प्रधानमन्त्रीको दैनिक एक निर्देशन, पूर्ण कार्यान्वयनमा चुनौति
काठमाडौं १०, भदौ । गत साउन १९ गते प्रधानमन्त्री चयन पुष्पकमल दाहाल प्रचण्डले २० साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरे । तीन दिन भेटघाट र बधाई लिन व्यस्थ प्रचण्डले चौथो दिनदेखि भने दैनिक एउटा निर्देशन दिन थालेका छन् । प्रधानमन्त्री प्रचण्डले दिनहुँ विभिन्न निकायमा निर्देशन दिने काम निरन्तर जारी राख्ने गरेका छन् । प्रधानमन्त्रीले कहिले बैठक गरेर त कहिले सार्वजनिक ठाउँबाट र कहिले एउटा त कहिले दुईभन्दा बढी निर्देशन दिने गरेका छन् । प्रधानमन्त्रीको सपथ लिएको तेस्रो दिन २३ साउनमा दाहालले नेपाल सरकारका सचिवहरुलाई तीन दिनभित्र परिणामुखी योजना पेश गर्न निर्देशन दिए । प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको थियो । प्रधानमन्त्री दाहालले २३ साउनमा सचिवहरुसँगको बैठकमा टेलिकमको समस्या समाधान गर्नसमेत निर्देशन दिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई विवादित हुने गरी काम नगर्न निर्देशन दिएका छन् । आफू र पार्टीले बनाएको सरकार सञ्चालन सहयोग समितिको समन्वयमा मात्र काम गर्न पनि उनको निर्देशन छ । माओवादी केन्द्रले बनाएको सरकार सञ्चालन सहयोग समिति, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्रीको बिहीबार बालुवाटारमा बसेको संयुक्त बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रभावकारी काम गरेर देखाउन निर्देशन दिएका हुन् । छोटो अवधिमा धेरै काम गर्नुपर्ने जोखिम र चुनौतीपूर्ण अवस्थामा सरकार रहेको उनको भनाइ छ । प्रधानमन्त्रीको कामको रफ्तार र उनले दिएको निर्देशनको पूर्ण पालना भने चुनौतिपूर्ण रहेको छ । समाचार स्रोत : राजधानी दैनिक ।
आर्य फर्माको बिक्री सूची ‘झुटो’, औषधि फर्माको ल्यावमै यस्तो विवरण
काठमाडौं १०, भदौ । औषधि बनाउन प्रयोग हुने सहायक रसायन स्युडोफ्रिडिन नेपाल भित्र्याएर लागुऔषधका तस्करलाई बिक्री गरेको अभियोगमा अनुसन्धान दायरामा तानिएका आर्य फर्मा ल्यावका सञ्चालकले औषधि निर्माण गरी विक्रि गरेको झुठो विवरण भेटिएको छ । नेपालमा स्युडोफ्रिडिन मगाएर एमफेटामाइन बनाउन भारत हुँदै बर्मा र चीन पुर्याउने गरेको आरोपमा लागू औषध नियन्त्रण ब्युरोले आर्य फर्माका सञ्चालक रतनलाल संघाई र कामदारलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ खबर शुक्रबारको कान्तिपुरमा समचार छ । अनुसन्धानका क्रममा आर्यले नेपाल भित्र्याएको स्युडोफ्रिडिन औषधि बनाउन प्रयोग गरेको विवरण ब्युरोमा पेश गरेको थियो। उनीहरुले धरान, काठमाडौं, नेपालगञ्ज, धनगढीका औषधि विक्रेताको सूची देखाएका थिए । ब्युरोका एसएसपी गणेश केसीका अनुसार उनीहरुले औषधि दिएको दाबी गरेका औषधिका डिलरलाई बोलाएर सोधपुछ गर्दा उनीहरुले आर्यबाट औषधि नकिनेको बताएका छन् । ‘आर्यले औषधि दिएको दाबी गरेका वितरकहरुसँग जानकारी माग्दा उनीहरुको सबै विवरण झुठो देखियो,’ केसीले भने‘ वितरकको बयानबाट आर्यले स्युडोफ्रिडिनको दुरुपयोग गरेको थप प्रमाण फेला पर्यो ।’ ललितपुरको पाटनभित्र रहेको प्लाष्टिकको फ्याक्ट्रिमा ४ सय ७० केजी स्युडोफिड्रिन फेला परेपछी ब्युरोले संघाई समूहका रतनलाल संघाई, कर्मचारी दिलिप पण्डित मोहित हलान, श्याम तामाङ र बद्री वन पक्राउ परेका थिए । अनुसन्धानका लागी प्रहरीको न्यायिक हिरासतमा रहेका रतनले आफूले आर्यको कारोबार नहेर्ने र त्यसबारे केही जानकारी नभएको दाबी गरे पनि पक्राउ परेका म्यानेजर पण्डितले पवन र रतनको निर्देशनमा हुने स्युडोफ्रिडिनको तस्करीबारे बयानमा सकारेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिए । ‘रतनले आफूलाई थाहा छैन भनेर छल्ने प्रयास गरिरहेका छन्, तर अनुसन्धानकोक्रममा फेला परेका प्रमाणले स्युडोफ्रिडिनको तस्करी पुष्टि हुने पर्याप्त प्रमाणहरु फेला परिसकेका छन्,’ ब्युरोका एसएसपी केसीले भने ।
४६ कम्पनीको मर्जरले ३२ करोड कित्ता सेयर रोक्का, करीब ३२ अर्बको कारोबार बन्द
काठमाडौं १०, भदौ । मर्जर तथा एक्जिजिसन (प्राप्ति)का कारण बैंक तथा वित्तीय संस्थाको ३१ करोड ८६ लाख कित्ता सेयरको कारोबार रोक्का भएको छ । मर्जर प्रक्रिया सुरु भएपछि समाप्त नहुँदासम्म सम्बन्धित कम्पनिहरुको सेयर कारोबार रोक्का गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाका कारण हाल करीब ३२ करोड कित्ता सेयर अर्थात अंकित मूल्यका आधारमा पौनै ३२ अर्ब रुपैयाँको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मर्जर तथा प्राप्तिका कारण अहिले ४६ कम्पनीको सेयर कारोबार बन्द रहेको छ । यी मध्ये अधिकांश विकास बैंक र फाइनान्स कम्पनी रहेको पनि नेप्सेले जानकारी दिएको छ । मर्जर गर्न सहमति पत्रमा हस्ताक्षर भएपछि सम्बन्धित कम्पनीले नेपाल राष्ट्र बैंकमा निवेदन दिनुपर्छ । राष्ट्र बैंकले सैदान्तिक सहमति पछि तीन महिनाको समय दिन्छ । उक्त अवधिमा कम्पनीको लेखापरिक्षणसहितका सबै काम सकेर अन्तिम स्वीकृति पुनः राष्ट्र बैंकबाटै लिनुपर्छ । यही प्रक्रियाका कारण यी कम्पनीको सेयर कारोबार रोकिएको हो । समाचार स्रोत : कान्तिपुर दैनिक ।
१० लाखमा गोठजत्रो घर बनाउनेसँग स्पष्टिकरण
काठमाडौं १०, भदौ । गोरखाका बिभिन्न ठाउँमा १० लाख खर्च गरेर खोरजत्रो घर बनाएको क्याथोलिक रिलिफ सर्भिस (सिआरएस)सँग जिल्ला विकास समिति, गोरखाले तीन दिनभित्र लिखित स्पष्टीकरण माग गरेको छ ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले गैरसरकारी संस्थाले गरेको कामको बारेमा लिखित जवाफ माग गरिएको जानकारी दिए । ‘समाचारमा आएको बिषय मा के कसो भएको हो तीन दिनभित्र सबै बिबरण सहित लिखित जवाफ पेश गर्नू भनेर हामीले पत्र पठाएका छौं’, स्थानीय विकास अधिकारी आचार्यले भने ‘उनीहरुको जवाफ आएपछि त्यसको गहन अध्ययन गरी दोस्रो चरणमा के गर्नुपर्छ गर्छौं ।’ उनले सिआरएससँग यसअघि मौखिक रूपमा पनि सोधपुछ गरेको बताए । ‘मौखिक जवाफ माग्दा सो घर बस्ने प्रयोजनका लागि नभई डमीका लागि मात्र बनाएको हो भने’, स्थानीय विकास अधिकारीले उनीहरुको भनाइ उद्धृत गर्दै भने, ‘प्रशिक्षार्थीहरुलाई तालिम दिँदा सो घर बनाएको भनेका थिए ।’ लिखित जवाफको आधारमा कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।
तातोपानी नाका नखुल्नुमा नेपालकै कमजोरी, नेपाल सरकारले विकल्प नदिदाँ ढिलाइ
काठमाडौं १०, भदौ । तातोपानी नाका सुचारू हुन नसक्नुमा चीनले नेपालकै कमजोरी औंल्याउन थालेको छ । नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प नदिँदा नाका खुल्न ढिलाइ भएको हो । सामान मात्र ल्याउने गरी नाका सुचारू गर्न हिउँदमा कुनै समस्या नरहेको चीनको सर्त छ । त्यसका लागि प्रवन्ध मिलाउन नेपाललाई लगातार अनुरोध गर्दा पनि वास्ता नगरेको उसको भनाइ छ । न्यालोम (कुती)बाट सिधा सडक निर्माण गर्दै तत्काललाई सिन्धुपाल्चोकको लार्चामा ल्याउने र पछि काभ्रेको पाँचखालमा नयाँ ड्राइपोर्ट बनेमा त्यहाँ सार्ने गरी काम गर्ने चीनको प्रस्ताव छ । यसमा नेपाल सरकारले तदारुकता नदेखाएको पनि उल्लेख छ । सडक सर्भेका काम दुवैतर्फ भइरहेको भएपनि आगामी हिउँदसम्मा यो बाटोलाई प्रयोगमा ल्याउने गरी काम भइरहेको पनि उल्लेख छ । सामान्य सुधार गरेर बाटो खुलाउने काम भएपनि सुधार स्थरोन्नतिको काम भने निरन्तर आवश्यक रहने उल्लेख छ । समाचार स्रोत कान्तिपुर दैनिक ।
यात्रुबाहक बस त्रिशूलीमा खस्यो, कम्तिमा २० जनाको मृत्यु
काठमाडौं १०, भदौं । तस्बिरः शिब दाहालको ट्विटरबाट गौरबाट पोखरा जाँदै गरेको एउटा यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा कम्तिमा २० जनाको ज्यान गएको छ। ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ। घटनास्थलमा रहेका एसपी बसन्त कुँवरका अनुसार २० जनाको शव बाहिर निकालिएको छ। १२-१३ जनालाई उपचारको लागि भरतपुर पठाइएको छ। प्रहरीका अनुसार धेरै जनाको हताहत भएपनि यकिन भएको छैन। मुग्लिनबाट नारायणघाटतर्फ चन्डीभन्ज्याङ गाविसको कालीखोलामा झण्डै सय मिटर तल नदीमा बस खसेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको थियो। स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ। बसको केही भागमात्र नदीबाहिर देखिएको थियो। हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ । थप विवरण आउन बाँकी छ।
वैदेशीक रोजगारीमा चरण ठगी, निःशुल्कको नाममा दुई लाख उठाइदैं
काठमाडौं १०, भदौं । अलपत्र नागरिकको उद्धार र वैदेशिक रोजागारीमा दुख पाएका नेपाली नागरिकलाई सहज रुपमा स्वदेश फर्काउन सरकारले विशेष पहल गरिरहेको बेला केही म्यानपावर व्यावसायी भने यही मौकाको सदुपयोग गरेर कमाउ धन्दा चलाइरहेको पत्ता लागेको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ । प्रगतिशिल वैदेशिक रोजगार व्यावसायी संघको नाममा रहेको एमालेको म्यानपावर संस्था सम्वद्ध व्यक्तिले त्यस्तो धन्दा चलाएको बताइन्छ । निशुल्क टिकट र निशुल्क प्रवेशाज्ञा लागू गरिएको भएपनि मनलाग्दी रुपमा गरिब युवालाई ठग्ने काममा उनीहरु लागेको बताइन्छ । वैदेशिक रोजगारीमा जान चाहने युवालाई सहज रुपमा सो अवसर प्रदान गर्ने सरकारको लक्ष्य भएपनि केही स्वार्थी समूहको योजनामा सरकारको घोषणालाई कार्यान्वयन हुन नदिन ज्यान फालेर लागेको बताइन्छ । दैनिक एक हजार भन्दा बढी युवा रोजगारीको खोजीमा विदेसिरहेका छन् । उनीहरुलाई निशुल्क रुपमा पठाइएको भन्दै दलालहरुले दैनिक एक अर्ब भन्दा बढी रकम उठाइरहेको बताइन्छ । तर वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड भने कानमा तेल हालेर बसेको छ । म्यानपावर व्यावसयीलाई कारवाही गर्न र उनीहरुलाई कानुनी दायरमा ल्याउने तर्फ कुनै पहल गरिएको छैन ।
क्रिकेटका नाममा मानव तस्करी, नेपालको छविमै धक्का
काठमाडौं १०, भदौं । जापानमा हालै सम्पन्न एक मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुन गएका टोलीमा केही गैर–खेलाडीलाई समेत सहभागी गराएको र उनीहरूलाई जापानमै छोडेर आएको आशंकामा छानबिन अघि बढाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसिले नेपाली क्रिकेटका सरोकारवालालाई निर्देशन दिएको छ । यस विषयमा युवा तथा खेलकुदमन्त्रीले समेत विशेष चासो देखाउँदै छानबिन प्रक्रिया अघि बढाएका छन् । गत जुलाई १५ मा नेपालको बेस्ट फुटबल क्रिकेट ९एफसी० काठमाडौं क्लबले सातजना राष्ट्रिय खेलाडीसहित सदस्यीय टोली जापान लिएर गएको थियो । जापानमा उनीहरूले स्थानीय क्लबसँग दुई दिनमा तीनवटा म्याच खेलेका थिए । उक्त मैत्रीपूर्ण म्याचका लागि सिनियर नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य सिद्धान्त लोहनीसहित यु १९ टोलीका प्रेम तामाङ, अमित श्रेष्ठ सौरभ खनाल, फैजल खान रामनरेश गिरी र राष्ट्रिय खेलाडी सोनु तामाङ जापान गएका थिए । समाचार स्रोत अन्नपूर्ण पोष्ट ।