विकासन्युज

ट्रम्पको कूटनीतिप्रति जापानी प्रधानमन्त्रीको विश्वास

न्युयोर्क, ३ मङ्सिर । जापानका प्रधानमन्त्री सिन्जो आबेले बिहीबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिप्रति विश्वास व्यक्त गरेका छन् । गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विदेशी नेतासँग ट्रम्पको प्रत्यक्ष भेटवार्ता भएको यो नै पहिलो हो । राष्ट्रपति ट्रम्पले आफ्नो सरकारको मन्त्रीमण्डल बनाउने विषयमा तयारी भइरहेको अवस्थामा प्रधानमन्त्री आबेले उनलाई भेटेर यस्तो विश्वास व्यक्त गरेका हुन् । जापानी प्रधानमन्त्री आबेले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग करिब ९० मिनेट भेटवार्ता गर्नुभएको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । भेटवार्तापछि पत्रकारहरुसँग जापानी प्रधानमन्त्री आबेले भने – “निकै उपलब्धिमूलक भेटवार्ता भयो, ट्रम्प साँच्चिकै राम्रो नेता हुनुहुँदोरहेछ भन्ने महसुस गरेँ ।” न्यानो वातावरणमा भएको भेटवार्ताले विश्वासको सम्बन्ध विस्तार गरेको आबेको बताए । उनले दुई नेताबीच पुनः व्यापक विषयमा गहिरो संवाद गर्ने सहमति भएको जनकारी दिए । दोस्रो विश्वयुद्धपछि अमेरिका र जापान एक अर्काका प्रमुख सहयोगी मुलुकका रुपमा रहँदै आएका छन् । दोस्रो विश्वयुद्ध यता जापानको आर्थिक अवस्था पुनः उकास्नका लागि अमेरिकाको ठूलो सहयोग रहेको छ । रासस÷एएफपी

मूल्यवृद्धि दर घट्यो, विदेशी बस्तु सस्तिदा स्वदेशी बस्तु महँगियो, कर्मचारीकाे तलव १४ प्रतिशतले वृद्धि

काठमाडौं, ३ मंसिर । उपभोक्ताको लागि खुशीको खवर छ । खाद्यन्य बस्तुको मूल्यवृद्धि दर पहिला भन्दा घटेको छ । तर नेपाली उत्पादन महँगिएका छन् । विदेशबाट आयातित बस्तुहरु सस्तो भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत असोज महिनामा उपभोक्ता मुद्रास्फीतिदर ६.७ प्रतिशतमा ओर्लेको छ । २०७३ आसार महिनामा यस्तो मुद्रास्फीति १०.४ प्रतिशत थियो । २०७२ असोज महिनामा ८.२ प्रतिशत रहेको थियो । २०७३ असार महिनादेखि घट्दो क्रममा रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७३ भदौ महिनामा ७.९ प्रतिशत थियो । सरकारले वार्षिक मुद्रास्फीति ७ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य मुद्रास्फीतिमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको केन्द्रीय बैंकले जनाएको छ । असोजमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडी, घ्यू तथा तेल, दुग्धजन्य पदार्थ तथा अण्डा, मासु तथा माछा लगायतका वस्तुहरुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले खाद्य मुद्रास्फीति कम रहन गएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १७.८ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १३.४ प्रतिशतले वृद्धि भएको छ । गैर–खाद्य तथा सेवा समूह समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ७.६ प्रतिशत पुगेको छ । उपभोक्ता मुद्रास्फीति पहाडमा ८.९ प्रतिशत, हिमालमा ६.३ प्रतिशत, तराईमा ६.२ प्रतिशत र काठमाडौं उपत्यकामा ५.७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ तलव १४ प्रतिशतले वृद्धि समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.४ प्रतिशतले वृद्धि भएको छ । सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकोले ज्यालादर सूचकाङ्क भन्दा तलब सूचकाङ्कमा उच्च वृद्धि भएको हो । तलब अन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उप– समूहहरूको तलब सूचकाङ्क क्रमशः २४.२ प्रतिशत, २३.६ प्रतिशत र २०.८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ज्यालादर अन्तर्गत निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकाङ्क क्रमशः १५.७ प्रतिशत, १३.५ प्रतिशत र १२.३ प्रतिशतले वृद्धि भएको छ ।

भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुई पूर्व गभर्नर गिरफ्तार

रियो दी जेनेरियो , ३ मङ्सिर । भ्रष्टाचारको अभियोगमा ब्राजिलका दुईजना पूर्व गभर्नरलाई गिरफ्तार गरिएको ब्राजिलियाली अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । जनसङ्ख्याका हिसाबले ब्राजिलको दोस्रो ठूलो सहर रियोको यी पूर्व गर्भनरहरुमाथि कैयौँ दिनदेखि घुस लिएको र मतदाताहरुसँग भोट किनेको आरोप लगाइएको छ । सन् २००७ देखि २०१४ सम्म दुईपटकसम्म रियो सहरको गभर्नर भएका सेरर्गिओ क्याब्राल फिल्होलाई सन् २०१४मा फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम खेल हुने बेला मरकाना रङ्गशाला मर्मतका बेला अनियमितता गरेको आरोप लगाइएको छ । सो भ्रष्टाचार प्रकरणमा उहाँले झन्डै पाँच करोड ८० लाख अमेरिकी डलर बराबरको रकम अनियमितता गरेको एजेन्सिया ब्रासिल समाचार समितिले जनाएको छ । क्याब्रालका श्रीमती एड्रिआना एन्केल्मोलाई पनि सोधपुछका लागि रिहासतमा लिइएको बताइएको छ । हुदसन ब्रागा प्रयोजनका प्रमुख का साथै अन्य आठजना कर्मचारीहरुलाई नियन्त्रणमा लिइएको छ । यसअघि एक दिन पहिले रियोका पूर्व गभर्नर एन्थोनी गारोटिन्होलाई पनि गिरफ्तार गरिएको थियो । उनलाई बुधबार उच्च रक्तचापको समस्या भएपछि स्थानीय सार्वजनिक अस्पतालमा भर्ना गरिएको बताइएको छ । एन्थोनीलाई मेयरको निर्वाचनका बेला मतदातासँग भोट किनेको आरोप लगाइएको छ । सन् १९९९ देखि सन् २००२ एन्थोनी रियो सहरको गभर्नर बनेका थिए । रासस÷सिन्ह्वा

लक्ष्मी लघुवितले २० प्रतिशत नगद लाभांस दिने

काठमाडौं, ३ मंसिर । लक्ष्मी लघुवित्त वित्तिय संस्थाले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभा.स दिनृ भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो । सो नगद लाभांस संस्थाले भर्खरै मात्र जारी गरेको शतप्रतिशत हकप्रद सेयरपछिको पुँजीरकमको १० प्रतिशत मात्र हुनेछ । लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात मात्र बाडिने कम्पनीले जनाएको छ ।

सरकारको ढुकुटीमा १ खर्ब ९६ अर्ब रुपैयाँ बचत, बजारमा पुँजी अभाव, अार्थिक वृद्धि लक्ष्य प्रभावित

काठमाडौं, ३ मंसिर । सरकारको खातामा १९६ अर्ब ६२ करोड रुपैयाँ बचत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राजस्व संकलन उच्च रहेको तर सरकारी खर्च कम भएकोले सरकारी ढुकुटीमा बचत वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । ‘अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सरकारी खर्च वृद्धि भएको छ । तर बजेट अनुमानको तुलनामा खासगरी पुँजीगत खर्च न्यून रहेको छ’ राष्ट्र बैंकले भनेको छ । यसरी सरकारको ढुकुटीमा रकम जम्मा भएपछि र सरकारले खर्च गर्न नसकेपछि वित्तीय बजारमा तरलताको अभाव देखिएको छ । बैकिङ क्षेत्रमा लगानी योग्य पुँजीको कमीले बैंकहरुले कर्जा लगानी गर्न सकेका छैनन् भने निक्षेप तथा कर्जाको व्याज वृद्धि गरिरहेका छन् । पुँजीगत खर्च र पुनर्निर्माणको कार्यहरुको तीव्रता नआए आर्थिक वृद्धि लक्ष्यअनुसार नहुने राष्ट बैंकको विश्लेषण रहेको छ ।

सैँतिस अर्ब राजस्व सङ्कलन, लक्ष्य भन्दा दुई अर्व ६१ करोड बढी

पर्सा, ३ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वीरगन्ज भन्सार कार्यालयले ३६ अर्ब ९७ करोड ८५ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसअवधिको लागि भन्सार विभागले ३४ अर्ब ३७ करोड २२ लाख रुपैयाँको लक्ष्य राखेको थियो । कार्यालयका प्रमूम भन्सार अधिकृत सेवन्तक पोखरेलका अनुसार भन्सार राजस्वतर्फ १३ अर्ब ७१ करोड ९३ लाख ५७ हजार, मूल्य अभिवृद्धी करतर्फ रु १३ अर्ब १३ करोड ३८ लाख २४ हजार, अन्तः शुल्कतर्फ रु आठ अर्ब नौ करोड ६३ लाख २८ हजार तथा अन्यतर्फ रु ६१ करोड ४९ लाख १३ हजार राजस्व सङ्कलन भएको थियो । आवको पहिलो चौमासिकका लागि विभागले दिएको लक्ष्यको तुलनमा ७ दशमलव ५८ प्रतिशत अर्थात् दुई अर्ब ६१ करोड ६३ लाख ५३ हजार बढी राजस्व सङ्कलन गरेको छ । रासस

कम्पनी ऐन संशोधन विधेयक संसदमा प्रस्तुत

काठमाडौँ, ३ मङ्सिर । व्यवस्थापिका–संसद्को आजको बैठकमा कम्पनी ऐन (पहिलो संशोधन) विधेयक, २०७३ प्रस्तुत भएको छ ।उद्योगमन्त्री नवीन्द्रराज जोशीले उक्त विधेयक प्रस्तुत गर्दै जनताले घरमै बसेर बिद्युतीय माध्यमबाट पनि उद्योग दर्ता गर्न मिल्ने तथा विदेशी लगानीलाई आकर्षित गर्ने प्रावधान विधेयकमा भएको जानकारी दिए । उनले विकसित मुलुकको उदाहरण हेर्दा आर्थिक समृद्धिका लागि विदेशी लगानी आवश्यक रहेको बताउँदै विदेशी लगानीको माध्यमबाट स्वदेशमा रोजगारी बढ्ने अपेक्षा गरे ।  विधेयक प्रस्तुत गर्ने प्रस्तावको विरोध गर्दै नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले सो ऐनले विदेशी प्रभुत्व बढ्ने र सरकारको जिम्मेवारी कम हुँदै जाने बताइन् । उनको सो विरोधको सूचना बैठकले अस्वीकृत गरेको थियो । रासस

कात्तिक ३० गते विषेष अदालतबाट सफाइ पाएपछि सांसद् लामाको निलम्बन फकुवा

काठमाडौँ, ३ मङ्सिर । व्यवस्थापिका–संसद्को शुक्रबार बसेको बैठकले नेकपा (माओवादी केन्द्र) का सांसद डा .ल्यारक्याल लामा को सांसद पदको निलम्वन फुकुवा गरेको छ । सभामुख ओनसरी घर्तिले लामाले विशेष अदालतबाट सफाइ पाइसकेकोले उनको सांसद पदको निलम्वन फुकुवा भएको बताएकी हुन । सभामुख घर्तिले विषेष अदालते सफाइ दिएको पत्र संसदमा बढेर सुनाएकी थिइन् । लामालाई गत कात्तिक ३० गते अदालतले सफाइ दिएको थियो । बैङ्कको लकरमा अवैध हतियार भेटिएको भन्दै लामामाथि मुद्दा दायर भएको थियो । बैठकमा राष्ट्रपतिले विभिन्न विधेयक प्रमाणीकरण गरिएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । रासस