विकासन्युज

कोटेश्वर–कलङ्की सडक निर्माणमा ढिलाई हुँदा स्थानीयलार्इ सास्ती, दाेष भूकम्प र नाकाबन्दीलार्इ

ललितपुर, ३० कात्तिक । बिरामी छोरीलाई जँचाउन पाटन अस्पताल लैजान लागेकी जडीबुटी निवासी सीता न्यौपाने झन्डै डेढ घन्टासम्म बालकुमारीमा ट्राफिक जाममा परिन् । कोटेश्वरस्थित कार्यालय जानका लागि दैनिक माइतीघर घुम्ने गरेको सातदोबाटोका प्रकाश राना भन्छन्, ‘एकातिर जाममापर्ने चिन्ता र अर्कातिर चक्रपथमा उड्ने धुलोका कारण म दोब्बर लामो बाटो हुँदै दैनिक कार्यलय पुग्छु’ । झन्डै चारवर्ष पहिले सुरु भएको चक्रपथ अन्तर्गतको कोटेश्वर–कलङ्की सडक निर्माण नसकिँदा सीता र प्रकाश जस्तै धेरै स्थानीयवासी हैरान भएका छन् । काठमाडौँ र ललितपुर जिल्लालाई समेटेको चक्रपथको बढी भाग ललितपुर जिल्लामा पर्छ । ललितपुर जिल्लामा चक्रपथ अन्तर्गतपर्ने पूरै सडक अहिले अस्तव्यवस्त छ । बिहानदेखि बेलुका जुनसुकै समयमा आवतजावत गर्न गाह्रो भए पनि कार्यलय समयमा सडक अस्तव्यस्त हुने राना बताउँछन् । मोटरसाइकल चालकलाई धुलोका कारण ओहोरदोहोर गर्न समेत कठीन छ । उनी भन्छन् , ‘सवारी चाप अति भएको सडक भए पनि सडक चिन्ह नहुँदा दुर्घटनाको समेत उतिकै डर छ ।’ सातदोबाटोबाट कोटेश्वर जान वैकल्पिक सडकका रुपमा जावलाखेल–माइतीघर सडक छ । यो सडक लामोहुनुका साथै थापाथलीमा पनि दैनिक जाम हुने समस्या छ । निर्माणाधीन यही सडक अन्तर्गत बल्खु क्षेत्रमा समेत दैनिक जाम हुने गरेको छ । ठीक समयमा निस्कदा कलेज नै ढिला पुगेको अनुभव पाटन क्याम्पसमा अध्ययनरत कलङ्कीकी विद्या महतले सुनाइन् । उनी भन्छिन, ‘कलङ्कीबाट लगनखेल पुग्न पनि डेढदुुई घन्टा पहिले निस्कनुपर्ने अवस्था छ ।’ पूर्व जाने ठूला बस यही सडक हुँदै जाने भएकाले साँझको समयमा दैनिक जाम हुने गरेको छ । ‘सडकका कारणले नागरिक मात्रै नभएर ट्राफिक प्रहरी समेत पीडित छन्।’ महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथु भन्छन्, ‘यो सडकखण्डमा धुवाँ र धुलोले गर्दा काममा खटिएका टाफिक प्रहरी समेत हैरान भएका छन् ।’ काममा निस्कँदा सुकिलो लुगा लगाएर चिटिक्क परेको प्रहरी जवान बेलुका फर्कदासम्म चिन्नै नसक्ने अवस्थामा पुग्छ । धुलोले गर्दा ट्राफिक प्रहरीमा धेरै खालका स्वास्थ्य समस्या समेत देखिन थालेको छ । काममा निस्कँदा सुकिलो लुगा लगाएर चिटिक्क परेको प्रहरी जवान बेलुका फर्कदासम्म चिन्नै नसक्ने अवस्थामा पुग्छ । धुलोले गर्दा ट्राफिक प्रहरीमा धेरै खालका स्वास्थ्य समस्या समेत देखिन थालेको छ । उनी भन्छन्, ‘दैनिक झन्डै दुईजना ट्राफिक प्रहरी प्रदुषणका कारणले बिरामी परिरहेका छन् ।’ काठमाडौँ चक्रपथ सुधार आयोजनाले कलङ्की– कोटेश्वर सडक निर्माणको झन्डै ४८ प्रतिशत काम सकिएको बताएको छ । आयोजनाका इञ्जिनियर रमेश दृष्टिले सन् २०१७ को जुलाइसम्ममा सडक सम्पन्न लक्ष्य रहेको जानकारी दिए । चिनियाँ सहयोगमा निर्माण भइरहेको यो सडक पहिले सन् २०१६ को जनवरीसम्म सक्ने गरी सम्झौता भएको थियो । भूकम्प, नाकाबन्दी र इन्धन अभावले गर्दा केही समय ढिलाइ भएको उनको तर्क छ । आगामी वर्षको वर्षा पहिले पाँच किलोमिटर सडक कालोपत्रे हुने गरेर काम भइरहेको छ । अझै पनि कतिपय कार्यलयसँग समन्वय हुननसक्दा काममा ढिलाइ भएको छ । उनी भन्छन् ‘बिजुलीको खम्बा हटाउन हामीले पटक÷पटक पत्राचार गरेका छौं, तर काम भएको छैन ।’ रासस

सर्वाेच्च अदालतलार्इ लाेकमान सिंहकाे प्रश्न, ‘भाडामा दिइएको घरमा म्याद तामेली गर्न किन परेको ? सरकारी निवासमा किन नआएको ?’

काठमाडौँ, ३० कात्तिक । सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की आफँै उपस्थित भएर मंगलबार लिखित जवाफ पेस गरेका छन् । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध पु¥याएकामा कारबाही गर्न नपर्ने भए एक हप्ताभित्र आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न कार्कीविरुद्ध आदेश दिएको थियो । सोही आदेशअनुरुप निलम्बित आयुक्त कार्कीले लिखित जवाफ पेस गरेका हुन् । कार्कीको लिखित जवाफमा विपक्षीले मनसाय झुटो भएको आरोप लगाउँदै आफू घटना भएको भनिएको दिन विदेशमा रहेको हुनाले त्यसमा आफ्नो संलग्नता नरहेको उल्लेख छ । आफू सपरिवार अख्तियारकै परिसरभित्र बसोबास गर्दै आएको र पुरानोबानेश्वरस्थित घर भाडामा दिएकाले निजी निवासमा नभई सरकारी निवासमा यसअघि पनि सर्वोच्चका कर्मचारीले म्याद बुझाएकाले न्यायिक प्रक्रियामा आफूले कुनै अवरोध नगरेको लिखित जवाफमा उल्लेख छ । “तीन वर्षदेखि आफूसहित सपरिवार सरकारी निवसमा बसेको छु, भाडामा दिइएको घरमा म्याद तामेली गर्न किन परेको र सरकारी निवासमा गर्न किन नआएको”–कार्कीले लिखित जवाफमा उल्लेख गरेका छन् अख्तियार प्रमुखमा कार्कीको नियुक्ति विवादलाई फेरि सुनुवाइ गर्ने निर्णयको म्याद तामेली गर्दा अवरोध पु¥याएकामा कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए । त्यसैगरी, अयोगका निलम्बित प्रमुख कार्कीको घरमा म्याद गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रहरी नायब निरीक्षक नहकुल गौतमले पनि मंगलबार नै सर्वोेच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । गौतमले लिखित जवाफमा आफ्नो कुनै संलग्नता नरहेको, बाटो परेर मात्र आफू त्यहाँ गएको हुँदा आफू निर्दोष रहेकोे उल्लेख गरेका छन् । सोमबार पूर्वसचिव प्रमोद कार्कीले पनि लिखित जवाफ बुझाउभएको थियो । रासस

नेशनल लाइफ इन्स्योरेन्सले ३० प्रतिशत बाेनस सेयर र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दै

काठमाडौं, ३० कात्तिक । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले करिव ३२ प्रतिशतल लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सञ्चाकल समितिले गरेको उक्त प्रस्ताव बीमा समितिले अनुमोदन गरेको कम्पनीले जनाएको छ । साथै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत बोनस सेयर वितरणपछि १०० प्रतिशतका दरले हकप्रद सेयर निश्काशन गर्ने भएको छ । दुबै प्रस्तावलाई सेयरधनीबाट अनुमोदन गराउन कम्पनीले मंसिर २९ गते साधारण सभा बोलाउने निर्णय समेत गरेको छ ।

ताम्राकारको मोटरसाइकल लमजुङका प्रबिन सिलवाललाई

काठमाडौं, ३० कात्तिक । राजधानीको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सले दशै र तिहारको अवसरमा आयोजना गरेको दशैं तिहारको बहार ताम्राकारमा उपहार नै उपहार योजनाको बम्पर पुरस्कार लमजुङका प्रबिन सिलवालले पाएका छन् । मंगलबार ताम्राकार कम्प्लेक्समा आयोजित कार्यक्रमकाविच लक्की ड्रका विजेता सिलवाललाई मोटरसाइकल हस्तान्तरण गरिएको हो । असोज १३ गतेदेखि कार्तिक ६ गतेसम्म ताम्राकार मोबाइल बजारमा मोबाइल खरिद गर्ने ग्राहकहरुलाई यो अफरमा समावेश गरिएको थियो । मोटरसाइकल बिजेता सिलवालले ताम्राकार कम्प्लेक्सको पसल नं ४१ बाट डिटिसी मोबाइल खरिद गरेका थिए । एक महिनाको सो अवधीभर ताम्राकार मोबाइल बजारबाट ४५ हजार सेट मोबाइल बिक्री भएको ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले बताए । मोटरसाइकल पाउने सिलवालले उपहार प्राप्त गरेकोमाआश्चर्य प्रकट गरे । प्राप्त उपहारले ताम्राकार मोबाइल बजार प्रतिको बिश्वास बढेको पनि उनले बताए । ३ हजार रुपैंयाँ मूल्यको मोबाइल खरिद गरेका उनले २०० सिसिको पल्सर एनएस मोटरसाइकल प्राप्त गरेका हुन् । सो अवधीमा बजारमा मोबाइल खरिद गर्ने उपभोक्ताहरुलाई लक्की ड्र मार्फत १० वटा सामसङ टिभी, बिभिन्न कम्पनीका ३० वटा मोबाइल र १ सयवटा पावर बैंक बितरण गरिएको ताम्राकार मोबाइल ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए ।

संसद बैठक एक बजेपछि मात्रै, समितिहरुका बैठक एक बजेअघि नै सक्नुपर्ने

काठमाडौं, ३० कात्तिक । अबदेखि व्यवस्थापिका संसदको बैठक दिउसोँ एक बजेपछि मात्रै बस्ने भएको छ । सभामुख ओनसरी घर्ती र व्यवस्थापिका समितिका सभापतिहरुको बैठकले संसद बैठक दिउँसो एक बजेपछि मात्रै राख्ने निर्णय गरेको हो । सोही बैठकले व्यवस्थापिका संसदका बिभिन्न समितिहरुको बैठक एक बजे अघि नै सम्पन्न गर्नुपर्ने निर्णय समेत गरेको छ । यस अघि संसद र समितिका बैठकहरु एकै समयमा परेर कार्यसम्पादनमा असहजता आएको थियो । ‘अबदेखि संसद बैठक एक बजेपछि मात्रै राख्ने र समितीहरुको बैठक सो भन्दा अघि नै सम्पन्न गरिसक्ने निर्णय भएको छ’, अर्थ समितिका सभापति प्रकाश ज्वालाले विकासन्युजसँग भने । सभामुख घर्तिले मंगलबार सबै समितिका सभापतिहरुसँग संयुक्त बैठक बोलाएकी थिएन् । राज्यव्यवस्था समितिका हलमा सम्पन्न बैठकमा अर्थ, विकास, बिधायन, अन्तराष्ट्रिय श्रम सम्बन्ध समिति, सार्वजनिक सुनुवाई समिति, राज्य व्यवस्था समितिका सभापतिहरुको सहभागीता रहेको थियो । बैठकमा सभामुख घर्तीले संसद बैठकसँग समितिका बैठकहरु जुधेकोमा असन्तुष्ठि व्यक्त गरेकी थिइन भने समितिका सभापतिहरुले पनि संसद बैठक जुध्दा कार्यसम्पादनमा असहजता आएको बताएका थिए । ४१ ऐन चाँडै अघि बढाउन सहमति बैठकमा संसद तथा बिभिन्न समितिहरुमा रहेका ऐनहरु चाँडो टुंग्याएर अघि बढ्ने निर्णय समेत भएको अर्थ समितिका सभापति ज्वालाले जानकारी दिए ।‘संसद र बिभिन्न समितिमा हाल ४१ वटा ऐन रहेछन्, ती सबैलाई चाँडो अघि बढाएर पारित गराउने निर्णय भएको छ’, सभापति ज्वालाले भने । उनका अनुसार संसद र समितिहरुले एक अर्काको काममा सहयोग गर्ने निर्णय पनि गरिएको छ ।

नर्सरी व्यबस्थापन सम्बन्धि पाँच दिने तालिम सम्पन्न

काठमाडौं, ३० कात्तिक । कृषि बिकास मन्त्रालयको सहयोग, नेदरल्याण्डस्थित पमको प्राबिधिक सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा गरिएको नर्सरी व्यबस्थापन तालिम सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको यो तालिममा धरान, पोखरा, चितवन र काठमाडौंका गरि ३० जना पुष्प व्यवसायीको सहभागिता रहेको थियो । नेदरल्याण्डस्थित पीयूएमका पुष्पबिशेषज्ञ विमभान केस्टरले पाँच दिने तालिम दिएका थिए । तालिममा सहभागिहरुलाई फ्लोरिकल्चर एसोशिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले प्रमाणपत्र बितरण गरेका थिए । अध्यक्षकुमार कसजु श्रेष्ठले यसपटक आयोजना गरेको तालिम यस अघि गरिएका तालिम भन्दाफरक रहेको बताउँदै यो तालिमबाट सिकेका कुरा ज्यबहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गरे । सहभागिहरुलाई सिकाएका कुरा दैनिक कार्यमा प्रयोग गर्न, योजना बनाएर आफ्नो व्यबसायमा लाग्न आग्रह गर्दै विनभान केस्टरले नेपाली ब्यबसायीले धेरै कुरा ब्यबहारबाट जानि सकेको बताए । यो तालिमबाट सिकेको ज्ञान अन्य स्टाफ, व्यबसायीलाई सिकाउन पनि उनले आग्रह गरेका छन् ।

नेप्से ओरालो लाग्यो, साताको तेस्रोदिन पनि एभरेष्ट बैंककै पछि लगानीकर्ता

काठमाडौं, ३० कात्तिक । साताकोे सुरुका दुई दिन बजार उकालो लागेपनि मंगलबार भने ओरालो लागेको छ । यसदिन बजार ४दशमलव ३७ अंकले ओरालो लागेको हो । विकास बैंक, उत्पादनमूलक र अन्य बाहेक सवै उपसमुह पनि ओरालो लागेको छ । नेपाल टेलिकमको वित्तिय विवरण सार्वजनिक भएपछि यस कम्पनीको सेयर मुल्य ९ रुपैयाँले बढेर ६८५ मा कारोबार भएको छ । नेपाल टेलिकमको मुल्य बढ्दा अन्य समूहको सुचक पनि केही बढेको हो । यसदिन बैकिङ ६ दशमलव ८९ अंक, होटल ३३ दशमलव २ अंक, जलविद्युत ३० दशमलव ५४ अंक, विमा २३ दशमलव ६ अंक र फाइनान्स १ दशमलव २ अंकले घटेको छ भने विकास बैंक १ दशमलव ९१ अंक, उत्पादनमूलक ४ र अन्य ९ अंकले बढेको छ । मंगलबार पनि लगानीकर्ताहरु एभरेष्ट बैंकको नै पछि लागेका छन् । आइतबार २० करोडको कारोबार भएको सो बैंकको सोमबार १२ करोडको हाराहारीमा कारोबार भएको थियो । मंगलबार एभरेष्ट बैंकको १७ करोडको कारोबार भएको छ । यसदिन एभरेष्ट बैंकसँगै वढी कारोबार हुनेमा बैंक अफ काठमाडौ लुम्विनी, नेशनल लाइफ इन्सुरेन्स कम्पनी र कुमारी बैंक रहेका छन् । बढी कमाउनेहरुमा गरिमा विकास बैंक,किसान माइक्रो फाइनान्स वित्तिय संस्था, नागवेली लघुवित्त विकास बैंक र एनवी इन्सुरेन्स कम्पनी रहेका छन् । त्यस्तै सवैभन्दा बढी गुमाउनेहरुमा महिला सहयात्रा माइक्रो फाइनान्स वित्तिय संस्था, बोटलर्स नेपाल ,बुटवल पावर कम्पनी लगायतका रहेका छन् । मंगलबार दिनभर एकसय ३९ कम्पनीको ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

भर्मिकम्पोष्ट मलको गुणस्तर तथा मापदण्ड निर्धारण, नयाँ लाइसेन्स, र मलको बिक्री वितरणका लागि बाटो खुल्ला

काठमाडौ, ३० कार्तिक । लामो समयको प्रयास पश्चात नेपाल मै पहिलो पटक भर्मिकम्पोष्ट मलको छुटै गुणस्तर तथा मापदण्ड तय गरिएको छ । कृषि विकास मन्त्रीको अध्यक्षतामा सोमवार बसेको प्राँगारिक मल प्रविधिक कार्यटोलीको बैठकबाट भर्मिकम्पोष्ट मलको लागि छुटै गुणस्तर तथा मापदण्ड तय गरिएको हो । नयाँ गुणस्तर तथा मापदण्ड तयगरिएसँगै भर्मिकम्पोष्ट मलको उत्पादन अनुमति तथा बिक्री वितरणको बाटो पनि खुलेको हो । यसअघि प्राँगारिक मलको हकमा एउटै कार्यविधि मात्र लागु गरिएको थियो । जसमा चिस्यान २० देखि ३० प्रतिशतसम्म कायम गरिदा भर्मिकम्पोष्ट मलकोे बिक्री वितरणमा जटिलता उत्पन्न भएको थियो । नेपाल कृषि अनुसन्धान परिषद नार्क, कृषि विकास मन्त्रालय, माटो विज्ञ, लगायतका विभिन्न अनुसन्धानको आधारमा पेश गरिएको प्रतिवेद अनुसार भर्मिकम्पोष्ट मलको गुणस्तर तथा मापदण्ड तय गरिएको हो । नयाँ गुणस्तर तथा मापदण्ड अनुसार अब मलको नाइट्रोजन २ प्रतिशत, फस्फोरस ० दशमलव ७५ प्रतिशत, पोटास २ प्रतिशत र चिस्यान २० देखि बढीमा ४० प्रतिशतसम्म रहने गरि निणर्य गरिएको बैठकमा सहभागी प्रविधिक उपसमितिका सदस्य एवं हिकाष्टका उपप्रध्यापक बिष्णु प्रसाद भटट्राईले जानकारी दिए । झण्डै पाँच वर्षदेखि देखिएको भर्मिकम्पोष्टको गुणस्तर तथा मापदण्ड बारे देखिएको विवाद अब अन्त्य भएको दिपक भर्मिकम्पोष्ट मल प्रालिका सञ्चालक दिपक थापाले जानकारी दिए । भर्मिकम्पोष्टलको गुणस्तर तथा मापदण्ड कुनै व्यक्तिले बोलेको भरमा नभई विभिन्न अध्यन तथा नार्क लगायतका विभिन्न अनुसन्धाले प्रमाणित गरेपछि बैठकमा निणर्य भएको प्रविधिक उपसमितिका सदस्य एवं हिकाष्टका उपप्रध्यापक भट्टराईको भनाई छ । बैठकले विभिन्न अध्यन तथा अनुसन्धान गर्न वरिष्ठ माटो विज्ञ जनार्दन खड्काको संयोजकत्वमा प्राविधि उपसमिति पनि गठन गरेको छ । उपसमितिका सदस्यमा हिकाष्टका उपप्रध्यापक बिष्णु प्रसाद भटट्राइ र नार्कका वरिष्ठ वैज्ञानिक श्रीप्रसाद बिष्ट रहेका छन् । बैठकमा कृषि विभागका महानिर्देशक युवकध्वज जिसी, माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गा प्रसाद दवाडी, नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तगर्तका माटो विज्ञान महाशाखाका प्रमुख कमल साह, वरिष्ठ माटो विज्ञ जनार्दन खड्का, वरिष्ठ कृषि अर्थ विज्ञ दिवसराज बिष्ट, नार्कका वैज्ञानिक यज्ञराज गिरी, नार्कका सानुकेसरी बज्राचार्य, हिकाष्टका बिष्णु भट्टराई लगायतकाहरुको सहभागिता रहेको थियो ।