यती डेभलपमेन्ट बैंकद्वारा स्वास्थ्य शिविर आयोजना
काठमाडौं, २ असोज । यती डेभलपमेण्ट बैंक लिमिटेडले पोखरामा स्वास्थ्य शिविर आयोजना गरेको छ । सो योजानमा बैंकले ६२ जना अनाथ बालबालिकाहरुको स्वास्थ्य परिक्षण गराएको छ । बैंकले समाजिक उत्तरदायित्व पुरा गर्दै जाने शिलशिलामा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा डा भिष्मराज बराल र डा प्रकाश कार्कीले नमस्ते कम्युनिटी फाउण्डेसनमा रहेका बालबालिकाको स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा पोखराका अग्रज पर्यटन व्यवसायी रामचन्द्र भट्टराईले सबै व्यवसायिक प्रतिष्ठानले कमाईको केही हिस्सा सामाजिक सेवामा लगाउन सके देश विकासमा महत्वपूर्ण योगदान हुने बताए । नमस्ते कम्युनिटी फाउण्डेशनका संस्थापक अध्यक्ष भिष्मराज पौडेलले बैंकले सामाजिक क्षेत्रमा गरेको योगदान बारे चर्चा गर्दै बैंकलाई धन्यबाद दिएका छन् । बैंकको केन्द्रिय कार्यालयका बजार व्यवस्थापक प्रकाश घिमिरेले यस्ता सामाजीक कार्यहरुलाई प्राथमिकता दिई सहयोग गर्दै जाने बताएका छन् ।
प्रचण्डले सबैलाई उछिन्दै हजार गुणा बढि राष्ट्रहित विपरित सम्झौता गरेः डा. केसी
प्रा. डा. सुरेन्द्र केसी प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौताहरु आपक्ति जनक छन् । यसले विदेशी रिझाउने काम मात्रै गरेको छ त्यसमा पनि भारतलाई रिझाउने भरमग्दुर प्रयास गरिएको छ । राष्ट्रिय स्वार्थलाई पुर्णतः वेवास्था गरिएको छ । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको संयुक्त वक्तव्यले नेपाललाई पुनः एक पटक २००७ सालकै वरिपरिको परिवेशमा पुर्याएको छ । अघिल्ला प्रधानमन्त्रीहरुले सद्भावना भ्रमणका रुपमा भारत जान्थे । केहि विकासे आयोजना, केहि जलविद्युत आयोजना र केहि नदिमा भारतलाई सर्वाधिकार सुम्पिन्थे । तर प्रचण्डले नेपालको सार्वभौम सत्तामाथी नै प्रहार हुने ढंगले संयुक्त वक्तव्य निकाले । एउटा स्वाभिमानी नेपालीका लागि यो स्विकार्य बिषय हुनै सक्दैन । प्रचण्डले भारतीय भूमिमा पुगेर आफ्नै समर्थनमा बनेको निवर्तमान सरकारको बिरोध गरेका छन् । आफैंले अगुवाई गरेर जारी गरेको संबिधान अपुरो छ भनेका छन् । हामी तपाईहरुले भनेझै काम गर्छाै भनेर भारतीयलाई रिझाउने प्रयास गरेका छन् । यो जस्तो गैरराजनीतिक र गैरकुटनीतिक कुरा केहि हुनै सक्दैन । यो नेपाली इतिहासको सबै भन्दा लज्जाजनक भारत भ्रमण सावित भएको छ । प्रचण्डले नेपाललाई पुनः एक पटक भारतीय सुरक्षा छाता भित्र पुर्याउने प्रयास गरेका छन् । नेपालको सुरक्षामा भारतीय चासो स्विकार गरेका छन् । दुई मुलुकले सुरक्षामा समन्वय गर्ने भनिएको छ । नेपालले अन्तराष्ट्रिय मञ्चमा भारतलाई निःसर्त सहयोग गर्ने भनिएको छ । दुबै मुलुकले सल्लाह गरेर अन्तराष्ट्रिय मञ्चमा साझा धारणा राख्ने भनिएको छ । संयुक्त वक्तव्यका यी बुँदाहरु नेपालको आत्मगौरव प्रतिकुल छन् । अन्य प्रधानमन्त्रीहरुले गरेका भारत भ्रमण भन्दा प्रचण्डको यो भ्रमण एक हजार गुणाले नेपालको हित विपरित छ ।(कुराकानीमा आधारित)
आईएमईको दशैं लक्षित “आईएमई हात हुँदैन खाली” योजना शुरु
काठमाडौं, २ असोज । आईएमई लिमिटेडले नेपालीको महान चाड दशैंलाई लक्षित गर्दै सेवाग्राहीमाझ “आईएमई हात हुँदैन खाली” नामक योजना शुरु भएको छ । । कम्पनीका अनुसार उक्त योजना यही असोज १ गतेदेखि असोज ३० गतेसम्म लागु हुने छ । एक महिना गर्न लागिएको सो योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५२ सय भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राही सहभागी हुन सक्नेछन् । यस योजनाबाट श्रम एवं बिभिन्न उद्देश्यले प्रवासमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्रदान गरेको कम्पनीले जनाएको छ । यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि (सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित उपहार पाउने व्यवस्था मिलाईएको छ । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले तीन सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईनेछ भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्रदान गराईनेछ । यस योजनाबाट लाखौँ सेवाग्राही लाभान्वित हुने विश्वास आईएमईले लिएको छ ।
सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा नुवाकोटमा
काठमाडौं, २ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोट जिल्लाको नजरामण्डप गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । आइतबार यु. के. एडको लगानिमा संचालित सक्षम – एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा बैंकले सो स्थानमा उक्त सेवाको सञ्चालन गरेको छ । देशका विभिन्न दुर्गमस्थलमका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका बैंकले भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पु¥याउँनको सो सेवा विस्तार गरेको बताएको छ । उक्त कार्यक्रममा स्थानीय व्यवसायी विष्णु प्रसाद भण्डारीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । बैंकका अनुसार शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा उल्लेखिय विश्वास र बैंकिङ्ग सभ्यता बनेको महशुस भएको बैंकले जनाएको छ ।
एनसेलले दियो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत स्कुटर तथा अन्य उपहारहरु
काठमाडौं, २ असोज । देशको अग्रणी मोबाईल सेवा प्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत दुलेगौडा, तनहुँमा (गण्डकी) रहेको सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज्का संचालक गणेश कुमार श्रेष्ठलाई स्कुटर उपहार प्रदान गरेको छ । सिमरन एण्ड शिन्जा ईन्टरप्राईजेज एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १० हजार आधिकारिक रिटेलरहरु मध्य एक हो । उक्त स्कुटर शनिवार एनसेलले पोखरामा आयोजना गरेको एनसेल मेलाको अवसर पारी कम्पनीको गण्डकी रिजनल टिमले प्रदान गरेको थियो । अन्य विभिन्न विधामा आफुलाई उपहारका लागि योग्य सावित गर्ने रिटेलरहरुलाई पनि एनसेलले एलसिडी टिभी, माईक्रोवेभ ओभन, स्मार्टफोन, सिएफएल ईन्भर्टर र फोर ईन वान प्रिन्टर जस्ता उपहारहरु प्रदान गरिएको थियो । एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजना अन्तर्गत स्कुटर उपहार पाउन योग्य हुने श्रेष्ठ पहिलो रिटेलर हुन् । यस भन्दा अधि मित्रनगर, नयाँ बसपार्कमा (काठमाडौं) रहेको लमजुङ्ग कम्युनिकेशनका संचालक दिनेश दुराले यस योजना अन्र्तगत मोटर साईकल उपहार पाएका थिए ।
सेयर बजारमा करिब साढे २ अर्बको कारोबार, परिसूचक दोहोरो अंकले घट्यो
काठमाडौं, २ असोज । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । परिसूचक १० दशमलब ६९ अंकले घटेर १८०४ दशमलब ६९ अंकमा पुगेको छ । परिसूचक घटेपनि बजारमा २ अर्ब ४६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४२ कम्पनीको २४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । आइतबार सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट बैंकको सबैभन्दा बढी एक अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सनराइज बैंकको १५ करोड ८८ लाख रुपैयाँको सेयर करोबार भएको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकको ६ करोड रुपैयाँ र नविल बैंकको करिब ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । किसान माइक्रो फाइनान्स वित्तिय संस्था, सिन्धु विकास बैंक र मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका हुन् । सोही दिन नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । आइतबार तीन समूहको परिसूचक ओरालो लागेका छन् भने ४ समूहको परिसूचक उकालो लागेको छ र एक उत्पादनमूलक समूहको परिसूच स्थिर रहेको छ । बीमा, बैंकिङ् र फाइनान्स समूहको क्रमशः ८७, १८ र 0.७२ अंकले ओरालो लागेको छ । होटल, हाइड्रोपावर, अन्य समूह र विकास बैंक समूहको परिसूचक क्रमशः २१, १३, ९ र ३ अंकले उकालो लागेका छन् ।
दूधको अभावले जाजरकोटको आठ डेरी बन्द
जाजरकोट, २ असोज । दूधको उत्पादनमा कमी आएपछि जिल्लाका आठ ठाउँमा रहेका दूध डेरी बन्द भएका छन् । वनजङ्गल मासिँदै जाँदा मानिसले पशुपालन व्यवसाय छाड्दै गएपछि डेरीमा दूधको अभाव भएको हो । धेरैजसो युवा वर्ग कमाइका लागि विदेश र केही भएका भारत पलाएन भएपछि पशुपालन व्यवसाय गर्नेको अभाव पनि उत्पादन घट्नुको अर्को कारण हो । सरकारी अनुदानमा सञ्चालनमा रहेको थलह, दशेरा, पाँचकाटिया, मार्क, मनघाट, रिम्ना, बोहरा र साल्मालगायतका गाविसमा सञ्चालनमा रहेका डेरी अहिले बन्द अवस्थामा रहेका छन् । सदरमुकाममा रहेको एकमात्र डेरी सञ्चालनमा रहेको जिल्ला पशुसेवा कार्यालयका निमित्त प्रमुख कपिलप्रसाद उपाध्यायले बताए । पहिले एकै घरमा चारभन्दा बढी भैँसी पाल्ने गरेको भए पनि अहिले मुस्किलले एउटामात्र भैँसी पालेको पाइएको छ । पहिले घर नजिकै प्रशस्त घाँस पाइने गथ्र्यो अहिले दिनभरि लगाएर बल्ल बल्ल घाँस पाइने गरेको सक्ला–१ का जयबहादुर खत्रीले बताए। पहिला घाँस पाइने ठाउँमा अहिले घर जग्गा निर्माण भएको उनले उल्लेख गरे। रासस
यातायात व्यवस्थापन समितिले तोक्यो पक्की र कच्ची सडकको भाडादर
बैतडी, २ असोज । जिल्ला यातायात व्यवस्थापन तदर्थ समितिले जिल्लाका पक्की तथा कच्ची सडकका भाडादर निर्धारण गरेको छ । कच्ची सडकमा यातायात सञ्चालन गर्न इच्छुक व्यवसायीलाई प्रचलित ऐन कानुनअनुसार अस्थायी अनुमतिपत्र दिने र समितिले तोकेअनुसार भाडा मात्रै लिन पाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकले यही असोज ७ गतेभित्र कच्ची सवारी साधन सञ्चालन गर्ने व्यवसायीलाई सबारी अनुमतिपत्र लिन पनि आग्रह गरेको छ । बैठकले कच्ची सडकका लागि प्रतिकिलोमिटर रुपैयाँ ७ः५०।– र पक्की सडककका लागि भने प्रतिकिलोमिटर तीन रुपैयाँ भाडा दर निर्धारण गरेको समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी चौधरीले जानकारी दिए । जिल्ला यातायात व्यवस्थापन तदर्थ समितिले गरेको निर्णय तत्काल लागू हुने बताइएको छ । यसका साथै असोज ७ गतेपछि अनिवार्य रुपमा यात्रुलाई यात्रा स्थान तथा टिकट रकम उल्लेख गरिएको टिकट दिनुपर्ने र प्रत्येक सबारी साधनमा भाडादर सूची टाँस्न लगाउने निर्णय समेत भएको छ । रासस