स्याङजाको चापाकोटमा कृषि विकास बैंकको आधुनिक बैकिङ कार्यालय
काठमाडौं, ११ कात्तिक । स्याङजाको चापाकोट नगरपालिकामा कृषि विकास बैंकको नयाँ शाखा स्थापना भएको छ । सो शाखाको कात्तिक ८ गते कृषि विकास बैंककका संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की र प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । सो शाखाबाट कृषि विकास बैंकका सबै सेवा सुबिधा लिन सकिने प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले जानकारी दिए । बैंकका अध्यक्ष प्रमोद कुमार कार्कीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा अघि बढेको बताएक थिए । उदघाटन कार्यक्रममा कृषि विकास बैंक मुख्य कार्यालय काठमाडौंका विभागीय प्रमुख निर्मल प्रसाद उपाध्याय, प्रमुख कार्यकारी अधिकृत कार्यालयका शाखा प्रमुख हिम लाल पौडेल, क्षेत्रीय कार्यालय पोखराका शाखा प्रमुख रुद्र कुमार श्रेष्ठ, स्थानिय राजनीतिक दलका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।
सिद्धार्थ बैंकको ४ बराबर एक कित्ता हकप्रद सेयर आजबाट निष्काशन
काठमाडौं, ११ कात्तिक । सिद्धार्थ बैंक लिमिटेडको ४ कित्ता बराबर एक कित्ता अनुपातको हकप्रद सेयर कात्तिक ११ अर्थात आजबाट निष्काशन भएको छ । बैंकले लक्ष्मी क्यापिटल मार्फत हकप्रद सेयर निष्काशन गरेको हो । सिद्धार्थ बैंकका देशैभरका शाखा कार्यालय तथा सिद्धार्थ क्यापिटल र लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वरबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ । मंसिर १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । हुलाक मार्फत ड्राफ्ट गरेर पठाइएको आवेदन भने ७ दिनपछिसम्म बाँडफाँटमा समावेश गरिनेछ । तीन अर्ब २२ करोड चुक्ता पुँजी रहेको बैंकले ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
६ ब्रोकर कम्पनीको सेयर कारोबार बन्द, नागरिक लगानी कोष सहित ४ मर्चेन्ट बैंकरलाई नयाँ कारोबार गर्न एक साता रोक
काठमाडौं, ११ कात्तिक । नेपाल धितोपत्र बोर्डले ६ वटा ब्रोकर कम्पनीहरुको कारोबार बन्द गरिदिएको छ भने नागरिक लगानी कोषसहित ४ वटा मर्चेन्ट बैंकरलाई नयाँ काम गर्न रोकिदिएको छ । नियम अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण नबुझाएको र विवरण बुझाउन नभ्याएको अवस्थामा नियम अनुार थप तीन महिना समय माग समेत नगरी धितोपत्र सम्बन्धी कानुनको अवज्ञा गरेका कारणले उनीहरुलाई कारवाही गर्ने निर्णाय विहीबार गरिएको धितोपत्र बोर्डले जनाएको छ । बोर्डका सहायक प्रबक्ता निरञ्जय घिमिरेका अनुसार सेयर ब्रोकर कम्पनीहरु प्रिमियर सेक्युरिटज, मार्केट सेक्युरिटज, अरुण सेक्युरिटज, जेफ सेक्युरिटज, सुमेरु सेक्युरिटज र सुन्धारा सेक्युरिटिज्लाई कारवाही गर्ने निर्णय भएको छ । उनीहरुलाई सात दिनसम्म सेयर कारोबार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय भएको उनले जानकारी दिए । त्यस्तै धितोपत्र बोर्डले नागरिक लगानी कोष, भिवोर क्यापिट, सिद्धार्थ क्यापिटल र विड इम्भेष्टमेन्टलाई पनि ७ दिनसम्म नयाँ काम लिन नपाउने, सम्झौता गर्न नपाउने गरि कारवाही गर्ने निर्णय गरेको छ । मर्चेन्ट बैकरले अरु काम गर्न पाउने तर नयाँ सम्झौता गर्न वा अरु नयाँ काम गर्न नपाउने गरि कारवाहीको निर्णय भएको उनले बताए ।
जनता बैंकको ५० प्रतिशत हकप्रद सेयर निष्काशन, १९.९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव
काठमाडौं, ११ कात्तिक । जनता बैंक नेपाल लिमिटेडले सेयरधनीलाई १ अर्ब ३ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको लागि आवेदन गर्न आह्वान गरेको छ । बैंकले विद्यमान २ कित्ता बराबर १ कित्ता (५० प्रतिशत) हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद सेयरको लागि मंसिर १ देखि पुस ५ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । जनता बैंकका सबैं कार्यालयबाट र एनसीएम मर्चेन्ट बैकिङ लिमिटेडबाट उक्त सेयरको लागि आवेदन गर्न तथा सेयरको लागि रकम बुझाउन सकिने बैंकले जनाएको छ । कात्तिक १० गतेसम्म सेयर लिएका सेयरधनीले हकप्रद सेयरका लागि अावेदन गर्न पाउनेछन् । हाल दुई अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकले गत आर्थिक वर्षको नाफाबाट ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । ‘बैंक सञ्चालक समितिले १९.९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा प्रस्ताव गरेको छ’ बैंक स्रोतले भन्यो -‘यसमा राष्ट्र बैंकबाट स्वीकृत प्राप्त हुन बाँकी रहेकाे छ ।’ बैंकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृत गर्छ भन्ने विश्वासका आधारमा विहीबार जारी सूचनामा अपरिष्कृत वित्तीय विवरण उल्लेख गर्दै २०७३ असार मसान्तको चुक्ता पुँजी २ अर्ब ४७ करोड २० लाख रुपैयाँ जनाएको छ । बोनस सेयर स्वीकृत भएमा हकप्रद सेयरपछि बैंकको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ हुनेछ ।
अख्तियार प्रमुखले पूर्व सभाभुख सुवास नेम्वाङको टेप रेकर्ड गरेछन्, संविधान निर्माणपनि अवरोधको मनसाय
काठमाडौं ११, कातिक । विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले संविधान निर्माण प्रक्रियामासमेत अवरोध गरेको खुलासा गरेका छन् । प्रेस चौतारी नेपाल ललितपुर जिल्ला शाखाले दशै, दीपावली, छठ, नेपाल सम्बत, ल्होसारलगायतका चाडपर्वको अवसरमा बुधबार लगनखेलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले यस्तो खुलासा गरेका हुन् । आफू शक्तिशाली हुने गरी संविधान निर्माण हुनुपर्ने भन्दै कार्कीले दबाब दिएको नेम्वाङले स्मरण गरे । दबाब नमानेपछि कार्कीले पदीय जिम्मेवारीको समेत चरम दुरुपयोग गरेको उनले आरोप लगाए । ‘लोकमानले आफू शक्तिशाली हुने गरी संविधानको मस्यौदाका क्रममा अख्तियारको कार्यक्षेत्रबाट अनुचित कार्य भन्ने शब्द हटाउन नदिने दबाब दिएका थिए,’ नेम्वाङले भने, ‘उनको चाहना अनुसार नभएपछि संविधान मस्यौदा समितिका सचिव रविराज अर्याललाई अख्तियारले चिठी काटेर बयान लिने काम पनि गरेको थियो ।’ कार्कीले संविधान निर्माणका क्रममा विभिन्न तरिकाले आफू बलियो बन्ने उद्देश्यका साथ अनुचित रुपमा पदको दुरुपयोग गर्दै अघि बढेको उनले बताए । दलहरुले त्यसलाई अस्वीकार गरेपछि लोकमानले संविधान मस्यौदा समितिका सचिवलाई अख्तियारमा बोलाएर बयान लिँदै गलत नियतले दुःख दिएको नेम्वाङले बताए । संविधान सभाका सदस्यलाई प्रभावमा पार्न नसकेपछि कार्कीले सचिवालयका कर्मचारीलाई अख्तियारको प्रयोग गरी वयान लिदै धम्क्याउन शुरु गरेका थिए । अख्तियारमा बयान दिन जाने कर्मचारीले अख्तियार प्रमुखले भनेबमोजिम काम नगरेकाले अख्तियारले चिठी काटेको भन्दै धम्क्याउने गरेको नेम्वाङले बताए । कार्कीको यस्तो पदीय दुरुपयोगका बारेमा सर्वदलीय बैठक बोलाएर संविधान निर्माणमा अवरोध गरेको भनेर सार्वजनिक गर्ने तयारी गरेपछि अर्याललाई मुद्धा मामिलाबाट मुक्त गर्न अख्तियार बाध्य भएको उनले बताए । राजधानी दैनिकबाट।
‘सडक विस्तारमा किन ढिलाइ ?, त्रिपुरेश्वरबाट १२ किमिपार गर्ने कठिन
काठमाडौं ११, कात्तिक । त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२ किलोमिटर सडक विस्तारले संसदको विकास समितिमा मंगलबार ठूलै चर्चा पायो । समितिका सभापति रवीन्द्र अधिकारीले समितिमा भने, ‘सिंहदरबारबाट नागढुंगा पुग्न दिल्ली पुग्नुभन्दा पनि बढी समय लाग्छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका प्रतिनिधिमाझ अधिकारीले यसो भनेका थिए । कलंकीको फाइल तस्बिर अधिकारीको नेतृत्वमा एक वर्षयता पटक–पटक बसेको समितिको बैठकले सरकारी निकायलाई छिटो सडक निर्माण गर्न निर्देशन दिँदै आइरहेको छ । तर विस्तारको गति भने निकै सुस्त छ । सवारी साधनहरू उपत्यकाबाट बाहिरिने र भित्रिने नाकामध्ये सबभन्दा व्यस्त नाका हो– नागढुंगा । ‘यो सडक खण्डसँगै काठमाडौं उपत्यकाका अन्य बेहाल सडकबारे दैनिक गुनासो आउने गर्छन्,’ हेलो सरकारका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले भने, ‘हामीले गुनासालाई सम्बन्धित निकायमा पठाउँदै आएका छौं ।’ स्थानीय र आम जनता मात्र होइन, यातायात व्यवसायीले समेत दसैंअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै गएर उक्त सडक खण्ड सुधार गर्नुपर्ने माग राखेका थिए । ‘यो सडकमा गाडी गुड्न सक्ने स्थिति नै छैन । त्यसैले हामीले अरू केही गर्न नसके पनि ठूला खाल्डोमा ग्राबेलसम्म हाल्न आग्रह गरेका थियौं,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । कान्तिपुर दैनिकबाट ।
जुवेलमा ६२ जना नेपाली कामदार अलपत्र, पीडित कामदारले ३ महिनादेखि काम र तलब दुबै पाएनन
काठमाडौं ११, कात्तिक । साउदी अरवको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । ती कामदारलाई काठमाडौंस्थित न्यु जेनेरेशन इम्प्लोइमेन्ट सर्भिसले पठाएको थियो । रियादस्थित नेपाली दुताबासले कम्पनीले कामदारलाई काम दिन नसकेको भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न श्रम मन्त्रालयलाई र वैदेशिक रोजगार बिभागलाई सिफारीस गरेको छ । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै उजुरी दिन नेपाली दुताबास पुगेका थिए । कम्पनीका मालिक महमद सदले दुताबासमा उजुरी दिन गएका रामचन्द्र ढुंगाना र जसिबिर नाल्वेलाई अज्ञात स्थलमा लगेर राखेको छ । कान्तिपुर दैनिकबाट ।
अंगभंग भए चालकको लाइसेन्स खारेज, सवारी तथा यातायात व्यवस्था ऐन कडा आउँदै
काठमाडौं ११ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भए चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरी चालकलाई आफ्नो पेसाप्रति जिम्मेवार र उत्तरदायी बनाउन यस्तो व्यवस्थाको तयारी गरेको मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन प्रस्ताव गरी मन्त्रालयमा पठाएको एक उच्च अधिकारीले बताए । ‘संशोधनका लागि मस्यौदा पठाइएको छ,’ ती अधिकारीले भने, ‘विभिन्न निकायसँग छलफल जारी छ, सदनमा चाँडै पठाइन्छ होला ।’ संसदबाट पारित भए उक्त प्रस्ताव ऐनमा परिवर्तन हुनेछ । कान्तिपुर दैनिकबाट ।