लक्ष्मी बैंकको दुई नयाँ शाखा संचालनमा
काठमाडौं, १० कात्तिक । लक्ष्मी बैंकले बुधबार दुई नयाँ शाखा नवलपरासीको रजहर र उदयपुरको गाईघाट शुभारम्भ गरेको छ । बैंकिङ् सेवाहरु ग्राहकमाझ सहज रुपमा पुर्याउने लक्ष्यले बैंकले यो नयाँ शाखा संचालनमा ल्याएको हो । आर्थिक र व्यापारीक दृष्टिकोणले प्रमुख भूमिका भएको गाईघाट र बैकिङ्ग क्षेत्रमा पहुँच सुदृढ नभईसकेको,रजहर जस्तो बजारहरुमा ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । साथै बैंकले शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । उक्त शाखा मार्फत सुविधाजनकन निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसायकर्जा सेवाहरु प्रदान गर्ने बैंकले बताएको छ । हाल लक्ष्मी बैंकको शाखा संजाल ५७, २ विस्तार काउन्टर र ७७ ए टि एम रहेको छ । यीशाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।
कृषि विकास बैंकको नयाँ शाखा स्याङ्गजामा संचालन
काठमाडौं, १० कात्तिक । कृषि विकास बैंक लि.को नयाँ शाखा स्याङ्गजा जिल्लाको चापाकोट नगरपालिकामा संचालन भएको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष प्रमोदकुमार कार्की एवं प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले संयुक्त रुपमा गरेका हुन् । सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका कार्यकारी अधिकृतले बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका छन् । सो अवसरमा उनले बैंकले प्रदान गर्ने सेवासुविधा तथा बैंकको एचयमगअतको बारेमा जानकारी गराउंदै स्थानीय जनताको सहयोग भएमा बैंकले निरन्तरता पाउने बताए । त्यस्तै गरी बैंकका अध्यक्ष कार्कीले बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने बताएका छन् ।
सेयर बजारमा सामान्य अंकको सुधार, ८१ करोडको सेयर कारोबार
काठमाडौं, १० कात्तिक । यो साताको शुरुदेखि नै निरन्तर घटेको बजारमा बुधबार भने सामान्य सुधार भएको छ । सो दिन बजार खुलेको दुई घण्टामा घटेर १७३५ अंकमा पुगेको बजारलाई बन्द हुँदा भने केही टेवा पुगेको छ । सो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलब ४६ अंकले बढेर १७५३ मा पुगेको छ । बजारमा माच्छापुच्छ«े बैंक र शिखर इन्स्योरेन्सको ६ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, जनता बैंक नेपालको ४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्ट बैंक, नेपाल बङ्गलादेश बैंक र स्ट्याण्डार्ड चार्टड बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, सिभिल बैंक र मेघा बैंक नेपालका लगानीकर्ताले क्रमशः ९.२९ र ८.४० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी राप्तीभरी विकास बैंकका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १०५ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, फाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् । विकास बैंक, हाइड्रोपावर र बैंकिङ् समूहको परिसूचक क्रमशः ६, ०.५१ र ०.२ अंकले ओरालो लागेका छन् ।
सिटिजन्स बैंकको बर्दिवास शाखा स्थानान्तरण
काठमाडौं, १० कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको महोत्तरी जिल्ला बर्दिवास नगरपालिका २ स्थित बर्दिवास शाखा स्थानान्तरण भई उक्त शाखा महोत्तरी जिल्लाकै बर्दिवास नगरपालिका १ मा रहेको भवनबाट संचालन गरिएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरि नयाँ भवनबाट सो शाखाको आरम्भ गरेका छौं । यस बर्दिवास शाखा लगायत जनकपुर शाखा, गौशाला शाखा तथा चरिकोट शाखा गरि बैंकको जनकपुर अंचलमा कुल चारवटा शाखाहरु संचालित छन् । बैंकको आफ्नो कुल ५८ वटा शाखा, ५१ वटा ए.टि.एम. काउन्टर र ४८ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट १४ अंचलका करिब ४ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को आश्विन मसान्तसम्म खुद मनाफा रु. ३४ करोड ५ लाख आर्जन गर्न सफल भएको छ भने निक्षेप तर्फ करिव रु. ५० अर्ब र कर्जा प्रवाह तर्फ करिव रु. ४४ अर्ब परिचालन भएको छ ।
प्रिमियर इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने, पूँजी ४४ करोड रुपैयाँ पुग्ने
काठमाडौं, १० कात्तिक । प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १ दशमलब ०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकलले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी ४४ करोड ८५ लाख रुपैयाँ पुग्ने छ । बुधबार कम्पनीको प्रतिकित्ता सेयर करिब २२८० रुपैयाँमा कारोबार भइरहेको छ ।
अपि पावरले पायो सौर्य उर्जा उत्पादन गर्ने अनुमति, ६४ मेगावाट सौर्य उत्पादन गर्ने
काठमाडौं, १० कात्तिक । अपी पावर कम्पनीले विभिन्न ८ आयोजनाबाट सौर्य उर्जा उत्पादन गर्न विद्युत प्राधिकरणबाट अनुमति पाएको छ । विद्यमान उर्जा संकट निवारण गर्न सरकारले चालु आर्थिक वर्ष नेपाल विद्युत प्रधिकरणसँग मिलेर ६४ मेगावाट सौर्य उर्जा उत्पादन गर्न आह्वान गरेको टेन्डर अनुसार सञ्चालन गर्ने अनुमति आइतबार पाएको छ । अपी पावरले ढल्केवरमा १ मेगावाट, दुहवीमा १.५ मेगावाट, परवानीपुरमा ८ मेगावाट, सिमरामा १ मेगावाट, चन्द्रनिगाहपुरमा ४ मेगावाट, वर्दघाटमा १ मेगावाट, चनौटामा १.५ मेगावाट, र कावासोतीमा १.५ मेगावाट गरी ८ स्थानका लागि विद्युत प्राधिकरणबाट अनुमति पाएको हो । सबै परियोजनमा गरी १९.५ मेगावाट विद्युत उत्पादन गर्ने अपि पावरको लक्ष छ । अपि पावरले अनुमति पाएपछि ती आयोजनाको काम तुरुन्त अगाडि बढाउने छ । कम्पनीले अनुमति पाएको १ बर्षभित्रै विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष लिएको छ । एक पटकको लगानीले सौर्य उर्जामा वर्षौ ढुक्क हुन सकिन्छ । नेपालमा सौर्य उर्जाको प्रशस्त सम्भावना छ । यही सम्भावनालाई ध्यानमा राखेर उर्जा संकट निवारण गर्न सरकारले २०७२ मंसिर ८ गते विद्यमान उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र २०७२ मा सौर्य उर्जासम्बन्धी केही बुँदाहरु थपेको थियो । अवधारणा पत्रमा उल्लेख भएअनुसार चालु आर्थिक वर्ष २०७२/७३ मा सौर्य उर्जाको उत्पादन कुल जलविद्युत उत्पादनको १० प्रतिशत अर्थात १ सय मेगावाट गर्ने लक्ष्य राखिएको छ । त्यस्तै आगामी वर्ष सौर्य उर्जा २ सय मेगावाट उत्पादन गर्ने लक्ष्य छ । अवधारणापत्रमा उल्लेखित लक्ष्यअनुसार सरकारले नेपाल विद्युत प्रधिकरणसँग मिलेर चालु आर्थिक वर्षमा ६४ मेगावाट सौर्य उर्जा उत्पादन लागि टेन्डर आव्हान गरेको थियो । प्राधिकरणले आव्हान गरेको टेन्डरबाट उत्पादित सौर्य उर्जालाई देशको २२ स्थानको राष्ट्रिय प्रसारण लाइनका स्टेसनहरुमा जोड्ने व्यवस्था मिलाइएको छ । विभिन्न स्थानमा ०.५ मेगावाटदेखि ८.५ मेगावाटसम्म सौर्य उर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । यही अवसरलाई ध्यानमा राख्दै देशको चरम विद्युत संकट समाधानमा योगदान पुर्याउन अपी पावर कम्पनीले प्राधिकरणले आह्वान गरेको टेन्डर प्रक्रियामा भाग लिएको थियो । अपी पावरले दार्चुलाको नौगाड खोलाबाट ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेर विद्युत उत्पादन गरिरहेको छ । उक्त आयोजना सकिएलगत्तै ८ मेगावाट क्षमताको नौगाड दोस्रो जलविद्युत आयोजना निर्माण सुरु गरेको छ । कम्पनीले दोस्रो अपर नौगाड निर्माण सकिएलगत्तै ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । यस्तै कम्पनी ७५ मेगावाटको त्रिशूली गल्छीको समेत निर्माणमा जुटेको छ । अपि पावरले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर उपलब्ध गराउने निर्णय गरेको छ । कम्पनीले विभिन्न आयोजना निर्माण गर्न पूँजी जुटाउन १ बराबर २ कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । यसका लागि अनुमति लिन धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
प्राइम बैंकले २४ प्रतिशत लाभांश दिने
काठमाडौं, १० कात्तिक । प्राइम कमर्सियल बैंकले २४ प्रतिशत लाभांश दिने भएको छ । कात्तिक ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले २३ प्रतिशत बोनस सेयर एक दशमलब २१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्विकृिित तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानी कर्ताले सो मात्रामा बोनस सेयर प्राप्त गर्नेछन् । बैंकले हाल ३ बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरिसकेको छ । सो निष्काशनका कारण बोनस सेयरको मात्रामा केहि फरक पर्न सक्ने पनि बैंकले जनाएको छ । प्राइमले चालु आवको पहिलो त्रैमासिकमा २५ करोड १० लाख नाफा कमाएको छ ।
विमास्थल एक घण्टा बन्द, गोमा एयरको दुईवटै जहाज आकस्मिक आवतरण
काठमाडौं १०, कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गका जहाजको सीसाका टुक्रा भेटिएपछि एक घण्टा विमानस्थल बन्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रमनाथ ठाकुरका अनुसार धवनमार्गमा सीसाको टुक्रा भेटिएपछि अनुसन्धानका लागि विहान एक घण्टा विमानस्थल बन्द भएको छ । ठाकुरका अनुसार विहान ८ बजेर ४८ मिनेटदेखि ९ बजेर ४६ मिनेटसम्म धावनमार्ग बन्द भएको छ । धावनमार्ग बन्द गरेर गरिएको निरिक्षणका क्रममा एउटा मरेको सनो चमेरो भेटियो भने सीसाका टुक्रा पनि भेटिएको छ । विमानस्थल कार्यालयका अनुसार सीसाको टुक्रा राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानका जहाजको लाइट झरेको हुनसक्ने अनुमान गरिएको छ । सीसा रनवेमा भेटिएको विषयमा अनुसन्धान गर्न विमानस्थलको हवाइ उडान सुरक्षा महाशाखालाई निर्देशन समेत भैसकेको छ । सुरक्षा विभागले अनुसन्धान गर्ने र सबै जहाज चेकजाँचको अवस्थामा रहेका छन् । धावनमार्ग निरिक्षणका लागि भएको एक घण्टा विमानस्थल बन्द भएकै अवस्थामा लुक्लाबाट आन्तरिक उडानको गोमा एयर होल्ड गर्न नपुग्ने इन्धन भएकोले कारण यसका दुईवटै जहाजलाई आकस्मिक अवतरण गराइएको छ । दुबै जहाज लुक्लाबाट आएको र आकस्मिक आवतरण सुरक्षित रुपमा भएको पनि विमानस्थलका प्रवत्ता ठाकुरले बताए । उनका अनुसार एक घण्टा विमानस्थल बन्द भएकोले अन्य अतवण र गर्नुपर्ने उडान आकासमै होल्ड गर्न लगाइएको र विमानस्थलबाट उड्नुपर्ने जहाज पनि रोकिएको थियो । धावनमार्ग निरीक्षणपछि अहिले सहज रुपमा विमानस्थल सुचारु भएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।