सिटिसी मलमा मोबाइल एक्स्पो शुरु, छुटैछुट र सुबिधाको बहार
काठमाडौं, ७ असोज । राजधानीको सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ शुरु भएको छ ।असोज ११ गतेसम्म सञ्चालन हुने एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गरेका हुन् । मोबाइल एक्स्पोका उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री महराले मोबाइलले सूचना प्रबिधीको क्षेत्रमा क्रान्ती ल्याएको बताए । उनले आफु सञ्चार मन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल घर घरमा इन्टरनेटको बिशेष कार्ययोजना अनुसार नै नेपालमा सूचना प्रबिधीको विकास भैरहेको दावी समेत गरे । आफ्नो सोही योजना नेपाल टेलिकमले थप ३५ लाख सिमकार्ड बजारमा पठाएको समेत जानकारी दिए । सिभिल ग्रुपका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले मोबाइल एक्स्पोले मलको व्यवसायीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले मलमा रहेका व्यवसायीहरुको हितका पक्षमा मलले सबै खाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । उनले सिटिसी मललाई मल्टिपल सपिङ डेस्टिनेशनका रुपमा विस्तार गर्ने तयारी भैरहेको समेत जानकारी दिएका थिए । त्यस्तै सामसङ नेपालका प्रणय रत्न स्थापितले नेपालकै ठुलो मोबाइल बजारमा आयोजना गरिएको मोबाइल एक्स्पोले कम्पनीको बजार प्रवद्र्धनमा समेत मदत पुग्ने अपेक्षा सहित मुख्य प्रायोजक बनेको बताए । टेलिटका प्रबन्ध निर्देशक(पद कन्फ्युजन) सञ्जय अग्रवालले पनि यसपालीको एक्स्पोबाट कम्पनीको बजारीकरणमा ठुलो योगदान पुग्ने अपेक्षा व्यक्त गरे । उद्घाटन समारोहमा सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बजार प्रवद्र्धनको मुख्य योजनासहित एक्स्पोको आयोजना गरेको बताए । सिटिसी मोबाइल बजारमा ग्रे मार्केटका फोनलाई पुर्णत निषेध गरिएको बताउँदै उनले सस्तो र गुणस्तरिय मोबाइल खरिदका लागि सिटिसीम मोबाइल बजार उपयुक्त गन्तव्य भएको समेत बताएका थिए । ८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको छ । त्यसका अलवा केहि कम्पनीहरुले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् । निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको एक्स्पोमा फ्रि वाइफाईको मज्जा पनि उठाउन सकिन्छ । एक्स्पोमा आउने अवलोकन कर्ताहरुलाई हरेक दिन लक्की ड्र मार्फत मोबाइल जित्ने अवसर प्रदान गरिएको छ । मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्रीबितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल समेत प्रदान गरिनेछ ।
बागलुङदेखि नयाँदिल्ली सिधा बस सञ्चालन, सातामा तीन दिन सुचारु हुने
बागलुङ, ७ असोज । बागलुङदेखि छिमेकीमुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बस सेवा शुरु भएको छ । ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’ बस पहिलोपटक यात्रु लिएर यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेको छ । धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको ‘मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा बससेवा सञ्चालन गरेको हो । सेवा शुक्रबार शुभारम्भ गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले बागलुङ– नयाँदिल्ली बससेवाले सार्वजनिक यातायात सेवामा नयाँ आयाम थपेको बताए । उनले सर्वसाधारणप्रति समर्पित रहेर स्तरीय र मर्यादित सेवा प्रदान गर्न समितिलाई आग्रहगर्दै सार्वजनिक यातायात सेवालाई सुधार्न सरकारसँग मिलेर काम गर्न महासङ्घ तयार रहेको धारणा राखेका छन् । बागलुङ– नयाँदिल्ली बससेवा साताको आइतबार, बुधबार र शुक्रबार सुचारु रहने समितिले जनाएको छ । नयाँ दिल्लीबाट पनि सोही बार र समयमा बस बागलुङको लागि छुट्नेछ । यात्रुको चाहाना र सुविधालाई दृष्टिगत गरी ‘डिलक्स’ बसबाट सेवा दिइएको समितिका अध्यक्ष कुमार खड्काले बताए । बागलुङबाट छुटेको बस पोखरा, नारायणगढ, सुनौली नाका हुँदै नयाँ दिल्लीको मौरी गेट बरफ खानामा गएर रोकिनेछ । एकहजार ३२० किमिको उक्त यात्रामा प्रतियात्रु रु तीन हजार २०० नेपाली भाडादर कायम गरिएको अध्यक्ष खड्काले जानकारी दिए । बागलुङदेखि छुटेको बस ३० घन्टामा नयाँदिल्ली पुग्नेछ । नयाँदिल्लीमा पनि काउन्टर स्थापना गरी बस सेवाको प्रचारप्रसार र व्यवस्थापनको काम भइरहेको जनाइएको छ । धवलागिरी क्षेत्रबाट रोजगारीको लागि भारतको नयाँदिल्ली र अन्य सहरमा पुगेका व्यक्ति, भारतीय पर्यटक, तीर्थयात्री, विद्यार्थी, पेसाकर्मी र उपचारमा जाने बस सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । ‘यहाँबाट नयाँदिल्ली पुग्न धेरै झन्झट बेहोर्र्नुपर्ने अवस्थाको अब अन्त्य हुनेछ, ठाउँ–ठाउँमा गाडी फेरिन गर्नुपर्ने बाध्यता पनि टर्नेछ’ समितिका अध्यक्ष खड्काले भने । ‘मोर्डन इरा टुर्स एन्ड ट्रार्भल्स’ प्रालिका अध्यक्ष केशव अधिकारीले यात्रुको पूर्ण सुरक्षाको ‘ग्यारेन्टी’ गरिएको बताए । प्रालिले दस वर्ष अघिदेखि पोखरा– नयाँदिल्ली बससेवा सञ्चालन गर्दै आएको छ । “पोखरादेखि सेवा दिँदा अधिकांश यात्रु धवलागिरी क्षेत्रकै भएको पायौँं’ अध्यक्ष अधिकारीले भने ‘धवलागिरीका सर्वसाधारणको सेवाका लागि बागलुङबाटै बससेवा सुरु गर्न सहकार्य गरेका हौंँ ।” उनले मुस्ताङमापर्ने पवित्र धार्मिकस्थल मुक्तिनाथ जाने भारतीय तीर्थयात्री र पर्यटकका लागि पनि बस सेवाले लाभ पुग्ने बताए । यात्रुको चाप अनुसार सेवालाई विस्तार गर्दै दैनिक रुपमा समेत बससेवा चलाउन सकिने समितिले जनाएको छ । निकट भविष्यमा भारतको सिलुगुढी, गुवाहटीमा पनि बससेवा सुचारु गर्ने योजना समितिसँग छ । रासस
‘उद्योग क्षेत्र बन्द हडताल मुक्त बनाइने’
भक्तपुर, ७ असोज । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग व्यवसाय क्षेत्रलाई अब बन्द हडतालमुक्त क्षेत्र बनाइने बताएका छन्। उद्योग वाणिज्य सङ्घले शुक्रबार यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री जोशीले सबै दलसँग छलफल गरी बन्द हड्ताल मुक्तक्षेत्र बनाउन सरकारले ऐन नियम बनाउने तयारी गरिरहेको बताए। लगानीमैत्री वातावरण नहुँदा पुँजी र मानवस्रोत पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरले आफ्ना माग राख्न पाउने तर बन्द हडताल गर्न नपाउने गरी नीतिनियम एवम् कार्यविधि ल्याउन लागिएको बताए । “सबै मन्त्रालयको उद्योग व्यवसायसँग सम्बन्धित काम उद्योग मन्त्रालयले मात्रै गर्ने गरी अन्य मन्त्रालयसँग छलफल अगाडि बढाइएको छ,” उनले भने– “यसका लागि मन्त्रालयको संरचना परिवर्तन गर्ने तयारी भइरहेको छ ।” सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न अग्रसर रहेको मन्त्री जोशीको भनाइ छ । उद्योग व्यवसायको विकासले मात्र राष्ट्रले कोल्टे फेर्नेर संविधान निर्माण र कार्यान्वयनपछि अव आर्थिक समृद्घि नै देशको मूल बाटो भएको मन्त्री जोशीले बताए । विद्यमान सरकारी साधनस्रोतको अधिकतम उपयोग गरी जनताको हितमा काम गर्ने सोच अनुरुप सरकारले बन्द उद्योग पुन ःसञ्चालन अभियान चलाएको उनले बताए । मन्त्रालयले चार वर्षे मध्यावधि योजना र २० वर्षभित्र देशमा औद्योगिक क्षेत्रको कस्तो मार्गचित्र हुनसक्छ भन्ने खाका ल्याउने तयारी गरिरहेको उनको भनाइ थियो । कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका कार्यबाहक अध्यक्ष भवानी राणाले संविधान बनेको एक वर्ष बित्दा पनि अझै राजनीतिक सङ्क्रमणमै मुलुक अल्झिरहेको र आर्थिक विकासमा लाग्न ढिलाइ भएको जनाएका छन् । उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष केपी अवालले भूकम्प प्रभावित युवायुवतीको आर्थिक सवलीकरणका लागि सीपमूलक तालिम सञ्चालनको तयारी गरिरहेको बताइन । कार्यक्रममा मन्त्री जोशीले भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । रासस
भारतको सहयोगमा उच्च माध्यमिक विद्यालय र क्याम्पस भवन बन्ने
पोखरा, ७ असोज । भारत सरकारको सहयोगमा पोखरा उपमहानगरपालिका–१७ स्थित गुप्तेश्वर बहुमुखी क्याम्पस र लेखनाथ नगरपालिका–१७ स्थित सरस्वती टीका उच्च माविमा पक्की भवन बन्ने भएको छ । भारतीय सहयोगमा जिल्ला विकास समिति कास्कीद्वारा निर्माण गरिने गुप्तेश्वर बहुमुखी क्याम्पसको २१ कक्षा कोठा १० शौचालयसहितको तीनतल्ले भवन तीन करोड ८९ लाख २९ हजार ६८३ रुपैयाँमा बन्ने जिविस कास्कीका इन्जिनियर नारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सरस्वती टीका उच्च माविको दुईतल्ले भवन कम्पाउन्ड वाल, पाँच कक्षा कोठा, सभा कक्ष, विज्ञान प्रयोगशाला, स्टाफ कोठा र फर्निचरसहित तीन करोड ३६ लाख ३२ हजार ५३७ रुपैयाँमा निर्माण हुनेछ । गुप्तेश्वर बहुमुखी क्याम्पसको भवन आगामी सन् २०१७ को अक्टोबर २८ मा र सरस्वती टीका उच्च माविको भवन सन् २०१७ को अक्टोबर २९ भित्रमा सम्पन्न गरिसकिने लक्ष्य रहेको श्रेष्ठले बताए । क्याम्पस एवम् विद्यालय भवनको बिहीबार छुट्टाछुट्टै आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजित रायले शिलान्यास गरेका हुन्। नेपाल र भारतबीच युगौँदेखिको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले शान्ति, स्थिरता र समृद्धिको लक्ष्यमा दुवै देश लागिरहेको बताए । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा भारत सरकारले नेपाल सरकारलाई सहयोग गर्दै आएको बताउँदै उनले पछिल्ला समयमा भएका नेपालका गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताए । आगामी दीपावलीपछि भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुने सम्भावना रहेको जानकारी दिँदै उनले त्यसपछि नेपालका राष्ट्रपतिको भारत भ्रमण हुने बताए। सांसद विन्दा राना मगरले भारत सरकारबाट जिल्लाका क्याम्पस एवम् विद्यालयमा अत्यावश्यकीय भवन निर्माणमा सहयोग गर्नु सराहनीय भएको बताउँदै यसले गुणस्तरीय शिक्षा प्राप्तिमा पनि महत्वपूर्ण सहयोग पुग्ने बताए । उनले पछिल्ला दिन पोखरामा परेको अविरल पानीका कारण कटान गरी क्षति पु¥याएको पोखरा–१७ दोविल्ला र पोखर–२३ निर्मलपोखरी जोड्ने पुल तथा आसपासको बस्ती तत्काल संरक्षण गर्नका लागि आफूले सम्बन्धित निकायमा पहल गरिहेको जानकारी दिए । सांसद दिलबहादुर नेपालीले भारत सरकारबाट भएको यस किसिमको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझै सुमधुर बनाउने विश्वास व्यक्त गरे । स्थानीय विकास अधिकारी दामोदर भण्डारीले निर्माणाधीन क्याम्पस एवम् विद्यालय भवन निर्धारित समयमा नै निर्माण सम्पन्न गरिने बताए । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भौतिक पूर्वाधारको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ शैक्षिक संस्था अग्रसर बन्नुपर्नेमा जोड दिए । गुप्तेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख घनश्याम तिवारी, सरस्वती टीका उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य, लेखनाथ नगरपालिका कार्यालयका कानुन अधिकृत राममणि अधिकारी लगायतले भौतिक पूर्वाधार निर्माणले विद्यालयमा अध्ययन अध्यापन कार्य सहज बन्नुका साथै यसले शैक्षिक गुणस्तरियता कायम गर्न पनि सहयोग पुग्ने बताए। रासस
प्रधानमन्त्रीद्वारा मेलम्ची आयोजनाको निरीक्षण
सिन्धुपाल्चोक, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुपाल्चोक जिल्लामा रहेको मेलम्ची खानेपानी आयोजनाको प्रमुख सुरुङमार्ग अम्बाथानको आज निरीक्षण भ्रमण गरेका छन् । शुक्रबार बिहान निरीक्षणका लागि त्यहाँँ पुगेका प्रधानमन्त्री दाहाललाई आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले उक्त आयोजनाको विस्तृत जानकारी गराएका थिए । सो अवसरमा कामु मुख्यसचिव टङ्कमणि शर्मा, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो । रासस
एनसेल मेलामा रमायो धरान
काठमाडौ, ७ असोज । देशकै प्रमुख मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले बिहीबार धरानको पब्लिक हाईस्कुल मैदानमा भव्य एनसेल मेलाको आयोजना गरेको छ । रि—ब्राण्डिङ्ग पश्चात नजिकिंदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको यस मेलामा सबै उमेर समुहका दर्शकहरुले भरपुर मनोरन्जन लिएको थिए । एनसेल मेला नारायणगढ, पोखरा, बुटवल हुँदै बिहीबार धरान पुगेको थियो । बिहान ११ बजेबाट शुरु भएको मेलामा दिउसो २ बजे पछि सांगीतिक प्रस्तुतीहरुसँगै रमझम र रौनक बढेको थियो । आगन्तुकहरुले एकदमै उत्साहजनक सहभागिता जनाएको यस मेलामा चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, कमेडी, जादु, किडस् जोन र फुड स्टलहरु विषेश आर्कषण रहेका थिए । चर्चित कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई गीत संगीतमा झुम्दै नाच्न प्ररित गरेका थियो भने हाँस्य कलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हाँस्यव्यङ्ग्यबाट मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्ज क्रु र युभि एन्जल्स्को साँझको विषेश प्रस्तुतीे दर्शकहरुले मन पराएका थिए । मेलाको विषेश आर्कषण कन्सर्टमा, गायक सुगम पोखरेलले ‘झिल्के’, ‘प्रेम गीत’ र ‘साथी’ मिलन अमात्यले ‘गाला रातै’, ‘स्लोली स्लोली’ र ‘कुरा खाँटी हो’, शिव परियारले ‘क्या दामी भो’, ‘रुपौली रानी’ र ‘संगी ढुब्दैछु आज’ जस्ता चर्चित गीतहरु गाएर दर्शकहरुलाई गाँउदै नाच्न प्ररित गरेका थिए । एक्स ब्याण्डले आफ्नो लोकप्रिय गीतहरु ‘लुक्न देउ’, ‘एउटा चिठ्ठी’, र ‘चिया बारीमा’ अनि लाउरेले ‘नेपहपको बाटो’, ‘हाउ्डे’ र ‘तितो सत्य’ प्रस्तुत गरेर दर्शकहरुलाई थप उत्साहित बनाएका थिए । मेलाका सबै स्टलहरुमा आगन्तुकहरुले चाख लिएर सहभागिता जनाएका थिए । मेलामा दर्शकहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउनुका साथै डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेल एक्पिरियन्स् जोनमा चलाएर टेष्ट गर्न सकिने व्यवस्था पनि मिलाईएको थियो । एनसेल हाईटेक जोन, मगसट फोटो बुथ र गेम स्टलहरुमा बाक्लै भीडभाड रहेको थियो भने लाखे नाच, चंगा चेट प्रतियोगिता र दशैं पिंगले मेलाको रौनक थप बढाएको थियो । सुट द रावण, मिनी बास्केटबल, बाउन्स एण्ड स्कोर र स्कोर द रियल गोल लगायतका गेम स्टलहरु मेलामा राखिएका थिए । गेम स्टलहरुमा दर्शकले विभिन्न गिफ्टहरु पनि पाएका थिए । बालबालिका लागि इन्फ्लेटेड क्यासल, फेस पेन्टिङ्, वाटर बल, मेरी गो राउण्ड, बेबी गल्फ र ट्रेन जस्ता विविध आकार्षणहरु रहेका थिए । त्यसैगरी, मेलामा दर्शकहरुले विभिन्न नेपाली, ईण्डियन र चाईनिज परिकारहरुको मज्जा लिन पाएका थिए । “एनसेल मेलाको माध्यमबाट आफ्ना ग्राहकमाझ पुगी नजिकिदै गरेको चाडपर्वको अबसरमा खुसीयाली साट्न र शुभकामना आदानप्रदान गर्न पाएकोमा हामी हर्षित छौ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । “मेलामा आगन्तुकहरुको उत्साहजनक सहभागिता रहेको छ यसले गर्दा परिवारजन, आफन्त र साथीभाईसँग रही खुसी साट्न थप उर्जा प्रदान गरेको हामीले विश्वास लिएका छौ ।” नारायणगढ, पोखरा, बुटवल र धरान पश्चात अब एनसेल मेला असोज ८ मा बिर्तामोड पुगेर आयोजना पश्चात समापन हुनेछ ।
आइसिएफसि फाइनान्सको सिइओ रामबाबु पन्तको कार्यकाल थपियो
काठमाडौं, ७ असोज । आइसिएफसि फाइनान्सका सिइओ रामबाबु पन्तको २ बर्ष कार्यकाल थपिएको छ । कम्पनीको १९३औँ सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पन्तको कार्यकाल थप्ने निर्णय गरेको हो । पन्तले प्रमुख कार्यकारी अधिकृत भएर यो बैंकका एक कार्यकाल पुरा गरिसकेका छन् । आइतबार नेप्सेमा प्रकाशित सूचना अनुसार उनले २०७५ -६-१० गतेसम्म सो फाइनान्समा सिइओ भएर काम गर्ने छन् ।
निर्धातिर समयमा आयोजना सम्पन्न नहुनुको प्रमुख कारण ‘अनुमान’
काठमाडौं, ७ असोज । नेपालमा सायद कुनै यस्ता आयोजना तथा परियोजना छैनन् होला, जुन निर्धारित समयभित्र सम्पन्न भएका हुन् । आयोजना थालनी गर्दा नै आयोजना चक्रको अभ्यास गरिए पनि यो साँचो र सही अर्थमा भने कार्यान्वनमा जान सकेको छैन । परियोजना चक्रलाई पच्छाउन नसक्दा सजायको रुपमा एकातिर आयोजनाको लागत बढ्न गएको छ भने अर्कोतिर समय अवधि थपिदै गएको छ । आयोजना अवधिमै लागत अनुमान र सयम अवधि तोक्ने फितलो अम्यासका कारण निर्धारित समयमा आयोजना सम्पन्न हुन नसकेको जानकारहरुले बताएका छन् । नेपालका कुनै वैज्ञानिक आधार बिनानै बजेट र भौगोलिकताको आधारमा अनुमान गरी आयोजना निर्माण अवधि तोकिन्छ, सो कारण पनि आयोजना समयमा सम्पन्न नभएको हो । आयोजना निर्माणको जिम्मा पाएको राष्ट्रिय योजना आयोगले केनद्रीय तहबाट वर्षिनै साढे चार सयभन्दा बढी आयोजना सार्वजनिक गर्दछ । जिल्ला तथा स्थानीय तहमा १०/१२ गुणा बढी परियोजनाहरु हुन्छन् । आयोजनाको निर्माण अवधि र लागत तोक्ने न त कुनै वैज्ञानिक आधार अपनाइएको छ, न त अहिलेसम्म बनेका ऐन–नियममा नै यससम्बन्धी व्यवस्था नगरिएको आयोग उच्च स्रोतले बताएको छ । अहिलेसम्म परियोजनाको समयावधि तोक्ने कार्य आयोजनाका लागि गरिने खर्चको अनुमानमा हुँदै आएको छ,’ उनले भने ‘आयोजनाको निर्माण अवधि तोक्ने काम आयोजना प्रमुखले अनुमानको भरमा गर्दै आएका छन् ।’ मेलम्ची खानेपानी आयोजना शुरु भएको १६ वर्ष भइसक्यो, वर्षिनै सम्पन्न हुने समय पछि धकेलिदै छ । उक्त आयोजना २०७३ वैशाख १ मा सबैको घरको धारमा पानी खसाल्ने लक्ष्य लिएर गरि कार्य सम्पादनलाई तीव्र रुपमा अघि बढाए पनि यो दशैंमा नभइ आगामी दशै अर्थात २०४४ मा सम्पन्न हुने प्रतिवेदन आयोजनाले सार्वजनिक गरिसक्यो । त्यस्तै बहुचर्चित अन्य आयोजनाको हालत पनि त्यस्तै छ । माथिल्लो तामाकोशी पनि अब समयमै सम्पन्न नसक्ने करिब निश्चित भइसकेको छ । ट्याक खोल्ने कार्य भइरहेको बहुचर्चित र धेरै नेपालीलाई फाइदा पुग्ने फाष्ट ट्र्याक निर्माण कहिले सकिन्छ, यसको कुनै टुंगो छैन । सबैभन्दा बढी आयोमजना रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागका उपमहानिर्देशक दयाकान्त झाका अनुसार नेपालमा आयोजना सम्पन्न अवधि तोक्ने कुनै विश्वसनीय आधार र कानुनी व्यवस्था छैन । सम्पूर्ण विषय निर्णय गर्ने हाकिम वा कार्यालय प्रमुखको विवेकमा छोडिएको हुन्छ । कानुनी आधारा नभएको भन्दै विकेकका भरमा अनुमान इस्टिमेट गर्दा नै आयोजनाको अवधि अनुमानमा तोक्ने परम्परा नेपालमा अभ्यास हुँदै आएको हो । यसरी तोकिएको अवधिको कुनै विश्वसनीय र वैज्ञानिक आधार छैन । आयोजनालाई छुट्याएको बजेट हेरेपछि ‘यति समय लाग्ला’ भन्ने अनुमानमा अवधि तोकिने गरिएको छ । निर्माण व्यवसाय वा आयोजना परामर्शदाताको प्रभाव आयोजना निर्माण अवधि निर्धारणमा पर्दैन,’ उपमहानिर्देशक झाले भने । कानुनी व्यवस्था नै नभएपछि आयोजनाको निर्माण अवधि तोकिएको भन्दा बढी भएकोमा कोही पनि जिम्मेवार नहुने अवस्था विद्यमान छ । यसले गर्दा आयोजनाको लागत बढाइरहेको छ । योजनाको गम्भीरता र रकमको आकार हेरेर मात्र निर्माण अवधि तोक्ने होइन, अन्य आवश्यक विषयलाई पनि समावेश गरेर व्यवस्थित गर्न आवश्यक रहेको राष्ट्रिय योजना आयोग सदस्य डा. सुनिलबाबु श्रेष्ठले बताए । सरकारले चालू आवदेखि निर्धारित समय सीमा भित्र सम्पन्न नहुने आयोजना प्रमुखलाई दण्ड तथा सजाय गर्ने भएको छ भने समय सीमामा कार्ययोजना सक्ने आयोजनालाई पुरस्कृत गर्ने नीतिगत व्यवस्था गर्न लागेको छ ।