टेलिकमका १० टावर बन्द, एक दर्जन गाविस सम्पर्कविहीन
बागलुङ, २४ साउन । जिल्लाको पश्चिम भेगका १० वटा टेलिकमका ‘बिटिएस टावर’ विद्युत् अभावमा बन्द हुँदा दर्जन बढी गाविसमा सञ्चार बिच्छेद भएको छ । टावर बन्द भएपछि नेपाल टेलिकमबाट प्रवाह हुने सबै सेवा प्रभावित बनेको छ । दुई साताअघिको बाढीले २० वटा लघुजलविद्युत् आयोजनामा क्षति पु¥याएपछि त्यस क्षेत्रमा विद्युत् अवरुद्ध छ । टेलिकमको ल्यान्ड फोन, प्रिपेड, पोस्पेड, स्काइलगायतका सबै सेवा बन्द रहेको प्रयोगकर्ताले जनाएका छन् । लघुजलविद्युत् आयोजनाबाट निस्कने विद्युत्मा निर्भर रहेका ‘बिटिएस टावर’ सञ्चालनको प्रयास भइरहेको नेपाल टेलिकम बागलुङले जनाएको छ । तत्काल पाँच ठाउँको ‘टावर’ सञ्चालनमा ल्याउन आवश्यक उपकरण पठाउन लागिएको इन्जिनियर अमृत नेपालले बताए । विद्युत् रोकिएको चार दिनसम्म ब्याट्रीले धाने पनि त्यसपछि १० वटै टावर बन्द भएको उनको भनाइ छ । बोङ्गादोभान, देवीस्थान, दर्लिङ र खुङ्खानीमा केही दिनमै सेवा सुचारु हुने जनाइएको छ । अधिकारीचौर, बुर्तिवाङलगायतका गाविसमा भने समय लाग्ने देखिएको छ । तत्कालको लागि सानो क्षमताको सोलार राखेर भए पनि आंशिक सेवा सञ्चालन गर्ने योजना टेलिकमले बनाएको छ । त्यसो गर्दा बुर्तिवाङ बजार क्षेत्रमा रहेका ‘ल्याण्ड–लाइन’ टेलिफोन सञ्चालनमा ल्याउन सकिने जनाइएको छ । अन्य केही स्थानका टावरमा पनि सानो जेनेरेटर राखेर सेवा सुचारु गर्ने तयारी भइरहेको छ । “सडकमार्ग अवरुद्ध भएका कारणले पनि जेनेरटरलगायतका उपकरण पु¥याउन कठिन भइरहेको छ । ग्वालीचौरदेखि पश्चिमका गाविसमा टेलिकमको कुनै पनि नेटर्वकले काम नगरेको बुर्तिवाङका ऋतुवर्ण पौडेलले बताउनुभयो । ठूलो सङ्ख्यामा लघुजलविद्युत् आयोजना बन्द भएपछि १० हजारभन्दा बढी घरधुरी अहिले अँध्यारोमा बस्न बाध्य छन् । आयोजनाको पावर हाउस, कुलो र मुहानमा पुगेको क्षतिले कुल ८३५ किलोवाट विद्युत् उत्पादन रोकिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग, जिविस, गाविस, साझेदार सङ्घसंस्था र स्थानीयको समेत लगानी र श्रमदानमा बनेका आयोजनामा करोडौँको क्षति पुगेको छ । ऊर्जामा आधारित लघु उद्योग समेत बन्द भएका छन् । जिल्लाको पश्चिमका निशी, भुजी र तमान खोलामा आएको बाढीले आसपासका बस्ती, भौतिक संरचना र सम्पत्तिमा ठूलो क्षति पु¥याएको छ ।
लगानीकर्ताले भने–सेयर बजार घट्नुपर्ने कारण छैन, धितोपत्र बोर्डको हस्तक्षेप सह्य हुन्न
काठमाडौं, २४ साउन । सेयर बजारका लगानीकर्ताहरुले बजार घट्नुको कारण नभएको दावी गर्दै नेपाल धितोपत्र बोर्डको अनावश्यक हस्तक्षेप आफुहरुलाई सह्य नहुने घोषणा गरेका छन् । सेयर लगानीकर्ता संघको तदर्थ समिति घोषणा सभामा लगानीकर्ताहरुले बजार घट्नु पर्ने कारण नभएको बताउँदै बजारमा अनावश्यक हस्तक्षेप नगर्न बोर्डलाई चेतावनी दिएका हुन् । इन्भेष्टर्स फोरमका सदस्य समेत रहेका हाथवे इन्भेष्टमेन्टका अम्बिका पौडैलले बजार घटाउन बोर्डले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए । उनले बजारमा यथेष्ठ मात्रामा तरलता रहेको, लगानीको अन्य विकल्प नभएको, बैंक तथा वित्तिय संस्थाको वित्तिय विवरण राम्रो रहेको तथा बैंकको ब्याजदर समेत न्युन रहेकाले सेयर बजार बढेको बताए । धितोपत्र बोर्डले सेयर कालोधनको त्रास र साना लगानी कर्ताको त्रास देखाएर बजार घटाईरहेको आरोप लगाए । उनले आफुले हाल दैनिक दुई तीन करोडको सेयर खरिद गरिरहेको पनि जानकारी दिएका थिए । त्यस्तै, अर्का लगानी कर्ता दिपक कार्कीले सिमित व्यक्तिहरुको स्वार्थमा लागेर बोर्डले बजार ओरालो लगाउन थालेको आरोप लगाए । उनले कालोधनको छानविन गर्ने अधिकार बोर्डलाई नभएर सम्पति सुद्धिकरण विभागलाई भएको पनि स्पष्ट पारे । लगानी कर्ता साना र ठुला नहुने भन्दै कार्कीले धितोपत्र बोर्डले नियोजित रुपमा बजारमा चलखेल गरेको दावी गरे । त्यस्तै, अर्का लगानी कर्ता दिलिप श्रेष्ठले पनि धितोपत्र बोर्डको दादागिरीका कारण सेयर बजार ओरालो लागेको आरोप लगाए । उनले बैंकहरुमा निक्षेपको ब्याजदर नबढेसम्म सेयर बजार उकालो लागिरहने स्पष्ट पारे । त्यस्तै, अर्का लगानी कर्ता ज्योति दाहालले पनि धितोपत्र बोर्डले क्षेत्राधिकार नाघेर सेयर बजारमा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाए । धितोपत्र बोर्ड लगानी कर्ताको हित भन्दा पनि कम्पनीहरुको पक्षपोषणमा लागेको आरोप समेत लगाए । चलचित्र निर्माता समेत रहेका सेयर बजारका लगानी कर्ता उज्वल घिमिरले बजार घट्नुपर्ने कुनै कारण नभएको दावी गरे । उनले पनि धितोपत्र बोर्डको अनावश्यक हस्तक्षेपका कारण बजार घटेको बताउँदै बोर्डले कसको पक्षपोषण गरिरहेको छ ? भन्दै प्रश्न समेत गरे । उनले आफुले सेयर बजारमा तीन करोड लगानी गरिसकेको बताएका थिए । सेयर लगानीकर्ता संघको घोषणा कार्यक्रममा सैयौंको संख्यामा लगानी कर्ताहरुको उपस्थिती रहेको थियो । सो भेलाले उत्तम अर्यालको अध्यक्षतामा सेयर लगानीकर्ता संघ घोषणा गरेको छ । जसको उपाध्यक्षमा ताराप्रसाद फुल्लेल, महासचिव नवराज सुवेदी र कोषाध्यक्षमा मोहन बहादुर बस्नेतलाई तोकिएको छ । उनीहरुले सेयर बजारलाई घटाउने धितोपत्र बोर्डको नियोजित षडयन्त्र विरुद्ध आवश्यक परेको खण्डमा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् ।
प्रचण्डलाई बधाई दिँदै उद्योगीले भने–साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर चाहियो
काठमाडौं, २४ साउन । नेपाल उद्योग परिसंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालललाई बधाई दिँदै साढे ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पुर्याउन सुझाव दिएको छ । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वको टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भूकम्प र नाका बन्दीले जर्जर बनेको औद्योगीक क्षेत्रको पुनरुत्थानका लागि समेत आग्रह गरेको थियो । भेटमा बजेटले लक्ष्य गरे अनुरुप ६ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सरकारले पूँजीगत खर्च वृद्धि गर्ने, पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्ने, व्यापार घाटा न्यून गर्ने, आधारभूत तहका जनता समक्ष रोजगारीका अवसरहरु सृजना गर्नुपर्ने सुझाव दिएका थिए । त्यस्तै, भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा पुननिर्माण, नवनिर्माण र आवास निर्माणमा उच्च प्राथमिकता दिनु पर्ने सुझाव पनि उनीहरुले दिएका थिए । प्रधानमन्त्री प्रचण्डले आर्थिक सुधारका कार्यहरु गर्दा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने सरकारको नीति यथावत कायम रहेको जानकारी दिएका थिए । यसैबिच, परिसंघ टोलीले अर्थमन्त्री कृष्णबहादुर महरालाई पनि बधाई दिएको छ । टोलीले अर्थ व्यवस्थामा न्यून पूँजीगत खर्च, उच्च मुद्रा स्फीति दर, डरलाग्दो व्यापार घाटा र न्यून आर्थिक वृद्धिको चुनौती चिर्न सुझाव दिएका थिए ।
किन अाउँछ बारम्वार टेलिकमको रिचार्जमा समस्या, सफ्टवेयरका नाममा फेरी जनतालाई सास्ती
काठमाडौं,२४ साउन। पटक पटक समस्या अाउने गरेको नेपाल टेलिकमको रिचार्ज समस्या फेरि पनि दाहोरिएको छ। गत शनिवार र अाइतवार नेपाल टेलिकमका एनटी कार्डहरु रिचार्ज भएनन्। टेलिकमले दुईदिनसम्म समस्या हुँदापनि गैर्हजिम्मेवार भएर एउटा सूचनासमेत ननिकालेर फेरी झारा टारेको छ। नयाँ मोवाइल विलिङ सिस्टमको सफ्टवेयर अपग्रेडमा प्राविधिक समस्या आएका कारण पुरानै सफ्टवेयरमा लगेर सिस्टम मिलाइएर सेवा सुचारु गरेको टेलिकमले जनाएको छ। शनिवारदेखि रिचार्जमा समस्या भएको नेपाल टेलिकमको सेवा आइतवार साँझवाट नियमित सुचारु भएको टेलिकमकि प्रवक्ता प्रतिभा वैद्यले जनकारी दिइन। तर टेलिकमका नयाँ कार्यकारी प्रमुखको नियुक्ति प्रकृया अगाडि बढिरहेका बेला टेलिकमका उच्च प्राविधिक अधिकारीहरुले ले नै टेलकमको सिस्टम विगारेको अारोप लगाएका छन्। टेलिकम भित्रका उच्च प्राविधिक कर्मचारिहरु नै कार्यकारी प्रमुखको होडमा अगाडि रहेका कारण हालका प्रमुख कार्यकारीलाई अप्ठेरोमा पार्नका लागि जानिजानि प्राविधिक त्रुटि गरेको टेलिकम उच्च स्रोतले विकासन्युजलाई जानकारी दिएको छ। टेलिकमका प्रयोगकर्ताले शनिवारदेखि रिचार्जमा समस्या भएको गुनासो गरेका थिए। हाल भएको रिचार्ज गर्ने सिस्टम पुरानो भएको र ढिला रिचार्ज हुने गरेका कारण सफ्टवेयर थप गरी क्षमता विस्तार गर्न लागेको बैद्यले जानकारी दिइन। मोवाइल ग्राहकको रिचार्ज क्षमता विस्तार गर्नका लागि भौचर मेनेज्मेन्ट सफ्टवेयर अपग्रेड गर्न लागिएको र दुइपटक सम्मको प्रयास असफल भएपछि समस्या सृजना भउको उनले बताए। नयाँ सफ्टवेयरले काम नगरे पुरानै सफ्टवेयरमा फर्काएर ग्राहकलाई सेवा दिएको बैद्यले बताइन।
इन्टरनेटमा भाइरल बन्दै पोकमोन गो, थाहा पाउनुस् कसरी खेल्ने?
काठमाडौं २४ साउन। इन्टरनेटमा आजकल पोकमोन गो अहिले निकै चर्चित बनेको छ। सामाजिक सञ्जाल फेसबुक होस् या ट्वीटर जताततै यही गेमको बारेमा चर्चा छ। पोकम्यान गो एक अंगमेटेड रिएलिटी एप हो। यो गेम एप फोनको जिपिएस र क्यामेरामा प्रयोग गर्न सकिन्छ। कार्टुस सिरिजका फ्यानहरुका लागि पोकम्यान कुनै नौलो नाम होइन। स्मार्टफोन र आइओएस डिभाइसमा पोकम्यान गेम खेल्न सकिन्छ। सन् १९९० मा सतोशी ताजिरीले पोकम्यानको अवधारणा सुरु गरेका थिए। वास्तवमा उनलाई मसिना कीरा फट्याङ्ग्रा पक्रने धेरै सोख थियो। उनलाई खेल पनि धेरै मनपर्थ्यो। उनले दुई वस्तु मिलाएर यसको कन्सेप्ट तयार पारेका थिए। यसमा पोकमोनलाई पक्रनुपर्थ्यो। पोकमोन सन् ९० को दशकमा चर्चामा रहेको यही भिडियो गेमको नयाँ संस्करण हो। गेमप्ले आफ्नो भौगोलिक स्थान अनुसार निर्धारण गर्न सकिन्छ। यसका लागि गुगल म्याप्सको प्रयोग गर्नुपर्छ। नियन्टिकले बनाएको पोकमोन यसै वर्ष जुलाई ५ मा लन्च भएको हो। यस गेमका धेरै खतरा समेत छन्। तर मानिसहरुमा यसप्रतिको क्रेज निकै बढ्दै गइरहेको छ। यतिसम्म कि पोकमोन खेल्नेलाई आफ्नो वरपर के भइरहेको छ, थाहा हुँदैन। कसरी खेल्ने? पोकमोन खेल्न सजिलो छ। सुरुमा आफ्नो एकाउन्ट खोल्नुपर्छ। त्यसमा आफ्नो निकनेम तय गर्नुपर्छ। तपाईं आफू रहेको स्थान सेट गर्नुस् र अनि खेल्नका लागि तयार हुनुस्। त्यसपछि तपाईंको काम नै आफू नजिकै रहेको पोकमोन खोज्नु हुनेछ।
दुई वर्षअघि ७९ करोड नोक्सानमा गएको यति अहिले नाफामा, अब ‘ब्राण्डिङ अन वार फुटिङ’
सागर शर्मा, प्रमुख कार्यकारी अधिकृत, यति डेभलपमेन्ट बैंक तीन वर्षअघि बाणिज्य बैंक बन्ने उदेश्यका साथ यति फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक र भ्याली फाइनान्सबीच मर्ज प्रक्रियामा सामेल भयौं । त्यो प्रयास सफल भएको भए यतिबेला हामी बाणिज्य बैंकको रुपमा बैकिङ कारोबार गरिरहेका हुने थियौं । इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक मर्जर प्रक्रियाबाट बाहिरीए पछि वाणिज्य बैंक बन्ने प्रयास सफल भएन । यति फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक र भ्याली फाइनान्सबीच मर्ज हुँदा पुँजी २ अर्ब नपुग्ने भयो । तत्काल बाणिज्य बैंक उदेश्य पुरा नहुने भयो । तैपनि तीन संस्था मर्जमा जाउँ, पछि अर्को कुनै संस्थासँग मर्ज भई वाणिज्य बैंक बन्न सकिन्छ भनेर तीन संस्थाबीच मर्ज भयो । २०७० असार ३१ गते एकिकृत कारोबार शुरु भयो । मर्जपूर्व म यति फाइनान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए । हामी हेटौडाको सानो, पुरानो र वार्षिक १५/२० प्रतिशत लाभांश सेयरधनीलाई वितरण गर्दै आएको फाइनान्स । यति फाइनान्सको व्यवसायमा समस्या थिएन । मर्जपछि पहिलो चौमासिक रिपोर्ट सार्वजनिक गरियो । यस संस्था भित्रको समस्या बाहिर आए । ठूला कर्जा लिने ऋणीहरु समस्यामा परे । खासगरी जग्गा व्यवसायमा गएको कर्जा उठ्न सकेको थिएन । त्यसको असर वित्तीय विवरणमा देखियो । पछि खराव कर्जा १७ प्रतिशत नाघ्यो । संचिती नोक्सानी ७९ करोड रुपैयाँ भयो । बैंकप्रति निक्षेपकर्ताले विश्वास नै गुमाउँछन् कि, बैंक अब डुब्छ कि भन्ने चस्का (त्रास) उच्च व्यवस्थापनमा बसेर काम गर्नेले महसुस गर्नु पर्यो । यसरी बैंक जटिल अवस्थामा पुग्नुमा व्यस्थापनले गरेको कमजोरी केही थिए भने नीतिगत परिवर्तनले पनि हामीलाई ठूलो असर गर्यो । खासगरी घर जग्गा कर्जा लगानीमा राष्ट्र बैंकले गरेको कडाई र घर जग्गा बजारमा आएको मन्दीले बैंकलाई अप्ठ्यारो अवस्थामा पुर्यायो । त्यसबाट यस संस्थाले गतिलो पाठ सिकेको छ । कर्जा लगानी प्रक्रियामा धेरै सुधार गरेको छ । कर्जा लगानीको क्षेत्रमा सन्तुलित रुपमा विविधिकरण गरिएको छ । कसरी भयो सुधार ? यतिबेला हामीले हाम्रो वित्तीय अवस्थामा धेरै सुधार गरेका छौं । ७९ करोड संचित नोक्सानी सकेर गत असार मसान्तमा वासलातलाई सकारात्मक बनाएका छौं । गत आर्थिक वर्षमा मात्र ३६ करोड रुपैयाँ खुद नाफा भएको छ । ४ करोड भन्दा बढी रिर्जभमा लैजान सफल भएको छौं । अब संस्था सहज अवस्थामा आएको छ । अगाडिका बाटोहरु सफा भएका छ । यति डेभलपमेन्ट बैंकले प्रोभिजत गरेका खराव कर्जा हामीले उठाउँदै गयौं । अहिले पनि खराव सबै कर्जा उठेका छैनन् । असार मसान्तमा बैंकको खराव कर्जा ४.१७ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा २ प्रतिशत भन्दा कम ल्याउने योजना छ । कतिपय कर्जा नउड्दा धितो सकारेले बैंकले गैर बैकिङ सम्पत्तिको रुपमा लिएको छ । अहिले यस बैंकको गैरबैकिङ सम्पत्ति ४८ करोड रुपैयाँ बराबरको छ । राष्ट्र बैंकको नियम अनुसार २ वर्षभित्र ती सम्पत्ति बिक्री गर्नुपर्छ । चालु आर्थिक वर्षका २४/२५ करोडको गैरबैकिङ सम्पत्ति बिक्री गर्छौ, त्यसपछि अर्को वर्ष बाँकी सम्पत्ति बिक्री गछौं । वाणिज्य बैंकको सपना मर्ज हुनुको उदेश्य वाणिज्य बैंक बन्नु थियो । यतिबेला हामी आफ्नै क्षमताले वाणिज्य बैंक बन्ने अवस्था छैन । राष्ट्र बैंकले वाणिज्य बैंकका लागि चुक्ता पुँजी न्यूनतम २ अर्बबाट बढाएर ८ अर्ब बनाएको बनाएको छ । त्यो एउटा चुनौति हो । अर्को स्तरवृद्धिको लागि पूरा गर्नु पर्ने मापदण्ड पुरा गर्न कम्तिमा पाँच वर्ष कुर्नुपर्छ । किनकी गएको वर्षमा हाम्रो वासलात नोक्सानमा गयो । तत्काल २ बराबर १ का दरले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि निर्णय साधारणसभाबाट भएको छ । चालु आर्थिक वर्षको नाफाबाट कम्तिमा १०/१२ प्रतिशत बोनस सेयर दिने लक्ष्यका साथ अगाडि बढेका छौं । यसबीचमा मर्जमा जाने बाटो पनि खुला राखेको छौं । हामी कुनै वाणिज्य बैंकमा मर्ज हुन पनि सक्छौं, अरु संस्था यति डेभलपमेन्ट बैंकमा आएर मर्ज हुन पनि सक्छन् । सबै विकल्पहरु खुला राखेका छौं । संस्थाको वित्तीय अवस्थामा पनि सुधार हुँदै गएको छ र मर्जको विषयमा पनि छलफल चलिरहेको छ । संस्था सुध्रदै गएको अवस्थमा मर्जको लागि स्वाप रेसियोमा वार्गेनिङ गर्ने क्षमता पनि बढ्दै गएको छ । पुँजी वृद्धि सँगै व्यापार विस्तार पनि गरेका छौं । गत आर्थिक वर्षमा करिव ४० प्रतिशतले विजनेश ग्रोथ भएको छ । चालु आर्थिक वर्षका पनि ४० प्रतिशतको विजनेश ग्रोथ गर्ने लक्ष्य राखेका छौं । यस वर्षको हाम्रो नारा ‘ब्राण्डिङ अन वार फुटिङ’ भन्ने छ । हामी वर्षको १२ महिना संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै आएका छौं । बैंकका सरोकार पक्षलाई समेटेर बैंकको उपस्थिति रहेको क्षेत्रमा गरिने सामाजिक सेवाका कार्यले यस बैंकको ब्राण्ड इमेज राम्रो बनाउन धेरै मद्दत गरेको छ । इमान्दार भए बैकिङ व्यवसाय सजिलो बैकिङ भनेको सर्बसाधारणसँग निक्षेप लिएर चलाउने व्यवसाय हो । सबैभन्दा पहिले उनीहरुको विश्वास जित्ने गरी काम गर्नुपर्छ । मेरो अनुवभमा उच्च व्यवस्थापनमा बस्नेहरुले गडबढ नगर्ने हो भने बैंक चलाउन धेरै गाह्रो छैन । निश्चित प्रतिशत व्याजदरमा निक्षेप लिन्छौं । निश्चित नाफा राखेर कर्जा लगानी गछौं । धितो सुरक्षण राखेर कर्जा लगानी गछौं । प्रतिकूल समय र परिस्थितिमा ऋणीहरु समस्यामा पर्छन् । उनीहरुलाई बैंकको तर्फबाट पनि सहयोग चाहिन्छ । इमान्दारिता नछोड्ने हो भने ऋणीले ढिलै भएपनि बैंकको ऋण भुक्तानी गर्छ । बैंकको ऋण डूब्ने अवस्था विरलै मात्र आउने हो । (कुराकानीमा आधारित)
कृषिमा आधुनिकीकरण गर्न सुपर जोन कार्यक्रम, किसानलाई ८५ प्रतिशत अनुदान दिने
योगेन्द्र कुमार कार्की काठमाडौं, २३ साउन । कृषि विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सुपर जोन कार्यक्रम सञ्चालनका लागि कार्यविधि निर्माण गरेको छ । कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्य सहित ल्याइएको उक्त कार्यक्रमको कार्यविधि अर्थ मन्त्रालयमा सहमतिका लागि पठाउने तयारी मन्त्रालयले गरेको छ । सुपर जोनमा परेका बालीहरु लक्षित उत्पादन गर्नै पर्ने कार्यविधिमा उल्लेख गरिएको मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले बताए । लक्षित उत्पादन गर्नका लागि सरकारले माटो परीक्षण, बिउ, मल तथा प्रविधिमा सहयोग पु¥याउने भएको छ । यसका अतिरिक्त बालीका बेर्ना तथा विरुवा, माछाका भुरा, प्राङ्गारिक मल कारखाना तथा जैविक विषादी उत्पादन केन्द स्थापनको लागि ८५ प्रतिशत अनुदान उपलब्ध गराइने कार्कीले बताए । साथै सुपर जोन सञ्चालन हुने झापा, काभ्रेपलाञ्चोक, बारा, कास्की, दाङ, जुम्ला तथा कैलालीमा आधुनिक प्रशोधन केन्द्र, कृषि औजार कारखाना, ठूला शीत भण्डार तथा गोदाम घर र ठूला कृषि बजार ( एग्रो मार्ट) को निर्माण गर्न ५० प्रतिशत अनुदान दिने कार्यविधिमा उल्लेख गरिएको छ । यस्ता पकेट क्षेत्रमा जेटी, जेटीए र कृषि विज्ञबाट निःशुल्क प्राविधिक सेवा उपलब्ध गराइने व्यवस्था सरकारले गर्ने भएको छ । साथै बीउ परीक्षण, बाली संरक्षण र खाद्य प्रविधि तथा गुण नियन्त्रण सम्बन्धि प्रयोगशालाको सेवा पनि निःशुल्क उपलब्ध गराइने बताइएको छ । समूह, सहकारी , फार्म तथा कम्पनीसँग सहकार्य गरेर सरकारले जोन सञ्चालन गर्ने छ । प्रत्येक क्षेत्रमा उपसचिव स्तरको कार्यालय गठन गरिने छ भने जोन सञ्चालनका सञ्चालक समिति बनाउने र मन्त्रालयले सहजीकरणको भुमिका खेलिदिनेछ । धान उत्पादन बढ्र ५० लाख मेट्रिक टन पुग्ने चालू आर्थिक वर्ष २०७२/७३ मा धानको उत्पादन बढ्ने कृषि विकास मन्त्रालयले जानकारी दिएको छ । अनुकुल मौसमका कारण यस वर्ष समयमै रोपाइँ सकिन लागेकाले धान उत्पादन बढ्ने अनुमान मन्त्रालयले गरेको हो । ‘समयमा वर्षा भएकाले रोपाइँ सकिन लागेको र धान लगाउने समयमा मलको समस्या पनि नभएकाले यस वर्ष धानको उत्पादन ५० लाख मेट्रिक टनभन्दा माथि हुने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए । गत अािर्थक वर्ष २०७२/७३ मा ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आवमा करिब ९६ प्रतिशतसम्म रोपाइँ हुन्छ होला, त्यति रोपाइ हुनु भनेको शतप्रतिशत रोपाई हुनु सरहनै हो,’ कार्कीले भने ‘पश्चिम क्षेत्रतिर करिव रोपाइँ सकिन लागिसक्या ।’ अब रोपाइँ हुन पूर्वका थोरै जिल्लामात्र वाँकी छन् । गत वर्ष धानको उत्पादनमा १० दशमलव २ प्रतिशतले गिरावट आएपछि सरकारले वृहत्तर धान उत्पादन कार्यक्रमलाई चैतदेखिनै शुरु गरेको छ । सो कारणले पनि यस वर्ष धानको उत्पादन बढ्ने देखिएको हो । गत आर्थिक वर्ष २०७२/७३ मा बन्दहडताल, नाकाबन्दी तथा प्रतिकूल मौसम तथा धान उत्पादन क्षेत्रपनि घटेकाले अघिल्लो वर्षहरुको तुलनामा धान उत्पादनका कमी आएको थियो । धान उत्पादन घटेसँगै यसको प्रत्यक्ष असर कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा परेको थियो । कुल गार्हस्थ्य कृषिक्षेत्रभित्र धानको भार २१ प्रतिशत रहेको छ ।
सिप्रदी अटोपार्टसद्धारा च्याम्पियन मिट सम्पन्न
काठमाडौं, २३ साउन । सिप्रदी अटोपार्टस् प्रालिले काठमाडौँका च्यापियन मिट २०१६ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको वार्षिक योजना अन्तर्गत सिप्रदीले अधिराज्य भरि रहेका आफ्नो अधिकारीक खुद्रा विक्रेताहरुलाई काठमाडौँ स्थित हायात होटलमा च्याम्पियन मिट सम्पन्न गरेको हो । सो कार्यक्रममा कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका उपाध्यक्ष राजेशप्रसाद गिरिले कम्पनिको आगामी योजनाको बारेमा सहभागिहरुलाई प्रष्ट पारेका थिए । साथै टाटा मोर्टस इण्डियाबाट आएका अभिनास कुमार गुप्ता, ग्लोवल हेड (पार्टस् एण्ड एग्रिगेट्सले) टाटा मोर्टसको नेपालमा आगामी रणनितिका बारेमा बताएका थिए । उक्त कार्यक्रममा नेपाल भरी रहेका सिप्रदीसँग आवद्ध उत्कृष्ट रिटेलरहरुलाई विभिन्न २९ विधामा सम्मान कार्यक्रम पनि समावेश गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख – सञ्चालन अधिकृत राजनबाबु श्रेष्ठले कम्पनीले अपनाउने आगामीे रणनितिमा प्रतिवद्धता गरेका छन् ।