीय राजदूतावासका कर्मचारीहरूसँग अनौपचारिक छलफल भए पनि राष्ट्र बैंकले औपचारिक रूपमा बुझाइसकेको छैन । ‘नोट सटहीलाई कसरी व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा अवधारणा पत्र निर्माण गरिरहेका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर सिवाकोटीले भने, ‘भारतीय राजदूतावासमार्फत भारत सरकारलाई बुझाउँछौं । त्यसपछि भारतको जवाफ के हुन्छ । त्यसकै आधारमा नोट सटहीबारे निर्णय हुनेछ ।’ बैंकिङ प्रणालीमार्फत नेपालमा रहेको सबै वैधानिक नोट सटही होस् भन्ने राष्ट्र बैंकको उद्देश्य भएको र सोहीअनुरूप मोडालीटी तयार भएको उनले जनाए । राष्ट्र बैंकले बनाएको मोडालीटीमा ग्राहकको पूर्ण पहिचान केवाईसी भएको बैंक खातामार्फत अनिवार्य गरिएको छ । यस्तै, नोट सटहीका लागि ग्राहकले राष्ट्र बैंकले तोकेको फाराम भर्नुपर्ने छ । फाराममा सटही गर्न नोटको नम्बर, आम्दानी वैध भएको भरपर्दो स्रोत, एउटा बैंकबाट मात्र सटही गर्ने प्रतिवद्धतालगायत थुप्रै विवरण समावेस भएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भिष्मराज ढुङगानाले बताए । ‘नेपालीसँग रहेको सबै वैधानिक रकम साटीयोस भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘ यसकारण प्रतिव्यक्ति २५ हजार सटही गर्नुपर्‍यो भनेर भारतलाई भनेका छैनौं । तर, सर्वसाधारणले २५ हजारसम्म सटही सुविधा पाएकाले न्यूनतम त्यत्ति रकम साटीनुपर्छ भन्ने हाम्रो माग हो ।’ राष्ट्र बैंकले बनाएको मोडालिटी अनुसार भारु पाँचसय र हजार दरका नोट सटहीको क्रममा भरपर्दो स्रोत नभए र नोट नक्कली निस्किए कानून बमोजिम कारवाही भोग्ने कुरामा ग्राहकले पहिले नै प्रतिवद्धता जनाउनुपर्ने छ । नोट सटहीका लागि बैंक खाता अनिवार्य हुनुपर्नेछ । एउटाभन्दा बढी बैंकमा खाता भएपनि एउटै खाताबाट मात्र नोट सटही सुविधा पाइनेछ । कुनै ग्राहकले एकभन्दा बढी खाताबाट नोट सटही गरेको भेटिएमा राष्ट्र बैंकले कानुन बमोजिम कारवाही गर्नेछ । राष्ट्र बैंकले तयार गरेको मोडालिटी भारतलाई स्वीकार्य भए सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा ‘होम नोटिस’ अनिवार्य रुपमा प्रकाशित गर्नुपर्नेछ । नोट सटही गर्ने ग्राहकले पूर्ण रुपमा केवाईसी भर्नुपर्नेछ । भारतले नोट सटहीका लागि कडाई गरे अनुरुप नेपालले पनि सकेसम्म भारतलाई आश्वस्त पार्न खोजेको छ । कान्तिपुर दैनिकबाट ।

सांसदको तलब सुविधा एक लाख नाघ्यो, सुविधा बृद्धि तत्काल महाअभियोग भने पछाडि थकेलियो

काठमाडौं ६, मंसिर । व्यवस्थापिका–संसद्का सदस्य तथा पदाधिकारीको पारिश्रमिक र सुविधा बढाइएको छ । आइतबार बसेको संसद् बैठकले संघीय संसद्का पदाधिकारी र सदस्यको पारिश्रमिक र सुविधा बढाउने विधेयकलाई संशोधनसहित पारित गरेको हो ।कबmकबम ११ सांसदले राखेको संशोधन प्रस्तावलाई एकमुष्ट गर्दै कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राखेको प्रस्तावलाई संसद्ले पारित गरेको छ । विधेयकबमोजिम सांसदको मासिक तलब बैठक बसेको दिनको गणना गर्दा ८१ हजार २ सय ३० रुपैयाँ हुने भएको छ । तलब ५५ हजार २ सय ३० बनाइएको छ । विशेष भत्ता मासिक १ हजार बनाइएको छ । यस्तै, सञ्चार सुविधाबापत ३ हजार रुपैयाँ राखिएको छ । बैठकभत्ता बैठक बसेको दिनको हजार रुपैयाँ बनाइएको छ । यसैगरी, आवास सुविधा १८ हजार पाउने भएका छन् भने फर्निचर खर्च १५ हजार बनाइएको छ । यातायात सुविधा पनि १ हजार राखिएको छ । विधेयक पारित भएपछि सांसदले धारा र बिजुली खर्चबापत प्रतिमहिना २ हजार रुपैयाँ पाउने भएका छन् । दैनिक भ्रमण भत्ता २ हजार ५ सय राखिएको छ । पैदल भ्रमण भत्ता भने हटाइएको छ । यात्रा बिमा प्रतिभ्रमण १० लाख रुपैयाँ राखिएको छ । यसैगरी, मृत्यु भएको पदाधिकारी वा सदस्यको परिवारलाई आर्थिक सहायताबापत २ लाख रुपैयाँ र अशक्त भएको पदाधिकारी वा सदस्यलाई आर्थिक सहायताबापत ५० हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ । पदाधिकारी र सदस्यहरूको भत्ता, आवास सुविधा, सवारीसाधन तथा इन्धन सुुविधा १ साउनदेखि लागू हुनेछ । तर, अन्य व्यवस्था भने मंसिरबाट लागू हुने व्यवस्था गरिएको छ । पदाधिकारीमा सभामुख, अध्यक्ष, विपक्षी दलका नेता, सत्ता पक्षका नेता, सत्ता पक्षका प्रमुख सचेतक, उपसभामुख, उपाध्यक्ष, विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षका प्रमुख सचेतक, दलका प्रमुख सचेतक, सत्ता पक्षका सचेतक, विपक्षी दलका सचेतक र सभापतिलाई उल्लेख गरिएको छ । जसअनुसार अब कांग्रेस, एमाले माओवादी केन्द्र र राप्रपा नेपालका सचेतकले पनि गाडी सुविधा पाउने भएका छन् । साना दलमा संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, तमलोपा र राप्रपाका सचेतकले पनि गाडी सुविधा पाउने भएका छन् । सचेतकहरूलाई पनि पदाधिकारीको कोटामा यो विधेयकले राखेको छ । विधेयकले सत्ता पक्षको प्रमुख सचेतक भन्नाले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेताले वा त्यसरी बहुमत प्राप्त गर्ने कुनै दल नभए प्रतिनिधि सभामा १० प्रतिशतभन्दा बढी सदस्य भएको सत्तामा सहभागी दलको संसदीय दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न पाउने व्यवस्था गरेको छ । राजधानी दैनिकबाट।

दुई अर्ब बचाउन अशुद्ध किताबमै पढाई, १ देखि १० कक्षासम्मको पुस्तक अशुद्ध

काठमाडौं ६, मंसिर । अशुद्ध र अस्वीकृत भाषालाई सच्याउने निर्णय त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञा प्रतिष्ठान र पाठ्यक्रम विकास केन्द्रले गरे पनि त्यस्तो भाषा प्रयोग गरिएका कक्षा एकदेखि दससम्मका करिब दुई अर्ब मूल्यबराबरका पुस्तक तत्काल नफेरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले बजेर र समय अभावका कारण देखाउँदै आगामी शैक्षिक सत्रमा अशुद्ध पाठ्यपुस्तक नै पढाउने भएको हो । विद्यालय तहका सबै पाठ्यपुस्तक तयार पार्ने केन्द्रले पुस्तक छपाईमा झण्डै दुई अर्ब खर्च हुने भन्दै कम्पतीमा एक वर्ष र बढीमा दुई वर्षसम्म पुरानै पाठ्यक्रम प्रयोगमा ल्याउने अडान लिएको हो । भाषा बिगारेको भन्दै अभियानका रुपमा लागेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालले पहल थालेपछि त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागले असोज १४ गते अनिवार्य नेपाली शिक्षण निर्देशिका २०६६ को विवादित वर्णविन्यास खारेज गर्ने निर्णय गरेको छ भने नेपाल प्रज्ञा प्रतिष्ठानले पनि कात्तिक ३० गते नेपाली बृहत शब्दकोष २०७२ खारेज गरिसकेको छ । अन्नपूर्ण पोस्टबाट ।

एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब भ्वाईस सेवा २५ पैसा प्रति मिनेटमा

काठमाडौं, ५ मंसिर । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि भ्वाईस प्याकमा ‘एकमा दुई अफर’ अफर सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब कर सहित २५ पैसा प्रति मिनेट सम्ममा एनसेलको अन्य नम्बरमा कल गर्न सक्नेछन् । यो योजना सोमबार (मंसिर ६, २०७३) बाट लागु हुनेछ । यस योजना अन्र्तगत हालकै मुल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाईस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्नेछन् । यसको मतलब, रु ११ मा ११ मिनेट टक टाईम भएको दैनिक भ्वाईस प्याकको खरिदमा अब ग्राहकले २२ मिनेट टक टाईम प्राप्त गर्नेछन् जुन २४ घण्टाको लागि मान्य हुनेछ । साप्ताहिक भ्वाईस प्याकमा ग्राहकले रु ६० मा सात दिनको समयसिमा भएको १४० मिनेट टक टाईम पाउनेछन् । हाल यो प्याकमा ग्राहकले ७० मिनेट पाउने गरेकाछन् । त्यसैगरी, मासिक भ्वाईस प्याकमा अब ग्राहकले रु २०० मा ४०० मिनेट नभई ८०० मिनेट प्राप्त गर्नेछन् । यसरी ग्राहकले अब मासिक भ्वाईस प्याक खरिद गर्दा २५ पैसा प्रति मिनेट सम्ममा कल गर्न सक्नेछन् । भ्वाईस प्याकका मुल्यहरु कर सहितका हुन् । ग्राहकले आफ्नो भ्वाईस सेवाको आवश्यकता अनुसार युएसएसडी, आईभिआर, एसएमएस लगायतका माध्यमबाट भ्वाइस प्याक सुचारु गरि ‘एकमा दुई अफर’ लाभ लिन सक्नेछन् । ग्राहकले १७११८ डायल गरेर दैनिक भ्वाईस प्याकका लागि १, साप्ताहिक भ्वाईस प्याकका लागि २ र मासिक भ्वाईस प्याकका लागि ५ थिचेर यो सेवा सुचारु गर्न सक्नेछन् । युएसएसडीबाट सेवा सुचारु गर्न ग्राहकहरुले एस्ट्रिक १७११८ ह्यास डायल गरि आफुलाई चाहिएको विकल्प छनोट गरी सेवा सुचारु गर्न सक्नेछन् । त्यसैगरी, एसएमएस मार्फत भ्वाईस प्याक खरिद गर्न ग्राहकहरुले दैनिक भ्वाईस प्याकका लागि ११, साप्ताहिक भ्वाईस प्याकका लागि ६० र मासिक भ्वाईस प्याकका लागि २०० टाइप गरी १७११८ मा एसएमएस पठाई सेवा सुचारु गर्न सक्नेछन् । ‘‘सेवाको शुल्क अझै घटाउँदै ग्राहकहरुका लागि थप मुल्य प्रदान गर्न यो अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौ । सुलभ दरमा उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप यो अफर ल्याइएको छ ।’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । एकमा दुई अफर तीन महिनाको लागि मान्य हुनेछ । भ्वाईस प्याकको समयावधि सकिएपछि वा टक टाइम सकिएपछि, ग्राहकहरुलाई एनसेलबाट एनसेलमा कल गर्दा विद्यमान् शुल्क रु २.५० (कर सहित) प्रति मिनट लाग्ने छ ।

हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता मंसिर १० देखि हुने, मेलालाई कलात्मक र सास्कृति बनाइने

काठमाडौं, ५ मंसिर । नेपाल हस्तकला महासंघले हस्तकला व्यापार मेला मंसिर १० देखि १४ गतेसम्म काडमाडौंको भृकुटीमण्डपमा गर्न लागेको छ । वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोगमा वार्षिक क्यालेन्डर इभेन्टको रुपमा प्रत्येक वर्ष महासंघले व्यापार मेला आयोजना गर्दे आई रहेको छ । मेलामा परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रर्दशनी हुने, हस्कलाका सामाग्रीको आगामी वर्ष २०१७/१८ को ट्रेन डिस्प्ले हुने, मेलामा प्रर्दशीत हुने हस्तकलाका वस्तु मध्येबाट उत्कृष्ट वस्तु प्रतियोगिता हुने, मेला मार्फत अर्मूत सास्कृतिक सम्पदाको उजागर गरिने, विटुवी (विजनेश टु विजनेश) बैठक हुने आयोजकले जनाएको छ । मेलामा ७ वटा प्याभिलियन सहित १७६ स्टल रहने छन् । हालसम्म ७ वटा प्याभिलियन र सम्पूर्ण स्टलहरु बिक्री भईसकेका छन् । मेलामा रहने प्याभिलियनहरु मध्येबाट उत्कृष्ट हुने एक प्याभिलियन र एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि ब्यवस्था गरिएको छ । मेलामा नेपाल भित्र महासंघका जिल्ला हस्तकला संघहरु,बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध करिव २५ वटा जिल्लाका सदस्य उद्यमी ब्यवसायीहरु, काठमाडौं उपत्यका लगायत देशको विभिन्न भौगोलिक क्षेत्रको जाति जनजाति कै प्रतिनिधित्व गर्ने स्थानीय हस्तकला सामाग्रीहरुलाई उच्च प्राथमिकता दिई प्रदशर््ानीे तथा बिक्रीको लागि राखिने छ । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु साथै जडिवुटी, अर्थोडक्स चिया आदि प्रर्दशनी तथा विक्रीका लागि राखिने छन् । नेपाल एकिकृत व्यापार रणनीति भित्र समावेश रहेका वस्तुहरुलाई पनि मेलामा प्रतिनिधित्व गराईने महासंघले जनाएको छ । मेलाको समुद्घाट्न उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने कार्यक्रम रहेको छ । व्यापार मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको दर रु ५० निर्धारण गरिएको छ भने विद्यार्थी वर्गलाई ५० प्रतिशत सहुलियतको व्यवस्था गरिएकोे छ । मेलामा झण्डै २ लाख आगन्तुक आउने अनुमान गरिएको छ । मेला अवधिमा स्टलमा हुने प्रत्यक्ष कारोवार र व्यवसायिक अर्डर समेत गरी झण्डै १० करोड भन्दा बढिको कारोवार हुने अपेक्षा राखिएको छ । मेलामा, चीन, ईरान,संयुक्त अरव इमिरेट्स, भुटान श्रीलंका लगायतका देशहरुबाट २० जना भन्दा बढि विदेशी आयातकर्ता आउने सम्भावना रहेको महाासंघले जनाएको छ । विदेशी आयातकर्ताले आयातकर्ताको रुपमा मेलामा आउन दर्ता गर्नु पर्ने छ । त्यसरी दर्ता भएका आयातकर्ताहरुलाई महासंघबाट २ रात ३ दिनको लागि होटल सुविधा प्रवन्ध गरिएको छ । उक्त व्यवस्था बढिमा २५ जना आयातकर्ताकाको लागि मिलाईएको छ । १२औं हस्तकला प्रतियोगिता व्यापार मेलाको अवसरमा हस्तकला क्षेत्रका कलाकारहरुको प्रतिभा पहिचान गरी सम्मान गर्ने उद्देश्यले फेडेक्स एभरेष्ट डि कार्को, काठमाडौ. महानगरपालिका र ललितपुर उप महानगरपालिकाको सहयोगमा फेल्ट उल बिधा र प्रस्तरकलामा १२औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी आयोजना गरिने छ । प्रतिभा पहिचान तथा मूल्यांकन गर्ने क्रममा यस वर्ष आधुनिक विधा तर्फ बुनाई र परम्परागत विधा तर्फ धातु पत्रकला (थ्वो ज्या मा ज्या) मा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गरी हौसला बढाउने एवं यस क्षेत्रका कलाकारहरुलाई कदर सम्मान गरी हस्तकला बिकासमा सहयोग पु¥याउने उद्देश्यले १४औं हस्तकला व्यापार मेलाको अवसरमा प्रर्दशनी स्थलमा १२औं हस्तकला प्रतियोगिता (जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी ) प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शन गरिने कार्यक्रम रहेको महासंघको उपाध्यक्ष तथा मेला समितिको कार्यवहाक संयोजक होमनाथ उपाध्ययले जानकारी दिए । उल्लेखित प्रतियोगितामा उत्कृष्ट घोषित प्रति विधा ३ जना कलाकारहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्रबाट पुरष्कृत गरिने छ । प्रति विधा प्रथम हुनलेलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई बीस हजार नगद पुरस्कारको व्यवस्था गरिएको उपाध्ययले जनाकारी दिए । अमूर्त सास्कृतिक सम्पदा हस्तकला र संस्कृतिबीच अन्योन्याश्रित सम्वन्ध रहेको जनाउँदै महासंघले यस पटकको मेलामा प्रमुख आकर्षणको रुपमा अमूर्त सांस्कृतिक सम्पदाको अवधारणालाई समावेश गराएको छ । जसमा नेपालका भौगोलिक क्षेत्रहरु हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने जातिय भेषभुषा, परिकारका साथै जातीय पहिचान र संस्कृति झल्किने जनजीवन र सास्कृतिक कार्यक्रमहरुलाई मेलाको दौरानमा प्रस्तुति गरिने छ । यसैक्रममा मेलाको उद्घाटन र समापनको दिन बाहेक अरु ३ दिन दिनहरुमा शेर्पा जातिको प्रतिनिधित्व गर्ने शेर्पा संस्कृति, कठमाडौ उपत्यकाका साथै नेवारी जनजीवन र संस्कृतिको प्रतिनिधित्व गर्ने हिसावबाट नेवारी संस्कृति र तराईको प्रतिनिधित्व गर्ने थारु संस्कृति र पहिचान झल्किने प्रस्तुतिहरु गरिने छन् । यही क्रममा ११ गते हिमाली क्षेत्रको प्रतिनिधित्व गर्ने गरि शेर्पा संस्कृतिका याक नृत्य,शब्रु नृत्य र शिली नृत्य प्रस्तुत गरिने छ । १२ गते पहाड÷काठमाडौ उपत्यकाबाट नेवारी सस्कृति झल्कने प्रस्तुतिहरु दाफा भजन,नौ वाजा, धिमे नाच र अष्टमातृका नाचहरुको प्रस्तुति गरिने छ । १३ गते तराई क्षेत्रको प्रतिनिधित्व गर्ने गरि तराईका आदिवासी जनजाति थारु समुदायको छोकरा नृत्यका साथै उक्त समुदायको खानाको विभिन्न परिकारहरु पनि प्रस्तुत गरिने छ । अर्मूत सस्कृतिक सम्पदाका कार्यक्रमहरु हिमालयन डिष्टीलरीको सहयोगमा गर्न लागिएको आयोजकले बताएका छन् । मेलामा नवोदित वस्तुको उजागर तथा निर्यात योग्य वस्तु विकास गरी निर्यात प्रवद्र्धनमा सहयोग पु–याउने उद्देश्यबाट मेलामा भाग लिने प्रर्दशनकर्ताहरुको उत्कृष्ट वस्तुहरु लिई ती वस्तुहरुलाई एकै स्थानमा प्रर्दशन गर्ने व्यवस्था मिलाईने छ । साथै मेलामा राखिएका वस्तुहरुमध्येबाट परम्परागत विधा, टेक्सटाईल÷होमडेकोरेशन र फेशन एसेसरिज÷फयुजन विधा भित्र वर्गिकरण समावेश उक्त तीन वर्गीकरण मध्येबाट उत्कृष्ट एक÷एक वस्तुलाई पुरष्कृत गरिने छ । नेपालको निर्यात ब्यापारको साथै आन्तरिक बजारमा हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान रहेको छ । हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपियन मुलुकहरु जर्मनी, फान्स, बेलायत,नेदरल्याण्डका साथै एसियाली मुलुकहरु जापान, चीन, भारत लगायत ८० भन्दा बढी मुलुकहरुमा ५० भन्दा बढी विभिन्न थरिका हस्तकला बस्तुहरुको १० अर्ब रुपैयाँ भन्दा बढीको निर्यात रहेको छ । निर्यातको अतिरिक्त आन्तरिक उपभोग पनि करिब १० अर्ब रुपैयाँ बराबरको हस्तकालका सामान प्रयोग हुने अनुमान रहेको महासंघका अध्यक्ष धर्मराज शाक्य बताउँछन् । यस क्षेत्रमा झण्डै ११ लाख भन्दा बढी ब्यक्तिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेको महासंघको भनाई छ । मेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वाणिज्य मन्त्रालयका सहसचिव तोयानारायण ज्ञवालीले मेलाको उपलब्धिबारे रिपोर्ट बनाएर मन्त्रालयमा पेश गर्न आयोजकलाई सुझाव दिए । मेलाको उपलब्धी राम्रो देखिएमा मन्त्रालयले दिने सहयोग पनि बढाउन सकिने उनको भनाई छ । त्यस्तै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक ईश्वारी प्रसाद घिमिरेले मेला अवधि नसकिदै स्टल खाली हुने, सहभागीहरु उठेर हिड्ने गरेको देखिएको भन्दै त्यस्तो समस्या देख्न नपारोस भन्ने भनाई राखे ।

आईएमई, ग्लोबल आईएमई बैंक र एलटी इन्टरप्राईजेजद्वारा विश्व पर्वतारोही पण्डितलाई एक लाखसहित सम्मान

काठमाडौं, ५ मंसिर । अफ्रिकाको सर्वोच्चशिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही संजय पण्डितलाई आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र अशोक लेल्याण्डको अधिकृत बिक्रेता एलटी इन्टरप्राईजेजले संयुक्त रुपमा एक लाख रुपैयाँ सहयोगसहित सम्मान गरेको छ । सम्मान कार्यक्रममा अध्यक्ष ढकालले पण्डित सहासी व्यक्तित्व भएकाले हामी सबैले उनको नेपाललाई विश्वमा चिनाउने अभियानलाई सक्दो सहयोग गर्नुपर्ने बताउदै आगामी अभियानको लागि थप सफलताको शुभकामना व्यक्त गरे । सम्मान कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, आईएमई अटोमोटिभ्सका निर्देशक सन्दिप अग्रवाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखेरेलको उपस्थिति थियो । पण्डित सर्वोच्च शिखर सगरमाथा, आठौ ठूलो पर्वत मनास्लु, युरोपको सर्वोच्च शिखर एलब्रस, जापानतथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सकेका छन् । उनले सर्वोच्च शिखर सगरमाथासहित अन्य सम्पूर्ण हिमालमा आईएमई लोगो अंकित झण्डा फहराउन सफल भएका छन् । पण्डित एन्ट्राटिकाको सर्वोच्च शिखर आरोहणको सिलसिलामा रहेका छन् ।