विकासन्युज

आईएमई, ग्लोबल आईएमई बैंक र एलटी इन्टरप्राईजेजद्वारा विश्व पर्वतारोही पण्डितलाई एक लाखसहित सम्मान

काठमाडौं, ५ मंसिर । अफ्रिकाको सर्वोच्चशिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही संजय पण्डितलाई आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक लिमिटेड र अशोक लेल्याण्डको अधिकृत बिक्रेता एलटी इन्टरप्राईजेजले संयुक्त रुपमा एक लाख रुपैयाँ सहयोगसहित सम्मान गरेको छ । सम्मान कार्यक्रममा अध्यक्ष ढकालले पण्डित सहासी व्यक्तित्व भएकाले हामी सबैले उनको नेपाललाई विश्वमा चिनाउने अभियानलाई सक्दो सहयोग गर्नुपर्ने बताउदै आगामी अभियानको लागि थप सफलताको शुभकामना व्यक्त गरे । सम्मान कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, आईएमई अटोमोटिभ्सका निर्देशक सन्दिप अग्रवाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखेरेलको उपस्थिति थियो । पण्डित सर्वोच्च शिखर सगरमाथा, आठौ ठूलो पर्वत मनास्लु, युरोपको सर्वोच्च शिखर एलब्रस, जापानतथा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरी सकेका छन् । उनले सर्वोच्च शिखर सगरमाथासहित अन्य सम्पूर्ण हिमालमा आईएमई लोगो अंकित झण्डा फहराउन सफल भएका छन् । पण्डित एन्ट्राटिकाको सर्वोच्च शिखर आरोहणको सिलसिलामा रहेका छन् ।

निरास र हतास देखिन्छन् सेयर बजारका लगानीकर्ता, तर्क आ-आफ्नै

काठमाडौं, ५ मंसिर । निभ सेम्युरिटिज प्रा.लि (ब्रोकर नम्वर ४७)मा लगानीकर्ताहरुको भीड थियो । तर उनीहरु सबै हतास र निरस देखिएका थिए । सबै जना एक अर्कासँग गानगुन कुरागर्दै थिए ऋण लिएर किनेको सेयर घट्न थाल्यो, ऋणको भारी बढ्छ अव बेच्नुपर्छ । यसैबीचमा रुपक विष्ट उठे र ग्लोवल आइएमइ बैंकको ५०० कित्ता सेयर बेचे । उनले भने राखेर के गर्नु व्याजको मात्र भारी सेयर बढ्ने होइन । सुमेरु सेक्युरीटीज प्रालिमा (ब्रोकर नम्वर ३९) पनि लगानीकर्ताहरु सेयरको कारोबारमा व्यस्त देखिन्थे । उही हतास र निरस मुद्रामा आफूसँग भएको सेयर धमाधम बेचिरहेका थिए । आइतबार लगानीकर्ताहरु अत्यन्त असुरक्षित महसुस भेटिए । यसको कारण हो बजार ह्वात्तै घट्नु । बैंक तथा वित्तीय संस्थाबाट ऋण गरेर बजारमा लगानी गरेका लगानीकर्ताहरु अत्तालिएका देखिन्थे । आइतबार सेयर बजार परिसुचक (नेप्से) ५८ अंकले ओरालो लागेको छ । त्यस्तै विहीबार पनि करिव ४० अंकले बजार घटेको थियो । जसले लगानीकर्ताहरुमा थप असुरक्षा पैदा गरेको छ । आइतबार सेयर बजार खुलेका केही घण्टामा नै नेप्से ८० अंकले तल झरेको थियो । कारोबार बन्द हुदा सम्म नेप्से ५८ अंकले तल झरेर १५९९दशमलव ६२ अंकमा अडिएको छ । सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवाल नेप्से घट्नुमा व्याजदर बढ्नु र सेयरको आपूर्ति बढ्नु मुख्य कारण रहेको बताउँछन् । पछिल्लो समयमा कम्पनीहरुले राम्रो लाभांस तथा बोनसहरु दिइरहेका छन्, तैपनि बजार घटिरहेको छ । सेयर बजारमा लगानी गर्नेहरुमध्ये धेरैले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिइरहेका छन् । व्याज बढ्दा त्यसको नकारात्मक असर बजारमा परेको हो । अग्रवाल भन्छन्–‘‘बजार घट्न थालेपछि निरन्तर घटिरहन्छ भन्ने हल्ला र सोचाईले पनि बजार गिरावटमा फ्यूलको काम गरिरहेको छ ।” सेयर बजार विश्लेषक हरिवोल काफ्ले भन्छन्–‘मैले सेयर मूल्य यति उच्च दरमा घट्नु पर्ने कुनै कारण देखेको छैन,’ लगानीकर्ताहरु त्यतिकै आत्तिएका छन् ।’ भारत सरकारले कालो धन नियन्त्रण भन्दै भारतीय ५०० र १००० को नोटमा लगाएको प्रतिबन्धको असर पनि सेयर बजारमा परेको अग्रवालको विश्लेषण छ । “हाम्रो भारतसँग नजिकको सम्बन्ध छ । भारतले लिएको नीतिले नेपाल अर्थतन्त्रमा असर परेको हुन्छ । नेपालमा पनि लगानीको स्रोत खोजी हुन्छ कि भन्ने डर लगानी कर्ता देखिन्छ’’ अग्रवालले भने । संस्थागत लगानीकर्ताले बजारबाट हात झिकेकाले पनि मूल्य घटिरहेको जानकारहरु बताउँछन् । विश्लेषक काफ्ले भन्छन्–‘यतिखेर बजारमा ठूला लगानीकर्ता, म्युचअल फण्डले सेयर उठाएका छैनन् । दशैंपछि कारोबारको भोल्युम कम हुनुले त्यहि संकेत गर्छ । दशैं अगाडि बजारमा दैनिक दुई अर्ब रुपैयाँभन्दा बढीसम्म कारोबार भएको थियो तर दशैपछि दैनिक एक अर्ब रुपैयाँभन्दा थोरै कारोबार भईरहेको छ ।’ उनका अनुसार राजनीतिक अवस्था अन्यौलपूर्ण रहेको र बजार घट्दा अव घट्न थाल्यो भन्ने लगानीकर्ताको मानसिकताले पनि बजारमा असर गरेको हो । यही बेला केही कम्पनीहरुको हकप्रद भर्नु पर्ने अबस्था छ । त्यसैले लगानीकर्ता त्यता रकम जोहो गर्नतिर लागेकोले पनि बजारमा सेयर बिक्रीको चाप बढ्दै गएको हो । आइतबार सबै परिसूचक राताम्मे भएका छन् । बजार घट्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन् निभ सेक्युरिटिज प्रा.लिका ट्रेडिङ अधिकृत विष्णु सापकोटा । बजार ’पिक’मा पुगेको बेला छिरेका लगानीकर्ता अहिले आत्तिएर सेयर बेच्न थाल्दा बजारमा ठूलो गिरावट आएको उनको भनाई छ ।

एक हजार ४७२ जना पत्रकारकाे दुर्घटना बीमा, उपचार खर्चमा ५० प्रतिशत छुट लागू भएन

काठमाडौँ, ५ मंसिर । ‘पत्रकार दुर्घटना बीमा’ कार्यक्रममा अहिलेसम्म एक हजार चार सय ७२ जना सहभागी भएका छन् । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र नेपाल पत्रकार महासङ्घले संयुक्त रुपमा श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि गत वर्षदेखि बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएका थिए । सो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । पत्रकारिताको क्षेत्रमा क्रियाशील रहँदाका बखत कुनै दुर्घटनामा परी चोटपटक लागेको वा अङ्गभङ्ग भएको अवस्थामा औषधोपचारको व्यवस्था गर्न तथा त्यस्तो दुर्घटनाका कारणबाट उनको मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति प्रदान गरी पत्रकारको आर्थिक सुरक्षा तथा पेसागत व्यावसायिकता अभिवृद्धिमा सहयोग पु¥याउन यो कार्यक्रम सुरु गरिएको पत्रकार महासङ्घले जनाएको छ । बीमा कार्यक्रममा सहभागिताका लागि नेपाल पत्रकार महासङ्घले महासङ्घका जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसिएट संस्थामा कार्यरत पत्रकारले आ–आफ्नाे शाखा तथा संस्थामार्फत प्रक्रिया पुर्याई २०७३ साल मङ्सिर १५ गतेभित्र महासङ्घमा पठाउन सूचना जारी गरेको महासङ्घका कोषाध्यक्ष सूर्यमणि गौतमले जानकारी दिए। यस वर्षको बीमाका लागि एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडसँग सम्झौता भइसकेको छ । गत वर्ष पनि सोही कम्पनीसँग सम्झौता गरिएको थियो । क्यामेरा वा रेकर्डर जस्ता साम्रगी नष्ट भएको भन्दा पनि पत्रकार (व्यक्ति)को मात्र बीमा गरिँदै आएको सूचना विभागले जनाएको छ । एनएलजीका बजार परामर्शदाता विक्रान्त पाण्डेले पत्रकार दुर्घटना बीमा उपलब्धिमूलक र उत्साहजनक रहेको बताए ।  “यो पत्रकार दुर्घटना बीमालाई सहरमा मात्रै हैन मोफसलमा पुर्याउनुपर्छ” – उनले भने । विसं २०७२ मङ्सिरदेखि सुरु गरिएको बीमा कार्यक्रमबाट अहिलेसम्म रूपन्देहीका पत्रकार भरत केसीले मात्र लाभ लिएका देखिएकाे छ । उनलाई मोटरसाइकल दुर्घटना पर्दा दुई लाख रूपैयाँ उपलब्ध गराइएको थियो । गत वर्ष बीमाका लागि भने दुईजनाको दाबी परेको परामर्शदाता पाण्डेले जानकारी दिए । बीमित पक्षको दुर्घटनाको कारण मृत्यु भएमा पाँचलाख रूपैयाँ र दुर्घटनापछि उपचार सुविधा रू दुई लाखसम्मको रहेको यो बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउने महासङ्घको योजना रहेको छ । बीमामा सहभागी हुन सूचना विभागबाट जारी गरिने प्रेस परिचयपत्र र नेपाल पत्रकार महासङ्घको सदस्य हुनुपर्नेछ । “निर्देशिकामा बीमाका लागि सूचना विभागको प्रेस परिचयपत्र र महासङ्घको सदस्य भएको हुनुपर्ने व्यवस्था छ, यसले सबैलाई समेट्न नसक्दा अलि समस्या भएको देखिएको छ, निर्देशिकालाई परिमार्जन गरी बीमा कार्यक्रमलाई अझै प्रभावकारी र व्यापक बनाउने दिशामा महासङ्घ लागिरहेको छ”–कोषाध्यक्ष गौतमले भने । “जुन उत्साहले बीमा कार्यक्रम ल्याइएको थियो, अहिलेसम्मको अवस्थालाई हेर्दा आशा गरेअनुसार बीमा भएको पाइँदैन, तर अब व्यापकता र निरन्तरता दिन आवश्यक छ” – सूचना विभागका महानिर्देशक रघुराम विष्टले बताए । त्यसैगरी, श्रमजीवी पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले कार्यदल गठन गर्ने भएको छ । कार्यान्वयनका बारे सूचना तथा सञ्चार मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएपछि पत्रका आधारमा स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाउन एक हप्ताभित्रमा कार्यदल बनाउने तयारी गरिरहेको स्वास्थ्यमन्त्रीका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको नेतृत्व, सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय, पत्रकार महासङ्घ र सम्बन्धित सङ्घसंस्थाको सहभागितामा कार्यदल बनाउने बारे छलफल भइरहेको सल्लाहकार पौडेलको भनाइ छ । चालु आवको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा तत्कालीन सरकारले गरेको थियो । पत्रकारको उपचार खर्चमा ५० प्रतिशत छुटलाई जतिसक्दो चाँडो व्यावहारिक रूपमा कार्यान्वयनका लागि पत्रकार महासङ्घले पहल गर्दै आएको छ । रासस

महिन्द्राको नयाँ युवो ट्याक्टर बजारमा

काठमाडौं, ५ मंसिर । महिन्द्राको नयाँ ट्याक्टर नेपाली बजारमा भित्रिएको छ । महिन्द्रा एण्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले नयाँ रेन्जका ट्याक्टर सार्वजनिक गरेको हो । ३०–४५ हर्सपावर सेग्मेन्टमा सबैभन्दा उत्कृष्ट टेक्नोलोजीका साथ उक्त ट्याक्टर बजारमा ल्याएको कम्पनीले दावी गरेको छ । १२ फरवार्ड र ३ रिभर्स् फुल कन्स्ट्यान्ट–मेश गियर बक्स्का साथ महिन्द्रा युवो ट्याक्टर निर्माण गरिएको हो । यसले हार्भेस्टिङ्गदेखि ल्याण्ड प्रिपेरेशन र पोस्ट–हार्भेस्टिङ्ग आवश्यकताहरुसम्म पुरा गर्ने कम्पनीले जनाएको छ । कार्यक्रममा बोल्दै महिन्द्राका साउथ एसिया भाइस प्रेसिडेन्ट सञ्जय जादवले भने,‘महिन्द्रा भोल्यूमको आधारमा विश्वकै नं. १ ट्याक्टर ब्राण्ड हो जो विश्वभरका कृषकहरुलाई नवीनतम टेक्नोलोजीका कृषि–मुखी समाधानहरु पस्कन प्रतिबद्ध छ । महिन्द्रा युवोले नेपाली किसानको मन जित्नेछ ।’ भारतको मुम्बईमा आधारित १७ दशमलब ८ अर्ब अमेरिकी डलरकोे मल्टी नेशनल ग्रुप महिन्द्राले एक सय देशमा आफ्ना उत्पादन बेच्दै आएको छ । महिन्द्राले कृषि व्यवसाय, एयरो स्पेश, कम्पोनेन्ट्स, कन्सल्टिङ्ग सेवा, डिफेन्स्, उर्जा, अद्यौगिक उपकरणहरु, लजिस्टिक्स्, रियल इस्टेट, रिटेल, स्टील, कमर्शियल भेहिकल तथा टू–व्हीलरको उत्पादन गर्दै आएको छ ।

५८ अंकले घट्यो नेप्से परिसूचक, लगानीकर्ताको मनोबल गिर्नु मुख्य कारण

काठमाडौं, ५ मंसिर । आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । विहीबार नेप्से परिसूचिक ४० अंकले घटेर १६५८ हुँदा कारोबार बन्द भएको थियो । आईतबार साढे १ बजे नेप्से परिसूचिक करिव ८० अंकले घटेर १५७८ भएपछि नेपाल धितोपत्र विनिमय बजार कम्पनी (नेप्से)ले आधा घण्टाको लागि कारोबार बन्द गरेको थियो । सेयर बजारमा एकै दिन ५ प्रतिशतले घटी वा बढी भएपछि आधा घण्टा कारोबार रोकेर खुला गर्ने अभ्यास नेप्सेले गर्दै आएको छ । करिव २ बजे दोस्रो पटक कारोबार खुला भएपछि बजारमा केही वृद्धि देखिएको थियो । बीचमा १६३० अंकमा पुगेको नेप्से कारोबार बन्द हुँदा १५९९ अंकमा झरेको छ । आईतबार बीमा समूहको परिसूचक ४०० अंकले घटेको छ भने जलविद्युत समूहको ८६ अंकले घटेको छ । बैकिङ समूहको परिसूचक ५९ अंकले घटेको छ । बजारमा सबै परिसूचकमा गिरावट देखिएको छ । आइतबार हिमालय बैंकका सेयरधनीले सबैभन्दा बढी ८.११ प्रतिशत गुमाएका छन् । झण्डै तीन दर्जन कम्पनीका सेयरधनीले ५ प्रतिशतभन्दा बढी सम्मति गुमाएका छन् । ८ वटा कम्पनीका सेयरधनीले भने आइतबार पनि नाफा गरेका छन् । बैंकको व्याजदर वृद्धि र आपूर्ति चापले सेयरको मूल्य केही घट्न सक्ने अनूमान हुदै आएको छ । तर लगातार उच्च दरको गिरावट हुनुको कारण भने लगानीकर्ताको मनोवल कमजोर हुनु मानिएको छ ।

रुवी भ्याली पुग्ने ‘स्काइ ट्रेल’ सञ्चालनमा, पदमार्ग बनेपछि स्थानीयवासी हर्षित

काठमाडौं, ५ मंसिर । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रुवी भ्याली क्षेत्रअन्तर्गत हिमालयन स्काइ ट्रेल (तीनसुरे पदमार्ग) सञ्चालनमा आएको छ । उक्त पदमार्ग सञ्चालनमा आएपछि राजधानीबाट नुवाकोट, रसुवा हुँदै धादिङका बस्तीहरुमा घुमेर गोरखा जान सहज हुनेछ । पर्यटकीय पदमार्गबाट आकाश र जमिनको विशेषता नजिकबाट नियाल्न सकिने भएकाले यसलाई ‘स्काइ ट्रेल’ समेत भनिएको हो । धादिङको उत्तरी क्षेत्रमा पर्ने समुन्द्री सतहदेखि एक हजार ५ सय फिटको उचाइमा रहेको  नेत्रतालदेखि झन्डै ११ हजार उचाइमा रहेको तीनसुरे भञ्ज्याङसम्म झन्डै ५० किलोमिटर दूरीमा उक्त पर्यटकीय पदमार्ग निर्माण भएको हो । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पर्यटकीय पदमार्ग बनेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीयपर्यटन व्यवसायी एवं ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्व उपाध्यक्ष बलबहादुर गुरुङले जलचर, जङ्गलीजनावर र धार्मिक पर्यटनका दृष्टिले यो पदमार्ग महत्वपूर्ण रहेको बताए  । यस पदमार्गमा पाँच दिन चार रातको भ्रमण प्याकेज तय गरिएको छ । पदमार्गमा त्रिपुरेस्वरको आँखुखोलामा निर्माण भएको हाइड्रोपावरबाट बनेको नेत्रताल, बगुवा खोलामा निर्माण भएको पानीघट्टा, कात्तिकेको डोकानाम्ला बोकेर घाँसदाउरा गर्दै गरेका ग्रामीण परिवेश, परम्परागत फलामका सामान बनाउँदै गरेका आरन, फूलखर्कबाट देखिने सूर्योदय, मनटारीको जङ्गलमा बनेको मनटारी स्काइ क्याम्प, पोखरा बस्तीको गुरुङ जातिको नाच अवलोकन गर्न सकिने छ । यस्तै पोखराडाँडाबाट गणेश हिमाल र लाङटाङ क्षेत्रको मनोरम दृश्य, जङ्गलमा रहेका कालिज, बँदेल, तित्रा, चितुवा, भालु, डाँफे, मुनाल, लगायत पशुपन्छी र वन्यजन्तुको अवलोकनगर्न सकिने पदप्रदर्शक सरोज नेपालले बताए । अधिकांश पर्यटनकर्मी रहेको धादिङमा सुविधाजनक र गुणस्तरीय ग्रामीण पर्यटकीय आगमनलाई सहज बनाउन यो पदमार्गले ठूलो सहयोग पुग्ने बताइएको छ । नेपाली कांग्रेस धादिङ क्षेत्र नं १ का सांसद दिलमान पाख्रिन नेपालको पर्यटकीय विकासमा सरकारको ठूलो लगानी रहेपनि सोचेजस्तो प्रगति हासिल गर्न नसकेको बताउँछन् । प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको उक्त पदमार्गको निर्माणपछि उद्घाटन गर्दै  संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले धादिङ जिल्ला पर्यटकीय दृष्टिकोणले ठूलो सम्भावनाको जिल्ला रहेको बताए । धादिङ जिल्लाको रुबीभ्यालीमा पर्ने उक्तपर्यटकीय मार्गको निर्माणका लागिपर्यटन बोर्डले करिब ४० लाख रुपैयाँ लगानी गरेको बताइएको छ ।

स्वावलम्बन बैंकको निशुल्क स्वास्थ्य शिविर सञ्चालन कार्यक्रम सम्पन्न

काठमाडौं, ५ मंसिर । स्वावलम्बन लघुवित्त विकास बैंक र साँखु जेसिसको संयुक्त आयोजना तथा सुष्मा कोइराला मेमोरियल ट्रष्टको प्राविधिक सहयोगमा महिलाहरुको पाठेघर तथा स्तन जाँच सम्बन्धी स्वास्थ्य शिविर संचालन भएको छ । बैंकको उपशाखा कार्यालय, नगरकोट भक्तपुरले स्थानीय स्वास्थ्य संस्थामा आफ्ना ग्राहक सदस्य तथा उनीहरुको परिवारलाई लक्षित गरी मंसिर ४ गते एक दिने निःशुल्क शिविर संचालन गरेको हो । उक्त  शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रशासकिय प्रमुख ममता सिंह तथा जर्मनीबाट आएको विशेषज्ञ डाक्टर सहितको टोलीले उपशाखा कार्यालय नगरकोट अन्तरगतका करिव २ सय विरामी महिला ग्राहक सदस्यको स्वास्थ्य परिक्षण गरेको जनाइएको छ । कम्युनिटि हेल्थ सेण्टर, गड्गडे निम्न माध्यामिक विद्यालको प्राङ्गणमा सञ्चालित शिविर कार्यक्रम उद्घाटन गर्दै बैकका प्रमुख कार्यकारी अधिकृत नरेशमान प्रधानले ग्राहक सदस्य तथा उनीहरुको परिवारका लागि विभिन्न सामाजिक कार्य, स्वास्थ्य शिविर संचालन गर्दै बैंक अगाडी बढ्ने बताए । उनले यस्ता कार्यक्रमबाट अधिकतम महिला ग्राहक सदस्यले लाभ लिन समेत आग्रह गरे । कार्यक्रमका सभापति तथा साँखु जेशिसका अध्यक्ष अमित प्रधानले बैंकसंगको सहकार्यमा हुने यस्ता कार्यक्रमले स्थानिय बासिन्दा लाभान्वित हुने बताए ।

विदेशबाट फर्केर बाख्रापालन व्यवसायमा रमाउँदै युवा

पाल्पा, ५ मंसिर । काम गर्न सके आफ्नै देशमा के हुँदैन ? यहि विचारलाई मनन गर्दै रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन गर्ने निर्णय गरे र व्यवसाय शुरु गरे । आठ वर्षसम्म विदेशमा काम गरेका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश फर्केपछि १० लाख रुपैंयाँको लगानीमा बाख्रा पाल्न शुरु गरे । उनको फार्ममा अहिले स्थानीय जातका ५० वटा बाख्रा छन् । पाठापाठी बेचेर वर्षमा ४ लाख रुपैंयाँसम्म आम्दानी गर्ने भट्टराई भन्छ– ‘कमाई हुन्छ कि भनेर विदेश गएँ, खाडीमा लामो समयसम्म पसिना बगाए, मुस्किलले खान बस्न ठिक्क हुन्थ्यो, परिवार चलाउन निकै समस्या प¥यो । यहाँ आएर बाख्रापाल्न थालेपछि महिनैपिच्छे पैसा पाउँदा र परिवारसँग व्यवसाय चलाउँदा आनन्द पनि लागेको छ ।’ आफ्नै करिब तीन रोपनी जग्गामा व्यवसाय चलाउनुभएका भट्टराईलाई चरन र घाँसपातको लागि समस्या पनि छैन । यही दसैँमा मात्र उहाँले ३२ वटा पाठापाठी बेचेर एकलाख रुपैंयाँ बराबरको आम्दानी गरेका छन् । व्यवसायका लागि केन्द्रीय भेँडाबाख्रा प्रवद्र्धन केन्द्रबाट युवा लक्षित कार्यक्रम अन्तर्गत एकलाख रुपैंयाँ र जिल्ला पशुसेवा कार्यालयबाट बोका खरिदका लागि ६ हजार रुपैंयाँ अनुदान पनि प्राप्त गरेका छन् । दुई सय वटा बाख्रापालेर वार्षिक ६ लाख रुपैंयाँभन्दा बढी आम्दानी गर्ने सोच बनाएका उनले यही व्यवसायबाट समाजमा राम्रो पहिचान बनाउन सकेको हँुदा दिगो रुपमा व्यवसाय गर्ने अठोट लिएका छन् । रासस